पहिलो पत्रुस
१ येसु ख्रिष्टको प्रेषित,*+ पत्रुसको तर्फबाट पोन्टस, गलातिया, क्यापाडोसिया,+ एसिया अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई, २ जसलाई आज्ञाकारी बनाउन र येसु ख्रिष्टको रगत छर्किन+ परमेश्वर, हाम्रा बुबाले+ आफ्नो पूर्वज्ञानअनुसार रोज्नुका साथै आफ्नो पवित्र शक्तिद्वारा पवित्र पार्नुभएको छ:+
तिमीहरूले पाइरहेको परमेश्वरको असीम अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्।
३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्वर र बुबाको प्रशंसा होस् किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+ ४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+ ५ हो, तिमीहरूसित विश्वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्वरले आफ्नो शक्तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ। ६ यसले गर्दा तिमीहरू ठूलो रमाहट गर्छौ। तर केही समयका लागि भने विभिन्न परीक्षाले गर्दा तिमीहरूले दुःख भोग्नुपर्छ+ ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्न सकोस्। तिमीहरूको जाँचिएको विश्वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ। ८ तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ तैपनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय अनि ठूलो रमाहटले खुसी मनाउँछौ। ९ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूको विश्वासले गर्दा तिमीहरूले इनामस्वरूप उद्धार पाउनेछौ।+
१० तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहको विषयमा भविष्यवाणी गर्ने भविष्यवक्ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए।+ ११ आफूमाथि काम गरिरहेको पवित्र शक्तिले ख्रिष्टबारे बताएको कुरा कुन समय वा कुन परिस्थितिमा पूरा हुन्छ होला भनेर ती भविष्यवक्ताहरूले खोजतलास गरिरहे।+ किनकि पवित्र शक्तिले तिनीहरूलाई ख्रिष्टले भोग्नुहुने दुःखकष्ट+ अनि उहाँले त्यसपछि पाउनुहुने महिमाबारे पहिल्यै बताएको थियो। १२ तिनीहरूले सेवकको रूपमा जे-जे बताए, त्यो तिनीहरूको निम्ति नभई तिमीहरूको निम्ति थियो भनेर तिनीहरूलाई प्रकट गरियो। तिमीहरूलाई सुसमाचार सुनाउनेहरूले स्वर्गबाट पठाइएको पवित्र शक्तिद्वारा ती कुरा अहिले तिमीहरूसामु घोषणा गरेका छन्।+ स्वर्गदूतहरूसमेत ती कुराहरू बुझ्न अति इच्छा गर्दै छन्।
१३ त्यसैले कडा मेहनत गर्नको लागि आफ्नो दिमागलाई तयार पार,+ पूर्णतया सचेत रहो+ अनि येसु ख्रिष्ट प्रकट हुनुहुँदा तिमीहरूलाई देखाइने असीम अनुग्रहमाथि आफ्नो आशा राखिरहो। १४ परमेश्वरको ज्ञान नपाउँदा तिमीहरू जुन इच्छाअनुसार चल्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न* छोड। १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+ १६ किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।”+
१७ हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई+ तिमीहरू पुकार्छौ भने अहिले केही समयको लागि परदेशीको रूपमा जीवन बिताइरहेको बेला तिमीहरू परमेश्वरको डर मान्दै चल।+ १८ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट* जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्त भएका छौ।*+ यो मुक्ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान् वस्तुहरूद्वारा पाएका होइनौ १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात् ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+ २० हो, संसारको प्रारम्भ हुनुअगावै परमेश्वरले ख्रिष्टलाई चुन्नुभएको थियो+ तर तिमीहरूका खातिर अन्तको समयमा मात्र उहाँ प्रकट गराइनुभयो।+ २१ उहाँद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ।+ तिमीहरूले परमेश्वरमाथि विश्वास अनि आशा गर्न सक भनेर उहाँले ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुभयो+ र महिमा दिनुभयो।+
२२ सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले तिमीहरूमाझ निष्कपट भ्रातृस्नेह+ छ। त्यसैले एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।+ २३ तिमीहरूले विनाशी होइन तर अविनाशी बिउ*+ अर्थात् जीवित र अनन्त परमेश्वरको वचनद्वारा+ नयाँ जन्म पाएका छौ।+ २४ किनकि “सबै मानिस घाँसजस्तै छन् अनि तिनीहरूको महिमा मैदानको फूलजस्तै छ; घाँस ओइलाउँछ र फूल पनि झर्छ २५ तर यहोवा* परमेश्वरको वचन भने सदासर्वदै रहिरहन्छ।”+ यो “वचन” तिमीहरूलाई सुनाइएको सुसमाचार हो।+