तपाईं आध्यात्मिक प्रगति गर्न सक्नुहुन्छ
साँचो मूल्य थाह पाउनु गाह्रो हुनसक्छ। हीरा पनि यस्तै हो। पालिस गरिएको हीरा चमचम चम्कन्छ भने अपरिष्कृत हीराबाट अलिअलि मात्र तेज निस्कन्छ। यद्यपि, अपरिष्कृत हीराभित्र पक्कै पनि सुन्दर रत्न लुकेको हुन्छ।
मसीहीहरू विभिन्न तरिकामा अपरिष्कृत हीराजस्तै हुन्छन्। हामीले सिद्धतामा पुग्न अझै धेरै गर्नुपरे तापनि हामीसँग यहोवाले कदर गर्नुहुने एउटा आधारभूत योग्यता छ। हीराजस्तै हामी प्रत्येकसँग आ-आफ्नो विशेष गुन छ। अनि हामी प्रत्येकले भित्री चाहना राख्यौं भने अझ आध्यात्मिक प्रगति गर्नसक्छौं। हाम्रा व्यक्तित्वहरू परिष्कृत हुनसक्छन्। फलतः यहोवाको महिमा गर्न ती व्यक्तित्वहरू झन् चहकिला भएर चम्कनसक्छन्।—१ कोरिन्थी १०:३१.
काटकुट गरेर पालिस गरेपछि हीरा एउटा फ्रेममा राखिन्छ जसले गर्दा त्यसको परावर्तन गुन झनै चम्किलो देखिन्छ। त्यसैगरि, ‘नयाँ मानिसलाई धारण गरेर परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भयौं’ भने यहोवाले हामीलाई विभिन्न फ्रेममा अर्थात् कार्यभार सुम्पनुभएर चलाउन सक्नुहुन्छ।—एफिसी ४:२०-२४.
जसरी अपरिष्कृत हीरा रत्नजस्तो चम्कनसक्दैन त्यसरी नै आध्यात्मिक प्रगति पनि स्वतः हुने होइन। यसको लागि हाम्रा कतिपय कमजोरीहरू हटाउन, जिम्मेवारी बहन गर्ने सम्बन्धमा मनोवृत्ति काँटछाँट गर्न वा आध्यात्मिक क्रियाकलापलाई दिनचर्याजस्तो मात्र बनाउन नदिन पनि भरमग्दूर प्रयास गर्नु आवश्यक पर्नसक्छ। तर हामीले साँच्चै चाहेको खण्डमा प्रगति गर्नसक्छौं किनकि यहोवा परमेश्वरले हामीलाई “सर्वश्रेष्ठ शक्ति” दिन सक्नुहुन्छ।—२ कोरिन्थी ४:७, नेपाली (नयाँ संशोधित संस्करण); फिलिप्पी ४:१३.
यहोवा आफ्ना सेवकहरूलाई बलियो बनाउनुहुन्छ
हीरा काट्दा सही ज्ञानमा आधारित आत्मविश्वास हुनुपर्छ किनकि काटिसकेको अपरिष्कृत हीराको भाग फेरि काम लाग्दैन। भनेजस्तो आकारमा ढाल्न कहिलेकाहीं त ५० प्रतिशतजति मूल्यवान् पत्थर काट्नुपर्छ। हामीलाई पनि आफ्नो व्यक्तित्व ढाल्न र आध्यात्मिक प्रगति गर्न सही ज्ञानमा आधारित आत्मविश्वास चाहिन्छ। खासगरि, यहोवाले हामीलाई शक्ति दिनुहुनेछ भन्ने आत्मविश्वास हुनैपर्छ।
तथापि, हामी असमर्थ छौं या केही गर्नसक्दैनौं जस्तो हामीलाई लाग्नसक्छ। पुरातन समयमा परमेश्वरका विश्वासी सेवकहरूले पनि कहिलेकाहीं यस्तै महसुस गरेका थिए। (प्रस्थान ३:११, १२; १ राजा १९:१-४) यहोवाले यर्मियालाई ‘जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गर्नुहुँदा’ तिनले यसो भने: “मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” (यर्मिया १:५, ६) यद्यपि, बोल्न नजान्ने भए तापनि यर्मिया साहसी अगमवक्ता बने जसले अमित्रैला मानिसहरूलाई निर्भयतासाथ समाचार सुनाए। तिनले त्यो कसरी गर्नसके? तिनले यहोवामा भरोसा राख्न सिके। यर्मियाले पछि यसरी लेखे: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमाथि भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।”—यर्मिया १७:७; २०:११.
