हिब्रू
११ विश्वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन् भनेर पर्खनु+ र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण* हो। २ किनकि यसैले गर्दा पहिले-पहिलेका मानिसहरूले* आफ्नो विषयमा राम्रो साक्षी पाएका थिए।
३ विश्वासैले गर्दा हामी बुझ्छौँ कि परमेश्वरको वाणीद्वारा स्वर्ग र पृथ्वीमा भएका कुराहरू सृष्टि भए।* यसप्रकार जुन कुराहरू देखिन्छन्, ती नदेखिने कुराहरूबाट अस्तित्वमा आएका हुन्।
४ विश्वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्वरलाई चढाए।+ यसै विश्वासले गर्दा तिनले आफू धर्मी छु भन्ने साक्षी पाए किनकि परमेश्वरले तिनको भेटी स्वीकार गर्नुभयो।*+ अनि तिनी मरिसकेको भए तापनि यसै विश्वासद्वारा अझै बोल्दै छन्।+
५ विश्वासैले गर्दा हनोक+ अर्कै ठाउँमा सारिए ताकि तिनले आफ्नो मृत्यु देख्न नपरोस्। अनि तिनी कतै पनि भेटिएनन् किनभने परमेश्वरले तिनलाई अर्कै ठाउँमा सारिसक्नुभएको थियो।+ तिनलाई अर्कै ठाउँमा सार्नुअघि तिनले आफूले परमेश्वरलाई असाध्यै खुसी पारेको छु भन्ने साक्षी पाइसकेका थिए। ६ साथै विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ* र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।+
७ विश्वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्वासले गर्दा तिनलाई धर्मी ठहराइयो।
८ जब अब्राहामलाई बोलाइयो, तब विश्वासैले गर्दा तिनी+ आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।+ ९ विश्वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+ १० किनकि तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको रचनाकार* र निर्माता परमेश्वर हुनुहुन्छ।+
११ विश्वासैले गर्दा साराले गर्भधारण गर्ने शक्ति पाइन् जबकि गर्भधारण गर्ने तिनको उमेर नाघिसकेको थियो+ किनकि प्रतिज्ञा गर्नुहुने व्यक्तिलाई तिनी विश्वासयोग्य* ठान्थिन्। १२ यसैकारण मरेतुल्य एक जना मानिसबाट+ आकाशका ताराजत्तिकै असङ्ख्य र समुद्र किनाराका बालुवाजत्तिकै अनगिन्ती सन्तान जन्मिए।+
१३ तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू आफ्नो जीवनकालमा पूरा नभए तापनि+ तिनीहरूले ती कुराहरूलाई टाढैबाट देखे+ र स्वागत गरे अनि आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौँ भनी जनसमक्ष घोषणा गरे। १४ किनकि जो यस्ता कुरा गर्छन्, तिनीहरू जोडतोडले त्यस्तो ठाउँ खोज्दै छन् भनेर प्रमाण दिन्छन्, जुन ठाउँ तिनीहरूको आफ्नै हुनेछ। १५ अनि यदि तिनीहरूले आफूले छोडेर आएको ठाउँलाई सम्झिरहेका भए+ तिनीहरूसित फेरि त्यहीँ फर्कने मौका हुने थियो। १६ तर अब अझ उत्तम ठाउँ हासिल गर्न तिनीहरू अघि बढिरहेका छन्, जसको सम्बन्ध स्वर्गसित छ। त्यसैले तिनीहरूका परमेश्वर भनेर कहलाइन परमेश्वर सर्माउनुहुन्न+ किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ।+
१७ विश्वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा+ इसहाकलाई झन्डै बलि चढाइसकेका थिए—प्रतिज्ञाहरू खुसीसाथ स्विकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए+— १८ हुनत तिनलाई यसो भनिएको थियो: “तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।”+ १९ तर पनि तिनलाई थाह थियो, परमेश्वरले इसहाकलाई मृत्युबाट समेत ब्युँताउन सक्नुहुन्छ। अनि तिनले आफ्नो छोरालाई साँच्चै फिर्ता पाए, जुन पछि हुने कुराको नमुना बन्यो।+
