“परमेश्वरको वचन जीवित् र प्रबल छ”
१, २. (क) मसीहीहुने मानिसहरूमा के ले परिवर्त्तन उत्पन्न गराउँछ? (ख) बाइबलले मानिसमा कतिको गहिरो प्रभाव पार्न सक्छ?
प्रथम शताब्दिको (ई. स.) माझमा प्रेरित पावलले रोममा स्थित् मसीही मण्डलीलाई एउटा पत्र लेखि पठाए। साँचो मसीहीहरूले आफ्नो जीवनमा परिवर्तनहरू ल्याउनु पर्छ भन्ने आवश्यक्तालाई त्यो पत्रमा महत्व दिएको थियो। उनले एसो भने: “यस संसारसित एकै चालको नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनि तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) येशूका चेलाहरूमा परिवर्त्तन ल्याउने, तिनीहरूको सोच विचारलाई नै बेग्लै पारि दिन सक्ने कुरा के हो? एउटै मौलिक कुरा छ, र त्यो हो परमेश्वरको वचन, बाइबलको शक्ति।
२ बाइबलले हामीमा कति गहिरो प्रभाव पार्न सक्छ भनेर दर्साउन, पावलले यस प्रकार लेखे: “किनकि परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुई-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारूञ्जेल सम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) मानिसहरूमा यस प्रकारका परिवर्त्तनहरू ल्याउन सक्ने बाइबलको अदभूत् शक्ति नै, यो कुनै मानिसको वचन हुन सक्दैन भन्ने कुराको सन्तोषजनक प्रमाण हो।
३, ४. मसीहीहरूको व्यक्तित्व कहाँ सम्म परिवर्त्तित् भएको छ?
३ युनानी शब्द मेटा-मर-फो-ओ लाई, रोमी १२:२ मा “बदलियौ” भनेर अनुवाद गरिएकोछ। यसको अर्थ, एउटा झुसिल्कीरो पुतलीमा परिवर्तित् भए झैं, सम्पूर्णतया परिवर्त्तन हुनु हो। यो परिवर्त्तनको सम्पूर्णतालाई सङ्केत् गर्दै, बाइबलले यस प्रकारको परिवर्त्तनलाई व्यक्तित्वको परिवर्त्तन भन्छ। बाइबलको एउटा अर्को पदमा एसो भनेको पाउँछौं: “पुरानो मनुष्यत्वलाई त्यसका कामहरू समेत् तिमीहरूले त्यागेका छौ, औ नया चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भएका छौ।”—कलस्सी ३:९, १०.
४ कोरिन्थको मण्डलीलाई लेख्दा, पावलले प्रथम शताब्दिमा, व्यक्तित्वहरूको विस्तृत परिवर्त्तनको एउटा झल्को दिएको छ। उनले एसो भने: “व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरूषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए। तर तिमीहरू पखालिएका छौ।” (१ कोरिन्थी ६:९-११) हो, अनैतिक र झगड़ालु व्यक्तिहरू, चोर र मतवालाहरू अनुकरणीय मसीहीहरूमा परिणत् भएका थिए।
वर्तमानमा व्यक्तित्वका परिवर्त्तनहरू
५, ६. बाइबलको शक्तिले, एक जना जवान मानिसको व्यक्तित्वलाई कसरी सम्पूर्णतया बदली दियो?
