परमेश्वरबाट आएको किताब
“मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२१.
१, २. (क) आधुनिक जीवनका लागि पनि बाइबल सान्दर्भिक छ र, भनेर किन कोही कोही सोध्छन्? (ख) बाइबल परमेश्वरबाट आएको हो भनेर देखाउन हामी कुन तीनवटा प्रमाणहरू पेश गर्नसक्छौं?
एक्काइसौं शताब्दीमा प्रवेश गर्न लागिरहेका मानिसहरूका लागि के बाइबल व्यवहारिक छ? कसै कसैको विचारमा छैन। “अहिले कसैले पनि १९२४ ताकको रासायनिक पाठ्यपुस्तक प्रयोग गर्दै विद्यार्थीहरूलाई पढाउने सल्लाह दिंदैन। किनकि त्यस उप्रान्त रसायनशास्त्रबारे थप जानकारीहरू प्राप्त भइसके।” बाइबल किन पुरानो भइसक्यो भन्नेबारे डा. एलि एस. चेसनले यसरी आफ्नो विचार व्यक्त गरे। यसो हेर्दा यो तर्क ठीकै हो जस्तो लाग्छ। आखिर बाइबल लेख्न सकिएको समयदेखि यता मानिसले विज्ञान, मानसिक स्वास्थ्य तथा मानव व्यवहारबारे थुप्रै कुराहरू सिकिसके। त्यसकारण, कोही कोही छक्क मान्दै प्रश्न गर्छन्: ‘उसबेला लेखिएको यस्तो पुरानो किताब पनि कहीं वैज्ञानिक तवरमा सही हुनसक्ला र? यसमा आधुनिक समयका लागि व्यवहारिक सल्लाह कसरी हुनसक्छ र?’
२ यसको जवाफ बाइबल आफैले दिन्छ। दोस्रो पत्रुस १:२१ मा हामीलाई बाइबलका भविष्यवाणीहरू “पवित्र आत्माबाट उत्तेजित भएर . . . परमेश्वरका तर्फबाट” बोलिएका थिए भनिएको छ। यसरी बाइबलले यो किताब परमेश्वरबाट आएको हो भनेर संकेत गर्छ। तर यसबारे अरूलाई कसरी विश्वस्त गराउने त? आउनुहोस्, बाइबल परमेश्वरको वचन नै हो भन्ने यी तीनवटा प्रमाणहरू जाँचौं: (१) यो वैज्ञानिक तवरमा सही छ, (२) यसमा आधुनिक समयका लागि पनि व्यवहारिक चिरकालीन सिद्धान्तहरू छन् र (३) यसमा पूरा भइसकेका र ऐतिहासिक तथ्यहरूले पनि प्रमाणित गरेका केही खास भविष्यवाणीहरू छन्।
विज्ञानसित मेल खाने किताब
३. वैज्ञानिक खोजहरू बाइबलका लागि किन कुनै खतरा साबित भएका छैनन्?
३ बाइबल विज्ञानसम्बन्धी पाठ्यपुस्तक होइन। तथापि, यो सत्यको पुस्तक हो र सत्य कहिल्यै डग्दैन। (यूहन्ना १७:१७) वैज्ञानिक खोजहरू बाइबलका लागि कुनै खतरा साबित भएका छैनन्। विज्ञानसित सम्बन्धित विषयहरू छुँदा मात्र पनि मिथ्या ठहरिएका पुरातन “वैज्ञानिक” सिद्धान्तहरूबाट यो पूर्णतया स्वतन्त्र छ। वास्तवमा, बाइबलमा उल्लेख गरिएका विवरणहरू वैज्ञानिक तवरमा सही मात्र ठहरिएका होइनन् तर त्यस जमानाको विचारधारालाई सरासर गलत साबित गर्ने पनि छन्। उदाहरणका लागि, बाइबल र चिकित्सा विज्ञानबीचको समानतालाई विचार गर्नुहोस्।
४, ५. (क) पुरातन चिकित्सकहरूले रोगबिमारीबारे के बुझेनन्? (ख) मोशालाई मिश्रीहरूको उपचार विधि राम्ररी थाह थियो भनेर कसरी निसंकोच भन्न सकिन्छ?
