मिश्नाह र परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था
“यस्तो लाग्छ, बुझेर कहिल्यै बुझ्न नसक्ने विषयहरूबारे लामो समयदेखि चलिरहेको वार्तालापमा सहभागी हुन गइरहेका छौं। . . . मानौं हामी धेरै टाढा विमानस्थलको प्रतीक्षालयमा छौं। मानिसहरूले भनिरहेका कुरा हामी बुझ्न त बुझ्छौं तर वास्तवमा तिनीहरूले भन्न खोजेका र तिनीहरूको खास चासोको कुरा के हुन् अनि विशेषगरि तिनीहरूको भनाइमा झल्किएको आग्रह आदिले गर्दा हामी अन्योलमा पर्छौं।” यसरी यहूदी विद्वान, जेकोब नोइस्नर पहिलो चोटि मिश्नाह पढ्दा पाठकहरूले गर्ने अनुभवबारे बताउँछन्। नोइस्नर अझ भन्छन्: “मिश्नाहको सुरुआत तार्किक छैन। कुरा नटुंगाई यसलाई एकाएक अन्त गरिएको छ।”
यहूदीधर्मको इतिहास-मा (अंग्रेजी) डानियल जेरेमी सिल्भर मिश्नाहलाई “रब्बीहरूले मान्ने यहूदीधर्मको अत्यावश्यक ग्रन्थ” भन्छन्। वास्तवमा, तिनी अझ भन्छन्: “[यहूदी] शिक्षालाई निरन्तरता दिन प्रमुख पाठ्यक्रमको रूपमा मिश्नाह-ले बाइबलको ठाउँ लियो।” बुझ्नै गाह्रो यस्तो पुस्तकको किन यत्तिका महत्त्व?
यसको आंशिक जवाफ मिश्नाहको यस कथनमा पाउन सकिन्छ: “मोशाले सीनै पर्वतमा तोरह प्राप्त गरे अनि यहोशूलाई सुम्पे। यहोशूले बूढाप्रधानहरूलाई र बूढाप्रधानहरूले भविष्यवक्ताहरूलाई त्यो तोरह दिए। अनि त्यसरी नै भविष्यवक्ताहरूले ठूलो सभाका मानिसहरूलाई सुम्पे।” (एभट १:१) सीनै पर्वतमा मोशालाई दिइएको जानकारी अर्थात् परमेश्वरले इस्राएललाई दिनुभएको मौखिक व्यवस्था मिश्नाहमा छ भनेर मिश्नाहले नै दाबा गर्छ। ठूलो सभाका (पछि महासभा भनिन थालियो) मानिसहरूलाई बुद्धिमान् विद्वान वा पण्डितहरूको वंश ठानिन्थ्यो जसले कतिपय शिक्षाहरू मिश्नाहमा लिपिबद्ध नगरूञ्जेल एक पुस्तादेखि अर्को पुस्तालाई मौखिक रूपमा बताउने गर्थे। तर के त्यो सत्य हो? खासगरि, मिश्नाह कसले लेखे र किन लेखे? के मोशाले सीनै पर्वतमा प्राप्त गरेका कुराहरू नै यसमा छन्? के यो हाम्रो समयको लागि पनि अर्थपूर्ण छ?
