धीरज—मसीहीहरूका लागि अत्यावश्यक
“तिमीहरूका विश्वासमा . . . धीरज . . . थप।”—२ पत्रुस १:५, ६.
१, २. हामी किन अन्तसम्मै धीरजी हुनुपर्छ?
नब्बे वर्षमा प्रवेश गरिसकेका एकजना सङ्गी मसीहीलाई परिभ्रमण अध्यक्ष र तिनकी पत्नीले भेट गर्दै थिए। पूर्ण-समय सेवकाईमा तिनले निकै दशक बिताइसकेका थिए। कुराकानी हुँदै जाँदा त्यस वृद्ध भाइले बितेका वर्षहरूमा आफूले आनन्द उठाएका सुअवसरहरूको सम्झना गरे। र आँखाबाट आँसु बगाउँदै त्यस भाइले यसो भनेर विलौना गरे, “तर अब भने म केही पनि गर्न नसक्ने भएको छु।” यो सुनेर त्यस परिभ्रमण अध्यक्षले आफ्नो बाइबलबाट मत्ती २४:१३-लाई पढे, जहाँ येशूले भन्नुभएको कुरालाई यसरी उद्धृत गरिएको छ: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” त्यसपछि त्यस प्रिय भाइलाई हेर्दै तिनले यसो भने: “हामीले जतिसुकै वा जति नै कम गर्न सक्ने भए तापनि हाम्रो अन्तिम काम, अन्तसम्मै धीरजी भएर बस्नु हो।”
२ हो, एकजना मसीहीको नाताले हामी यस जगतको अन्त वा आफ्नो जीवनको अन्तसम्मै धीरजी हुनुपर्छ। उद्धारको लागि यहोवाको अनुमोदन प्राप्त गर्ने यो बाहेक अरू कुनै तरिका छैन। हामी जीवनको दौडमा छौं र अन्तिम रेखा पार नगरेसम्म हामी “धीरजसँग” दौड्नै पर्छ। (हिब्रू १२:१) आफ्ना सङ्गी मसीहीहरूलाई आग्रह गर्दा प्रेरित पत्रुसले यसै गुणको महत्त्वलाई जोड दिएका थिए, तिनले भने: “तिमीहरूका विश्वासमा . . . धीरज . . . थप।” (२ पत्रुस १:५, ६) तर वास्तवमा धीरज के हो?
धीरज—यसको अर्थ के हो
३, ४. धीरजी हुनु भनेको के हो?
३ धीरजी हुनु भनेको के हो? “धीरज” शब्दको युनानी क्रिया (हाइपोमेनो) को अक्षरशः अर्थ “अधीनमा बस्नु वा रहनु” हो। यस शब्दलाई बाइबलमा १७ पटक उल्लेख गरिएको छ। कोशकार डब्ल्यु० बावर, एफ० डब्ल्यु० गिन्गरिच र एफ० ड्यान्करअनुसार यसको अर्थ “कुनै कुरालाई छल्नु होइन तर पर्खनु . . . अटल भएर बस्नु, लागि रहनु” हो। “धीरज” शब्दको युनानी संज्ञालाई (हाइपोमोन) बाइबलमा ३० पटक उल्लेख गरिएको छ। यस सम्बन्धमा ए न्यु टेस्टामेन्ट वर्डबुक-मा विलियम बार्कले भन्छन्: “यो त्यस प्रकारको मनोवृत्ति हो, जसले कुनै पनि कुरालाई हार मानेर स्वीकार्दै होइन तर उत्कट आशाका साथ सहनसक्छ . . . यो त्यस्तो गुण हो जसले एकजना मानिसलाई बाधाबिघ्नको सामु खडा रहन मदत गर्छ। यो त्यस्तो सद्गुण हो जसले कठिन से कठिन परीक्षालाई विजयमा बदल्न सक्छ किनभने कष्टको अलावा त्यसले लक्ष्य देखेको हुन्छ।”
४ अतः बाधाबिघ्न वा कठिनाइ सामु अटल रहन र आशा नहराउन धीरजले हामीलाई मदत गर्छ। (रोमी ५:३-५) यसले विद्यमान कष्टको अलावा, लक्ष्य—अर्थात् स्वर्ग या पृथ्वीमा अनन्त जीवनको इनाम वा वरदानलाई देख्दछ।—याकूब १:१२.
