सबै प्रकारका मानिसहरूलाई आदर गर्नुहोस्
“सबै मानिसहरूलाई आदर गर . . . परमेश्वरसँग डराओ। राजाको आदर गर।”—१ पत्रुस २:१७.
१. (क) परमेश्वर र ख्रीष्ट बाहेक, कसलाई पनि आदर दिनु उचित हो? (ख) १ पत्रुस २:१७ अनुसार, कुन कुन क्षेत्रहरूमा मानवहरूलाई आदर दिनु पर्दछ?
यहोवा परमेश्वर र येशू ख्रीष्टको आदर गर्न हामी बाध्य छौं भन्ने कुरा हामीले बुझी सक्यौं। हामीले गर्नु पर्ने सही, बुद्धिमतापूर्ण र मायालु कुरा यही नै हो। तापनि, सङ्गी मानवहरूको पनि हामीले आदर गर्नु पर्दछ भनी परमेश्वरको वचनले देखाउँदछ। “सबै मानिसहरूलाई आदर गर” भनी हामीलाई भनिएको छ। (१ पत्रुस २:१७) यो पद्यको अन्तमा “राजाको आदर गर” भनिएको हुनाकारण, यसबाट यो बोध हुँदछ कि जस-जसले तिनीहरूको ओहदाको कारण आदर पाउनु पर्ने हो, तिनीहरूलाई आदर दिनु पर्दछ। उसो भए, अब हामीले कस कसको आदर गर्नु पर्ने हो? आदर पाउने योग्यका हुनेहरूको सङ्खया, कुनै कुनै व्यक्तिले सोंचेको भन्दा निकै नै धेरै हुन सक्तछ। हामीले अरू व्यक्तिहरूलाई आदर गर्नु पर्ने शायद चार क्षेत्रहरू छन् भनी हामी भन्न सक्तछौं।
राजनैतिक शासकहरूलाई आदर गर्नुहोस्
२. १ पत्रुस २:१७ मा उल्लेखित “राजाको” अर्थ एउटा मानव राजा अथवा राजनैतिक शासक हुन् भनी हामीलाई कसरी थाह हुन्छ?
२ यी क्षेत्रहरू मध्ये प्रथम क्षेत्र, सांसारिक सरकारहरूसँग सम्बन्धित छ। राजनैतिक शासकहरूलाई हामीले आदर गर्नु पर्दछ। पत्रुसले “राजको आदर गर” भनेर सल्लाह दिंदा, तिनले राजनैतिक शासकहरूलाई सङ्केत गर्दै थिए भनी हामी किन भन्न सक्तछौं? किनभने तिनले मसीही मण्डली बाहिरका परिस्थितिको विषयमा कुरा गरिरहेका थिए। तिनले भरखर मात्र एसो भनेका थिए: “मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन्, अथवा बड़ा-हाकिमहरूको, जो . . . उनीबाट पठाइएका हुन्छन्।” साथै, यो पनि याद गर्नु होस् कि पत्रुसले परमेश्वरलाई “राजा” देखिन् अलग पार्दै भन्छन्: “परमेश्वरसँग डराओ। राजाको आदर गर।” (१ पत्रुस २:१३, १४) यसकारण, पत्रुसले हामीलाई “राजाको” आदर गर भनेर आग्रह गर्दा, तिनले मानव राजाहरू र राजनैतिक शासकहरूलाई सङ्केत गर्दै थिए।
३. “उच्च अख्तियारवालाहरू” को हुन् र तिनीहरूले के पाउनु पर्दछ?
३ प्रेरित पावलले पनि त्यसैगरी यो आदेश दिएकाछन्: “हरेक प्राणी उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्।” यी “उच्च अख्तियारवालाहरू” यहोवा परमेश्वर अथवा येशू ख्रीष्ट हुनु हुन्न तर तिनीहरू राजनैतिक शासकहरू, सरकारी अधिकृतहरू हुन्। यी कुराहरूलाई मनमा राख्दै, पावल अझ भन्दै जान्छन्: “तिर्नु पर्ने कुरा सबैलाई तिर . . . आदर गर्नु पर्नेलाई आदर गर।” हो, परमेश्वरले जस जसलाई राजनैतिक शासन चलाउने अनुमति दिनु भएकोछ, तिनीहरू आदरका योग्य छन्।—रोमी १३:१, ७.
