प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt भजन १:१-१५०:६
  • भजनसङ्‌ग्रह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भजनसङ्‌ग्रह
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
भजनसङ्‌ग्रह

भजनसङ्‌ग्रह

भाग १

(भजनसङ्‌ग्रह १-४१)

१ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,

जो पापीहरूको मार्गमा उभिँदैन+

अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+

 २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ+

र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ।*+

 ३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,

जसले आफ्नो ऋतुमा फल दिन्छ,

जसको पात कहिल्यै ओइलाउँदैन।

उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+

 ४ तर दुष्टहरू त्यस्ता हुँदैनन्‌;

तिनीहरू बतासले उडाएर लैजाने भुसजस्तै हुन्छन्‌।

 ५ त्यसैले न्यायको समयमा दुष्टहरू खडा रहन सक्दैनन्‌+

अनि पापीहरू धर्मीहरूको समुदायमा टिक्न सक्दैनन्‌।+

 ६ किनकि यहोवा धर्मीहरूको मार्ग जान्‍नुहुन्छ+

तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।+

२ जातिजातिका मानिसहरूले किन खैलाबैला मच्चाए

अनि मानिसहरूले किन खोक्रा कुराहरू सोचे?*+

 २ यहोवा अनि उहाँका अभिषिक्‍त जनको* विरुद्धमा+

पृथ्वीका राजाहरू खडा भए

अनि शासकहरू एकजुट भए।*+

 ३ तिनीहरू भन्छन्‌: “आओ, उनीहरूले बाँधिदिएको साङ्‌ला छिनालौँ

अनि उनीहरूले बाँधिदिएको डोरी चुँडालौँ!”

 ४ स्वर्गको सिंहासनमा विराजमान हुनुहुने हाँस्नुहुनेछ;

यहोवाले तिनीहरूको खिसी गर्नुहुनेछ।

 ५ त्यतिखेर उहाँ तिनीहरूसित रिसाएर बोल्नुहुनेछ

अनि बल्दो रिसमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुनेछ:

 ६ “मैले रोजेको राजालाई म आफैले

मेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+

 ७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;

उहाँले मलाई यसो भन्‍नुभयो: “तिमी मेरो छोरा हौ।+

म आज तिम्रो बुबा बनेको छु।+

 ८ मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु

अनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+

 ९ तिमीले तिनीहरूलाई फलामको राजदण्डले फोर्नेछौ;+

माटोको भाँडोलाई जस्तै चकनाचुर पार्नेछौ।”+

१० त्यसैले हे राजाहरू हो, बुद्धिमान्‌ होओ;

पृथ्वीका न्यायाधीशहरू हो, होसियार होओ।*

११ यहोवाको डर मान्दै उहाँको सेवा गर,

खुसी मान्दै उहाँको श्रद्धा गर।

१२ छोराको आदर* गर,+ नत्रता परमेश्‍वर रिसाउनुहुनेछ

र तिमीहरू नाश हुनेछौ+

किनकि उहाँको रिस आगोझैँ दन्किनेछ।

उहाँमा शरण लिनेजति सबै रमाउनेछन्‌।

आफ्नो छोरा अब्सालोमदेखि भागेको बेला दाउदले रचेको भजन।+

३ हे यहोवा, मेरा शत्रु किन यत्ति धेरै छन्‌?+

मविरुद्ध किन यत्ति धेरै मानिस छन्‌?+

 २ मेरो बारेमा धेरै जना भन्छन्‌:

“परमेश्‍वरले त्यसको उद्धार गर्नुहुन्‍न।”+ (सेला)*

 ३ तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+

मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।

 ४ यहोवालाई म ठूलो स्वरले पुकार्नेछु

अनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।+ (सेला)

 ५ म पल्टनेछु र निदाउनेछु

अनि म सकुशल ब्युँझनेछु

किनकि यहोवाले मलाई सधैँ साथ दिनुहुन्छ।+

 ६ मविरुद्ध खडा हुने र मलाई घेर्ने

हजारौँ मानिससित पनि म डराउनेछैनँ।+

 ७ हे यहोवा, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌!+

तपाईँले मेरा शत्रुहरू सबैको बङ्‌गारा फुस्काइदिनुहुनेछ

र दुष्टको दाँत झारिदिनुहुनेछ।+

 ८ उद्धार यहोवाबाटै आउँछ।+

तपाईँ आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ। (सेला)

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। दाउदले रचेको भजन।

४ हे न्यायी परमेश्‍वर,+ मैले पुकार्दा जवाफ दिनुहोस्‌।

मलाई दुःख पर्दा छुटकारा दिनुहोस्‌।

मलाई निगाह देखाउनुहोस्‌ र मेरो पुकारा सुन्‍नुहोस्‌।

 २ हे मानिसहरू हो, तिमीहरू कतिन्जेल मलाई आदर गर्नुको सट्टा मेरो अपमान गरिरहन्छौ?

तिमीहरू कतिन्जेल व्यर्थका कुराहरूलाई माया गर्छौ र झूटको पछि लाग्छौ? (सेला)

 ३ यो कुरा जानिराख, यहोवाले आफ्ना वफादार जनहरूको धेरै ख्याल राख्नुहुन्छ;*

मैले यहोवालाई पुकार्दा उहाँले सुन्‍नुहुनेछ।

 ४ रिसले मुरमुरिए तापनि पाप नगर।+

आफ्नो ओछ्यानमा मनमनै गुन र चुपचाप बस। (सेला)

 ५ धार्मिकताको* बलि चढाओ

र यहोवामा भरोसा राख।+

 ६ यसो भन्‍नेहरू धेरै छन्‌: “हामीलाई असल कुरा कसले देखाउनेछ?”

हे यहोवा, तपाईँको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्‌।+

 ७ प्रशस्त अन्‍न र अङ्‌गुरको नयाँ मद्य हुनेहरूभन्दा म धेरै खुसी छु

किनकि तपाईँले मेरो हृदय आनन्दले भरिदिनुभएको छ।

 ८ शान्तसित म पल्टनेछु र निदाउनेछु+

किनकि हे यहोवा, तपाईँले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।+

निर्देशकलाई; नेहिलोथ।* दाउदले रचेको भजन।

५ हे यहोवा, मेरो कुरा सुन्‍नुहोस्‌;+

मेरो सुस्केरामा ध्यान दिनुहोस्‌।

 २ मेरो गुहार सुन्‍नुहोस्‌,

हे मेरा राजा, हे मेरा परमेश्‍वर, किनकि म तपाईँलाई नै पुकार्छु।

 ३ हे यहोवा, बिहानै तपाईँले मेरो स्वर सुन्‍नुहुनेछ;+

बिहानै म तपाईँलाई आफ्नो चिन्ता पोखाउनेछु+ र तपाईँकै बाटो हेर्नेछु।

 ४ किनकि तपाईँ दुष्टतामा रमाउने परमेश्‍वर हुनुहुन्‍न;+

कुनै पनि खराब मानिस तपाईँसित रहन नपाओस्‌।+

 ५ तपाईँसामु घमन्डी मानिस खडा हुन नसकोस्‌।

दुष्ट काम गर्ने सबैलाई तपाईँ घृणा गर्नुहुन्छ।+

 ६ झूट बोल्नेहरूलाई तपाईँले नाश गर्नुहुनेछ।+

हिंस्रक अनि छली* मानिसहरूलाई यहोवा घृणा गर्नुहुन्छ।+

 ७ तपाईँले देखाउनुहुने अपार प्रेमको* कारण+ म तपाईँको भवनमा आउनेछु;+

तपाईँप्रतिको श्रद्धा र भयले गर्दा म तपाईँको पवित्र मन्दिरतिर* फर्केर दण्डवत्‌ गर्नेछु।+