मन्दिरबिनाको यहूदीधर्म
ईश्वरीय प्रेरणाद्वारा धर्मशास्त्र लेखिंदै गर्दा, मोशालाई लिखित व्यवस्थाबाहेक ईश्वरीय मौखिक नियम पनि दिइएको थियो भन्ने धारणा थिएन।a (प्रस्थान ३४:२७) धेरै शताब्दीपछि, यहूदीधर्मभित्रकै एउटा समूह अर्थात् फरिसीहरूले नै यस धारणालाई विकास गरेर हुर्काएका थिए। सा.यु. प्रथम शताब्दीको दौडान सदुकी तथा अरू यहूदीहरूले यस गैर-बाइबलीय शिक्षाको विरोध गरे। तथापि, यरूशलेमको मन्दिर यहूदी उपासनाको केन्द्र होउञ्जेल मौखिक व्यवस्थासम्बन्धी यो विवादले त्यति ठूलो स्थान पाएन। मन्दिरमा गरिने उपासना नै हरेक यहूदीको लागि उपासना गर्ने एकमात्र तरिका थियो र त्यसले तिनीहरूका उपासनालाई केही हदसम्म भए पनि स्थिर राख्यो।
यद्यपि, सा.यु. ७० मा यहूदी राष्ट्रले यस्तो हदसम्म धार्मिक संकट भोगे कि त्यस्तो त त्यसले कल्पनै गरेका थिएन। रोमी सेनाले यरूशलेम नाश गऱ्यो अनि दश लाखभन्दा बढी यहूदीहरू मारिए। तिनीहरूको आध्यात्मिकताको केन्द्र अर्थात् मन्दिर अबउसो रहेन। मोशालाई दिइएको व्यवस्थाअनुसार मन्दिरमा चढाइनुपर्ने बलिदान र पूजाहारीको सेवा असम्भव हुन गयो। यहूदीधर्मको जग भत्कियो। ताल्मुदको विद्वान आडिन स्टिनसाल्ट्स लेख्छन्: “सा.यु. ७० मा . . . भएको त्यस विनाशले गर्दा धार्मिक जीवनको सम्पूर्ण रूपरेखा तुरुन्तै फेरि बनाउनुपर्ने भयो।” अनि तिनीहरूले त्यस्तो रूपरेखा पुनर्निर्माण गरे।
मन्दिर विनाश हुनुअघि समेत फरिसी नेता हिल्लेलको आदरणीय चेला, योहानान बेन जाकीले यरूशलेमबाट यहूदीधर्म र महासभाको आध्यात्मिक केन्द्र जेब्नेहमा सार्न भेस्पासियनबाट (जो तुरुन्तै सम्राट भएका थिए) अनुमति पाए। स्टिन्साल्ट्सले बताएअनुसार, यरूशलेमको विनाशपछि योहानान बेन जाकीले मानिसहरूका लागि नयाँ केन्द्रबिन्दु स्थापित गर्न र नयाँ परिस्थितिअनुसार तिनीहरूलाई ढाल्ने चुनौतीको सामना गरे। यही चुनौतिपूर्ण कार्यद्वारा मानिसहरूको धार्मिक जोसलाई अर्कै केन्द्रबिन्दुतिर मोड्न परेको थियो किनभने अबउसो मन्दिर अस्तित्वमा थिएन।” त्यो नयाँ केन्द्रबिन्दु थियो, मौखिक व्यवस्था।
मन्दिर ध्वस्त भएपछि सदुकी र अरू यहूदी सम्प्रदायहरूले भरपर्दो विकल्प निकाल्न सकेनन्। तसर्थ, फरिसीहरू विरोधी समूहहरूसित मिलेर यहूदीधर्मको अग्रपंक्तीमा आए। रब्बीहरूले एकतामाथि जोड दिंदै साम्प्रदायिक भेदभाव र विभाजनलाई संकेत गर्ने फरिसी भन्ने शब्दद्वारा आफूलाई चिनाउन छोडे। तिनीहरू केवल रब्बीहरू अर्थात् “इस्राएलका पण्डितहरू” भनेर चिनिन थालिए। यी पण्डितहरूले आफ्नो त्यो मौखिक व्यवस्थालाई गाभ्न एक प्रकारको धार्मिक प्रक्रिया सृजना गर्नेथिए। अनि यो आध्यात्मिक मन्दिर, मानिसको आक्रमणमा सहजै ढल्ने वास्तविक मन्दिरजस्तो फितलो हुने थिएन।
मौखिक व्यवस्थालाई बलियो पार्छ
