प्रेमको मार्ग कहिल्यै टल्दैन
“अझ उच्च वरदानहरूका निम्ति उत्कट इच्छा गर। औ म तिमीहरूलाई अझै उत्तम मार्ग बताउँछु।”—१ कोरिन्थी १२:३१.
१-३. (क) प्रेम व्यक्त गर्न सिक्नु भनेको कसरी नयाँ भाषा सिक्नु जस्तै हो? (ख) कुन कुराहरूले प्रेम व्यक्त गर्न सिक्नु चुनौती हुनसक्छ?
के तपाईंले कहिल्यै नयाँ भाषा सिक्ने कोसिस गर्नुभएको छ? पक्कै पनि सजिलो त छैन! निस्सन्देह, सानो बालकले अरू बोलेको सुनेर पनि भाषा सिक्नसक्छ। उसको दिमागले अरू बोलेको सुन्नुका साथै बुझ्छ पनि। फलतः उसले केही समयभित्रै ती शब्दहरू स्पष्टसित भन्नसक्छ। सायद दोहऱ्याइ तेहऱ्याइ पनि भन्नसक्छ। तर वयस्कहरूसँग त्यस्तो क्षमता हुँदैन। विदेशी भाषाका केही आधारभूत वाक्यांशहरू सिक्न हामी विदेशी भाषाको शब्दकोश दोहऱ्याइ तेहऱ्याइ पल्टाउँछौं। यद्यपि, समयको दौडान नयाँ भाषा सिकेपछि हामी त्यही भाषामा सोचविचार गर्न थाल्छौं र त्यो भाषामा कुरा गर्न सजिलो हुन्छ।
२ प्रेम व्यक्त गर्न सिक्नु भनेको नयाँ भाषा सिक्नु जस्तै हो। हो, मानिसजातिले केही हदसम्म यो ईश्वरीय गुन वंशानुगत पाएका हुन्छन्। (उत्पत्ति १:२७; १ यूहन्ना ४:८ तुलना गर्नुहोस्।) तैपनि, स्वाभाविक प्रेम प्रायः हराइसकेको आजको दुनियाँमा प्रेम व्यक्त गर्नु निकै प्रयत्न गर्नुपर्छ। (२ तिमोथी ३:१-५) परिवारभित्र पनि यस्तो अवस्था हुनसक्छ। हो, थुप्रै व्यक्तिहरूले कठिन परिस्थितिमा बाल्याकाल गुजारेका हुन्छन् र तिनीहरूले मायालु शब्द यदाकदा मात्र सुन्न पाएका हुन्छन्। (एफिसी ४:२९-३१; ६:४) त्यसो भए, हामीले प्रेम त्यति अनुभव नै गरेका छैनौं भने कसरी व्यक्त गर्न सिक्नसक्छौं?
३ बाइबलले मदत गर्छ। पहिलो कोरिन्थी १३:४-८ मा पावलले प्रेमको सहज परिभाषा मात्र दिएका छैनन् तर प्रेमले के के गर्छ, स्पष्ट वर्णन गरेका छन्। यी पदहरू छलफल गर्नाले यो ईश्वरीय गुनबारे अझ राम्ररी बुझ्नुका साथै त्यसलाई व्यक्त गर्न अझ सुसज्जित हुनेछौं। आउनुहोस्, पावलले वर्णन गरेका प्रेमका केही पक्षहरू छलफल गरौं। हामी यी पक्षहरूलाई मुख्यतः तीन समूहमा विभाजित गरौं: हाम्रो आचरण; अरूसँगको हाम्रो सम्बन्ध अनि हाम्रो धैर्य।
प्रेमले घमण्डमाथि विजय हासिल गर्न मदत गर्छ
४. (क) कस्ता परिस्थितिहरूमा डाह उचित हुन्छ? (ख) कस्तो डाह विनाशकारी हुन्छ अनि कुन कुन तरिकामा?
४ पावलले सुरुमा प्रेमबारे टिप्पणी गरेपछि कोरिन्थीहरूलाई यसो लेखे: “प्रेमले डाह गर्दैन।” (१ कोरिन्थी १३:४) निस्सन्देह, कुनै कुनै अवस्थामा डाह उपयुक्त हुन्छ। उदाहरणका लागि, कोरिन्थीहरूलाई परमेश्वरको ऐकान्तिक भक्तिमा लागिरहन मदत गर्ने आफ्नो तीव्र इच्छा व्यक्त गर्न पावलले “ईश्वरीय डाह” भन्ने वाक्यांश प्रयोग गरे। (२ कोरिन्थी ११:२) तथापि, डाहले अरूको समृद्धि वा सफलतामा ईर्ष्यालु र अप्रशन्नता पनि बनाउँछ। यस्तो डाह शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमा विनाशकारी हुन्छ।—हितोपदेश १४:३०; रोमी १३:१३; याकूब ३:१४-१६.