 ८ हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्‍याउनुहोस्‌ किनकि मलाई शत्रुहरूले घेरेका छन्‌;

म तपाईँको मार्गमा नधरमराई हिँड्‌न सकूँ।+

 ९ तिनीहरूको कुरा पत्याउनै सकिँदैन;

तिनीहरू खराबी मात्र चिताउँछन्‌;

तिनीहरूको घोक्रो खुला चिहान हो;

तिनीहरू चिप्ला-चिप्ला कुरा गर्छन्‌।+

१० तर परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराउनुहुनेछ;

तिनीहरूको आफ्नै षड्‌यन्त्रले गर्दा तिनीहरूको पतन हुनेछ।+

तिनीहरूले गरेको असङ्‌ख्य पापले गर्दा तिनीहरूलाई लघारियोस्‌

किनकि तिनीहरूले तपाईँको विरोध गरेका छन्‌।

११ तर तपाईँको शरणमा आउनेहरू रमाउनेछन्‌;+

तिनीहरूले सधैँ रमाहट गर्नेछन्‌।

तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ

र तपाईँको नामलाई माया गर्नेहरूले रमाहट गर्नेछन्‌।

१२ किनकि हे यहोवा, धर्मी मानिसलाई तपाईँले आशिष्‌ दिनुहुनेछ;

तिनीहरूलाई अनुमोदन दिएर ठूलो ढालले जस्तै सुरक्षा दिनुहुनेछ।+

निर्देशकलाई; सेमिनिथको* सुरमा तारे बाजाहरूसित बजाउने। दाउदले रचेको भजन।

६ हे यहोवा, तपाईँको रिसमा मलाई नहप्काउनुहोस्‌

र तपाईँको क्रोधमा मलाई नसुधार्नुहोस्‌।+

 २ हे यहोवा, मलाई अनुग्रह* देखाउनुहोस्‌, म कमजोर हुँदै छु।

मेरा हड्डीहरू काँपिरहेका छन्‌; हे यहोवा, मलाई निको पार्नुहोस्‌।+

 ३ हो, म एकदमै पीडित भएको छु,+

तपाईँ नै भन्‍नुहोस्‌, हे यहोवा, म कतिन्जेल सहूँ?+

 ४ हे यहोवा, आउनुहोस्‌ र मलाई छुटकारा दिनुहोस्‌;+

मलाई बचाउनुहोस्‌ किनकि तपाईँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+

 ५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*

चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+

 ६ सुस्केरा हाल्दा-हाल्दा म थाकिसकेको छु;+

रातभरि रुँदा-रुँदा मेरो ओछ्यान भिज्छ;

आँसुले मेरो सिरानी भिज्छ।+

 ७ शोकले मेरा आँखा कमजोर भएका छन्‌;+

मलाई सताउनेहरूले गर्दा मेरा आँखा धमिला* भएका छन्‌।

 ८ ए दुष्टहरू हो, मदेखि टाढा जाओ

किनकि यहोवाले मेरो रोदन सुन्‍नुहुनेछ।+

 ९ अनुग्रहको लागि मैले पुकार्दा यहोवाले सुन्‍नुहुनेछ;+

यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ।

१० मेरा सबै शत्रु लाजमा पर्नेछन्‌ र भयभीत हुनेछन्‌;

अचानक बेइज्जती भोगेकोले तिनीहरू पछि हट्‌नेछन्‌।+

बिन्यामिन कुलको कुसले भनेको कुराले गर्दा दाउदले यहोवासामु गाएको शोकगीत।

७ हे यहोवा, मेरा परमेश्‍वर, तपाईँमा मैले शरण लिएको छु।+

मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस्‌ र मलाई छुटाउनुहोस्‌।+

 २ नत्र त तिनीहरूले मलाई सिंहले जस्तै लुछ्‌नेछन्‌,+

मलाई लैजानेछन्‌ र कसैले मलाई छुटाउन सक्नेछैन।

 ३ हे यहोवा, मेरा परमेश्‍वर, मैले केही बिराएको भए,

मैले अन्याय गरेको भए,

 ४ मेरो भलो गर्नेलाई हानि पुऱ्‍याएको भए,+

विनाकारण शत्रुलाई लुटेको भए*

 ५ मेरो शत्रुले मलाई खेदोस्‌ र मलाई पक्रोस्‌;

त्यसले मलाई भुईँमा कुल्चीमिल्ची गरेर मारोस्‌

र मेरो गौरव धुलोमा मिलाइदेओस्‌। (सेला)

 ६ हे यहोवा, उठ्‌नुहोस्‌! आफ्नो रिस प्रकट गर्नुहोस्‌,

मेरा शत्रुहरूको रिसविरुद्ध खडा हुनुहोस्‌;+

मेरो लागि जाग्नुहोस्‌ र न्यायको आज्ञा दिनुहोस्‌।+

 ७ जातिजातिहरूले तपाईँलाई घेर्नेछन्‌

र तपाईँले तिनीहरूविरुद्ध उच्च स्थानबाट कदम चाल्नुहुनेछ।

 ८ यहोवाले जातिजातिबारे फैसला सुनाउनुहुनेछ।+

हे यहोवा, मेरो धार्मिकता र निष्ठाअनुसार

मेरो निसाफ गर्नुहोस्‌।+

 ९ बिन्ती छ, दुष्टहरूको दुष्कर्मको अन्त गरिदिनुहोस्‌

र न्याय स्थापित गरिदिनुहोस्‌+

किनकि तपाईँ हृदय+ अनि गहिरो भावना+ जाँच्ने* न्यायी परमेश्‍वर हुनुहुन्छ।+

१० परमेश्‍वर मेरो ढाल हुनुहुन्छ,+ सोझो मन भएकाहरूको उद्धारक हुनुहुन्छ।+

११ परमेश्‍वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ,+

उहाँ सधैँ दुष्टहरूविरुद्ध न्यायदण्ड सुनाउनुहुन्छ।

१२ कसैले पश्‍चात्ताप गरेन भने+

उहाँ आफ्नो तरबारमा सान लगाउनुहुन्छ;+

उहाँ आफ्नो धनुमा ताँदो चढाउनुहुन्छ।+

१३ उहाँ आफ्नो घातक हतियार तयार पार्नुहुन्छ;

उहाँ आफ्नो अग्निबाण तयार पार्नुहुन्छ।+

१४ दुष्टता गर्भधारण गर्नेलाई हेर;

ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+

१५ उसले खाल्टो खन्छ र त्यसलाई गहिरो बनाउँछ

तर ऊ आफूले खनेको खाल्टोमा आफै पर्छ।+

१६ उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+

उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ।

१७ यहोवाको न्यायको लागि म उहाँको प्रशंसा गर्नेछु;+

हे सर्वोच्च परमेश्‍वर यहोवा,+ तपाईँको नामको म स्तुति गाउनेछु।*+

निर्देशकलाई; गित्तिथमा* मिलाउने। दाउदले रचेको भजन।

८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!

तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+

 २ तपाईँका वैरीहरूको कारण

तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट+ आफ्नो शक्‍ति प्रकट गर्नुभएको छ

ताकि शत्रुहरू र बदला लिनेहरूको मुखमा बुजो लागोस्‌।

 ३ आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,

तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+

 ४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?

मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+

 ५ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो

अनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्‍याउनुभयो।

 ६ तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+

तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:

 ७ भेडाबाख्रा र गाईवस्तु सबै

अनि जङ्‌गली जनावर सबै,+

 ८ आकाशका चराचुरुङ्‌गी र समुद्रका माछा

अनि समुद्रमा पौडिने जीव सबै।

 ९ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!

निर्देशकलाई; मुथ-लाब्बेनमा* मिलाउने। दाउदले रचेको भजन।

א [आलेफ]

९ हे यहोवा, सारा हृदयले म तपाईँको प्रशंसा गर्नेछु;

तपाईँका आश्‍चर्यलाग्दा कामहरू सबै म अरूलाई बताउँछु।+

 २ तपाईँको साथ पाएकोमा म रमाउनेछु र तपाईँको जयजयकार गर्नेछु;

हे सर्वोच्च परमेश्‍वर, तपाईँको नामको म स्तुति गाउनेछु।*+

ב [बेथ]

 ३ मेरा शत्रुहरू तपाईँबाट भाग्दा+

तिनीहरूले ठेस खानेछन्‌ र तिनीहरू नाश हुनेछन्‌।

 ४ तपाईँले मेरो पक्षमा निसाफ गरिदिनुभएको छ र मेरो रक्षा गर्नुभएको छ;

तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ र सही न्याय गर्नुहुन्छ।+

ג [गिमेल]

 ५ तपाईँले जातिजातिलाई हप्काउनुभएको छ+ र दुष्टलाई नाश गर्नुभएको छ,

तिनीहरूको नाम तपाईँले सदाको लागि मेटिदिनुभएको छ।

 ६ शत्रुचाहिँ सदाको लागि नाश भएको छ;

तपाईँले तिनीहरूको सहरलाई तहसनहस पारिदिनुभएको छ

र तिनीहरूलाई कसैले सम्झनेछैन।+

ה [हे]

 ७ यहोवा सदाको लागि सिंहासनमा बस्नुभएको छ;+

उहाँले न्याय गर्न आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ।+

 ८ उहाँले पृथ्वीको* निष्पक्ष न्याय गर्नुहुनेछ;+

उहाँले पक्षपात नगरी जातिजातिको इन्साफ गर्नुहुनेछ।+

ו [वाव]

 ९ थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+

उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+

१० तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्‌;+

हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्‍न।+

ז [जयिन]

११ सियोनमा विराजमान यहोवाको स्तुति गाओ;

उहाँका कामहरूबारे मानिसहरूलाई बताओ।+

१२ उहाँले मारिएकाहरूको रगतको बदला लिनुहुनेछ र तिनीहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;+

कष्टमा परेकाहरूको वेदना उहाँले कहिल्यै बिर्सनुहुनेछैन।+

ח [हेत]

१३ हे यहोवा, मलाई मृत्युको ढोकाबाट उठाउने तपाईँ नै हुनुहुन्छ;+

ममाथि दया गर्नुहोस्‌; मलाई घृणा गर्नेहरूले दिएको दुःख हेर्नुहोस्‌

१४ ताकि म तपाईँका महान्‌ कामहरूबारे सियोनकी छोरीका* ढोकाहरूमा घोषणा गर्न सकूँ+

र तपाईँले दिनुहुने छुटकारामा रमाउन सकूँ।+

ט [टेथ]

१५ जातिजातिहरू आफैले खनेको खाल्टोमा जाकिएका छन्‌;

आफूले थापेको जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।+

१६ यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर देखिन्छ।+

दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+

हिग्गायोन।* (सेला)

י [योद]

१७ दुष्टचाहिँ चिहानमा* फर्किजानेछ,

परमेश्‍वरलाई बिर्सने जातिहरूको हालत पनि त्यस्तै हुनेछ।

१८ तर दरिद्रहरूलाई सधैँको लागि बिर्सिइनेछैन+

र नम्रको आशा निराशामा बदलिनेछैन।+

כ [काफ]

१९ हे यहोवा, उठ्‌नुहोस्‌! तुच्छ मानिस विजयी हुन नपाओस्‌।

तपाईँकै सामुन्‍ने जातिजातिको फैसला होस्‌।+

२० हे यहोवा, तिनीहरूलाई भयभीत पार्नुहोस्‌,+

मानिस कति तुच्छ रहेछ भनेर जातिजातिले बुझून्‌। (सेला)

ל [लामेद]

१० हे यहोवा, तपाईँ किन टाढै उभिनुहुन्छ?

म विपत्‌मा परेको बेला तपाईँ किन लुक्नुहुन्छ?+

 २ दुष्टले घमन्ड गर्दै असहायको खेदो गरिरहन्छ+

तर आफ्नो फन्दामा ऊ आफै पर्छ।+

 ३ दुष्टले आफ्ना स्वार्थी इच्छाहरूमा फुर्ती गर्छ+

अनि लोभीलाई आशिष्‌ दिन्छ;*

נ [नुन]

उसले यहोवाको आदर गर्दैन।

 ४ आफ्नो घमन्डको कारण दुष्टले परमेश्‍वरको खोजी गर्दैन;

उसले मनमनै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न।”+

 ५ उसको फलिफाप हुन्छ,+

तपाईँले गर्ने इन्साफ उसले बुझ्न सक्दैन;+

उसले आफ्ना सबै शत्रुको खिल्ली उडाउँछ।

 ६ उसले मनमनै भन्छ: “म कहिल्यै डग्नेछैनँ;*

पुस्तौँसम्म पनि

मैले कहिल्यै विपत्ति भोग्नुपर्नेछैन।”+

פ [पे]

 ७ उसको मुख सराप, झूट र धम्कीले भरिएको छ;+

उसको जिब्रोले समस्या र दुःख निम्त्याउँछ।+

 ८ ऊ बस्तीनजिकै ढुकेर बस्छ;

लुकेको ठाउँबाट उसले निर्दोषको हत्या गर्छ।+

ע [अयिन]

कसलाई सिकार बनाऊँ भनेर ऊ पर्खिबस्छ।+

 ९ झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+

असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छ

अनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+

१० उसले आफ्नो सिकारलाई पेल्छ र जमिनमा पछार्छ;

निर्दोषहरू उसको बलियो पन्जामा पर्छन्‌।

११ दुष्टले मनमनै भन्छ: “परमेश्‍वरले बिर्सनुभयो।+

उहाँले आफ्नो अनुहार फर्काउनुभएको छ।

उहाँले कहिल्यै देख्नुहुन्‍न।”+

ק [कोफ]

१२ हे यहोवा, उठ्‌नुहोस्‌!+ हे परमेश्‍वर, कदम चाल्नुहोस्‌!*+

असहायहरूलाई नबिर्सनुहोस्‌।+

१३ दुष्टले किन परमेश्‍वरको अनादर गर्छ?

उसले मनमनै भन्छ: “परमेश्‍वर मेरो लेखा लिनुहुन्‍न।”

ר [रेश]

१४ तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।

तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+

जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+

तपाईँ अनाथको* मदतगार हुनुहुन्छ।+

ש [शिन]

१५ दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌,+

उसले खराब काम गर्न नसकोस्‌,

उसको दुष्कर्म खोज्दा पनि भेट्टाउन नसकियोस्‌

१६ यहोवा सदासर्वदा राजा हुनुहुन्छ।+

जातिजातिका मानिस पृथ्वीबाट नाश भए।+

ת [ताव]

१७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्‍नुहुन्छ।+

तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+

१८ तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ+

ताकि पृथ्वीका मानिसहरूले तिनीहरूलाई डर देखाउन नसकून्‌।+

निर्देशकलाई; दाउदको रचना।

११ मैले यहोवामा शरण लिएको छु।+

तिमीले कसरी मलाई यसो भन्‍न सक्यौ:

“चराजस्तै तिमीहरू आफ्नो पहाडतिर भाग!