५ विभिन्न व्यक्तित्व परिवर्त्तनहरू भएका आज पनि देख्न सकिन्छ। उदाहरणका लागि, दक्षिण अमेरिकाको एउटा केटो, ९ वर्षको उमेरमा टुहुरो भएछ। आमा-बाबुको देख-रेख बिना हुर्केको हुनाकारण, उसको एउटा समस्यायुक्त व्यक्तित्व भयो। उ एसो भन्छ: “१८ वर्षको उमेर पुगुञ्जेल, मादक पदार्थमा मैले लत बसालि सकेको थिएँ र मादक पदार्थ खानको निम्ति मैले चोरी पनि गरें औ यसका लागि मैले कारागारमा समय पनि काटी सकेको थिएँ।” तर उसकी काकी यहोवाको एक जना साक्षी रहिछ र उसलाई यो काकीले सहायता दिन सकी।
६ यस विषयमा यो जवान मानिस एसो भन्छ: “मेरी काकीले म सँग बाइबल अध्ययन गर्न थाल्नु भयो र सात महिना पछि मैले मादक पदार्थको प्रयोग गर्न छाड़ दिएँ।” उसले आफ्नो पुरानो साथीहरू सँग मित्रता गर्न छाड़ दिये पछि, यहोवाका साक्षीहरूको माझमा नया मित्रहरू पाउन सक्यो। उ अझ एसो भन्छ: “यी नया मित्रहरू र नियमित् बाइबल अध्ययन द्वारा मैले उन्नत्ति गर्न सके र अन्तमा, परमेश्वरको सेवा गर्न, आफ्नो जीवन उहाँलाई समर्पण गर्ने योग्यको भएँ।” जुन मानिस पहिले मादक पदार्थको अम्मली र चोर थियो, त्यही मानिस आज एउटा सफा र कृयाशील मसीही भएको छ। उसको व्यक्तित्वमा यस प्रकारको आमूल परिवर्त्तन कसरी हुन सक्यो? बाइबलको शक्ति द्वारा।
७, ८. बाइबलको मदद द्वारा व्यक्तित्व सम्बन्धी एउटा अपठ्यारो समस्याको समाधान कसरी भयो?
७ एउटा अर्को उदाहरण दक्षिण यूरोपबाट आएको छ। त्यहाँको एक जना युवक, आफ्नो व्यक्तित्वमा एउटा कठिन समस्या लिएर हुर्केछ: आफ्नो हिंसात्मक क्रोध। यो युवकको जहिले पनि अरूहरू सँग झगड़ा भई रहेको हुन्थियो। एक दिन आफ्नो परिवार भित्र विवाद भइरहेको बेलामा, उसले आफ्नै पितालाई पिटेर तल भुईंमा लड़ाइ दिएको थियो! तर पछि गएर, उसले पनि यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन गर्यो र रोमीको पुस्तकमा उल्लेखित् परमेश्वरको यो कानूनलाई विशेष ध्यान दियो: “कसैलाई खराबको बदला खराब नगर। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ।”—रोमी १२:१७-१९.
८ यी शब्दहरू द्वारा उसले आफ्नो कमजोरी कति खराब रहेछ भनेर बुझ्न सक्यो। बाइबलको ज्ञान बढ़दै गए पछि उसको अन्तस्करण पनि सफा हुँदै गयो र यसबाट उसले आफ्नो झट्ट क्रोधित् हुने बानीलाई सम्हाल्न सक्यो। एक पटक, उसले बाइबल अध्ययनमा केही प्रगति गरी सके पछि, एक जना अपरिचित् मानिसले उसलाई चर्को सोरमा गाली गरेछ। यो जवान मानिसले आफू भित्र त्यो पुरानो क्रोध एक छिन ता जागेर आयेको अनुभव गरेछ। तर यस पछि एउटा अर्को भावना पनि जागेर आएछ: अर्थात् लाजको भावना। यो भावना आउना साथै उसले आफ्नो क्रोधलाई सम्हाल्न सकेछ। उसले आफूमा संयम नाउँको गुण वृद्धि गरेछ र संयम पवित्र-आत्माको एउटा महत्वपूर्ण फल हो। (गलाती ५:२२, २३) उसको व्यक्तित्व अब बेग्लै भएकोछ र यसका लागि परमेश्वरको वचनको शक्तिलाई धन्यवाद छ।
९. पावलले भने अनुसार, हाम्रो व्यक्तित्वमा कुन माध्यम द्वारा परिवर्त्तन आउन सक्छ?
