अनन्तलाई ध्यानमा राखेर परमेश्वरसित हिंड्ने
“हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड़नेछौं।”—मीका ४:५.
१. यहोवालाई किन “युगयुगका महाराजा” भन्न सकिन्छ?
यहोवा परमेश्वरको सुरुआत छैन। उहाँलाई “अति वृद्ध व्यक्ति” भन्ने नाउँ सुहाउँदो छ किनभने उहाँको अस्तित्व अनादिदेखि छ। (दानियल ७:९, १३) यहोवाको अनन्त भविष्य पनि छ। उहाँ मात्रै “युगयुगका महाराजा” हुनुहुन्छ। (प्रकाश १०:६; १५:३) अनि उहाँको नजरमा हजार वर्ष “बितेको हिजको दिनजस्तै र रातीको एक पहरजस्तै हुन्छ।”—भजन ९०:४.
२. (क) आज्ञाकारी मानिसहरूका लागि परमेश्वरको उद्देश्य के हो? (ख) हाम्रा आशा तथा योजनाहरू कुन कुरामा केन्द्रित गर्नुपर्छ?
२ जीवनको दाता अनन्तकालीन हुनुभएकोले प्रथम मानव जोडी आदम र हव्वालाई प्रमोदवनमा अनन्त जीवनको प्रत्याशा दिन सक्नुभयो। तथापि, अनाज्ञाकारी भएर आदमले अनन्त जीवनको अधिकार गुमाए अनि आफ्ना सन्तानहरूलाई पाप र मृत्यु दिए। (रोमी ५:१२) यद्यपि, आदमको विद्रोहले परमेश्वरको सुरुको उद्देश्यलाई फेरबदल गरेन। आज्ञाकारी मानिसहरू सधैंभरि बाँचून् भन्ने यहोवाको इच्छा छ र यो उद्देश्य उहाँले अवश्य पूरा गर्नुहुनेछ। (यशैया ५५:११) त्यसैकारण, अनन्तलाई ध्यानमा राखेर यहोवाको सेवा गर्न हाम्रो आशा तथा योजनाहरू केन्द्रित गर्नु अत्यन्तै उपयुक्त छ। “परमेश्वरको त्यस दिन” ध्यानमा राखी अघि बढ्नुको साथसाथै हाम्रो लक्ष्य, परमेश्वरसित सधैंभरि हिंड्ने हो भनेर नबिर्सनु पनि अत्यावश्यक छ।—२ पत्रुस ३:१२.
आफूले ठहराएको समयमा यहोवाले कदम चाल्नुहुन्छ
३. आफ्ना उद्देश्यहरू पूरा गर्न यहोवाको तोकिएको “समय” छ भनी हामी कसरी थाह पाउँछौं?
३ परमेश्वरसित हिंड्नेहरूको हैसियतमा उहाँको इच्छा पूरा हुनुमा हामी गहन चासो राख्छौं। यहोवाले समयको अत्यन्तै ख्याल राख्नुहुन्छ भनेर हामीलाई थाह छ र उहाँले तोक्नुभएको समयमा आफ्नो उद्देश्य अवश्य पूरा गर्नुहुनेछ भनेर हामी विश्वस्त छौं। उदाहरणका लागि, “जब तोकिएको समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई” पठाउनुभयो। (गलाती ४:४) प्रेरित यूहन्नालाई तिनले देखेका भविष्यसूचक कुराहरूको पूर्तिको लागि तोकिएको “समय” भनी बताइयो। (प्रकाश १:१-३) “मरेकाहरूको इन्साफ गर्ने समय” तोकिएको छ। (प्रकाश ११:१८) ईश्वरको प्रेरणा पाएर प्रेरित पावलले १,९०० वर्षभन्दा अघि भनेका थिए, परमेश्वरले “एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ।”—प्रेरित १७:३१.
४. यहोवा यस दुष्ट रीतिरिवाजलाई नाश गर्न चाहनुहुन्छ भनी हामी कसरी थाह पाउँछौं?