 २ दुष्टले धनुमा ताँदो चढाएको हेर।

सिधासादा मानिसलाई अँध्यारोबाट बाण हान्‍न

तिनीहरू निसाना ताक्दै छन्‌।

 ३ न्यायको जग भत्काइँदा

धर्मीहरूले के नै गर्न सक्छन्‌ र?”

 ४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+

यहोवाको सिंहासन स्वर्गमा छ।+

उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखाले

मानिसहरूलाई जाँच्नुहुन्छ।+

 ५ यहोवा धर्मी अनि दुष्ट दुवैलाई जाँच्नुहुन्छ;+

हत्याहिंसा मन पराउनेलाई उहाँ घृणा गर्नुहुन्छ।+

 ६ दुष्टलाई पक्रन उहाँ जताततै पासो* थाप्नुहुन्छ;

तिनीहरूको कचौरामा आगो र गन्धक+ अनि तातो हावा भर्नुहुन्छ।

 ७ यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+

सोझाहरूले उहाँको मुहार देख्नेछन्‌।*+

निर्देशकलाई; सेमिनिथको* सुरमा। दाउदले रचेको भजन।

१२ हे यहोवा, मलाई बचाउनुहोस्‌ किनकि वफादार मानिस एक जना पनि छैन;

मानिसहरूबीचबाट विश्‍वासी मानिसहरू हराइसके।

 २ तिनीहरू एकअर्कासित झूट बोल्छन्‌;

तिनीहरू चिप्लो घसेर कुरा गर्छन्‌ र मनमा कपट राखेर बोल्छन्‌।+

 ३ यहोवाले चाप्लुसी गर्नेहरूको ओठ

र फुइँ गर्नेहरूको जिब्रो काटिदिनुहुनेछ।+

 ४ तिनीहरू यसो भन्छन्‌: “हामी आफ्नो जिब्रोकै भरमा जित्न सक्छौँ।

हामी आफूलाई जे मन पर्छ, त्यही बोल्छौँ;

हामीमाथि कसले हुकुम चलाउन सक्छ?”+

 ५ यहोवा भन्‍नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,

गरिबले सुस्केरा हालेकोले+

म तिनीहरूको पक्षमा खडा हुनेछु।

तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”

 ६ यहोवाका वचनहरू शुद्ध छन्‌,+

ती माटोको भट्टीमा* खारिएका निखुर चाँदीजस्ता छन्‌, सात पटक खारिएका चाँदीजस्तै।

 ७ हे यहोवा, तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ;+

तिनीहरू प्रत्येकलाई यस्ता मानिसहरूबाट सधैँभरि जोगाउनुहुनेछ।

 ८ दुष्टहरू बेलगाम हिँड्‌छन्‌

किनभने जताततै नीच काम गर्न उक्साउने मानिसहरू मात्र छन्‌।+

निर्देशकलाई; दाउदले रचेको भजन।

१३ हे यहोवा, तपाईँ कतिन्जेल मलाई बिर्सनुहुन्छ? सधैँभरि?

तपाईँ कतिन्जेल आफ्नो अनुहार मदेखि अन्तै फर्काउनुहुन्छ?+

 २ दिनदिनै मनमा बोझ लिएर

कतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?

कतिन्जेल मेरो शत्रुले ममाथि प्रभुत्व जमाउनेछ?+

 ३ हे यहोवा, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस्‌ र जवाफ दिनुहोस्‌।

मेरा आँखामा चमक हालिदिनुहोस्‌ ताकि म मृत्युको चीर निद्रामा पर्नु नपरोस्‌।

 ४ मेरो शत्रुले यसो भन्‍न नपाओस्‌: “मैले त्यसलाई जितेँ!”

मेरो सर्वनाश नहोस्‌ र शत्रुहरू रमाउन नपाऊन्‌।+

 ५ म त तपाईँकै अटल प्रेममा भरोसा राख्छु;+

तपाईँले गर्नुहुने उद्धारमा म रमाउनेछु।+

 ६ म यहोवाको स्तुति गाउनेछु किनकि उहाँले मलाई प्रशस्त आशिष्‌ दिनुभएको छ।+

निर्देशकलाई; दाउदको रचना।

१४ मूर्खले मनमनै भन्छ:

“यहोवा हुनुहुन्‍न।”+

तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्‌।

असल काम गर्ने कोही छैन।+

 २ तर बुद्धिमान्‌* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि भनेर

यहोवा स्वर्गबाट मानिसहरूलाई हेर्नुहुन्छ।+

 ३ तिनीहरू सबै तर्केका छन्‌;+

तिनीहरू सबै भ्रष्ट भएका छन्‌।

असल काम गर्ने कोही छैन,

अहँ, एक जना पनि छैन।

 ४ के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?

तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्‌।

तिनीहरू यहोवालाई पुकार्दैनन्‌।

 ५ तर तिनीहरूलाई त्रासले छोप्नेछ+

किनभने यहोवा धर्मीहरूको पुस्तासित हुनुहुन्छ।

 ६ तिमी दुष्टहरू दीनदुःखीको योजना विफल पार्ने कोसिस गर्छौ

तर यहोवा दीनदुःखीको शरणस्थान हुनुहुन्छ।+

 ७ इस्राएलको उद्धार सियोनबाटै आओस्‌!+

कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदा

याकुब रमाओस्‌, इस्राएल आनन्दित होस्‌!

दाउदले रचेको भजन।

१५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?

तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+

 २ त्यो मानिस, जसले निर्दोष* जीवन बिताउँछ,+

जसले असल काम गर्छ+

र मनैदेखि सत्य बोल्छ।+

 ३ त्यो मानिस, जसले निन्दा गर्दैन,+

छिमेकीको खराबी गर्दैन+

र साथीहरूको बेइज्जत गर्दैन।*+

 ४ त्यो मानिस, जसले नीच मानिसलाई तिरस्कार गर्छ+

तर यहोवाको डर मान्‍नेलाई आदर गर्छ

र आफ्नै हानि भए पनि आफ्नो वचन* पूरा गर्छ।+

 ५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+

जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+

यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+

दाउदको मिक्‍ताम।*

१६ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्‌ किनभने म तपाईँकै शरणमा आएको छु।+

 २ मैले यहोवालाई भनेँ: “तपाईँ यहोवा हुनुहुन्छ, मेरो भलाइको स्रोत!