धीरज—किन?
५. (क) किन सबै मसीहीहरूलाई “धीरजको आवश्यकता छ”? (ख) हाम्रा परीक्षाहरूलाई कुन दुई भागमा बाँड्न सकिन्छ?
५ हामी मसीहीहरू हुनाकारण हामी सबैलाई नै “धीरजको आवश्यकता छ।” (हिब्रू १०:३६) किन? मुख्यतः हामीहरूले “अनेक किसिमका परीक्षाहरू”-को सामना गर्नु परेको हुँदा यसो भएको हो। याकूब १:२-को यस युनानी पदले एकजना व्यक्तिको लुटेरासँग भएको भेट जस्तो अप्रत्याशित वा अप्रिय घटनालाई सङ्केत गर्छ। (लूका १०:३० सँग तुलना गर्नुहोस्।) हामीले सामना गर्ने परीक्षाहरूलाई दुई भागमा छुट्याउन सकिन्छ: वशाणुगत पाप स्वरूप प्राप्त, सबै मानिसहरूले भोग्ने सामान्य परीक्षाहरू र हाम्रो ईश्वरीय भक्तिको कारण आउने परीक्षाहरू। (१ कोरिन्थी १०:१३; २ तिमोथी ३:१२) यीमध्ये केही परीक्षाहरू के के हुन्?
६. कष्टदायी बिमारको सामना गर्नुपर्दा एकजना साक्षीले कसरी धीरज धरे?
६ गम्भीर बिमारी। तिमोथीले झैं केही मसीहीहरूले पनि ‘घरिघरि हुने बिमारी’-लाई सहनुपर्छ। विशेषगरी चिरकालीन र सम्भवतः अति नै कष्टदायी बिमारीहरूको सामना गर्नुपर्दा, परमेश्वरको मदतद्वारा धीरजी र अटल हुन अनि हाम्रो मसीही आशाको महत्त्वलाई नबिर्सन आवश्यक छ। भर्खर पचास वर्ष पुगेको एकजना साक्षीको उदाहरणलाई विचार गर्नुहोस्। तिनले एकदम छिटो बढ्दै गइरहेको घातक ट्युमरको लामो समयदेखि सामना गर्दैथिए। दुई-दुई पटक शल्य-क्रिया गर्नुपर्दा पनि रक्त क्षेपण नगर्ने आफ्नो निर्णयमा तिनी अटल भएर बसे। (प्रेरित १५:२८, २९) तर तिनको पेटमा फेरि ट्युमर देखा पऱ्यो र डँडाल्नुनिर बढ्दै जान थाल्यो। तिनले पहिले जस्तै फेरि अचाक्ली शारीरिक पीडा सहे, जसलाई शायद कुनै औषध उपचारले दबाउन सक्दैन थियो होला। यद्यपि, विद्यमान पीडाको अलावा तिनले नयाँ संसारमा पाउने अनन्त जीवनको वरदानलाई हेरे। डाक्टर, नर्स, आगन्तुकहरूसित आफ्नो प्रबल आशा बाँड्न तिनले बन्द गरेनन्। तिनले अन्तसम्मै अर्थात् आफ्नो जीवनको आखिरी साससम्मै धीरज धरे। तपाईंको स्वास्थ्यसम्बन्धी समस्या यस प्रिय भाइको जस्तो प्राणघातक वा कष्टदायी नहोला, तैपनि त्यो धीरजको एउटा ठूलो परीक्षा हुनसक्छ।
७. हाम्रा केही आत्मिक भाइ-बहिनीहरूका लागि धीरज धारण गर्दा कस्ता प्रकारका पीडा भोग्नु पर्ने हुन्छ?