४ पुरातन चिकित्सकहरूलाई नता रोगहरू फैलने तरिका राम्ररी थाह थियो, न रोगबिमारीबाट बच्न सरसफाइ अत्यावश्यक छ भनेर नै बुझेका थिए। आधुनिक स्तरहरूको तुलनामा पुरातन समयका धेरैजसो चिकित्सा विधिहरू जंगली पाराको देखिन्छ। हालसम्म फेला परेको सबैभन्दा पुरानो चिकित्सासम्बन्धी लेख एबर्स पपाइरस हो। सा.यु.पू. १५५० को मानिने यस पपाइरसमा मिश्री उपचार विधिबारे बताइएको छ। त्यसमा “गोहीको टोकाइदेखि बूढीऔंलाको पीडासम्म” विभिन्न बेथाहरूको उपचार गर्ने लगभग ७०० विधिहरू पाइन्छ। यस्ता प्रायजसो उपचार विधिहरू बेकार मात्र होइनन् कुनै कुनै त असाध्यै खतरनाक पनि थिए। यहाँसम्म कि एउटा उपचार विधिमा चोटपटक लागेको खण्डमा मानिसको दिसामा अन्य वस्तुहरू मिलाई घाउमा लगाउने सुझाउ दिइएको पाइयो।
५ यो मिश्री उपचार विधि लेखेकै समयमा बाइबलका प्रथम किताबहरू लेखिएका थिए, जसमा मोशालाई दिइएको व्यवस्था समावेश थियो। सा.यु.पू. १५९३ मा जन्मेका मोशा मिश्रमै हुर्केका थिए। (प्रस्थान २:१-१०) फिरऊनको परिवारमा हुर्केका मोशालाई “मिश्रीहरूका सारा विद्यामा निपुण” गराइयो। (प्रेरित ७:२२) तिनी मिश्रका “वैद्यहरू[सित]” परिचित थिए। (उत्पत्ति ५०:१-३) त्यसो भए, के ती बेकामका अझ भनौं भने डरलाग्दा उपचार विधिहरूले मोशाका लेखहरूलाई असर गरे?
६. मोशालाई दिइएको व्यवस्थामा समावेश सरसफाइसम्बन्धी कुन चाहिं विधिविधानलाई आधुनिक चिकित्सा विज्ञानले पनि तार्किक छ भनेर स्वीकार्ने थियो?
६ पटक्कै गरेनन्। बरु, मोशालाई दिइएको व्यवस्थामा सरसफाइसम्बन्धी यस्ता विधिविधान समावेश गरियो जसलाई आधुनिक चिकित्सा विज्ञानले समेत तार्किक छ भनेर स्वीकार्ने थियो। जस्तै, छाउनीसम्बन्धी एउटा नियमअनुसार दिसा बस्ने ठाउँ छाउनीबाहिर हुनुपर्थ्यो र दिसा बसेपछि त्यसलाई पुर्नुपर्थ्यो। (व्यवस्था २३:१३) यो निकै विकसित निवारण विधि थियो। त्यसो गर्दा पानीको मुहान दूषित हुन पाउँदैनथ्यो साथै आउँ अनि झिंगाहरूद्वारा सर्ने झाडाबान्ताजस्ता रोग पनि फैलन पाउँदैनथ्यो। अक्सर विकासशील मुलुकहरूमा अहिले पनि यी रोगहरूले गर्दा वर्षेनी लाखौं मानिसहरूको मृत्यु भइरहेको छ।
७. मोशालाई दिइएको व्यवस्थामा समावेश सरसफाइसम्बन्धी कुन चाहिं विधिविधानले संक्रामक रोगबिमारीहरू फैलन नदिन मदत गऱ्यो?
