मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्
“हे पति हो, . . . निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्री पत्नीसँग बस।”—१ पत्रुस ३:७.
१, २. (क) येशूले इनारको छेउमा सामरी स्त्रीसित गर्नुभएको कुराकानीले कस्तो चासो जगायो र किन? (पादटिप्पणी पनि हेर्नुहोस्।) (ख) येशूले सामरी स्त्रीलाई प्रचार गर्नुभएर कुन कुरा प्रदर्शन गर्नुभयो?
यो मध्यान्हको समय सुखार शहर नजीकै एउटा पुरानो इनारको छेउमा सा.यु. ३० को अन्ततिरको घटना हो। स्त्रीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भनेर येशूले त्यहाँ प्रकट गर्नुभयो। उहाँले बिहानभरि सामरियाको पहाडी इलाकामा यात्रा गर्नुभएको थियो र त्यस इनारमा आइपुग्नुहुँदा थकित, भोको र तिर्खाएको हुनुहुन्थ्यो। उहाँ इनारको डीलमा बसिरहनुहुँदा एउटी सामरी स्त्री त्यहाँ पानी लिन आइन्। येशूले उनलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” यो कुरा सुनेर त्यस स्त्री पक्कै छक्क परेकी हुनुपर्छ। उनले सोधिन्: “तपाईं यहूदी भएर म सामरी आइमाईको हातबाट कसरी पानी पिउनुहुन्छ?” पछि उहाँका चेलाहरू खानेकुरा किनेर फर्कंदा येशू “एउटी आइमाईसित बात गरिरहनुभएको देखेर” छक्क परे।—यूहन्ना ४:४-९, २७.
२ यस स्त्रीको प्रश्न र चेलाहरू छक्क पर्नुको कारण के थियो? उनी सामरी थिइन् र यहूदीहरू सामरीहरूसित कुनै प्रकारको हेलमेल गर्दैनन् थिए। (यूहन्ना ८:४८) तर स्पष्टतः छक्क पर्नुको अर्को कारण पनि थियो। त्यतिखेर रब्बीहरूका परम्पराले सार्वजनिक स्थानमा पुरुषहरूलाई स्त्रीहरूसित कुरा गर्न निरुत्साहित गरिन्थ्यो।a यद्यपि, येशूले यस निष्कपट स्त्रीलाई खुलेआम प्रचार गर्नुभयो र आफू मसीह हुनुहुन्छ भनेर समेत प्रकट गर्नुभयो। (यूहन्ना ४:२५, २६) यसरी येशूले स्त्रीहरूलाई तुच्छ तुल्याउने परम्परालगायत अन्य अशास्त्रीय परम्पराहरूलाई पछ्याउनु हुनेछैन भनेर देखाउनुभयो। (मर्कूस ७:९-१३) त्यसको विपरीत, आफूले गर्नुभएका र सिकाउनुभएका कुरा मार्फत स्त्रीहरूलाई सम्मान तथा आदरपूर्ण व्यवहार गर्नुपर्छ भनेर प्रदर्शित गर्नुभयो।
येशूले स्त्रीहरूसित कस्तो व्यवहार गर्नुभयो
३, ४. (क) आफ्नो पोशाक छुने स्त्रीप्रति येशूले कस्तो व्यवहार गर्नुभयो? (ख) येशूले मसीही पुरुषहरू र विशेषगरि निरीक्षकहरूका लागि असल उदाहरण कसरी बसाल्नुभयो?
