“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर”
“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।”—प्रस्थान ३४:६.
१. (क) ज-जसका प्रिय व्यक्तिहरू शुद्ध उपासनाबाट तर्किएका छन्, तिनीहरूका लागि बाइबलले कस्तो सान्त्वना दिन्छ? (ख) गल्ती गर्नेहरूलाई यहोवा कुन दृष्टिले हेर्नुहुन्छ?
“मेरी छोरीले अब उप्रान्त मसीही मण्डलीमा रहन चाहन्न भनेर मलाई बताइन्,” एक मसीही बुबा भन्छन्। “दिनौं, हप्तौं र महिनौंपछि पनि ती शब्दहरूले मलाई सताइरहे। यो मृत्युभन्दा पनि कष्टप्रद थियो।” प्रिय व्यक्ति शुद्ध उपासनाको मार्गबाट तर्कंदा पक्कै पनि असाध्यै चोट लाग्छ। के तपाईंले पनि यस्तै अनुभव गर्नुपरेको छ? छ भने, हतास नहुनुहोस्, किनकि यहोवा तपाईंको अवस्थालाई राम्ररी बुझ्न सक्नुहुन्छ। (प्रस्थान ३:७; यशैया ६३:९) तर यस्ता गल्ती गर्नेहरूलाई उहाँ कुन दृष्टिकोणले हेर्नुहुन्छ? यहोवा तिनीहरूमाथि टिठाउनुहुँदै फेरि उहाँको अनुमोदन प्राप्त गर्न फर्कने निम्तो दिनुहुन्छ भनी बाइबलले देखाउँछ। मलाकीको समयका विद्रोही यहूदीहरूलाई उहाँले यस्तो आग्रह गर्नुभयो: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।”—मलाकी ३:७.
२. दया यहोवाको अन्तरनिहित गुण हो भनेर बाइबलले कसरी देखाउँछ?
२ सीनै पर्वतमा मोशासमक्ष परमेश्वरको दया प्रकट गरिएको थियो। त्यहाँ यहोवाले आफैलाई “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनेर प्रकट गर्नुभयो। (प्रस्थान ३४:६) दया यहोवाको व्यक्तित्वको अन्तरनिहित गुण हो भनेर यो घोषणाले जोड दिन्छ। उहाँ “सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा” गर्नुहुन्छ भनी मसीही प्रेरित पत्रुसले लेखे। (२ पत्रुस ३:९) तथापि, परमेश्वरको दया असीमित छैन। मोशालाई उहाँ “दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने” हुनुहुन्छ भनियो। (प्रस्थान ३४:७; २ पत्रुस २:९) तथापि, “परमेश्वर प्रेम हुनुहुन्छ” र यो गुणको विस्तृत पक्ष दया हो। (१ यूहन्ना ४:८; याकूब ३:१७) यहोवा “रीस सधैंसम्मलाई राखिछोड़नुहुन्न,” उहाँ “दया गर्न रूचाउनुहुन्छ।”—मीका ७:१८, १९.
३. दयाप्रति येशूको दृष्टिकोण सदुकी तथा फरिसीहरूको भन्दा कसरी एकदम फरक छ?
३ येशू, स्वर्गमा हुनुहुने आफ्नो पिताको दुरुस्त नमुना हुनुहुन्थ्यो। (यूहन्ना ५:१९) गल्ती गर्नेहरूमाथि दया देखाउनुभएर उहाँले तिनीहरूको पापलाई छुट दिनुभइरहेको थिएन बरु, दयालु भाव व्यक्त गर्नुभइरहेको थियो। (मर्कूस १:४०, ४१ तुलना गर्नुहोस्।) हो, येशूले दयालाई परमेश्वरको व्यवस्थाका “गहकिला कुराहरू[मध्ये]” गन्नुभयो। (मत्ती २३:२३) यसको विपरीत सदुकी तथा फरिसीहरूलाई लिनुहोस्। तिनीहरूको विचारमा धार्मिक न्याय गर्नुको अर्थ अक्सर दया देखाउँदै नदेखाउनु थियो। येशूले पापीहरूसित संगत गरिरहनुभएको देख्दा तिनीहरूले यसो भन्दै गुनासो गरे: “यस मानिसले ता पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसित खान्छ।” (लूका १५:१, २) येशूले आफूलाई दोष लगाउनेहरूलाई मुखभरिको जवाफ दिन यहोवाको दयालाई जोड दिने तीनवटा उखानहरू चलाउनुभयो।
४. येशूले कुन दुइटा दृष्टान्तहरू भन्नुभयो र तिनको अर्थ के थियो?