 ३ पृथ्वीमा भएका पवित्र जनहरूमा,

तिनै महिमित मानिसहरूमा म रमाउँछु।”+

 ४ अरू देवता पुज्नेहरूले आफैमाथि दुःख थप्छन्‌।+

ती देवताहरूलाई म कहिल्यै रगत चढाउनेछैनँ

अनि मेरो ओठले तिनीहरूको नाम लिनेछैन।+

 ५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+

तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।

 ६ तपाईँले नापेर दिनुभएको मेरो अंश उत्तम छ।

हो, मेरो अंशमा म सन्तुष्ट छु।+

 ७ मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु।+

रातमा पनि मेरा भित्री विचारहरूले* मलाई सुधार्छन्‌।+

 ८ मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+

उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+

 ९ मेरो मन रमाउँछ, म धेरै खुसी हुन्छु

र म सुरक्षित रहन्छु।

१० तपाईँले मलाई चिहानमा* छोड्‌नुहुनेछैन,+

तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन।*+

११ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।+

तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु।+

तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।

दाउदको प्रार्थना।

१७ हे यहोवा, न्यायको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌;

मेरो गुहार सुन्‍नुहोस्‌;

मेरो निष्कपट प्रार्थना सुन्‍नुहोस्‌।+

 २ सही फैसला सुनाएर मलाई न्याय दिनुहोस्‌;+

के सही छ, तपाईँका आँखाले देखून्‌।

 ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+

तपाईँले मलाई खार्नुभएको छ;+

मैले कुनै दाउपेच गरेको छैनँ

र मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।

 ४ मानिसहरूले जेसुकै गरे पनि

मचाहिँ तपाईँको मुखबाट निस्केको वचन सुन्छु र डाँकाहरूको मार्गमा हिँड्‌दिनँ।+

 ५ म तपाईँकै मार्गमा हिँड्‌न सकूँ

ताकि मेरा पाइलाले ठक्कर नखाऊन्‌।+

 ६ हे परमेश्‍वर, म तपाईँलाई पुकार्छु किनभने तपाईँ मलाई जवाफ दिनुहुन्छ।+

तपाईँको कान मतिर फर्काउनुहोस्‌;* मेरो पुकारा सुन्‍नुहोस्‌।+

 ७ हे परमेश्‍वर, तपाईँ ती मानिसहरूका उद्धारक हुनुहुन्छ,

जसले तपाईँका विरोधीहरूबाट बच्न तपाईँको दाहिने बाहुलीमुनि शरण लिन्छन्‌।

आश्‍चर्यजनक तरिकाले आफ्नो अटल प्रेम देखाउनुहोस्‌।+

 ८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्‌;+

मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्‌।+

 ९ मलाई आक्रमण गर्ने दुष्टहरूबाट

अनि मलाई घेरा हाल्ने र मार्न चाहने शत्रुहरूबाट मलाई जोगाउनुहोस्‌।+

१० तिनीहरू निर्दयी भएका छन्‌;

तिनीहरू अहङ्‌कारी हुँदै बोल्छन्‌;

११ तिनीहरूले हामीलाई उम्कनै नसक्ने गरी घेरेका छन्‌;+

हामीलाई जमिनमा पछार्न* तिनीहरू दाउ खोजिरहेका छन्‌।

१२ त्यो आफ्नो सिकारलाई धुजाधुजा पार्न पर्खिरहेको सिंहजस्तै छ,

ढुकिबसेको जवान सिंहजस्तै।

१३ हे यहोवा, त्यसविरुद्ध खडा हुन उठ्‌नुहोस्‌+ र विजयी हुनुहोस्‌;

आफ्नो तरबार चलाएर दुष्टबाट मेरो ज्यान जोगाउनुहोस्‌।

१४ मलाई छुटाउनुहोस्‌,* हे यहोवा,

यस संसारका मानिसहरूबाट, जसको भाग यही जीवनमा छ,+

जसलाई तपाईँले राम्रा-राम्रा कुरा दिनुभएको छ,+

जसले आफ्ना छोराहरूलाई सम्पत्ति छोडिदिन्छन्‌।

१५ तर मचाहिँ निर्दोष रहिरहनेछु ताकि तपाईँको मुहार हेर्न पाऊँ;

तपाईँको सामुन्‍ने ब्युँझेर खडा हुन पाउँदा* म सन्तुष्ट हुन्छु।+

निर्देशकलाई; यहोवाका सेवक दाउदको रचना। यहोवाले दाउदलाई तिनका सबै शत्रु र साउलको हातबाट बचाउनुभएको दिन तिनले यहोवाको निम्ति गाएको भजन। तिनले यसो भने:+

१८ हे यहोवा, मेरो बल, तपाईँलाई म प्रेम गर्छु।+

 २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्‍वर।+

मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,

मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+

 ३ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,

उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।+

 ४ मृत्युको डोरीले मलाई कस्यो,+

एक्कासि उर्लने बाढीले जस्तै बेकामका मानिसहरूले मलाई तर्साए।+

 ५ चिहानका* डोरीहरूले मलाई चारैतिरबाट घेरे;

मेरो अगाडि मृत्युको पासो बिछ्याइयो।+

 ६ आपत्‌मा पर्दा मैले यहोवालाई गुहारेँ,

मदतको लागि मैले मेरा परमेश्‍वरलाई पुकारिरहेँ।

उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्‍नुभयो,+

मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+

 ७ तब पृथ्वी काँप्न र हल्लिन थाल्यो;+

उहाँ रिसाउनुभएकोले पहाडका जगहरू डगमगाए,

ती यताउता हल्लिन थाले।+

 ८ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो,

उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+

बलिरहेको भुङ्‌ग्रो उहाँबाट निस्कियो।

 ९ तल झर्दा उहाँले आकाशलाई निहुराउनुभयो+

अनि उहाँको पैतालामुनि निस्पट्ट अन्धकार थियो।+

१० उहाँ करूबमाथि* सवार भएर उड्‌दै आउनुभयो।+

स्वर्गदूतको* पखेटामा हुँइकँदै आउनुभयो।+

११ त्यसपछि उहाँले आफैलाई अन्धकारले ढाक्नुभयो+

र मडारिएको कालो बादललाई+ आफ्नो वरिपरि पालजस्तै फिँजाउनुभयो।

१२ उहाँसामु बिजुली चम्कियो,

असिना र बलिरहेको भुङ्‌ग्रो बादल चिरेर निस्किए।

१३ तब यहोवा आकाशमा गर्जन थाल्नुभयो;+

असिना र बलिरहेको भुङ्‌ग्रो बर्साएर

सर्वोच्च परमेश्‍वरले आफ्नो स्वर सुनाउनुभयो।+

१४ उहाँले काँडहरू बर्साउनुभयो र शत्रुहरूलाई तितरबितर पार्नुभयो;+

बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+

१५ हे यहोवा, तपाईँको हप्काइले गर्दा,

तपाईँको नाकबाट निस्केको सासको वेगले गर्दा+

खोलाको पिँध देखियो+ र धर्तीका जगहरू उदाङ्‌ग भए।

१६ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो

अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+

१७ उहाँले मलाई मेरो बलवान्‌ शत्रुको हातबाट छुटाउनुभयो,+

मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।+

१८ म आपत्‌मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+

तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।

१९ उहाँले मलाई सुरक्षित ठाउँमा* ल्याउनुभयो;

मसित प्रसन्‍न भएकोले उहाँले मलाई बचाउनुभयो।+

२० यहोवाले मलाई मेरो धार्मिकताअनुसारको इनाम दिनुहुन्छ;+

मेरो हात निर्दोष* भएकोले उहाँ मलाई प्रतिफल दिनुहुन्छ।+

२१ किनकि म यहोवाको मार्गमा हिँडेको छु,

दुष्ट भएर मेरा परमेश्‍वरलाई मैले त्यागेको छैनँ।

२२ मैले उहाँको कुनै ऐनकानुन बिर्सेको छैनँ;

म उहाँका विधिविधानलाई बेवास्ता गर्नेछैनँ।

२३ म सदा उहाँसामु निष्कलङ्‌क रहनेछु,+

खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+

२४ यहोवाले मेरो धार्मिकताअनुसार+

र उहाँसामु मेरा हातहरू निर्दोष भएकोले+ त्यसैअनुसार मलाई इनाम देऊन्‌।

२५ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+

निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+

२६ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+

तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+

२७ दीनदुःखीलाई* तपाईँ जोगाउनुहुन्छ+

तर हठी मानिसलाई* भने तपाईँ तिरस्कार गर्नुहुन्छ।+

२८ हे यहोवा, मेरो दियो बाल्ने तपाईँ नै हुनुहुन्छ;