७ भावनात्मक पीडा। समय समयमा यहोवाका केही साक्षीहरूले “दुःखित हृदय”-को सामना गर्छन् जसले गर्दा तिनीहरूको “आत्मा चूर्ण” हुँदछ। (हितोपदेश १५:१३) यस्तो “डरलाग्दो समय”-मा गम्भीर निरासामा पर्नु कुनै अनौठो कुरा होइन। (२ तिमोथी ३:१) डिसेम्बर ५, १९९२-को साइन्स रिपोर्ट भन्ने पत्रिकाले यस्तो रिपोर्ट दियो: “१९१५ देखि यता जन्मेका हरेक पुस्तामा गम्भीर र प्राय मानसिक तवरमा कमजोर बनाउने निरासाको दर बढ्दै गएको छ।” यस्तो निरासाको विभिन्न कारणहरू छन् जुन शारीरिक देखि लिएर अति नै चोट पुऱ्याउने तिता अनुभवहरूसम्ममा जे पनि हुनसक्छन्। केही मसीहीहरूका लागि धीरज धर्न भावनात्मक चोट सामु अटल रहनु पर्ने हुन्छ। यसका लागि तिनीहरूले दिनहुँ सङ्घर्ष गर्नुपर्छ। यद्यपि, तिनीहरू हार मान्दैनन्। आँसु र चोटको बावजूद पनि तिनीहरू यहोवाप्रति विश्वासी भइ नै रहन्छन्।—भजनसंग्रह १२६:५, ६ सँग तुलना गर्नुहोस्।
८. हामीले कस्तो किसिमको आर्थिक परीक्षाको सामना गर्नु पर्न सक्छ?
८ हामीले सामना गर्ने विभिन्न परीक्षाहरूमा गम्भीर आर्थिक कठिनाइ पनि समावेश हुनसक्छ। न्यु जर्सी, अमेरिकाका एकजना भाइ, आफू अचानक बेरोजगार हुँदा स्वाभाविकत आफ्नो परिवारलाई खुवाउन र आफ्नो घरलाई नगुमाउन चिन्तित थिए। तथापि, तिनले राज्य आशालाई आफ्नो नजरबाट हटाएनन्। अर्को जागिरको खोजीमा लाग्दा तिनले यस मौकालाई सहायक अग्रगामी गर्नमा लगाए। अन्ततः तिनले एउटा जागिर पाए।—मत्ती ६:२५-३४.
९. (क) प्रिय जनको मृत्यु हुँदा कसरी धीरजको आवश्यकता पर्न सक्छ? (ख) दुःखको आँसु बगाउनु गलत होइन भनेर कुन शास्त्रपदहरूले देखाउँछ?
९ यदि तपाईंको प्रिय जनको मृत्यु भएको छ भने आफ्नो वरपरका मानिसहरू सामान्य जीवन चर्यामा प्रवेश गरिसकेपछि पनि धीरज धरिरहन खाँचो पर्दछ। विशेषगरी हरेक वर्ष आफ्नो प्रिय जनको मृत्यु भएको दिन फेरि आउँदा तपाईंलाई निकै कठिन पर्नसक्छ। त्यस प्रकारको क्षतिलाई सहनुको अर्थ दुःखको आँसु बगाउनु नै गलत हो भन्ने होइन। आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा शोक मनाउनु स्वाभाविक कुरा हो र त्यसले कुनै पनि रीतिले पुनरुत्थानको आशामाथि विश्वासको कमि भएको सङ्केत दिंदैन। (उत्पत्ति २३:२; हिब्रू ११:१९ सँग तुलना गर्नुहोस्।) लाजरसको मृत्यु हुँदा येशू “रूनुभयो,” यद्यपि, उहाँले निर्धक्कसाथ मार्थालाई “तिम्रो भाइ फेरि बिउँतनेछ” भनेर भन्नुभएको थियो। र साँच्चै नै लाजरस बिउँते!—यूहन्ना ११:२३, ३२-३५, ४१-४४.