४ अहिलेको संसारले यहोवाको नाउँ बदनाम गरेको हुँदा उहाँले यस दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुनेछ। दुष्टहरूको फलिफाप भएको छ। (भजन ९२:७) तिनीहरू वचन तथा कामद्वारा परमेश्वरको अपमान गर्छन् अनि आफ्ना सेवकहरूले आलोचना तथा सतावट भोग्नुपर्दा उहाँको मन दुख्छ। (जकरिया २:८) त्यसैकारण, यहोवाले शैतानको सम्पूर्ण संगठनलाई चाँडै नाश गर्नेछु भनी निधो गर्नुभएकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन! यो कहिले हुनेछ भनी परमेश्वरले समय निर्धारण गर्नुभएको छ र अहिले हामी “अन्तको समय[मा]” बाँचिरहेका छौं भनी बाइबलका भविष्यवाणीहरूको पूर्तिले स्पष्ट गर्छ। (दानियल १२:४) उहाँलाई प्रेम गर्ने सबैको आशिष्को खातिर चाँडै कदम चाल्नुहुनेछ।
५. लूत र हबकूकले आफू वरपरको अवस्थाप्रति कस्तो दृष्टिकोण राखे?
५ यहोवाको विगतका सेवकहरूले दुष्टताको अन्त हेर्ने इच्छा गरेका थिए। धर्मी लूत “दुष्टहरूका कामुक जीवनबाट अति दुःखित भएका” थिए। (२ पत्रुस २:७) आफू वरपरको अवस्था देखेर दुःखी भएका अगमवक्ता हबकूकले यस्तो बिन्ती गरे: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्नुहुन्न? उपद्रवको कारणले गर्दा म तपाईंमा पुकारा गर्दछु, औ तपाईं उद्धार गर्नुहुन्न। तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ? नाश र उपद्रव मेरै सामने भइरहेको छ। झगड़ा र विवाद बढ़दै जाँदैछन्।”—हबकूक १:२, ३.
६. हबकूकको प्रार्थनाको जवाफमा यहोवाले के भन्नुभयो र यसबाट हामी के सिक्नसक्छौं?
६ यहोवाले हबकूकलाई दिनुभएको जवाफको केही अंश यसप्रकार छ: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) यसप्रकार परमेश्वरले आफ्नो “ठहराएको समयमा” कार्य गर्नुहुनेछ भनी थाह दिनुभयो। ढिलो भएजस्तो देखिएला तर यहोवाले आफ्नो उद्देश्य अवश्य पूरा गर्नुहुनेछ, त्यसमा फरक पर्नेछैन।—२ पत्रुस ३:९.
कहिल्यै नथाक्ने जोसले सेवा गर्ने
७. यहोवाको दिन ठीक यही दिन आउँछ भनेर येशूलाई थाह नभए तापनि उहाँले आफ्ना क्रियाकलापहरू कसरी अघि बढाउनुभयो?
७ के हामी यहोवाले गर्नुहुने घटनाहरूको निश्चित समय थाह पाएको खण्डमा मात्र जोसका साथ परमेश्वरसित हिंड्ने हो र? अहँ, होइन। केही उदाहरणहरू विचार गर्नुहोस्। स्वर्गमा जस्तै पृथ्वीमा परमेश्वरको इच्छा पूरा हुने समयमा येशूले गहन चासो राख्नुहुन्थ्यो। निस्सन्देह, ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) यो आग्रहको जवाफ पाउनेछु भनी येशूलाई थाह थियो तर ती घटनाहरू ठीक यही दिन हुनेछ भनेर उहाँलाई थाह थिएन। यस रीतिरिवाजको अन्तबारे ठूलो भविष्यवाणीमा उहाँले यसो भन्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) परमेश्वरको उद्देश्य पूरा गर्नमा येशू ख्रीष्टको प्रमुख भूमिका भएको हुँदा स्वर्गमा हुनुहुने पिताका शत्रुहरूमाथि कारबाही गर्न उहाँ प्रत्यक्ष तवरमा संलग्न हुनुहुनेछ। तथापि, येशू पृथ्वीमा हुनुहुँदा परमेश्वरले कहिले कदम चाल्नुहुनेछ भनी उहाँलाई समेत थाह थिएन। के त्यसले उहाँलाई यहोवाको सेवामा कम जोसिलो बनायो? पटक्कै बनाएन! जोसका साथ येशूले मन्दिरलाई शुद्ध पार्नुभएको देखेर “उहाँका चेलाहरूलाई यो लेखिएको कुरा याद भयो, ‘तपाईंको घरको जोशले मलाई खाइहाल्नेछ।’ ” (यूहन्ना २:१७; भजन ६९:९) आफूलाई जुन काम गर्न पठाइएको थियो, त्यो काममा उहाँ पूर्णतया व्यस्त रहनुभयो र कहिल्यै नथाक्ने जोसका साथ गर्नुभयो। उहाँले पनि अनन्तलाई ध्यानमा राखेर परमेश्वरको सेवा गर्नुभयो।
८, ९. चेलाहरूले राज्य फिर्ता गर्नेबारे प्रश्न सोध्दा तिनीहरूलाई के जवाफ दिइयो र तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
८ ख्रीष्टका चेलाहरूले पनि त्यसै गरे। आफ्नो स्वर्गारोहण हुनै लाग्दा येशूले तिनीहरूसित भेट्नुभयो। विवरण यसप्रकार छ: “जब तिनीहरू भेला भएका थिए, तब तिनीहरूले उहाँलाई यसो भनेर सोधे, ‘हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?’ ” आफ्ना मालिकले जस्तै तिनीहरू पनि राज्यको तिर्सना गर्थे। तर, येशूले यस्तो जवाफ दिनुभयो: “पिताले जुन जुन समय वा बखत आफ्नो अधिकारभित्र राख्नुभएको छ, सो जान्नखोज्नु तिमीहरूको काम होइन। तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:६-८.
९ यस्तो जवाफ सुनेर चेलाहरू दिक्क भए भन्ने कुनै संकेत पाउँदैनौं। बरु, तिनीहरू प्रचारकार्यमा जोडतोडका साथ लागे। केही हप्ताभित्र तिनीहरूको शिक्षाले सारा यरूशलेम भरिसकेको थियो। (प्रेरित ५:२८) अनि अर्को ३० वर्षभित्र तिनीहरूको प्रचारकार्य यति फैलिसकेको थियो कि पावलले यसो भन्नसके, सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा” प्रचार गरियो। (कलस्सी १:२३) परमेश्वरको राज्य ‘इस्राएललाई फिर्ता गरिनेछ’ भनेर चेलाहरूले गलत आशा राखेका थिए र साथै तिनीहरूको जीवनकालमा स्वर्गमा राज्य स्थापित भएन तापनि तिनीहरूले अनन्तलाई ध्यानमा राख्दै जोसका साथ यहोवाको सेवा गरी रहे।
हाम्रो मनोवृत्ति केलाउने
१०. परमेश्वरले शैतानको रीतिरिवाजलाई नाश गर्ने समय थाह नभएकोले हामी कुन कुरा प्रमाणित गर्ने मौका पाउँछौं?
१० यहोवाको वर्तमान समयका सेवकहरू पनि यस दुष्ट रीतिरिवाजको अन्त भएको हेर्न चाहन्छन्। तथापि, परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा प्रवेश गर्नु नै हाम्रो प्रमुख चासो होइन। हामी यहोवाको नाउँ पवित्र गरिएको र उहाँको सार्वभौमिकता उच्च पारिएको हेर्न चाहन्छौं। यसकारण, परमेश्वरले शैतानको रीतिरिवाज नाश गर्ने ‘दिन वा घडी’ नबताउनुभएकोमा हामी रमाउनसक्छौं। हाम्रो क्षणिक, स्वार्थी लक्ष्यहरूको लागि नभई परमेश्वरप्रति प्रेम भएकोले उहाँसित अनन्तसम्म हिंडिरहने कटिबद्धताको प्रमाण दिने मौका पाउँछौं।
११, १२. कुन तरिकामा अय्यूबको निष्ठामाथि चुनौती दिइयो र त्यो चुनौतीको हामीसित के सम्बन्ध छ?
