धार्मिक तवरमा विभाजित परिवारमा ईश्वरीय आज्ञाकारिता
“त्यसको चोट शारीरिक पीडाभन्दा असह्य हुन्छ। . . . मलाई आफ्नो शरीर घाउ नै घाउले भरिएको तर कसैले नदेखेको जस्तो लाग्छ।” “कहिलेकाहीं जीवनदेखि विरक्त लाग्छ . . . नभए कहिल्यै नफर्किने गरी कतै टाढा जाऊँ जस्तो लाग्छ।” “कहिलेकाहीं त ठीकसँग सोच्न पनि नसक्ने हुन्छु।”
यी भावुक शब्दहरूले नैराश्य र एकाकीपनका अनुभूतिहरू प्रकट गर्छन्। यी दोषारोपण, धम्की, विकृत उपनामहरू राख्ने अनि कुनै कुराकानी नगर्नेजस्ता मौखिक दुर्व्यवहारका शिकार हुने मानिसहरूका अनुभूतिहरू हुन्। तिनीहरूलाई यति नराम्रो व्यवहार किन गरिन्छ? किनकि तिनीहरूको धार्मिक विश्वास भिन्न छ। यस्ता परिस्थितिहरूमाझ धार्मिक तवरमा विभाजित परिवारसित बसेर यहोवाको उपासना गर्नु साँच्चै नै एउटा चुनौती हुनसक्छ। यद्यपि, त्यस्ता दुर्व्यवहारको शिकार हुने थुप्रै मसीहीहरूले सफलतापूर्वक ईश्वरीय आज्ञाकारिता प्रकट गरिरहेका छन्।
खुशीको कुरा, धार्मिक तवरमा विभाजित सबै घरहरूमा त्यस्ता पीडा र तनावहरू हुँदैनन्। यद्यपि, त्यस्तो हुँदै नहुने भने होइन। के तपाईंको परिवार यस विवरणसित मेल खान्छ? त्यसोभए, तपाईंलाई आफ्नो पति वा पत्नी वा आमा-बाबुको सम्मान गर्न गाह्रो परिरहेको होला। यदि तपाईं त्यस्तो परिस्थिति वा वातावरणमा बस्नुपर्ने पत्नी वा केटा-केटी हुनुहुन्छ भने धार्मिक तवरमा विभाजित घरमा तपाईं कसरी ईश्वरीय आज्ञाकारिता देखाउन सफल हुन सक्नुहुन्छ? अरूले कस्तो समर्थन दिनसक्छन्? अनि परमेश्वरले यस्तो परिस्थितिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?
आज्ञाकारी हुनु किन साह्रै गाह्रो छ?
यो संसारको अपस्वार्थी अनि अकृतज्ञ मनोवृत्ति र तपाईंको आफ्नै असिद्ध झुकावहरूले गर्दा ईश्वरीय आज्ञाकारिता एउटा अनवरत संघर्ष बन्न पुग्छ। शैतानलाई यो कुरा थाह छ र तपाईंको मनोबललाई कमजोर पार्ने त्यसको उद्देश्य छ। ईश्वरीय स्तरहरूको कम वा कुनै मूल्यांकन वा आदर नगर्ने परिवारका सदस्यहरूलाई प्रायः त्यसले चलाउँछ। तपाईंको उच्च आध्यात्मिक तथा नैतिक मूल्य र मान्यताहरू विश्वासमा नहुने परिवारका अन्य सदस्यहरूको भन्दा प्रायः एकदम भिन्न हुन्छ। त्यसको अर्थ आचरण अनि क्रियाकलापको मामिलामा तपाईं र तिनीहरूबीच विरोधाभासपूर्ण दृष्टिकोणहरू हुन्छन्। (१ पत्रुस ४:४) तपाईंले यो आज्ञा मान्नुभएको हुँदा मसीही स्तरहरू त्याग्न तपाईंमाथि ठूलो दबाब आउनसक्छ: “अन्धकारका निष्फल कार्यहरूसँग संगत नगर, तर बरु तिनीहरूका दोष देखाइदेओ।” (एफिसी ५:११) उहाँहरूको नजरमा तपाईंले गर्नुभएको कुनै कुरा अब सही हुँदैन। यी सबै कुरा तपाईंकै धर्मले गर्दा भएको हो। आफू एक्लैले बिरामी केटा-केटीहरूको हेरचाह गर्ने भार उठाउनु पर्दा एउटी स्त्रीले आफ्नो पतिसँग मदत मागिछिन् तर तिनले यस्तो व्यंग्यात्मक जवाफ पाइन्, “तिम्रो त्यो धर्मकर्म गर्ने बेलामा म चाहिएन अब अहिले मेरो के काम?” यस्ता टिप्पणीहरूले आज्ञाकारी भइरहन थप चुनौती खडा गर्छ।
