मर्कुसका अनुसार
१४ निस्तार चाड*+ र अखमिरा रोटीको चाड*+ आउन दुई दिन बाँकी थियो।+ अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई छल गरेर पक्रने अनि मार्ने मौका खोजिरहेका थिए।+ २ तैपनि तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र त मानिसहरूले हुलदङ्गा गर्न सक्छन्।”
३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+ ४ यो देखेर कसै-कसैलाई चित्त बुझेन अनि आपसमा यसो भने: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी? ५ किनकि यो सुगन्धित तेल ३०० दिनारभन्दा* बढी मूल्यमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो!” अनि तिनीहरू त्यस स्त्रीसित असाध्यै रिसाए।* ६ तर येसुले भन्नुभयो: “भैगो, छोडिदेओ। तिमीहरू किन उसलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।+ ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ ८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी छे।+ ९ म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,+ त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+
१० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।
१२ अखमिरा रोटीको चाडको पहिलो दिन+ यहुदीहरू आफ्नो चलनअनुसार निस्तार चाडको बलि चढाउँथे।+ त्यस दिन चेलाहरूले उहाँलाई भने: “हामी कहाँ गएर निस्तार चाडको भोज तयार पारेको तपाईँ चाहनुहुन्छ?”+ १३ तब उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो: “तिमीहरू सहरमा जाओ अनि त्यहाँ घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग।+ १४ अनि ऊ जुन घरभित्र पस्छ, त्यसको घरधनीलाई भन, ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १५ तब उसले तिमीहरूलाई माथिल्लो तलामा पाहुनाहरूको लागि ठिक्क पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। त्यहीँ हाम्रो लागि तयारी गर।” १६ त्यसैले चेलाहरू गए र सहरभित्र पसे। उहाँले जस्तो भन्नुभएको थियो, तिनीहरूले त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।
१७ साँझ परेपछि उहाँ ती १२ जनासित आउनुभयो।+ १८ टेबुलमा खाइरहेको बेला येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ १९ यो सुनेर तिनीहरू दुःखी हुन थाले र पालैसित उहाँलाई सोध्न थाले: “के त्यो म हुँ?” २० उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू १२ जनामध्ये जसले मसँग एउटै कचौरामा हात चोप्छ, ऊ त्यही हो।+ २१ मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुने थियो।”+
२२ खाँदै गर्दा उहाँले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “लेओ, यो मेरो शरीरको प्रतीक हो।”+ २३ त्यसैगरि उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिनुभयो। अनि तिनीहरू सबैले त्यसबाट पिए।+ २४ उहाँले तिनीहरूलाई भन्नुभयो: “यो मेरो रगतको प्रतीक हो,+ जुन थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई+ पक्का गर्छ। २५ म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्वरको राज्यमा नयाँ दाखमद्य* नपिएसम्म म कुनै पनि हालतमा दाखमद्य फेरि पिउनेछैनँ।” २६ अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+
२७ अनि येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्।’+ २८ तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+ २९ तर पत्रुसले उहाँलाई भने: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ।”+ ३० तब येसुले तिनलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३१ तर तिनले यसो भन्दै जिद्दी गरिरहे: “तपाईँसँगै मर्नु पऱ्यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” अरू सबैले पनि त्यसै भन्न थाले।+
