अन्त नजीकै भएकोले “शुद्ध मनको” हुनुहोस्
“तर सबै कुराको अन्त नजीकै आएको छ। यसकारण शुद्ध मनको भएर प्रार्थनामा सचेत रहो।”—१ पत्रुस ४:७.
१. “शुद्ध मनको” हुनुमा के के कुरा बिथोलित छन्?
माथि उल्लिखित प्रेरित पत्रुसका शब्दहरूले मसीहीहरूको जीवनशैलीमा गहिरो प्रभाव पार्नुपर्छ। तथापि, पत्रुसले जीवनका सामान्य जिम्मेवारी तथा फिक्रीहरूबाट पन्छिनु भनिरहेका थिएनन्। नता आउँदै गरेको विनाशको डरले होसहवास गुमाउन प्रोत्साहन दिइरहेका थिए। बरु, तिनले यस्तो आग्रह गरे: “शुद्ध मनको” हुनुहोस्। “शुद्ध मनको” हुनु भनेको ठीक निर्णय गर्नु, विवेकी, चनाखो तथा हाम्रो बोलीवचन र कार्यमा व्यवहारिक हुनु हो। अनि परमेश्वरको वचनले हाम्रो सोचाइ तथा कार्यलाई डोऱ्याउन दिनु हो। (रोमी १२:२) हामी “टेढ़ा र बरालिएको पुस्ताका बीचमा” बसिरहेको हुँदा समस्या तथा कठिनाइहरूबाट अलग हुन शुद्ध मन चाहिन्छ।—फिलिप्पी २:१५.
२. यहोवाले धैर्यधारण गर्नुभएको हुँदा आज मसीहीहरूलाई कसरी फाइदा भएको छ?
२ “शुद्ध मन[ले]” आफूप्रति सन्तुलित, व्यवहारिक दृष्टिकोण राख्न पनि मदत गर्छ। (तीतस २:१२; रोमी १२:३) दोस्रो पत्रुस ३:९ का शब्दहरूलाई विचार गर्दा उक्त दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। त्यहाँ यसो भनिएको छ: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” नबिर्सनुहोस्, यहोवा भिन्नै विश्वास भएकाहरूका लागि मात्र होइन तर ‘तपाईं’ अर्थात् मसीही मण्डलीका सदस्यहरूसित पनि धीरजी हुनुभएको छ। किन? किनभने उहाँ “कोही पनि नष्ट नहोस्” भन्ने चाहनुहुन्छ। शायद, अनन्त जीवनको वरदान पाउने योग्यको हुन कसै कसैले अझै परिवर्तन तथा छाँटकाँट गर्नु खाँचो परेको छ कि। त्यसकारण आउनुहोस्, त्यस्ता केही क्षेत्रहरू केलाऔं जहाँ छाँटकाँट गर्नु खाँचो पर्ला।
हाम्रा व्यक्तिगत सम्बन्धहरूमा “शुद्ध मनको” हुने
३. छोराछोरीहरूको सन्दर्भमा आमाबाबुले कस्ता प्रश्नहरू सोध्नसक्छन्?
३ घर, शान्तिको आश्रयस्थल हुनुपर्ने हो। तर कुनै कुनै घर “झगड़ाले भरिएको” हुन्छ। (हितोपदेश १७:१) तपाईंको परिवार कस्तो छ? के तपाईंको घर “रीस, हो-हल्ला, निन्दा[बाट]” मुक्त छ? (एफिसी ४:३१) तपाईंका छोराछोरीहरू नि? के तिनीहरूले माया पाएको र मूल्यांकन गरिएको महसुस गर्छन्? (लूका ३:२२ तुलना गर्नुहोस्।) के तपाईंले तिनीहरूलाई सिकाउन तथा तालिम दिन समय निकालिरहनुभएको छ? के तपाईं तिनीहरूलाई रीस र क्रोधको साटो धार्मिकतामा ‘सच्याउनुहुन्छ’? (२ तिमोथी ३:१६) छोराछोरी “परमप्रभुले दिनुभएको हक” भएको हुँदा तिनीहरूप्रति कस्तो व्यवहार गरिन्छ, त्यसमा उहाँ निकै चासो राख्नुहुन्छ।—भजन १२७:३.
