यहोवाले प्रशस्त शान्ति र सच्चाइ दिनुहुन्छ
“म तिनीहरूलाई निको पार्नेछु औ उन्नति र कुशलता [शान्ति र सच्चाइ, न्युव] प्रशस्त मात्रामा ल्याइदिनेछु।”—यर्मिया ३३:६.
१, २. (क) शान्तिको सम्बन्धमा राष्ट्रहरूले कस्तो छवि बसालेको छ? (ख) सा.यु.पू. ६०७ मा यहोवाले इस्राएललाई शान्तिबारे कस्तो पाठ सिकाउनुभयो?
शान्ति! मानव इतिहासको सबैभन्दा प्रिय कुरा कति दुर्लभ छ! अझ यो २० औं शताब्दी कुनै ढंगमा पनि शान्तिको शताब्दी भएको छैन। बरु यही शताब्दीमा दुइ पटक मानव इतिहासका सबैभन्दा विनाशकारी महायुद्धहरू लडिए। हुन त, प्रथम विश्वयुद्धपश्चात् विश्व शान्ति कायम राख्न राष्ट्र संघ खडा भएको थियो। तर त्यो संगठन सफल भएन। दोस्रो विश्वयुद्धपश्चात् सोही लक्ष्य लिएर संयुक्त राष्ट्र संघ स्थापित भयो। यो पनि कति असफल भइरहेको छ, सो जान्न दैनिक समाचार पढे मात्र पुग्छ।
२ मानव संगठनहरूले शान्ति ल्याउन नसकेकोमा के हामी छक्क पर्नुपर्छ? पर्दैन। किनभने परमेश्वरले चुन्नुभएको जन, इस्राएललाई २,५०० वर्षअघि यस सम्बन्धमा पाठ पढाइएको थियो। सा.यु.पू. सातौं शताब्दीतिर शक्तिशाली हुँदै गइरहेको विश्व शक्ति बेबिलोनले गर्दा इस्राएलको शान्ति खतरामा परेको थियो। आफ्नो शान्ति जोगाउन इस्राएलले मिश्रसँग मदत माग्यो। तर मिश्रले मदत गर्न सकेन। (यर्मिया ३७: ५-८; इजकिएल १७:११-१५) फलस्वरूप सा.यु.पू. ६०७ मा बेबिलोनी सिपाहीहरूले यरूशलेमको पर्खाल भत्काएर यहोवाको मन्दिरलाई जलाए। मानव संगठनहरूमाथि भरोसा गर्नु व्यर्थ रहेछ भनेर इस्राएलले कटु पाठ सिके। शान्ति पाउनुको साटो त्यस राष्ट्र जबरजस्ती बेबिलोनको निर्वासनमा जानुपऱ्यो।—२ इतिहास ३६:१७-२१.
३. यर्मियाद्वारा यहोवाले बोल्नुभएको वचनको पूर्तिअनुरूप कुन ऐतिहासिक घटनाले इस्राएललाई शान्तिबारे दोस्रो अत्यावश्यक पाठ पढायो?
३ तथापि, यरूशलेमको पतनअघि यहोवाले मिश्र होइन तर स्वयं उहाँले इस्राएललाई फेरि साँचो शान्ति दिनुहुनेछ भनी प्रकट गर्नुभएको थियो। यर्मियाद्वारा उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिनीहरूलाई निको पार्नेछु, औ उन्नति र कुशलता (शान्ति तथा सच्चाइ, न्युव) प्रशस्त मात्रामा ल्याइदिनेछु। म यहूदा र इस्राएलको सुदिन फेरि फर्काएर ल्याइदिनेछु, र तिनीहरूलाई फेरि अघिकै जस्तो बनाइदिनेछु।” (यर्मिया ३३:६, ७) सा.यु.पू. ५३९ मा बेबिलोनको पराजयपछि निर्वासित इस्राएलीहरू स्वतन्त्र हुँदा यहोवाको प्रतिज्ञा पूरा हुन थाल्यो। (२ इतिहास ३६:२२, २३) सा.यु.पू. ५३७ को अन्ततिर इस्राएलीहरूको समूहले ७० वर्षपछि पहिलो पटक आफ्नै भूमि इस्राएलमा झुप्रोबासको चाड मनाए। चाडपछि तिनीहरूले यहोवाको मन्दिर निर्माण गर्नथाले। त्यसबेला तिनीहरूले कस्तो महसुस गरे? अभिलेखले यसरी जवाफ दिन्छ: “परमप्रभुको जग बसालिएको हुनाले सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्तुति गरे।”—एज्रा ३:११.