अन्धकारले छोप्दा मेरा परमेश्‍वरले मलाई ज्योति दिनुहुन्छ।+

२९ तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;+

तपाईँको शक्‍तिले म पर्खाल नाघ्न सक्छु।+

३० साँचो परमेश्‍वरको काम निष्खोट छ;+

यहोवाको वचन शुद्ध* छ।+

उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+

३१ यहोवाबाहेक अरू को परमेश्‍वर छ?+

हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू को छ?+

३२ मलाई बल दिने साँचो परमेश्‍वर नै हुनुहुन्छ,+

उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+

३३ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;

उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+

३४ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;

मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।

३५ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;+

तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ*

र तपाईँको नम्रताले मेरो मान बढाएको छ।+

३६ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ;

मेरा खुट्टा चिप्लँदैनन्‌।+

३७ म मेरा शत्रुहरूलाई खेद्‌छु र तिनीहरूलाई जित्नेछु;

तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।

३८ म तिनीहरूलाई धुलोपिठो पार्नेछु र तिनीहरू फेरि उठ्‌न सक्नेछैनन्‌;+

म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।

३९ तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;

मेरा शत्रुहरूलाई मेरो सामुन्‍ने ढालिदिनुहुन्छ।+

४० तपाईँ मेरा शत्रुहरूलाई मदेखि भाग्न लगाउनुहुन्छ

अनि मलाई घृणा गर्नेहरूको म नामोनिसान मेटिदिनेछु।*+

४१ तिनीहरू गुहार माग्छन्‌ तर तिनीहरूलाई बचाउने कोही छैन;

तिनीहरू यहोवालाई समेत पुकार्छन्‌ तर उहाँ तिनीहरूको पुकारा सुन्‍नुहुन्‍न।

४२ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर बतासले उडाउने धुलोजस्तै बनाइदिनेछु;

म तिनीहरूलाई बाटोको हिलोलाई जस्तै मिल्काइदिनेछु।

४३ ममा दोष खोज्ने मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+

तपाईँ मलाई जातिजातिको अगुवा नियुक्‍त गर्नुहुन्छ।+

मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्‌।+

४४ सुनेको कुराको भरमा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्‌;

विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्‌।+

४५ तिनीहरूले हिम्मत हार्नेछन्‌;*

तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्‌।

४६ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्‌!+

मेरो उद्धार गर्ने परमेश्‍वरको जयजयकार गरियोस्‌।+

४७ साँचो परमेश्‍वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+

जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।

४८ उहाँ मलाई क्रोधित शत्रुहरूबाट बचाउनुहुन्छ;

उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+

मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।

४९ त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँको प्रशंसा गर्छु;+

म तपाईँको नामको स्तुति गाउँछु।*+

५० आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+

आफ्नो अभिषिक्‍त जन+ दाउद र तिनको सन्तानलाई

उहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।+

निर्देशकलाई; दाउदले रचेको भजन।

१९ आकाशले परमेश्‍वरको महिमा गर्छ;+

गगनले परमेश्‍वरको हातको कामको वर्णन गर्छ।+

 २ हरदिन तिनीहरू खुलेर कुरा गर्छन्‌,

हररात तिनीहरू परमेश्‍वरको ज्ञान प्रकट गर्छन्‌।

 ३ तिनीहरूको कुनै भाषा छैन, तिनीहरूको कुनै शब्द छैन;

तिनीहरूको कुनै स्वर सुनिँदैन।

 ४ तर तिनीहरूको स्वर* सारा पृथ्वीभरि गुञ्जिएको छ;

अनि तिनीहरूको सन्देश पृथ्वीको* कुनाकाप्चासम्म सुनिएको छ।+

परमेश्‍वरले आकाशमा सूर्यको लागि पाल फैलाउनुभएको छ।

 ५ त्यसको चमक दुलहीको कोठाबाट निस्केको दुलहाको मुहारजस्तै छ;

त्यो दौडमा निस्केको वीर मानिसजस्तै रमाउँछ।

 ६ त्यो आकाशको एक छेउबाट उदाउँछ

र घुम्दै अर्को छेउमा अस्ताउँछ।+

त्यसको तापबाट कुनै कुरा लुक्न सक्दैन।

 ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+

यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+

 ८ यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ।+

यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ।+

 ९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।

यहोवाका फैसलाहरू सत्य छन्‌, ती न्यायोचित छन्‌।+

१० ती सुनभन्दा प्रिय छन्‌,

निखुर* सुनभन्दा पनि प्रिय,+

महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो।

११ यीबाटै तपाईँको दासले चेतावनी पाउँछ;+

यी पालन गरे प्रशस्तै इनाम पाइन्छ।+

१२ आफ्नो गल्ती कसले देख्छ र?+

मैले अनजानमा गरेको पापको लागि मलाई दोषी नठहराउनुहोस्‌।

१३ तपाईँको दासलाई अहङ्‌कारी हुनदेखि रोक्नुहोस्‌;+

अहङ्‌कारले ममाथि हैकम जमाउन नपाओस्‌।+

तब म पूर्ण हुनेछु,+

घोर पापबाट निर्दोष रहनेछु।

१४ हे यहोवा, मेरा चट्टान+ र मेरा उद्धारक,+

मेरो मुखको वचन र मेरो मनको चिन्तनले तपाईँलाई खुसी तुल्याओस्‌।+

निर्देशकलाई; दाउदले रचेको भजन।

२० दुःखको दिनमा यहोवाले तिमीलाई* जवाफ देऊन्‌।

याकुबका परमेश्‍वरको नामबाटै तिम्रो रक्षा होस्‌।+

 २ उहाँले तिमीलाई पवित्र ठाउँबाट मदत पठाऊन्‌+

अनि सियोनबाट तिमीलाई सम्हालून्‌।+

 ३ तिमीले चढाएको सबै भेटी उहाँले सम्झून्‌;

तिमीले चढाएको अग्निभेटी* उहाँले ग्रहण गरून्‌। (सेला)

 ४ उहाँले तिम्रा सबै इच्छा पूरा गरून्‌+

अनि तिम्रा सबै योजना* सफल बनाइदेऊन्‌।

 ५ उहाँले गर्नुहुने उद्धारको हामी जयजयकार गर्नेछौँ;+

हाम्रा परमेश्‍वरको नामको महिमा गर्नेछौँ।+

यहोवाले तिम्रा सबै बिन्ती सुनिदेऊन्‌।

 ६ यहोवाले आफ्नो अभिषिक्‍त जनलाई बचाउनुहुन्छ भनेर अब मैले थाह पाएँ।+

उहाँले आफ्नो शक्‍तिशाली दाहिने बाहुलीले उद्धार गरेर*+

पवित्र स्वर्गबाट तिनलाई जवाफ दिनुहुन्छ।

 ७ कोही रथमा भर पर्छन्‌ त कोही घोडामा+

तर हामी भने हाम्रा परमेश्‍वर यहोवाको नाम पुकार्छौँ।+

 ८ तिनीहरू ढले, तिनीहरूको पतन भयो।

तर हाम्रो भने उत्थान भएको छ र हामी फेरि बलियो पारिएका छौँ।+

 ९ हे यहोवा, राजालाई बचाउनुहोस्‌!+

हामीले गुहार माग्दा उनले जवाफ दिनेछन्‌।+

निर्देशकलाई; दाउदले रचेको भजन।

२१ हे यहोवा, तपाईँको शक्‍तिमा राजा रमाउँछन्‌;+

तपाईँले दिनुहुने उद्धारमा तिनी कत्ति रमाउँछन्‌!+

 २ तपाईँले तिनको मनको इच्छा पूरा गर्नुभएको छ;+

तिनको बिन्ती* सुन्‍न इन्कार गर्नुभएको छैन। (सेला)