यसबाहेक प्रत्यक्षतः शास्त्र विरुद्ध नहुने विषयहरूमा पनि शायद कहिलेकाहीं तपाईं असहमत हुनुहोला। यद्यपि, तपाईं परिवारको अंग भएको नाताले तपाईंका केही जिम्मेवारीहरू छन् भनी स्वीकार्नुहुन्छ। “मेरो बुबाले मसित गर्नुहुने व्यवहार सम्झिंदा म असाध्यै भावुक हुन्छु किनभने मेरो बुबा एक्लो महसुस गर्नुहुन्छ भनेर म बुझ्छु,” कनी भन्छिन्। “बुबाले विरोध गर्नुहुँदा चिढिनु हुन्न भनेर म बारम्बार आफैलाई सम्झाउँछु। हाम्रो अडान देखेर उहाँ त्यसरी रिसाउनु वा विरोध गर्नुको ठूलो कारण के हो भनेर म आफैलाई सम्झाउँछु। यस रीतिरिवाजको शासक, शैतान नै यसको ठूलो कारण हो भनेर मलाई थाह छ।” विश्वासमा नहुने व्यक्तिसँग विवाह गरेकी सुजन यसरी आफ्नो कुरा पोख्छिन्: “सुरु-सुरुमा सम्बन्ध-विच्छेद गरूँ जस्तो लाग्थ्यो तर अहिले त्यस्तो लाग्दैन। मेरो परीक्षा गर्न शैतानले उहाँलाई चलाइरहेको थियो भनेर मलाई थाह थियो।”
तपाईंले निकम्मापन महसुस गरोस् भनी शैतानले गरेका प्रयत्नहरू साह्रै कठिन लाग्नसक्छन्। तपाईंको पति वा पत्नीसँग कुनै कुराकानीबिना निकै दिनहरू बित्नसक्छन्। जीवन निकै एक्लो हुनसक्छ। यसले तपाईंको आत्मविश्वास अनि आत्मसम्मानमा घात पुऱ्याउनुका साथै तपाईंको ईश्वरीय आज्ञाकारिताको परीक्षा गर्छ। केटा-केटीहरू पनि भावनात्मक तथा शारीरिक तवरमा कमजोर महसुस गर्छन्। यो उदाहरणलाई विचार गर्नुहोस्, आफ्नो आमा-बाबुको विरोधको बावजूद परमेश्वरका तीन जना जवान सेवकहरू मसीही सभामा नियमित उपस्थित हुन्थे। तिनीहरूमध्ये एक जना अहिले पूर्ण-समय सेवक भएका छन् र तिनी यसो भनेर स्वीकार्छिन्: “हामी भावशून्य अनि थकित महसुस गर्थ्यौं; हामीलाई निद्रा लाग्दैनथ्यो; त्यसले हाम्रो मनमा ज्यादै आघात पार्थ्यो।”
परमेश्वरले तपाईंबाट के आशा गर्नुहुन्छ?
परमेश्वरप्रतिको आज्ञाकारिता सधैं पहिलो स्थानमा आउँछ र शिरको हैसियतमा पतिप्रतिको सापेक्षिक आज्ञाकारिता सधैं यहोवाले दिनुभएको निर्देशनअनुरूप हुनुपर्छ। (प्रेरित ५:२९) यो कठिन होला, तर यसो गर्नु सम्भव छ। मदतको लागि निरन्तर परमेश्वरमा भर पर्नुहोस्। तपाईंले “आत्मा र सत्यतामा” सेवा गरोस् अनि उहाँको निर्देशनअनुरूप चलोस् भनी उहाँ चाहनुहुन्छ। (यूहन्ना ४:२४) परमेश्वरको वचनको ज्ञानले सही किसिमको हृदयलाई भर्दै जाँदा त्यसले स्वैच्छिक आज्ञाकारिता जगाउँछ। तपाईंका व्यक्तिगत परिस्थितिहरू परिवर्तन होलान् तर यहोवा र उहाँको वचन कहिल्यै परिवर्तन हुँदैन। (मलाकी ३:६; याकूब १:१७) यहोवाले पतिलाई शिरत्वको अधिकार दिनुभएको छ। चाहे पतिले ख्रीष्टको शिरत्वलाई स्वीकार गरोस् वा नगरोस्, यो कुरा तिनमा लागू हुन्छ। (१ कोरिन्थी ११:३) निरन्तर दुर्व्यवहार र बेइज्जती सहनुपर्दा त्यसो गर्नु गाह्रो होला तर चेला याकूब यसो भन्छन्: “जुन ज्ञान माथिबाट आउँछ, . . . त्यो . . . मिलापी [आज्ञा मान्न तयार, न्युव] . . . हुन्छ।” (याकूब ३:१७) यो शिरत्वलाई चिन्न तथा निर्विवाद स्वीकार्न परमेश्वरको आत्मा र अझ विशेषगरि त्यसको फल, प्रेम चाहिन्छ।—गलाती ५:२२, २३.
यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने, परमेश्वरले स्थापना गर्नुभएको यस अख्तियारप्रति ईश्वरीय आज्ञाकारिता देखाउन सजिलो हुन्छ। एफिसी ५:३३ ले यो सल्लाह दिन्छ: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तोगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्।”
एकछिन येशूलाई विचार गर्नुहोस्। उहाँलाई मौखिक तथा शारीरिक दुर्व्यवहार गरिएको थियो तर उहाँले कहिल्यै गाली गर्नुभएन। उहाँले त्रुटिरहित छवि कायम राख्नुभयो। (१ पत्रुस २:२२, २३) त्यस्तो अचाक्ली अपमान सहन येशूलाई धेरै साहस र आफ्नो पिता, यहोवाप्रतिको अटल प्रेम चाहियो। तर प्रेमले “सबै कुरा सहन्छ।”—१ कोरिन्थी १३:४-८.
पावलले जुन कुरा आफ्नो सहकर्मी तिमोथीलाई सम्झाएका थिए त्यही कुरा आज हामीलाई पनि सम्झाउँछन्: “परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।” (२ तिमोथी १:७) परिस्थिति असह्य महसुस हुँदा यहोवा तथा येशू ख्रीष्टप्रतिको गहिरो प्रेमले तपाईंलाई ईश्वरीय आज्ञाकारिता देखाउन उत्प्रेरित गर्नसक्छ। स्वस्थ मनस्थितिले तपाईंलाई सन्तुलित दृष्टिकोण राख्न र यहोवा तथा येशू ख्रीष्टसँगको सम्बन्धमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।—फिलिप्पी ३:८-११ तुलना गर्नुहोस्।
ईश्वरीय आज्ञाकारिता देखाउन सफल हुने पति-पत्नीहरू
यहोवाले तपाईंका समस्याहरू कसरी समाधान गर्नुहुन्छ भनेर हेर्न कहिलेकाहीं निकै समयसम्म पर्खनैपर्छ। यद्यपि, उहाँका हातहरू शक्तिहीन छैनन्। ईश्वरीय आज्ञाकारिता देखाउन सफल एउटी बहिनी यस्तो सल्लाह दिन्छिन्, “यहोवाले तपाईंलाई अधिकार र सुअवसर दिनुभएका कामहरू सधैं गर्नुहोस्। सभा तथा सम्मेलनहरूमा उहाँको उपासना गर्नुहोस्, सेवामा जानुहोस् अनि प्रार्थना गर्नुहोस्।” यहोवाले तपाईंका उपलब्धिहरूलाई नभई तपाईंका प्रयत्नहरूलाई आशिष् दिनुहुन्छ। ‘छिनभरको हलुका कष्टले महिमाको अनन्त बोझ उत्पन्न गरिदिन्छ’ भनेर प्रेरित पावलले २ कोरिन्थी ४:१७ मा भने। यो कुरा मनन गर्नुहोस्। यसले तपाईंलाई स्थिर रहन मदत गर्नेछ। एउटी पत्नी यसो भन्छिन्: “मेरो पारिवारिक जीवन राम्ररी चलिरहेको छैन र कहिलेकाहीं, यहोवा मसित प्रसन्न हुनुहुन्न कि जस्तो लाग्छ। तर यी कठिन परिस्थितिहरूलाई मेरो पतिले भन्दा राम्ररी सहन सकेकोमा म त्यसलाई उहाँको आशिष् सम्झन्छु। आफ्ना कामहरूले यहोवालाई प्रसन्न तुल्याइरहेको छ भनी थाह पाउँदा पूरै संघर्ष फलदायी लाग्छ।”
