इपाफ्रोडाइटस फिलिप्पीहरूका दूत
पावलले “तिनलाई ज्यादै आनन्दसाथ प्रभुमा ग्रहण गर, यस्ताहरूलाई आदरणीय जान” भनेर फिलिप्पीहरूलाई लेखे। यस्तै तरिकामा मसीही निरीक्षकले हाम्रो प्रशंसा गरे भने हामी पनि पक्कै खुशी हुनेथियौं। (फिलिप्पी २:२९) तर पावल कसको विषयमा कुरा गर्दैथिए? अनि त्यस व्यक्तिले यस्तो न्यानो सिफारिस प्राप्त गर्न योग्यको हुन त्यस्तो के काम गरेका थिए?
पहिलो प्रश्नको जवाफ हो, इपाफ्रोडाइटस। अनि दोस्रो प्रश्नको जवाफ पाउन आउनुहोस्, पावललाई यी शब्दहरू लेख्न कुन कुराले उत्प्रेरित गऱ्यो, त्यो विचार गरौं।
लगभग सा.यु. ५८ मा पावललाई यरूशलेमको मन्दिरबाट लघारेको, क्रुद्ध जत्थाले पिटेको, अख्तियारवालाले पक्रेको र के गर्ने हो थाह नपाएर अख्तियारवालाहरूले उनलाई साङ्लाले बाँधेर रोममा सारेको फिलिप्पीहरूले सुने। (प्रेरित २१:२७-३३; २४:२७; २७:१) पावलको चिन्ता लागेर तिनीहरूले उनको निम्ति के गर्नसक्छन्, त्यस विषयमा सोचेको हुनुपर्छ। तिनीहरू भौतिक तवरमा गरिब र पावलबाट निकै टाढा भएकोले सीमित तरिकामा मात्र मदत गर्नसक्थे। यद्यपि, विगतमा जुन न्यानो भावले पावललाई सेवकाईमा समर्थन गर्न फिलिप्पीहरू उत्प्रेरित भएका थिए, त्यस भावले तिनीहरूलाई अहिले पनि उत्प्रेरित गरिरहेको थियो। भनौं भने, पावल कठिन अवस्थामा परेकोले तिनीहरूमा यो भाव अझ धेरै थियो।—२ कोरिन्थी ८:१-४; फिलिप्पी ४:१६.
फिलिप्पीहरूले कोसेलीसहित पावललाई भेट्न र चाहिएको मदत दिन तिनीहरूमध्ये कुनै एक जनालाई पठाउने विचार गरेकै हुनुपर्छ। तर यो यात्रा निकै लामो र थकाइलाग्दो हुनुका साथै पावललाई मदत गर्नु खतरनाक पनि हुनसक्थ्यो! योआकिम ग्निलक यसो भन्छन्: “कैदीलाई भेट्न साहस चाहिन्थ्यो। त्यसमाथि पनि कुन अभियोगमा ‘अपराधी’ ठहराइएको हो, त्यो नप्रष्टिएको कैदीलाई भेट्न त निकै साहस चाहिन्थ्यो।” लेखक ब्रायन राप्स्की भन्छन्: “कैदीसित अत्यन्त घनिष्ठ हुनु वा ऊ वा उसको दृष्टिकोणप्रति सहानुभूति मात्र प्रकट गर्नु पनि अर्को खतरा थियो। . . . अनजानमा भनिएको शब्द वा गरिएको कार्यले कैदीको मात्र होइन तर आगन्तुकको समेत सर्वनाश गर्नसक्थ्यो।” त्यसोभए फिलिप्पीहरू कसलाई पठाउनसक्थे?
यस्तो यात्राले कति चिन्ता र अनिश्चितता उत्पन्न गर्नसक्छ, हामी कल्पना गर्नसक्छौं। तैपनि इपाफ्रोडाइटस (कलस्सीका इप्राफास नभन्ठान्नुहोस्) त्यस्तो कठिन विशेष कार्यमा जान इच्छुक थिए। तिनको नाउँमा आफ्रोडाइट नाउँ गाभिएकोले तिनी मसीही धर्म अँगाल्ने अन्यजाति अर्थात् प्रेम र सन्तानोत्पादनकी युनानी देवीका भक्त आमाबाबुको छोरा हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ। फिलिप्पीहरूले देखाएको उदारताको निम्ति धन्यवाद ज्ञापन गर्दै पत्र लेख्दा पावलले इपाफ्रोडाइटसलाई “मेरो दरकारमा तिमीहरूका . . . दूत र सेवक” भनेर सही तरिकामा वर्णन गर्नसक्थे।—फिलिप्पी २:२५.