४. (क) राजनैतिक शासकहरूलाई आदर कसरी देखाउन सकिन्छ? (ख) प्रेरित पावलले शासकहरूलाई आदर देखाउने सम्बन्धमा के उदाहरण कायम गरे?
४ राजनैतिक शासकहरूको आदर हामीले कसरी गर्न सक्तछौं? एउटा तरीका, तिनीहरूसँग श्रद्धापूर्ण व्यवहार गर्नु हो। (१ पत्रुस् ३:१५ सँग तुलना गर्नुहोस्) र तिनीहरू दुष्ट मानिसहरू छन् भने पनि, तिनीहरूको ओहदाको कारण, तिनीहरूलाई आदर गर्नु पर्दछ। राज्यपाल फेलिक्स “जुन सुकै खराब काम गरेर पनि आफूलाई सजाएबाट मुक्त” ठान्ने किसिमका व्यक्ति थिए भनी रोमी इतिहासकार टेसिटसले वर्णन गरेका छन्। तापनि, पावलले फेलिक्सको सामुन्ने आफ्नो सफाइ पेश गर्न शुरु गर्दा, आदर व्यक्त गर्दै बोले। त्यसै प्रकार, राजा हेरोद अग्रिपा दोस्रोले हाडनाताकरणी गरिरहेको कुरा त्यस बेला पावललाई थाह भएता पनि, तिनले श्रद्धापूर्ण ढङ्गमा राजालाई भने: “आज हजुरको सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु।” यस्तैगरी, राज्यपाल फेस्तस एक जना मूर्तिपूजक भएता पनि, पावलले उसको आदर गर्दै, तिनलाई “माननीय फेस्तस” भनी सम्बोधन गरे।—प्रेरित २४:१०; २६:२, ३, २४, २५.
५. सरकारी अख्तियारहरू प्रति आदर व्यक्त गर्ने अरू कुन तरीका छ र यस विषयमा, यहोवाका साक्षीहरूले एउटा राम्रो उदाहरण कसरी कायम गर्दछन्?
५ पावलले सरकारी अख्तियारवालाहरूलाई तिनीहरूले पाउनु पर्ने कुरा तिनीहरूलाई दिनु भन्ने विषयमा लेख्दा, हामीले सरकारी अधिकृतहरूलाई आदर देखाउने अर्को तरीकालाई सङ्केत गरे। तिनले भने: “तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल।” (रोमी १३:७) आफू यस संसारको जुन सुकै देशमा बसेका भएता पनि, यहोवाका साक्षीहरूले यी तिर्नु पर्ने कुराहरू तिर्ने गर्छन्। इटालीमा, ला स्टेम्पा भन्ने समाचार पत्रिकामा यो विचार प्रकट गरिएको थियो: “तिनीहरू मानिसले चाहना गर्न सक्ने सबै भन्दा वफादार नागरिकहरू हुन्: किनभने तिनीहरू कर छल्न खोज्दैनन् अथवा आफ्नो फायदाको निम्ति असुविधाजनक कानुनहरू उल्लङ्घन गर्दैनन्।” यहोवाका साक्षीहरूको विषयमा, फ्लोरिडा, यु. एस. ए. मा प्रकाशित् दी पोस्ट अफ पाम बीचले यस प्रकार टिप्पणी गऱ्यो: “तिनीहरूले आफ्ना करहरू तिर्छन्। गणतन्त्र भरि, तिनीहरू सबै भन्दा इमान्दार नागरिकहरू मध्येका हुन्।”
काम गर्ने ठाउँमा, आफ्ना मालिकहरू प्रति आदर देखाउनु
६. प्रेरित पावल र पत्रुसले आदर कसलाई पनि दिनु पर्दछ भने?
६ आदर देखाउनु पर्ने अर्को क्षेत्र हाम्रो काम गर्ने ठाउँ हो। काम गर्ने ठाउँमा आफूमाथि हाकिम खटाइएकाहरूलाई मसीहीहरूले आदर गर्नु पर्ने कुरालाई प्रेरित पावल र पत्रुस दुवैले महत्त्व दिएका छन्। पावलले लेखे: “परमेश्वरका नाउँ र सिद्धान्त निन्दित नहोस् भनी दासत्वको जुवामनि रहेका सबै कमाराले आफ्ना मालिकहरूलाई सबै आदरको योग्य ठानून्। जस जसका विश्वास गर्ने मालिकहरू छन्, तिनीहरूले उनीहरूलाई तुच्छ नठानून्, किनभने तिनीहरू भाइ भाइ हुन्।” र पत्रुसले भने: “ए कमारा हो, असल र भला मालिकको मात्र होइन, तर तिम्रा दुष्ट मालिकहरूका अधीनमा पनि हर किसिमको डर मानेर बस।”—१ तिमोथी ६:१, २; १ पत्रुस २:१८; एफिसी ६:५; कलस्सी ३:२२, २३.