७ मोशालाई दिइएको व्यवस्थामा सरसफाइसम्बन्धी अरू विधिविधानहरू पनि छन् र ती विधिविधानहरूले सरुवा रोगहरू फैलनदेखि बचाए। कुनै व्यक्तिलाई सरुवा रोग लागेको खण्डमा वा लागेको शंका भएमा उसलाई मानिसहरूसँग उठबस गर्न नदिई अलग्गै राखिन्थ्यो। (लेवी १३:१-५) लुगा वा भाँडाकुँडामा मरेको (सायद रोग लागेर मरेको) जनावरको सिनो परेमा त्यसलाई चलाउनुअघि फेरि धुनुपर्थ्यो नभए नाश गर्नुपर्थ्यो। (लेवी ११:२७, २८, ३२, ३३) मुर्दा छुने व्यक्तिलाई अशुद्ध मानिन्थ्यो र उसले आफ्नो लुगा धुने, नुहाउनेलगायत अन्य विधि पूरा गरेर आफूलाई शुद्ध पार्नुपर्थ्यो। त्यस व्यक्तिले आफूलाई सात दिनमा शुद्ध पार्नुपर्थ्यो। त्यस दौडान उसले अरू कसैसँग लसपस गर्नु हुँदैनथ्यो।—गन्ती १९:१-१३.
८, ९. मोशालाई दिइएको व्यवस्थामा समावेश सरसफाइसम्बन्धी व्यवस्थाले तत्कालीन मानिसहरूलाई थाह नभएको बुद्धि प्रकट गर्छ भनेर किन भन्न सकिन्छ?
८ सरसफाइसम्बन्धी यो व्यवस्थाले तत्कालीन मानिसहरूलाई थाह नभएको बुद्धि प्रकट गर्छ। आधुनिक चिकित्सा विज्ञानले रोग कसरी फैलन्छ र त्यसको रोकथाम कसरी गर्ने भन्नेबारे निकै कुरा थाह पाइसक्यो। उदाहरणका लागि, १९ औं शताब्दीतिर चिकित्सा क्षेत्रमा भएको विकासले गर्दा एन्टिसेप्सीस अर्थात् संक्रमण कम गर्न सरसफाइ गर्ने जस्ता विधिहरू प्रयोगमा ल्याइए। फलतः संक्रमण र अकाल मृत्युमा उल्लेखनीय कमी हुनथाल्यो। सन् १९०० तिर थुप्रै युरोपेली मुलुक तथा संयुक्त राज्य अमेरिकामा मानिसहरूको औसत आयु ५० वर्षभन्दा पनि कम थियो। त्यसबेलादेखि यता चिकित्सा क्षेत्रमा भएको प्रगतिले गर्दा मात्र नभई राम्रो सरसफाइ तथा जीवनस्तरको कारण औसत आयु छक्कै पर्नेगरि वृद्धि भइरहेको छ।
९ रोगहरू कसरी फैलिन्छन् भनेर चिकित्सा विज्ञानले पत्ता लगाउनुभन्दा हजारौं वर्षअघि बाइबलले रोगहरूबाट बच्ने व्यवहारिक सुझाउहरू दिइसकेको थियो। यस्तो स्वास्थ्यकर सुझाउहरूले गर्दा होला मोशाले त्यतिबेलाका इस्राएलीहरू ७०/८० वर्षसम्म बाँच्थे भनेर भन्न सके। (भजन ९०:१०) मोशालाई सरसफाइसम्बन्धी यस्ता नियमहरू कसरी थाह भयो? बाइबल आफैले बताउँछ: व्यवस्थासंग्रह “स्वर्गदूतहरूद्वारा . . . ठहराउनुभयो [“दिइयो,” NW]।” (गलाती ३:१९) हो, बाइबल मानिसहरूको बुद्धिको उपज होइन; परमेश्वरबाट आएको किताब हो।
आधुनिक समयका लागि व्यवहारिक किताब
१०. बाइबल लेख्न सकिएको झन्डै २,००० वर्ष बितिसकेको भए तापनि यसमा भएका सुझाउबारे के चाहिं भन्न सकिन्छ?
१० किताबहरूले दिने सल्लाहहरू प्रायः छिटै पुराना हुन्छन् र चाँडै नयाँ सल्लाहहरू लेखेर पुनः छपाइन्छन् वा नयाँ किताबहरू तयार पारिन्छन्। तर यस सम्बन्धमा बाइबल साँच्चै विशिष्ट छ। भजन ९३:५ भन्छ, “तपाईंका साक्षीवचनहरू साह्रै पक्का छन्।” बाइबल लेख्न सकिएको झन्डै २,००० वर्ष बितिसक्यो तैपनि यसका शब्दहरू अझै पनि व्यवहारिक हुन्छन्। अनि हामी जुनसुकै वर्णका होऔं वा जुनसुकै मुलुकमा बसेका होऔं, यसका सल्लाहहरू सबैमाथि उत्तिकै व्यवहारिक हुन्छन्। बाइबलका चिरकालीन र “साह्रै पक्का” सल्लाहका केही नमुना विचार गर्नुहोस्।
११. छोराछोरीलाई अनुशासन दिने सम्बन्धमा केही दशकअघिसम्म प्रायजसो आमाबाबु के विश्वास गर्थे?