यहोवा तपाईंले सहनै नसक्ने परिस्थितिको सामना गर्न दिनुहुनेछैन भनी प्रतिज्ञा गर्नुहुन्छ। उहाँमाथि भरोसा गर्नुहोस्। तपाईंले भन्दा उहाँले राम्ररी बुझ्नुहुन्छ र तपाईंले आफूलाई जति चिन्नुहुन्छ त्योभन्दा राम्ररी उहाँले चिन्नुहुन्छ। (रोमी ८:३५-३९; ११:३३; १ कोरिन्थी १०:१३) कठिन परिस्थितिहरूमा यहोवालाई प्रार्थना गर्नु मदतकारी हुन्छ। उहाँको आत्माले डोऱ्याओस् भनी प्रार्थना गर्नुहोस् र अझ विशेषगरि कहाँ जाने अनि के गर्ने भनी थाह नहुँदा उहाँलाई प्रार्थना गरिहाल्नुहोस्। (हितोपदेश ३:५; १ पत्रुस ३:१२) अख्तियारको अधीनमा बसेर आफ्नो भूमिका निर्वाह गर्न धीरज, आत्मसंयम र विनम्रताका लागि निरन्तर बिन्ती गर्नुहोस्। भजनरचयिताले यसो भने: “परमप्रभु मेरो चटान, मेरो गढ़ी र मलाई छुटकारा दिने हुनुहुन्छ।” (भजन १८:२) यो कुरालाई सम्झनु धार्मिक तवरमा विभाजित परिवारमा बस्नेहरूका लागि बल प्रदान गर्ने सहायक हो।
सबैभन्दा ठूलो कुरा, आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन अथक प्रयत्न गर्नुहोस्। हो, सुसमाचारले विभाजन खडा गर्नेछ भनेर येशूले पहिल्यै पूर्वाभास पाइसक्नुभएको थियो। यद्यपि, तपाईंको मनोवृत्ति वा आचरणले गर्दा कुनै विभाजन नहोस् भनेर प्रार्थना गर्नुहोस्। (मत्ती १०:३५, ३६) यस्तो भावना देखाउनाले वैवाहिक समस्याहरू कम हुन्छन्। तपाईं एक्लैले यो सही मनोवृत्ति देखाउँदा मात्र पनि समस्याहरू जटिल भएर अचाक्ली वैमनस्य र फूट हुनदेखि रोक्नसक्छ। धैर्य र प्रेम अत्यावश्यक छन्। “भला” र “सहनशील” हुनुहोस्।—२ तिमोथी २:२४.
प्रेरित पावल ‘सबैका निम्ति सबै कुरा भए।’ (१ कोरिन्थी ९:२२) त्यस्तैगरि आफ्नो पति वा पत्नी अनि परिवारसित अझ धेरै समय बिताउन तपाईंले मसीही कर्तव्यहरूसित सम्झौता नगरी आफ्नो तालिकामा काँटछाँट गर्नुपर्ला। सँगै जीवन बिताउन चुन्नुभएको मानिससित यथासम्भव धेरै समय बिताउनुहोस्। मसीही विचारशीलता देखाउनुहोस्। यो ईश्वरीय आज्ञाकारिताको अभिव्यक्ति हो।
पतिको अधीनमा बस्ने लचकदार अनि सहानुभूतिशील ईश्वरभीरु पत्नीलाई ईश्वरीय आज्ञाकारिता देखाउन सजिलो हुन्छ। (एफिसी ५:२२, २३) “नूनले स्वादिलो पारेको” मीठो वचनले बारम्बार मुठभेड हुनसक्ने सम्भावनाहरूलाई कम गर्न मदत गर्छ।—कलस्सी ४:६; हितोपदेश १५:१.