१०. यहोवाका जनहरूका लागि किन धीरजको अनुपम खाँचो छ?
१० सबै मानिसहरूले भोग्ने सामान्य परीक्षाहरूलाई सहनु बाहेक यहोवाका मानिसहरूलाई धीरजको अनुपम खाँचो छ। “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ” भनेर येशूले चेतावनी दिनुभयो। (मत्ती २४:९) यसबाहेक उहाँले यसो पनि भन्नुभयो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (यूहन्ना १५:२०) तर यतिका घृणा र सतावट किन? किनभने परमेश्वरका सेवकहरू भएर हामी यस पृथ्वीको जुनसुकै कुनामा बसे तापनि यहोवाप्रतिको हाम्रो निष्ठालाई शैतानले तोड्ने कोशिश गरिरहेको छ। (१ पत्रुस ५:८; प्रकाश १२:१७ सँग तुलना गर्नुहोस्।) आफ्नो यस कोशिशलाई पूरा गर्न त्यसले धेरैपटक कठोर सतावट ल्याएर हाम्रो धीरजलाई गम्भीर परीक्षामा पारेको छ।
११, १२. (क) यहोवाका साक्षीहरू र तिनीहरूका छोराछोरीहरूले १९३० र १९४०-को प्रारम्भतिर धीरजको कस्तो परीक्षाको सामना गर्नुपऱ्यो? (ख) किन यहोवाका साक्षीहरू राष्ट्रिय प्रतिकलाई सलामी गर्न इन्कार गर्छन्?
११ उदाहरणको लागि, १९३० र १९४० को प्रारम्भतिर संयुक्त राज्य र क्यानडामा यहोवाका साक्षीहरू र तिनीहरूका छोराछोरीहरूले आफ्नो अन्तस्करणको खातिर राष्ट्रिय प्रतिकलाई सलामी नगर्दा तिनीहरूमाथि सतावट आयो। यहोवाका साक्षीहरू आफ्नो देशको राष्ट्रिय प्रतिकलाई आदर गर्छन् तर तिनीहरू प्रस्थान २०:४, ५-मा भएको परमेश्वरको नियमको सिद्धान्तअनुसार चल्छन्। त्यहाँ यसो भनिएको छ: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूको सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्वर डाह गर्ने [ऐकान्तिक भक्ति चाहने न्यु व०] परमेश्वर हुँ।” आफ्नो उपासना यहोवा परमेश्वरलाई मात्र चढाउन खोज्दा विद्यालयमा पढ्ने केही साक्षी केटाकेटीहरू निष्काशित भए। यसो हुँदा तिनीहरूका शिक्षादीक्षाका लागि साक्षीहरूले राज्य विद्यालयहरूको स्थापना गरे। पछि संयुक्त राष्ट्रको सर्वोच्च अदालतले आजका प्रबुद्ध राष्ट्रलेझैं यी विद्यार्थीहरूको धार्मिक दृष्टिकोणलाई मानिलिए पछि तिनीहरू फेरि सार्वजनिक विद्यालयमा फर्के। तथापि, ती जवानहरूले देखाएका सहासिक धीरज, आज बाइबलका स्तरहरू अनुसार चल्न खोज्दा हाँसो र उपहासको पात्र बन्न सक्ने मसीही जवानहरूका लागि अत्युत्तम उदाहरण हुन्। ।—१ यूहन्ना ५:२१.
