अध्याय ६०
रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्य
मत्ति १६:२८–१७:१३ मर्कुस ९:१-१३ लुका ९:२७-३६
रूप परिवर्तनसम्बन्धी दर्शन
प्रेषितहरू परमेश्वरको स्वर सुन्छन्
यतिबेला येसु हर्मोन डाँडाबाट करिब २५ किलोमिटर टाढा पर्ने सिजरिया फिलिप्पिको इलाकामा हुनुहुन्छ। त्यहाँ मानिसहरूलाई शिक्षा दिँदै गर्नुहुँदा उहाँ आफ्ना प्रेषितहरूलाई यस्तो अचम्मलाग्दो कुरा भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”—मत्ति १६:२८.
ती चेलाहरूलाई येसुले के भन्न खोज्नुभएको होला जस्तो लागेको हुनुपर्छ। त्यसको करिब एक हप्तापछि उहाँ आफ्ना तीन जना प्रेषित—पत्रुस, याकुब र युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुहुन्छ। यो रातको समय हुनुपर्छ किनकि तिनीहरू तीनै जना निद्राले लट्ठ परेका छन्। येसुले प्रार्थना गरिरहनुहुँदा तिनीहरूकै अगाडि उहाँको रूप परिवर्तन हुन्छ। ती प्रेषितहरू उहाँको मुहार सूर्यजस्तै उज्यालो भएको र उहाँको लुगा सेतो र चहकिलो भएको देख्छन्।
त्यसपछि तिनीहरू “मोसा र एलिया”-लाई देख्छन्। उनीहरू येसुसित ‘उहाँको बिदाइको विषयमा कुरा गर्न थाल्छन्, जुन यरुसलेममा हुन लागेको छ।’ (लुका ९:३०, ३१) येसुको बिदाइले उहाँको मृत्यु हुने र उहाँ फेरि जीवित हुने कुरालाई सङ्केत गरेको हुनुपर्छ, जसबारे उहाँले चेलाहरूलाई हालै बताउनुभएको थियो। (मत्ति १६:२१) येसुको अपमानजनक मृत्यु पत्रुसले चाहेझैँ रोक्न सकिने कुरा होइन भनेर यस कुराकानीले प्रमाणित गर्छ।
अब भने ती तीन जना प्रेषित पूरै ब्युँझिसकेका छन्। तिनीहरू यो दृश्य ध्यान दिएर हेर्छन् र दङ्ग पर्दै कुराकानी सुन्छन्। यो केवल दर्शन मात्र हो; तैपनि यो दृश्य प्रेषितहरूलाई यत्ति वास्तविक लाग्छ कि पत्रुस त त्यो दृश्यमा आफै सहभागी हुन खोज्दै यसो भन्छन्: “रब्बी, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” (मर्कुस ९:५) यो दर्शन अझै केही बेर रहोस् भनेर पत्रुसले त्यहीँ पाल टाँगेर बस्न खोजेका हुन सक्छन्।
पत्रुस बोलिरहेकै बेला तिनीहरूलाई चहकिलो बादलले ढाक्छ र बादलबाट यस्तो आवाज आउँछ: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।” परमेश्वरको स्वर सुनेर प्रेषितहरू घोप्टो पर्छन् तर येसु तिनीहरूलाई भन्नुहुन्छ: “नडराओ, उठ।” (मत्ति १७:५-७) उठेर हेर्दा तिनीहरूले त्यहाँ येसुबाहेक अरू कसैलाई देख्दैनन्। दर्शन सिद्धिसकेको छ। दिउँसो डाँडाबाट ओर्लँदै गर्दा येसु तिनीहरूलाई यस्तो आज्ञा दिनुहुन्छ: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे कसैलाई नभन्नू।”—मत्ति १७:९.
दर्शनमा एलिया पनि देखा परेको कुराले एउटा प्रश्न खडा गर्छ। प्रेषितहरू येसुलाई सोध्छन्: “पहिला एलिया आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन्?” येसु यस्तो जवाफ दिनुहुन्छ: “एलिया आइसकेका छन्। तैपनि तिनीहरूले उनलाई चिन्न सकेनन्।” (मत्ति १७:१०-१२) वास्तवमा येसु बप्तिस्मा गराउने युहन्नाबारे कुरा गर्दै हुनुहुन्छ, जसले एलियाको जस्तै भूमिका खेले। एलियाले एलिसाको निम्ति बाटो तयार पारेजस्तै युहन्नाले ख्रिष्टको निम्ति बाटो तयार पारे।
येसु र उहाँका प्रेषितहरूको लागि यो दर्शन बलको स्रोत हो। यो दर्शन ख्रिष्ट आफ्नो राज्यमा महिमित हुनुहुने कुराको पूर्वझलक हो। येसुले प्रतिज्ञा गर्नुभएझैँ चेलाहरूले ‘मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको देखे।’ (मत्ति १६:२८) ती चेलाहरूले डाँडामा ‘आफ्नै आँखाले उहाँको वैभव देखेका थिए।’ फरिसीहरू येसु नै परमेश्वरले रोज्नुभएको राजा हुनुहुन्छ भनेर प्रमाणित गर्ने चिन्ह हेर्न चाहन्थे तर उहाँ तिनीहरूलाई कुनै चिन्ह दिनुहुन्न। येसुका घनिष्ठ चेलाहरूले भने येसुको रूप परिवर्तन भएको हेर्ने मौका पाए, जसले राज्यसम्बन्धी गरिएका भविष्यवाणीहरूलाई अझ पक्का गर्छ। त्यसैले पछि पत्रुसले यस्तो लेख्न सके: “हामीसित भएको भविष्यसूचक वचन झन् पक्का भएको छ।”—२ पत्रुस १:१६-१९.