इपाफ्रोडाइटसबारे बाइबलमा उल्लेख गरिएको कुराको आधारमा तिनले आफैलाई पावल र आफ्नो मण्डलीको सेवा गर्न प्रशंसनीय तत्परता देखाएका थिए। यसको अलावा इपाफ्रोडाइटसले भोगेका समस्याहरू हामीले पनि भोग्नसक्छौं भनेर हामी बुझ्नसक्छौं। आउनुहोस्, तिनको उदाहरण विचार गरौं।
“मेरो दरकारमा . . . सेवक”
हामीलाई विस्तृत विवरण त थाह छैन तर रोम आइपुग्दा इपाफ्रोडाइटस निकै थाकेको हुनुपर्छ भन्ने अनुमान चाहिं लगाउनसक्छौं। शायद तिनले म्यासिडोनिया भएर जाने रोमको भीआ एग्नाटीआ मार्गबाट यात्रा गरेको हुनुपर्छ। अड्रियाटिक पार गरेर तिनी इटाली प्रायद्वीपको “कुर्कुच्चो” मास्तिर अर्थात् अप्पियान वे हुँदै रोमतर्फ लागेको हुनसक्छ। झन्डै एक महिनाभन्दा बढी लाग्ने त्यो यात्रा (एकतर्फी १,२०० किलोमिटर) असाध्यै थकाइलाग्दो हुन्थ्यो।—पृष्ठ २९ को पेटी हेर्नुहोस्।
इपाफ्रोडाइटसले कस्तो मनोभाव लिएर यात्रा थाले? पावललाई “सेवा” वा लेइटोरगिया चढाउन तिनी खटाइएका थिए। (फिलिप्पी २:३०) यो युनानी शब्दले मूलतः एक नागरिकले स्वेच्छापूर्वक राष्ट्रको लागि गर्ने कार्यलाई संकेत गर्छ। तर पछि गएर यो शब्दको अर्थ एउटा राष्ट्रले अनिवार्य रूपमा आफ्ना नागरिकहरूबाट माग गर्ने सेवा हुनगयो। युनानी धर्मशास्त्रमा यसको प्रयोगबारे एक शास्त्रविद्ले यसो भने: “परमेश्वर र मानिसहरूको निम्ति काम गर्ने व्यक्ति नै मसीही हो। किनकि सबैभन्दा पहिला ऊ आफ्नो सम्पूर्ण हृदयले त्यसो गर्न चाहन्छ र दोस्रो, ऊ बाध्य छ किनकि ख्रीष्टको प्रेमले उसलाई करमा पार्दछ।” हो, इपाफ्रोडाइटसले कस्तो अत्युत्तम मनोवृत्ति देखाए!
‘तिनले आफ्नो प्राणलाई खतरामा पारे’
जुवाडे भाषाबाट पैंचो लिइएको शब्द प्रयोग गर्दै पावलले भने, इपाफ्रोडाइटसले ‘आफ्नो प्राण खतरामा [पाराबोलेउसामेनोस] पारे,’ वा ख्रीष्टको सेवाका लागि आफ्नो जीवन साँच्चै “बाजी” लगाए। (फिलिप्पी २:३०) इपाफ्रोडाइटसले मुर्ख्याइँ गरे भन्नु होइन तर तिनको पवित्र कार्य पूरा गर्नुमा एक प्रकारको खतरा बिथोलित थियो भनेर हामीले सोच्नुपर्छ। शायद खराब मौसममा तिनले त्यस विशेष उद्धार कार्य थालेका थिए कि? कतै बाटोमा बिरामी परे तापनि यात्रा सफल गर्न खोजिरहेका थिए कि? जे होस्, इपाफ्रोडाइटस “मरणान्त बिरामी” भए। पावलको सेवा गर्न तिनले अलिक धेरै समय त्यहाँ बस्ने विचार गरेका थिए होलान्। त्यसैकारण उक्त प्रेरितले तिनलाई प्रत्याशित समयभन्दा अगावै फिर्ता पठाउनु परेको कारण खुलाएको हुनुपर्छ।—फिलिप्पी २:२७.
जे होस्, खाँचोमा परेकाहरूलाई निःस्वार्थ मदत दिन इच्छुक इपाफ्रोडाइटस साहसी व्यक्ति थिए।
हामी आफैलाई सोध्नसक्छौं, ‘कठिन परिस्थितिमा परेका मेरा आध्यात्मिक भाइहरूलाई म कुन हदसम्म मदत गर्ने यत्न गर्छु?’ यस्तो तत्परताको मनोभाव मसीहीहरूका लागि छनौटको विषय होइन। येशूले भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” (यूहन्ना १३:३४) “मरणान्त बिरामी” होउञ्जेल इपाफ्रोडाइटस आफ्नो सेवामा लागिरहे। अतः फिलिप्पीहरूलाई जुन “मनस्थिति” राख्न पावलले प्रोत्साहन दिए, त्यसको उदाहरण त्यतिखेर इपाफ्रोडाइटस थिए। (फिलिप्पी २:५, ८, ३०, किङडम इन्टरलिनियर) के हामी पनि त्यस हदसम्म तयार छौं?