३ मानिसप्रति येशूको अनुकम्पापूर्ण व्यवहार उहाँले स्त्रीहरूसित गर्नुभएको व्यवहारमा झल्किन्थ्यो। एक चोटि १२ वर्षसम्म रगत बहने बेथा भोगिरहेकी एउटी स्त्रीले भीडमा येशूलाई खोजिन्। उनको अवस्थाले गर्दा उनी अशुद्ध थिइन्, अतः उनी त्यहाँ आउनु हुँदैन थियो। (लेवी १५:२५-२७) तर उनी असाध्यै बेचैन भएकीले येशूको पछिल्तिर घुसिन्। उहाँको पोशाकलाई छुनेबित्तिकै उनी निको भइन्! याइरसकी छोरी सिकिस्त बिरामी परेकीले येशू त्यतातिर गइरहनु भएको भए तापनि रोक्नुभयो। आफूबाट शक्ति निस्केको महसुस गर्नुभएर उहाँले आफूलाई छुने व्यक्तिलाई खोज्न थाल्नुभयो। अन्ततः त्यस स्त्री डरले थरथर काँप्दै उहाँको सामु घोप्टो परिन्। उनी भीडमा आएकी र उहाँको अनुमतिबिना आफ्नो पोशाक छोएकीले के येशूले उनलाई गाली गर्नुहुनेथियो? त्यसको विपरीत उनले येशू साह्रै स्नेही र दयालु हुनुभएको महसुस गरिन्। उहाँले भन्नुभयो, “ए छोरी तिम्रो विश्वासले तिमीलाई बचाएको छ।” येशूले एउटी स्त्रीलाई “छोरी” भनेर प्रत्यक्षतः सम्बोधन गर्नुभएको यो एक मात्र घटना हो। ती शब्दहरूले उनलाई कति सान्त्वना दिएको हुनुपर्छ!—मत्ती ९:१८-२२; मर्कूस ५:२१-३४.
४ येशूले व्यवस्थालाई अक्षरसः पालन मात्र गर्नुभएन। उहाँले त्यसको साँचो उद्देश्य बुझ्नुभयो र दया तथा अनुकम्पाको आवश्यकता देख्नुभयो। (मत्ती २३:२३ तुलना गर्नुहोस्।) येशूले त्यस बिरामी स्त्रीको दयनीय अवस्थालाई देख्नुभयो र उनी विश्वासद्वारा प्रेरित भएकी थिइन् भनेर बुझ्नुभयो। यसप्रकार उहाँले मसीही पुरुषहरू र विशेषगरि निरीक्षकहरूका लागि राम्रो उदाहरण बसाल्नुभयो। एउटी मसीही बहिनीले व्यक्तिगत समस्या वा विशेषगरि कुनै कठिन वा कष्टप्रद परिस्थिति भोगिरहेकी छिन् भने, प्राचीनहरूले तिनका शब्द तथा कार्यपछाडि लुकेको वास्तविकता र त्यो परिस्थिति तथा मनोवृत्तिलाई बुझ्ने प्रयास गर्नुपर्छ। त्यस्तो अन्तरदृष्टिले सल्लाह र सुधार होइन तर धीरज, विवेक तथा अनुकम्पा आवश्यक भएको देखाउनसक्छ।—हितोपदेश १०:१९; १६:२३; १९:११.
५. (क) रब्बीहरूका परम्पराहरूले स्त्रीहरूलाई कुन ढंगमा प्रतिबन्धित गरेको थियो? (पादटिप्पणी हेर्नुहोस्।) (ख) पुनरुत्थान हुनुभएको येशूलाई देख्ने र उहाँबारे साक्षी दिने प्रथम व्यक्तिहरू को थिए?
५ येशू पृथ्वीमा हुनुहुँदा रब्बीहरूका परम्पराहरूले स्त्रीहरू बाँधिएका थिए। अतः तिनीहरू वैध साक्षीहरूको हैसियतमा सेवा गर्न प्रतिबन्धित थिए।b नीसान १६, सा.यु. ३३ को बिहान येशू पुनरुत्थान हुनुभएको थोरै समयपश्चात्को घटनालाई ध्यान दिनुहोस्। पुनरुत्थान हुनुभएको येशूलाई देख्ने र प्रभु बिउँताइनु भइसकेको छ भनेर अरू चेलाहरूलाई साक्षी दिने प्रथम व्यक्ति को हुनेथिए? तिनीहरू येशूलाई झुन्ड्याइएको ठाउँमा उहाँ नमरूञ्जेल पर्खेर बस्ने स्त्रीहरू थिए।—मत्ती २७:५५, ५६, ६१.
