मर्कुसका अनुसार
९ उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य स्थापित भइसकेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+ २ छ दिनपछि येसुले पत्रुस, याकुब र युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन। तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो।+ ३ उहाँको लुगा यति सेतो र चम्किलो भयो कि त्यति सेतो त संसारको कुनै पनि धोबीले बनाउन सक्दैन। ४ साथै एलिया र मोसा एकसाथ तिनीहरूसामु देखिए र उनीहरू येसुसित कुराकानी गरिरहेका थिए। ५ तब पत्रुसले येसुलाई भने: “रब्बी, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ६ वास्तवमा तिनी के भन्ने भनेर अलमल्लमा परेका थिए किनकि तिनीहरू असाध्यै डराएका थिए। ७ अनि बादलले तिनीहरूलाई ढाक्यो र बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्।+ उनको कुरा सुन।”+ ८ यो सुन्नेबित्तिकै तिनीहरूले यताउता हेरे तर तिनीहरूले येसुबाहेक अरू कसैलाई देखेनन्।
९ डाँडाबाट ओर्लँदै गर्दा उहाँले तिनीहरूलाई मानिसको छोरा मृत्युबाट नब्युँतेसम्म तिनीहरूले देखेको यो कुरा कसैलाई नबताउन स्पष्ट चेतावनी दिनुभयो।+ १० तिनीहरूले यो कुरा हृदयमा राखे* तर उहाँ मृत्युबाट ब्युँतनुको अर्थ के हुन सक्छ भनेर आपसमा छलफल गरे। ११ तिनीहरूले उहाँलाई यस्तो प्रश्न सोध्न थाले: “पहिला एलिया+ आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन् त?”+ १२ उहाँले तिनीहरूलाई भन्नुभयो: “एलिया साँच्चै पहिला आउनेछन् र सबै कुरा पुनर्स्थापना गर्नेछन्।+ तर मानिसको छोराको विषयमा उसले थुप्रै दुःख भोग्नुपर्नेछ+ र उसलाई तुच्छ ठानिनेछ भनेर किन लेखिएको छ त?+ १३ तर म तिमीहरूलाई भन्छु, वास्तवमा एलिया+ आइसकेका छन् अनि धर्मशास्त्रमा उनको विषयमा लेखिएझैँ तिनीहरूले उनीसित मनपरी व्यवहार गरे।”+
१४ जब उहाँहरू अरू चेलाहरू भएको ठाउँ नजिक पुग्नुभयो, तब एउटा ठूलो जमात ती चेलाहरूको वरिपरि जम्मा भएको र शास्त्रीहरूले तिनीहरूसित वादविवाद गरिरहेको उहाँहरूले देख्नुभयो।+ १५ तर भीडमा भएका सबै जना उहाँलाई देख्नेबित्तिकै छक्क परे अनि उहाँलाई स्वागत गर्न दौडेर गए। १६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के वादविवाद गरिरहेका छौ?” १७ भीडबाट एक जनाले उहाँलाई यस्तो जवाफ दियो: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईँकहाँ ल्याएको थिएँ किनकि प्रेतले* सताएकोले ऊ गुँगो भएको छ।+ १८ अनि त्यसले उसलाई जहाँ छोप्छ, त्यहीँ नै ऊ भुईँमा पछारिन्छ, फीँज काढ्छ, दाह्रा किट्छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्।” १९ उहाँले तिनीहरूलाई भन्नुभयो: “ए अविश्वासी पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”+ २० त्यसैले तिनीहरूले उसलाई उहाँकहाँ ल्याए। तर उहाँलाई देखेपछि त्यो प्रेतले उसलाई अँठ्यायो अनि ऊ भुईँमा पछारियो र लडीबुडी गर्दै फीँज काढ्न थाल्यो। २१ अनि उहाँले उसको बुबालाई सोध्नुभयो: “उसलाई यस्तो हुन थालेको कति भयो?” तिनले भने: “बच्चैदेखि। २२ त्यसले उसलाई कहिले आगोमा त कहिले पानीमा खसालेर मार्न खोज्छ। यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस् र हामीलाई मदत गर्नुहोस्।” २३ येसुले तिनलाई भन्नुभयो: “तिमी किन ‘यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने’ भन्छौ? जससित विश्वास छ, उसको लागि सबै कुरा सम्भव छ।”+ २४ त्यस केटाको बुबाले ठूलो स्वरमा तुरुन्तै यसो भने: “मसित विश्वास छ! तर मेरो विश्वासलाई अझै बलियो बनाइदिनुहोस्!”+