११ परमेश्वरप्रति हाम्रो निष्ठा कायम गरेर हामी दियाबलको आरोपलाई झूटो ठहराउने मौका पनि पाउँछौं किनभने त्यसले अय्यूबजस्ता धर्मी मानिसहरू आफ्नो स्वार्थ पूर्तिको लागि परमेश्वरको सेवा गर्छन् भन्ने आरोप लगाएको थियो। परमेश्वरले आफ्नो सेवक अय्यूब निर्दोष, सोझो अनि परमेश्वरको डर राख्ने मानिस हो भनी बताएपछि शैतानले कठोर हुँदै यस्तो आरोप लगायो: “परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन? के तिनलाई, तिनका घराना र तिनका सबै धन–सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष दिनुभएको छ, औ तिनका गाईवस्तुहरू अनगन्ती बढ़ेका छन्। तर आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्।” (अय्यूब १:८-११) अय्यूबले परीक्षा आइपर्दा पनि निष्ठावान् रहेर त्यो धूर्त दाबीलाई गलत साबित गरे।
१२ शैतानको एउटा आरोप हो, इनाम पाउँछौं भनेर मात्र हामी निष्ठावान् भएर परमेश्वरको सेवा गरेका हौं। तर हामी त्यसको खण्डन गर्नसक्छौं। दुष्टहरूमाथि परमेश्वरको न्याय कार्यान्वयन हुने दिन वा घडी थाह नभएकोले हामी साँच्चै यहोवालाई प्रेम गर्छौं र उहाँको मार्गमा सधैंभरि हिंड्न चाहन्छौं भनेर प्रमाणित गर्ने मौका पाउँछौं। यसले हामी परमेश्वरप्रति वफादार छौं र उहाँले कामकुरा गर्नुहुने तरिकामा भरोसा राख्छौं भनेर देखाउँछ। यसबाहेक, त्यो दिन र घडी थाह नभएकोले हामीलाई सतर्क तथा आध्यात्मिक तवरमा जागा हुन मदत गर्छ किनभने राति चोर आएझैं त्यो अन्त जुनसुकै बेला आउनसक्छ भनी हामीलाई थाह छ। (मत्ती २४:४२-४४) दिनहुँ यहोवासित हिंडेर हामी उहाँको हृदय आनन्दित तुल्याउँछौं र उहाँको आलोचना गर्ने दियाबललाई मुखभरिको जवाफ दिन्छौं।—हितोपदेश २७:११.
अनन्तको लागि योजना बनाउनुहोस्!
१३. भविष्यको लागि योजना बनाउने सन्दर्भमा बाइबलले के भन्छ?
१३ परमेश्वरसित हिंड्नेहरूले भविष्यको लागि व्यवहारिक योजना बनाउनु बुद्धिमानी हो भनी बुझेका छन्। वृद्धावस्थाको समस्या तथा सीमिततालाई ध्यानमा राखेर थुप्रै मानिसहरू भविष्यमा पैसाको समस्या नहोस् भनेर आफ्नो युवावस्था तथा बलको सदुपयोग गर्न चाहन्छन्। तर त्योभन्दा पनि निकै महत्त्वपूर्ण आध्यात्मिक भविष्य नि? हितोपदेश २१:५ यसो भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्चय कङ्गाली हुन्छ।” अनन्तलाई विचार गरेर योजना बनाउनु साँच्चै फाइदाजनक हुन्छ। यो रीतिरिवाजको अन्त यति नै बेला आउँछ भनेर हामीलाई थाह नभएको हुँदा भावी आवश्यकताहरूबारे पनि विचार गर्नु आवश्यक छ। तर हामी सन्तुलित होऔं र ईश्वरीय कामकुरालाई जीवनमा प्राथमिकता देऔं। विश्वासको कमी भएका मानिसहरू परमेश्वरको इच्छा गर्न आफ्नो जीवन केन्द्रित गर्नु दूरदर्शिता होइन भन्ने निष्कर्षमा पुग्लान्। तर के त्यस्तो निष्कर्ष सही हो त?