६, ७. (क) येशूले चिहानमा आएका स्त्रीहरूलाई के भन्नुभयो? (ख) येशूका पुरुष चेलाहरूले स्त्रीहरूको खबरप्रति सर्वप्रथम कस्तो प्रतिक्रिया व्यक्त गरे र यसबाट के सिक्न सकिन्छ?
६ त्यस हप्ताको पहिलो दिनमा बिहान सबेरै मरियम मग्दलिनी र अन्य स्त्रीहरू येशूको शरीरमा मसला घस्न चिहानतिर गए। रित्तो चिहानबारे पत्रुस र यूहन्नालाई खबर दिन मरियम दौडेर गइन्। अन्य स्त्रीहरू भने त्यहीं बसे। थोरै समयपश्चात् एउटा स्वर्गदूत देखा पऱ्यो र येशू बिउँतनु भइसक्यो भनेर तिनीहरूलाई बताए। स्वर्गदूतले तिनीहरूलाई यस्तो निर्देशन दिए, “चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ।” यी स्त्रीहरू समाचार दिन हतार गरिरहेको बेलामा येशू स्वयम् तिनीहरूसमक्ष देखा पर्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो, “मेरा भाइ- हरूलाई . . . भनिदेओ।” (मत्ती २८:१-१०; मर्कूस १६:१, २; यूहन्ना २०:१, २) स्वर्गदूतको आवागमनबारे अनभिज्ञ र दुःखी हुँदै मरियम मग्दलिनी रित्तो चिहानमा फर्किन्। येशू तिनीसमक्ष देखा पर्नुभयो र अन्ततः तिनले उहाँलाई चिनेपछि उहाँले यसो भन्नुभयो: “मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘म मेरा पिता र तिमीहरूका पिता, औ मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जान्छु।’”—यूहन्ना २०:११-१८; मत्ती २८:९, १० तुलना गर्नुहोस्।
७ येशू सर्वप्रथम पत्रुस, यूहन्ना अथवा अन्य पुरुष चेलाहरूसमक्ष देखा पर्न सक्नुहुन्थ्यो। तर उहाँले स्त्रीहरूलाई आफ्नो पुनरुत्थानको प्रथम प्रत्यक्षदर्शीहरू बनाउनुभयो। साथै पुनरुत्थानबारे उहाँका पुरुष चेलाहरूलाई साक्षी दिन अह्राउनुभएर उहाँले ती स्त्रीहरूलाई आदर देखाउन रुचाउनुभयो। सुरुमा ती पुरुषहरूले कस्तो प्रतिक्रिया देखाए? विवरणले यसो भन्छ: “यी कुराहरू तिनीहरूलाई फोस्रा कुराहरू जस्तै लागे, र तिनीहरूले विश्वास गरेनन्।” (लूका २४:११) के त्यो कुरा ती स्त्रीहरूले बताएको कारण स्वीकार्न कठिन भएको हुनसक्छ? यदि यसो हो भने, पछि तिनीहरूले येशू बिउँतनु भइसक्यो भन्ने प्रशस्त प्रमाणहरू पाए। (लूका २४:१३-४६; १ कोरिन्थी १५:३-८) आज, आध्यात्मिक बहिनीहरूले आफूलाई मनमा लागेका कुराहरू बताउँदा त्यसलाई विचार गरेर मसीही पुरुषहरूले बुद्धिमानीपूर्वक व्यवहार गरिरहेका हुन्छन्।—उत्पत्ति २१:१२ तुलना गर्नुहोस्।
८. येशूले स्त्रीहरूसित गर्नुभएको व्यवहार मार्फत कुन कुरा प्रकट गर्नुभयो?
