पहिलो कोरिन्थी
५ भनौँ भने तिमीहरूमाझ अवैध यौनसम्बन्ध*+ राख्ने एक जना मानिस छ भनेर मैले सुनेको छु, यस्तो सम्बन्ध, जुन अन्यजातिका मानिसहरूले समेत राख्दैनन्। तिमीहरूमध्ये कसैले आफ्नै बुबाकी पत्नीलाई राखेको छ रे।+ २ के तिमीहरू यो कुरामा घमन्ड गर्छौ? बरु तिमीहरूले त शोक गर्नुपर्ने होइन र?+ अनि यस्तो काम गर्ने मानिसलाई आफ्नो बीचबाट हटाउनुपर्ने होइन र?+ ३ म त्यहाँ तिमीहरूकहाँ नभए तापनि मेरो मन त्यहीँ छ र यस्तो काम गर्ने मानिसलाई आफू त्यहीँ उपस्थित भएजस्तै गरी मैले दोषी साबित गरिसकेँ। ४ जब तिमीहरू प्रभु येसुको नाममा भेला हुन्छौ, तब मेरो मन अनि हाम्रा प्रभु येसुको शक्ति पनि तिमीहरूसित हुनेछ। ५ त्यसैले तिमीहरूले त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ+ ताकि त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस् र प्रभुको दिनमा मण्डलीको असल झुकाव सुरक्षित रहोस्।+
६ तिमीहरूले घमन्ड गर्नु ठीक छैन। अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन?+ ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ। ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+
९ अवैध यौनसम्बन्ध* राख्नेहरूसित सङ्गत गर्न छोड्नू भनेर मैले आफ्नो पत्रमा तिमीहरूलाई लेखेको थिएँ १० तर अवैध यौनसम्बन्ध* राख्ने यस संसारका मानिसहरूसित+ वा लोभी मानिसहरूसित वा लुटाहा वा मूर्तिपूजकहरूसित पटक्कै सङ्गत नगर्नू भन्न खोजेको त होइन नत्र त तिमीहरू यस संसारबाट साँच्चै निस्केर जानुपर्नेछ।+ ११ तर अब म त्यस्ता मानिसहरूसित सङ्गत गर्न छोड्नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ। १२ बाहिरकाहरूको न्याय गर्न मलाई के खाँचो? तिमीहरूले भित्रकाहरूकै न्याय गर्नुपर्ने होइन र? १३ बाहिरकाहरूको न्याय त परमेश्वरले नै गर्नुहुन्छ।+ “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”+