७. (क) “दासहरूले” “मालिकहरूलाई” आदर देखाउने सम्बन्धमा बाइबलको सल्लाहलाई आज कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ? (ख) जुन जुन मसीही जागिरदारहरूका मालिकहरू पनि मसीही नै हुन्, तिनीहरूले कुन कुरा होसियारीका साथ पालन गर्नु पर्दछ?
७ हुन त, दास राख्ने चलन आज धेरै ठाउँहरूमा छैन। तर दास र मालिक बीचको सम्बन्धमा जुन सिद्धान्तहरू मसीहीहरूले पालन गर्नु पर्दथियो, त्यही सिद्धान्तहरू एक जना जागिरदार र तिनका हाकिम बीच प्रयोग हुन्छन्। यसकारण, अप्ठ्यारो स्वभाव भएका मालिकहरूलाई पनि आदर गर्नु एउटा मसीही जिम्मेवारी हो। र मालिक पनि एक जना सङ्गी-विश्वासी हुन् भने, के गर्ने? यो सम्बन्धको आधारमा आफूसँग मालिकले विशेष प्रकारको व्यवहार गरेको अथवा कुनै सहुलियत पाउने आशा गर्नुको सट्टा, जागिर खाने व्यक्तिले अझ बढ़ी उत्सुकताका साथ आफ्नो मसीही हाकिमको सेवा गर्दै तिनीबाट कुनै पनि ढङ्गमा फायदा उठाउनु भएन।
परिवारको परिधि भित्र आदर
८, ९. (क) छोरा-छोरीहरूले कसलाई आदर देखाउनु आवश्यक छ? (क) छोरा-छोरीहरूले यस प्रकारको आदर देखाउनु किन उचित हो र तिनीहरूले यो कसरी देखाउन सक्तछन्?
८ आदर देखाउनु पर्ने एउटा अर्को क्षेत्र परिवार हो। उदाहरणका लागि, आमा-बाबुको आदर गर्नु छोरा-छोरीको कर्त्तव्य हो। मोशालाई दिएको व्यवस्थाको यो एउटा आवश्यकता मात्र होइन तर मसीहीहरूले पूरा गर्नु पर्ने एउटा वाध्यता हो। प्रेरित पावलले लेखे: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो) . . . ।”—एफिसी ६:१, २; प्रस्थान २०:१२.
९ छोरा-छोरीले आमा-बाबुको आदर किन गर्नु पर्ने हो? किनभने आमा-बाबुसित ईश्वर प्रदत्त अख्तियार हुनाका साथै तिनीहरूले छोरा-छोरीलाई जन्म दिए र बाल्यकाल देखिन् नै तिनीहरूको देख-रेख गर्दै तिनीहरूलाई हुर्काए। छोरा-छोरीले आमा-बाबुको आदर कसरी गर्न सक्तछन्? तिनीहरूले विशेषगरी आज्ञाकारिता र अधीनता द्वारा यो व्यक्त गर्नु पर्दछ। (हितोपदेश २३:२२, २५, २६; कलस्सी ३:२०) यस प्रकारको आदर देखाउँने गर्दा, हुर्की सकेका छोरा-छोरीहरूले वृद्ध आमा-बाबुहरूलाई वा बाजे-बजूहरूलाई भौतिक र आध्यात्मिक मद्दत दिन आवश्यक हुन सक्छ। यी आवश्यकताहरूलाई पूरा गर्दा, आफ्नै छोरा-छोरीको हेर-विचार गर्ने र मसीही सङ्गती र सेवकाईमा पूर्ण रूपले भाग लिने जस्ता जिम्मेवारीहरूलाई पनि ध्यानमा राख्नु पर्दछ।—एफिसी ५:१५-१७; १ तिमोथी ५:८; १ यूहन्ना ३:१७.