४. (क) पतिले पत्नीसित कठोर व्यवहार गर्दा के हुनसक्छ? (ख) पत्नीहरूले परमेश्वरसित शान्ति र सम्पूर्ण परिवारको आनन्द कसरी बढाउनसक्छन्?
४ पति वा पत्नी नि? “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।” (एफिसी ५:२८, २९) नराम्रो व्यवहार गर्ने, हैकम चलाउने वा अव्यवहारिक पुरुषले आफ्नो परिवारको शान्ति खलबलाउने मात्र होइन तर परमेश्वरसितको सम्बन्धलाई पनि कमजोर पार्छ। (१ पत्रुस ३:७) पत्नीहरू नि? तिनीहरू पनि “प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा” बस्नुपर्छ। (एफिसी ५:२२) पत्नीले परमेश्वरलाई खुशी तुल्याउने विचार गर्छिन् भने पतिका गल्तीहरूलाई बिर्सेर कुनै द्वेष नराखी तिनको अधीनमा बस्नसक्छिन्। कहिलेकाहीं पत्नीले आफ्नो विचार व्यक्त गर्न आवाज उठाउनै पर्ने होला। हितोपदेश ३१:२६ ले सुयोग्य पत्नीबारे यसरी वर्णन गर्छ: “तिनी आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन्, र तिनको शिक्षाको सार दयाले भरिएको हुन्छ।” पतिलाई दयालु, आदरपूर्ण ढंगमा व्यवहार गरेर तिनले परमेश्वरसितको शान्ति कायम राख्छिन् र सम्पूर्ण परिवारको आनन्द बढाउँछिन्।—हितोपदेश १४:१.
५. आमाबाबुसित गरिने व्यवहारको सन्दर्भमा केटाकेटीहरूले किन बाइबलको सल्लाह पालन गर्नुपर्छ?
५ केटाकेटी हो, तपाईं आफ्नो आमाबाबुसित कस्तो व्यवहार गर्नुहुन्छ? के तपाईं पनि संसारले कुनै आपत्ति नजनाउने व्यंग्यात्मक, अपमानजनक बोली गर्नुहुन्छ? वा के तपाईंले बाइबलको निम्न आज्ञा पालन गरिरहनुभएको छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दीर्घायु होस्”?—एफिसी ६:१-३.
६. सँगी उपासकहरूसित हामी कसरी शान्तिपूर्वक रहनसक्छौं?
६ सँगी उपासकहरूसितको सम्बन्धमा पनि ‘शान्ति खोजेर त्यसको पछि लाग्दा’ हामी “शुद्ध मन” देखाउँछौं। (१ पत्रुस ३:११, NW) समय समयमा मनमुटाउ तथा गलतफहमी भइरहन्छन्। (याकूब ३:२) मनमुटाउलाई बढ्न दियो भने सम्पूर्ण मण्डलीको शान्ति खतरामा पर्नसक्छ। (गलाती ५:१५) त्यसकारण, मनमुटाउहरू तुरुन्तै सुल्झाइहाल्नुहोस्। शान्तिपूर्ण समाधान खोज्नुहोस्।—मत्ती ५:२३-२५; एफिसी ४:२६; कलस्सी ३:१३, १४.
“शुद्ध मन” र पारिवारिक जिम्मेवारीहरू
७. (क) पावलले सामान्य कुराहरूमा “शुद्ध मनको” हुन कसरी प्रोत्साहन दिए? (ख) घरायसी जिम्मेवारीहरूप्रति मसीही पतिपत्नी दुवैले कस्तो मनोवृत्ति राख्नुपर्छ?