१४, १५. (क) भविष्यबारे योजनासम्बन्धी येशूले कुन उदाहरण बताउनुभयो? (ख) येशूको उदाहरणको धनी मानिस किन दूरदर्शी थिएन?
१४ येशूले बताउनुभएको उदाहरणले यो कुरालाई अझ प्रस्ट पार्छ। उहाँले भन्नुभयो: “कुनै एउटा धनी मानिसको जमीनले प्रशस्त उब्जनी दिन्थ्यो। औ त्यसले यसो भनेर मनमनै गुन्नलाग्यो, ‘मसित मेरो अन्न राख्ने ठाउँ छैन, अब म के गरूँ? तब त्यसले भन्यो, ‘म यही गर्नेछु—म आफ्ना भकारीहरू भत्काएर झन् ठूला ठूला बनाउनेछु, औ मेरा सबै अनाज र सम्पत्तिहरू त्यहीं राख्नेछु। औ म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्, खा, पी, र आनन्द गर्।’ तर परमेश्वरले त्यसलाई भन्नुभयो, “ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस् ती कसको होला?’ तर परमेश्वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।’ ”—लूका १२:१६-२१.
१५ के यहाँ येशूले त्यो धनी मानिसले भविष्यमा आर्थिक सुरक्षाको लागि काम गर्नै नहुनेथ्यो भन्न खोज्नुभएको हो र? होइन। किनभने धर्मशास्त्रले कडा मेहनत गर्न प्रोत्साहन दिन्छ। (२ थिस्सलोनिकी ३:१०) उक्त धनी मानिसले कहाँनेर गल्ती गऱ्यो भने, उसले “परमेश्वरतर्फ धनी” हुन केही पनि गरेन। उसले निकै वर्षसम्म आफ्नो भौतिक सम्पत्ति उपभोग गर्न सकेको भए तापनि ऊ आखिरमा मर्नेथ्यो। उसले अनन्तबारे नसोचेकोले दूरदर्शी हुन सकेन।
१६. सुरक्षित भविष्यको लागि हामी किन ढुक्क भएर यहोवामा भरोसा राख्नसक्छौं?
१६ अनन्तलाई विचार गर्दै यहोवासित हिंड्नु व्यवहारिक अनि दूरदर्शी हो। यसरी भविष्यबारे योजना बनाउनु सबैभन्दा उत्तम तरिका हो। पढाइ, रोजगार र पारिवारिक जिम्मेवारीहरूबारे व्यवहारिक योजना बनाउनु बुद्धिमानी भए तापनि हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन। त्यो हो, यहोवाले आफ्ना वफादार सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्न। राजा दाऊदले यस्तो भजन गाए: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजन ३७:२५) येशूले पनि त्यस्तै आश्वासन दिनुभयो अर्थात् सर्वप्रथम राज्यको खोजी गर्ने तथा यहोवाको धार्मिकतामा हिंड्नेहरू सबैको परमेश्वरले हेरचाह गर्नुहुनेछ।—मत्ती ६:३३.
१७. अन्त नजिकै छ भनेर हामी कसरी थाह पाउँछौं?
१७ हामीले अनन्तलाई विचार गरेर यहोवाको सेवा गरे तापनि उहाँको दिनलाई बिर्संदैनौं। बाइबल भविष्यवाणीको पूर्तिले त्यो दिन नजिकै छ भनेर ज्वलन्त प्रमाण दिन्छ। यो शताब्दीको चिनारी युद्ध, रोगबिमार, भुइँचालो र अनिकालको साथसाथै साँचो मसीहीहरूको सतावट तथा परमेश्वरको राज्यको सुसमाचारको विश्वव्यापी प्रचार भएको छ। यी सबै यस दुष्ट रीतिरिवाजको अन्तका पक्षहरू हुन्। (मत्ती २४:७-१४; लूका २१:११) यो संसार “स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” मानिसहरूले भरिएको छ। (२ तिमोथी ३:१-५) यो डरलाग्दो आखिरी दिनमा जीवन बिताउनु हामी यहोवाका सेवकहरूको लागि सजिलो छैन। यहोवाको राज्यले खराब कुराहरू सबैलाई खत्तम पार्ने दिन हेर्न हामी साह्रै उत्सुक छौं! त्यो दिन नआउञ्जेल अनन्तलाई विचार गरेर यहोवासित हिंड्न कटिबद्ध होऔं।
अनन्त जीवनलाई विचार गरेर सेवा गर्ने
१८, १९. विगतका विश्वासी जनहरूले अनन्तलाई विचार गर्दै परमेश्वरको सेवा गरे भनी कुन कुराले देखाउँछ?