उहाँमाथि भरोसा राख्नेहरूलाई आज पनि यहोवाले त्यसरी नै बलियो बनाउनुहुन्छ। ढीलो आध्यात्मिक प्रगति गर्ने चार छोराछोरीका बुबा एडवार्डले आफ्नो सम्बन्धमा यो कुरा सही पाएका छन्।a तिनी यसो भन्छन्: “म यहोवाको साक्षी भएको नौ बर्ष भइसक्यो। तर मैले आध्यात्मिक प्रगति गरेकै छैन जस्तो लाग्छ। खास समस्या के हो भने म अलिअलि उत्प्रेरित हुन्थें र ममा आत्मविश्वास त थिंदै थिएन। स्पेनमा बसाइँ सरेपछि हामीले धाउन थालेको सानो मण्डलीमा एक जना प्राचीन र एक जना सेवकाई सेवक मात्र थिए। आवश्यकतालाई ध्यानमा राख्दै प्राचीनले मलाई थुप्रै जिम्मेवारीहरू सुम्पे। पहिलोचोटि भाषण दिंदा र सभाका अन्य भागहरू प्रस्तुत गर्दा म थरथर काम्थें। यद्यपि, मैले यहोवामा भर पर्न सिकें। प्राचीनले सधैं मेरो प्रशंसा गर्थे र उन्नति गर्न सिपालु ढंगमा सुझाउहरू दिन्थे।
“यसका साथसाथै मैले क्षेत्र सेवकाईको गतिविधिमा बढी भाग लिन थालें र परिवारमा राम्रो आध्यात्मिक अगुवाइ लिएँ। फलस्वरूप, पूरै परिवारको लागि सच्चाइ अझ महत्त्वपूर्ण भयो र मैले ठूलो सन्तुष्टि महसुस गर्नसकें। अहिले म सेवकाई सेवक भएको छु र मसीही निरीक्षकमा हुनुपर्ने गुनहरू विकास गर्न कडा मेहनत गरिरहेको छु।”
‘पुरानो मनुष्यत्वलाई त्याग’
एडवार्डले महसुस गरेजस्तै आध्यात्मिक प्रगति गर्न यहोवामा भरोसा राख्नुपर्छ। येशूको जस्तो “नयाँ चोला” विकास गर्नु पनि अत्यावश्यक छ। यो कसरी गर्न सकिन्छ? प्रथम खुड्किलो हो, पुरानो मनुष्यत्वका आनीबानीहरू ‘त्याग्नु।’ (कलस्सी ३:९, १०) चमचम चम्किने रत्न बनाउन अपरिष्कृत हीराबाट नचाहिंदा पदार्थहरू हटाउनुपर्छ। त्यसैगरि, हाम्रो नयाँ चोला चम्काउन “संसारका” मनोवृत्तिहरू त्याग्नुपर्छ।—गलाती ४:३.
यस्तो मनोवृत्तिमध्ये एउटा हो, हामीबाट धेरै कुरा माग गरिएला भन्ने डरले जिम्मेवारी लिन हिचकिचाउनु। हो, जिम्मेवारी पाएपछि काम गर्नुपर्छ तर यो सन्तोषजनक काम हो। (प्रेरित २०:३५ तुलना गर्नुहोस्।) पावलले ईश्वरीय भक्तिमा “परिश्रम र प्रयत्न” पनि चाहिन्छ भनेर स्वीकारे। हामी खुसीसाथ त्यसो गर्छौं “किनभने हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ।” हामीले सँगी मसीहीहरू वा अन्य मानिसहरूप्रति गरेको परिश्रम उहाँ कहिल्यै बिर्सनुहुन्न।—१ तिमोथी ४:९, १०; हिब्रू ६:१०.
