लुकाका अनुसार
२२ निस्तार चाड* पनि भनिने अखमिरा रोटीको चाड*+ नजिक आउँदै थियो।+ २ मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई मार्ने राम्रो मौका खोजिरहेका थिए+ किनकि तिनीहरू मानिसहरूसित डराउँथे।+ ३ तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४ अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+ ५ तिनीहरू खुसी भए र तिनलाई चाँदीको पैसा दिन राजी भए।+ ६ त्यसैले यहुदा तिनीहरूको कुरा मान्न तयार भए अनि वरपर भीड नभएको बेला उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिदिने मौका खोज्न थाले।
७ अखमिरा रोटीको चाडको पहिलो दिन आयो, जुन दिन निस्तार चाडको बलि चढाउनुपर्थ्यो।+ ८ तब येसुले पत्रुस र युहन्नालाई यसो भनेर पठाउनुभयो: “जाओ र हाम्रो लागि निस्तार चाडको भोज तयार पार।”+ ९ तिनीहरूले उहाँलाई भने: “हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?” १० उहाँले तिनीहरूलाई भन्नुभयो: “हेर, जब तिमीहरू सहरभित्र पस्छौ, तब घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग र ऊ जुन घरभित्र जान्छ, त्यसैभित्र पस।+ ११ अनि तिमीहरूले त्यस घरको मालिकलाई यसो भन्नू: ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १२ तब उसले तिमीहरूलाई माथिल्लो तलामा तयार पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। तिमीहरूले त्यहीँ तयारी गर।” १३ त्यसैले तिनीहरू गए र उहाँले जस्तो भन्नुभएको थियो, त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।
१४ जब बेला भयो, तब उहाँ प्रेषितहरूसँगै खान टेबुलमा बस्नुभयो।+ १५ उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ। १६ किनकि म तिमीहरूलाई भन्छु, यस चाडसित सम्बन्धित हरेक कुरा परमेश्वरको राज्यमा पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” १७ अनि उहाँले कचौरा लिएर धन्यवाद चढाउनुभयो र भन्नुभयो: “यो लेओ र पालैसित यसबाट पिओ। १८ किनकि म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य* पिउँदिनँ।”
१९ उहाँले एउटा रोटी पनि लिनुभयो+ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो तिमीहरूका लागि दिइने+ मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २० साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ।
२१ “तर हेर, मलाई धोका दिने मसँगै टेबुलमा छ।+ २२ वास्तवमा मानिसको छोरा त उसको लागि जे तय भइसकेको थियो, त्यसअनुसारै जाँदै छ।+ तर धिक्कार छ त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ!”+ २३ त्यसैले यस्तो काम गर्ने मानिस आफूहरूमध्ये कोचाहिँ होला भनेर तिनीहरू आपसमा कुरा गर्न थाले।+
२४ तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।+ २५ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ।+ २६ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।+ तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ सबैभन्दा सानोजस्तो बनोस्+ अनि अगुवाको काम गर्नेचाहिँ सेवा गर्नेजस्तो होस्। २७ कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिँ होइन र? तर म त तिमीहरूबीच सेवकजस्तै छु।+
२८ “तर मेरा परीक्षाहरूमा+ मसितै रहने तिमीहरू नै हौ।+ २९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३० तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+
३१ “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्ने माग गरेको छ।+ ३२ तर तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु+ र तिमी पश्चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”+ ३३ तब तिनले उहाँलाई भने: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।”+ ३४ तर उहाँले भन्नुभयो: “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्न तीन पटक इन्कार नगरेसम्म आज भाले बास्नेछैन।”+
३५ उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “मैले तिमीहरूलाई पैसाको थैली, खाजाको पोको र जुत्ताविना पठाउँदा+ के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने: “अहँ, भएन!” ३६ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “तर अब थैली हुनेले त्यो बोकोस्, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्। ३७ किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’+ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”+ ३८ तब तिनीहरूले भने: “प्रभु, हेर्नुहोस् त! यहाँ दुई वटा तरबार छन्।” उहाँले तिनीहरूलाई भन्नुभयो: “यति भए पुग्छ।”