८ येशूले स्त्रीहरूप्रति गर्नुभएको व्यवहारलाई मनमा राख्नु साँच्चै हृदयस्पर्शी छ। येशूले स्त्रीहरूसित सधैं अनुकम्पापूर्ण र पूर्ण सन्तुलित व्यवहार गर्नुभयो र स्त्रीहरूलाई नता उचाल्नुभयो न होच्याउनुभयो। (यूहन्ना २:३-५) उहाँले स्त्रीहरूको मर्यादा खोस्ने र परमेश्वरको वचनलाई निष्काम तुल्याउने रब्बीहरूका परम्पराहरूलाई तिरस्कार गर्नुभयो। (मत्ती १५:३-९ तुलना गर्नुहोस्।) स्त्रीहरूलाई सम्मान तथा आदरपूर्ण व्यवहार गर्नुभएर येशूले स्त्रीहरूप्रति यहोवा परमेश्वरको भावना झल्काउनुभयो। (यूहन्ना ५:१९) मसीही पुरुषहरूले अनुकरण गर्नको लागि पनि येशूले अत्युत्तम उदाहरण बसाल्नुभयो।—१ पत्रुस २:२१.
स्त्रीहरूसम्बन्धी येशूका शिक्षाहरू
९, १०. येशूले स्त्रीहरूसम्बन्धी रब्बीहरूका परम्पराहरूलाई कसरी इन्कार गर्नुभयो र फरिसीहरूले पारपाचुकेसम्बन्धी प्रश्न उठाएपछि उहाँले के भन्नुभयो?
९ येशूले रब्बीहरूका परम्पराहरूलाई इन्कार गर्नुभयो र आफ्नो कार्यको साथै वचनद्वारा स्त्रीहरूको मर्यादा गर्नुभयो। उदाहरणको लागि, उहाँले पारपाचुके र व्यभिचारबारे सिकाउनुभएका शिक्षाहरूलाई ध्यान दिनुहोस्।
१० पारपाचुकेको सन्दर्भमा येशूलाई यो प्रश्न सोधियो: “के कसैले कुनै पनि कारणले स्वास्नी त्याग्नसक्छ?” मर्कूसको विवरणअनुसार येशूले यसो भन्नुभयो: “जसले आफ्नी स्वास्नीलाई [व्यभिचारको कारणबाहेक] त्याग गरेर अर्कोसित विवाह गर्ला, त्यसले त्यसको विरुद्ध व्यभिचार गर्दछ। औ त्यो आफैले आफ्ना लोग्नेलाई त्यागेर अर्कोसित विवाह गर्दछ भने त्यसलेनै व्यभिचार गर्दछ।” (मर्कूस १०:१०-१२; मत्ती १९:३, ९) ती खुलस्त शब्दहरूले स्त्रीहरूको मर्यादाप्रति आदर देखायो। तर कसरी?
११. “व्यभिचारको कारण बाहेक” भन्ने येशूका शब्दहरूले वैवाहिक बन्धनबारे कुन कुरा संकेत गर्छ?
११ सर्वप्रथम, येशूले “व्यभिचारको कारणबाहेक” भन्ने शब्दहरूद्वारा (मत्तीले लेखेको सुसमाचारको विवरणअनुसार) वैवाहिक सम्बन्धलाई हलका वा सजिलै विच्छेद गर्न सक्ने कुरा सम्झनु हुँदैन भनेर संकेत दिनुभयो। त्यतिखेर व्याप्त रब्बीहरूका शिक्षाहरूअनुसार नमिठो खाना पकाएको वा परदेशीसित कुरा गरेको जस्ता स-साना कारणहरूका लागि पनि पत्नीलाई पारपाचुके गर्न सकिन्थ्यो। भनौं भने, आफूलाई अर्की स्त्री बढी आकर्षक लागेमा पनि पतिले पत्नीलाई पारपाचुके गर्नसक्थ्यो! एक बाइबल शास्त्रज्ञ यो टिपोट गर्छन्: “येशूले बोल्नुहुँदा . . . विवाहलाई त्यसको उचित स्थानमा पुनस्थापित गर्न स्त्रीजातिलाई समर्थन दिई रहनुभएको थियो।” निस्सन्देह, विवाह भनेको स्त्रीले सुरक्षित महसुस गर्ने स्थायी बन्धन हुनुपर्छ।—मर्कूस १०:६-९.