७ प्रेरित पावलले मसीहीहरूलाई “आत्मसंयम[को]” जीवन बिताउन सल्लाह दिए। (तीतस २:१२) चाखलाग्दो कुरा, पावलले उक्त पदको प्रसंगमा स्त्रीहरूलाई यस्तो आग्रह गर्छन्, “पतिलाई स्नेह गर्न, आफ्ना बाल-बच्चाहरूलाई माया गर्न सिकाऊन्, आत्मसंयमी, पतिव्रता, घरजाम गर्नसक्ने” होऊन्। (तीतस २:४, ५) पावलले उक्त कुरा यहूदी रीतिरिवाज नाश हुनुभन्दा केही वर्षअघि सा.यु. ६१-६४ तिर लेखेका थिए। यद्यपि, घरको कामधन्दाजस्ता सामान्य कुराहरू त्यतिबेला पनि महत्त्वपूर्ण थिए। “परमेश्वरको वचनको निन्दा हुन नपाओस्” भनेर पतिपत्नी दुवैले आफ्नो पारिवारिक जिम्मेवारीहरूप्रति लाभदायक, सकारात्मक दृष्टिकोण राख्नुपर्छ। एउटा परिवारको टाउकेले घर लथालिंग भएकोमा पाहुनासित क्षमा मागे। तिनले भने, “आफू अग्रगामी गरिरहेको” हुनाले घर त्यस्तो भताभुंग अवस्थामा भएको हो। परमेश्वरको राज्यको खातिर हामीले त्यागहरू गर्नु सराहनीय कुरा हो तर आफ्नो परिवारको हित खतरामा नपार्न होशियार हुनुपर्छ।
८. परिवारका टाउकेहरूले सन्तुलित ढंगमा कसरी परिवारको हेरचाह गर्नसक्छन्?
८ बाइबलले पिताहरूलाई आ-आफ्नो परिवारलाई प्राथमिकता दिन आग्रह गरेको छ र यसो भन्छ, परिवारको निम्ति प्रबन्ध नगर्ने व्यक्तिले “विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) देशअनुसार जीवनस्तर फरक फरक हुन्छ र आफ्ना भौतिक अभिलाषाहरूलाई सन्तुलनमा राख्नु बेस हो। हितोपदेश ३०:८ का लेखकले यसरी प्रार्थना गरे, “मलाई नता दरिद्र बनाउनुहोस्, न मलाई धन दिनुहोस्।” तथापि, आमाबाबुले आफ्ना छोराछोरीका भौतिक आवश्यकताहरू बेवास्ता गर्नु हुँदैन। उदाहरणका लागि, ईश्वरतान्त्रिक सुअवसरहरू हासिल गर्न आफ्नो परिवारको आधारभूत आवश्यकताहरूको जानाजानी प्रबन्ध नगर्नु के बुद्धिमानी हुनेछ र? के यसले छोराछोरीलाई रीस उठाउँदैन होला? अर्कोतर्फ, हितोपदेश २४:२७ यसो भन्छ: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सम्हाल्। खेतमा सबै तयार गर्, त्यसपछि . . . घरको प्रबन्ध मिला।” भौतिक कुराहरूका लागि चिन्तित हुनु अनुचित होइन तर अर्कोतिर ‘घरको’ आध्यात्मिक तथा भावनात्मक पालनपोषण गर्नु झनै महत्त्वपूर्ण छ।
९. परिवारका टाउकेहरूले आफ्नो असामयिक मृत्यु वा बिरामी पर्नसक्ने सम्भावनाबारे विचार गर्नु किन बुद्धिमानी हो?
९ कथंकदाचित् तपाईंको असामयिक मृत्यु भएको खण्डमा परिवारको हेरचाहको निम्ति के तपाईंले प्रबन्ध मिलाउनुभएको छ? हितोपदेश १३:२२ यसो भन्छ: “असल मानिसले आफ्ना सन्तानहरूका निम्ति पैतृक-सम्पत्ति छोड़िराख्छ।” यहोवाको ज्ञान र उहाँसितको सम्बन्धबाहेक आमाबाबुले आफ्ना छोराछोरीको निम्ति भौतिक प्रबन्ध मिलाउन पनि चिन्तित हुनुपर्छ। धेरैजसो देशहरूमा परिवारका जिम्मेवार शिरहरूले बचत गर्ने, इच्छापत्र बनाउने र जीवन बिमा गर्ने गर्छन्। आखिर, परमेश्वरका जनहरू पनि “समय र अवसर[को]” अधीनमा हुन्छन्। (उपदेशक ९:११) पैसा “सुरक्षाको” लागि हो र बुद्धिमानीपूर्वक योजना बनाएमा कठिनाइबाट बच्न सकिन्छ। (उपदेशक ७:१२, NW) सरकारले निश्शुल्क स्वास्थ्य सेवा प्रदान नगर्ने मुलुकहरूमा कसै कसैले स्वास्थ्य सेवासम्बन्धी खर्चको लागि पैसा छुट्याउने गर्छन्।a
१०. मसीही आमाबाबुले आफ्ना छोराछोरीको लागि कसरी “साँच्न” सक्छन्?
