हितोपदेश
बुद्धिमान् छोराले बुबालाई खुसी बनाउँछ+
तर मूर्ख छोराले आमालाई रुवाउँछ।
२ बेइमानी गरेर कमाएको धन कुनै कामको हुँदैन
तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउँछ।+
३ धर्मी मानिसलाई यहोवा भोकै छोड्नुहुन्न;+
दुष्ट मानिसको लालसा उहाँ पूरा हुन दिनुहुन्न।
४ अल्छी हातले मानिसलाई दरिद्र बनाउँछ+
तर मेहनती हातले मानिसलाई धनी बनाउँछ।+
५ कटनीको मौसममा अन्न बटुल्ने छोरा बुद्धिमान्* हुन्छ
तर बाली काट्ने बेला सुतेर बस्ने छोरा लाजमा पर्छ।+
६ धर्मी मानिसमाथि आशिष् बर्सन्छ;+
दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।
७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष् पाउनेछ+
तर दुष्ट मानिसको नाम मेटिनेछ।+
८ बुद्धिमान् मानिसले तुरुन्तै अर्ती* स्विकार्छ+
तर मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+
९ निष्ठावान् मानिस सुरक्षित हुनेछ+
तर टेढो चालको मानिस पक्राउ पर्नेछ।+
१० खराब नियतले आँखा सन्काउने मानिसले दुःख निम्त्याउँछ+
अनि मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+
११ धर्मी मानिसको बोली जीवनको मुहान हो+
तर दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।+
१२ घृणाले झगडा मच्चाउँछ
तर प्रेमले सबै गल्ती ढाक्छ।+
१३ समझदार मानिसको बोली बुद्धिले भरिएको हुन्छ+
तर मूर्ख* मानिसको पिठिउँमा छडी बजारिन्छ।+
१४ बुद्धिमान् मानिसले ज्ञान बटुल्छ+
तर मूर्खको बोलीले समस्या निम्त्याउँछ।+
१५ धनी मानिसको सम्पत्ति उसको लागि पर्खालले घेरिएको सहरजस्तै हो।
तर गरिबीले गर्दा गरिब मानिसको पतन हुन्छ।+
१६ धर्मी मानिसको कामले उसलाई जीवनतिर लैजान्छ
तर दुष्ट मानिसको कमाइले उसलाई पापतिर धकेल्छ।+
१७ अर्ती स्विकार्ने मानिसले अरूलाई जीवनको बाटो देखाउँछ*
तर सुधारलाई बेवास्ता गर्ने मानिसले अरूलाई बहकाउँछ।
१८ मनमा घृणा लुकाएर राख्ने मानिसले झूट बोल्छ+
अनि मूर्खले अरूबारे झूटो हल्ला फैलाउँछ।
१९ मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ+
तर समझदार मानिसले आफ्नो जिब्रोलाई काबूमा राख्छ।+
२० धर्मी मानिसको जिब्रो शुद्ध चाँदीजस्तै हो+
तर दुष्ट मानिसको हृदयको विचार बेकामको हुन्छ।
२१ धर्मी मानिसको बोलीले धेरैलाई सम्हाल्छ*+
तर समझ नभएकोले मूर्खको विनाश हुन्छ।+
२२ यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ;+
उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।
२३ छाडा व्यवहार मूर्ख मानिसको लागि खेलजस्तै हो
तर समझदार मानिसले बुद्धिको खोजी गर्छ।+
२४ दुष्ट मानिसलाई जुन कुराको डर हुन्छ, त्यही कुरा ऊमाथि आइपर्छ
तर धर्मी मानिसको इच्छा पूरा हुन्छ।+
२५ आँधीबेहरीले सबै थोक उडाएझैँ दुष्ट पनि हराएर जान्छ+
तर धर्मी मानिसको जग भने कहिल्यै डगमगाउँदैन।+
२६ अमिलोले दाँत कुँडिएझैँ र धुवाँले आँखा पिरो भएझैँ
अल्छी मानिसले उसको मालिकलाई पिरोल्छ।
२७ यहोवाको डरले दीर्घायु बनाउँछ+
तर दुष्ट मानिसको आयु छोटो हुन्छ।+
२८ धर्मी मानिसको आशाले खुसीयाली ल्याउँछ+
तर दुष्ट मानिसको आशा पूरा हुँदैन।+
२९ यहोवाको मार्ग निर्दोष मानिसको लागि शरणस्थान हो+
तर कुकर्मीहरूको लागि भने त्यो विनाश हो।+
३० धर्मी मानिसले कहिल्यै ठेस खानेछैन+
तर दुष्ट मानिस पृथ्वीमा बस्न पाउनेछैन।+
३१ धर्मी मानिसको मुखबाट बुद्धिका कुरा निस्कन्छन्
तर छली जिब्रो काटिनेछ।
३२ धर्मी मानिसको मुखबाट मीठो बोली निस्कन्छ
तर दुष्ट मानिसको मुखबाट छली कुरा निस्कन्छ।