१२. “त्यसको विरुद्ध व्यभिचार गर्दछ” भन्ने शब्दहरूद्वारा येशूले कुन धारणालाई प्रस्तुत गर्दैहुनुहुन्थ्यो?
१२ दोस्रो, “त्यसको विरुद्ध व्यभिचार गर्दछ” भन्ने अभिव्यक्ति मार्फत येशूले रब्बीहरूका अदालतहरूले मान्यता नदिएको दृष्टिकोण प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्थात् पतिले आफ्नी पत्नीको विरुद्ध व्यभिचार गर्ने धारणा। दी एक्स्पोजिटर्स बाइबल कमेन्टरी यसरी वर्णन गर्छ: “रब्बीहरूका यहूदी मतअनुसार एउटी स्त्री आफ्नो पतिप्रति वफादार नभएर व्यभिचार गर्नसक्थी; अनि पुरुषले अर्काकी पत्नीसित यौन सम्बन्ध राखेर त्यस मानिसको विरुद्धमा व्यभिचार गर्नसक्थ्यो। तर कुनै पनि हालतमा एक जना पुरुषले आफ्नी पत्नीको विरुद्धमा व्यभिचार गर्नसक्दैन थियो। येशूले पतिलाई पत्नीको जस्तै नैतिक दायित्वको अधीनमा राख्नुभएर स्त्रीहरूको ओहदा र मर्यादालाई उचाल्नुभयो।”
१३. येशूले पारपाचुकेको सन्दर्भमा मसीही व्यवस्थाअन्तर्गत पुरुष तथा स्त्रीहरूलाई एउटै स्तर लागू हुन्छ भनेर कसरी देखाउनुभयो?
१३ तेस्रो, येशूले “आफ्ना लोग्नेलाई त्यागेर” भन्ने वाक्यांश प्रयोग गर्नुहुँदै स्त्रीले आफ्नो अविश्वासी पतिलाई पारपाचुके गर्नसक्ने अधिकार मानी लिनुभयो। सम्भवतः त्यतिबेला यो प्रचलनबारे थाह भए तापनि यहूदी व्यवस्थामा त्यत्तिको प्रचलित थिएन।c भनिन्थ्यो, “पतिले आफ्नी पत्नीको अनुमतिबिना पारपाचुके गर्नसक्थ्यो तर पतिको अनुमतिबिना पत्नीले पारपाचुके गर्न सक्दिन थिइन्।” तथापि, येशूको भनाइअनुसार मसीही प्रणालीअन्तर्गत पुरुष र स्त्रीहरूका लागि एउटै स्तर लागू हुनेथियो।
१४. येशूले आफ्ना शिक्षाहरूद्वारा कुन कुरा देखाउनुभयो?
१४ येशूका शिक्षाहरूले स्त्रीहरूको हितप्रति गहिरो चासो स्पष्टसित प्रकट गर्छन्। तसर्थ, केही स्त्रीहरूले येशूलाई साह्रै प्रेम गरेकाले आफ्नो धनले उहाँको सेवा गर्नुको कारण बुझ्नसक्छौं। (लूका ८:१-३) येशूले यसो भन्नुभयो, “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” (यूहन्ना ७:१६) येशूले आफ्ना शिक्षाहरूद्वारा यहोवाले स्त्रीहरूप्रति देखाउनुहुने कोमल चासो प्रदर्शित गर्नुभयो।
‘स्त्रीजातिलाई आदर देऊ’
१५. पतिले पत्नीहरूप्रति गर्नुपर्ने व्यवहारबारे प्रेरित पत्रुसले के लेखे?
१५ येशूले स्त्रीहरूप्रति गर्नुभएको व्यवहार प्रेरित पत्रुसले देखेका थिए। लगभग ३० वर्षपछि पत्रुसले पत्नीहरूलाई मायालु सल्लाह दिए र यसप्रकार लेखे: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्रीजातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्।” (१ पत्रुस ३:७) पत्रुसले ‘स्त्रीजातिलाई आदर देऊ’ भन्नुको अर्थ के हो?