कुनै कुनै हीरा भित्रपट्टि “चर्किएको” हुने भएकोले बढी जतन गर्नुपर्ने हुन्छ। तथापि, पालिस लगाउनेहरूले पोलारिस्कोप नामक यन्त्रद्वारा कहाँ चर्किएको छ भनेर पत्ता लगाउनसक्छन् अनि नबिगारिकन त्यो पत्थर चाहिएको आकारमा ढाल्नसक्छन्। हामी पनि आफ्नो पृष्ठभूमि वा जीवनमा भोगेका तीता अनुभवले गर्दा भित्रभित्रै चर्किएका हुनसक्छौं वा हाम्रो व्यक्तित्वमा कुनै त्रुटि हुनसक्छ। त्यसोभए, हामी के गर्नसक्छौं त? प्रथमतः आफ्नो समस्या स्वीकार्नुपर्छ र त्यसलाई यथासम्भव समाधान गर्ने संकल्प गर्नुपर्छ। हामी प्रार्थना मार्फत यहोवासमक्ष आफ्नो भारी बिसाउनुका साथै मसीही प्राचीनसँग आध्यात्मिक मदत माग्नुपर्छ।—भजन ५५:२२; याकूब ५:१४, १५.
निकोलस यसरी भित्रभित्रै चर्किएका थिए। तिनी यसो भन्छन्: “मेरो बुबा रक्स्याहा हुनुहुन्थ्यो। उहाँले मेरी दिदी र मलाई साह्रै दुःख दिनुभयो। स्कूल छोडेपछि म सेनामा भर्ती भएँ। तर केही समय नबित्दै मेरो विद्रोही प्रवृत्तिले गर्दा समस्यामा फसें। लागूपदार्थ बेचबिखन गरेको कारण सेना अधिकृतले मलाई झ्यालखानामा थुने अनि अर्कोपटक चाहिं फौजबाट खबरै नगरी भागें। अन्ततः सैनिक सेवा नै छाडें। तैपनि म समस्यामुक्त थिइनँ। लागूपदार्थको दुर्व्यसन र अत्यधिक पिउने बानीले गर्दा जीवन बेहाल भए तापनि बाइबलप्रति चासो थियो र म जीवनको उद्देश्य बुझ्न चाहन्थें। अन्ततः यहोवाको एक जना साक्षीसँग भेट भयो, आफ्नो जीवनशैली परिवर्तन गरेर सच्चाइ अंगालें।
“तथापि, मलाई आफ्नो व्यक्तित्वमा भएको त्रुटि स्वीकार्न र त्यसलाई सुधार्न वर्षौं लाग्यो। म अख्तियारवालालाई पटक्कै मन पराउँदिनथें अनि मलाई सल्लाह दियो भने रिसले चूर हुन्थें। यहोवाले मलाई पूर्णरूपले प्रयोग गरून् भन्ने म चाहन्थें तर मेरो यो कमजोरी नै अवरोध भइदियो। अन्ततः दुई जना समझदार प्राचीनहरूको सहयोगद्वारा मैले आफ्नो समस्या स्वीकारें अनि उनीहरूले दिएको प्रेमपूर्ण धर्मशास्त्रीय सल्लाह जीवनमा उतार्न थालें। अझ पनि कहिलेकाहीं झोंक चल्छ। तैपनि, अहिले त विद्रोही प्रवृत्ति आफ्नो नियन्त्रणमा राख्नसकेको छु। यहोवाले मप्रति धैर्यसाथ व्यवहार गर्नुभएकोमा र प्राचीनहरूको मायालु सहयोगप्रति म साह्रै कृतज्ञ छु। मेरो आध्यात्मिक प्रगतिले गर्दा हालै म सेवकाई सेवक नियुक्त भएको छु।”