११ केही दशकअघिसम्म प्रायजसो आमाबाबु “नयाँ विचारधाराले” प्रेरित भई बालकलाई “अनुशासन दिनु हुन्न” भन्ने विचार राख्थे। केटाकेटीलाई सीमा तोक्दा तिनीहरूलाई भावनात्मक चोट पुग्नसक्छ, हतोत्साहित हुनसक्छन् भनेर उनीहरू डराउँथे। असल मनसाय भएका परामर्शदाताहरू केटाकेटीलाई हल्काफुल्का अनुशासनबाहेक अरू अनुशासन पटक्कै दिनु हुँदैन भनेर जोड दिन्थे। तर त्यस्ता थुप्रै विशेषज्ञहरू अहिले “आमाबाबुलाई अलि कडा हुन र बच्चाहरूलाई अनुशासनमा राख्न आग्रह गर्दैछन्,” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ।
१२. “अनुशासन” भनी अनुवाद गरिएको युनानी शब्दले के बोध गराउँछ र केटाकेटीहरूलाई यस्तो अनुशासनको आवश्यकता किन पर्छ?
१२ तथापि, बच्चा हुर्काउने सम्बन्धमा बाइबलले स्पष्ट, सन्तुलित सल्लाह प्रस्तुत गरेको छ। बाइबल यस्तो सल्लाह दिन्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यहाँ “अनुशासन” भनी अनुवाद गरिएको युनानी शब्दले “पालन पोषण गर्ने, प्रशिक्षण दिने, निर्देशन दिने” जस्ता कुरा बोध गराउँछ। यस्तो अनुशासन वा निर्देशन आमाबाबुको मायाको प्रमाण हो भनेर बाइबल बताउँछ। (हितोपदेश १३:२४) सुस्पष्ट नैतिक निर्देशनहरू पाउँदा बच्चाहरू फल्छन्, फुल्छन् र ती निर्देशनहरूले तिनीहरूलाई ठीक बेठीक छुट्याउनसक्ने क्षमता विकास गर्न मदत गर्छ। अनुशासन उचित ढंगमा दिइएको छ भने बच्चाहरू सुरक्षित महसुस गर्छन् अनि आमाबाबुले तिनीहरूको कति चिन्ता गर्छन् र आफू कस्तो किसिमको व्यक्ति बन्दैछु, थाह पाउँछन्।—हितोपदेश ४:१०-१३ तुलना गर्नुहोस्।
१३. (क) अनुशासन दिने सन्दर्भमा बाइबलले आमाबाबुलाई कस्तो चेताउनी दिन्छ? (ख) बाइबलले कस्तो अनुशासन दिनु भन्ने सुझाउ दिन्छ?
१३ तर अनुशासन दिने सन्दर्भमा बाइबलले आमाबाबुलाई सतर्क पनि गराउँछ। आमाबाबुले आफ्नो अख्तियारको कहिल्यै दुरुपयोग गर्नु हुँदैन। (हितोपदेश २२:१५) कुनै पनि बच्चालाई क्रूर सजायँ दिनु हुँदैन। बाइबलअनुरूप जीवन बिताउने परिवारमा शारीरिक हिंसाको निम्ति कुनै ठाउँ छैन। (भजन ११:५) नता बच्चाको मनोबल खत्तम पार्नसक्ने कठोर शब्दहरू, निरन्तर आलोचना गरिरहने र मनै भाँचिने छेडपेच गर्ने भावनात्मक हिंसालाई नै स्थान छ। (हितोपदेश १२:१८ तुलना गर्नुहोस्।) बुद्धिमानीसाथ बाइबल आमाबाबुलाई यो चेताउनी दिन्छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१) बाइबलले पहिल्यै सतर्क हुनुपर्ने सुझाउ दिन्छ। व्यवस्था ११:१९ मा आमाबाबुलाई फुर्सतको समयको फाइदा उठाएर बच्चाहरूको मनमा नैतिक तथा आध्यात्मिक मूल्य तथा मान्यताहरू ठप्प बसाल्न आग्रह गरिएको छ। बच्चा हुर्काउने सम्बन्धमा दिइएका यस्ता स्पष्ट, तार्किक सल्लाह बाइबल लेखिएको समयमा जत्तिकै आज पनि प्रासंगिक छ।
१४, १५. (क) बाइबलले बुद्धिमान् सल्लाहहरू मात्र नभई के पनि दिन्छ? (ख) बाइबलको कुन चाहिं शिक्षाले भिन्नाभिन्नै जाति र राष्ट्रका मानिहरूलाई समान सम्झन मदत दिन्छ?