४ सबैभन्दा पहिला उहाँले ९९ वटा भेडाहरूलाई छोडेर हराएको एउटा भेडा खोज्न जाने मान्छेबारे बताउनुभयो। उहाँ के भन्न खोज्दै हुनुहुन्थ्यो? “पश्चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रति भन्दा पश्चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ।” त्यसपछि येशूले एक चाँदीको सिक्का हराएर खोज्ने र पाएपछि खुसी हुने एउटी आइमाईबारे बताउनुहुन्छ। उहाँ के बुझाउन खोज्दै हुनुहुन्थ्यो? “परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।” येशू तेस्रो उखान चाहिं दृष्टान्तको रूपमा बताउनुहुन्छ।a यसलाई अहिलेसम्मको सबैभन्दा अत्युत्तम लघुकथा भनिएको छ। यो उखानमाथि ध्यान दियौं भने यसले परमेश्वरको दयाको मूल्यांकन गर्न र त्यसको अनुसरण गर्न हामीलाई मदत गर्नेछ।—लूका १५:३-१०.
विद्रोही छोरा घर छोड्छ
५, ६. येशूको तेस्रो उखानमा कान्छो छोरोले रत्तीभर मूल्यांकन नभएको कसरी देखाउँछ?
५ “कुनै मानिसका दुइ छोरा थिए, औ तिनीहरूमध्ये कान्छा चाहिंले बाबुलाई भन्यो, ‘ए पिता धन-सम्पत्तिको मेरो भागमा पर्ने हिस्सा मलाई दिनुहोस्।’ तब तिनले तिनीहरूलाई सम्पत्ति बाँड़िदिए। अनि थोरै दिनमा कान्छो छोराले सबै धन-सम्पत्ति बटुलेर टाढ़ा देशमा गइहाल्यो, औ त्यहाँ मोज-मजामा आफ्नो सम्पत्ति उड़ायो।”—लूका १५:११-१३.
६ यहाँ कान्छो छोराले मूल्यांकनको रत्तीभर मूल्यांकन नगरेको देखाउँछ। सबैभन्दा पहिला त उसले आफ्नो भाग माग्यो, अनि त्यसपछि “मोज-मजामा” आफ्नो सम्पत्ति बेफ्वाँकमा उडायो। यहाँ “मोज-मजा” भनिएको अभिव्यक्ति “दुराचारी जीवन बिताउनु” अर्थ लाग्ने युनानी शब्दबाट अनुवाद गरिएको हो। एक शास्त्रज्ञअनुसार यो शब्दले “एकदमै पतित नैतिकतालाई जनाउँछ।” त्यसैकारण, येशूले उखानमा यो ठिटोलाई अक्सर उडन्ता अर्थात् विचार नगरी चाहिनेभन्दा बढ्ता खर्च गर्ने, फजुलखर्ची भन्नु एकदमै सुहाउँदो छ।
७. आज उडन्ताजस्तै को छन् र यस्ता थुप्रै व्यक्तिहरूले “टाढ़ा देशमा” किन स्वतन्त्रता खोज्छन्?
