दोस्रो राजा
१० सामरियामा आहाबका+ ७० जना छोरा बस्थे। त्यसकारण येहुले यिज्रेलका भारदारहरूलाई, नाइकेहरूलाई+ र आहाबका छोराहरूको हेरविचार गर्ने मानिसहरूलाई पत्रहरू लेखे अनि ती पत्रहरू सामरिया पठाए। पत्रमा तिनले यस्तो लेखेका थिए: २ “तपाईँहरूको साथमा तपाईँहरूका मालिकका छोराहरू, रथहरू, घोडाहरू, पर्खालले घेरिएको सहर र हातहतियार छ। यो पत्र पाएपछि ३ तपाईँहरूको मालिकका छोराहरूमध्ये सबैभन्दा असल र योग्यलाई रोज्नुहोस् अनि उनको बुबाको सिंहासन दिनुहोस्। त्यसपछि आफ्नो मालिकको घरानाको निम्ति लड्नुहोस्।”
४ तर तिनीहरू डरले खङ्ग्रङ्ग भए र यसो भन्न लागे: “हेर! दुई-दुई जना राजा त तिनको अगाडि टिक्न सकेनन्+ भने हामी कसरी टिक्न सकौँला र?” ५ त्यसैले राजमहलको रेखदेख गर्ने अफिसर, सहरको राज्यपाल, नाइकेहरू र आहाबका छोराहरूको हेरविचार गर्ने मानिसहरूले येहुकहाँ यस्तो सन्देश पठाए: “हामी तपाईँका सेवक हौँ। तपाईँ जे भन्नुहुन्छ, हामी त्यही गर्नेछौँ। हामी कसैलाई राजा बनाउँदैनौँ। तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्।”
६ तब येहुले तिनीहरूलाई अर्को पत्र लेखे। पत्रमा यस्तो लेखिएको थियो: “यदि तपाईँहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो हुकुम मान्न राजी हुनुहुन्छ भने आफ्नो मालिकका छोराहरूको टाउको लिएर भोलि यही समयमा यिज्रेल आउनुहोस्।”
त्यतिबेला ७० जना राजकुमार सहरका गण्यमान्य मानिसहरूसँग बस्थे र तिनीहरूले नै उनीहरूको हेरविचार गर्थे। ७ पत्र पाउनेबित्तिकै तिनीहरूले ७० जना राजकुमारलाई मारे।+ त्यसपछि तिनीहरूले उनीहरूको टाउको काटेर टोकरीहरूमा हाले र ती यिज्रेलमा येहुकहाँ पठाइदिए। ८ तब एक जना सन्देशवाहक आएर येहुलाई यसो भन्यो: “तिनीहरूले राजकुमारहरूको टाउको ल्याएका छन्।” तिनले भने: “ती टाउकाहरूको दुई वटा थुप्रो लगाऊ र बिहान नहोउन्जेल सहरको मूलढोकामा राख।” ९ येहु बिहान बाहिर गए अनि सबै मानिससामु उभिएर यसो भने: “तिमीहरू सबै निर्दोष* छौ। हो, मैले आफ्नो मालिकविरुद्ध षड्यन्त्र रचेँ र तिनलाई मारेँ।+ तर यिनीहरूलाई मार्ने को हो? १० त्यसैले यो कुरा जानिराख्नू: यहोवा परमेश्वरले आहाबको घरानाबारे भन्नुभएको एउटै कुरा, यहोवाले बोल्नुभएको एउटा शब्द पनि खेर जानेछैन।+ यहोवाले आफ्नो सेवक एलियामार्फत भन्नुभएको सबै कुरा पूरा गर्नुभएको छ।”+ ११ साथै, येहुले यिज्रेलमा बाँकी रहेका आहाबको घरानाका सबैलाई मारे। तिनले आहाबका खास-खास मानिसहरू, मित्रहरू र पुजारीहरू सबैलाई मारे;+ एक जनालाई पनि बाँकी राखेनन्।+
१२ त्यसपछि तिनी उठेर सामरियातर्फ लागे। बाटोमा गोठालाहरूको घर थियो, जहाँ तिनीहरू भेडाको ऊन कत्रन्थे। १३ त्यहाँ तिनले यहुदाका राजा आहाज्याहका+ दाजुभाइलाई भेटे। तिनले उनीहरूलाई सोधे: “तिमीहरू को हौ?” उनीहरूले जवाफ दिए: “हामी आहाज्याहका दाजुभाइ हौँ। हामी राजकुमारहरू र राजमाताका छोराहरूको हालखबर बुझ्न जाँदै छौँ।” १४ येहुले तुरुन्तै आफ्ना मानिसहरूलाई यसो भने: “यिनीहरूलाई जिउँदै समात!” तिनीहरूले उनीहरूलाई जिउँदै समाते र गोठालाहरूको घरको इनारमा लगेर मारे। मारिनेहरू जम्मा ४२ जना थिए। तिनले उनीहरूमध्ये एक जनालाई पनि बाँकी राखेनन्।+
१५ त्यहाँबाट निस्केपछि तिनले बाटोमा रेकाबका+ छोरा यहोनादाबलाई+ भेटे। उनी येहुलाई नै भेट्न आएका थिए। यहोनादाबले अभिवादन गरेपछि* येहुले सोधे: “म तिमीप्रति मनैदेखि वफादार भएजस्तै के तिमी पनि मप्रति मनैदेखि वफादार छौ?”
