मत्तिका अनुसार
१२ एकपटक येसु विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको थियो। उहाँका चेलाहरू भोकाए अनि तिनीहरूले गहुँका बालाहरू टिपेर खान थाले।+ २ यो देखेर फरिसीहरूले उहाँलाई भने: “हेर्नुहोस्, तपाईँका चेलाहरूले विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्घन गरिरहेका छन्।”+ ३ उहाँले तिनीहरूलाई भन्नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, तिमीहरूले पढेका छैनौ?+ ४ परमेश्वरलाई चढाइएका रोटीहरू*+ पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि तिनी परमेश्वरको भवनभित्र पसे अनि तिनीहरूले ती रोटीहरू खाए।+ ५ अथवा विश्रामदिनको बेला मन्दिरमा सेवा गर्ने पुजारीहरूले विश्रामदिनसम्बन्धी नियम पालन गर्दैनन् तैपनि तिनीहरू निर्दोष ठहरिन्छन् भनी के तिमीहरूले व्यवस्थामा पढेका छैनौ?+ ६ तर म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि महान् कोही एक जना यहाँ छ।+ ७ ‘म बलिदान होइन, कृपा चाहन्छु’+ भन्नुको अर्थ के हो, तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई दोषी ठहराउने थिएनौ। ८ किनकि मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+
९ त्यस ठाउँबाट जानुभएपछि उहाँ तिनीहरूको सभाघरमा पस्नुभयो। १० अनि हेर! त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको* थियो।+ त्यसैले उहाँलाई दोष लगाउने निहुँ पाउन फरिसीहरूले सोधे: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्घन हुन्छ कि हुँदैन?”+ ११ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+ १२ एउटा भेडाभन्दा मानिस झन् कत्ति बहुमूल्य होला! त्यसैले विश्रामदिनमा असल काम गर्दा नियम उल्लङ्घन हुँदैन।” १३ तब उहाँले त्यस मानिसलाई भन्नुभयो: “तिम्रो हात तन्काऊ।” उसले आफ्नो हात तन्कायो अनि त्यो हात पनि अर्को हातजस्तै सद्दे भइहाल्यो। १४ तर फरिसीहरू बाहिर गए अनि उहाँलाई मार्न आपसमा मतो गरे। १५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+ १७ यसप्रकार यसैया भविष्यवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:
१८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्। १९ तिनले झगडा गर्नेछैनन्,+ तिनी चिच्याउनेछैनन् अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्नेछैन। २० तिनले फुटेको नर्कट भाँच्नेछैनन्, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्। २१ जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्।”+
२२ त्यसपछि तिनीहरूले प्रेत* बास गरेको एक जना मानिस उहाँकहाँ ल्याए, जो अन्धो र गुँगो थियो अनि उहाँले उसलाई निको पार्नुभयो। तब त्यो मानिसले बोल्न र देख्न थाल्यो। २३ यो देखेर भीडमा भएकाहरू सबै छक्क परे र यसो भन्न थाले: “कतै यिनी दाउदका छोरा त होइनन्?” २४ यो सुनेर फरिसीहरूले भने: “यस मानिसले प्रेतहरूको शासक बालजिबुलको* मदत लिएर प्रेतहरूलाई धपाउँछ।”+ २५ तिनीहरू के सोच्दै छन् भन्ने थाह पाएर उहाँले यसो भन्नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर वा घरभित्र फूट छ, त्यो टिक्नेछैन। २६ त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र? २७ साथै यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्। २८ तर यदि म परमेश्वरको पवित्र शक्तिले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २९ अथवा के कसैले बलियो मानिसको घरमा घुसेर उसको सामान कब्जा गर्नुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? त्यसपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। ३० जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+
३१ “यसकारण म तिमीहरूलाई भन्छु, मानिसहरूले गर्ने हरप्रकारका पाप र निन्दा क्षमा गरिनेछ तर पवित्र शक्तिविरुद्ध गरिएको निन्दा क्षमा गरिनेछैन।+ ३२ उदाहरणको लागि, जसले मानिसको छोराको विरुद्धमा केही बोल्छ, उसलाई क्षमा दिइनेछ।+ तर जसले पवित्र शक्तिको विरुद्धमा बोल्छ, उसलाई न यस युगमा* न त पछि आउने युगमै क्षमा दिइनेछ।+
३३ “यदि तिमीहरू असल रूख बन्यौ भने असलै फल फलाउनेछौ तर खराब रूख बन्यौ भने खराबै फल फलाउनेछौ किनकि रूख कस्तो हो, त्यसको फलैबाट चिनिन्छ।+ ३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+ ३५ असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ, अर्कोतिर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ।+ ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्।+ ३७ किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई धर्मी ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”
३८ तब कोही-कोही शास्त्री र फरिसीहरूले उहाँलाई यस्तो जवाफ फर्काए: “हे गुरुज्यू, तपाईँले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौँ।”+ ३९ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “दुष्ट र विश्वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ४० किनकि योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात रहेजस्तै+ मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।+ ४१ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन् किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+
४३ “जब एउटा प्रेत* एक जना मानिसबाट बाहिर निस्कन्छ, तब त्यसले सुक्खा ठाउँहरूमा विश्रामस्थल खोज्छ तर भेट्टाउँदैन।+ ४४ अनि त्यसले भन्छ: ‘म जुन घरबाट निस्केर आएँ, त्यहीँ जान्छु।’ त्यहाँ पुग्दा त्यसले त्यो घर खाली मात्र होइन, सफा पारेर सजिसजाउ गरिएको पनि पाउँछ। ४५ तब त्यो जान्छ र आफूभन्दा पनि दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पसेर त्यहीँ बस्छन्। अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन् खराब हुन्छ।+ यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”
४६ उहाँ भीडसित बोलिरहनुभएको बेला उहाँकी आमा र भाइहरू+ उहाँसित कुरा गर्न बाहिर पर्खिरहेका थिए।+ ४७ तब कसैले उहाँलाई भन्यो: “हेर्नुहोस्! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसित कुरा गर्न बाहिर पर्खिरहेका छन्।” ४८ उहाँले त्यस मानिसलाई जवाफ दिनुभयो: “को हुन् मेरी आमा अनि को हुन् मेरा भाइहरू?” ४९ आफ्नो हातले चेलाहरूलाई देखाउँदै उहाँले भन्नुभयो: “हेर! मेरी आमा अनि मेरा भाइहरू!+ ५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+