९ तर बाइबलले यति शक्तिशाली प्रभाव कसरी पार्न सक्छ? कलस्सी ३:१० मा, पावलले हाम्रा व्यक्तित्वहरूमा सही ज्ञान द्वारा परिवर्त्तन आउन सक्छ भनेकोछ र त्यो ज्ञान बाइबलमा पाइन्छ। तर ज्ञानले मानिसमा परिवर्त्तन कसरी ल्याउँछ?
सही ज्ञानको भूमिका
१०, ११. (क) बाइबल अध्ययन गर्दा, असल र खराब आनीबानीहरूको विषयमा के सिक्दछौं? (ख) हाम्रो व्यक्तित्वमा परिवर्त्तन ल्याउनका निम्ति, ज्ञान बाहेक अरू कुन कुरा पनि आवश्यक छ?
१० सर्व प्रथम, हाम्रो व्यक्तित्वबाट हटाउनु पर्ने खराब आनीबानीहरू बाइबलले औंलाएर देखाउँछ। उदाहरणका लागि, “अहँकारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, धेरै असत्य बोल्ने झूटो गवाही, र दाज्यू-भाइहरूका बीचमा झगड़ा उठाउने मानिस।” (हितोपदेश ६:१६-१९) यस पछि, बाइबलले हामीमा हुनु पर्ने असल गुणहरूको वर्णन गर्छ, जसमा, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” सम्मिलित् छन्।—गलाती ५:२२, २३.
११ यस प्रकारको सही ज्ञान द्वारा, निष्कपट हृदय हुने व्यक्तिले आफूलाई जाँच गर्ने मदद पाउँछ र आफ्नो व्यक्तित्वबाट कुन्-कुन् कुरा हटाउने र कुन्-कुन् गुणहरूमा वृद्धि गराउने कोशिश गर्नु परेको छ भनी उसलाई जानकारी हुनेछ। (याकूब १:२५) तर यो एउटा शुरूआत मात्र हो। ज्ञानको साथ साथै आफूमा परिवर्त्तन गराउने चाहना पनि उत्पन्न हुनु पर्छ। यसका लागि उसलाई फेरि, बाइबलको सही ज्ञानको खाँचो पर्नेछ।
असल बन्न अनुप्राणित हुन
१२. परमेश्वरको व्यक्तित्वको ज्ञानले हामीमा परिवर्त्तन ल्याउने मदद कसरी दिन्छ?
१२ “आफूलाई सृष्टि गर्नेको” स्वरूपमा, नया व्यक्तित्वको सृजना हुन्छ भनेर पावलले भने। (कलस्सी ३:१०) यसको अर्थ, मसीही व्यक्तित्व परमेश्वरको व्यक्तित्व सँग मिल्नु पर्छ। (एफिसी ५:१) हाम्रो निम्ति, परमेश्वरको व्यक्तित्व बाइबल द्वारा प्रकाशित् गरिएको छ। मानिसहरू सँग उहाँले गर्नुभएको व्यवहारमा, प्रेम, दया, भलाइ, करूणा र धार्मिकता जस्ता उहाँका असल गुणहरू देख्दछौं। यस प्रकारको ज्ञानले असल हृदय हुने मानिसमा परमेश्वर सँग प्रेम गर्ने र उहाँको सामने ग्रहणयोग्य हुने चाहना जागृत गराउँछ। (मत्ती २२:३७) मायालु छोरा-छोरीको हैसियतमा, हामी आफ्नो स्वर्गमा हुनु हुने पितालाई प्रसन्न पार्न चाहन्छौं र आफू कमजोर र असिद्ध भएतापनि, सकेसम्म उहाँको व्यक्तित्वको अनुसरण गर्ने कोशिश गर्छौं।—एफिसी ५:१.
१३. कुन कुराको ज्ञानले हामीलाई ‘धार्मिकतालाई प्रेम गर्नु र अधार्मिकतालाई घृणा गर्नु’ सिकाउँछ?