यहोनादाबले जवाफ दिए: “छु।”
“त्यसोभए, तिम्रो हात देऊ।”
त्यसैले उनले आफ्नो हात अघि बढाए र येहुले उनलाई तानेर आफ्नो रथमा बसाए। १६ त्यसपछि तिनले भने: “मसँगै आऊ! यहोवा परमेश्वरको+ विरुद्धमा कोही उठेको म हेर्न सक्दिनँ भन्ने कुरा* तिमीले देख्नेछौ।” यसरी येहुले उनलाई आफूसँगै रथमा लगे। १७ तिनी सामरिया आइपुगे र त्यहाँ आहाबको घरानाका बाँकी सबैलाई मारे। यसरी यहोवा परमेश्वरले एलियामार्फत भन्नुभएअनुसारै+ तिनले आहाबको घरानाको नामोनिसान मेटाइदिए।+
१८ त्यसपछि येहुले सबै मानिसलाई एक ठाउँमा भेला गरेर यसो भने: “आहाबले बाआलको उपासना गर्न जे-जति गरे,+ येहुले त्योभन्दा कता हो कता धेरै गर्नेछ। १९ त्यसैले बाआलका सबै भविष्यवक्ता,+ उपासक र पुजारीलाई यहाँ मेरो सामने भेला गर।+ एक जना पनि नछुटोस् किनकि आज म बाआलको निम्ति ठूलो बलि चढाउँदै छु। यदि कोही यहाँ आएन भने उसलाई मारिनेछ।” वास्तवमा येहुले बाआलका उपासकहरूलाई नाश गर्न चाल चलिरहेका थिए।
२० येहुले यसो पनि भने: “बाआलको निम्ति विशेष सभाको घोषणा गर।” तिनीहरूले त्यसै गरे। २१ येहुले इस्राएलको कुनाकुनामा खबर पठाए। त्यसपछि बाआलका सबै उपासक त्यहाँ भेला भए, एक जना पनि छुटेन। तिनीहरू सबै बाआलको मन्दिरभित्र गए+ र मन्दिर खचाखच भरियो। २२ येहुले वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसरलाई यसो भने: “बाआलका सबै उपासकको लागि कपडा ल्याऊ।” तब उनले तिनीहरूको निम्ति कपडाहरू ल्याए। २३ त्यसपछि येहु र रेकाबका छोरा यहोनादाब+ बाआलको मन्दिरभित्र गए। येहुले बाआलका उपासकहरूलाई भने: “यहाँ यहोवाका उपासकहरू पनि छन् कि, राम्ररी हेर। यहाँ बाआलका उपासकहरूबाहेक अरू कोही नहोऊन्।” २४ त्यसपछि तिनीहरूले बलि र अग्निभेटी चढाउन सुरु गरे। येहुले आफ्ना ८० जना मानिसलाई बाहिर राखेका थिए र यस्तो चेतावनी दिएका थिए: “यदि तिमीहरूमध्ये कसैले कुनै मानिसलाई यहाँबाट उम्कन दियौ भने त्यसको सट्टामा म उसको ज्यान लिनेछु।”
२५ अग्निभेटी चढाउन सिद्धिनेबित्तिकै येहुले पहरेदारहरूलाई र सेनाका सहायक अफिसरहरूलाई यसो भने: “भित्र आओ र यिनीहरूलाई मार! एक जनालाई पनि उम्कन नदेओ।”+ त्यसैले ती पहरेदारहरू र सेनाका सहायक अफिसरहरूले बाआलका उपासकहरूलाई तरबारले मार्दै बाहिर फ्याँक्न थाले। उनीहरू तिनीहरूलाई मार्दै मन्दिरको भित्री कोठासम्मै* पुगे। २६ त्यसपछि उनीहरूले बाआलको मन्दिरबाट सबै पवित्र थाम* बाहिर ल्याएर जलाइदिए।+ २७ तिनीहरूले बाआलको पवित्र थाम ढालिदिए+ र मन्दिर पनि भत्काइदिए+ अनि त्यस ठाउँलाई दिसा-पिसाब गर्ने ठाउँ बनाइदिए। त्यो ठाउँ अहिलेसम्म पनि त्यस्तै छ।
२८ यसरी येहुले इस्राएलबाट बाआलको नामोनिसान मेटाइदिए। २९ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गर्न छोडेनन्। तिनले बेथेल र दानबाट सुनका बाछाहरू हटाएनन्।+ ३० यहोवा परमेश्वरले येहुलाई भन्नुभयो: “आहाबको घरानालाई म जे गर्न चाहन्थेँ, तिमीले त्यही गऱ्यौ।+ यसरी तिमीले मेरो नजरमा जे असल छ, त्यो गऱ्यौ। तिमीले सही कदम चालेको हुनाले म तिम्रो चार पुस्तालाई इस्राएलको सिंहासनमा बस्न दिनेछु।”+ ३१ तर येहुले सारा हृदयले+ इस्राएलका परमेश्वर यहोवाको नीतिनियम पालन गरेनन्। यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गरिरहे।+
३२ त्यसबेला यहोवा परमेश्वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्न इलाकामा आक्रमण गरिरहे।+ ३३ तिनले यर्दनको पूर्वपट्टि पर्ने गिलादको सम्पूर्ण इलाकादेखि आक्रमण गर्न सुरु गरे। त्यहाँ गाद, रुबेन र मनस्सेको कुल+ बस्थे। त्यस इलाकामा अर्नोन बेँसीनजिकै* पर्ने अरोएरदेखि गिलाद र बासानसम्मको भूभाग पर्थ्यो।+
३४ येहुको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। ३५ येहु आफ्ना पितृहरूसितै सुते र तिनलाई सामरियामा गाडियो। तिनीपछि तिनका छोरा यहोअहाज+ राजा भए। ३६ येहुले सामरियाबाट इस्राएलमाथि २८ वर्ष शासन गरे।