७ यो उडन्ताजस्तै मानिसहरू के आज पनि छन्? छन्। दुःखको कुरा, केही व्यक्तिहरूले हाम्रो स्वर्गमा हुनुहुने पिता यहोवाको सुरक्षित “घर” छोडेर हिंडेका छन्। (१ तिमोथी ३:१५) यिनीहरूमध्ये कसै कसैलाई यहोवाको नजर सुरक्षा त होइन तर अड्चन भएकोले परमेश्वरको घरानाको वातावरण असाध्यै प्रतिबन्धित लागेको छ। (भजन ३२:८ तुलना गर्नुहोस्।) बाइबल सिद्धान्तहरूअनुरूप हुर्काइएकी तर पछि मद्य तथा लागू पदार्थको दुर्व्यसनमा लागेकी एक मसीही आइमाईलाई विचार गर्नुहोस्। आफ्नो जीवनका काला रातहरूलाई सम्झँदै तिनी भन्छिन्: “म मेरो जीवन उत्तम बनाउनसक्छु भनेर प्रमाणित गर्न चाहन्थें। म मनखुसी गर्न चाहन्थें र कसैले मलाई टीकाटिप्पणी गरेको मन पराउन्नँथें।” उडन्ताजस्तै यस युवती स्वतन्त्र हुन खोजिन्। दुःखलाग्दो कुरा, गैरशास्त्रीय काम गरेकीले तिनलाई मसीही मण्डलीबाट निकाल्नुपऱ्यो।—१ कोरिन्थी ५:११-१३.
८. (क) परमेश्वरका स्तरहरू विपरीत जीवन बिताउन चाहनेहरूलाई कस्तो मदत गर्न सकिन्छ? (ख) कसको उपासना गर्ने त्यो किन गम्भीरतासाथ छान्नुपर्छ?
८ सँगी विश्वासीले परमेश्वरको स्तर विपरीत जीवन बिताउने इच्छा गरेको देख्दा साँच्चै खल्लो लाग्छ। (फिलिप्पी ३:१८) यस्तो हुँदा प्राचीन तथा आध्यात्मिक योग्यता भएकाहरूले गल्ती गर्ने व्यक्तिलाई सुधार्ने अथक प्रयास गर्छन्। (गलाती ६:१) यद्यपि, मसीही शिष्यत्वको जुवा बोक्नैपर्ने कर कसैलाई पनि छैन। (मत्ती ११:२८-३०; १६:२४) बालिग भएपछि किशोरकिशोरीहरूले समेत कसको उपासना गर्ने आफैले छान्नुपर्छ। आखिर, हामी सबैसित असल र खराब छुट्याउने अधिकार छ र त्यसैअनुसार हामी प्रत्येकले आफ्नो लेखा परमेश्वरलाई दिनुपर्नेछ। (रोमी १४:१२) हो, हामी ‘जे रोप्छौं, त्यसैको कटनी पनि गर्छौं’ र यही पाठ येशूको उखानको त्यो उडन्ताले पनि सिक्नै लागेको थियो।—गलाती ६:७, ८.
टाढाको देशमा अलपत्र
९, १०. (क) उडन्ताको परिस्थिति कसरी हेरफेर भयो र उसले यसको कस्तो प्रतिक्रिया व्यक्त गऱ्यो? (ख) आज साँचो उपासनालाई त्याग्ने केही व्यक्तिहरू उडन्ताजस्तै दुरावस्थामा कसरी पुगेका छन्, व्याख्या गर्नुहोस्।
९ “तर त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पऱ्यो, र त्यसलाई खाँचो पर्नलाग्यो। औ त्यो गएर त्यस देशका निवासीहरूमध्ये एउटाकहाँ टाँसियो, औ उसले त्यसलाई आफ्नो खेतमा सूङगुर चराउन पठायो। औ सूङगुरहरूले खाने गरेका कोसाहरूले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, औ कसैले त्यसलाई केही दिंदैन थियो।”—लूका १५:१४-१६.