३९ बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+ ४० त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+ ४१ अनि तिनीहरूलाई छोडेर उहाँ दुई-चार पाइला पर जानुभयो। त्यसपछि घुँडा टेकेर यसो भन्दै प्रार्थना गर्न थाल्नुभयो: ४२ “हे बुबा, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तैपनि मेरो होइन तर तपाईँको इच्छाबमोजिम होस्।”+ ४३ तब स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए।+ ४४ तर उहाँ असह्य वेदनामा पर्नुभएकोले झन् व्यग्रतासाथ प्रार्थना गरिरहनुभयो+ अनि उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको थियो। ४५ प्रार्थना गरिसकेपछि उहाँ उठेर चेलाहरूकहाँ जानुभयो र तिनीहरू सुर्ताले क्लान्त भई निदाइरहेको भेट्टाउनुभयो।+ ४६ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन निदाइरहेका छौ? जाग र प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+
४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+ ४८ तर येसुले तिनलाई भन्नुभयो: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” ४९ के हुँदै छ भन्ने देखेर उहाँको वरपर हुनेहरूले यसो भने: “प्रभु, के हामी तरबारले हानौँ?” ५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+ ५१ तर येसुले भन्नुभयो: “बस्, अब अरू केही नगर।” त्यसपछि उहाँले उसको कान छोएर निको पारिदिनुभयो। ५२ तब उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरको पहरेदारहरूका नाइकेहरू र धर्मगुरुहरूलाई येसुले भन्नुभयो: “के तिमीहरू डाँकुलाई पक्रन आएजस्तै गरी तरबार र लाठोहरू लिएर आयौ?+ ५३ म दिनदिनै मन्दिरमा तिमीहरूसितै हुन्थेँ + तैपनि त्यतिबेला तिमीहरूले मलाई पक्रेनौ।+ तर यो तिमीहरूको बेला हो र अन्धकारले शासन गर्ने समय हो।”+
५४ त्यसपछि तिनीहरूले उहाँलाई गिरफ्तार गरेर लगे+ अनि प्रधानपुजारीको घरमा पुऱ्याए तर पत्रुस भने टाढैबाट उहाँको पछिपछि लागिरहेका थिए।+ ५५ मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६ तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन् र यसो भनिन्: “यो मानिस पनि उहाँसँगै थियो।” ५७ तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।” ५८ यसको केही समयपछि अर्को एक जनाले तिनलाई देखे र यसो भने: “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले भने: “म होइनँ।”+ ५९ अनि लगभग एक घण्टा बितेपछि अर्को एक जना मानिसले ठोकुवा गर्दै यसो भन्न थाले: “यो मानिस पनि पक्कै उहाँसित थियो किनकि यो गालिली नै हो।” ६० तर पत्रुसले भने: “ए मानिस, तिमी के भन्दै छौ, म जान्दिनँ।” तिनी बोल्दै गर्दा त्यतिखेरै भाले बास्यो। ६१ तब प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुभयो अनि प्रभुले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “आज भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ६२ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।
६३ उहाँलाई हिरासतमा लिएका मानिसहरूले उहाँको गिल्ला गर्न+ र उहाँलाई हिर्काउन थाले।+ ६४ उहाँको अनुहार छोपिदिएर तिनीहरूले यसो भन्न थाले: “लौ भविष्यवाणी गर्, तँलाई हिर्काउने को हो?” ६५ अनि तिनीहरूले उहाँको निन्दा गर्दै अरू थुप्रै कुरा भने।
६६ उज्यालो हुनेबित्तिकै धर्मगुरुहरूको सभा बस्यो, जसमा मुख्य पुजारीहरू र शास्त्रीहरू पनि थिए।+ अनि तिनीहरूले उहाँलाई यहुदी न्यायपरिषद्को भवनमा लगे र यसो भने: ६७ “तँ ख्रिष्ट होस् भने हामीलाई भन्।”+ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “मैले बताएँ भने पनि तपाईँहरूले पटक्कै पत्याउनुहुनेछैन। ६८ अनि मैले प्रश्न सोधेँ भने तपाईँहरूले त्यसको पटक्कै जवाफ दिनुहुनेछैन। ६९ तर अबउसो मानिसको छोरा+ परमेश्वरको शक्तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”+ ७० यो सुनेर तिनीहरू सबैले सोधे: “त्यसोभए के तँ परमेश्वरको छोरा होस्?” उहाँले तिनीहरूलाई भन्नुभयो: “म हुँ भनेर तपाईँहरू आफै भन्दै हुनुहुन्छ।” ७१ तिनीहरूले भने: “हामीलाई अरू साक्षी किन चाहियो र? यसकै मुखबाट हामीले सुनिहाल्यौँ।”+