५. हामीले कुनै ईश्वरतान्त्रिक विशेषाधिकार नपाउँदा ईर्ष्यालु नहुन प्रेमले कसरी मदत गर्नसक्छ?
५ यसलाई ध्यानमा राख्दै आफैलाई सोध्नुहोस्, ‘के म कुनै कुनै ईश्वरतान्त्रिक विशेषाधिकार नपाउँदा ईर्ष्या गर्छु?’ यदि गर्नुहुन्छ भने, निराश नहुनुहोस्। सबै असिद्ध मानिसहरूसित “डाह गर्ने इच्छा” हुन्छ भनेर बाइबल लेखक याकूब हामीलाई स्मरण गराउँछ। (याकूब ४:५) तपाईंलाई भाइबहिनीहरूप्रतिको प्रेमले सन्तुलित विचार राख्न मदत दिनसक्छ। प्रेमले तपाईंलाई आनन्दित हुनेहरूसँग आनन्द हुन र कसैले आशिष् वा प्रशंसा पायो भने आफूलाई अपमानित भएको महसुस नगर्न मदत गर्छ।—१ शमूएल १८:७-९ तुलना गर्नुहोस्।
६. प्रथम शताब्दीको कोरिन्थी मण्डलीमा कस्तो खराब अवस्था विकास भयो?
६ पावल अझ यसो भन्छ, “प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन।” (१ कोरिन्थी १३:४) हामीसँग केही प्रतिभा र योग्यता छ भने, फूर्ती लगाउने काम छैन। स्पष्टतः कोरिन्थी मण्डलीमा घुसेका केही महत्त्वाकांक्षी पुरुषहरूसित यही समस्या थियो। तिनीहरू विचारधारा व्याख्या गर्न पोख्त अथवा कामकुरा गर्न सिपालु थिए होला। तिनीहरूले आफ्नै कुरामा महत्त्व दिएकाले मण्डली गुटहरूमा विभाजित भएको हुनुपर्छ। (१ कोरिन्थी ३:३, ४; २ कोरिन्थी १२:२०) मण्डलीको अवस्था यति खराब भयो कि पावलले ती कोरिन्थीहरूलाई “आफै समझदार भएका हुनाले” सुधार्नु पऱ्यो जसलाई तिनले आलोचना गर्दै “मुख्य प्रेरितहरू” भने।—२ कोरिन्थी ११:५, १९, २०.
७, ८. हामीले वंशानुगत पाएको सीप कसरी एकता बढाउन प्रयोग गर्नसक्छौं, बाइबलबाट देखाउनुहोस्।
७ आज पनि यस्तै अवस्था सृजना हुनसक्छ। उदाहरणका लागि, कसै कसैले क्षेत्रमा पाएका उपलब्धिहरू वा परमेश्वरको संगठनमा पाएका विशेषाधिकारहरूबारे घमण्ड गर्नसक्छन्। मण्डलीका अन्य व्यक्तिसित नभएको विशेष दक्षता वा योग्यता आफूसँग छ भन्दैमा घमण्डले फुल्नु हुन्छ र? भनौं भने, हामीले वंशानुगत पाएको आफ्नो कौशलता एकता बढाउन प्रयोग गर्नुपर्छ, फूर्ती लगाउन होइन।—मत्ती २३:१२; १ पत्रुस ५:६.
८ मण्डलीमा थुप्रै सदस्यहरू भए तापनि “परमेश्वरले . . . शरीरलाई ठाक-ठुक्क मिलाइदिनुभएको छ” भनेर पावलले लेखे। (१ कोरिन्थी १२:१९-२६) ‘मिलाउनु’ भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ रंगहरू मिलाएझैं एकदमै राम्ररी मिलाउनु हो। अतः मण्डलीको कुनै व्यक्तिले पनि घमण्डले फुलिएर अरूलाई दबाउने कोसिस गर्नु हुँदैन। परमेश्वरको संगठनमा घमण्ड र महत्त्वाकांक्षाको कुनै ठाउँ छैन।—हितोपदेश १६:१९; १ कोरिन्थी १४:१२; १ पत्रुस ५:२, ३.