 ३ किनकि तपाईँले तिनलाई प्रशस्त आशिष्‌ दिनुभयो;

निखुर* सुनको मुकुट तिनको शिरमा पहिऱ्‍याइदिनुभयो।+

 ४ तिनले तपाईँसित जीवन मागे र तपाईँले दिनुभयो,+

लामो जीवन, सदासर्वदाको जीवन।

 ५ तपाईँले दिनुहुने उद्धारले गर्दा तिनको धेरै महिमा हुन्छ।+

तपाईँले तिनलाई गौरव र महिमा दिएर सम्मान गर्नुभएको छ।

 ६ तपाईँले तिनलाई सदासदा आशिष्‌ दिने निश्‍चय गर्नुभएको छ;+

तपाईँको उपस्थितिले गर्दा तिनी खुसी भएका छन्‌।+

 ७ किनकि राजाले यहोवामा भरोसा गर्छन्‌;+

सर्वोच्च परमेश्‍वरको अटल प्रेमको कारण तिनी कहिल्यै डग्नेछैनन्‌।*+

 ८ तपाईँको बाहुलीले तपाईँका सबै शत्रुलाई फेला पार्नेछ;

तपाईँको दाहिने बाहुलीले तपाईँलाई घृणा गर्नेहरूलाई फेला पार्नेछ।

 ९ तपाईँ तिनीहरूलाई नाश गर्न आउनुहुँदा तिनीहरूलाई दनदनी बलेको आगोको भट्टीसरह बनाउनुहुनेछ।

यहोवाले रिसाएर तिनीहरूलाई निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।+

१० तपाईँले पृथ्वीबाट तिनीहरूका शाखासन्तानको नामोनिसान मेटिदिनुहुनेछ

र मानिसजातिबाट तिनीहरूको वंश विनाश गरिदिनुहुनेछ।

११ किनकि तिनीहरूले तपाईँविरुद्ध उठ्‌ने विचार गरिरहेका छन्‌;+

तिनीहरूले बनाएको कुटिल योजना सफल हुनेछैन।+

१२ तिनीहरूतर्फ* आफ्नो धनु* तेर्साएर

तपाईँले तिनीहरूलाई भाग्न बाध्य पार्नुहुनेछ।+

१३ हे यहोवा, उठ्‌नुहोस्‌ र आफ्नो बल प्रकट गर्नुहोस्‌।

तपाईँको पराक्रमको हामी स्तुति गाउनेछौँ।*

निर्देशकलाई; “उषाकी हरिणी”-अनुसार।* दाउदले रचेको भजन।

२२ हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?+

तपाईँ किन मलाई बचाउन आउनुहुन्‍न?

तपाईँ किन मेरो चीत्कार सुन्‍नुहुन्‍न?+

 २ हे मेरा परमेश्‍वर, म दिनभरि तपाईँलाई पुकार्छु तर तपाईँ जवाफ दिनुहुन्‍न;+

रातभरि पनि म एकछिन नरोकी तपाईँलाई पुकार्छु।

 ३ तर तपाईँ पवित्र हुनुहुन्छ,+

तपाईँ इस्राएलको प्रशंसाले घेरिनुभएको छ।*

 ४ हाम्रा पुर्खाहरूले तपाईँमा भरोसा राखे;+

तिनीहरूले भरोसा गरे अनि तपाईँले तिनीहरूलाई बारम्बार बचाउनुभयो।+

 ५ तिनीहरूले तपाईँलाई पुकारे र तपाईँले तिनीहरूलाई बचाउनुभयो;

तिनीहरूले तपाईँमा भरोसा गरे र तिनीहरू निराश हुनुपरेन।*+

 ६ तर म त किरा हुँ, मानिस होइनँ;

मानिसहरूले मेरो खिल्ली उडाउँछन्‌* र सबैले मलाई हेला गर्छन्‌।+

 ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्‌;+

तिनीहरू मेरो खिल्ली उडाउँछन्‌ अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्‌:

 ८ “त्यसले आफूलाई यहोवाको हातमा सुम्पियो। अब उहाँले नै त्यसलाई बचाऊन्‌!

परमेश्‍वरले नै त्यसको उद्धार गरून्‌ किनकि उहाँको लागि त्यो अति प्यारो छ!”+

 ९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+

तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।

१० म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ;

म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

११ मदेखि टाढा नजानुहोस्‌ किनकि विपत्ति मेरो नजिकै छ;+

मलाई बचाउने अरू कोही छैन।+

१२ बहरहरूले मलाई घेरेका छन्‌;+

बासानका बलिया-बलिया साँढेहरूले मलाई घेरेका छन्‌।+

१३ तिनीहरू मविरुद्ध आफ्नो मुख बाउँछन्‌,+

गर्जने सिंहले जस्तै, जसले आफ्नो सिकारलाई च्यातचुत पार्छ।+

१४ म पानीझैँ पोखाइएको छु;

मेरा हड्डीका जोर्नीहरू सबै खुस्केका छन्‌।

मेरो मुटु मैनजस्तै भएको छ;+

त्यो मभित्रै पग्लिएको छ।+

१५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+

मेरो जिब्रो तालुमा टाँसिएको छ;+

तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+

१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्‌,+

कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+

सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्‌।+

१७ मेरा सबै हड्डी म गन्‍न सक्छु।+

तिनीहरू मलाई हेरिरहन्छन्‌, एकोहोरो हेरिरहन्छन्‌।

१८ मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्‌

अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्‌।+

१९ तर हे यहोवा, तपाईँ मदेखि टाढा नजानुहोस्‌।+

तपाईँ नै मेरो बल हुनुहुन्छ; मलाई मदत गर्न झट्टै आउनुहोस्‌।+

२० मलाई तरबारबाट जोगाउनुहोस्‌,

मेरो अमूल्य जीवनलाई कुकुरहरूको पन्जाबाट* छुटाउनुहोस्‌।+

२१ मलाई सिंहको मुखबाट+ अनि जङ्‌गली साँढेको सिङबाट जोगाउनुहोस्‌;

मलाई जवाफ दिनुहोस्‌ र मेरो रक्षा गर्नुहोस्‌।

२२ म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु;+

समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।+

२३ हे यहोवाको भय मान्‍नेहरू हो, उहाँको प्रशंसा गर!

हे याकुबका सबै सन्तान हो, उहाँको महिमा गर!+

हे इस्राएलका सबै सन्तान हो, उहाँको श्रद्धा गर!

