यर्मिया
१७ “यहुदाको पाप फलामको कलमले* लेखिएको छ;
हिराको टुप्पोले त्यो तिनीहरूको हृदयको पाटीमा
र तिनीहरूको वेदीका सिङहरूमा खोपिएको छ।
२ अनि तिनीहरूका छोराहरूले अग्ला डाँडाहरूमा,+
झ्याम्म परेको रूखनजिकै भएका आफ्ना वेदीहरू र पवित्र खामाहरू* सम्झिन्छन्।+
३ त्यसैले हे यहुदाका मानिसहरू हो, तिमीहरूका धन-सम्पत्ति, खजाना र ती अग्ला थानहरूसमेत म शत्रुहरूलाई लुट्न दिनेछु+
किनकि तिमीहरूले देशभरि दुष्ट काम गरेका छौ।+
४ मैले तिमीहरूलाई दिएको भूमि तिमीहरूले आफ्नै गल्तीले गर्दा गुमाउनेछौ+
अनि तिमीहरूले अनजान ठाउँमा आफ्ना शत्रुहरूको सेवा गर्नुपर्नेछ।+
तिमीहरूले मेरो रिसलाई आगोझैँ दन्काएका छौ;*+
त्यो अब निभ्नेछैन।”
५ यहोवा परमेश्वर यसो भन्नुहुन्छ:
मानिसको बलमा भर पर्ने+
र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।
६ ऊ मरुभूमिको एक्लो रूखजस्तो हुनेछ।
उसले कहिल्यै असल कुरा देख्नेछैन।
कोही नटिक्ने नुनिलो जमिनमा
अनि कोही नबस्ने सुक्खा ठाउँमा ऊ बस्नुपर्नेछ।
७ यहोवामा भरोसा गर्ने मानिस
र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
८ त्यो मानिस नदीको किनारमा रोपेको बोटजस्तै हुनेछ,
जसले नदीतिर जरा फैलाएको हुन्छ।
चर्को घामले पनि त्यसलाई पटक्कै पोल्दैन।
त्यसका पात सधैँ हरिया हुन्छन्।+
खडेरी पर्दा त्यो निष्फिक्री रहन्छ
र त्यसले बाह्रै महिना फल दिन्छ।
९ मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+
त्यसलाई कसले बुझ्न सक्छ र?
१० म यहोवा मानिसको हृदय केलाउँछु;+
मानिसको भित्री विचारसमेत* म जाँच्छु
अनि मानिसलाई उसको चाल
र उसको कामअनुसारको फल दिन्छु।+
११ बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस
आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+
केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ
र अन्तमा ऊ मूर्ख साबित हुन्छ।”
१२ परमेश्वरको सिंहासन अर्थात् हाम्रो मन्दिर
सुरुदेखि नै महिमित छ।+
१३ हे यहोवा, इस्राएलका आशा,
तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्।
तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+
किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्।+
१४ हे यहोवा! मलाई निको पार्नुहोस् र म निको हुनेछु।
मलाई बचाउनुहोस् र म बच्नेछु+
किनकि मैले तपाईँकै प्रशंसा गरेको छु।
१५ हेर्नुहोस्! मानिसहरू मलाई यसो भन्छन्:
“यहोवाको वचन किन अहिलेसम्म पूरा भएको छैन?”+
१६ तर मैले त गोठालोको काम गर्न र तपाईँको पछिपछि लाग्न छोडिनँ।
विनाशको दिन आओस् भनेर मैले कहिल्यै चिताइनँ।
मैले बोलेका सबै कुरा तपाईँ जान्नुहुन्छ;
तपाईँकै सामुन्ने मैले ती बोलेको हुँ।
१७ मलाई त्रसित नपार्नुहोस्
किनकि विपत्तिको दिनमा तपाईँ नै मेरो शरणस्थान हुनुहुन्छ।
१८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्+
तर म लज्जित हुनु नपरोस्।
तिनीहरूलाई त्रासले छोपोस्
तर मलाई भने त्रासले नछोपोस्।
तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्।+
तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस् र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्।
१९ अनि यहोवा परमेश्वरले मलाई यसो भन्नुभयो: “जाऊ, यहुदाका राजाहरू भित्र-बाहिर गर्ने यरुसलेमको मूलढोका* र अरू सबै ढोकामा गएर उभिऊ।+ २० अनि तिनीहरूलाई यसो भन, ‘यी ढोकाहरूबाट आउजाउ गर्ने यहुदाका राजाहरू, यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, यहोवाको कुरा सुन! २१ यहोवा यसो भन्नुहुन्छ: “खबरदार! तिमीहरूले विश्रामदिनमा* कुनै भारी नबोक्नू र यरुसलेमका ढोकाहरूबाट कुनै मालसामान भित्र नल्याउनू।+ २२ त्यो दिन तिमीहरूले आफ्नो घरबाट कुनै भारी ननिकाल्नू अनि अरू कुनै पनि काम नगर्नू।+ मैले तिमीहरूका पितापुर्खालाई आज्ञा दिएझैँ तिमीहरूले विश्रामदिनलाई पवित्र मान्नू।+ २३ तर तिमीहरूका पितापुर्खाले मेरो कुरा सुनेनन्। तिनीहरूले हठी भएर मेरो आज्ञाको अवहेलना गरे र मेरो अनुशासनलाई तिरस्कार गरे।”’+
२४ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “तर यदि तिमीहरूले मेरो एक-एक आज्ञा पालन गऱ्यौ, विश्रामदिनमा यस सहरको ढोकाबाट कुनै मालसामान ओसारपसार गरेनौ र त्यस दिनलाई पवित्र मानेर कुनै काम गरेनौ भने+ २५ दाउदको सिंहासनमा बस्ने राजा अनि भारदारहरू+ घोडामा र रथमा सवार भएर यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्। तिनीहरू, यहुदाका मानिसहरू र यरुसलेमका सबै बासिन्दा यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्+ र मानिसहरू यहाँ सधैँभरि बसोबास गर्नेछन्। २६ मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट* आउनेछन्। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्नभेटी,+ सेतो धूप* र धन्यवादको बलिदान ल्याउनेछन्+ अनि यहोवाको भवनमा चढाउनेछन्।
२७ “‘“तर यदि तिमीहरूले विश्रामदिनलाई पवित्र मानेनौ, त्यो दिन भारी बोक्यौ अनि यरुसलेमका ढोकाहरूबाट मालसामान ओसारपसार गऱ्यौ भने म यरुसलेमका ढोकाहरूमा आगो लगाइदिनेछु र त्यो निभ्नेछैन। अनि यरुसलेमका बलिया किल्लाहरू जलेर खरानी हुनेछन्।”’”+