१६. (क) “सम्मान” अनुवाद गरिएको युनानी संज्ञाको अर्थ के हो? (ख) येशूको रूप परिवर्तन हुँदा यहोवाले कसरी सम्मान देखाउनुभयो र यसबाट हामी के सिक्छौं?
१६ एक कोशकारअनुसार “सम्मान” (टाइम) अनुवाद गरिएको युनानी संज्ञाको अर्थ “मूल्य, मोल, मान, आदर” हो। यस युनानी शब्दलाई बेग्लाबेग्लै अर्थमा “उपहार” र “बहुमूल्य” भनी अनुवाद गरिएको छ। (प्रेरित २८:१०, न्युव; १ पत्रुस २:७) पत्रुसले त्यही शब्दलाई २ पत्रुस १:१७ मा प्रयोग गरेको ढंगलाई केलायौं भने, कसैलाई सम्मान गर्नु भनेको के हो, सोबारे अन्तरदृष्टि प्राप्त गर्नसक्छौं। त्यहाँ तिनले येशूको रूप परिवर्तनको सन्दर्भमा यसो भने: “महाप्रतापी महिमाबाट उहाँलाई यसो भन्ने वाणी आउँदा, ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनमा म अति प्रसन्न छु,’ उहाँले परमेश्वर पिताबाट आदर र महिमा पाउनुभएको थियो।” येशूको रूप परिवर्तन हुँदा यहोवाले येशूलाई अनुमोदन व्यक्त गर्नुभएर आफ्नो पुत्रको सम्मान गर्नुभयो र त्यहाँ अन्य व्यक्तिहरू पनि उपस्थित थिए। (मत्ती १७:१-५) त्यसकारण आफ्नी पत्नीको सम्मान गर्ने पतिले तिनलाई होच्याउने वा हेप्ने गर्दैनन्। बरु, तिनले गोप्य र सार्वजनिक स्थानमा तिनको सम्मान गर्छन् भनेर आफ्नो काम तथा वचनद्वारा देखाउँछन्।—हितोपदेश ३१:२८-३०.
१७. (क) मसीही पत्नीहरूलाई किन सम्मान गर्नुपर्छ? (ख) आफू परमेश्वरको नजरमा स्त्रीहरूभन्दा मूल्यवान् छन् भनेर पुरुषहरूले किन सोच्नु हुँदैन?
१७ पत्रुस भन्छन्, मसीही पतिहरूले यो सम्मान आफ्नी पत्नीहरूलाई ‘दिनुपर्छ।’ यो कृपा होइन तर आफ्नी पत्नीको हकसरह दिनुपर्ने थियो। पत्नीहरूलाई त्यस्तो सम्मान किन दिनुपर्ने? किनभने पत्रुसको वर्णनअनुसार तिनीहरू “जीवनको सजिया हकदारसमेत” हुन्। प्रथम शताब्दी सा.यु. मा पत्रुसको पत्र पाउने पुरुष तथा स्त्रीहरू सबैलाई ख्रीष्टसित सजिया हकदार हुन बोलाइएको थियो। (रोमी ८:१६, १७; गलाती ३:२८) मसीही मण्डलीमा तिनीहरूका जिम्मेवारीहरू एकै प्रकारका थिएनन् तर तिनीहरूले अन्ततः ख्रीष्टसित स्वर्गमा शासन गर्नेथिए। (प्रकाश २०:६) आज, परमेश्वरका अधिकांश जनहरूको पार्थिव आशा छ। अतः मण्डलीमा पाएका विशेषाधिकारहरूको आधारमा मसीही पुरुषहरूले आफू परमेश्वरको नजरमा स्त्रीहरूभन्दा बढी मूल्यवान् छन् भनेर सोच्नु गम्भीर गल्ती हुनेछ। (लूका १७:१० तुलना गर्नुहोस्।) परमेश्वरसमक्ष पुरुष तथा स्त्रीहरूको समान आध्यात्मिक ओहदा छ। किनभने येशूको बलिदानरूपी मृत्युले पुरुष तथा स्त्री दुवैका लागि अनन्त जीवनको आशा अर्थात् पाप र मृत्युको दासत्वबाट छुटकारा पाउने बाटो खोलिदियो।—रोमी ६:२३.