९. आफ्नै स्वार्थलाई मात्र ध्यान दिने व्यक्तिहरूबारे बाइबलमा कस्ता चेताउनीमूलक उदाहरणहरू छन्?
९ प्रेमले “आफ्नै भलाई खोज्दैन।” (१ कोरिन्थी १३:५) प्रेमिलो व्यक्तिले आफूले भनेकै जस्तो गर्न अरूलाई प्रयोग गर्दैनन्। यस सन्दर्भमा बाइबलमा चेताउनीमूलक उदाहरणहरू छन्। उदाहरणका लागि: हामी दलाली, ईजेबेल अनि अतल्याह जस्ता आइमाईबारे पढ्छौं जसले आफ्नो स्वार्थ पूरा गर्न अरूलाई प्रयोग गरे। (न्यायकर्त्ता १६:१६; १ राजा २१:२५; २ इतिहास २२:१०-१२) अर्को उदाहरण हो, राजा दाऊदको छोरा अब्शालोम। तिनले न्याय माग्न आउनेहरूलाई शहरको ढोकामा भेट्थे अनि तिनीहरूका समस्याहरू शाही अदालतमा वास्ता गरिंदैन भनेर बडो चालाकीसाथ बताउँथे। त्यसपछि, तिनले अदालतमा त म जस्तो निष्कपट व्यक्ति हुनुपर्छ भन्थे। (२ शमूएल १५:२-४) निस्सन्देह, अब्शालोमलाई दलितहरूको होइन तर आफ्नै मात्र वास्ता थियो। तिनले आफूलाई स्वयं-नियुक्त राजा बनाएर थुप्रैलाई प्रभावित गरे। तर समयमा अब्शालोमको दुःखद अन्त भयो। तिनको लाशलाई उचित रीतिले गाड्ने योग्यको समेत ठानिएन।—२ शमूएल १८:६-१७.
१०. हामी अरूको कुरालाई ध्यान दिन्छौं भनेर कसरी देखाउनसक्छौं?
१० यो आज मसीहीहरूका लागि चेताउनी हो। हामी पुरुष हौं या स्त्री, हामीसँग आफ्नो कुरा माथि पार्ने स्वभाव हुनसक्छ। भिन्नै विचार भएका व्यक्तिहरूको कुरा बेवास्ता गरेर वा उनीहरूलाई दबाएर आफूले भनेको जस्तो गर्न सजिलो हुनसक्छ। तथापि, हामी साँच्चै प्रेमिलो छौं भने अरूको चासोलाई ध्यान दिन्छौं। (फिलिप्पी २:२-४) हामी आफ्नो अनुभव वा परमेश्वरको संगठनमा पाएको स्थानको कारण आफ्नै विचार मात्र सही हो भन्ने जस्तैगरि अरूको फाइदा उठाउँदैनौं अथवा विवादास्पद विचारधारालाई बढावा दिदैनौं। बरु, हामी बाइबलको यो हितोपदेश सम्झन्छौं: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८.
प्रेमले एकअर्काबीचको सम्बन्ध शान्तिमय बनाउँछ
११. (क) हामी कुन कुन तरिकामा दयालु र शिष्ट प्रेम देखाउनसक्छौं? (ख) हामी अधर्ममा खुशी हुँदैनौं भनेर कसरी देखाउनसक्छौं?
११ पावलले प्रेम “दयालु हुन्छ” अनि “बेकायदासाथ चल्दैन” भनेर पनि लेखे। (१ कोरिन्थी १३:४, ५) हो, प्रेमले गर्दा हामी अशिष्ट, अश्लील वा अनादरपूर्ण व्यवहार गर्दैनौं। बरु, हामी अरूको भावनाहरूलाई ध्यान दिन्छौं। उदाहरणका लागि, प्रेमिलो व्यक्तिले अरूको अन्तस्करणमा बाधा पुऱ्याउने काम गर्दैन। (१ कोरिन्थी ८:१३ तुलना गर्नुहोस्।) प्रेम “अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ।” (१ कोरिन्थी १३:६) हामी यहोवाको व्यवस्थालाई प्रेम गर्छौं भने न अनैतिकतालाई हल्का ठान्छौं नता परमेश्वरले घृणा गर्नुहुने कुराहरूबाट आनन्द नै लिन्छौं। (भजन ११९:९७) प्रेमले बिगार्ने कुरामा नभई सुधार्ने कुराहरूमा आनन्दित हुन हामीलाई मदत दिन्छ।—रोमी १५:२; १ कोरिन्थी १०:२३, २४; १४:२६.
