दानिएल
१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+
३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+ ४ तिनीहरू कुनै खोट नभएका, हेर्नमा राम्रा अनि बुद्धि, ज्ञान र समझशक्तिले+ भरिपूर्ण अनि राजाको दरबारमा काम गर्न योग्य युवकहरू हुनुपर्थ्यो। अस्पनजले तिनीहरूलाई कल्दियालीहरूको भाषा र साहित्य सिकाउनुपर्थ्यो। ५ साथै राजाले आफूले खाने गरेको स्वादिष्ठ भोजन र पिउने गरेको मद्यबाट तिनीहरूलाई पनि दिन हुकुम गरे। तिनीहरूलाई तीन वर्षसम्म तालिम दिइने थियो* अनि तिनीहरू राजाको सेवामा हाजिर हुनुपर्ने थियो।
६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो। ७ दरबारका प्रमुख अफिसरले तिनीहरू प्रत्येकलाई एउटा नाम* दिए। तिनले दानिएललाई बेल्तसजर,+ हानन्याहलाई सद्रक, मिसाएललाई मेसक अनि अजर्याहलाई अबेद्नेगो+ नाम दिए।
८ तर दानिएलले राजाको स्वादिष्ठ भोजन र मद्यद्वारा आफूलाई अशुद्ध नपार्ने अठोट गरे। तिनले यसरी आफू अशुद्ध हुन नपरोस् भनी दरबारका प्रमुख अफिसरसित बिन्ती गरे। ९ साँचो परमेश्वरले दानिएललाई आशिष् दिनुभएकोले दरबारका प्रमुख अफिसरले तिनीमाथि दया र कृपा देखाए।+ १० तब दरबारका प्रमुख अफिसरले दानिएललाई भने: “मलाई मेरा मालिक, मेरा राजासित डर लाग्छ किनकि उहाँले नै तिमीहरूको लागि खाने र पिउने प्रबन्ध मिलाउनुभएको हो। राजाको नजरमा तिमीहरू आफ्नै उमेरका अरू युवकजस्तो हृष्टपुष्ट देखिएनौ भने नि? तिमीहरूले गर्दा म राजासामु दोषी ठहरिनेछु।” ११ तब दानिएल, हानन्याह, मिसाएल र अजर्याहको हेरविचार गर्न अस्पनजले खटाएका अधिकारीलाई दानिएलले यसो भने: १२ “बिन्ती छ, तपाईँका दासहरूलाई १० दिन जाँचेर हेर्नुहोस्। हामीलाई केवल केही सागपात र पानी दिनुहोस्। १३ त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस् अनि त्यसैअनुसार आफ्ना दासहरूसित व्यवहार गर्नुहोस्।”
१४ तिनले तिनीहरूको कुरा माने र १० दिनसम्म तिनीहरूलाई जाँचे। १५ अनि १० दिनपछि तिनीहरू राजाको स्वादिष्ठ भोजन खाने युवकहरूको तुलनामा स्वस्थ र हृष्टपुष्ट देखिए। १६ त्यसैले हेरविचार गर्ने ती व्यक्तिले तिनीहरूलाई स्वादिष्ठ भोजन र मद्यको साटो सागपात दिन थाले। १७ अनि साँचो परमेश्वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+
१८ राजाले हाजिर गराउनू भनी तोकेको समय आएपछि+ दरबारका प्रमुख अफिसरले ती युवकहरूलाई नबुकद्नेजरसामु हाजिर गराए। १९ राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहमा दानिएल, हानन्याह, मिसाएल र अजर्याहको+ बराबरीमा आउन सक्ने कोही पनि तिनले पाएनन्। अनि तिनीहरूले राजाको सेवा गरिरहे। २० राजाले तिनीहरूलाई बुद्धि र समझ चाहिने जुनसुकै कुरा सोध्दा पनि तिनीहरू राज्यका सबै जादुगर अनि तन्त्रमन्त्र गर्नेहरूभन्दा+ १० गुणा राम्रो भएको राजाले पाए। २१ यसरी राजा कोरेसको शासनको पहिलो वर्षसम्म दानिएल त्यहीँ रहे।+