१४ बाइबलमा बुद्धिमान् सल्लाहहरू मात्र छैनन्। यसको सन्देशले मनलाई लोभ्याउँछ, प्रफुल्लित गराउँछ। हिब्रू ४:१२ यसो भन्छ: “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” बाइबलमा उत्प्रेरणा दिने शक्ति छ भनेर बुझाउने यो एउटा उदाहरण विचार गर्नुहोस्।
१५ आजभोलि मानिसहरू जाति, राष्ट्र तथा वर्णको तगारोले गर्दा विभाजित छन्। यस्ता तगारोहरूले गर्दा संसारभरि निर्दोष मानिसहरू युद्धमा अन्धाधुन्ध मरिरहेका छन्। तर बाइबलले भिन्नाभिन्न जाति र राष्ट्रका मानिसहरूलाई आफू समानै सम्झनुपर्छ भन्ने शिक्षा दिन्छ। जस्तै, परमेश्वरले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनी प्रेरित १७:२६ बताउँछ। यसको अर्थ वास्तवमा जाति केवल एउटै छ र त्यो हो—मानव जाति! बाइबलले अझ हामीलाई “परमेश्वरका देखा-सिकी गर्नेहरू होओ” भनेर पनि प्रोत्साहित गर्छ किनकि परमेश्वर “मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (एफिसी ५:१; प्रेरित १०:३४, ३५) बाइबलका शिक्षाअनुरूप जीवन व्यतीत गर्न चाहने व्यक्तिलाई यस्तो ज्ञानले तँ-तँ, म-म होइन तर हामी भन्न सिकाउँछ। त्यसले व्यक्तिविशेषको हृदयलाई असर गर्छ र मानिस-मानिसबीच फूट ल्याउने जति पनि तगारोहरू छन् त्यसलाई पगालिदिन्छ। तर के यसले आज पनि साँच्चै काम गर्छ?
१६. यहोवाका साक्षीहरू वास्तवमा अन्तरराष्ट्रिय भ्रातृत्वमा बाँधिएका छन् भनेर देखाउने एउटा अनुभव बताउनुहोस्।
१६ पक्कै गर्छ! यहोवाका साक्षीहरू आफ्नो भ्रातृत्वका लागि चिरपरिचित छन्। सामान्यतया आपसमा मिलेर नबस्ने भिन्नाभिन्नै पृष्ठभूमिका मानिसहरूलाई पनि यस अन्तरराष्ट्रिय भ्रातृत्वले आपसमा बाँधेको छ। उदाहरणका लागि, रूवाण्डामा जातीय दंगा हुँदा एक जातीय समूहका यहोवाका साक्षीहरूले आफ्नो ज्यानको बाजी लगाएर अर्को जातीय समूहका आफ्ना मसीही भाइबहिनीहरूलाई जोगाए। एउटा यस्तो घटना पनि भयो, एक जना हुटु साक्षीले आफ्नो मण्डलीका छ सदस्य भएको टुट्सी परिवारलाई आफ्नो घरमा लुकाए। तर दुःखको कुरा अन्ततः ती टुट्सी परिवार फेला परे र मारिए। त्यसपछि त्यस हुटु भाइ र तिनको परिवारले ती हत्याराहरूको क्रोधबाट बच्न तान्जानियातर्फ भाग्नुपऱ्यो। यस्ता थुप्रै रिपोर्टहरू गरिएका थिए। यस्तो एकता कायम राख्नु पक्कै सम्भव छ भनेर यहोवाका साक्षीहरू स्वीकार्छन् किनकि बाइबलमा भएको उत्प्रेरक शक्तिले तिनीहरूमा गहिरो छाप पारेको छ। घृणाले भरिएको यस संसारमा बाइबलले मानिसहरूलाई एकतामा बाँध्नसक्नु पनि बाइबल परमेश्वरबाटै आएको हो भन्ने सशक्त प्रमाण हो।
साँचो भविष्यवाणीहरूको किताब
१७. बाइबलका भविष्यवाणीहरू कसरी मानव-कल्पित पूर्वानुमानहरू जस्ता छैनन्?