४. मन्दिर निर्माण कार्यका लागि यहोवाले इस्राएलीहरूलाई कसरी उत्तेजित पार्नुभयो र उहाँले शान्तिबारे कस्तो प्रतिज्ञा गर्नुभयो?
४ तर त्यस्तो आनन्ददायी सुरुआतको बावजूद विरोधीहरूले गर्दा निरुत्साहित भएर इस्राएलीहरूले मन्दिर निर्माण कार्यलाई बन्द गरे। केही वर्षपश्चात् इस्राएलीहरूलाई पुनर्निर्माण कार्यका लागि फेरि उत्साहित पार्न यहोवाले अगमवक्ता हाग्गै र जकरियालाई खडा गर्नुभयो। पुनर्निर्माण हुने मन्दिरबारे हाग्गैले यसो भन्दा मानिसहरू कति रोमाञ्चित भए होलान्, हामी कल्पना गर्नसक्छौं: “यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ। अनि यस ठाउँमा म शान्ति ल्याउनेछु भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ।”—हाग्गै २:९.
यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ
५. जकरिया आठौं अध्यायको उल्लेखनीय कुरा के हो?
५ बाइबलीय पुस्तक जकरियामा निकै प्रेरित दर्शन तथा भविष्यवाणीहरू पाइन्छन्, जसले सा.यु.पू. छैटौं शताब्दीतिर परमेश्वरका जनहरूलाई बल दिएका थिए। ती भविष्यवाणीहरूले अहिले पनि हामीलाई यहोवाको समर्थनको आश्वासन दिन्छ। हाम्रो समयमा पनि यहोवाले आफ्ना जनहरूलाई शान्ति दिनुहुनेछ भनेर विश्वास गर्ने ठोस कारण त्यसले दिन्छ। उदाहरणको लागि, जकरिया आठौं अध्यायमा ‘परमप्रभुले यसो भन्नुहुन्छ’ भन्ने शब्दहरू जकरियाले दश पटक दोहोऱ्याउँछन्। अनि हरेकपल्ट ती अभिव्यक्तिपश्चात् परमेश्वरका जनहरूको शान्तिसित सम्बन्धित ईश्वरीय वाणीहरू सुरु हुन्छ। यी प्रतिज्ञाहरूमध्ये केही जकरियाको दिनमा पूरा भए। तर हाम्रो समयमा भने ती सबै प्रतिज्ञाहरू पूरा भएका छन् वा पूरा हुन आँटेका छन्।
‘सियोनको निम्ति म डाही भएको छु’
६, ७. यहोवा कुन कुन ढंगमा ‘सियोनका लागि क्रोधले साह्रै डाही’ हुनुभयो?
६ यो अभिव्यक्ति पहिलो पटक जकरिया ८:२ मा उल्लेख गरिएको छ, जहाँ यसरी लेखिएको छ: “सेनाहरूको परमप्रभु यसो भन्नुहुन्छ, ‘सियोनको निम्ति डाहले म डाही भएको छु। म त्यसको निम्ति क्रोधले साह्रै डाही भएको छु।’” यहोवा आफ्नो जनको निम्ति डाही हुनु अर्थात् उहाँले तिनीहरूका खातिर ठूलो जोश देखाउने प्रतिज्ञा गर्नुको अर्थ उहाँ तिनीहरूको शान्ति स्थापना गर्न सतर्क हुनु हो। इस्राएलको पुनर्स्थापना तथा मन्दिरको पुनर्निर्माण हुनु उहाँको त्यस्तो जोशको प्रमाण थियो।
७ तर, यहोवाका जनहरूको विरोध गर्नेहरूको निम्ति त्यसले के अर्थ राख्ने थियो त? आफ्नो जनका लागि उहाँसित जति जोश थियो त्यति नै “क्रोध” ती शत्रुहरूमाथि हुनेथियो। विश्वासी यहूदीहरूले पुनर्निर्मित मन्दिरमा उपासना गर्दा तिनीहरूले पतन भइसकेको शक्तिशाली बेबिलोनको प्रतिकूल नतिजामाथि मनन गर्नसक्थे। मन्दिरको पुनर्निर्माण कार्य रोक्न प्रयास गर्ने शत्रुहरूको ठूलो असफलतालाई सम्झन सक्थे। (एज्रा ४:१-६; ६:३) अनि आफ्नो प्रतिज्ञा पूरा गर्नुभएकोमा यहोवालाई धन्यवाद चढाउन सक्थे। हो, उहाँको जोशले गर्दा तिनीहरू विजयी भए!