२० विश्वासैले गर्दा इसहाकले पछि आउने कुराहरूबारे याकुब र एसावलाई आशिष् दिए।+
२१ विश्वासैले गर्दा याकुबले आफू मर्नै लाग्दा+ युसुफका दुवै छोरालाई आशिष् दिए+ अनि आफ्नो लौरोको टुप्पोमा अडेस लागेर परमेश्वरको उपासना गरे।+
२२ विश्वासैले गर्दा आफ्नो जीवनको अन्ततिर युसुफले इस्राएलका छोराहरू एक दिन मिश्रबाट निस्कनेछन् भनेर बताए। अनि तिनले आफ्ना हड्डीहरूबारे* निर्देशन* दिए।+
२३ विश्वासैले गर्दा मोसाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म तिनलाई लुकाइराखे+ किनभने तिनीहरूले त्यो सानो बालकलाई सुन्दर देखे+ र तिनीहरू राजाको हुकुमदेखि डराएनन्।+ २४ विश्वासैले गर्दा मोसाले आफू हुर्किएपछि+ फारोकी* छोरीको छोरा कहलाइन इन्कार गरे+ २५ अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे। २६ किनभने तिनले मिश्रका धनसम्पत्तिलाई भन्दा अभिषिक्त जनको* रूपमा निन्दा सहनुलाई धेरै मोलको ठाने। किनकि आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए। २७ विश्वासैले गर्दा तिनले मिश्र छोडे,+ राजाको क्रोधसित डराएर त होइन+ किनकि अदृश्य परमेश्वरलाई देखेझैँ गरी+ तिनी अटल रहिरहे। २८ विश्वासैले गर्दा तिनले निस्तार चाड* मनाए अनि रगत छर्के ताकि नाश गर्नेले इस्राएलीहरूका पहिलो सन्तानलाई हानि गर्न* नपाओस्।+
२९ विश्वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिँडेझैँ गरी लाल समुद्र पार गरे+ तर मिश्रीहरूले त्यसै गर्न खोज्दा समुद्रले उनीहरूलाई निल्यो।+
३० विश्वासैले गर्दा मानिसहरूले यरिहो सहरको पर्खाललाई सात दिनसम्म फन्को लगाएपछि त्यो ढल्यो।+ ३१ विश्वासैले गर्दा वेश्या राहाब अनाज्ञाकारी मानिसहरूसँगसँगै नाश भइनन् किनभने तिनले जासुसहरूलाई मित्रभावले स्वागत गरिन्।+
३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। ३३ विश्वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता* स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+ ३४ आगोको ज्वाला निभाए,+ तरबारको धारबाट बचे,+ कमजोर अवस्थाबाट शक्तिशाली बनाइए,+ युद्धमा वीरता देखाए,+ आक्रमण गर्न आएका फौजलाई खेदे।+ ३५ स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू फेरि जीवित भएको पाए।+ अरू पुरुषले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्न मानेनन् किनकि तिनीहरू फेरि जीवित भएर उत्तम जीवन पाउन चाहन्थे। ३६ हो, अरू कति भने गिल्ला अनि कोर्राको सिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए+ अनि झ्यालखानामा थुनिए।+ ३७ तिनीहरू ढुङ्गाले हानेर मारिए,+ परीक्षामा परे, करौँतीले दुई फ्याक पारिए, तरबारले मारिए।+ तिनीहरू भेडा-बाख्राको खाल ओडेर हिँडे,+ खाँचोमा र सङ्कष्टमा परे+ अनि दुर्व्यवहारको सिकार भए।+ ३८ संसार तिनीहरूको लायक थिएन। तिनीहरू मरुभूमि, पहाड, ओडार+ र जमिनका प्वालहरू हुँदो भौँतारिए।
३९ विश्वासैले गर्दा यिनीहरू सबैले आफ्नो विषयमा राम्रो साक्षी पाए तापनि प्रतिज्ञा पूरा भएको भने देख्न पाएनन् ४० किनकि परमेश्वरले हामीलाई अझ उत्तम कुरा दिने विचार पहिल्यै गरिसक्नुभएको थियो+ ताकि तिनीहरू हामीविना पूर्ण नहोऊन्।