मर्कुसका अनुसार
१२ उहाँले तिनीहरूसित उदाहरणहरू चलाएर कुरा गर्न थाल्नुभयो: “एक जना मानिसले अङ्गुर बगान लगाएर+ त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले अङ्गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ २ फल टिप्ने बेला भएपछि उसले अङ्गुर बगानको कुत उठाउन* आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। ३ तर तिनीहरूले त्यसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। ४ उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।+ ५ उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिँ मारे। ६ ऊसँग अब एकै जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा।+ ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्’ भन्ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ७ तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ ८ त्यसैले तिनीहरूले उसलाई समातेर मारे अनि अङ्गुर बगानबाहिर फ्याँकिदिए।+ ९ अङ्गुर बगानको मालिकले अब के गर्नेछ? ऊ आएर ती मोहीहरूलाई मार्नेछ र अङ्गुर बगानचाहिँ अरूलाई जिम्मा दिनेछ।+ १० के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।+ ११ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा साह्रै अचम्मको छ’?”+
१२ यो सुनेर तिनीहरूले उहाँलाई पक्रन चाहे किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर तिनीहरूले बुझे। तर तिनीहरू भीडसित डराए, त्यसैले उहाँलाई छोडेर गए।+
१३ त्यसपछि उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाउन तिनीहरूले केही फरिसीहरू र हेरोदवादीहरूलाई उहाँकहाँ पठाए।+ १४ तिनीहरू त्यहाँ पुगेपछि उहाँलाई भने: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र अरूको वाहवाही खोज्नुहुन्न किनकि तपाईँ मानिसहरूको रूप हेरेर व्यवहार गर्नुहुन्न तर परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीलाई भन्नुहोस्, सिजरलाई* कर तिर्नु उचित हो कि होइन? १५ हामी कर तिरौँ कि नतिरौँ?” तिनीहरूको कपट थाह पाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन मेरो परीक्षा लिन्छौ? मलाई एक दिनारको* सिक्का देखाओ।” १६ तिनीहरूले एउटा सिक्का ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “सिजरको।” १७ तब येसुले भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ उहाँको जवाफ सुनेर तिनीहरू जिल्ल परे।
१८ तब सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन् भन्छन्,+ तिनीहरू उहाँकहाँ आए र सोधे:+ १९ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन् कि यदि कुनै मानिस निस्सन्तान मऱ्यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।+ २० एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। २१ अनि माइलोले आफ्नी भाउजूसित विवाह गऱ्यो तर ऊ पनि निस्सन्तान मऱ्यो अनि साइँलो पनि त्यसरी नै मऱ्यो। २२ यसरी सातै जना निस्सन्तान मरे। अन्तमा त्यो स्त्री पनि मरी। २३ तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।” २४ येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ।+ २५ किनकि मृत्युबाट ब्युँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन् तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्।+ २६ मरेकाहरू ब्युँतने विषयमा के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ।’+ २७ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।”+
२८ त्यहाँ आएका एक जना शास्त्रीले उहाँहरूबीच भएको वादविवाद सुनिरहेका थिए। येसुले राम्रो जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे: “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?”+ २९ येसुले जवाफ दिनुभयो: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा* हाम्रा परमेश्वर एक मात्र यहोवा* हुनुहुन्छ। ३० त्यसैले तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’+ ३१ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” ३२ ती शास्त्रीले उहाँलाई भने: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्वर छैन।’+ ३३ उहाँलाई आफ्नो सारा हृदयले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै अग्निभेटी* र बलिदानभन्दा धेरै उत्तम हो।”+ ३४ उसले बुद्धिमानीसाथ जवाफ दिएको सुनेर येसुले उसलाई भन्नुभयो: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले उहाँसित अरू प्रश्न सोध्ने आँट गरेन।+
३५ तर मन्दिरमा सिकाउँदा उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन् भनी शास्त्रीहरूले कसरी भन्न सके?+ ३६ पवित्र शक्ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+ ३७ दाउद आफैले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन सक्छ र?”+
उहाँको कुरा ठूलो जमातले मक्ख परेर सुनिरहेको थियो। ३८ अनि उहाँले अझ यसो भन्दै सिकाउनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्, बजारहरूमा विशेष अभिवादन चाहन्छन्,+ ३९ सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन् अनि रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्।+ ४० तिनीहरू विधवाहरूको घर* हडप्छन् र अरूलाई देखाउन लामो प्रार्थना गर्छन्। तिनीहरूले अझै चर्को दण्ड भोग्नेछन्।”
४१ अनि उहाँ दानपात्रहरू देखिने ठाउँमा गएर बस्नुभयो+ र मानिसहरूले दानपात्रहरूमा पैसा खसालेको हेर्न थाल्नुभयो। त्यहाँ थुप्रै धनी मानिसले धेरै सिक्का खसाल्दै थिए।+ ४२ त्यत्तिकैमा एउटी गरिब विधवा आई र उसले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसाली।+ ४३ तब उहाँले आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।+ ४४ किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+