तैपनि, इपाफ्रोडाइटस निराश भए। किन?
तिनको निराशा
आफूलाई इपाफ्रोडाइटसको ठाउँमा राख्नुहोस्। पावलले यस्तो विवरण दिए: “तिनले तिमीहरू सबैका निम्ति अति तिर्सना गर्दथिए, किनकि तिनी बिरामी भएको खबर तिमीहरूले सुनेकोले तिनी ज्यादै व्याकुल भएका थिए।” (फिलिप्पी २:२६) तिनी बिरामी भएको र उनीहरूको आशाबमोजिम पावललाई केही मदत गर्न नसकेको खबर मण्डलीका भाइहरूले पाए भनेर इपाफ्रोडाइटसलाई थाह थियो। वास्तवमा इपाफ्रोडाइटसले पावललाई झन् चिन्तित तुल्याएजस्तो देखिन्थ्यो। इपाफ्रोडाइटसको हेरविचार गर्दा पावलका औषधीवेत्ता मित्र लूकाले के अन्य कुराहरू पनि बेवास्ता गर्नुपऱ्यो होला?—फिलिप्पी २:२७, २८; कलस्सी ४:१४.
सम्भवतः यस्तै परिस्थितिले गर्दा इपाफ्रोडाइटस निराश भए। शायद मण्डलीका भाइहरूले आफूलाई असमर्थ सम्झेको कल्पना तिनले गरे होलान्। तिनी दोषी महसुस गर्दैथिए होलान् र आफूलाई विश्वासी साबित गर्न तिनीहरूको “अति तिर्सना” गर्दैथिए होलान्। पावलले इपाफ्रोडाइटसको “निराशा” बुझाउन निकै जोडदार युनानी शब्द आदेमोनियो प्रयोग गरे। शास्त्रविद् जे. बि. लाइटफूटअनुसार यो शब्दले “अस्वस्थता वा मानसिक व्यथाको कारण अन्योलमा परेको, अस्थिर भएको, मन डुलेको अथवा शोक, लाज, नैराश्यलाई” संकेत गर्छ। युनानी धर्मशास्त्रमा त्यस शब्दको एक मात्र प्रयोग गेतसमनीको बगैंचामा येशूको तीव्र पीडालाई बुझाउन गरिएको छ।—मत्ती २६:३७.
इपाफ्रोडाइटसलाई फिलिप्पी फिर्ता पठाउनुको र फिलिप्पीहरूको उक्त दूत किन छिट्टै फिर्ता पठाइँदैछन्, त्यसको कारण खुलाएर पत्र लेख्नु पावललाई असल लाग्यो। इपाफ्रोडाइटसलाई फिर्ता पठाउने आफू हो भनी स्वीकार्दै पावलले “तिमीहरूकहाँ पठाउनलाई आवश्यक ठानेको छु,” भनेर लेख्दा इपाफ्रोडाइटस असफल भए भन्ठानेर उठ्नसक्ने शंका उपशंका हट्नसक्थ्यो। (फिलिप्पी २:२५) भनौं भने, आफ्नो विशेष कार्य पूरा गर्ने क्रममा इपाफ्रोडाइटसले झन्डै आफ्नो ज्यान गुमाए! त्यसैकारण पावलले फिलिप्पीहरूलाई यस्तो हार्दिक सिफारिस गरे, “तिनलाई ज्यादै आनन्दसाथ प्रभुमा ग्रहण गर, र यस्ताहरूलाई आदरणीय जान। किनभने मतर्फको तिमीहरूको सेवामा घटी भएको पूरा गर्नालाई आफ्ना प्राणलाई जोखिममा पारेर ख्रीष्टको कामको निम्ति तिनी मृत्युको मुखसम्मै पुगे।”—फिलिप्पी २:२९, ३०.