१० कंगाल भए तापनि त्यो उडन्ताले अझै घर फर्कने विचार गरेन। बरु, उसले एक जना मानिसलाई भेट्यो र तिनले उसलाई सुँगुर चराउने काम दिए। मोशालाई दिइएको व्यवस्थाअनुसार सुँगुर अशुद्ध जनावर भएकोले यस्तो काम यहूदीहरूले सायद गर्दैनथे। (लेवी ११:७, ८) तर यस्तो स्थितिमा उडन्तालाई उसको अन्तस्करणले घचघच्याएको भए तापनि उसले त्यो दबाउनुपऱ्यो। आखिर उसले त्यस स्थानीय बासिन्दा अर्थात् मालिकले ऊजस्तो कंगाल विदेशीको भावनालाई ख्यालमा राखेको पनि त आशा गर्नसकिंदैनथ्यो। आज शुद्ध उपासनाको सोझो मार्ग त्याग्ने थुप्रै यो उडन्ताजस्तै दुरावस्थामा पुग्छन्। यस्ताहरू अक्सर पहिले आफैले नै नीच ठानेको कामकुरामा मुछिन पुग्छन्। उदाहरणका लागि, १७ वर्षको उमेरमा एक ठिटोले मसीही लालनपालनको विरोध गऱ्यो। ऊ स्वीकार्छ, “अनैतिकता र लागू पदार्थको दुर्व्यसनमा डुबेर मैले वर्षौंको बाइबल-आधारित शिक्षाहरूलाई धुलोमा मिलाई दिएँ।” नभन्दै केही समयभित्रै ऊ डकैती र हत्याको आरोपमा थुनियो। हुन त पछि उसले आध्यात्मिक प्रगति गऱ्यो तर “केही समयसम्म पापको सुख भोग्न” खोज्दा कस्तो घातक परिणाम भोग्नुपऱ्यो।—हिब्रू ११:२४-२६ तुलना गर्नुहोस्।
११. उडन्ताको हालत झन् दयनीय कसरी भयो र आज कसै कसैले संसारको आकर्षण “फोस्रो छल” मात्र भएको कसरी थाह पाएका छन्?
११ उडन्ताको हालत झनै दयनीय भयो किनकि “कसैले त्यसलाई केही दिंदैन थियो।” उसका नयाँ साथीहरू खै कता गए? ऊसित फुट्टीकौडी नभएकोले ऊ तिनीहरूको निम्ति “अप्रिय” भएको थियो। (हितोपदेश १४:२०) त्यसैगरि, विश्वासबाट तर्कने थुप्रैले यो संसारको आकर्षण तथा दृष्टिकोण “फोस्रो छल” मात्र भएको पाए। (कलस्सी २:८) केही समय परमेश्वरको संगठनलाई त्याग्ने एउटी युवतीले भनिन्, “यहोवाको निर्देशनबिना मैले निकै दुःखकष्ट भोग्नुपऱ्यो, व्यथित हुनुपऱ्यो। म संसारकै चालमा चल्न खोजें तर तिनीहरू जस्तै हुन नसकेकोले तिनीहरूले मलाई स्वीकारेनन्। मलाई आफू हराएको बच्चाजस्तै लाग्यो, एक जना डोऱ्याउने बुबाको आवश्यकता खट्कियो। बल्ल त्यतिखेर यहोवाको आवश्यकता महसुस गरें। अब म फेरि कहिल्यै उहाँसित अलग्गिएर स्वतन्त्र हुन चाहन्नँ।” येशूको उखानको उडन्ताले पनि यो कुरा बुझ्यो।
उडन्ताको होस खुल्छ
१२, १३. आज कसै कसैको होस खुल्न केले मदत गरेको छ? (पेटी हेर्नुहोस्।)
१२ “तर त्यसको होश खुलेपछि त्यसले भन्यो, ‘मेरा बाबुका कत्ति ज्यालादारी चाकरहरूलाई खानेकुरो प्रशस्त भएर उबार्ने समेत होलान्, तर मचाहिं भोकले मरिरहेछु। म उठेर आफ्ना बाबुकहाँ जानेछु र उहाँलाई भन्नेछु, “हे पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु, अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी नोकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस्।” ’ तब त्यो उठेर आफ्नो बाबुकहाँ गयो।”—लूका १५:१७-२०.
