एफिसी
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ। २ “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”+ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो: ३ “ताकि तिम्रो भलो होस्* र पृथ्वीमा तिम्रो आयु लामो होस्।” ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+
५ हे दासहरू हो, ख्रिष्टप्रति आज्ञाकारी भएजस्तै डर अनि आदरसहित तिमीहरूका मानव मालिकहरूप्रति निष्कपट हृदयले आज्ञाकारी होओ।+ ६ मानिसहरूलाई खुसी पार्न तिनीहरूको आँखाको सामुन्ने मात्र होइन+ तर ख्रिष्टको दासको रूपमा तनमनले परमेश्वरको इच्छा पूरा गर।+ ७ मानिसको लागि जस्तैगरि होइन तर यहोवा* परमेश्वरका लागि जस्तैगरि असल मनसायले सेवा गर+ ८ किनकि तिमीहरूलाई थाह छ, चाहे दास होस् वा स्वतन्त्र मानिस, उसले जे असल काम गर्छ, त्यसको इनाम यहोवा* परमेश्वरबाट पाउनेछ।+ ९ त्यसैगरि हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना दासहरूसित त्यस्तै व्यवहार गर। उनीहरूलाई नधम्काओ किनकि उनीहरू र तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ+ र उहाँले कसैको पक्षपात गर्नुहुन्न भनेर तिमीहरूलाई थाह छ।
१० अन्तमा, प्रभुको चेलाको नाताले तिमीहरू उहाँबाट अनि उहाँको पराक्रमी शक्तिबाट तागत हासिल गरिरहो।+ ११ परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर+ अनि तिमीहरू दियाबलका दाउपेचहरूविरुद्ध* दृढ भई खडा हुन सक्नेछौ १२ किनकि हाम्रो यो सङ्घर्ष*+ मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलहरूसित+ हो। १३ यसकारण परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार उठाओ+ अनि तिमीहरूले त्यस खराब दिनको सामना गर्न सक्नेछौ र सबै काम गरिसकेपछि तिमीहरू दृढ भई खडा हुन सक्नेछौ।
१४ त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर,+ धार्मिकताको* कवच लगाएर+ १५ अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता+ लगाएर तिमीहरू तयार होओ। १६ यी सब कुराबाहेक विश्वासको ठूलो ढाल+ उठाओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका* सबै अग्निबाण निभाउन सक्नेछौ।+ १७ साथै उद्धारको टोप+ लगाओ अनि पवित्र शक्तिको तरबार अर्थात् परमेश्वरको वचन+ पनि भिर। १८ हरकिसिमका प्रार्थना+ अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्तिद्वारा हरबखत प्रार्थना गरिरहो।+ तिमीहरू जागा बस र सबै पवित्र जनका निम्ति निरन्तर उत्कट बिन्ती चढाओ। १९ अनि मेरो निम्ति पनि प्रार्थना गर कि मैले आफ्नो मुख खोल्दा मलाई शब्दहरू दिइयोस् ताकि मैले निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ।+ २० त्यही सुसमाचारको निम्ति म साङ्लाले बाँधिएको राजदूतको रूपमा+ सेवा गर्दै छु। मैले जे बोल्नुपर्ने हो, साहसी भई बोल्न सकूँ भनेर पनि तिमीहरूले प्रार्थना गर।
२१ म कस्तो छु र के गर्दै छु, त्यस विषयमा हाम्रा प्रिय भाइ अनि प्रभुका वफादार सेवक टाइकिकसले+ तिमीहरूलाई सबै कुरा बताउनेछन्।+ २२ यही उद्देश्यले म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु ताकि तिमीहरूले हाम्रो विषयमा थाह पाउन सक र तिनले तिमीहरूको हृदयलाई सान्त्वना देऊन्।
२३ परमेश्वर, हाम्रा बुबाका साथै येसु ख्रिष्ट, हाम्रा प्रभुबाट भाइहरूले विश्वाससँगसँगै शान्ति अनि प्रेम पाऊन्। २४ हाम्रा प्रभु येसु ख्रिष्टलाई अपार* प्रेम गर्नेजति सबैमाथि परमेश्वरको असीम अनुग्रह रहोस्।