“सत्यको शहर”
८. जकरियाको समयमा यरूशलेम पहिले भन्दा कसरी सत्यको शहर हुनेथियो?
८ दोस्रो पटक जकरिया फेरि यो लेख्छन्: “परमप्रभु यसो भन्नुहुन्छ।” यस पटक यहोवाले के भन्नुहुन्छ? “म सियोनमा फर्केर आउनेछु, र यरूशलेमको माझमा बास गर्नेछु। औ यरूशलेम सत्यको शहर भनिनेछ, औ सेनाहरूका परमप्रभुको पर्वत चाहिं पवित्र मानिनेछ।” (जकरिया ८:३) सा.यु.पू. ६०७ अघि यरूशलेम निस्सन्देह सत्यको शहर थिएन। त्यसका पूजाहारी तथा अगमवक्ताहरू भ्रष्ट र मानिसहरू अविश्वासी थिए। (यर्मिया ६:१३; ७:२९-३४; १३:२३-२७) तर अब भने, परमेश्वरका जनहरूले शुद्ध उपासनाप्रति आफ्नो वचनबद्धता देखाउँदै मन्दिर पुनर्निर्माण गरिरहेका थिए। यहोवा आत्मिक रूपमा फेरि यरूशलेममा बास गर्नुभयो। यरूशलेममा फेरि शुद्ध उपासनाका सच्चाइहरू बोल्न थालिए। अतः त्यसलाई “सत्यको शहर” भन्न सकिन्थ्यो। त्यसको उच्च स्थानलाई “परमप्रभुको पर्वत” भन्न सकिन्थ्यो।
९. सन् १९१९ मा “परमेश्वरको इस्राएलले” आफ्नो परिस्थितिमा कस्तो उल्लेखनीय परिवर्तन अनुभव गरे?
९ ती दुइ वाणीहरू पुरातन इस्राएलका लागि अर्थपूर्ण थिए र आज २० औं शताब्दीका यी अन्तिम समयमा हाम्रालागि झनै अर्थपूर्ण छन्। पुरातन इस्राएल बेबिलोनको कैदमा परेझैं झन्डै ८० वर्षअघि प्रथम विश्वयुद्धको दौडान “परमेश्वरको इस्राएलको” प्रतिनिधित्व गर्ने केही हजार अभिषिक्त जन आध्यात्मिक कैदमा परेका थिए। (गलाती ६:१६) भविष्यसूचक ढंगमा भन्ने हो भने, तिनीहरूको लाश शहरमा अलपत्र परिरहेको थियो। तैपनि, तिनीहरूसित यहोवालाई “आत्मा र सत्यतामा” उपासना गर्ने निष्कपट इच्छा थियो। (यूहन्ना ४:२४) तसर्थ, सन् १९१९ मा यहोवाले तिनीहरूलाई कैदबाट मुक्त पार्नुका साथै आध्यात्मिक मरेतुल्य अवस्थाबाट पुनः जीवित पार्नुभयो। (प्रकाश ११:७-१३) यसप्रकार, “के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? के एकै क्षणमानै एउटा जाति उत्पन्न हुनसक्छ र?” भन्ने यशैयाको भविष्यसूचक प्रश्नको जवाफ, यहोवाले स्पष्टसित हुनसक्छ भनेर दिनुभयो। (यशैया ६६:८) सन् १९१९ मा यहोवाका जनहरूले पुनः एक पटक आफ्नै “देश” वा आध्यात्मिक पार्थिव क्षेत्रमा आध्यात्मिक राष्ट्रको अस्तित्व धारण गर्न सक्यो।
१०. सन् १९१९ देखि अभिषिक्त मसीहीहरूले आफ्नो “देश[मा]” कस्ता आशिष्हरूको आनन्द उठाइरहेका छन्?