१३ हाम्रो व्यक्तित्वको दुवै असल र खराब आनीबानीले हामीलाई कता तिर लैजानेछ भनेर बाइबलमा दिएको ज्ञानले हाम्रो यो चाहनालाई अझ बलियो पारिदिन्छ। (भजन संग्रह १४:१-५; १५:१-५; १८:२०, २४) दाऊदको ईश्वरीय भक्ति र धार्मिकताको प्रेमले गर्दा उसले पाएको आशिष बारे मात्र होइन, तर संयम नगर्दा, उसले भोग्नु परेको क्लेशको विषयमा पनि हामी बाइबलमा सिक्छौं। हामी देख्छौं, बूढ़ेस्कालमा सुलेमानका असल गुणहरू भ्रष्ट हुँदा यस्को के कस्तो खराब परिणाम भएको थियो। योशियाह र हिजकियाहको धार्मिकताले गर्दा आएका आशिषहरू सँग अहाबको कमजोरी र मनश्शेको हठ र धर्मत्यागले ल्याएका विपत्ति दाँजेर हेर्न सक्छौं। (गलाती ६:७) यसबाट हामी ‘धार्मिकतालाई प्रेम गर्न र अधार्मिकतालाई घृणा गर्न’ सिक्दछौं।—हिब्रू १:९; भजन संग्रह ४५:७; ९७:१०.
१४. संसार र त्यसका बासिन्दाहरूका लागि यहोवाका उद्देश्यहरू के हुन्?
१४ परमेश्वरको उद्देश्यको सही ज्ञानले हाम्रो यो प्रेरणालाई अझ बलियो तुल्याइ दिन्छ। यस प्रकारको ज्ञानले, हाम्रो ‘मनको आत्मा’ अर्थात् हाम्रो सोच विचारलाई प्रेरित् पार्ने शक्ति मै परिवर्त्तन ल्याउन सहायता दिन सक्छ। (एफिसी ४:२३, २४) हामी जब बाइबल अध्ययन गर्छौं, यहोवाले दुष्टतालाई सधैं रहन दिनु हुनेछैन भनि हामीलाई थाह हुन्छ। उहाँले चाँड़ै नै यो अधार्मिक संसारको नष्ट गर्नु भएर एउटा “नया स्वर्ग र नया पृथ्वी” ल्याउनु हुनेछ, जसमा “धार्मिकता बास गर्नेछ।” (२ पत्रुस ३:८-१०, १३) यो नया संसारमा कसले बाँच्न पाउँनेछ? “सोझाहरू पृथ्वीमा बास गर्नेछन्, निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत् उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।”—हितोपदेश २:२१, २२.
१५. बाइबलमा उल्लेखित् यहोवाका उद्देश्यहरूमाथि हामी साँच्चै नै विश्वास गर्छौं भने, त्यसले हामीमा व्यक्तिगत् रूपमा के असर पार्नेछ?
१५ हामी यो प्रतिज्ञा वास्तवमा विश्वास गर्छौं भने, हाम्रो सम्पुर्ण सोचाईमा यसले परिवर्त्तन ल्याउनेछ। दुष्टताको विनाश बारे अगमवाणी गरे पछि, प्रेरित् पत्रुसले एसो भने: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर . . . ।” (२ पत्रुस ३:११, १२) दुष्टहरू नष्ट भएर जाँदा, बाँचेर बस्न पाउँने धर्मीजनहरू मध्य हुने हाम्रो तीव्र इच्छाले हाम्रो व्यक्तित्वमा परिवर्त्तन ल्याउनु पर्छ।
१६. नया संसारमा कुन प्रकारका व्यक्तित्वहरूका लागि ठाउँ हुनेछैन र यस कुराले हामीमा के प्रभाव पार्नु पर्ने हो?
१६ यो संसारको अन्त भए पछि, धर्मी जनहरूको निम्ति प्रकाशितवाक्यको पुस्तकमा यो प्रतिज्ञा गरिएको छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” तर “डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, ज्यानमाराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्त्तिपूजकहरू र सबै झूटा बोल्नेहरू” तिरस्कृत हुनेछन् भनेर त्यहाँ चेताउनी पनि दिइएको छ। (प्रकाश २१:४, ८) परमेश्वरले नया संसारमा प्रवेश गर्न नदिनु हुने खराब आनीबानीहरूबाट अलग रहनु वास्तवमा बुद्धिमानीको कुरा हुनेछ!