१२ हामीले सामना गर्ने विभिन्न परीक्षाहरू—अर्थात् सबै मानिसहरूले भोग्ने सामान्य परीक्षा र हाम्रो मसीही विश्वासको कारण आउने परीक्षा दुवैले हामीलाई किन धीरजको खाँचो छ भन्ने कुरालाई सङ्केत गर्छ। तर हामी कसरी धीरज धर्न सक्छौं?
अन्तसम्मै धीरजी हुने—कसरी?
१३. य होवाले कसरी धीरज दिनुहुन्छ?
१३ परमेश्वरका जनहरूले यहोवाका उपासना नगर्नेहरूले भन्दा एउटा निश्चित लाभ उठाउँछन्। मदतका लागि हामी “धीरजका . . . परमेश्वर” लाई बिन्ती गर्नसक्छौं। (रोमी १५:५) तर यहोवाले कसरी धीरज दिनुहुन्छ? उहाँले धीरज दिने एउटा माध्यम बाइबलमा रेकर्ड गरिएका धीरज सम्बन्धी उदाहरणहरू हुन्। (रोमी १५:४) यी उदाहरणहरूलाई विचार गऱ्यौं भने, धीरजी हुन प्रोत्साहित हुने मात्र नभई कसरी धीरज धर्ने भन्ने विषयमा पनि थुप्रै कुराहरू हामी सिक्छौं। यी दुई अद्वितीय उदाहरणहरूलाई एकछिन् विचार गर्नुहोस्—अय्यूबको बलियो धीरज र येशू ख्रीष्टको निष्कलङ्क धीरज।—हिब्रू १२:१-३; याकूब ५:११.
१४, १५. (क) अय्यूबले कस्ता परीक्षाहरू सहे? (ख) आफूले सामना गर्नुपरेका परीक्षाहरूलाई अय्यूबले कसरी सहन सके?
१४ कस्ता परिस्थितिहरूले अय्यूबको धीरजलाई परीक्षामा पाऱ्यो? थुप्रै धनमाल गुमाउँदा तिनले आर्थिक कठिनाइ भोग्नुपऱ्यो। (अय्यूब १:१४-१७; अय्यूब १:३ सँग तुलना गर्नुहोस्।) आफ्नो दशजना छोराछोरीहरू आँधी-बेह्रीले मर्दा अय्यूबलाई ठूलो चोट पुग्यो। (अय्यूब १:१८-२१) तिनले गम्भीर र अति नै कष्टदायी रोगको अनुभव गरे। (अय्यूब २:७, ८; ७:४, ५) आफ्नै पत्नीले परमेश्वरबाट आफ्नो मुख फर्काउन दबाव दिइ। (अय्यूब २:९) घनिष्ठ मित्रहरूले चोट लाग्ने, रूखो र असत्य कुराहरू बोले। (अय्यूब १६:१-३ र अय्यूब ४२:७-सँग तुलना गर्नुहोस्।) यसो हुँदा पनि तिनी स्थिर भएर बसे र आफ्नो निष्ठालाई कायम राखे। (अय्यूब २७:५) आज यहोवाका जनहरूले सामने गर्ने परीक्षाहरू तिनले सहेका कुराहरू जस्तै छन्।
१५ कसरी अय्यूबले यी सबै परीक्षाहरूलाई सहन सके? तिनलाई थामिराख्ने एउटा खास कुरा थियो, आशा। तिनले भने, “रूख काटिदियो भने त्यो फेरि पल्हाउने आशा हुन्छ, र नयाँ पालुवा आउन थामिंदैन।” (अय्यूब १४:७) अय्यूबसँग के आशा थियो? त्यसको केही पद पछि तिनले यसो भने: “एउटा स्वस्थ व्यक्ति मर्दा के ऊ फेरि बाँच्न सक्छ र? . . . तपाईंले मलाई बोलाउनु हुनेछ र म जवाफ दिनेछु। किनभने तपाईंको हातको कामलाई हेर्न तपाईं इच्छा गर्नुहुन्छ।” (अय्यूब १४:१४, १५ न्यु व०) हो, आफूले हाल भोगिरहेको पीडा पछिका कुरालाई अय्यूबले हेरे। आफ्नो परीक्षा सधैंभरि चल्नेछैन भनेर तिनलाई थाहा थियो। हद से हद तिनले मृत्युसम्म धैर्य धर्न पर्नसक्थ्यो। मरेका व्यक्तिहरूलाई बिउँताउने मायालु इच्छा भएको यहोवाले तिनलाई पनि फेरि जीवनमा फर्काइ ल्याउनुहुनेछ भन्ने आशाले भरिपूर्ण प्रत्यासा तिनीसँग थियो।—प्रेरित २४:१५.