१० त्यस देशमा सुरक्षित अभिषिक्त मसीहीहरूले यहोवाको महान् आध्यात्मिक मन्दिरमा सेवा गरे। तिनीहरूलाई “विश्वासी र बुद्धिमान दास” नियुक्त गरियो र तिनीहरूले येशूको पार्थिव सम्पत्तिको रेखदेख गर्ने जिम्मेवारी स्वीकारे। आज २० औं शताब्दीको यी आखिरी वर्षहरूमा पनि तिनीहरूले त्यो सुअवसरको आनन्द उठाइरहेका छन्। (मत्ती २४:४५-४७) तिनीहरूले यहोवा “शान्तिका परमेश्वर” हुनुहुन्छ भन्ने राम्रो पाठ सिके।—१ थिस्सलोनिकी ५:२३.
११. मसीहीजगतका धार्मिक नेताहरूले कसरी आफैलाई परमेश्वरका जनहरूको शत्रु भनी देखाइरहेका छन्?
११ उसोभए परमेश्वरको इस्राएलका शत्रुहरूलाई के भयो त? आफ्ना जनका लागि यहोवासित जति जोश छ, त्यति नै क्रोध विरोधीहरूप्रति छ। प्रथम विश्वयुद्धको दौडान मसीहीजगतका धार्मिक नेताहरूले सत्य बोल्ने मुठीभर साँचो मसीहीहरूको नामोनिसान मेटाउन अचाक्ली दबाब दिए। तर तिनीहरूको प्रयास सफल हुनसकेन। दोस्रो विश्वयुद्धको दौडान मसीहीजगतका सेवकहरू एउटै कुरामा एक देखियो। त्यो थियो, तिनीहरूले युद्धरत दुवै पक्षका सरकारहरूलाई यहोवाका साक्षीहरूलाई दबाउन आग्रह गरे। आज पनि थुप्रै मुलुकहरूमा धार्मिक नेताहरूले सरकारहरूलाई यहोवाका साक्षीहरूको मसीही प्रचार कार्यमाथि नियन्त्रण गर्न वा प्रतिबन्ध लगाउन उक्साउँछन्।
१२, १३. मसीहीजगतको विरुद्धमा यहोवाको क्रोध कसरी व्यक्त हुन्छ?
१२ यी सबै कुरा यहोवाले देखिरहनुभएको छ। प्रथम विश्वयुद्धपछि मसीहीजगत सँगसँगै महान् बेबिलोनको पतन भयो। (प्रकाश १४:८) सन् १९२२ देखि एकपछि अर्को प्रतीकात्मक विपत्तिहरू प्रहार हुँदा मसीहीजगतको आध्यात्मिक मृत अवस्था र त्यसमाथि आउँदै गरेको नाश खुलेआम पर्दाफास भयो। त्यसको पतन कति वास्तविक रहेछ, सबैले थाह पाए। (प्रकाश ८:७–९:२१) मसीहीजगतमाथि अझ पनि ती विपत्तिहरू पोखाइँदैछ भन्ने प्रमाणस्वरूप अप्रिल २३, १९९५ का दिन “झूटो धर्मको अन्त नजीकै छ” शीर्षक भएको भाषण सारा संसारभरि दिइयो। भाषणपश्चात् करोडौं प्रति राज्य समाचार-को विशेष अंक वितरण गरियो।
१३ आज, मसीहीजगत दयनीय स्थितिमा छ। यस २० औं शताब्दीभरि त्यसका पूजाहारी तथा सेवकहरूले आशिष् दिएका युद्धहरूमा त्यसकै सदस्यहरूबीच काटमार भएको छ। केही मुलुकहरूमा मसीहीजगतको प्रभाव बिलकुलै शून्य भइसकेको छ। अब त्यो महान् बेबिलोनको बाँकी भाग सँगसँगै नाश हुन मात्र बाँकी छ।—प्रकाश १८:२१.