बाहिरबाट मदद
१७. बाइबलले हामीलाई कुन प्रकारको सहायता खोज्ने सल्लाह दिन्छ?
१७ तर आखिर, मानिसहरू कमजोर हुन्छन् र आफूमा परिवर्त्तन ल्याउनका निम्ति तिनीहरूलाई अकसर ज्ञान र प्रोत्साहनले मात्र पुग्दैन। तिनीहरूलाई व्यक्तिगत मदद पनि चाहिन्छ र यो मदद कहाँबाट पाउँन सकिन्छ, बाइबलले हामीलाई देखाउँछ। उदाहरणका लागि, बाइबलले एसो भन्छ: “बुद्धिमानीहरूको सङ्गत् गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) त्यस्तै गरी, हामीले आफूमा वृद्धि गराउन चाहेका गुणहरू व्यवहारमा ल्याउने मानिसहरू सँग सङ्गत गर्यौं भने, तिनीहरू जस्तै हुने ठूलो मदद पाउनेछौं।—उत्पत्ति ६:९; हितोपदेश २:२०; १ कोरिन्थी १५:३३.
१८, १९. हाम्रो मन र हृदयलाई परमेश्वरको आत्मा प्रति खुला राख्न, के आवश्यक छ?
१८ यस बाहेक, स्वयं यहोवाले हाम्रो सहायताको निम्ति पवित्र आत्मा दिनु हुन्छ। यो त्यही आत्मा हो जस द्वारा उहाँले प्राचीन समयहरूमा चमत्कारहरू गर्नु भयो। भनौं भने, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता र संयम” जस्ता अति सुन्दर गुणहरूलाई आत्माको फल भनिन्छ। (गलाती ५:२२, २३) तर हामीले पवित्र आत्माको मदद कसरी पाउन सक्छौं? बाइबल पवित्र आत्मा द्वारा प्रेरित् भएको हुनाकारण, त्यसलाई पढ़दा अथवा त्यस बारे अरू हरू सँग कुरा गर्दा, हामी आफ्नो मन र हृदयलाई त्यसको प्रभावशाली शक्तिको सामने खोलिदिन्छौं। (२ तिमोथी ३:१६) र हामी आफ्नो आशा बारे अरूहरू सँग कुरा गर्दा, त्यो आत्माको प्रत्यक्ष मदद हामीले अनुभव गर्न सक्छौं भनेर येशूले स्वयं प्रतिज्ञा गर्नु भएको छ।—मत्ती १०:१८-२०.
१९ यस बाहेक, बाइबलमा हामीलाई यो आज्ञा पनि दिइएको छ: “प्रार्थनामा अटूटसँग लागिरहो।” (रोमी १२:१२) प्रार्थना द्वारा हामी यहोवालाई सम्बोधन गर्छौं, उहाँको प्रशंसा गर्छौं, धन्यवाद चढ़ाउँछौं र उहाँबाट मदद पनि माँगछौं। आफ्नो स्वभावमा भएका हिंसात्मक क्रोध, हठ, अधैर्य अथवा घमण्ड जस्ता कुनै दुर्गुण माथि विजयी हुने सहायता माँग्यौं भने, यो प्रार्थना अनुसार हामीले गरेको हर कोशिशलाई परमेश्वरको आत्माले समर्थन गर्नेछ।—यूहन्ना १४:१३, १४; याकूब १:५; १ यूहन्ना ५:१४.
२०. नया व्यक्तित्व धारण गर्नको निम्ति, मसीहीहरूले निरन्तर परिश्रम गरी रहन किन पर्छ?