१० धर्मशास्त्रले यसो पनि भन्छ: “आमा-बाबुको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीको निम्ति आमा-बाबुले धन साँच्नु पर्दछ।” (२ कोरिन्थी १२:१४) संसारमा हेर्ने हो भने, छोराछोरीले वयस्क जीवन राम्ररी सुरु गर्न सकोस् भनेर आमाबाबुले प्रायः भावी शिक्षा तथा विवाहको लागि पैसा साँचेका हुन्छन्। के तपाईंले आफ्नो बच्चाको आध्यात्मिक भविष्यको लागि साँच्ने विचार गर्नुभएको छ? मानि लिनुहोस्, हुर्किसकेको छोरा वा छोरीले पूर्ण-समय सेवकाई गर्दैछ। पूर्ण-समय सेवकहरूले अरूबाट आर्थिक सहयोगको माग वा आश गर्नु ठीक होइन। तर मायालु आमाबाबु आफ्नो छोरा वा छोरी पूर्ण-समय सेवकाईमा लागिरहोस् भनेर तिनीहरूका ‘अभावहरूमा सहायता दिन’ इच्छुक होलान्।—रोमी १२:१३; १ शमूएल २:१८, १९; फिलिप्पी ४:१४-१८.
११. के पैसाप्रति व्यवहारिक दृष्टिकोण राख्नु विश्वासको कमी देखाउनु हो? वर्णन गर्नुहोस्।
११ पैसाप्रति व्यवहारिक दृष्टिकोण राख्नु शैतानको संसार नाश हुनै लागेको छ भन्ने कुरामा विश्वासको कमी देखाउनु होइन। केवल “व्यवहारिक बुद्धि” र उचित न्याय देखाउनु हो। (हितोपदेश २:७; ३:२१, NW) येशूले एक चोटि भन्नुभएको थियो, पैसाको प्रयोगमा “यस युगका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ़ता चतुर हुन्छन्।” (लूका १६:८) त्यसकारण, आफ्नो परिवारको राम्रो हेरचाह गर्न कसै कसैले सम्पत्तिको प्रयोगमा केही छाँटकाँट गर्नुपर्ने खाँचो महसुस गर्नु कुनै अचम्म होइन।
शिक्षाप्रति “शुद्ध मनको” हुने
१२. येशूले आफ्ना चेलाहरूलाई नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न कसरी सिकाउनुभयो?
१२ “यस संसारको रूप बितेर जाँदैछ।” जताततै द्रुतगतिमा आर्थिक तथा प्राविधिक परिवर्तनहरू भइरहेका छन्। (१ कोरिन्थी ७:३१) तथापि, येशूले आफ्ना चेलाहरूलाई एकोहोरो नहुन सिकाउनुभयो। पहिलो चोटि प्रचार अभियानमा पठाउनुहुँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूका पटुकामा सुन, चाँदी, र तामा नलेओ। नता सफरको निम्ति झोली, न दुइवटा दौरा, न जुत्ता, न लौरो। किनभने खेताला आफ्नो भोजनको योग्य हुन्छ।” (मत्ती १०:९, १०) तथापि, पछि येशूले यसो भन्नुभयो: “तर अब जसको थैली छ, त्यसले त्यो लेओस्, त्यसैगरी झोला पनि।” (लूका २२:३६) किन त्यस्तो परिवर्तन? परिस्थिति बदलिसकेको थियो। धर्मप्रति मानिसहरूको झुकाउ पहिलेजस्तो थिएन र तिनीहरूले आफ्नो निम्ति आफै प्रबन्ध गर्नुपर्नेथियो।
१३. शिक्षाको मुख्य उद्देश्य के हो र यस सन्दर्भमा आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी सहयोग पुऱ्याउनसक्छन्?