१६. (क) अय्यूबको उदाहरणबाट धीरजको विषयमा हामी के कुरा सिक्छौं? (ख) हाम्रोलागि राज्य आशा कतिको वास्तविक हुनुपर्छ र किन?
१६ अय्यूबको धीरजबाट हामी के सिक्छौं? यही कि, अन्तसम्मै धीरजी हुन हामीले कहिल्यै आशा मार्नु हुन्न। राज्य आशाको निश्चितताको अर्थ हामीले सामना गर्ने कुनै पनि दुःख-कष्ट तुलनात्मक रूपमा “छिनभरको” मात्र हो भन्ने कुरालाई पनि नबिसर्नुहोस्। (२ कोरिन्थी ४:१६-१८) चाँडै नै भविष्यमा “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन” भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। र हाम्रो अमूल्य आशा यही प्रतिज्ञामाथि बलियो गरी आधारित छ। (प्रकाश २१:३, ४) ‘निराश नगराउने’ त्यस आशाले हाम्रो सोचाइलाई रक्षा गर्नुपर्छ। (रोमी ५:४, ५; १ थिस्सलोनिकी ५:८) त्यो आशा हाम्रो लागि वास्तविक हुनुपर्छ—यति वास्तविक कि आफ्नो विश्वासको आँखाले आफूलाई त्यस नयाँ संसारमा देख्न सक्नुपर्छ—अर्थात् हरेक बिहानी रोग र निरासाको सट्टा स्वस्थ शरीर र स्वच्छ मन लिएर उठेको; गम्भीर आर्थिक कठिनाइबारे चिन्तामुक्त भएर सुरक्षित जीवन बिताएको; प्रिय जनहरूको मृत्युमाथिको शोक होइन तर तिनीहरू पुनरुत्थान भएको देख्दा आनन्द अनुभव गरेको। (हिब्रू ११:१) यस्तो आशा नभएमा हामी विद्यमान परीक्षाहरूबाट यति विचलित हुनसक्छौं कि ती कुराहरूले गर्दा हामी आत्तिन सक्छौं। हामीसँग आशा भएको हुनाकारण, अन्तैसम्म धीरज भइरहन लडन्त लड्न कति ठूलो प्रेरणा पाएका छौं!
१७. (क) येशूले कस्ता परीक्षाहरू सहनुभयो? (ख) येशूले सहनुभएको गहिरो कष्टलाई सम्भवतः कुन चाहिं तथ्यबाट देख्न सकिन्छ? (फूटनोट हेर्नुहोस्।)
१७ येशूलाई “[उत्सुकतापूर्वक न्यु व०] हेर” र ‘उहाँलाई राम्रोसँग विचार गर’ भनेर बाइबलले हामीलाई आग्रह गर्दछ। उहाँले कस्ता परीक्षाहरू सहनु भयो? ती मध्ये कतिपय परीक्षाहरू अरूहरूको पाप र असिद्धताको कारण आए। येशूले “पापीहरूको . . . विवाद” लाई सहनुभयो। यति मात्र नभइ आफ्ना चेलाहरू बीच को ठूलो भन्ने उठेको विवाद लगायत तिनीहरूमाझमा उठेका अनेकौं समस्याहरूलाई उहाँले सहनुभयो। अझ ठूलो कुरो, उहाँले विश्वासको अतुलनीय परीक्षाको सामना गर्नुभयो। उहाँले “क्रूसको शासना भोग्नुभयो।” (हिब्रू १२:१-३; लूका ९:४६; २२:२४) शूलीमा लट्काइँदा खप्नु परेको पीडा र एकजना ईश्वरनिन्दकको रूपमा दण्ड भोग्दा भएको अपमानमा मुछिएको मानसिक र शारीरिक कष्टलाई कल्पना गर्नु समेत कठिन छ।a
१८. प्रेरित पावलअनुसार, कुन दुई कुराले येशूलाई थामिराखे?