१०. पत्नीहरूले कसलाई आदर देखाउनु पर्दछ र तिनीहरूले यो कसरी गर्न सक्नेछन्?
१० तर परिवार भित्र आदर देखाउने कर्त्तव्य छोरा-छोरीहरूको मात्र होइन। पत्नीहरूले आफ्ना पतिहरूलाई आदर देखाउनु पर्दछ। प्रेरित पावलले भने कि “पत्नीले पनि आफ्ना पतिको डर मानोस् [प्रगाढ़ श्रद्धा गरोस्, न्यु. व.]।” (एफिसी ५:३३; १ पत्रुस ३:१, २) पतीहरूलाई “प्रगाढ़ श्रद्धा” देखाउँदा तिनीहरूको आदर गर्नु पर्दछ। साराले तिनका पति अब्राहामलाई “प्रभु” भनेर सम्बोधन गर्दै, तिनको आदर गरिन्। (१ पत्रुस ३:६) यसकारण, पत्नीहरू हो, साराको अनुकरण गर्नु होस्। पतिले गरेका फैसलाहरू स्वीकार्दै र ती फैसलाहरूलाई सफल पार्ने कोशिश गर्दै, तपाईं पनि आफ्ना पतिलाई आदर देखाउनु होस्। तपाईंका पतिले बोक्नु परेका बोझहरू बढ़ाउनुको सट्टा, तिनलाई ती बोझहरू थाम्ने हर मद्दत दिनु भयो भने, तपाईंले आफ्ना पतिलाई आदर देखाउनु भएको हुनेछ।
११. आदर देखाउने सम्बन्धमा, पतिहरूमाथि के बाध्यता छ र किन?
११ पतिहरूको विषयमा के भन्न सकिन्छ? तिनीहरूलाई परमेश्वरको वचनमा यो उपदेश दिएकोछ: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूको प्रार्थना नरोकिओस्।” (१ पत्रुस ३:७) यसले प्रत्येक पतिलाई सोंच्न बाध्य पार्नु पर्ने हो। यो कुरा, एउटी पत्नीमाथि यसो भन्ने लेबल टाँसेको जस्तै हो: “बहुमूल्य। कोमल। होसियारीका साथ प्रयोग गर्नु होस्! आदर देखाउनु होस्!” यसकारण, पतिहरूले सम्झनु पर्दछ कि तिनीहरू आफ्नी पत्नीहरू प्रति विचारशील भएनन् भने, तिनीहरूले यहोवासँगको आफ्नो सम्बन्ध बिगार्नेछन् र तिनीहरूले गरेका प्रार्थनाहरू परमेश्वरले सुन्नु हुनेछैन। परिवारका सदस्दयहरूले एकअर्कालाई आदर गर्नु साँच्चैनै आपसमा लाभदायक हुन्छ।
मण्डली भित्र
१२. (क) मण्डली भित्र आदर देखाउने जिम्मेवारी कसको छ? (ख) आदर पाउनु उचित हो भनेर येशूले कसरी देखाउनु भयो?
१२ साथै, मसीही मण्डली भित्र आदर देखाउने जिम्मेवारी प्रत्येक व्यक्तिको हो। हामीलाई यो सल्लाह दिएको छ: “मानमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) आदर स्वीकार्नु उचित हो भनी येशूले उहाँका उदाहरणहरू मध्ये एउटा उदाहरण द्वारा सङ्केत गर्नु भयो। उहाँले भन्नु भयो कि हामीले कुनै भोजमा जाने निम्तो पाउँदा, त्यहाँ गएर सबै भन्दा तल्लो स्थानमा बस्नु ठीक हो किनकि घरपट्टीले नै हामीलाई एउटा अझ सम्मानित ठाउँमा बस्न बोलाउनेछन् र हाम्रा सबै सङ्गी पाहुनाहरूको सामुन्ने हामीले आदर पाउने छौं। (लूका १४:१०) अब आदर पाउँदा, हामी सबै जनाले नै त्यसको मोल गर्ने भएको हुनाकारण, के हामीले पनि सहानुभूति दर्शाउँदै एकअर्कालाई आदर देखाउनु पर्दैन् होला र? यो हामी कसरी गर्न सक्तछौं?
१३. मण्डलीका अन्य व्यक्तिहरूलाई हामी कुन कुन ढङ्गमा आदर देखाउन सक्तछौं?