ईश्वरीय बुद्धिले राम्रो वचनद्वारा शान्ति स्थापना गरेर तुरुन्त मतभिन्नताहरू समाधान गर्ने सल्लाह दिन्छ, मनमा “रीस” राख्दै ठस्केर सुत्ने सल्लाह दिंदैन। (एफिसी ४:२६, २९, ३१) यसको लागि विनम्रता चाहिन्छ। बलको लागि यहोवामाथि पूर्णतया भरोसा गर्नुहोस्। एक जना मसीही पत्नीले यसरी विनम्रतापूर्वक स्वीकारिन्: “व्यग्र भएर यहोवालाई प्रार्थना गरेपछि मेरो पतिप्रति मायालु दृष्टिकोण राख्न यहोवाको आत्माले मलाई मदत गर्नुभएको मैले अनुभव गरें।” परमेश्वरको वचनले यस्तो सल्लाह दिन्छ: “खराबको बदला खराब नगर। . . . तर खराबीलाई भलाइले जित।” (रोमी १२:१७-२१) यो सल्लाह बुद्धिमतापूर्ण छ र यो ईश्वरीय आज्ञाकारिताको मार्ग हो।
ईश्वरीय आज्ञाकारिता देखाउने केटा-केटीहरू
धार्मिक तवरमा विभाजित परिवारहरू हुने तपाईं केटा-केटीहरूका लागि यहोवाको यस्तो सल्लाह छ: “सबै कुरामा आमा-बाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।” (कलस्सी ३:२०) स्मरण रहोस्, यहाँ प्रभु येशू ख्रीष्टको उल्लेख गरिएको छ। तसर्थ, आमा-बाबुप्रतिको आज्ञाकारिता पूर्ण हुँदैन। “मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ” भन्ने प्रेरित ५:२९ को सल्लाह एक अर्थमा मसीही जवानहरूमाथि पनि लागू हुन्छ। आफूले शास्त्रअनुरूप थाह पाएको सही कुराअनुरूप आफैले निर्णय गर्नुपर्ने परिस्थितिहरू खडा हुनेछन्। शायद झूटो उपासनासित सम्बन्धित कुराहरूमा भाग लिन इन्कार गर्दा दण्ड पनि पाइ- एला। हुन त यो नमीठो प्रत्याशा हो, तर परमेश्वरको नजरमा जे असल छ त्यही गर्न तपाईं कष्ट भोग्दै हुनुहुन्छ भन्ने कुरा थाह पाउँदा तपाईंलाई सान्त्वना मिल्नसक्छ र तपाईं आनन्दितसमेत हुन सक्नुहुन्छ।—१ पत्रुस २:१९, २०.
तपाईंका विचारहरू बाइबलका सिद्धान्तहरूद्वारा नियन्त्रित भएकोले केही कुराहरूमा तपाईंका विचारहरू आमा-बाबुका भन्दा भिन्न होलान्। तर यसो भन्दैमा उहाँहरू तपाईंका शत्रु हुँदैनन्। उहाँहरू यहोवाका समर्पित सेवकहरू नभए तापनि उचित आदरका योग्य छन्। (एफिसी ६:२) सुलेमानले यसो भने: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” (हितोपदेश २३:२२) उहाँहरूलाई अनौठो लाग्ने किसिमको विश्वासमा तपाईं संलग्न भएको देखेर उहाँहरू दुःखी हुनुहुन्छ भनेर बुझ्ने कोसिस गर्नुहोस्। उहाँहरूसँग कुराकानी गर्नुहोस् र तपाईंको “सहनशीलता [व्यवहारिकता, न्युव] सबै मानिसहरूलाई थाह होस्।” (फिलिप्पी ४:५) तपाईंका अनुभूति अनि चिन्ताहरू बाँड्नुहोस्। ईश्वरीय सिद्धान्तहरूमा दृढ हुनुहोस्, यद्यपि, “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा” रहनुहोस्। (रोमी १२:१८) अहिले तपाईंले आमा-बाबुको नियम पालन गर्नुको अर्थ परमेश्वरको राज्यमा तपाईं आज्ञाकारी प्रजा भएर रहनुहुनेछ भनी यहोवालाई देखाउनु हो।
अरूले के गर्नसक्छन्