१३ त्यस्तैगरि, आज आमाबाबुले वर्तमान समयको आर्थिक वास्तविकतालाई विचार गर्नु आवश्यक होला। उदाहरणका लागि, के तपाईंले छोरीछोरीहरूका निम्ति यथेष्ट पढाइको प्रबन्ध गरिरहनुभएको छ? शिक्षाको मुख्य उद्देश्य युवाहरूलाई यहोवाको प्रभावकारी सेवक हुन तयार पार्नु हो। अनि सबैभन्दा महत्त्वपूर्ण शिक्षा आध्यात्मिक शिक्षा हो। (यशैया ५४:१३) छोराछोरीहरू आर्थिक तवरमा आत्मनिर्भर हुनसक्छन् कि सक्दैनन्, त्यसबारे पनि आमाबाबु चिन्तित हुन्छन्। त्यसकारण, आफ्ना छोराछोरीलाई निर्देशन दिनुहोस्, पढाइसम्बन्धी उपयुक्त विषय छान्न मदत गर्नुहोस् र थप शिक्षा लिनु बेस होला कि नहोला, तिनीहरूसित छलफल गर्नुहोस्। त्यस्ता निर्णयहरू गर्नु परिवारको जिम्मेवारी हो र अरूले तिनीहरूको निर्णयको आलोचना गर्नु हुँदैन। (हितोपदेश २२:६) छोराछोरीलाई घरमै शिक्षादीक्षा दिन चाहनेहरू नि?b यस मामिलामा धेरैले सराहनीय भूमिका निर्वाह गरेका भए तापनि कसै कसैले यो काम सोचेभन्दा गाह्रो पाएका छन् र फलतः तिनीहरूका छोराछोरीले यथेष्ट शिक्षा पाउन सकेनन्। त्यसकारण, छोराछोरीलाई घरमै शिक्षादीक्षा दिने विचार गर्दै हुनुहुन्छ भने यसमा के कस्ता कुराहरू बिथोलित छन्, विचार गर्नुहोस्। अनि त्यो पूरा गर्न आफूसित त्यस्तो दक्षता तथा आत्मअनुशासन छ कि छैन, पुनर्विचार गर्नुहोस्।—लूका १४:२८.
‘ठूला ठूला कुराहरू नखोज्नुहोस्’
१४, १५. (क) बारूकले आध्यात्मिक सन्तुलन कसरी गुमाए? (ख) तिनले ‘ठूला कुराहरू खोज्नु’ किन मूर्खता थियो?
१४ यो रीतिरिवाज अझै अन्त नभएको हुँदा कसै कसैलाई यस संसारले प्रदान गर्ने प्रतिष्ठित पेशा, प्रशस्त पैसा आर्जन हुने जागिर र धनसम्पत्ति कमाउने लोभ लाग्नसक्छ। यर्मियाका सचिव बारूकलाई विचार गर्नुहोस्। तिनले यसरी बिलौना गरे: “धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दुःखमाथि दुःख थपिदिनुभयो! सुस्केरा मार्दा मार्दा म थाकिसकें! म कतै पनि विश्राम पाउँदिनँ!” (यर्मिया ४५:३) बारूक थकित भए। यर्मियाका सचिव भएर काम गर्नु गाह्रो अनि तनाउपूर्ण थियो। (यर्मिया ३६:१४-२६) अनि तिनले त्यो तनाउ कम होलाजस्तो देखेनन्। यरूशलेमको विनाश हुन अझै १८ वर्ष बाँकी थियो।
१५ यहोवाले बारूकलाई यसो भन्नुभयो: “जे मैले बनाएको छु, त्यो म भत्काइरहेछु। औ जे मैले रोपेको छु, त्यो म उखेलिरहेछु—अर्थात् यो सारा देशनै। के तँ चाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्।” बारूक मानसिक तवरमा अस्थिर भएका थिए। तिनले आफ्नो निम्ति ‘ठूला कुराहरू,’ शायद धनसम्पत्ति, प्रतिष्ठा वा भौतिक सुरक्षा खोज्न थालेका थिए। यहोवाले ‘सारा देशनै उखेल्न’ लाग्नुभएको हुँदा यी सबै कुराहरूको पछि लागेर के फाइदा? त्यसकारण, यहोवाले बारूकलाई यस्तो विचारणीय सल्लाह दिनुभयो: “किनकि हेर्, म सबै प्राणीमाथि विपत्ति ल्याइरहेछु, तर तँ जहाँ जान्छस् ती सबै ठाउँमा तेरो प्राण म तँलाई युद्धको लूटको धनसरह छोड़िदिनेछु।” भौतिक धनसम्पत्तिको आडमा यरूशलेमको विनाशबाट बच्नु सम्भव थिएन! अतः यहोवाले केवल तिनको ज्यानलाई “युद्धको लूटको धनसरह” बचाउने ग्यारेन्टी दिनुभयो।—यर्मिया ४५:४, ५.