१२, १३. (क) कसैले रिस उठाउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनु पर्ने हो? (ख) रिस उचित भए तापनि त्यसले गर्दा अविवेकी कार्य गर्नसक्छौं भनेर बाइबलबाट उदाहरण दिनुहोस्।
१२ पावलले प्रेम “रिसाउँदैन” भनेर लेखे। (१ कोरिन्थी १३:५) हो, हामी असिद्ध भएकोले गर्दा कसैले हाम्रो चित्त दुखाउँदा झोंक चल्नु वा केही हदसम्म रिस उठ्नु स्वाभाविकै हो। तथापि, पछिसम्म द्वेष राख्नु वा रिसाउनु ठीक होइन। (भजन ४:४; एफिसी ४:२६) उचित रिस नै किन नहोस्, त्यसलाई वशमा राखेनौं भने हामी अविवेकी कार्य गर्नसक्छौं। अनि यहोवाले हामीलाई सो कार्यको जिम्मेवार ठहऱ्याउनुहुन्छ।—उत्पत्ति ३४:१-३१; ४९:५-७; गन्ती १२:३; २०:१०-१२; भजन १०६:३२, ३३.
१३ कसै कसैले अरूको असिद्धताको कारण मसीही सभाहरू धाउन वा क्षेत्र सेवामा भाग लिन छाड्छन्। तिनीहरूमध्ये थुप्रैले परिवारको विरोध, सहकर्मीहरूको उपहास तथा त्यस्तै अन्य सतावटहरू सहेर विश्वासको खातिर प्रशंसायोग्य लडन्त लडेका छन्। तिनीहरूले ती बाधा अड्चनहरू समग्रताको परीक्षा सम्झेर सहे र त्यो साँच्चै तिनीहरूको परीक्षा थियो पनि। तर कुनै सँगी मसीहीले निर्दयी कुरा वा कार्य गऱ्यो भने नि? के त्यो पनि समग्रताको परीक्षा होइन र? अवश्य। किनकि त्यतिखेर रिस राखिरह्यौं भने ‘शैतानलाई मौका दिन्छौं।”—एफिसी ४:२७.
१४, १५. (क) ‘खराबीको वास्ता नगर्नुको’ अर्थ के हो? (ख) क्षमा दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्नसक्छौं?
१४ त्यसैले पावल अझ भन्छन्, प्रेमले “खराबीको वास्ता गर्दैन।” (१ कोरिन्थी १३:५) के भविष्यमा कुरा कोट्याउन कसैको चित्त दुख्दो शब्द वा कार्य मनमा राखिरहनु प्रेमपूर्ण कार्य हो? यहोवाले कठोर भएर हामीसँग यस्तो व्यवहार गर्नुहुन्न। यो कत्ति खुसीको कुरा हो! (भजन १३०:३) हो, पश्चात्ताप गऱ्यौं भने उहाँले हाम्रा गल्तीहरू मेटाउनुहुन्छ।—प्रेरित ३:१९.
१५ यस सन्दर्भमा हामी यहोवाको अनुकरण गर्नसक्छौं। कसैले हामीलाई होच्याएको जस्तो लाग्यो भने अति संवेदनशील हुनुहुँदैन। झड्याङ्ग रिसायौं भने हामी आफूलाई रिस उठाउनेलाई भन्दा आफैलाई ज्यादा चोट पुऱ्याइरहेका हुनसक्छौं। (उपदेशक ७:९, २२) बरु, प्रेमले “सबै कुराको पत्यार गर्छ” भनी हामीले सम्झनुपर्छ। (१ कोरिन्थी १३:७) निस्सन्देह, हामीमध्ये कोही पनि ठगिन चाहँदैनौं। नता हामी हाम्रा भाइबहिनीहरूको मनोवृत्तिमा अनावश्यक शंका नै गर्छौं। सम्भव भएसम्म, अरूले हामीप्रति नराम्रो सोचेको छैन भन्ने विचार राखौं।—कलस्सी ३:१३.
प्रेमले धैर्यधारण गर्न मदत गर्छ
१६. कस्ता कस्ता परिस्थितिहरूमा प्रेमले हामीलाई धीरजी हुन मदत दिन्छ?