“यस्ताहरूलाई आदरणीय जान”
इपाफ्रोडाइटसको जस्तै मनोवृत्ति राख्ने पुरुष तथा स्त्रीहरू साँच्चै मूल्यांकन योग्य छन्। सेवा गर्न तिनीहरूले त्याग गर्छन्। आफ्नो घरबाट निकै टाढा गएर मिसनरी, परिभ्रमण निरीक्षकहरूको रूपमा अथवा वाच टावर सोसाइटीको कुनै एउटा शाखा कार्यालयमा सेवा गर्न अर्पित व्यक्तिहरूलाई विचार गर्नुहोस्। केही जनहरू एक समय जे गर्थे, हाल उमेर र अस्वस्थताको कारण त्यसो गर्न असमर्थ भए तापनि तिनीहरूको विश्वासी सेवाका लागि तिनीहरू आदरणीय र सम्माननीय छन्।
तैपनि, कमजोर तुल्याउने बिमारी पनि निराशा वा दोषी भावको स्रोत हुनसक्छ। त्यस्तो व्यक्ति अझ धेरै गर्न चाहन्छ। कति दुखःलाग्दो कुरा! यस्तै परिस्थितिमा परेकाहरूले इपाफ्रोडाइटसलाई सम्झनसक्छन्। जेसुकै होस्, के बिरामी हुनु तिनको दोष थियो? पक्कै पनि थिएन! (उत्पत्ति ३:१७-१९; रोमी ५:१२) परमेश्वर र आफ्ना भाइहरूको सेवा गर्ने इच्छा इपाफ्रोडाइटसको थियो तर बिमारीको कारण तिनको इच्छा अधुरै रह्यो।
पावलले इपाफ्रोडाइटसलाई तिनी निराश भए भनेर हप्काएनन् बरु तिनलाई सहारा दिनू भनी फिलिप्पीहरूलाई भने। त्यसैगरि, हाम्रा भाइहरू दुःखी हुँदा तिनीहरूलाई पनि सान्त्वना दिनुपर्छ। साधारणतया, तिनीहरूले विश्वासी भई गरेको सेवाको हामी प्रशंसा गर्नसक्छौं। पावलले इपाफ्रोडाइटसको मूल्यांकन गर्दा अनि तिनको विषयमा असल कुरा गर्दा तिनलाई सान्त्वना मिल्नुका साथै तिनको निराशा कम भएको हुनुपर्छ। हामी पनि पक्का हुनसक्छौं, ‘हाम्रो काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा हामीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।’—हिब्रू ६:१०.
[पृष्ठ २९-मा भएको पेटी]
यात्राका कठिनाइहरू
हिजोआज दुइ महत्त्वपूर्ण युरोपेली शहरहरूमा यात्रा गर्नु इपाफ्रोडाइटसको यात्राजति कठिन नहोला। जेट विमानमा सररर उडेर एक वा दुइ घण्टामै आरामसित यात्रा पूरा गर्नसकिन्छ। तर प्रथम शताब्दीमा यसप्रकारको यात्रा गर्नु एकदमै भिन्न कुरा थियो। त्यतिखेर एक ठाउँबाट अर्को ठाउँमा जानुको अर्थ कठिनाइ भोग्नु थियो। पदयात्रीले दिनको ३० देखि ३५ किलोमिटर मात्र यात्रा गर्नसक्थ्यो भने खराब मौसम, विभिन्न खतराहरू र “डाँकूहरूको” डर पनि त्यतिकै हुन्थे।—२ कोरिन्थी ११:२६.
अनि गाँसबासबारे चाहिं के भन्न सकिन्छ?
रोमी मार्गहरूमा “मान्स्योनेस अर्थात् भण्डारहरू, तबेलाहरू र आफ्ना कामदारहरूको निम्ति आवासस्थानहरू भएका राम्रा होटेलहरू हुन्थे। अनि दुइटा चल्ती मान्स्योनेस-बीच अनगिन्ती म्युटाट्योनेस अर्थात् विश्रामस्थलहरू हुन्थे र ती ठाउँहरूमा आफ्नो घोडा वा सवारी फेरबदल गर्न र खानापानी पाइन्थ्यो” भनेर इतिहासकार माइकलएन्जेलो काजान्यो दे आस्भेडो औंल्याउँछन्। यस्ता भट्टीहरू निम्नवर्गका मानिसहरूले भरिने हुँदा ती निकै बदनाम थिए। यात्रुहरूलाई लुट्नुबाहेक होटेलवालाहरूले वेश्यावृत्तिद्वारा पैसा कमाउँथे। यस्ता विश्रामस्थलमा बस्न बाध्य हुनेहरूले आफू “हत्यारा, नाविक, चोर, भागेका कमारा, जल्लाद र मुर्दाबाकस बनाउनेहरूसित सुतिरहेका पाए होलान्। . . . सबैलाई एउटै कप दिइन्थ्यो, पलङ पनि एउटै हुन्थ्यो र सबै एउटै टेबलमा बस्थे” भन्ने टिप्पणी ल्याटिन व्यंग्य कवि जुभेनालले गरे। अन्य पुरातन लेखकहरूले दूषित पानी र मान्छेले टनाटन भरिएको, फोहर, ओसिएको अनि उपियाँले भरिएका कोठाहरूबारे खेद प्रकट गरे।
[पृष्ठ २७-मा भएको चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
रोम
[चित्र]
रोमी जमानाका यात्रु
[स्रोतहरू]
Map: Mountain High Maps® Copyright © 1995 Digital Wisdom, Inc.; Traveler: Da originale del Museo della Civiltà Romana, Roma