२० “तिमीहरू बदलियौ” भनेर पावलले, बप्तिस्मा लिएका, अभिषिक्त मसीहीहरूको मण्डलीलाई लेखे। (रोमी १:७; १२:२) र युनानी भाषामा, उनले लगातार गरिरहने अर्थ भएको क्रिया प्रयोग गरे। जसबाट यो बोध हुन्छ, कि बाइबलको सही ज्ञानले हामीमा एउटा प्रगतिशील परिवर्त्तन उत्पन्न गराउँछ। आज हामी पनि—पावलको समयका मसीहीहरू झैं—भ्रष्ट प्रभावहरूले भरिएको संसारमा छौं। र तिनीहरू झैं—हामी पनि—गलत कामगर्ने झुकाव भएका, असिद्ध मानिसहरू हौं। (उत्पत्ति ८:२१) यसकारण, हामीहरूले त्यो पुरानो, स्वार्थी व्यक्तित्व हटाएर, तिनीहरूले झैं, नया व्यक्तित्व धारण गर्ने परिश्रम गरिनै रहनु पर्छ। यसमा प्राचीन मसीहीहरू सफल भए र वरिपरिको संसारका मानिसहरू भन्दा तिनीहरू वेग्लै भएर खड़ा हुन सके। वर्तमान मसीहीहरूले पनि त्यस्तै गर्न सकेका छन्।
“यहोवाले शिक्षा दिनु भएका” मानिसहरू
२१. यी अन्तिम दिनहरूमा, परमेश्वरका जनहरूमा पूरा हुने केही अगमवाणीहरू के हुन्?
२१ वास्तवमा, आज परमेश्वरको आत्मा व्यक्तिहरू माथि मात्र होइन, तर लाखौं मसीहीहरू भएको सङ्गठनमा क्रियाशील भइरहेको छ। यो सङ्गठनमा यशैया द्वारा गरिएको यो अगमवाणी पूरा भइरहेको छ: “जाति, जातिका धेरे मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी यहोवाको [NW] पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।” (यशैया २:३) यो सङ्गठनका मानिसहरूमा यशैया द्वारा गरिएको एउटा अर्को अगमवाणी पनि पूरा भएको छ: “औ तेरा सबै छोरा-छोरीहरू यहोवाबाट [NW] सिकाइएका हुन्छन् र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) यहोवाबाट शिक्षा पाएर ठूलो शान्ति अनुभव गर्नेहरू को हुन्?
२२. (क) आज यहोवाबाट कस कसले शिक्षा पाईरहेका छन्? (ख) यहोवाका साक्षीहरू बेग्लै छन् भनेर, बाहिरका मानिसहरूले पनि स्वीकारेका उदाहरणहरू दिनु होस्?
२२ न्यु हेवन रेजिस्टर नाउँ भएको, उत्तर अमेरिकाको एउटा अखबारलाई पठाइएको पत्रको सानो भाग पढ़नुहोस्: “तिनीहरूको धर्म-प्रचारले मलाई झैं, तपाईंलाई पनि दिक्क र क्रोधित् पारेको भएतापनि, तिनीहरूको आत्म-समर्पणा, भलाइ र अनुकरणीय मानव व्यवहार र स्वस्थकर जीवन शैलीलाई मान्यता दिनै पर्छ।” यहाँ लेखकले कसको विषयमा कुरा गर्दैछ? त्यही समूह जस बारे आरजेन्टिनाको ब्युनेस एरिस शहरमा, हेराल्ड नाउँको अखबारमा एसो भनिएको थियो: “बितेका सालहरूमा यहोवाका साक्षीहरू परिश्रमी, भद्र, मितव्ययी र ईश्वर-भीरू नागरिकहरू साबित् भएकाछन्।” त्यस्तै गरी, ईटालीको ला स्टाम्पा भन्ने अखबारले एसो भनेकोछ: “यी मानिसहरूले कर छल्नु अथवा कुनै नियम आफ्नो निम्ति असुविधाजनक भयो भन्दैमा, त्यसलाई आफ्नो फायदाका लागि टार्नु खोज्दैनन्। छिमेकीको प्रेम, प्रभुत्व जमाउन न चाहने, अहिंसा र व्यक्तिगत इमानदारी . . . जस्ता नैतिक आदर्शहरू तिनीहरूको दैनिक जीवनशैली हो।”
२३. यहोवाका साक्षीहरू सामूहिक रूपमा किन बेग्लै छन्?