१८. पतिले पत्नीलाई सम्मान गर्नुपर्ने कस्तो जोडदार कारण पत्रुस दिन्छन्?
१८ पतिले आफ्नी पत्नीलाई सम्मान दिनुपर्ने अर्को जोडदार कारण पत्रुस यसरी बताउँछन्। त्यो हो, “[तिमीहरूका] प्रार्थना नरोकिओस्।” “रोकिने” भन्ने अभिव्यक्ति युनानी क्रियाबाट (एन्कोप्टो) लिइएको हो र त्यसको शाब्दिक अर्थ, “रोक्नु” हो। भाइनको एक्सपोजिटरी डिक्शनरी अफ न्यु टेस्टामेन्ट वर्डस्-अनुसार यो शब्द “सडक बिगारेर वा बाटोमा अवरोध राख्न छेकबार लगाएर मानिसहरूलाई रोक्ने सम्बन्धमा” प्रयोग गरिन्थ्यो। यसर्थ, आफ्नी पत्नीलाई सम्मान नदिने पतिले आफ्ना प्रार्थनाहरू र परमेश्वरबीच अवरोध खडा गरिरहेको हुनसक्छ। त्यस मानिसले आफू परमेश्वरसमक्ष पुग्न अयोग्य महसुस गर्नसक्छ वा उसको प्रार्थना सुन्न यहोवा अनिच्छुक हुन सक्नुहुन्छ। स्पष्ट छ, पुरुषहरूले स्त्रीहरूलाई कस्तो व्यवहार गर्छन्, त्यसबारे यहोवा निकै चासो राख्नुहुन्छ।—विलाप ३:४४ तुलना गर्नुहोस्।
१९. मण्डलीका पुरुष तथा स्त्रीहरूले कसरी पारस्परिक आदरका साथ सेवा गर्नसक्छन्?
१९ सम्मान देखाउने दायित्व पतिको मात्र होइन। पतिले आफ्नी पत्नीलाई मायालु तथा मर्यादापूर्ण व्यवहार गरेर सम्मान गर्नुपर्छ भने पत्नीले पतिको अधीनमा बसेर गहिरो आदर देखाएर सम्मान गर्नुपर्छ। (१ पत्रुस ३:१-६) यसबाहेक, पावलले मसीहीहरूलाई ‘एउटाले अर्कोको कदर गर्न’ सल्लाह दिए। (रोमी १२:१०) यो मण्डलीका पुरुष तथा स्त्रीहरूलाई पारस्परिक आदरका साथ सेवा गर्ने आह्वान हो। त्यस्तो मनोवृत्ति कायम हुँदा नेतृत्व लिने व्यक्तिहरूको अख्तियारलाई तुच्छ ठान्ने ढंगमा मसीही स्त्रीहरू बोल्नेछैनन्। बरु, तिनीहरूले प्राचीनहरूलाई समर्थन गरेर मदत गर्नेछन्। (१ कोरिन्थी १४:३४, ३५; हिब्रू १३:१७) मसीही निरीक्षकहरूले “आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर” व्यवहार गर्नेछन्। (१ तिमोथी ५:१, २) प्राचीनहरूले बुद्धिमानीपूर्वक मसीही बहिनीहरूको सल्लाहलाई विचार गर्नेछन्। तसर्थ, एउटी बहिनीले ईश्वरतान्त्रिक शिरत्वप्रति चासो देखाउँदा र एउटा समस्या अथवा क्षेत्र सेवकाईको प्रबन्धजस्ता कुराहरूमा आदरपूर्वक प्रश्न गर्दा वा कुनै कुरालाई औंल्याउँदा प्राचीनहरूले खुशीसाथ त्यस प्रश्न वा समस्यालाई विचार गर्नेछन्।
२०. शास्त्रीय विवरणअनुसार स्त्रीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ?