१३ राम्रोसँग गरिएको कामका लागि प्रशंसाका शब्दहरू भन्नु, आदर दिएको बराबर हो। यसकारण, कसैले मण्डलीमा प्रस्तुत गरेको टिप्पणी वा भाषणका लागि तिनलाई स्याबासी दिएर, हामीले एकअर्कालाई आदर देखाउन सक्तछौं। यसबाहेक, हाम्रा मसीही भाइ बहिनीहरू सित नम्रतासाथ व्यवहार गर्दै, तिनीहरू प्रति प्रगाढ़ श्रद्धा प्रकट गरेर हामी एकअर्कालाई आदर गर्न सक्तछौं। (१ पत्रुस ५:५) तिनीहरूलाई यहोवा परमेश्वरका आदरणीय सेवकहरूको रूपमा मोल गर्दछौं भनी हामी प्रदर्शित गर्दछौं।
१४. (क) मण्डलीका भाइहरूले बहिनीहरूलाई कसरी उचित आदर दिन सक्तछन्? (ख) कोसेलीहरू दिनु पनि आदर देखाउने एउटा तरीका हो भनेर के ले देखाउँदछ?
१४ पाको उमेर पुगेकी मसीही दीदीहरूलाई आमाहरू र अलिक तरुणीहरूलाई चाहिं शारीरिक बहिनीहरू सम्झेर “पूर्ण पवित्रतासाथ” व्यवहार गर्नु भनी प्रेरित पावलले जवान तिमोथीलाई सल्लाह दिए। हो, भाइहरूले मसीही बहिनीहरू प्रति आवश्यकता भन्दा बढ़ी आत्मीयता न देखाएर, नचाहिंदो किसिमका व्यवहार गर्नबाट होसियार हुँदा, तिनीहरूले बहिनीहरूलाई आदर देखाएको हुन्छ। पावलले अझ लेखे: “विधवाहरूलाई, जो साँच्चैनै विधवा छन्, आदर गर।” आवश्यकतामा परेकी विधवाहरूलाई आदर गर्ने एउटा तरीका तिनीहरूलाई भौतिक मद्दत दिनु हो। तर यस प्रकारको मद्दत पाउने योग्यको हुनका निम्ति, तिनी “असल कामहरूमा नाउँ चलेकी” हुनु पर्दछ। (१ तिमोथी ५:२-१०) भौतिक कोसेलीहरू दिने सम्बन्धमा, लूकाले माल्टा टापूका मानिसहरूबारे यस प्रकार लेखे: “तिनीहरूले पनि हाम्रो आदर गरे, जब हामी जहाजमा चढ़्यौं, तब हामीलाई दरकार पर्ने कुराहरू तिनीहरूले त्यसमा हालिदिए।” (प्रेरित २८:१०) यसर्थ, भौतिक कोसेलीहरू दिने गरेर पनि एउटाले अर्कोलाई आदर देखाउन सक्तछन्।
१५. (क) कसलाई आदर देखाउने हाम्रो विशेष जिम्मेवारी छ? (ख) अगुवाइ लिनेहरू प्रति आदर देखाउने एउटा तरीका के हो?
१५ तिमोथीलाई आफ्नो पत्रमा, पावलले अझ लेख्छन्: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्। विशेषगरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्।” (१ तिमोथी ५:१७) प्राचीनहरू अथवा अध्यक्षहरूलाई हामी कसरी आदर गर्न सक्तछौं? पावलले भने: “म ख्रीष्टमा भए झैं, तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरिन्थी ११:१) तिनका देखा-सिकी गर्ने होओ भन्ने पावलका शब्दहरू पालन गर्यौं भने, हामीले तिनको आदर गरेको हुनेछौं। यही कुरा आज हाम्रा माझमा अगुवाइ लिनेहरूका विषयमा प्रयोग हुँदछ। तिनीहरूको उदाहरणलाई अनुकरण गर्दै, तिनीहरूको देखा-सिकी गर्यौं भने, हामीले तिनीहरूको आदर गरिरहेका हुनेछौं।
१६. अगुवाइ लिनेहरू प्रति आदर देखाउने अझ अरू तरीकाहरू के हुन्?