धार्मिक तवरमा विभाजित परिवारहरू हुने मसीहीहरूलाई संगी उपासकहरूको समर्थन अनि समझदारी चाहिन्छ। यो कुरा एक जना स्त्रीका यी शब्दहरूबाट प्रष्ट हुन्छ: “म एकदम निराश र निस्सहाय महसुस गर्छु किनकि मेरो परिस्थिति परिवर्तन गर्न कसैले केही गर्न सक्दैन र म आफैले गर्नसक्ने पनि केही छैन। चाहे जेसुकै होस्, हाम्रो परिवारमा यहोवाको इच्छा पूरा गर्न म उहाँमै भरोसा गर्छु।”
मसीही सभाहरूमा आध्यात्मिक भाइ-बहिनीहरूसँग संगत गर्नु एउटा शरण हो। त्यही स्त्री आफ्नो जीवनलाई “दुइ भिन्न संसार” भनी व्याख्या गर्छिन्। “एउटा, जसमा तिनी बाँचिरहेकी छिन् र अर्को जसमा तिनी बाँच्न चाहन्छिन्।” यी कष्टमा परेकाहरूलाई हर किसिमका परिस्थितिहरूमा सहँदै सेवा गर्न भ्रातृप्रेमले सम्भव गराउँछ। तिनीहरूलाई आफ्नो प्रार्थनामा सामेल गर्नुहोस्। (एफिसी १:१६) नियमित रूपले हर अवसरमा तिनीहरूसित प्रोत्साहनजनक, सकारात्मक र सान्त्वनादायी कुराहरू गर्नुहोस्। (१ थिस्सलोनिकी ५:१४) व्यवहारिक र उपयुक्त देखिएमा तिनीहरूलाई आफ्नो ईश्वरतान्त्रिक तथा सामाजिक क्रियाकलापहरूमा सामेल गर्नुहोस्।
ईश्वरीय आज्ञाकारिताका आशिष् तथा लाभहरू
धार्मिक तवरमा विभाजित घरमा ईश्वरीय आज्ञाकारिता देखाउँदा पाउने आशिष् तथा लाभहरूमा दिनहुँ मनन गर्नुहोस्। आज्ञाकारी हुन निरन्तर यत्न गर्नुहोस्। ‘नथाक्नुहोस्।’ (गलाती ६:९) “परमेश्वरतर्फको विवेकको निम्ति” अप्रिय परिस्थिति तथा अन्यायहरूलाई सहनुपर्छ भने त्यो परमेश्वरको नजरमा “ग्रहणयोग्य छ।” (१ पत्रुस २:१९, २०) यहोवाका धार्मिक सिद्धान्त तथा नियमहरूको सम्झौता नहुने स्थितिसम्म आज्ञाकारी हुनुहोस्। यसले यहोवाको प्रबन्धप्रतिको वफादारी देखाउँछ। तपाईंको ईश्वरीय आचरणले तपाईंको पति वा पत्नी, केटा-केटी वा आमा-बाबुको जीवन जोगिन पनि सक्छ।—१ कोरिन्थी ७:१६; १ पत्रुस ३:१.
धार्मिक तवरमा विभाजित परिवारले राख्ने मागहरू तथा प्रत्याशाहरूको सामना गर्दा यहोवा परमेश्वर तथा येशू ख्रीष्टप्रति निष्ठा कायम गर्नुको महत्त्वलाई सम्झनुहोस्। तपाईं थुप्रै कुराहरूमा झुक्नुहोला तर निष्ठालाई खतरामा पारेर झुक्नु, आफ्नो जीवनलगायत सबै कुरामा झुक्नु हो। प्रेरित पावलले यसो भने: “यी दिनका अन्तमा [परमेश्वरले] आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराका हकदार नियुक्त गर्नुभयो।” यो “ठूलो मुक्ति” चिन्नाले तपाईंलाई आज्ञाकारी हुने बल मिल्नेछ।—हिब्रू १:१, २; २:३.
सही नैतिक मूल्य र मान्यताहरूलाई सम्झौता नगरी आज्ञाकारी र अटल हुनु तपाईं अनि विश्वासमा नहुने तपाईंको पति वा पत्नीका लागि स्वस्थकर सुरक्षा हो। एकअर्कासित वफादार भएर बस्दा पारिवारिक बन्धन बलियो हुन्छ। सुयोग्य अनि वफादार पत्नीबारे हितोपदेश ३१:११ ले यसो भन्छ: “तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्।” तपाईंको पवित्र आचरण र गहिरो आदरले विश्वासमा नहुने तपाईंको पतिको आँखा खोल्नसक्छ। अन्ततः तिनले परमेश्वरको सच्चाइ स्वीकार्नसक्छन्।
निस्सन्देह, ईश्वरीय आज्ञाकारिता अमूल्य अनि जीवनदायी छ। आफ्नो पारिवारिक हितलाई ध्यानमा राखेर त्यसको लागि प्रार्थना गर्नुहोस्। फलस्वरूप तपाईंले मनमा शान्ति पाउनुहुनेछ र त्यसले यहोवाको प्रशंसा गर्नेछ।