निकोलसले अनुभव गरेजस्तै गहिरो जरा गाडेका मनोवृत्तिहरू परिवर्तन गर्न सजिलो हुँदैन। हामीले पनि त्यस्तै चुनौती सामना गरिरहेका हुनसक्छौं। सायद हामी अत्यन्त संवेदनशील छौं। हामी भित्रभित्रै दुःखी भएका या स्वाधीनतालाई बढी महत्त्व दिइरहेका हौंला। अतः हाम्रो मसीही प्रगति सीमित हुनसक्छ। हीरा पालिस गर्नेहरू पनि नाट्स भन्ने पत्थरमा यस्तै कुरा पाउँछन्। नाट्स भनेको वास्तवमा दुई प्रकारका पत्थरहरू हुन् र हीरा बन्ने क्रममा पगालिएर एउटै हुन्छन्। फलस्वरूप, नाट्स-को दुई किसिमको बनावट हुन्छ जसले गर्दा त्यसको कण मिलाएर काट्नु निकै अप्ठ्यारो पर्छ। हाम्रो सम्बन्धमा चाहिं, स्वैच्छिक मनोवृत्ति “मिजास” असिद्धताको “मिजास” विरुद्ध लडन्त गरिरहेको हुन्छ। (मत्ती २६:४१; गलाती ५:१७) कहिलेकाहीं हाम्रो व्यक्तित्वमा भएका त्रुटिहरू ठूला कुरा होइनन् भन्ने तर्क गरेर यस्ता त्रुटिहरू विरुद्ध लड्नै बन्द गर्नसक्छौं। हामी यसो भनौंला, ‘आखिर, मलाई मेरो परिवार र साथीभाइहरूले माया गरेकै छन्।’
तथापि, हाम्रा भाइहरूको सेवा गर्न र स्वर्गमा हुनुहुने पिताको महिमा गर्न चाहन्छौं भने नयाँ चोला धारण गरेर ‘आफ्नो मनको आत्मामा नयाँ हुनुपर्छ।’ निकोलस तथा अरू असंख्य मानिसहरूले प्रमाणित गरेझैं हाम्रो कोसिस पनि त्यसै खेर जाँदैन। एउटै खोटको कारण सम्पूर्ण हीरा बेकामको हुनसक्छ भनी हीरा पालिस गर्नेलाई थाह छ। त्यसैगरि, आफ्नो व्यक्तित्वमा भएको कमजोरीलाई हेलचेक्य्राइँ गऱ्यौं भने हाम्रो आध्यात्मिक रूप नै बिग्रनसक्छ। त्योभन्दा खराब के हो भने गम्भीर कमजोरीले गर्दा हामी आध्यात्मिकतामा पतित हुनसक्छौं।—हितोपदेश ८:३३.
हामीभित्र “चमक” जस्तै
हीरा पालिस गर्नेले हीराभित्रबाट चमक निकाल्ने कोसिस गर्छ। त्यसको लागि हीराका मोहडाहरू मिलाउनुपर्छ जसले गर्दा त्यसबाट बहुरंग प्रतिबिम्बित हुन्छ। हीराको भित्रपट्टि बहुरंगी प्रकाश अघिपछि परावर्तन भएर चमक उत्पन्न हुन्छ जसले गर्दा हीरा चम्कन्छ। त्यसैगरि, परमेश्वरको आत्मा हामीभित्र एउटा “चमक” जस्तै हुनसक्छ।—१ थिस्सलोनिकी ५:१९; प्रेरित १८:२५; रोमी १२:११.