जेब्नेस्थित रब्बी प्रज्ञा प्रतिष्ठान (यरूशलेमदेखि ४० किलोमिटर टाढामा) त्यसताका मुख्य केन्द्र भए तापनि मौखिक व्यवस्थाका अरू शिक्षाहरू इस्राएलभरि अनि बेबिलोन र रोमजस्तो टाढा टाढासम्म पनि फैलियो। तथापि, यसले समस्या खडा गऱ्यो। स्टिनसाल्ट्स बताउँछन्: “ती सबै बुद्धिजीवीहरू एकसाथ भेला होउञ्जेल र [यरूशलेमका] मानिसहरूको एक समूहले विद्वताको मुख्य काम पूरा गरुञ्जेल एकताबद्ध परम्परा संरक्षित भयो। तर शिक्षकहरूको बढौती र भिन्न भिन्न स्कूलहरूको स्थापनाले गर्दा मौखिक व्यवस्था व्याख्या गर्ने विभिन्न तरिकाहरू अधिक हुनुका साथै अभिव्यक्तिको तरिका सृजियो।”
मौखिक व्यवस्थाका शिक्षकहरूलाई टानाइम भनिन्थ्यो र यो शब्द “अध्ययन गर्नु,” “दोहोऱ्याउनु” मूल अर्थ लाग्ने अरामिक शब्दबाट लिइएको हो। यसले तिनीहरूको त्यस तरिकालाई जोड दिन्थ्यो जुन तरिका मार्फत तिनीहरू अत्यधिक मात्रामा दोहोऱ्याउँदै तथा कण्ठस्थ गर्दै मौखिक व्यवस्था सिक्थे र सिकाउँथे। मौखिक परम्पराहरू सजिलोसित कण्ठस्थ गर्न प्रत्येक नियम वा परम्परालाई छोटो, संक्षिप्त वाक्यांशमा ढालियो। शब्दहरू कम्ती भएकै बेस मानिन थाल्यो। परम्परागत कवितात्मक शैली प्रयोग गरिने प्रयास गरियो अनि वाक्यांशहरू अक्सर जपिन्थ्यो वा गाइन्थ्यो। यद्यपि, यी तरिकाहरू अव्यवस्थित हुनुका साथै शिक्षकअनुसार फरक फरक हुन्थे।
विभिन्न प्रकारका थुप्रै मौखिक परम्पराहरूलाई खास रूप र ढाँचा दिने प्रथम रब्बी, आकिभा बेन जोजेफ थिए। (सा.यु. ५०-१३५ तिर) तिनको सम्बन्धमा स्टिनसाल्ट्स लेख्छन्: “समकालीनहरूले तिनको क्रियाकलापलाई ती श्रमिकको कार्यसित तुलना गर्थे जसले खेतमा गएर तरकारी वा फलफूल जे पायो त्यही डालोमा हाल्छन् अनि घरमा आएर ती चीजहरू अलग अलग छुट्याउँछन्। अकिभाले थुप्रै अव्यवस्थित विषयहरू अध्ययन गरेर ती सबैलाई विभिन्न श्रेणीमा छुट्याएका थिए।”
यरूशलेम विनाश भएको ६० वर्षभन्दा पछि सा.यु. दोस्रो शताब्दीमा बार कोक्बाको नेतृत्वमा यहूदीहरूले रोमको विरुद्ध दोस्रो पटक ठूलो विद्रोह गरे। फेरि एक पटक विद्रोहले उत्पात मच्चायो। त्यस विद्रोहमा मारिने लगभग दश लाख यहूदीहरूमध्ये अकिभा र तिनका थुप्रै चेलाहरू पनि थिए। रोमी सम्राट, हेड्रियनले मन्दिर विनाशको वार्षिकी मनाउँदाबाहेक अरू बेला यहूदीहरू यरूशलेममा प्रवेश गर्न नपाउने घोषणा गरेपछि मन्दिर पुनर्निर्माण गर्ने आशा चक्नाचूर भयो।
अकिभापछिका टानाइमले यरूशलेमको मन्दिर कहिल्यै देखेका थिएनन्। तर मौखिक व्यवस्थाका परम्पराहरू अध्ययन गर्न बनाइएको संरचना नै तिनीहरूको “मन्दिर” वा उपासनाको केन्द्र भयो। मौखिक व्यवस्थाको यस संरचनालाई मजबूत बनाउन अकिभा र तिनका चेलाहरूले थालेका कार्यलाई अन्तिम टानाइम, जुडा हा-नासीले हातमा लिए।
मिश्नाहमा समावेश कुराहरू
जुडा हा-नासी, हिल्लेल र गमलिएलका सन्तान थिए।b तिनी बार कोख्बाको विद्रोहको दौडान जन्मेका थिए। सा.यु. दोस्रो शताब्दीको अन्ततिर र सा.यु. तेस्रो शताब्दीको सुरुतिर तिनी इस्राएलमा यहूदी समुदायको प्रमुख भए। हा-नासी नाउँको अर्थ, “राजकुमार” हो र यसले सँगी यहूदीहरूमाझ तिनले प्राप्त गरेको प्रतिष्ठालाई देखाउँछ। तिनलाई अक्सर रब्बी मात्र भनिन्छ। जुडा हा-नासिले गालीलको गाउँ बेत शेआरिममा पहिला अनि त्यसपछि गालीलको सेफोरिसमा आफ्नो स्कूल र महासभा दुइटै सञ्चालन गरे।