३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३३ अनि उहाँले पत्रुस, याकुब र युहन्नालाई आफूसित लैजानुभयो।+ तब उहाँ असाध्यै दुःखित र खिन्न हुनुभयो। ३४ उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+ ३५ त्यसपछि अलि पर गएर उहाँले घुँडा टेक्नुभयो अनि सम्भव छ भने यो समय टरिजाओस् भनेर प्रार्थना गर्न थाल्नुभयो। ३६ अनि उहाँले यसो भन्नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्।”+ ३७ उहाँ फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो: “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एकछिन जागा बस्न सकेनौ?+ ३८ प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ३९ उहाँ फेरि जानुभयो र प्रार्थनामा त्यही कुरा भन्नुभयो।+ ४० उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसैले उहाँलाई के जवाफ दिने भनेर तिनीहरूलाई थाहै भएन। ४१ उहाँ तेस्रो पटक फर्कनुभयो र तिनीहरूलाई भन्नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! बस्, अब निदाउन पुग्यो! बेला आइपुगेको छ!+ हेर! मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिइनेछ। ४२ उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”+
४३ उहाँ बोल्दै गर्नुहुँदा ती १२ जनामध्ये एक, यहुदा आइपुगिहाले र मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएको एउटा जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+ ४४ उहाँलाई धोका दिनेले तिनीहरूलाई एउटा यस्तो सङ्केत दिने सहमति पहिल्यै गरिसकेका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।” ४५ अनि तिनी सोझै उहाँकहाँ गए र यसो भने: “हे रब्बी!” अनि उहाँलाई चुम्बन गरे। ४६ तब तिनीहरूले उहाँलाई पक्रेर हिरासतमा लिए। ४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ ४८ तब येसुले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ?+ ४९ म दिनदिनै मन्दिरमा तिमीहरूकै बीचमा सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर धर्मशास्त्रमा बताइएको कुरा पूरा होस् भनेर नै यो भएको हो।” +
५० तब तिनीहरू सबै उहाँलाई छोडेर भागे।+ ५१ तर जीउमा मलमलको कपडा मात्र ओढेको एक जना जवान मानिस भने उहाँभन्दा अलि परबाट उहाँको पछि लाग्न थाल्यो। अनि भीडले उसलाई पक्रन खोज्यो ५२ तर ऊ आफ्नो कपडा छोडेर नाङ्गै* भाग्यो।
५३ तब तिनीहरूले येसुलाई प्रधानपुजारीकहाँ लगे+ अनि सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू त्यहाँ भेला भए।+ ५४ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे अनि घरका चाकरहरूसँगै बसेर दन्केको आगो ताप्न थाले।+ ५५ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद् येसुलाई मार्न उहाँको विरुद्धमा गवाही दिने मानिस खोजिरहेका थिए तर तिनीहरूले कोही भेटेनन्।+ ५६ हुनत थुप्रैले उहाँको विरुद्धमा झूटा गवाही दिइरहेका थिए+ तर तिनीहरूले दिएको गवाही आपसमा बाझियो। ५७ साथै केही मानिसहरू खडा भएर यसो भन्दै उहाँको विरुद्धमा झूटो गवाही दिँदै थिए: ५८ “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’”+ ५९ तर यसमा पनि तिनीहरूको कुरा बाझियो।
६० तब प्रधानपुजारी तिनीहरूमाझ उठे अनि येसुलाई यस्तो प्रश्न सोधे: “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्, त्यसबारे तँ के भन्छस्?”+ ६१ तर उहाँ चुप लागेर बस्नुभयो र केही जवाफ दिनुभएन।+ फेरि प्रधानपुजारीले उहाँलाई प्रश्न गर्न थाले: “के तँ परमपिताको छोरा ख्रिष्ट होस्?” ६२ तब येसुले भन्नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+ ६३ यो सुनेर प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “अब हामीलाई अरू साक्षी किन चाहियो र?+ ६४ तिमीहरू आफैले ईश्वरनिन्दा सुनिहाल्यौ। तिमीहरूको निर्णय के छ?”* तिनीहरू सबैले उहाँलाई मारिन योग्य ठहराए।+ ६५ तब कसै-कसैले उहाँलाई थुक्न थाले+ र उहाँको अनुहार छोपेर उहाँलाई मुड्कीले हिर्काउँदै यसो भन्न थाले: “तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्!” त्यसपछि पहरेदारहरूले उहाँको गालामा चड्कन हानेर उहाँलाई लगे।+
६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए। ६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।” ७१ तर आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस् भनेर कसम खाँदै तिनले भने: “तिमीहरू जसको विषयमा कुरा गर्दै छौ, मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।