प्रेषितहरूका कार्य
१ हे थियोफिलस, येसुले सुरुदेखि जे-जे गर्नुभयो अनि सिकाउनुभयो,+ ती सबै मैले आफ्नो पहिलो विवरणमा लेखेको छु। २ आफूले रोजेका+ प्रेषितहरूलाई* पवित्र शक्तिद्वारा निर्देशन दिएपछि उहाँ स्वर्ग लगिनुभएको+ दिनसम्मका कुरा मैले त्यसमा लेखेको छु। ३ विभिन्न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्वरको राज्यबारे बताइरहनुभयो।+ ४ तिनीहरूसित भेटघाट गर्दा उहाँले यस्तो आज्ञा दिनुभयो: “यरुसलेम छोडेर कतै नजाओ+ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा+ नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। ५ किनभने युहन्नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”+
६ अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?”+ ७ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्यक छैन।+ ८ तर पवित्र शक्ति तिमीहरूमाथि आएपछि+ तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका+ साथै सारा यहुदिया, सामरिया+ अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा*+ तिमीहरूले मेरो साक्षी+ दिनेछौ।” ९ उहाँले यी कुराहरू भन्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्।+ १० उहाँ मास्तिर गइरहनुभएको बेला तिनीहरूले आकाशतिर हेरिरहेका थिए अनि सेता लुगा लगाएका+ दुई जना मानिस अचानक तिनीहरूको छेवैमा उभिए ११ र तिनीहरूलाई भने: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”
१२ त्यसपछि जैतुन डाँडा नाम गरेको डाँडाबाट ओर्लेर तिनीहरू यरुसलेम फर्के।+ यरुसलेमबाट त्यो डाँडा नजिकै थियो अर्थात् विश्रामदिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो। १३ सहरमा पुगेपछि तिनीहरू आफू बस्ने गरेको माथिल्लो तलाको कोठामा गए। ती चेलाहरू यी थिए: पत्रुस, युहन्ना, याकुब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ति, अल्फयसको छोरा याकुब र जोसिलो सिमोन अनि याकुबको छोरा यहुदा।+ १४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।
१५ ती दिनमा पत्रुस भाइहरूमाझ उभिए (लगभग १२० जना मानिस* भेला भएका थिए) र यसो भने: १६ “भाइहरू हो, दाउदले पवित्र शक्तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+ १७ त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो+ र त्यसले हामीसँगसँगै सेवा गर्थ्यो। १८ (हो, यही मानिसले कुकर्मको ज्यालाबाट+ एउटा खेत किन्यो र उँधोमुन्टो भई खस्दा भुँडी फुटेर त्यसको आन्द्रा सबै बाहिर निस्क्यो।+ १९ यस घटनाबारे यरुसलेमका सबै बासिन्दाले थाह पाए। त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम हकल्दामा अर्थात् “रगतको जमिन” राखे।) २० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस् र त्यहाँ बास गर्ने कोही नहोस्’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्।’+ २१ त्यसैले हामीले त्यसको सट्टामा यस्तो पुरुषलाई रोज्नु आवश्यक छ, जो प्रभु येसुले हामीमाझ विभिन्न कामहरू गर्नुहुँदा सधैँ हामीसित थियो, २२ अर्थात् यस्तो व्यक्ति, जो युहन्नाद्वारा उहाँको बप्तिस्मा+ भएको दिनदेखि उहाँ माथि लगिनुभएको+ दिनसम्मै हामीसित थियो। अनि हामीले जस्तै उसले पनि प्रभु फेरि जीवित हुनुभएको+ देखेको हुनुपर्छ।”
२३ तब तिनीहरूले बर्साबास भनिने युसुफ, जसलाई जस्तस पनि भनिन्छ, तिनको अनि मत्तियासको नाम प्रस्ताव गरे। २४ त्यसपछि तिनीहरूले यसो भन्दै प्रार्थना गरे: “हे सबैको हृदयको कुरा जान्नुहुने+ यहोवा,* यी दुई पुरुषमध्ये तपाईँले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस् २५ र उसले यो सेवा अनि प्रेषितको जिम्मेवारी ग्रहण गरोस्, जुन त्यागेर यहुदा आफ्नै बाटो लागेको थियो।”+ २६ त्यसपछि तिनीहरूले ती दुईको नाममा गोला हाले+ र त्यो गोला मत्तियासको नाममा पऱ्यो। त्यसबेलादेखि तिनको गन्ती पनि ११ प्रेषितसँगै हुन थाल्यो।*