२५ तब मानिसहरूको एउटा भीड उहाँहरूतिर दौडँदै आएको देखेर उहाँले त्यस प्रेतलाई हप्काउँदै यसो भन्नुभयो: “ए गुँगो र बहिरो प्रेत,* म तँलाई आदेश दिन्छु, उसबाट निस्केर आइज र फेरि कहिल्यै उसमा बास नगर्!”+ २६ अनि ठूलो स्वरले त्यो चिच्यायो र उसलाई अँठ्याउनुसम्म अँठ्याएपछि ऊबाट निस्केर गयो। त्यसपछि ऊ मुर्दासरी भयो र धेरै जनाले यसो भन्न थाले: “केटो त मऱ्यो!” २७ तर येसुले हात समाएर उसलाई उठाउनुभयो र ऊ उठ्यो। २८ उहाँ एउटा घरभित्र पस्नुभएपछि उहाँका चेलाहरू आएर उहाँलाई सुटुक्क सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?”+ २९ उहाँले तिनीहरूलाई भन्नुभयो: “यस किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन्छ।”
३० त्यो ठाउँ छोडेपछि उहाँहरू गालिल भएर जानुभयो तर उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाह नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो। ३१ किनकि उहाँ आफ्ना चेलाहरूलाई यो कुरा सिकाउँदै हुनुहुन्थ्यो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्+ तर मारिए तापनि तीन दिनपछि ऊ ब्युँतनेछ।”+ ३२ तर तिनीहरूले उहाँको कुरा बुझेनन् र तिनीहरू उहाँलाई सोध्न पनि डराए।
३३ तब उहाँहरू कफर्नहुम पुग्नुभयो। अनि उहाँ घरभित्र छँदा उहाँले तिनीहरूलाई सोध्नुभयो: “बाटोमा तिमीहरू के कुरामा बहस गर्दै थियौ?”+ ३४ तिनीहरू चुपचाप बसे किनकि तिनीहरू बाटोमा आफूहरूमध्ये को ठूलो हो भनेर बहस गर्दै थिए। ३५ तब उहाँ बस्नुभयो अनि ती १२ जनालाई बोलाएर भन्नुभयो: “यदि कोही सबैभन्दा ठूलो बन्न चाहन्छ भने ऊ सबैभन्दा सानो बन्नै पर्छ र सबैको सेवक हुनै पर्छ।”+ ३६ उहाँले एउटा सानो बालकलाई ल्याएर तिनीहरूको बीचमा उभ्याउनुभयो र उसलाई अङ्गालो हाल्दै तिनीहरूलाई यसो भन्नुभयो: ३७ “जसले मेरो नाममा यस्तै कोही एउटा सानो बालकलाई स्विकार्छ,+ उसले मलाई पनि स्विकार्छ; अनि जसले मलाई स्विकार्छ, उसले मलाई मात्र होइन तर मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।”+
३८ युहन्नाले उहाँलाई भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हाम्रो पछि लाग्दैन।”+ ३९ तर येसुले भन्नुभयो: “उसलाई रोक्न नखोज किनकि जसले मेरो नाम लिएर शक्तिशाली काम गर्छ, उसले हतपती मेरो बदनाम गर्दैन; ४० किनकि जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ।+ ४१ अनि जसले तिमीहरू ख्रिष्टका चेलाहरू हौ भनी सम्झेर तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ,+ म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।+ ४२ तर यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्याउँछ भने त्यस्तालाई त ठूलो जाँतो* घाँटीमा झुन्ड्याएर समुद्रमा फ्याँकिदिनु नै बेस हो।+
४३ “यदि तिम्रो हातले तिमीलाई ठेस पुऱ्याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै हातसहित सधैँ बलिरहने गेहेन्नाको* आगोमा फ्याँकिनुभन्दा डुँडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ ४४ *— ४५ यदि तिम्रो खुट्टाले तिमीलाई ठेस पुऱ्याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै खुट्टासहित गेहेन्नामा*+ फ्याँकिनुभन्दा लङ्गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो। ४६ *— ४७ यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्याउँछ भने त्यसलाई निकालेर फालिदेऊ+ किनकि दुवै आँखासहित गेहेन्नामा* फ्याँकिनुभन्दा कानो भएर परमेश्वरको राज्यमा पस्न पाउनु नै तिम्रो लागि बेस हो।+ ४८ किनकि गेहेन्नामा किरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन।+
४९ “नुन छर्केझैँ सबै मानिसमा आगो छर्किनै पर्छ।+ ५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+