प्रेषितहरूका कार्य
२ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। २ त्यहाँ अकस्मात् आकाशबाट ठूलो बतास चलेकोजस्तो आवाज आयो र तिनीहरू बसिरहेको घरभरि गुञ्जियो।+ ३ अनि तिनीहरूले जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखे र ती छुट्टिएर हरेकमाथि एउटा-एउटा बस्यो। ४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+
५ त्यतिखेर संसारका सबै राष्ट्रबाट आएका भक्त यहुदीहरू यरुसलेममा थिए।+ ६ त्यसैले जब यो आवाज सुनियो, तब भीड जम्मा भयो र तिनीहरू चकित भए किनकि तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने। ७ तिनीहरू साह्रै आश्चर्यचकित भए र यसो भने: “हेर त, यी बोल्नेहरू सबै गालिली+ होइनन् र? ८ तर तिनीहरूले हामी प्रत्येकको मातृभाषामा बोलेको हामी सुन्दै छौँ, यो कसरी भयो? ९ हामी पार्थी, मादी+ र एलामीहरू+ हौँ अनि मेसोपोटामिया, यहुदिया, क्यापाडोसिया, पोन्टस र एसिया+ प्रान्तका बासिन्दा हौँ। १० अनि फ्रिजिया, पाम्फिलिया, मिश्र,* साइरेनीतिर पर्ने लिबियाको भूभागका मानिसहरू र रोमबाट आएका यात्रीहरू हौँ अनि हामी सबै या त यहुदी या धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू+ हौँ। ११ हामीमाझ क्रेटी र अरबीहरू पनि छन्। तर यिनीहरूले हाम्रै भाषामा परमेश्वरको विषयमा अद्भुत कुराहरू गरिरहेको हामी सुन्दै छौँ।” १२ हो, तिनीहरू सबै छक्क परेका थिए र अचम्म मान्दै एकअर्कालाई यसो भन्दै थिए: “यी सबको अर्थ के हो?” १३ तर अरूले भने तिनीहरूको गिल्ला गर्दै यसो भने: “तिनीहरू नयाँ* मद्यले मात्तिएका हुन्।”
१४ तर पत्रुस ११ जना+ प्रेषितसँगै उठे अनि ठूलो स्वरमा तिनीहरूलाई यसो भने: “हे यहुदियाका मानिसहरू हो अनि यरुसलेमका सबै बासिन्दा हो, तपाईँहरूलाई यो थाह होस् अनि ध्यान दिएर मेरो कुरा सुन्नुहोस्। १५ तपाईँहरूले सोचेजस्तो यी मानिसहरू मात्तिएका होइनन् किनकि अहिले त तेस्रो घडी* मात्र भएको छ। १६ बरु यो त भविष्यवक्ता योएलमार्फत भनिएको कुरा पूरा भएको हो: १७ ‘परमेश्वर भन्नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्। १८ अनि ती दिनमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत म आफ्नो पवित्र शक्ति खन्याउनेछु र तिनीहरूले भविष्यवाणी गर्नेछन्।+ १९ माथि आकाशमा म आश्चर्यजनक कामहरू देखाउनेछु र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु: रगत, आगो र धुवाँको मुस्लो। २० यहोवाको* महान् र महिमित दिन आउनुअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ। २१ अनि हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”’+
२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्नुहोस्: नासरी येसुलाई परमेश्वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्वरले उहाँमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ। २३ यिनै मानिस, जसलाई परमेश्वरको उद्देश्य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+ २४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+ २५ किनकि उहाँको विषयमा दाउद यसो भन्छन्: ‘मैले यहोवालाई* सदैव मेरै सामने* राखेको छु किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। २६ यसले गर्दा मेरो मन प्रफुल्लित भयो र असाध्यै हर्षित भएर मैले बोलेँ। अनि म आशामा जिउनेछु २७ किनकि तपाईँले मलाई चिहानमा* छोड्नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।+ २८ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ, तपाईँले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले भरिदिनुहुनेछ।’+
२९ “भाइहरू हो, कुलपुरुष दाउदको विषयमा तपाईँहरूलाई निर्धक्क भई साहसका साथ बताउन मलाई अनुमति दिनुहोस्। तिनी मरे र गाडिए+ अनि तिनको चिहान आजको दिनसम्म हाम्रै बीचमा छ। ३० तिनी भविष्यवक्ता थिए अनि तिनको सिंहासनमा तिनकै सन्तानमध्ये एक जनालाई बसाउनेछु भनी परमेश्वरले शपथ खाँदै वाचा गर्नुभएको कुरा तिनलाई थाह थियो।+ ३१ पछि हुने कुरा पहिल्यै थाह पाएर तिनले ख्रिष्ट फेरि जीवित हुने विषयमा यसो भने, ‘उहाँलाई न चिहानमा* छोडिनेछ न त उहाँको शरीर नै कुहिनेछ।’+ ३२ यिनै येसुलाई परमेश्वरले ब्युँताउनुभयो, जसको हामी सबै साक्षी छौँ।+ ३३ उहाँलाई परमेश्वरको दाहिने हाततर्फ उच्च पद दिइएकोले+ अनि प्रतिज्ञा गरिएअनुसारै उहाँले बुबाबाट पवित्र शक्ति पाउनुभएकोले त्यही पवित्र शक्ति उहाँले हामीमाथि खन्याउनुभएको छ,+ जसले काम गरेको तपाईँहरू देख्दै र सुन्दै हुनुहुन्छ। ३४ दाउद स्वर्ग उक्लेनन् तर तिनी आफै यसो भन्छन्: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, ३५ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+ ३६ त्यसकारण इस्राएलको सबै घरानालाई यो निश्चय थाह होस् कि तिनै येसु, जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो,+ उहाँलाई परमेश्वरले प्रभु+ र ख्रिष्ट दुवै बनाउनुभयो।”
३७ यो सुनेर तिनीहरूको हृदय अत्यन्तै व्याकुल भयो अनि तिनीहरूले पत्रुस र अरू प्रेषितहरूलाई सोधे: “भाइहरू हो, त्यसोभए हामी के गरौँ?” ३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ। ३९ किनकि यो प्रतिज्ञा+ तपाईँहरू र तपाईँहरूका सन्तानका लागि अनि टाढा-टाढाका ती सबै मानिसका लागि हो, जसलाई हाम्रा परमेश्वर यहोवाले* आफूतिर खिच्नुहुन्छ।”+ ४० अनि तिनले अरू पनि धेरै वचनद्वारा राम्ररी साक्षी दिए र यसो भन्दै तिनीहरूलाई प्रोत्साहन दिए: “यस टेढो पुस्तासँगसँगै+ नाश नहोओ।” ४१ ज-जसले तिनको वचन खुसीसाथ स्विकारे, तिनीहरूले बप्तिस्मा गरे+ अनि त्यस दिन लगभग ३ हजार जना थपिए।+ ४२ तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एकसाथ भेला हुन्थे,* एकसाथ भोजन गर्थे+ अनि सँगै प्रार्थना गर्थे।+
४३ अनि सबै मानिसलाई डरले छोप्न थाल्यो र प्रेषितहरूले धेरै आश्चर्यजनक कार्य र चमत्कारहरू गर्न थाले।+ ४४ जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। ४५ तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे+ अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।+ ४६ एउटै उद्देश्य लिएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे र एकअर्काको घरमा गएर भोजन गर्थे अनि बडो आनन्द र सफा हृदयले बाँडचुँड गर्दै सँगै खान्थे ४७ अनि परमेश्वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो।+