लुकाका अनुसार
१५ तब कर उठाउने सबै जना र अरू पापी उहाँको कुरा सुन्न उहाँकहाँ आउन थाले।+ २ त्यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” ३ अनि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+ ५ अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। ६ तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’+ ७ म तिमीहरूलाई भन्छु, त्यसरी नै एक जना पापीले पश्चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ,+ त्यति रमाहट पश्चात्तापको कुनै खाँचो नभएको ९९ जना धर्मी मानिसका लागि हुँदैन।
८ “अथवा कुनचाहिँ स्त्री यस्ती होली, जसले आफूसित भएका १० वटा सिक्कामध्ये* एउटा हराउँदा त्यो नभेट्टाउन्जेल दियो बालेर आफ्नो घर बढार्दै धुइँधुइँती खोज्दिन? ९ अनि भेट्टाएपछि आफ्ना साथीहरू* र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छे: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’ १० म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्चात्ताप गर्दा परमेश्वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।”+
११ अनि उहाँले भन्नुभयो: “एक जना मानिसका दुई छोरा थिए। १२ कान्छोचाहिँले बुबालाई भन्यो: ‘बुबा, मलाई मेरो अंश दिनुहोस्।’ तब बुबाले आफ्नो सम्पत्ति अंशबण्डा गरेर तिनीहरूलाई दियो। १३ केही दिन बित्न नपाउँदै कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। १४ उसले आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्यो र ऊसित केही बाँकी भएन। १५ यहाँसम्म कि त्यस देशको एक जना मानिसकहाँ गएर उसले काम माग्यो र त्यस मानिसले उसलाई आफ्नो खेतमा सुँगुर+ चराउन पठायो। १६ अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिँदैनथ्यो।
१७ “जब उसको होस खुल्यो, तब उसले भन्यो: ‘मेरा बुबाका त्यत्रा कामदारहरूलाई रोटीको कुनै अभाव छैन तर म भने यहाँ भोकले मर्नै लागिसकेँ! १८ अब म बुबाकहाँ जान्छु र उहाँलाई भन्छु: “बुबा, मैले परमेश्वर* र तपाईँको विरुद्धमा पाप गरेको छु। १९ अब म तपाईँको छोरा भनिन लायकको छैनँ। त्यसैले मलाई तपाईँको ज्यालादारी कामदार बनाउनुहोस्।”’ २० अनि ऊ उठेर आफ्नो बुबाकहाँ गयो। बुबाले टाढैबाट ऊ आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्गालो हाल्यो र चुम्बन गऱ्यो। २१ तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्वर र तपाईँको विरुद्धमा पाप गरेको छु।+ अब म तपाईँको छोरा भनिन लायकको छैनँ।’ २२ तर बुबाले आफ्ना दासहरूलाई भन्यो: ‘झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औँठी र जुत्ता पनि लगाइदेओ! २३ त्यसपछि मोटोघाटो बाछो ल्याएर काट अनि हामी खाऔँ र रमाइलो गरौँ २४ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो;+ ऊ हराएको थियो तर अहिले भेटियो।’ अनि तिनीहरूले रमाइलो गर्न थाले।
२५ “त्यतिखेर उसको जेठो छोरा खेतमा थियो अनि फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। २६ त्यसैले उसले एक जना नोकरलाई बोलायो र के हुँदै छ भनी सोध्यो। २७ त्यसले उसलाई भन्यो: ‘तपाईँको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईँका बुबाले मोटोघाटो बाछो काट्न लगाउनुभयो।’ २८ तब ऊ रिसायो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। २९ तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईँको सेवा गरेँ अनि कहिल्यै तपाईँको आज्ञा मान्न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईँले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। ३० तर वेश्याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्न लगाउनुभयो।’ ३१ तब बुबाले उसलाई भन्यो: ‘बाबु, तिमी त सधैँ मसितै छौ अनि मेरो जे-जति छ, ती सब तिम्रै हो। ३२ तर हामीले खुसी मनाउनु र रमाइलो गर्नु उचित हो। किनकि तिम्रो यो भाइ मरेको थियो तर फेरि जिउँदो भयो अनि हराएको थियो तर फेरि भेटियो।’”