१३ उडन्ताको ‘होश खुल्छ।’ केही समय त ऊ विलासी जीवनको मानौं स्वप्नलोकमा डुबेको थियो। तर अब भने उसलाई आफ्नो आध्यात्मिक अवस्थाको असाध्यै चिन्ता हुन थाल्यो। हो, यो ठिटो लड्न त बल्ड्याङ्गै लड्यो तर उठ्ला कि भन्ने आशा पनि थियो। ऊसित केही असल गुणहरू थिए। (हितोपदेश २४:१६; तुलना गर्नुहोस् २ इतिहास १९:२, ३।) आज परमेश्वरको बगाललाई छोड्नेहरूको सम्बन्धमा के भन्न सकिन्छ? तिनीहरूले परमेश्वरको पवित्र आत्मा विरुद्ध पाप गरेकै हुन् भन्ने प्रमाण छ भन्दै तिनीहरू फर्केने छाँट छैन भन्नु के तर्कपूर्ण होला र? (मत्ती १२:३१, ३२) त्यसो भन्न सकिन्न। यिनीहरूमध्ये थुप्रैको मन आफ्नो पथभ्रष्ट कार्यले गर्दा भतभती पोलेको छ र समयमा तिनीहरूको होस खुलेको छ। परमेश्वरको संगठनबाट टाढिएर बसेको समय सम्झँदै एउटी बहिनी भन्छिन्, “मैले यहोवालाई एकदिन पनि बिर्सन सकिनँ। उहाँले एक न एक दिन फेरि मलाई कुनै न कुनै तरिकाबाट सच्चाइमा ग्रहण गरून् भनेर म सधैं प्रार्थना गर्थें।”—भजन ११९:१७६.
१४. उडन्ताले के निर्णय गऱ्यो र त्यसो गर्दा उसले कसरी नम्रता देखायो?
१४ तर तर्केकाहरूले आफ्नो स्थितिलाई सुधार्न के गर्नसक्छन्? येशूको उखानमा उडन्ताले फेरि घर फर्कने र बुबासित माफी माग्ने निर्णय गऱ्यो। उसले यसो भन्ने निधो गऱ्यो, “मलाई तपाईंका ज्यालादारी नोकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस्।” ज्यालादारीमा काम गर्ने नोकरले दिनभरि मात्र काम गर्थ्यो र उसलाई जुनसुकै बेला निकाल्न सकिन्थ्यो। यो दर्जा दासको भन्दा पनि कम थियो। किनभने कमसे कम दासलाई परिवारको सदस्य ठानिन्थ्यो। अतः उडन्ताले आफ्नो पहिलेकै जस्तो मान अर्थात् छोरा नै हुन पाऊँ भन्ने कुरा मनमा राखेको थिएन। दिन बित्दै जाँदा बुबाप्रति आफ्नो वफादारीको प्रमाण फेरि पेस गर्नसकियोस् भनेर ऊ निम्न दर्जासमेत ग्रहण गर्न राजी थियो। तथापि, उडन्ता छक्क पर्नेथियो।
हार्दिक सत्कार
१५-१७. (क) छोरालाई देख्दा बुबाले कस्तो प्रतिक्रिया देखाए? (ख) बुबाले छोरालाई दिएको लुगा, औंठी र जुत्ताले के संकेत गर्छ? (ग) बुबाले भोज लगाउनुबाट के बुझिन्छ?
