यसैया
५ म आफ्ना प्रियको निम्ति गीत गाउँछु।
मेरा प्रिय र उनको अङ्गुर बगानबारे एउटा गीत गाउँछु।+
उर्वर जमिन भएको डाँडामा मेरा प्रियको अङ्गुर बगान थियो।
२ उनले त्यो जमिन जोते र त्यहाँका ढुङ्गाहरू निकालेर फालिदिए।
अनि त्यहाँ रातो अङ्गुरको असल बोट लगाए।
उनले त्यस जमिनको बीचमा एउटा मचान खडा गरे
र अङ्गुर पेल्ने कोल बनाए।+
त्यो बोटले असल अङ्गुर फलाउला भनेर उनले आशा गरेका थिए
तर त्यसले जङ्गली अङ्गुर मात्र फलायो।+
३ “हे यरुसलेम र यहुदाका बासिन्दाहरू हो!
बिन्ती! म र मेरो अङ्गुर बगानबीच फैसला गरिदेओ।+
४ मैले आफ्नो अङ्गुर बगानको लागि के मात्र गरिनँ?
मैले त्यसको लागि सबथोक गरेँ।+
मैले असल अङ्गुरको आशा गरेको थिएँ
तर त्यसले किन जङ्गली अङ्गुर मात्रै फलायो?
५ अब म आफ्नो अङ्गुर बगानलाई के गर्नेछु,
त्यो तिमीहरूलाई बताउँछु।
म त्यसको बार भत्काइदिनेछु
अनि त्यो बगान आगोले भस्म हुनेछ।+
म त्यसको ढुङ्गाको पर्खाल भत्काइदिनेछु
अनि त्यसमाथि कुल्चीमिल्ची गरिनेछ।
६ म त्यसलाई बन्जर जमिन बनाइदिनेछु।+
त्यसलाई छिमल्ने वा गोडमेल गर्ने कोही हुनेछैन।
७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+
मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।
मैले न्यायको आशा गरेको थिएँ+
तर हेर, चारैतिर अन्याय भयो।
धार्मिकताको आशा गरेको थिएँ
तर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+
८ धिक्कार छ ती मानिसहरूलाई, जो अलिकति पनि खाली ठाउँ नरहनेगरि
एउटा घरलाई अर्को घरसँग जोड्छन्+
र एउटा खेतलाई अर्को खेतमा गाभ्छन्।+
तिनीहरू पूरै देशमा आफू एक्लै बस्न खोज्छन्।
९ सेनाहरूका यहोवाले खानुभएको शपथ मैले सुनेँ;
थुप्रै ठूलठूला र सुन्दर घर निर्जन हुनेछन्
अनि तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+
११ धिक्कार छ ती मानिसहरूलाई, जो रक्सी पिउन बिहान सबेरै उठ्छन्+
अनि मात नलागुन्जेल साँझ अबेरसम्म रक्सी पिइरहन्छन्।
१२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,
खैँजडी र बाँसुरी बजाउँछन् अनि मद्य पिउँछन्।
तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्,
उहाँको हातको कामलाई वास्ता गर्दैनन्।
१३ त्यसैले मेरा मानिसहरू कैदमा लगिनेछन्।
किनकि तिनीहरू परमेश्वरलाई चिन्दैनन्।+
तिनीहरूका इज्जतदार मानिसहरू भोकभोकै बस्नुपर्नेछ+
र तिनीहरू सबै तिर्खाले प्याक-प्याक हुनेछन्।
१४ त्यसैले चिहानको* भोक बढेको छ।
आफ्नो मुख बाएर त्यो बसेको छ र त्यो कहिल्यै अघाउँदैन।+
त्यस सहरको सान,* त्यहाँका होहल्ला गर्ने मानिसहरूको भीड र मोजमस्ती गर्नेहरू
चिहानको मुखबाट कुनै हालतमा उम्कनेछैनन्।
१५ मानिसहरू झुक्नेछन्।
तिनीहरूको सेखी झर्नेछ।
हठी मानिसहरूले आफ्नो आँखा झुकाउनेछन्।
१६ सेनाहरूका यहोवाले इन्साफ गरेर आफैलाई उच्च पार्नुहुनेछ;