१६ “प्रेम धीरजी हुन्छ” भनेर पावल हामीलाई बताउँछन्। (१ कोरिन्थी १३:४) प्रेमले लामो समयसम्म संकष्टमय परिस्थितिसँग संघर्ष गर्न सक्षम बनाउँछ। उदाहरणका लागि, थुप्रै मसीहीहरूले वर्षौंसम्म धार्मिक तवरमा विभाजित घरमा जीवन बिताएका छन्। कोही चाहिं चाहेर होइन तर “प्रभुमा” सुहाउँदो जोडी नपाएर अविवाहित रहेका छन्। (१ कोरिन्थी ७:३९; २ कोरिन्थी ६:१४) कतिले चाहिं शरीर नै कमजोर बनाउने स्वास्थ्य समस्याहरूसँग संघर्ष गरेका छन्। (गलाती ४:१३, १४; फिलिप्पी २:२५-३०) साँच्चै, यो असिद्ध रितिरीवाजमा सबैलाई जीवनको कुनै न कुनै परिस्थितिमा धैर्य चाहिएको छ।—मत्ती १०:२२; याकूब १:१२.
१७. कुन कुराले हामीलाई सबै कुरा सहन मदत दिन्छ?
१७ पावल हामीलाई प्रेमले “सबै कुरा सहन्छ, . . . सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ” भनेर आश्वासन दिन्छन्। (१ कोरिन्थी १३:७) हामीलाई यहोवाप्रतिको प्रेमले धार्मिकताको खातिर जस्तोसुकै परिस्थिति सहन मदत दिन्छ। (मत्ती १६:२४; १ कोरिन्थी १०:१३) यसको मतलब हामी यातना चाहन्छौं भनेको होइन। बरु, हामी त शान्ति र चैनसित जीवन बिताउन चाहन्छौं। (रोमी १२:१८; १ थिस्सलोनिकी ४:११, १२) यद्यपि, विश्वासको जाँच हुँदा हामी त्यसलाई मसीही चेला हुन गर्नुपर्ने त्याग सम्झेर खुसीसाथ सहन्छौं। (लूका १४:२८-३३) हामी जाँच सहँदा कठिन परिस्थितिहरूबाट असल नतिजा प्राप्त गर्छौं भन्ने सकारात्मक दृष्टिकोण राख्ने कोसिस गर्छौं।
१८. कसरी प्रतिकूल परिस्थितिमा पनि धैर्य चाहिन्छ, बताउनुहोस्।
१८ संकष्ट आउँदा मात्र धैर्यधारण गर्नुपर्छ भन्ने होइन। कहिलेकाहीं धैर्यधारण गर्नु भनेको कठिन परिस्थिति भए पनि नभए पनि आफ्नो मार्गमा अघि बढिरहनु हो। धैर्यधारण गर्नुमा राम्रो आध्यात्मिक तालिका बनाउनु पनि समावेश छ। उदाहरणका लागि, के तपाईंले आफ्नो परिस्थितिअनुसार सेवकाईमा अर्थपूर्ण ढंगमा भाग लिइरहनुभएको छ? के तपाईंले परमेश्वरको वचन पढ्नुका साथै मनन गरिरहनुभएको छ? अनि के स्वर्गमा हुनुहुने पितासँग प्रार्थनामा कुराकानी गरिरहनुभएको छ? मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित भइरहनुभएको छ? अनि सँगी विश्वासीहरूसँग प्रोत्साहन आदानप्रदान गरेर फाइदा उठाउनुभएको छ? यदि यसो गरिरहनुभएको छ भने, हाल तपाईंको परिस्थितिमा अनुकूल होस् वा प्रतिकूल, तपाईंले धैर्यधारण गरिरहनुभएको छ।—गलाती ६:९.
प्रेम—“उत्तम मार्ग”
१९. प्रेम कसरी “उत्तम मार्ग” हो?