यहोवाका जनहरूका लागि शान्ति
१४. कुन भविष्यसूचक शब्दले शान्तिपूर्वक बसिरहेका मानिसहरूको चित्रण गर्छ?
१४ अर्कोतर्फ, सन् १९९६ मा यहोवाका जनहरूले आफ्नो पुनर्स्थापित भूमिमा यहोवाको यो तेस्रो वाणीअनुरूप प्रशस्त शान्तिको आनन्द उठाउँछन्: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेमका गल्लीहरूमा अझै पनि बूढ़ा-बूढ़ीहरू, दिन धेरै खाएकोले हातमा लौरो टेकेर बसिरहेका हुनेछन्। शहरका गल्लीहरू चाहिं खेल्ने केटा-केटीहरूले भरिएका हुनेछन्।’”—जकरिया ८:४, ५.
१५. राष्ट्रहरूबीच युद्धको बावजूद यहोवाका सेवकहरूले कस्तो शान्तिको आनन्द उठाइरहेका छन्?
१५ यी मीठा शब्दहरूले यस युद्धग्रस्त संसारको एउटा उल्लेखनीय कुराको चित्रण गर्छ। त्यो हो, शान्तिसित बसिरहेका मानिसहरू। सन् १९१९ देखि यशैयाका निम्न भविष्यसूचक वचनहरू पूरा भएका छन्: “टाढ़ा र नजीक बस्ने दुवैलाई शान्ति होस्, शान्ति! म त्यसलाई निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ। तर . . . दुष्टहरूलाई शान्ति हुँदैन भनी परमप्रभु भन्नुहुन्छ।” (यशैया ५७:१९-२१) यहोवाका जनहरू संसारको भाग नभए तापनि राष्ट्रहरूको गोलमालबाट प्रभावित हुनदेखि भने अवश्य बच्न सक्दैनन्। (यूहन्ना १७:१५, १६) केही मुलुकहरूमा तिनीहरूले असाध्यै कठिन समस्याहरू सहन्छन् र कति त मारिएका पनि छन्। तैपनि, साँचो मसीहीहरूले दुइ मुख्य ढंगमा शान्ति पाएका छन्। पहिलो हो, तिनीहरूसित “प्रभु येशू ख्रीष्टद्वारा . . . परमेश्वरमा मिलाप [शान्ति, न्युव]” छ। (रोमी ५:१) दोस्रो, तिनीहरूबीच शान्ति छ। तिनीहरू यस्तो ज्ञानको खेती गर्छन् “जुन ज्ञान माथिबाट आउँछ।” र त्यो “पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी (शान्तिप्रिय, न्युव)” हुन्छ। (याकूब ३:१७; गलाती ५:२२-२४) यसबाहेक, तिनीहरू त्यस्तो समयमा पूर्णतया शान्तिको आनन्द उठाउने आशा गर्छन् जुनबेला “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
१६, १७. (क) “बूढ़ा-बूढ़ी” तथा “केटा-केटीहरूले” कसरी यहोवाको संगठनलाई बलियो बनाएका छन्? (ख) कुन कुराले यहोवाका जनहरूको शान्ति प्रदर्शित गर्छ?