भविष्यमा रोमसितको संघर्षले मौखिक व्यवस्थाको यही हस्तान्तरणलाई खतरामा पार्लान् भनी बुझेर जुडा हा-नासिले त्यसको संरक्षण हुने किसिमको संरचना बनाउने निर्णय गरे। तिनले आफ्नो स्कूलमा त्यतिबेलाका सबैभन्दा विशिष्ट विद्वानहरूलाई भेला गराए। मौखिक व्यवस्थाको प्रत्येक बुँदा तथा परम्परामाथि तर्कवितर्क गरियो। यी सबै छलफललाई हिब्रू गद्यको कठिन र अत्यन्त संक्षिप्त वाक्यांशहरूमा ढालियो।
यी छलफल गर्दा एकत्रित गरिएका विषयअनुसार मुख्य मुख्य छ वटा भाग वा व्यवस्थाहरूमा सुव्यवस्थित गरेर राखियो। जुडाले अझ त्यसलाई ६३ वटा भाग वा ग्रन्थहरूमा बाँडे। त्यसरी आध्यात्मिक भवन निर्माण भयो। त्यस समयसम्म यस्ता परम्पराहरू एक पुस्ताले अर्को पुस्ताबाट मौखिक तवरमै सिक्थे। तर थप सुरक्षाको निम्ति प्रत्येक कुरा लिपिबद्ध गर्ने अन्तिम र क्रान्तिकारी पाइला चालियो। मौखिक व्यवस्थालाई सुरक्षित राख्ने यो प्रभावशाली लिखित संरचनालाई मिश्नाह भनियो। मिश्नाहको मूल हिब्रू शब्द शा-नाह-को अर्थ “दोहोऱ्याउनु,” “अध्ययन गर्नु” वा “सिकाउनु” हो। यसको र अरामिक शब्द टिना-को एकै अर्थ लाग्छ। अनि यसै टिना-बाट टानाइम शब्द लिइएको हो जसलाई मिश्नाहका शिक्षकहरू बुझाउन प्रयोग गरियो।
मिश्नाहको उद्देश्य यहूदी व्यवस्थालाई अन्तिम संक्षिप्त रूप दिनु थिएन। पाठकहरूलाई आधारभूत सिद्धान्तहरू थाह छ भन्ने अनुमान गर्दै यसमा प्रायः अपवादहरू दिएका छन्। वास्तवमा, यसले जुडा हा-नासिको समयताका रब्बीहरूका स्कूलहरूमा छलफल गरिएका र सिकाइएका कुराहरूलाई संक्षिप्तमा बताएको छ। मिश्नाह त थप तर्कको लागि मौखिक व्यवस्थाको रूपरेखा अर्थात् सानो रूप वा आधारभूत संरचना हुनुपर्थ्यो।
मिश्नाहले सीनै पर्वतमा मोशालाई दिइएको कुराको साटो फरिसीहरूले सुरु गरेको धारणा अर्थात् मौखिक व्यवस्थाको विकासमाथि प्रकाश पार्छ। मिश्नाहमा लिपिबद्ध जानकारीले मसीही युनानी धर्मशास्त्रका कथनहरू अनि येशू ख्रीष्ट तथा फरिसीहरूबीचको कुनै कुनै वादविवादलाई बुझ्न केही मदत गर्छ। तथापि, सावधानी अपनाउनुपर्छ किनभने मिश्नाहले सा.यु. दोस्रो शताब्दीका यहूदी दृष्टिकोणलाई झल्काउँछ। मिश्नाहले दोस्रो मन्दिरको समय र ताल्मुदबीच सम्बन्ध जोड्छ।
[फुटनोटहरू]
a थप जानकारीको लागि वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित के युद्धरहित संसार कहिल्यै हुनेछ? (अंग्रेजी) पुस्तिकाको पृष्ठ ८-११ हेर्नुहोस्।
b जुलाई १५, १९९६ प्रहरीधरहरा-को “गमलिएल—तिनले टार्ससका शावललाई सिकाए” लेख हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको पेटी]
मिश्नाहका भागहरू
मिश्नाहलाई छ व्यवस्थाहरूमा विभक्त गरिएको छ। यी व्यवस्थाहरूभित्र ६३ स-साना पुस्तकहरू वा ग्रन्थ छन् ती पुस्तकहरूलाई अध्याय तथा मिश्नायोट वा अनुच्छेदहरूमा (पद होइन) बाँडिएका छन्।
१. जेरायम (खेतीपातीसम्बन्धी व्यवस्थाहरू)