१६. वर्तमान समयमा यहोवाका जनहरूले बारूकको अनुभवबाट के पाठ सिक्नसक्छन्?
१६ यहोवाले यसरी सच्याउनुहुँदा बारूकले स्वीकारे र यहोवाले प्रतिज्ञा गर्नुभएअनुसारै बारूकको ज्यान जोगियो। (यर्मिया ४३:६, ७) आज यहोवाका जनहरूका निम्ति कस्तो जोडदार पाठ! यो, ‘ठूला कुराहरू’ खोज्ने समय होइन। किन? किनभने यो ‘संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि बितेर जाँदैछ।’—१ यूहन्ना २:१७.
बाँकी समयको उत्तम सदुपयोग
१७, १८. (क) निनवेवासीहरूले पश्चात्ताप गर्दा योनाले कस्तो प्रतिक्रिया देखाए? (ख) यहोवाले योनालाई कस्तो पाठ सिकाउनुभयो?
१७ त्यसोभए, बाँकी समयको उत्तम सदुपयोग कसरी गर्नसक्छौं? अगमवक्ता योनाको अनुभवबाट सिक्नुहोस्। तिनी “निनवेमा गए। . . . र यसो भनेर प्रचार गरे, ‘अबको चालीस दिनमा निनवे नाश हुनेछ!’ ” निनवेवासीहरूले यो कुरा सुनेर पश्चात्ताप गरेको देखेर योना छक्कै परे! यहोवाले त्यो शहरलाई नाश गर्नुभएन। योनाले कस्तो प्रतिक्रिया देखाए? “यसकारण अब हे परमेश्वर, बिन्ती छ, मेरो प्राण लिनुहोस्, किनभने मेरो निम्ति बाँच्नुभन्दा ता मर्नुनै निको छ।”—योना ३:३, ४; ४:३.
१८ तब यहोवाले योनालाई एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो। “परमेश्वरले एउटा कुभिण्डोको रूख उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस् . . . भनेर त्यसलाई बढ़ाउनुभयो। यसैले कुभिण्डोको बोटले गर्दा योना अत्यन्तै खुशी भए।” तथापि, योनाको खुशी क्षणिक थियो किनभने त्यो बोट ओइलाइहाल्यो। हैरान भएका योना ‘रिसाए।’ यहोवाले यसो भन्दै योनालाई पाठ सिकाउनुभयो: “त्यस्तो कुभिण्डोलाई तँ दया गर्छस्, त के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ़ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्नसक्तैनन्, जसमा यतिका वस्तुहरू पनि छन्, के मैले त्यसमाथि दया नगर्नु?”—योना ४:६, ७, ९-११.
१९. हामी कस्तो स्वार्थी सोचाइ राख्न चाहँदैनौं?
१९ योनाको तर्क कत्ति स्वार्थी थियो! तिनलाई त्यो बोटप्रति दया लाग्यो तर आध्यात्मिक तवरमा ‘दाहिने र देब्रे हातै चिन्न नसक्ने’ निनवेका मानिसहरूप्रति एक थोपा दयामाया लागेन। त्यस्तैगरि, हामी पनि यस दुष्ट रीतिरिवाजमाथि छिट्टै विनाश आइपरोस् भन्ने आशा गरौंला र त्यो ठीकै पनि होला! (२ थिस्सलोनिकी १:८) तथापि, त्यो विनाश पर्खुञ्जेल आध्यात्मिक अर्थमा ‘दाहिने र देब्रे हातै चिन्न नसक्ने’ सोझा मानिसहरूलाई मदत गर्नु हाम्रो जिम्मेवारी हो। (मत्ती ९:३६; रोमी १०:१३-१५) के तपाईं बाँकी रहेको अल्प समय सकेसम्म बढी मानिसहरूलाई यहोवाको अनमोल ज्ञान बताउन प्रयोग गर्नुहुनेछ? कसैको जीवन बचाउनुभन्दा आनन्ददायी काम अरू कुन चाहिं होला र?