१६ यहोवाका जनहरूबीच अहिले पनि “बूढ़ा-बूढ़ीहरू” अर्थात् अभिषिक्त जनहरू छन् र तिनीहरूले यहोवाको संगठनका प्रारम्भिक विजयहरू बिर्सेका छैनन्। तिनीहरूको विश्वसनीयता र सहनशीलताको ठूलो मूल्यांकन गरिन्छ। सन् १९३० दशकका जोशिला दिनका साथै दोस्रो विश्वयुद्ध अनि त्यसपछिका रोमाञ्चकारी वृद्धिको दौडान कलिला अभिषिक्त जनहरूले नेतृत्व लिए। त्यसबाहेक, अझ विशेषगरि सन् १९३५ देखि “अरू भेड़ा[को]” “ठूलो भीड़” प्रकट भएको छ। (यूहन्ना १०:१६; प्रकाश ७:९) अभिषिक्त मसीहीहरू वृद्ध हुँदै, घट्दै जाँदा अरू भेडाले प्रचार कार्यलाई आफ्नो काँधमा लिएर पृथ्वीभरि फैलाएको छ। हालै परमेश्वरका जनहरूको देशमा अरू भेडा बाढीसरह ओइरिरहेका छन्। भनौं भने गत वर्ष मात्र ३,३८,४९१ जनाले यहोवाप्रति आफ्नो समर्पणलाई बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिए! निस्सन्देह, आध्यात्मिक भाषामा भन्ने हो भने तिनीहरू असाध्यै कलिला छन्। यद्यपि, “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमा[प्रति]” कृतज्ञ भई प्रशंसाको भजन गाउने मानिसहरूको दलमा सामेल हुँदा तिनीहरूको स्फूर्ति र जोशको कदर गरिन्छ।—प्रकाश ७:१०.
१७ आज, ‘शहरका गल्लीहरू केटाकेटीहरू’ अर्थात् युवावस्थाको जस्तो बल हुने साक्षीहरूले भरिएका छन्।’ सन् १९९५ सेवा वर्षमा २३२ मुलुक तथा टापुहरूबाट रिपोर्टहरू प्राप्त भए। तर अभिषिक्त जन तथा अरू भेडाबीच अन्तरराष्ट्रिय दुस्मनी, अन्तरजातीय घृणा, अनुचित डाह छैन। सबै जना प्रेममा एक भई मिलीजुली आध्यात्मिक उन्नति गर्छन्। यहोवाका साक्षीहरूको विश्वव्यापी भ्रातृत्व विश्व रंगमञ्चमा साँच्चै अनुपम देखिन्छ।—कलस्सी ३:१४; १ पत्रुस २:१७.
यहोवाका निम्ति साह्रै कठिन?
१८, १९. मानव दृष्टिमा साह्रै कठिन देखिने कामहरू यहोवाले सन् १९१९ देखि कसरी पूरा गर्नुभएको छ?
१८ सन् १९१८ तिर अभिषिक्त जनहरू केही हजार मात्र थिए र त्यसमाथि आध्यात्मिक कैदमा परेकोले तिनीहरू निरुत्साहित थिए। त्यतिबेला कसैले पछि हुने घटनाहरूको पूर्वानुमान लगाउन सकेका थिएनन् होला। यद्यपि, यहोवालाई थाह थियो, जुन कुरा उहाँको चौथौं भविष्यसूचक वाणीबाट प्रष्ट हुन्छ: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘ती दिनमा यी मानिसहरूमध्येबाट बचेकाहरूका नजरमा त्यो कुरा अचम्मको भयो भने के त्यो मेरो नजरमा पनि अचम्मको हुन्छ ता?’”—जकरिया ८:६.
१९ सन् १९१९ मा यहोवाको आत्माले उहाँका जनलाई भावी कामका लागि पुनर्जागृत गरायो। तैपनि, त्यतिबेला यहोवाका उपासकहरूको सानो संगठनसित वफादार भएर बस्न विश्वास चाहिन्थ्यो। तिनीहरू साह्रै थोरै हुनुको साथै थुप्रै कुराहरू अस्पष्ट थिए। तथापि, यहोवाले बिस्तारै तिनीहरूलाई संगठनात्मक रूपमा बलियो बनाउनुभयो र सुसमाचार सुनाउने तथा चेला बनाउने मसीही कार्यका लागि सुसज्जित पार्नुभयो। (यशैया ६०:१७, १९; मत्ती २४:१४; २८:१९, २०) तटस्थता र विश्वव्यापी सार्वभौमिकताजस्ता अत्यावश्यक विषयहरूबारे उहाँले तिनीहरूलाई क्रमशः ज्ञान दिनुभयो। साक्षीहरूको त्यो समूह मार्फत् आफ्नो इच्छा पूरा गर्न के यहोवालाई साह्रै कठिन पऱ्यो? अहँ, कदापि परेन। सन् १९९५ सेवा वर्षको दौडान यहोवाका साक्षीहरूले सम्पन्न गरेका कामहरूको चार्टबाट त्यो स्पष्ट हुन्छ, जुन यस पत्रिकाको पृष्ठ १२-१५ मा दिइएको छ।
“म . . . तिनीहरूका परमेश्वर हुनेछु”
२०. परमेश्वरका जनहरू जम्मा गर्ने काम कति विस्तृत हुनेछ भनी भविष्यवाणी गरिएको थियो?