१६ अध्यक्षहरूलाई आदर देखाउने एउटा अर्को तरीका यो आग्रहलाई ध्यान दिनु हो: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्।” (हिब्रू १३:१७) जसरी छोरा-छोरीहरू तिनीहरूका आमा-बाबुहरू प्रति आज्ञाकारी भएर तिनीहरूको आदर गर्दछन्, त्यसरी नै हामी पनि हाम्रा माझमा अगुवाइ लिनेहरूको अधीनमा बस्दा तिनीहरू प्रति आज्ञाकारी भएको र तिनीहरूलाई आदर देखाएको हुन्छ। र जसरी पावल र तिनका साथीहरूलाई माल्टाका निवासीहरूले कोसेलीहरू दिएर आदर देखाए, त्यसरी नै बारम्बार, ठाउँ-ठाउँमा भ्रमण गरी हिंड़ने हाम्रा सङ्गठनका प्रतिनिधिहरूलाई पनि आदर देखाइएकाछन्। तर तिनीहरूले कोसेलीहरू माँगनु अथवा ती कुराहरूका लागि चाहना वा आवश्यकता प्रकट गर्नु कुनै हालतमा पनि हुँदैन।
१७. आदर देखाउने विषयमा, निरीक्षक हुने विशेषाधिकार पाएकाहरूको के जिम्मेवारी छ?
१७ अर्को तिर, स्थानीय मण्डलीमा, सर्कट वा जिल्लामा निरीक्षकको हैसियतमा, वा वाचटावर सोसाइटीका कुनै पनि एउटा शाखा कार्यालयमा अथवा परिवार भित्र—ईश्वरशासित सङ्गठनमा निरीक्षकको ओहदामा हुने सबै माथि नै, तिनीहरूको जिम्मामा रहेका व्यक्तिहरूलाई आदर गर्ने बाध्यता छ। यसका लागि तिनीहरूमा सहानुभूति र अपनत्वको भाव हुनु आवश्यक छ। येशू ख्रीष्टले उहाँ हृदय र मनको विनयी र नम्र हुनु हुन्छ भन्नु भए झैं, तिनीहरू पनि त्यस्तै भएर तिनीहरूकहाँ कुनै पनि बखत गएर कुरा गर्न सम्भव हुनु पर्दछ।—मत्ती ११:२९, ३०.
एकअर्कालाई आदर गर्ने काशिश गर्नु होस्
१८. (क) आदर पाउने योग्यका हुनेहरू प्रति आदर देखाउन देखिन् हामीलाई के ले रोक्न सक्नेछ? (ख) एउटा नकारात्मक र आलोचनात्मक मनस्थिति राख्ने किन कुनै कारण छैन?
१८ हामी सबैले नै एकअर्कालाई आदर गर्ने काममा उत्कट प्रयास गर्नु आवश्यक छ, किनभने यसो गर्न देखि हामीलाई रोक्ने एउटा शक्तिशाली रोकावट छ। त्यो रोकावट हाम्रै असिद्ध हृदय हो। “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ,” भनेर बाइबलले भन्दछ। (उत्पत्ति ८:२१) अरूहरूको उचित आदर गर्नमा बाधा पुर्याउने मानसिक प्रवृत्तिहरू मध्ये एउटा त नकारात्मक र आलोचना गर्ने प्रकारको मानसिक स्थिति हो। हामी सबै नै कमजोर, असिद्ध मानिसहरू हौं जसलाई यहोवाको दया र अपार करुणाको खाँचो छ। (रोमी ३:२३, २४) यी कुराहरूको मूल्याङ्कन गर्दै, हामीहरू आफ्ना भाइहरूको कमजोरीहरूमा विशेष ध्यान दिने वा तिनीहरूका नियतहरू बारे शङ्का-उपशङ्काहरू उठाउने न गरौं।
१९. कुनै नकारात्मक मनस्थितिलाई हटाउन हामीलाई के ले मद्दत दिनेछ?