“शुद्ध मनका” साथ जीवन बिताइरहनुहोस्
२०, २१. (क) बाँकी रहेको समयमा हामीले “शुद्ध मन” देखाउनसक्ने केही तरिकाहरू कुन कुन हुन्? (ख) “शुद्ध मनको” जीवन बिताउँदा कस्ता आशिष्हरू पाउनेछौं?
२० शैतानको रीतिरिवाज विनाशतिर लम्कँदै जाँदा हामीले अवश्य पनि नयाँ चुनौतीहरू सामना गर्नेछौं। दोस्रो तिमोथी ३:१३ यस्तो अगमवाणी गर्छ: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” तर ‘मन शिथिल भई थाकेर नजानुहोस्।’ (हिब्रू १२:३) यहोवामा भर पर्नुहोस्। (फिलिप्पी ४:१३) अतीतलाई मात्र सम्झिरहनुको साटो छाँटकाँट गर्न, बिग्रँदो परिस्थितिलाई विचार गरेर चल्न सिक्नुहोस्। (उपदेशक ७:१०) “विश्वासी र बुद्धिमान दास[को]” निर्देशनअनुसार व्यवहारिक बुद्धि चलाउनुहोस्।—मत्ती २४:४५-४७.
२१ अब कति समय बाँकी छ, हामीलाई थाह छैन। यद्यपि, हामी निर्धक्क भई भन्नसक्छौं, “सबै कुराको अन्त नजीकै आएको छ।” अन्त नआऊञ्जेल हामी एकअर्कासित व्यवहार गर्दा, आफ्नो परिवारको हेरचाह गर्दा र अन्य जिम्मेवारीहरू पूरा गर्दा “शुद्ध मनका” होऔं। त्यसो गऱ्यौं भने हामी “शान्तिसाथ . . . निष्खोट र निष्कलंक ठहरिन” सक्नेछौं भनी ढुक्क हुनसक्छौं!—२ पत्रुस ३:१४.
[फुटनोटहरू]
a उदाहरणका लागि, महँगै भए तापनि संयुक्त राज्यमा धेरैले स्वास्थ्य बिमा गरेका हुन्छन्। स्वास्थ्य बिमा गरेका छन् भने, केही चिकित्सकहरू रगत प्रयोग नगरी वैकल्पिक सेवा उपलब्ध गराउन बढी इच्छुक भएका केही साक्षी परिवारहरूले अनुभव गरेका छन्। यसले गर्दा केही खास खास स्वास्थ्य सुविधाहरूका लागि स्वास्थ्य बिमामा तोकिएको रकम स्वीकार्न वा सरकारले तोकेको स्वास्थ्यसेवा प्रदान गर्न प्रायजसो चिकित्सकहरू राजी हुन्छन्।
b घरैमा शिक्षादीक्षा दिने नदिने व्यक्तिगत निर्णयको कुरा हो। “घरैमा शिक्षादीक्षा दिनु—तपाईंको लागि उपयुक्त होला?” लेख अप्रिल ८, १९९३ ब्यूँझनुहोस्!-मा (अंग्रेजी) हेर्नुहोस्।
पुनरावृत्तिका लागि बुँदाहरू
◻ व्यक्तिगत सम्बन्धहरूमा हामी कसरी “शुद्ध मन” देखाउनसक्छौं?
◻ पारिवारिक जिम्मेवारीहरू पूरा गर्ने सन्दर्भमा हामी कसरी सन्तुलित हुनसक्छौं?
◻ आमाबाबुले आफ्ना छोराछोरीको पढाइमा किन चासो लिनुपर्छ?
◻ बारूक र योनाबाट हामी कस्तो पाठ सिक्छौं?
[पृष्ठ १८-मा भएको चित्र]
पति र पत्नीले एकअर्काप्रति दुर्व्यवहार गर्दा तिनीहरूले यहोवासितको सम्बन्धलाई कमजोर तुल्याउँछन्
[पृष्ठ २०-मा भएको चित्र]
आमाबाबुले आफ्ना छोराछोरीको शिक्षादीक्षामा चासो लिनुपर्छ