तर आध्यात्मिक तवरमा उत्प्रेरित हुनुपर्ने महसुस गऱ्यौं भने नि? कसरी आध्यात्मिकतामा उत्प्रेरित हुने? त्यस्तो बेला हामीले “आफ्नो चालचलनको विषयमा विचार” गर्नुपर्ने हुन्छ। (भजन ११९:५९, ६०) यसो गर्नको लागि हामीलाई आध्यात्मिकतामा सुस्त बनाउने कुराहरू चिन्नु अनि कुन चाहिं ईश्वरतान्त्रिक गतिविधिहरूमा जोडतोडका साथ लाग्नुपर्ने हो भनेर निर्णय गर्नु खाँचो पर्छ। नियमित व्यक्तिगत अध्ययन तथा खुरन्धार प्रार्थनामा लागेर आध्यात्मिक कुराको मूल्यांकन बढाउनसक्छौं। (भजन ११९:१८, ३२; १४३:१, ५, ८, १०) यसबाहेक, विश्वासको खातिर कडा परिश्रम गर्नेहरूसँग संगत गरेर जोसका साथ यहोवाको सेवा गर्ने आफ्नो कटिबद्धता झन् बलियो बनाउनेछौं।—तीतस २:१४.
लुइस नाउँकी मसीही स्त्रीले यसो भनिन्: “मैले अग्रगामी अथवा पूर्ण-समय राज्य उद्घोषकको काम गर्नुअघि दुई वर्षसम्म नियमित अग्रगामी गर्नुपऱ्यो भन्ने विचार गरेकी थिएँ। मलाई कुनै अड्चन थिएन। तर म तनाउमुक्त आरामदायी जीवन बिताइरहेकी थिएँ र मैले त्यस नित्यक्रमबाट फुत्कने प्रयास पनि गरिनँ। त्यसै समय मेरो बुबाको आकस्मिक मृत्यु भयो। मैले मानिसको जीवन कति अनिश्चित हुँदो रहेछ अनि आफ्नो जीवनबाट पूरापूर फाइदा उठाएकी नै रहेनछु भन्ने बुझें। अतः आफ्नो आध्यात्मिक दृष्टिकोण परिवर्तन गरें, सेवकाईमा बढी भाग लिन थालें अनि नियमित अग्रगामी गर्नथालें। यस सन्दर्भमा मैले खासगरि आध्यात्मिक भाइबहिनीहरूबाट मदत पाएको छु। उनीहरूले सधैं नै क्षेत्र सेवकाईका प्रबन्धहरूको समर्थन गरे अनि मसँग नियमित तवरमा सेवकाईमा भाग लिए। चाहे मन परोस् या नपरोस्, हामी र हाम्रा सहयोगीहरू एकअर्काका मूल्य तथा लक्ष्यहरूमा बराबरको साझेदार छौं भन्ने सिकेकी छु।”
फलामले उध्याएजस्तै
पृथ्वीमा पाइने प्राकृतिक वस्तुहरूमध्ये हीरा सबैभन्दा कडा वस्तु हो। तसर्थ, हीरा काट्न हीरा नै चाहिन्छ। यसले बाइबल विद्यार्थीहरूलाई एउटा उपदेशको सम्झना गराउनुपर्ने हो जहाँ यसो भनिएको छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) कसरी मानिसको बुद्धि ‘उध्याइन्छ’? फलामको पातालाई उध्याउन फलामकै टुक्रा चाहिएझैं एउटाले अर्कोको बुद्धि र आध्यात्मिकता तिखार्नसक्छ। उदाहरणका लागि, हामी हतोत्साहित भएको बेला अरूले दिएको प्रोत्साहन अति प्रेरणादायक हुनसक्छ। फलतः हाम्रो उदास मुहारमा खुसीको लहर छाउनसक्छ र जोसिलो भई सेवकाईमा भाग लिन प्रोत्साहित हुनसक्छौं। (हितोपदेश १३:१२) विशेषगरि, मण्डलीका प्राचीनहरूले हामीलाई प्रगति गर्न धर्मशास्त्रीय प्रोत्साहन र सल्लाह दिएर उध्याउनसक्छन्। तिनीहरू सुलेमानको निम्न सिद्धान्त अनुसरण गर्छन्: “बुद्धिमानलाई अर्ती दियो भने त्यो झन् बुद्धिमानी हुनेछ, धर्मीलाई शिक्षा दियो भने त्यसको ज्ञान अझ बढ़नेछ।”—हितोपदेश ९:९.