१७ दोस्रो पत्रुस १:२० भन्छ, “कुनै धर्मशास्त्रको कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन।” बाइबलका भविष्यवक्ताहरूले संसारमा भइरहेका घटनाहरूलाई राम्ररी केलाइसकेपछि हुनसक्ने कुराहरूको लख काटेर भविष्यवाणी गरेका होइनन्। न तिनीहरूले भविष्यमा हुनसक्ने जुनसुकै घटनासित पनि ठ्याक्क मिलाउनसकिने अस्पष्ट र विभिन्न अर्थ लगाउनसकिने पूर्वानुमान लगाएका हुन्थे। आउनुहोस्, सुस्पष्ट र तत्कालीन मानिसहरूको अनुमानभन्दा एकदमै विपरीत पूर्वानुमान लगाइएको बाइबलको एउटा भविष्यवाणी विचार गरौं।
१८. किन पुरातन बाबेलका बासिन्दाहरू सुरक्षित महसुस गर्थे भनेर निसंकोचसाथ भन्न सकिन्छ यद्यपि, बाबेलबारे यशैयाले के भविष्यवाणी गरे?
१८ बेबिलोनी साम्राज्यको राजधानी बाबेल सा.यु.पू. सातौं शताब्दीसम्म अजेय भने पनि हुने स्थितिमा पुगिसकेको थियो। बाबेल शहर युफ्रेटिस नदीमा बसालिएको हुँदा नदीको सदुपयोग गरेर यत्रतत्र फराकिलो अनि गहिरा नहरहरू बनाइएका थिए। शहरलाई दुई दुइटा अग्ला पर्खालहरूले पनि घेरेको थियो र पर्खालको बीचबीचमा सामरिक महत्त्वका थुप्रै किल्लाहरू थिए। अतः बाबेल शहरवासीहरूले आफू निकै सुरक्षित भएको महसुस गर्नु स्वाभाविक हो। यद्यपि, सा.यु.पू. आठौं शताब्दीमा अर्थात् बाबेल आफ्नो गौरवको चरमसीमामा पुग्नुअगावै भविष्यवक्ता यशैयाले यस्तो अगमवाणी गरे: “बाबेल . . . चाहिं सदोम र गमोरालाई परमेश्वरले पल्टाउनुहुँदा गर्नुभएझैं नाश गर्नुहुनेछ। त्यसको कहिल्यै आबादी हुनेछैन। पुस्तौंसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्नदिनेछैनन्।” (यशैया १३:१९, २०) नबिर्सनुहोस्, भविष्यवाणीअनुसार बाबेल नाश मात्र पारिने होइन तर त्यहाँ कहिल्यै आबादी पनि हुने थिएन। कति निर्भीक पूर्वानुमान! के यशैयाले यो भविष्यवाणी बाबेलको नाश देखेपछि लेखेका हुनसक्छन्? इतिहास जवाफ दिन्छ, हुनसक्दैन!
१९. यशैयाले गरेका भविष्यवाणी सा.यु.पू. ५३९, अक्टोबर ५ मा सम्पूर्णतया कसरी पूरा भएन?