२३ प्राचीन मसीहीहरू झैं—आज यहोवाका साक्षीहरू सामूहिक रूपमा—सबै भन्दा बेग्लै किन छन्? धेरै जसो कुरामा तिनीहरू सबै साधारण मानिसहरू जस्ता छन्। तिनीहरू, अरूहरू जस्तै, मानव असिद्धता साथ जन्मेका छन्। अरूहरूको झैं, तिनीहरूको पनि आर्थिक र अन्य मौलिक आवश्यक्ताहरू छन्। तर एउटा विश्व-व्यापी मण्डलीको रूपमा चाहिं, तिनीहरूले आफ्नो जीवनमा परमेश्वरको वचनको प्रभाव पर्न दिन्छन्। यसबाट साँचो मसीहीहरूको आज एउटा अन्तरराष्ट्रिय भ्रातृत्व स्थापित् भएको वास्तविकता नै, बाइबल परमेश्वरको प्रेरित् वचन हो भन्ने कुराको सशक्त प्रमाण हो।—भजन संग्रह १३३:१.
बाइबल प्रेरित् वचन हो
२४. अझ धेरै मानिसहरूका लागि हामी के प्रार्थना गर्छौं?
२४ बाइबल मानिसको होइन, परमेश्वरको वचन हो भनेर साबित् गर्न, हामीले यी दुई लेखहरूमा, दुई वटा प्रमाणहरू मात्र छलफल गर्यौं। बाइबलको अनुपम बुद्धि, वा मानिसहरूलाई परिवर्त्तन गर्न सक्ने यसको शक्ति अथवा यसका अरू अन्य विशिष्टताहरूलाई विचार गरेमा, यो परमेश्वरको प्रेरित् वचन हुनै पर्छ भनेर स्वीकार्न, निष्कपट हृदयभएका मानिसहरू बाध्य हुनेछन्। हामी मसीहीहरूको हैसियतले, यो सत्य कुरा अझ धेरैले मानिलिन सकून् भनेर प्रार्थना गर्छौं। तिनीहरूले पनि, भजन संग्रहको लेखकका यी आनन्दमय शब्दहरू प्रतिध्वनित् गर्नेछन्: “विचार रहोस, कसरी मैले तपाईंका आदेशहरूमा प्रेम राखेको छु। हे यहोवा [NW], तपाईंको करूणा अनुसार मलाई जीवित् राख्नुहोस्। तपाईंको वचनको सार सत्य छ, र तपाईंको प्रत्यक न्याय वचन सदाको निम्ति अटल रहन्छ।”—भजन संग्रह ११९:१५९, १६०. (w90 4/1)
के तपाईंलाई याद छ?
◻ साँचो मसीहीहरूमाथि, बाइबलले के असर पार्छ?
◻ सही ज्ञानले हामीलाई आफूमा परिवर्त्तन ल्याउने मदद कसरी दिन्छ?
◻ बाइबलले हामीलाई असल आनीबानीहरूको वृद्धि गराउन र खराब आनीबानी हटाउन उत्सुक कसरी पार्छ?
◻ ईश्वरीय गुणहरू वृद्धि गराउने सहायता कहाँ पाईन्छ?
◻ यहोवाका मानिसहरूको माझमा, बाइबल प्रेरित् हो भनेर के प्रमाण देखिन्छ?
[पृष्ठमा भएको चित्र]
बूढ़ेसकालमा सुलेमानको अविश्वासले गर्दा आइपरेको दुखलाग्दो परिणामले, हामीमा धार्मिकतालाई प्रेम गर्ने र अधार्मिकतालाई घृणा गर्ने इच्छा उत्पन्न गर्नु पर्ने
[पृष्ठमा भएको चित्र]
यहोवा सँग हामीले मदद माँग्यौं भने, खराब आनीबानी हटाउने हाम्रा सबै कोशिशलाई उहाँको आत्माले बल दिनेछ