लुकाका अनुसार
२१ अनि उहाँले नजर उठाएर हेर्दा धनी मानिसहरूले दानपात्रहरूमा भेटी खसालिरहेको देख्नुभयो।+ २ त्यहाँ एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसालेकी पनि उहाँले देख्नुभयो+ ३ र यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले तिनीहरू सबैले भन्दा धेरै खसाली।+ ४ किनकि तिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी खसाले तर यस स्त्रीले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+
५ पछि जब कसै-कसैले मन्दिर कत्ति सुन्दर पत्थरहरू र परमेश्वरलाई अर्पण गरिएका कुराहरूले सजिसजाउ छ भनेर कुरा गरिरहेका थिए,+ ६ तब उहाँले भन्नुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढालिनेछन्।”+ ७ तब तिनीहरूले उहाँलाई यस्तो प्रश्न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन् अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+ ८ उहाँले भन्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्।+ किनकि धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ र ‘समय नजिकै छ’ भन्दै आउनेछन्। तर तिनीहरूको पछि नलाग।+ ९ यसबाहेक युद्ध र गोलमालको* खबर सुन्दा नआत्तिओ। किनकि पहिला यी सब हुनु आवश्यक छ तर यस युगको अन्त त्यतिखेरै भइहाल्नेछैन।”+
१० त्यसपछि उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “जातिको विरुद्धमा जाति+ र राज्यको विरुद्धमा राज्य उठ्नेछ।+ ११ ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्यहरू देख्नेछन् र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्।
१२ “तर यी सब हुनुअघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, खेदो गर्नेछन्,+ सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्। मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ।+ १३ तब तिमीहरूले साक्षी दिने मौका पाउनेछौ। १४ त्यतिखेर आफ्नो प्रतिवाद कसरी गर्ने भनी पहिल्यै तयारी नगर्न हृदयमा निश्चय गर+ १५ किनकि म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्।+ १६ साथै तिमीहरूका आमाबुबा, दाजुभाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई सुम्पिदिनेछन्* र तिमीहरूमध्ये कोही-कोही मारिनेछौ।+ १७ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ १८ तर तिमीहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।+ १९ तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।+
२० “यसबाहेक जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको+ देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।+ २१ यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्,+ सहरभित्र हुनेहरू निस्किजाऊन् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। २२ किनभने लेखिएका सबै कुरा पूरा होऊन् भनेर त्यो दिन त्यसको न्याय हुनेछ।* २३ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ। २४ तिनीहरू तरबारले मारिनेछन् र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्।+
२५ “साथै सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्+ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्। २६ अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन् किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। २७ तब तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित बादलमा आउँदै गरेको देख्नेछन्।+ २८ तर यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।”
२९ त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो: “अन्जिरको रूख र अरू सबै रूखलाई हेर।+ ३० तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। ३१ त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनेर जान। ३२ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+ ३३ आकाश र पृथ्वी बितेर जानेछन् तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्।+
३४ “तर तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि धेरै खाने र पिउने+ अनि जीवनको फिक्रीको बोझले+ तिमीहरूको हृदयलाई दबाउन नपाओस्, नत्र त त्यो दिन तिमीहरूमाथि अचानक ३५ पासोझैँ आइपर्नेछ।+ किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। ३६ त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै+ जागा रहो।”+
३७ उहाँ दिनभरि मन्दिरमा सिकाउनुहुन्थ्यो तर राती भने सहरबाहिर जैतुन डाँडा भनिने डाँडामा बास बस्न जानुहुन्थ्यो। ३८ अनि उहाँको कुरा सुन्न सबै मानिस बिहान सबेरै मन्दिरमा आउँथे।