१८ यहोवासित हिंड्ने क्रममा हाबिल, हनोक, नूह, अब्राहाम र साराको विश्वास पनि नबिर्सौं। तिनीहरूबारे उल्लेख गरिसकेपछि पावलले यसप्रकार लेखे: “यी सबै प्रतिज्ञाहरू नपाईकन, तर तिनीहरूलाई टाढ़ैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन् भन्ने स्वीकार गर्दै विश्वासैमा तिनी मरे।” (हिब्रू ११:१३) ती विश्वासी जनहरूले “झन् उत्तम देश, अर्थात् स्वर्गीय देशको इच्छा” गरिरहेका थिए। (हिब्रू ११:१६) तिनीहरूले परमेश्वरको मसीही राज्य शासनअन्तर्गत उत्तम स्थानको प्रतीक्षा गरेर विश्वास देखाए। परमेश्वरले तिनीहरूलाई उत्तम स्थान अर्थात् राज्य शासनअन्तर्गत पार्थिव प्रमोदवनमा अनन्त जीवनको इनाम दिनुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं।—हिब्रू ११:३९, ४०.
१९ अनन्तसम्म परमेश्वरको उपासना गर्न यहोवाका जनहरूको कटिबद्धता अगमवक्ता मीकाले व्यक्त गरे। तिनले यसरी लेखे: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंड़छन्, तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा हिंड़नेछौं।” (मीका ४:५) मीकाले मृत्युसम्म वफादार भएर यहोवाको सेवा गरे। नयाँ संसारमा पुनरुत्थान गरिएपछि पनि निस्सन्देह, तिनी अनन्तसम्म परमेश्वरसित हिंडिरहनेछन्। यस अन्तको समयको पनि अन्तमा बाँचिरहेका हामी सबैको लागि कस्तो असल उदाहरण!
२०. हाम्रो संकल्प कस्तो हुनुपर्छ?
२० यहोवाको नाउँप्रति हामीले देखाउने प्रेमको उहाँ मूल्यांकन गर्नुहुन्छ। (हिब्रू ६:१०) दियाबलले प्रभुत्व जमाएको यो संसारमा उहाँप्रति निष्ठा कायम गर्न गाह्रो छ भनी उहाँलाई थाह छ। “संसार बितिजान्छ, . . . तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्ना २:१७; ५:१९) त्यसोभए, यहोवाको मदत लिएर हामीले दिनहुँ सामना गर्ने परीक्षाहरू सहने संकल्प गरौं। स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले प्रतिज्ञा गर्नुभएको अद्भुत आशिष्हरूमा हाम्रो सोचाइ अनि जीवनशैली केन्द्रित होस्। अनन्तलाई विचार गर्दै परमेश्वरसित हिंडिरह्यौं भने ती आशिष्हरू अवश्य पाउनेछौं।—यहूदा २०, २१.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ आज्ञाकारी मानिसहरूको लागि परमेश्वरको उद्देश्य के हो?
◻ अभक्त संसारलाई नाश गर्न यहोवाले अहिलेसम्म किन कदम चाल्नुभएको छैन?
◻ परमेश्वरले न्याय कार्यान्वयन गर्नुहुने घडी थाह नपाउँदा हाम्रो जोस किन कम हुँदैन?
◻ अनन्तलाई विचार गर्दै परमेश्वरसित हिंड्नुका केही लाभहरू के हुन्?
[पृष्ठ १७-मा भएको चित्र]
परमेश्वरसित हिंड्न हामीले ख्रीष्टका प्रारम्भिक चेलाहरूले जस्तै जोसका साथ उहाँको सेवा गर्नुपर्छ