साँचो र पवित्र परमेश्वरले+ आफ्नो धार्मिक स्तरद्वारा आफूलाई पवित्र ठहराउनुहुनेछ।+
१७ ती उजाड ठाउँहरू, जहाँ पहिले-पहिले मोटाघाटा जनावरहरू चर्थे, त्यहाँ भेडाका पाठाहरू आफ्नो चरनमा झैँ चर्नेछन्।
विदेशीहरूले त्यहाँको उब्जनीले आफ्नो पेट भर्नेछन्।
१८ धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नो दोषलाई छल-कपटको डोरीले
र आफ्नो पापलाई गाडा तान्ने डोरीले तान्छन्।
१९ धिक्कार छ ती मानिसहरूलाई, जो यसो भन्छन्: “परमेश्वरले छिटो गरून्।
उहाँले आफ्नो काम चाँडै सकून् र हामीले त्यो देख्न पाऔँ।
इस्राएलका पवित्र परमेश्वरको उद्देश्य पूरा होस्
र हामीले त्यो थाह पाउन सकौँ।”+
२० धिक्कार छ ती मानिसहरूलाई, जो असललाई खराब र खराबलाई असल भन्छन्;+
जो अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो ठान्छन्;
जो तीतोलाई गुलियो र गुलियोलाई तीतो मान्छन्।
२१ धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्;
जो आफैलाई बुद्धिमान् सम्झन्छन्।+
२२ धिक्कार छ ती मानिसहरूलाई, जसलाई रक्सी पिउन कसैले जित्दैन;
जो रक्सीमा मसला मिसाउन सिपालु छन्;+
२४ त्यसकारण जसरी आगोको एउटा लप्कोले भुस खरानी बन्छ
अनि जसरी सुकेको घाँस आगोमा भस्म हुन्छ,
त्यसरी नै तिनीहरू नाश हुनेछन्।
तिनीहरूको जरा कुहिनेछ र तिनीहरूको फूल धुलोजस्तै छरपस्ट हुनेछ।
किनकि तिनीहरूले सेनाहरूका यहोवाको व्यवस्था* पालन गरेनन्
र इस्राएलका पवित्र परमेश्वरको वचनको अनादर गरे।+
२५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।
उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+
पहाडहरू थरथर काँप्नेछन्
र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+
तैपनि उहाँको रिस मरेको छैन।
तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।
२६ उहाँले झन्डा ठड्याएर टाढाको राष्ट्रलाई बोलाउनुभएको छ।+
उहाँले सिटी बजाएर तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट बोलाउनुभएको छ।+
अनि हेर! तिनीहरू वेगसित आउँदै छन्।+
२७ तिनीहरूमध्ये कोही पनि थाकेको छैन, कसैले पनि ठेस खाएको छैन।
कोही पनि झुलिरहेको वा निदाइरहेको छैन।
तिनीहरूको कम्मरको पेटी खुकुलो भएको छैन
र तिनीहरूको जुत्ताको फित्ता पनि चुँडिएको छैन।
२८ तिनीहरूका काँड तीखा-तीखा छन्
र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।*
तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्गाझैँ कडा छन्
र तिनीहरूका रथका पाङ्ग्रा हुरीबतासझैँ वेगले गुड्छन्।+
२९ तिनीहरूको गर्जन सिंहको जस्तै छ।
तिनीहरू जवान सिंहझैँ ङ्वार्र-ङुर्र गर्छन्।+
तिनीहरू गर्जेर सिकारलाई झम्टन्छन् र त्यसलाई लग्छन्;
कसैले त्यसलाई छुटाउन सक्दैन।
३० त्यस दिन तिनीहरू यस देशविरुद्ध समुद्रझैँ गर्जनेछन्।+
देशलाई एकटक लगाएर हेर्ने हरेकले अन्धकार र सङ्कष्ट देख्नेछ।
बादलले गर्दा आकाश समेत अँध्यारो हुनेछ।+