२० अदनको बगैंचामा पाप सुरु भएदेखि धेरै संस्कृतिहरूमा स्त्रीहरूलाई अपमानजनक तुच्छ स्थानमा राखिएको छ। तर तिनीहरूले त्यस्तो परिस्थिति भोगोस् भनेर यहोवाले सुरुदेखि नै चाहनुभएको थिएन। स्त्रीहरूप्रति जुनसुकै प्रकारका सांस्कृतिक दृष्टिकोणहरू व्याप्त भए तापनि ईश्वरभीरु स्त्रीहरूप्रति आदर तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भनेर हिब्रू तथा मसीही युनानी शास्त्रले स्पष्टसित देखाउँछ। यो परमेश्वरले तिनीहरूलाई दिनुभएको अधिकार हो।
[फुटनोटहरू]
a द इन्टरनेशनल स्टान्डर्ड बाइबल इन्साइक्लोपीडिया यसरी वर्णन गर्छ: “स्त्रीहरू पुरुष पाहुनाहरूसित बसेर खाँदैनन् थिए र स्त्रीहरूसित कुरा गर्न पुरुषहरूलाई निरुत्साहित गरिएको थियो। . . . विशेषगरि सार्वजनिक स्थलमा स्त्रीसित कुरा गर्नु बदनामी ठानिन्थ्यो।” रब्बीहरूका शिक्षाहरूको संकलन, यहूदी मिश्नाह-ले यस्तो सल्लाह दियो: “स्त्रीजातिसित धेरै कुरा नगर। . . . स्त्रीजातिसित धेरै कुरा गर्ने पुरुषले आफूमाथि विनाश ल्याउँछ, व्यवस्थाको अध्ययनलाई बेवास्ता गर्छ र अन्तमा गेहेन्नामा जानेछ।”—आबोथ १:५.
b प्यालेस्टाइन इन द टाइम अफ क्राइस्ट पुस्तकले यसो भन्छ: “कुनै कुनै अवस्थामा स्त्रीहरूलाई दासको बराबरीमा राखिन्थ्यो। उदाहरणको लागि, तिनले अदालतमा आफ्नो पतिको मृत्युको प्रमाणबाहेक अन्य विषयहरूमा प्रमाण पेश गर्न सक्दिन थिइन्।” लेवी ५:१ लाई संकेत गर्दै द मिश्नाह-ले यसप्रकार वर्णन गर्छ: “‘साक्षीको वाचासम्बन्धी’ [व्यवस्था] पुरुषहरूमाथि लागू हुन्छ तर स्त्रीहरूलाई हुँदैन।”—शेबुओथ ४:१.
c प्रथम शताब्दीका यहूदी इतिहासकार जोसेफसअनुसार राजा हेरोदकी बहिनी सलोमीले आफ्नो पतिलाई “तिनीहरूको विवाह विच्छेद भएको कागजपत्र पठाइन्, जुन यहूदी व्यवस्थाअनुरूप थिएन। किनभने हामीले पुरुषलाई (मात्र) यसो गर्ने अनुमति दिएका छौं।”—जुविश एन्टिक्विटीज, XV, 259 [vii, 10].
तपाईं कस्तो जवाफ दिनुहुनेछ?
◻ येशूले स्त्रीहरूलाई सम्मान तथा आदरका साथ व्यवहार गर्नुभयो भनेर कुन उदाहरणहरूले प्रदर्शन गर्छन्?
◻ येशूका शिक्षाहरूले स्त्रीहरूको मर्यादालाई कसरी आदर देखाए?
◻ पतिले आफ्नी मसीही पत्नीलाई किन सम्मान गर्नुपर्छ?
◻ सबै मसीहीहरूले कस्तो सम्मान देखाउनुपर्ने दायित्व वहन गर्छन्?
[पृष्ठ १७-मा भएको चित्र]
ईश्वरभीरु स्त्रीहरूले पुनरुत्थान हुनुभएको येशूलाई सर्वप्रथम देखे र यसबारे उहाँका साक्षीहरूलाई साक्षी दिनु तिनीहरूको निम्ति हर्षको कुरा थियो