१९ कोरेसको नेतृत्वमा आएको मादी र फारसीहरूका सिपाहीहरूको हातबाट सा.यु.पू. ५३९, अक्टोबर ५ को रात बाबेल पराजित भयो। तथापि, त्यतिखेर यशैयाले गरेका भविष्यवाणी सबै पूरा भइसकेको थिएन। कोरेसले बाबेल कब्जा गरेपछि त्यो पहिलेजस्तै वैभवशाली अवस्थामा नरहे तापनि शताब्दीयौंसम्म आबाद नै रह्यो। मृत सागरमा फेला परेको यशैयाको सम्पूर्ण किताब सा.यु.पू. दोस्रो शताब्दीका थिए। यसको प्रतिलिपि बनाइरहेको बेला बाबेल पार्थियनहरूको कब्जामा पारिसकेको थियो। त्यसताक बाबेलको बैभवले गर्दा वरपरका राष्ट्रहरू त्यसलाई हातमा पार्न आपसमा लडिरहन्थे। यहूदी इतिहासकार जोसेफसको रिपोर्टअनुसार सा.यु.पू. प्रथम शताब्दीतिर बाबेलमा “थुप्रै” यहूदीहरू बसोबास गर्थे। द क्याम्ब्रिज एन्सियन्ट हिस्ट्री-अनुसार प्यालमेरिनी व्यापारीहरूले सा.यु. २४ मा बाबेलमा एउटा सफल व्यापारिक केन्द्र नै स्थापित गरिसकेका थिए। अतः सा.यु. प्रथम शताब्दीसम्ममा पनि बाबेल पूर्णतया उजाड भइसकेको थिएन; यद्यपि, यशैयाले यसभन्दा निकै अघि आफ्नो किताब लेख्न सिध्याइसकेका थिए।—१ पत्रुस ५:१३.
२०. अन्ततः बाबेल “उजाड़को ढेर” भयो भन्ने के प्रमाण छ?
२० बाबेल उजाड भएको यशैयाले देख्न पाएनन्। तर भविष्यवाणी गरेझैं अन्ततः बाबेल “उजाड़को ढेर” भयो। (यर्मिया ५१:३७) हिब्रू विद्वान् जेरोमअनुसार (सा.यु. चौथो शताब्दीमा जन्मेका) तिनको समयमा बाबेल “हर प्रकारको जंगली जनावर” पाइने शिकार खेल्ने थलो भइसकेको थियो। बाबेल अहिले हाम्रो समयसम्म पनि उजाडै छ। पर्यटन क्षेत्रको रूपमा बाबेलको जीर्णोद्धार गरेमा सायद मानिसहरूको भीड लाग्ला तर यशैयाले भविष्यवाणी गरेअनुसार बाबेलको “सन्तान दर–सन्तान” सधैं सधैंका लागि हराइसके।—यशैया १४:२२.
२१. विश्वासी भविष्यवक्ताहरूले एक एक विवरण सत्य हुनेगरि कसरी पहिल्यै भविष्यबारे बताउनसके?
२१ भविष्यवक्ता यशैयाले भइरहेका कुराहरू राम्ररी केलाइसकेपछि हुनसक्ने कुराहरूको लख काटेका थिएनन्। नता तिनले भविष्यवाणी गरेजस्तै देखियोस् भन्ने हेतुले इतिहास दोहऱ्याएर लेखेका थिए। यशैया साँचो भविष्यवक्ता थिए। त्यसैगरि, बाइबलका अन्य विश्वासी भविष्यवक्ताहरू पनि सत्य थिए। अरू कसैले पनि गर्न नसकेको काम अर्थात् एक एक विवरण सत्य हुनेगरि यी पुरुषहरूले कसरी भविष्यवाणी गर्नसके? जवाफ स्पष्ट छ। यी भविष्यवाणीहरूको स्रोत “आदिदेखि अन्तसम्मको . . . कुराहरू . . . घोषणा” गर्नुहुने भविष्यवाणीका परमेश्वर, यहोवा हुनुहुन्थ्यो।—यशैया ४६:१०.
२२. इमानदार हृदय भएका मानिसहरूलाई व्यक्तिगत तवरमा आफैले बाइबल जाँच्न यथाशक्य किन आग्रह गर्नुपर्ने हो?