१९ पावलले ईश्वरीय गुन प्रेमलाई “उत्तम मार्ग” भनेर प्रेम व्यक्त गर्ने आवश्यकतालाई जोड दिए। (१ कोरिन्थी १२:३१) कुन अर्थमा “उत्तम”? पावलले भर्खरै मात्र आत्माको वरदानहरू एक एकगरि बताएका थिए। ती वरदानहरू प्रथम शताब्दीका मसीहीहरूका लागि सामान्य कुरा थियो। कसैले भविष्यवाणी गर्थे, कतिले बिमारी निको पार्ने शक्ति पाएका थिए अनि थुप्रैलाई अन्य भाषाहरूमा बोल्ने योग्यता दिइएको थियो। कत्ति उदेकलाग्दा वरदानहरू! तैपनि, पावलले कोरिन्थीहरूलाई यसो भने: “यदि म मानिसहरू र स्वर्गदूतहरूका भाषामा बोलें, तरैपनि ममा प्रेम छैन भने, म हल्ला र फोस्रो आवाज गर्ने घण्टा, कि झ्याली मात्र हुन्छु। यदि मलाई अगमवाणी बोल्ने शक्तिको वरदान छ, र म सबै रहस्यहरू र सबै बुद्धि जान्दछु, औ डाँड़ाहरू हटाउनसम्मको विश्वास मसित छ, तर ममा प्रेमचाहिं छैन भने, म केही पनि होइनँ।” (१ कोरिन्थी १३:१, २) हो, मूल्यवान् काम नै किन नहोस्, त्यो परमेश्वर र छिमेकीलाई प्रेम गर्ने हेतुले गरिएको छैन भने “मरेका कामहरू” हुनजान्छ।—हिब्रू ६:१.
२०. प्रेम खेती गर्न किन लगातार प्रयत्न गरिरहनु पर्छ?
२० येशूले ईश्वरीय गुन प्रेम खेती गर्नुपर्ने अर्को कारण हामीलाई बताउनुभएको छ। “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) “यदि” भन्ने शब्दले प्रेम व्यक्त गर्ने वा नगर्ने, प्रत्येक मसीहीमा नै भर पर्छ भन्ने बुझाउँछ। भनौं भने, विदेशमा बसोबास गर्दा त्यहाँको भाषा बोल्न सिक्नै पर्छ भन्ने छैन। नता राज्यभवनमा सभाहरू धाउँदैमा वा सँगी मसीहीहरूसँग संगत गर्दैमा स्वतः प्रेम प्रकट गर्न सिकिन्छ। यो “भाषा” त लगातार सिकिरहनुपर्छ।
२१, २२. (क) पावलले छलफल गरेका प्रेमका कोही पक्षहरू पूरा गर्न नसक्दा कस्तो प्रतिक्रिया देखाउनु पर्ने हो? (ख) कुन अर्थमा “प्रेम कहिल्यै टल्दैन” भन्न सकिन्छ?
२१ तपाईंले कहिलेकाहीं पावलले छलफल गरेका प्रेमका कुनै कुनै पक्षहरू पूरा गर्न सक्नुहुन्न। तर निरुत्साहित नहुनुहोस्। धैर्यपूर्वक ती पक्षहरू आफ्नो जीवनमा उतार्नुहोस्। लगातार बाइबल जाँच्नुहोस् अनि अरूसँग व्यवहार गर्दा यसका सिद्धान्तहरू लागू गर्नुहोस्। यहोवाले हाम्रोलागि बसाल्नुभएको उदाहरण कहिल्यै नबिर्सनुहोस्। पावलले एफिसीहरूलाई यस्तो सल्लाह दिए: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:३२.
२२ अन्ततः नयाँ भाषामा कुरा गर्न सजिलो भएझैं, समयको दौडान प्रेम व्यक्त गर्नु पनि सजिलो हुनेछ। “प्रेम कहिल्यै टल्दैन” भनेर पावल हामीलाई आश्वासन दिन्छ। (१ कोरिन्थी १३:८) आत्माको चमत्कारीक वरदानहरू हराएर गए। तर प्रेम कहिल्यै हराउँदैन। अतः यो ईश्वरीय गुन व्यक्त गर्न सिकिरहनुहोस्। यो पावलले भनेझैं “उत्तम मार्ग” हो।
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ प्रेमले घमण्डमाथि विजय हासिल गर्न हामीलाई कसरी मदत गर्छ?
◻ कुन कुन तरिकामा प्रेमले मण्डलीमा एकता बढाउन मदत दिन्छ?
◻ प्रेमले कसरी धैर्यधारण गर्न मदत गर्छ?
◻ प्रेम कसरी “उत्तम मार्ग” हो?
[पृष्ठ १९-मा भएको चित्र]
प्रेमले हामीलाई सँगी विश्वासीहरूको गल्तीहरू वास्ता नगर्न मदत गर्छ
[पृष्ठ २३-मा भएका चित्रहरू]
धैर्य भनेको हाम्रो ईश्वरतान्त्रित तालिका कायम राख्नु हो