निस्सन्देह, आध्यात्मिक प्रशिक्षण प्राप्त गर्न समय लाग्छ। प्रेरित पावलले दस वर्षभन्दा बढी समयसम्म तिमोथीलाई आफ्नो अनुभव बताए तथा शिक्षा दिने तरिकाहरू सिकाए। (१ कोरिन्थी ४:१७; १ तिमोथी ४:६, १६) मोशाले यहोशूलाई ४० वर्षभन्दा बढी समयसम्म दिएको लामो प्रशिक्षणले गर्दा धेरै समयसम्म इस्राएल राष्ट्रलाई फाइदा भयो। (यहोशू १:१, २; २४:२९, ३१) एलिशाले अगमवक्ता एलियासित सम्भवतः ६ वर्षसम्म संगत गरेर आफ्नो सेवकाईको लागि असल शिक्षा पाए अनि लगभग ६० वर्षसम्म सेवामा लागिरहे। (१ राजा १९:२१; २ राजा ३:११) धैर्यसाथ प्रशिक्षण दिंदै प्राचीनहरू पावल, मोशा र एलियाको उदाहरण अनुकरण गर्छन्।
प्रशिक्षणको एउटा अभिन्न अंग हो प्रशंसा गर्नु। राम्ररी कार्यभार पूरा गर्ने वा प्रशंसनीय काम गर्ने व्यक्तिप्रति निष्कपट मूल्यांकन व्यक्त गर्दा तिनीहरू यहोवाको सेवामा झन् बढी गर्न प्रेरित हुनसक्छन्। यसबाहेक, प्रशंसा गर्नाले भरोसा बढ्छ अनि कमजोरीहरू हटाउने प्रेरणा मिल्छ। (१ कोरिन्थी ११:२ तुलना गर्नुहोस्।) राज्य प्रचारकार्य र मण्डलीका अन्य गतिविधिमा चुर्लुम्मै डुबेर पनि सच्चाइमा प्रगति गर्ने प्रोत्साहन पाउनसक्छौं। (प्रेरित १८:५) प्राचीनहरूले भाइहरूलाई तिनीहरूको आध्यात्मिक प्रगतिको आधारमा जिम्मेवारी दिंदा तिनीहरूले त्यसको मूल्य बुझ्छन्। फलतः तिनीहरूको आध्यात्मिक प्रगति गर्ने चाहना झन् बढ्दै जान्छ।—फिलिप्पी १:८, ९.
आध्यात्मिक प्रगति गर्ने ठोस कारणहरू
हीरा बहुमूल्य मानिन्छ। यहोवाका उपासकहरूको विश्वव्यापी परिवारसँग संगत गर्नेहरू पनि त्यस्तै हुन्। भनौं भने, परमेश्वर आफैले तिनीहरूलाई सबै जातिका “धन-सम्पत्तिहरू” वा “बहुमूल्य” भन्नुहुन्छ। (हाग्गै २:७) गत वर्ष ३,७५,९२३ जनाले बप्तिस्मा लिएर यहोवाका साक्षी भए। यसरी वृद्धि भइरहेका मानिसहरू अटाउनको लागि ‘पाल तन्काउन’ परेको छ। आध्यात्मिक प्रगति गर्नुका साथै मसीही सेवाको विशेषाधिकार पाउन योग्यको भएर यसरी वृद्धि भइरहेका मानिसहरूको हेरविचार गर्ने काममा भाग लिन सकिन्छ।—यशैया ५४:२; ६०:२२.
सिसाको बाकसमा राखिएको अनि कमै मात्र देख्न पाउने अनेकन् बहुमूल्य हीराजस्तो नभएर हाम्रो आध्यात्मिक मूल्य त चमचम चम्कनसक्छ। अनि नियमित तवरमा हामीले आफ्नो मसीही गुनहरू पालिस गरेर प्रकट गर्दा यहोवा परमेश्वरको महिमा गरिरहेका हुन्छौं। येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१६) निस्सन्देह, यसले हामीलाई आध्यात्मिक प्रगति गर्ने उचित कारण दिन्छ।
[फुटनोट]
a यस लेखमा नाउँहरू परिवर्तन गरिएका छन्।