पहिलो राजा
१० सेबाकी महारानीले सुलेमानको ख्यातिबारे सुनिन् र यहोवा परमेश्वरको नामको कारण तिनले यस्तो ख्याति कमाएका हुन् भनेर थाह पाइन्।+ त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्नहरू* लिएर आइन्।+ २ उनी ठूलो लावालस्करसहित यरुसलेम आइपुगिन्।+ उनले उँटमा बाल्सम तेल* अनि प्रशस्त मात्रामा सुन र बहुमूल्य रत्न ल्याएकी थिइन्।+ उनी सुलेमानकहाँ हाजिर भइन् र आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सोधिन्। ३ सुलेमानले उनका सबै प्रश्नको जवाफ दिए। उनले सोधेको कुनै पनि कुराको जवाफ दिन राजालाई गाह्रो भएन।
४ सेबाकी महारानीले सुलेमानको बुद्धि,+ तिनले बनाएको राजमहल,+ ५ तिनको टेबुलको भोजन,+ तिनका सेवकहरूको आसन, खाना पस्कनेहरूले गरेको सेवासुसार र उनीहरूको विशेष पहिरन, तिनका मद्य टक्य्राउनेहरू र तिनले यहोवा परमेश्वरको भवनमा नियमित रूपमा चढाउने गरेको अग्निभेटी देखेपछि उनी चकित भइन्, केही बोल्नै सकिनन्। ६ त्यसैले उनले राजालाई भनिन्: “मैले आफ्नो देशमा तपाईँको सफलता* र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ। ७ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन। साँच्चै! मलाई त यसको आधा पनि बताइएको रहेनछ। तपाईँको बुद्धि र वैभवबारे मैले जुन कुरा सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ। ८ तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्!+ ९ तपाईँसित प्रसन्न भएर तपाईँलाई इस्राएलको सिंहासनमा बसाल्नुहुने तपाईँका परमेश्वर यहोवाको प्रशंसा होस्!+ यहोवाले इस्राएललाई सधैँभरि प्रेम गर्नुभएकोले नै इस्राएलमा न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईँलाई राजा नियुक्त गर्नुभएको छ।”
१० त्यसपछि उनले राजालाई १२० टालेन्ट* सुन अनि प्रशस्त मात्रामा बाल्सम तेल+ र बहुमूल्य रत्न+ दिइन्। सेबाकी महारानीले राजा सुलेमानको लागि जति बाल्सम तेल ल्याएकी थिइन्, त्यति धेरै त पछि कसैले पनि कहिल्यै ल्याएन।
११ ओपिरबाट सुन ल्याउने+ हिरामका जहाजहरूले बहुमूल्य रत्नहरू+ र प्रशस्त मात्रामा चन्दनको काठ+ पनि ल्याउँथे। १२ राजा सुलेमानले ती चन्दनका काठहरूबाट यहोवा परमेश्वरको भवन र आफ्नो महलका लागि थामहरू बनाए। तिनले त्यसबाट गायकहरूको लागि वीणा र तारे बाजा पनि बनाए।+ त्यत्ति धेरै चन्दनको काठ आजसम्म कहिल्यै पनि ल्याइएको छैन र देखिएको पनि छैन।
१३ राजा सुलेमानले सेबाकी महारानीलाई उनले चाहेको र मागेको सबै कुरा दिए। त्यसबाहेक तिनले उनलाई उदारचित्तले अरू थुप्रै कुरा पनि दिए। त्यसपछि सेबाकी महारानी आफ्ना सेवकहरूलाई लिएर आफ्नो देश फर्किन्।+
१४ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १५ यसबाहेक तिनले व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूबाट कर पनि पाउँथे।
१६ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल* सुन लागेको थियो।)+ १७ तिनले त्यसरी नै ३०० वटा साना ढाल* पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना* सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+
१८ राजाले हस्तिदन्तको एउटा भव्य सिंहासन पनि बनाए+ र त्यसलाई निखुर सुनले मोहोरे।+ १९ सिंहासनमा जान छ वटा खुट्किला बनाइएको थियो। अनि सिंहासनमा गोलाकार छत पनि थियो। सिंहासनको दुवैपट्टि हात बिसाउने बाहु थिए। अनि दुवै बाहुको छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो।+ २० ती छ वटा खुट्किलामा सिंहका १२ वटा मूर्ति थिए; प्रत्येक खुट्किलाको दुवै छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो। अरू कुनै पनि देशमा यस्तो सिंहासन थिएन।
२१ राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए।+ कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+ २२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
२३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन। २४ पृथ्वीका कुनाकुनाबाट मानिसहरू सुलेमानको बुद्धिका कुराहरू सुन्न आउँथे, जुन बुद्धि तिनलाई परमेश्वरले दिनुभएको थियो।+ २५ सुलेमानकहाँ आउने सबै मानिसले उपहार ल्याउँथे। तिनीहरूले सुलेमानको लागि सुन र चाँदीका सरसामान अनि लुगाफाटा, हातहतियार, बाल्सम तेल, घोडा र खच्चरहरू लिएर आउँथे। हरेक वर्ष यस्तै हुन्थ्यो।
२६ सुलेमानले प्रशस्तै रथ र घोडा जम्मा गरे। तिनीसित १ हजार ४ सय रथ र १२ हजार घोडा थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+
२७ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै चाँदी जम्मा गरे कि ती ढुङ्गासरह प्रशस्त भए। अनि देवदारको काठचाहिँ सेफेलाहका खनिउँको रूखहरूसरह प्रशस्त भयो।+
२८ सुलेमानका घोडाहरू मिश्रबाट ल्याइएका थिए। राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+ २९ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका+ सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।