१५ “तर त्यो अझै टाढ़ै छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए, औ दौड़ेर गई त्यसको गलामा तिनले अङालो हालेर त्यसलाई चुम्मन गरे। अनि छोराले तिनलाई भन्यो, ‘हे पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु, म फेरि तपाईंको छोरो भनिने योग्यको छैनँ।’ तर बाबु चाहिंले आफ्ना दासहरूलाई भन्यो, ‘चाँड़ो सबैभन्दा असल लुगा ल्याएर यसलाई लगाइदेओ। औ त्यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ। औ पालिराखेको चाहिं बाछा ल्याएर मार, र हामी खाएर आनन्द मनाऔं, किनकि यो मेरो छोरो मरेको थियो, र फेरि बिउँत्यो, हराएको थियो, र पाइयो।’ अनि तिनीहरू आनन्द मनाउनलागे।”—लूका १५:२०-२४.
१६ जुनसुकै आमाबाबु आफ्नो छोरोछोरीले आध्यात्मिक स्वास्थ्य लाभ गरेको चाहन्छ। अतः छोरो आउला कि भनेर त्यस उडन्ताको बुबाले हरेक दिन निकै उत्सुक भएर घरअगाडिको बाटो कुरेको कल्पना हामी गर्नसक्छौं। लौ! ऊ पर बाटोमा छोरो आइरहेको तिनी देख्छन्! निस्सन्देह, त्यो केटो चिन्नै नसकिने अवस्थामा थियो। तैपनि बुबा चाहिंले उसलाई “अझै टाढ़ै छँदा” देखेर चिने। तिनी त्यो झुत्रोझाम्रो लुगा र त्यजित व्यक्तिभित्र आफ्नो छोरो देख्छन् र तिनी उसलाई भेट्न कुद्छन्!
१७ छोरोलाई भेट्टाएपछि बुबाले उसलाई अंगालो हाले र म्वाइँ खाए। त्यसपछि तिनले दासहरूलाई छोरोको निम्ति लुगाफाटा, औंठी र जुत्ता ल्याउन अह्राए। यो लुगा चानचुने लुगा थिएन तर “सबैभन्दा असल” सायद माननीय अतिथिलाई दिन तयार पारिएको बुट्टेदार लबेदा थियो। दासहरूले औंठी र जुत्ता नलगाउने भएकोले छोरालाई ती कुरा दिएर परिवारकै सक्रिय सदस्यको रूपमा पूर्ण हक दिएर स्वीकारेको कुरा बुबाले स्पष्ट पार्दैथिए। यसबाहेक, बुबाले अझै अरू काम पनि गरे। तिनले फर्केर आएको छोरोको निम्ति भोज लगाए। स्पष्टतया, यो मानिसले आफ्नो छोरोलाई अनिच्छुक हुँदै वा आइहाल्यो माफ गर्नैपऱ्यो भन्दै माफ गरेका थिएनन्। तिनी साँच्चै माफ गर्न चाहन्थे। अनि यसले गर्दा तिनी आनन्दित भए।
१८, १९. (क) उडन्ता पुत्रको उखानले तपाईंलाई यहोवाबारे के सिकाउँछ? (ख) यहूदा र यरूशलेमसितको व्यवहारमा देखिएझैं यहोवा पापी व्यक्तिलाई कसरी “पर्खनुहुनेछ”?
१८ हामीले उपासना गर्ने मौका पाएको परमेश्वरबारे उडन्ता पुत्रको यो उखानबाट के सिक्नसक्छौं? पहिलो त, यहोवा परमेश्वर “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) निस्सन्देह, दया परमेश्वरको विशिष्ट गुण हो। खाँचोमा परेकाहरूसित उहाँ सधैं यसरी नै व्यवहार गर्नुहुन्छ। त्यसपछि, येशूको उखानले यहोवा “क्षमाशील हुनुहुन्छ” भनेर पनि हामीलाई सिकाउँछ। (भजन ८६:५, नयाँ संशोधित संस्करण) उहाँ दया देखाउने आधार पाउन मानौं, पापी मानिसहरूको हृदयमा कुनै परिवर्तन होला कि भनेर चनाखो भई नियाल्नुहुन्छ।—२ इतिहास १२:१२; १६:९.