१८ कुन कुराले येशूलाई अन्तसम्मै धीरजी हुन मदत गऱ्यो? येशूलाई अन्तसम्मै थामिराख्ने दुई कुराहरू प्रेरित पावलले उल्लेख गरे। ती हुन्: “प्रार्थना र अन्तरबिन्ती” अनि “उहाँको सामने राखिदिएको आनन्द।” परमेश्वरको सिद्ध पुत्र येशू, मदत माग्नदेखि लजाउनु भएन। उहाँले “बेसरी कराई, आँसु बगाएर” प्रार्थना गर्नुभयो। (हिब्रू ५:७; १२:२) विशेषगरी आफ्नो सबैभन्दा ठूलो परीक्षा नजिक आउँदा उहाँले शक्तिको लागि बारम्बार र गम्भीरतापूर्वक प्रार्थना गर्नुपर्ने आवश्यकता देख्नुभयो। (लूका २२:३९-४४) येशूको प्रार्थनाको प्रत्युत्तरमा यहोवाले त्यस परीक्षालाई पन्छाउनु भएन बरु त्यसलाई सहने शक्ति दिनुभयो। यसबाहेक शूलीको अलावा आफ्नो इनाम—अर्थात् यहोवाको नाउँलाई पवित्र पार्न र मानव परिवारलाई मृत्युबाट छुटकारा प्रदान गर्न आफूले दिने योगदानबाट आउने आनन्दमाथि दृष्टिगत गर्नुभएको हुँदा येशूले त्यस कष्टलाई सहनुभयो।—मत्ती ६:९; २०:२८.
१९, २०. धीरजी हुनमा कुन कुरा समावेश छ भन्ने सम्बन्धमा व्यावहारिक दृष्टि पाउन येशूको उदाहरणले कसरी मदत गर्छ?
१९ धीरजी हुनमा कुन कुरा समावेश छ भन्ने सम्बन्धमा व्यावहारिक दृष्टि पाउन येशूको उदाहरणबाट हामी थुप्रै कुराहरू सिक्छौं। धीरजी हुनु सजिलो छैन। हामीलाई कुनै एउटा खास परीक्षा सहन गाह्रो परिरहेको छ भने, येशूलाई पनि त्यस्तै भएको थियो भन्ने कुरा थाहा पाउनु हाम्रो लागि सान्त्वनादायी हुँदछ। अन्तसम्मै धीरजी हुन बल प्राप्त गर्न हामीले निरन्तर प्रार्थना गरिरहनुपर्छ। परीक्षामा पर्दा कहिलेकाहीं आफूलाई प्रार्थना गर्न अयोग्य महसुस गर्नसक्छौं। तर उहाँको सामु आफ्नो हृदय पोखाउन यहोवा हामीलाई निमन्त्रणा दिनुहुन्छ ‘किनकि उहाँले हामीहरूको फिक्री गर्नुहुन्छ।’ (१ पत्रुस ५:७) आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको हुनाकारण, विश्वासका साथ पुकार्नेहरूलाई ‘असामान्य शक्ति’ दिन यहोवा आफूलाई बाध्य महसुस गर्नुहुन्छ।—२ कोरिन्थी ४:७-९.