२० पाचौं वाणीले आज यहोवाका साक्षीहरूको आनन्दित अवस्थाबारे थप जानकारी यसरी दिन्छ: “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, ‘हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्चिमको देशदेखि उद्धार गर्नेछु। म तिनीहरूलाई ल्याउनेछु, र तिनीहरू यरूशलेमको बीचमा बसोबास गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, औ म सत्यता र धार्मिकतामा तिनीहरूका परमेश्वर हुनेछु।’”—जकरिया ८:७, ९.
२१. कुन कुन ढंगमा यहोवाका जनहरूको शान्ति कायम हुनुको साथै विस्तार भएको छ?
२१ “पूर्वको देश[देखि]” “पश्चिमको देश[सम्म]” सारा संसारमा राज्यको सुसमाचार प्रचार गरिएको छ भनेर सन् १९९६ मा हामी नहिचकिचाई भन्नसक्छौं। अहिले सारा राष्ट्रका मानिसहरूलाई चेला बनाइएको छ र तिनीहरूले यहोवाको यो प्रतिज्ञा पूरा भएको देखेका छन्: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) हामीसित शान्ति छ। किनभने हामीले यहोवाबाट शिक्षा पाएका छौं। त्यही शिक्षा दिने उद्देश्यले ३०० भाषाहरूमा साहित्य छापिन्छन्। गत वर्ष मात्र २१ भाषाहरू थपिए। अहिले प्रहरीधरहरा र ब्यूँझनुहोस्! क्रमशः १११ र ५४ भाषाहरूमा एकै चोटि प्रकाशित हुन्छन्। राष्ट्रिय र अन्तरराष्ट्रिय अधिवेशनहरूले मानिसहरूसमक्ष परमेश्वरका जनहरूको शान्ति प्रदर्शित गर्छ। साप्ताहिक सभाहरूले हामीलाई एकताबद्ध पार्नुको साथै दृढ रहन चाहिने प्रोत्साहन दिन्छ। (हिब्रू १०:२३-२५) हो, यहोवाले आफ्ना जनलाई “सत्यता र धार्मिकतामा” शिक्षा दिइरहनुभएको छ। उहाँले आफ्नो जनलाई शान्ति दिंदै हुनुहुन्छ। त्यो प्रशस्त शान्ति आपसमा बाँड्न पाएकोमा हामी कति आशिषित् छौ!
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ आधुनिक समयमा यहोवा कसरी आफ्ना जनहरूका लागि “क्रोधले डाही” हुनुभएको छ?
◻ युद्धग्रस्त मुलुकहरूमा समेत यहोवाका जनहरूले कसरी शान्ति पाउँछन्?
◻ कुन ढंगमा “शहरका गल्लीहरू केटा-केटीहरूले” भरिएका छन्?
◻ यहोवाका जनहरूलाई उहाँको शिक्षा दिन कस्ता प्रबन्धहरू गरिएका छन्?
[पृष्ठ १२-१५-मा भएको तालिका]
विश्वव्यापी यहोवाको साक्षीहरूको १९९५ सेवा साल रिपोर्ट
(छापिएको प्रकाशन हेर्नुहोस्)
[पृष्ठ ८, ९-मा भएको चित्र]
यहोवा मात्र शान्तिको भरपर्दो स्रोत हुनुहुन्छ भनेर सा.यु.पू. छैटौं शताब्दीमा मान्दिर पुनर्निर्माण गर्ने विश्वासी यहूदीहरूले सिके