मत्तिका अनुसार
६ “मानिसहरूले देखून् भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ+ नत्र त स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ। २ यसकारण तिमीले दानपुण्य* गर्दा कपटीहरूले जस्तो झ्याली नपिट्नू किनकि तिनीहरू मानिसहरूबाट प्रशंसा बटुल्न सभाघर र गल्लीहरूमा झ्याली पिट्छन्। म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्। ३ तर तिमीले दानपुण्य गर्दा तिम्रो दाहिने हातले गरेको काम तिम्रो देब्रे हातले थाह नपाओस् ४ बरु तिम्रो दानपुण्य गुप्तमा गरिएको होस्। तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ।+
५ “साथै जब तिमीहरू प्रार्थना गर्छौ, तब कपटीहरूले जस्तो नगर्नू+ किनभने तिनीहरू सभाघरमा अनि चौबाटोमा उभिएर मानिसहरूले देख्नेगरि प्रार्थना गर्न रुचाउँछन्।+ म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्। ६ तर प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।+ तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ। ७ प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तो एउटै कुरा दोहोऱ्याई नराख किनभने धेरै बोल्यो भने आफ्नो सुनुवाइ हुन्छ भनी तिनीहरू सोच्छन्। ८ त्यसैले तिनीहरूजस्तो नहोओ किनभने तिमीहरूले माग्नुभन्दा अघि नै तिमीहरूलाई के चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।+
९ “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू:+
“‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम+ पवित्र पारियोस्।*+ १० तपाईँको राज्य+ आओस्। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।+ ११ हामीलाई आजको लागि भोजन* दिनुहोस्+ १२ र हाम्रो ऋण* क्षमा गर्नुहोस्, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई* क्षमा गरेका छौँ।+ १३ अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्+ तर त्यस दुष्टबाट* छुटाउनुहोस्।’+
१४ “किनकि यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।+ १५ तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।+
१६ “तिमीहरू उपवास बस्दा+ कपटीहरूले जस्तो उदास अनुहार बनाउन छोड किनभने आफू उपवास बसिरहेको छु भनी मानिसहरूले थाह पाऊन् भनेर तिनीहरू फोहोरी अनुहार लिएर बस्छन्।+ म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्। १७ तर उपवास बस्दा तिमीहरूचाहिँ टाउकोमा तेल लगाओ अनि मुख धोओ १८ ताकि मानिसहरूले होइन तर तिमीहरूको अदृश्य बुबाले तिमीहरू उपवास बसेको थाह पाऊन्। तब सबै कुरा देख्नुहुने तिमीहरूको बुबाले तिमीहरूलाई इनाम दिनुहुनेछ।
१९ “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल,+ जहाँ त्यसलाई किरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्। २० बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार,+ जहाँ त्यसलाई न किराले न खियाले खान्छ+ न त चोरहरूले फोरेर नै लैजान्छन्। २१ किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।
२२ “शरीरको बत्ती आँखा हो।+ त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ। २३ तर यदि तिम्रो आँखा ईर्ष्यालु* छ भने+ तिम्रो पूरै शरीर अँध्यारो हुनेछ। यदि तिम्रो आँखा नै अँध्यारो छ भने तिम्रो शरीर झन् कत्ति अँध्यारो होला!
२४ “कोही पनि दुई मालिकको दास बन्न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ+ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।+
२५ “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ के भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण होइन?+ २६ आकाशका चराचुरुङ्गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन् तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ? २७ तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र?+ २८ साथै लुगाफाटाको विषयमा पनि तिमीहरू किन चिन्ता गर्छौ? मैदानका लिली फूलहरू कसरी बढ्छन्, त्यो हेरेर पाठ सिक। तिनीहरू न परिश्रम गर्छन् न त धागो कात्छन्। २९ तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत+ यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। ३० यदि परमेश्वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्वास कमजोर भएकाहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्न? ३१ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर।+ ३२ किनकि अन्यजातिका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।
३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+ ३४ त्यसैले भोलिको चिन्ता कहिल्यै नगर+ किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।