यी ग्रन्थहरूमा खानेकुरा र खेतीपातीसम्बन्धी गरिएको प्रार्थनाका छलफलहरू छन्। यसमा दशांश, पूजाहारीको भाग, सीलाबाला बटुल्ने र विश्राम वर्षबारे व्यवस्थाहरू पनि छन्।
२. मोएड (पवित्र अवसरहरू, उत्सवहरू)
यस व्यवस्थाका ग्रन्थहरूमा विश्राम दिन, प्रायश्चितको दिन र अरू उत्सवहरूसम्बन्धी व्यवस्थाहरू छलफल गरिएका छन्।
३. नाशिम (स्त्री, विवाहसम्बन्धी व्यवस्था)
यी ग्रन्थहरूमा विवाह, पारपाचुके, बाचा, नाजिरीहरू र व्यभिचारको शंकाबारे छलफल गरिएको छ।
४. नेजिकिन (नोक्सानी र निजामती व्यवस्था)
यस व्यवस्थाका ग्रन्थहरूमा निजामती तथा सम्पत्तिबारे व्यवस्था, अदालत, सजाय, महासभाको कार्य, मूर्तिपूजा, भाकल अनि नेताहरूको नीतिशास्त्र (एभोट) छन्।
५. कोडाशिम (बलिदानहरू)
यी ग्रन्थहरूमा पशु तथा अन्नबलिका साथै मन्दिरको नापजोखसम्बन्धी नीतिनियमहरू छलफल गरिएका छन्।
६. तोहारोट (शुद्धीकरणसम्बन्धी विधिविधानहरू)
यस व्यवस्थाका ग्रन्थहरूमा शुद्धता, स्नान, हातधुने, छालाको रोग र विभिन्न अशुद्ध वस्तुहरूबारे विधिविधान छलफल गरिएको छ।
[पृष्ठ २८-मा भएको पेटी]
मिश्नाह र मसीही युनानी धर्मशास्त्र
मत्ती १२:१, २: “त्यस बखत येशू विश्रामको दिन अन्नका खेतहरूबाट भएर जानुहुँदै थियो, र उहाँका चेलाहरू भोकाएका हुँदा अन्नका बाला टिप्न र खानलागे। तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर, तिम्रा चेलाहरू विश्रामको दिन जे गर्नु अनुचित छ त्यही गर्दछन्।” येशूका चेलाहरूको त्यो कार्यलाई हिब्रू धर्मशास्त्रले मनाही गरेको छैन। तर रब्बीहरूले विश्रामको दिनमा मनाही गरेको ३९ क्रियाकलापको सूची मिश्नाहमा पाइन्छ।—सब्बाट ७:२.
मत्ती १५:३: “[येशूले] तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरू पनि किन तिमीहरूका रीतिद्वारा परमेश्वरका आज्ञा भंग गर्दछौ?’ ” मिश्नाहले यस मनोवृत्तिलाई प्रमाणित गर्छ। (महासभा ११:३) त्यहाँ यस्तो लेखिएको पाउँछौं: “[लिखित] व्यवस्थाका शब्दहरू [पालन गर्नमा भन्दा] शास्त्रीहरूका शब्दहरू [पालन गर्नमा] बढी कडिकडाइ लागू गरिन्छ। कुनै मानिसले ‘व्यवस्था पत्री लगाउनुपर्दैन’ भनेर व्यवस्थाको आज्ञा उल्लंघन गरेमा तिनी दोषी हुँदैनन्; [तर तिनले] ‘व्यवस्था पत्रीमा पाँच भाग हुनुपर्छ’ [भनेर] शास्त्रीहरूको भनाइमा आफ्नो भनाइ थपेमा तिनी दोषी हुन्छन्।”— द मिश्नाह, हर्बट ड्यान्डीद्वारा, पृष्ठ ४००.
एफिसी २:१४: “हाम्रा शान्ति उहाँनै हुनुहुन्छ, जसले बीचको छेक्ने बार तो[ड्नुभयो]।” मिश्नाह भन्छ: “यरूशलेमको डाँडोको मन्दिरभित्र दश हात चौडाइ-उचाइको छेकबार (सोरेग) थियो।” (मिड्डोट २:३) यस बारलाई पार गरेर भित्री चोकमा प्रवेश गर्ने अनुमति अन्यजातिहरूलाई थिएन। प्रेरित पावलले सा.यु. ६० वा ६१ तिर एफिसीहरूलाई पत्र लेख्दा शायद यसै कुरालाई प्रतीकात्मक तवरमा औंल्याएको हुनुपर्छ। लाक्षणिक पर्खाल बाचाको व्यवस्था थियो जसले धेरै समयअघिदेखि यहूदी र अन्यजातिहरूलाई छुट्याएको थियो। तथापि, सा.यु. ३३ मा येशूको मृत्युको आधारमा त्यो पर्खाल ढल्यो।