२० कहिलेकाहीं आँसु बगाउँदै सहनु पर्छ। शूलीमा चढेर कष्ट भोग्नु येशूका लागि कुनै आनन्ददायी कुरा थिएन। बरु आफ्नो सामु राखिएको इनाम उहाँका लागि आनन्दको कारण थियो। हामी पनि, परीक्षामा पर्दा सधैं नै आनन्दित र गौरवान्वित हुनेछौं भनेर आशा गर्नु व्यावहारिक कुरा होइन। (हिब्रू १२:११ सँग तुलना गर्नुहोस्।) यद्यपि, आफ्नो सामु राखिएको इनामलाई हेरेर, अतिनै सङ्कष्टपूर्ण परिस्थितिमा पनि हामी त्यसलाई ‘आनन्द सम्झन सक्छौं।’ (याकूब १:२-४; प्रेरित ५:४१) हामीले आँसु नै बगाउनु परे पनि स्थिर भएर रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आखिरकार ‘कम आँसु बगाउनेले उद्धार पाउनेछ’ भनेर येशूले भन्नु भएन बरु “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ” भनेर उहाँले भन्नुभयो।—मत्ती २४:१३.
२१. (क) हाम्रो धीरजमा कुन कुरा थप भनेर २ पत्रुस १:५, ६-मा आग्रह गरिएको छ? (ख) अर्को लेखमा कुन प्रश्नहरूलाई छलफल गरिनेछ?
२१ अतः छुटकाराको लागि धीरज अत्यावश्यक छ। तथापि, २ पत्रुस १:५, ६-मा हामीलाई धीरजमा ईश्वरीय भक्ति थप भनेर आग्रह गरिएको छ। ईश्वरीय भक्ति के हो? धीरजसँग यसको के सम्बन्ध छ र हामी त्यसलाई कसरी प्राप्त गर्न सक्छौं? अर्को लेखमा यी प्रश्नहरूको उत्तर दिइनेछ। (w93 9/1)
[फुटनोट]
a शूलीमा चढाएको केही घण्टामै येशूको सिद्ध शरीरको मृत्यु भएको थियो जबकि उहाँसँगै लट्काइएका कुकर्मीहरूलाई भने चाँडो मृत्यु गराउन खुट्टा भाँच्नु परेको थियो। यसबाट येशूले भोग्नु भएको कष्ट कतिको कठिन थियो भनेर देख्न सकिन्छ। (यूहन्ना १९:३१-३३) शूलीमा लट्काइनु भन्दा अघि उहाँलाई रातभर अनेकन कष्ट दिएर परीक्षा गरियो र सम्भवतः यस प्रकारको कष्टले गर्दा उहाँले आफ्नो शूली समेत बोक्न सक्नुभएन। तर ती कुकर्मीहरूले भने त्यस प्रकारको मानसिक र शारीरिक कष्टको अनुभव गरेका थिएनन्।—मर्कूस १५:१५, २१.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ धीरजी हुनु भनेको के हो?
▫ यहोवाका जनहरूका लागि धीरजको अनुपम खाँचो किन छ?
▫ कुन कुराले अय्यूबलाई धीरजी हुन मदत गऱ्यो?
▫ धीरजको व्यावहारिक दृष्टि पाउन येशूको उदाहरणले हामीलाई कसरी मदत गर्छ?
[पृष्ठ २२-मा भएको चित्र]
आफ्नो उपासना यहोवालाई मात्र चढाएको हुनाकारण निकालिएका मसीही केटाकेटीहरूलाई पढाउन राज्य विद्यालयहरूको स्थापना गरियो
[पृष्ठ २४-मा भएको चित्र]
आफ्नो पिताको आदर गर्न कटिबद्ध भएको येशूले धीरज धर्ने शक्तिका लागि प्रार्थना गर्नुभयो