१९ उदाहरणका लागि परमेश्वरले इस्राएलसित गर्नुभएको व्यवहारबारे सोच्नुहोस्। यशैया अगमवक्ताले यहोवाबाट प्रेरित भएर यहूदा र यरूशलेमलाई “शिरदेखि पैतालासम्मै चोट नभएको कहीं छैन” भनेर वर्णन गरे। यद्यपि, तिनले अझै यसो पनि भने: “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभुले पर्खनुहुनेछ, किनकि परमप्रभु इन्साफ गर्नुहुने परमेश्वर हुनुहुन्छ।” (यशैया १:५, ६; ३०:१८; ५५:७; इजकिएल ३३:११) येशूको उखानमा बुबाले जस्तै यहोवा पनि मानौं ‘बाटो हेरेर बस्नुहुन्छ।’ उहाँको घर छोडेर हिंड्नेहरू फर्केलान् कि भनेर उहाँ उत्सुकतासाथ कुरेर बस्नुहुन्छ। मायालु बुबाले यस्तै गर्नुहुन्छ भनेर हामी आशा गर्छौं, होइन र?—भजन १०३:१३.
२०, २१. (क) आज परमेश्वरको दया देखेर मानिसहरू कुन तरिकामा खिंचिएका छन्? (ख) अर्को लेखमा के छलफल गरिनेछ?
२० वर्षेनी यहोवाको दयाले गर्दा थुप्रैको होस खुलेको छ र तिनीहरू फेरि साँचो उपासना गर्न फर्केका छन्। यसरी फर्कंदा तिनीहरूका प्रियजनहरू कत्ति खुसी भए होलान्! उदाहरणका लागि सुरुमै वर्णन गरिएको बुबालाई विचार गर्नुहोस्। खुसीको कुरा, तिनकी छोरीले आध्यात्मिक स्वास्थ्य लाभ गरिन् र अहिले उनी पूर्ण-समय सेवकको रूपमा सेवा गर्दैछिन्। तिनी भन्छिन्, “यो संसारमा सबैभन्दा खुसी व्यक्ति नै म हुँ। मेरा दुःखका आँसुहरू हर्षका आँसुमा परिणत भएका छन्।” हो, यहोवा पनि पक्कै रमाउनुहुन्छ!—हितोपदेश २७:११.
२१ उडन्ताको उखानमा यसबाहेक अन्य कुराहरू पनि छन्। येशूले आफ्नो कथा जारी राख्नुभयो। अनि यसरी उहाँले यहोवाको दया र सदुकी तथा फरिसीहरूमा व्याप्त कठोर, न्याय गरिहाल्ने मनोवृत्तिबीच तुलना गर्नुभयो। उहाँले यो कसरी गर्नुभयो र यसले हाम्रोनिम्ति के अर्थ राख्छ, अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोट]
a बाइबलमा उल्लिखित उखान तथा अन्य दृष्टान्तहरू वास्तविक घटना थिएनन्। यसबाहेक यी कथाहरूको उद्देश्य नैतिक शिक्षा सिकाउने भएकोले यसका हरेक बुँदाको एक एक लाक्षणिक अर्थ खोज्नु आवश्यक छैन।
पुनरावलोकन गर्दा
◻ दयासम्बन्धी येशूको मनोवृत्ति फरिसीहरूको भन्दा कसरी भिन्न छ?
◻ आज को उडन्ताजस्तै छन् र कसरी?
◻ कुन अवस्थाले गर्दा उडन्ताको होस खुल्यो?
◻ पश्चात्तापी छोरोप्रति बुबाले कसरी दया देखाए?