मत्तिका अनुसार
१६ अनि फरिसी र सदुकीहरू उहाँकहाँ आए र स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस् भनेर उहाँको परीक्षा लिन खोजे।+ २ उहाँले तिनीहरूलाई भन्नुभयो: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्छौ, ‘आकाश रातो छ, त्यसैले मौसम सफा हुनेछ।’ ३ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ, त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिँ अर्थ लगाउन सक्दैनौ। ४ दुष्ट र विश्वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई योनाको चिन्हबाहेक+ अरू कुनै चिन्ह दिइनेछैन।”+ यति भनिसकेपछि उहाँ तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो।
५ तब चेलाहरू समुद्रको पारिपट्टि गए तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से।+ ६ येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र सदुकीहरूको खमिरदेखि* होसियार रहो।”+ ७ त्यसैले तिनीहरू यसो भन्दै आपसमा कुरा गर्न थाले: “ओहो, हामीले त रोटी ल्याउन बिर्सेछौँ!” ८ यो थाह पाएर येसुले भन्नुभयो: “ए विश्वास कमजोर भएका मानिसहरू हो, आफूसित रोटी छैन भनेर तिमीहरू किन आपसमा कुरा गर्दै छौ? ९ के तिमीहरूले अहिलेसम्म कुरा बुझेनौ? अनि पाँच वटा रोटीले ५ हजार जनालाई खुवाउँदा तिमीहरूले कति डालो बटुलेका थियौ, बिर्स्यौ?+ १० अनि सात वटा रोटीले ४ हजार जनालाई खुवाउँदा कति वटा ठूला डाला भरेका थियौ, त्यो पनि बिर्स्यौ?+ ११ त्यसोभए मैले तिमीहरूसित रोटीको विषयमा कुरा गरेको होइनँ भनेर तिमीहरू किन बुझ्दैनौ? मैले त फरिसी र सदुकीहरूको खमिरदेखि होसियार रहो पो भनेको हुँ।”+ १२ उहाँले रोटीमा हालिने खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहो भन्नुभएको रहेछ भनेर तिनीहरूले बल्ल बुझे।
१३ तब सिजरिया फिलिप्पीको इलाकामा पुगेपछि येसुले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसको छोरा को हो भन्नेबारे मानिसहरू के भन्दै छन्?”+ १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” १५ उहाँले तिनीहरूलाई भन्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” १६ सिमोन पत्रुसले जवाफ दिए: “तपाईँ जीवित परमेश्वरका छोरा,+ ख्रिष्ट हुनुहुन्छ।”+ १७ येसुले तिनलाई भन्नुभयो: “तिमी धन्यका हौ, हे योनाको छोरा सिमोन किनकि यो कुरा तिमीलाई कुनै मानिसले प्रकट गरेको होइन तर स्वर्गमा बस्नुहुने मेरो बुबाले प्रकट गर्नुभएको हो।+ १८ म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ+ र म यस चट्टानमाथि+ आफ्नो मण्डली बनाउनेछु अनि चिहान* त्यसमाथि विजयी हुनेछैन। १९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे बन्द गर्नेछौ,* त्यो स्वर्गमा बन्द गरिसकिएको हुनेछ* अनि तिमीले पृथ्वीमा जे खोल्नेछौ,* त्यो स्वर्गमा खोलिसकिएको हुनेछ।”* २० त्यसपछि उहाँले चेलाहरूलाई उहाँ ख्रिष्ट हुनुहुन्छ भनेर कसैलाई नबताउनू भनी कडा आज्ञा दिनुभयो।+
२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+ २२ यो सुनेर पत्रुसले उहाँलाई अलग्गै लगेर यसो भन्दै हप्काउन थाले: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्।* तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।”+ २३ तब पत्रुसतर्फ आफ्नो पीठ फर्काएर उहाँले भन्नुभयो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्वरको होइन तर मानिसहरूको हो।”+
२४ त्यसपछि येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+ २५ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।+ २६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ अथवा मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?+ २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+ २८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+