२२ त्यसो भए, के बाइबल जाँच्न योग्यको छ? पक्कै पनि छ! तर धेरै मानिसहरू विश्वस्त छैनन्। बाइबल कहिल्यै नपढेको भए तापनि त्यसबारे तिनीहरूको आफ्नै धारणा छ। यसअघिको लेखको सुरुमा उल्लेख गरिएका प्राध्यापकलाई सम्झनुहोस्। तिनी बाइबल अध्ययन गर्न सहमत भए र बाइबललाई राम्ररी जाँचिसकेपछि यो परमेश्वरबाट आएको किताब हो भन्ने निष्कर्षमा पुगे। अन्ततः तिनले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिए र आज तिनी एक प्राचीनको रूपमा सेवा गर्दैछन्! इमानदार हृदय भएका मानिसहरूलाई व्यक्तिगत तवरमा आफैले बाइबल जाँच्न र जाँचिसकेपछि मात्र त्यसबारे विचार व्यक्त गर्न यथाशक्य आग्रह गरौं। हामी विश्वस्त छौं, तिनीहरू आफैले इमानदारीसाथ जाँचेमा यो विशिष्ट किताब, बाइबल साँच्चै सबैका लागि उपयोगी किताब हो भनेर बुझ्नेछन्!
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ बाइबल मानिसको उपज होइन भनेर देखाउन तपाईं मोशालाई दिइएको व्यवस्था कसरी प्रयोग गर्न सक्नुहुन्छ?
◻ बाइबलका कुन चिरकालीन सिद्धान्तहरू आधुनिक जीवनका लागि पनि व्यवहारिक छन्?
◻ यशैया १३:१९, २० मा लेखिएको भविष्यवाणी किन पूरा भइसकेपछि लेखिएको हुनसक्दैन?
◻ हामीले इमानदार हृदय भएका मानिसहरूलाई के गर्न प्रोत्साहन दिनुपर्ने हो र किन?
[पृष्ठ १९-मा भएको पेटी]
प्रमाणित गर्न नसकिने कुराहरूलाई के गर्ने?
बाइबलमा कतिपय यस्ता विवरणहरू छन् जसका भौतिक प्रमाणहरू पर्याप्त छैनन्। उदाहरणका लागि, आत्मिक व्यक्तिहरूको संसारबारे बाइबलमा जति पनि कुराहरू उल्लेख छन् त्यसलाई वैज्ञानिक तवरमा न झूटो न सत्य नै साबित गर्न सकिन्छ। के यस्ता अप्रमाणित प्रसंगहरूको मतलब बाइबल विज्ञानसित मेल खाँदैन?
केही वर्षअघि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन थालेका एक भूउपग्रहशास्त्रीको मनमा यस्तै प्रश्न उब्जेको थियो। तिनी सम्झन्छन्, “बाइबलका केही विवरणहरू वैज्ञानिक तवरमा प्रमाणित गर्न नसकेकोले सुरुमा त बाइबल ग्रहण गर्न मलाई निकै गाह्रो भएको थियो।” तैपनि उक्त निष्कपट मानिसले बाइबल अध्ययन गर्न छाडेनन् र प्राप्त प्रमाणहरूको आधारमा बाइबल परमेश्वरकै वचन हो भनेर अन्ततः तिनी विश्वस्त भए। तिनी बताउँछन्, “यसरी बाइबलका प्रत्येक तथ्यहरूको अलग अलग प्रमाण खोज्ने मेरो धोको कम भयो। वैज्ञानिक कुराहरूप्रति झुकाउ भएको व्यक्तिले बाइबललाई आध्यात्मिक नजरले जाँच्न इच्छुक हुनैपर्छ, नत्रता उसले कहिल्यै सत्य स्वीकार्न सक्नेछैन। बाइबलको प्रत्येक विवरणलाई विज्ञानले पुष्टि गर्नसक्छ भनेर आशा गर्न सकिंदैन। तर केही विवरणहरू प्रमाणित गर्न सकिंदैन भन्दैमा सम्पूर्ण विवरण नै असत्य हो भन्नु मिल्दैन। महत्त्वपूर्ण कुरा त यही हो, प्रमाणित गर्नसकिने जुनसुकै क्षेत्रमा बाइबलको सही विवरण सत्य साबित भएको छ।”
[पृष्ठ १७-मा भएको चित्र]
मोशाले सरसफाइसम्बन्धी तत्कालीन मानिसहरूलाई थाह नभएको विधिविधानहरू लिपिबद्ध गरे