१९ यस प्रकारको कुनै पनि नकारात्मक झुकावको ओखती हो प्रेम र आत्म-संयम। हाम्रा भाइहरूका असल गुणहरूलाई विचार गर्दै, तिनीहरू प्रति हामीले एउटा सहानुभूतिपूर्ण, वफादार र सकारात्मक विचारधारा अपानाउनु पर्दछ। हामीले बुझ्न न सक्ने कुनै कुरा छ भने, आफ्ना भाइहरूले भनेका कुरा पत्यार गर्न सधैं तयार होऊँ र पत्रुसले दिएका सल्लाह मान्ने गरौं: “सबै भन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमले नै असङ्खय पापहरू ढाक्तछ।” (१ पत्रुस ४:८) हाम्रा भाइहरूले पाउनु पर्ने आदर तिनीहरूलाई दिने हो भने, हामीमा त्यस प्रकारको प्रगाढ़ प्रेम हुनु पर्दछ।
२०, २१. (क) एकअर्कालाई आदर देखाउन देखिन् हामीलाई अर्को कुन मानसिक झुकावले पनि रोक्न सक्नेछ? (ख) यो झुकावलाई रोक्न हामीलाई के ले मद्दत दिनेछ?
२० साथै, तुरुन्तै चित्त दुखाउने वा अति नै भावुक किसिमको स्वभावले पनि अरूहरूको उचित आदर देखाउनमा वाधा पुर्याउन सक्तछ। भावुकताको आफ्नो ठाउँ छ। चित्रकारहरू तिनीहरूको पेशासँग सम्बन्धित आवाज र रङ्गहरूबारे भावुक हुनु पर्दछ। तर अनावश्यक ढङ्गमा एकअर्कासँग भावुक हुनु स्वार्थपनाको एउटा रूप हो जसले गर्दा हाम्रो शान्ति हरण हुन सक्छ र यसले हामीलाई अरूहरूको आदर गर्न देखिन् रोक्न सक्तछ।
२१ यसबारे राम्रो सल्लाह हामी उपदेशक ७:९ का यी शब्दहरूमा पाउँछौं: “रीस देखाउन छिटो नगर, किनभने रीस मूर्खको मनमा हुन्छ।” यसकारण, आवश्यकता भन्दा बढ़ी भावुक अथवा चाँड़ै चित्त दुखाउने हुँदा, बुद्धि र समझशक्तिको अभावका साथ साथै, प्रेमको कमी देखिन्छ। हामीहरू होसियार हुनु पर्दछ नत्रता नकारात्मक, अति नै आलोचनापूर्ण, वा आवश्यकता भन्दा बढ़ी भावुक हुने हाम्रा पतित झुकावहरूको कारण, हामीले जस जसलाई आदर देखाउनु पर्ने हो, तिनीहरूलाई आदर देखाउनमा बाधा पर्नसक्तछ।
२२. आदर देखाउने हाम्रो कर्त्तव्यको सारांश के हो?
२२ साँच्चैनै, अरूहरूलाई आदर देखाउने हामीसँग धेरै नै कारणहरू छन्। र हामीले देखि सकेका छौं कि यस प्रकारको आदर देखाउने तरीकाहरू पनि थुप्रै छन्। हामीले अरूहरूलाई आदर देखाउनमा, कुनै स्वार्थी अथवा नकारात्मक विचारधारा एउटा रोकावट नबनोस् भनेर हामी हर समय सचेत हुनु पर्दछ। विशेषगरी, हाम्रा परिवार भित्र, पतिहरू र पत्नीहरूले एकअर्कालाई र छोरा-छोरीहरूले आमा-बाबुहरूलाई आदर देखाउन होसियार हुनु पर्दछ। र मण्डलीमा, हाम्रा सह-उपासकहरूलाई र खास तौरमा निरीक्षकहरू भएर परिश्रम गरिरहेकाहरूलाई आदर देखाउने बाध्यता हामी सबैमाथि छ। यी सबै क्षेत्रहरूमा, माथि उल्लेखित व्यक्तिहरूलाई उचित आदर दिनाले हाम्रैलागि लाभदायक हुनेछ किनभने येशूले भन्नु भयो: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५. (w02/01/91)
तपाईं कसरी जवाफ दिनु हुन्छ?
◻ सरकारी अख्तियारहरूको हामीले किन र कसरी आदर गर्नु पर्दछ?
◻ जागिरदार र उसको हाकिम बीचको सम्बन्धमा, बाइबलको कुन सल्लाह प्रयोगमा ल्याउन सकिन्छ?
◻ परिवार भित्र आदर कसरी देखाउनु पर्दछ?
◻ मण्डलीमा कुन विशेष आदर देखाउन सकिन्छ र किन?
◻ अरूहरू प्रति आदर नदेखाउने मानव कमजोरीहरूलाई कसरी मेटाउन सकिन्छ?