२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+

उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+

उसले मदतको लागि पुकार्दा उहाँले सुन्‍नुभयो।+

२५ ठूलो जमातमा म तपाईँको प्रशंसा गर्नेछु;+

तपाईँको डर मान्‍नेहरूसामु म आफ्नो भाकल पूरा गर्नेछु।

२६ नम्रहरूले खानेछन्‌ र सन्तुष्ट हुनेछन्‌;+

यहोवाको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌।+

तिमीले सधैँभरि जीवनको आनन्द उठाउन सक।

२७ सारा पृथ्वीले यहोवालाई सम्झनेछ र उहाँतिर फर्कनेछ।

पृथ्वीका सबै परिवार तपाईँसामु घोप्टो पर्नेछन्‌।+

२८ किनकि राज्याधिकार यहोवाकै हो;+

उहाँ जातिजातिमाथि शासन गर्नुहुन्छ।

२९ पृथ्वीका धनीहरू सबैले खानेछन्‌ र दण्डवत्‌ गर्नेछन्‌;

माटोमा मिल्नेहरू सबैले उहाँसामु घुँडा टेक्नेछन्‌;

तिनीहरू कसैले पनि आफ्नो जीवन जोगाउन सक्दैनन्‌।

३० तिनीहरूका सन्तानले उहाँको सेवा गर्नेछन्‌;

आउने पुस्तालाई यहोवाबारे बताइनेछ।

३१ तिनीहरू आउनेछन्‌ र उहाँका असल कामहरूबारे बताउनेछन्‌।

पछि जन्मिनेहरूलाई तिनीहरूले उहाँका कामहरूबारे बताउनेछन्‌।

दाउदले रचेको भजन।

२३ यहोवा मेरो गोठालो हुनुहुन्छ।+

मलाई कुनै कुराको कमी हुनेछैन।+

 २ उहाँ मलाई हरियो खर्कमा सुताउनुहुन्छ;

पानीछेउको आराम गर्ने ठाउँमा* उहाँ मलाई डोऱ्‍याउनुहुन्छ।+

 ३ उहाँ मलाई स्फुर्ती दिनुहुन्छ।+

उहाँको नामको खातिर उहाँ मलाई असल मार्गमा डोऱ्‍याउनुहुन्छ।+

 ४ निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्‌नुपरे पनि+

मलाई कुनै कुराको डर छैन+

किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+

तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ।

 ५ मेरा शत्रुहरूको अगाडि तपाईँले मेरो लागि टेबुल तयार पार्नुहुन्छ।+

तेल खन्याएर तपाईँले मेरो शिरलाई ताजा पार्नुहुन्छ।+

मेरो प्याला भरिएर पोखिन्छ।+

 ६ मेरो जिन्दगीभरि भलाइ र अटल प्रेम अवश्‍यै मेरो पछि लाग्नेछन्‌;+

आजीवन म यहोवाकै भवनमा रहनेछु।+

दाउदले रचेको भजन

२४ धर्ती र यसमा भएका सबै थोक यहोवाकै हुन्‌,+

उर्वर भूमि र यसमा रहने सबै उहाँकै हुन्‌।

 २ किनकि उहाँले त्यसलाई नहल्लिनेगरि समुद्रमा अडाउनुभएको छ+

अनि दह्रो गरी नदीमा बसाल्नुभएको छ।

 ३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+

उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ?

 ४ निर्दोष हात र शुद्ध मन भएको मानिस,+

जसले मेरो जीवनको* झूटो कसम खाएको छैन

र कसम खाएर छल गरेको छैन।+

 ५ उसले यहोवाबाट आशिष्‌ पाउनेछ+

अनि उद्धार गर्नुहुने आफ्ना परमेश्‍वरबाट न्याय पाउनेछ।+

 ६ उहाँको खोजी गर्ने पुस्ता यही हो।

हे याकुबका परमेश्‍वर, तपाईँको अनुग्रह खोज्नेहरू यी नै हुन्‌। (सेला)

 ७ हे मूलढोकाहरू हो, आफ्नो शिर उठाओ;+

हे प्राचीन समयदेखिका ढोकाहरू हो, उठ

ताकि महिमित राजा प्रवेश गरून्‌!+

 ८ यी महिमित राजा को हुनुहुन्छ?

यहोवा, जो बलियो र पराक्रमी हुनुहुन्छ+

यहोवा, जो वीर योद्धा हुनुहुन्छ।+

 ९ हे मूलढोकाहरू हो, आफ्नो शिर उठाओ;+

हे प्राचीन समयदेखिका ढोकाहरू हो, उठ

ताकि महिमित राजा प्रवेश गरून्‌!

१० यी महिमित राजा को हुनुहुन्छ?

सेनाहरूका यहोवा​—उहाँ नै महिमित राजा हुनुहुन्छ।+ (सेला)

दाउदको रचना।

א [आलेफ]

२५ हे यहोवा, म तपाईँतिर फर्कन्छु।

ב [बेथ]

 २ हे मेरा परमेश्‍वर, म तपाईँमा भरोसा गर्छु;+

मलाई लाजमा पर्न नदिनुहोस्‌।+

मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्‌।+

ג [गिमेल]

 ३ हो, तपाईँमाथि आशा राख्ने कोही पनि लाजमा पर्नेछैन+

तर विनाकारण विश्‍वासघात गर्नेहरू भने लज्जित हुनेछन्‌।+

ד [दालेथ]

 ४ हे यहोवा, मलाई तपाईँको मार्ग देखाउनुहोस्‌;+

मलाई तपाईँको बाटोमा हिँड्‌न सिकाउनुहोस्‌।+

ה [हे]

 ५ तपाईँको सही मार्गमा मलाई हिँडाउनुहोस्‌ र मलाई सिकाउनुहोस्‌+

किनकि तपाईँ मेरो उद्धार गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।

ו [वाव]

हरसमय म तपाईँमा नै आशा राख्छु।

ז [जयिन]

 ६ हे यहोवा, आफ्नो कृपा र अटल प्रेमलाई सम्झनुहोस्‌,+

जुन तपाईँले सधैँ देखाउनुभएको छ।*+

ח [हेत]

 ७ मेरा जवानीका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्‌।

हे यहोवा, आफ्नो अटल प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्‌+

र आफ्नो भलाइको खातिर मलाई सम्झनुहोस्‌।+

ט [टेथ]

 ८ यहोवा असल र इमानदार हुनुहुन्छ।+

त्यसैले उहाँ पापीहरूलाई जिउने बाटो देखाउनुहुन्छ।+

י [योद]

 ९ जे सही* छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्‍याउनुहुन्छ;+

नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्‌न सिकाउनुहुन्छ।+

כ [काफ]

१० यहोवाको करार+ र सम्झौटाहरूअनुसार+ चल्नेहरूका लागि

उहाँका सबै मार्ग प्रेम* र वफादारीले भरिपूर्ण छन्‌।

ל [लामेद]

११ हे यहोवा, मैले ठूलो गल्ती गरेको छु;

तैपनि तपाईँको नामको खातिर+ मलाई क्षमा दिनुहोस्‌।

מ [मेम]

१२ यहोवाको डर मान्‍ने मानिस को छ?+

कुन बाटो रोज्ने हो, परमेश्‍वरले उसलाई सिकाउनुहुनेछ।+

נ [नुन]

१३ त्यस्तो मानिसले परमेश्‍वरको भलाइ अनुभव गर्नेछ+

अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्‌।+

ס [सामेख]

१४ यहोवाको डर मान्‍नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्‍न पाउँछन्‌+

अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।+

ע [अयिन]

१५ मेरा आँखाहरू हरबखत यहोवातिर हुन्छन्‌+

किनकि उहाँले मेरा खुट्टाहरूलाई पासोबाट छुटाउनुहुनेछ।+

פ [पे]

१६ मतिर आफ्नो मुहार फर्काउनुहोस्‌ अनि मलाई अनुग्रह देखाउनुहोस्‌

किनकि म एक्लो र निस्सहाय छु।

צ [सादे]

१७ मेरो मनका पीडाहरू अनगिन्ती भएका छन्‌;+

मेरो वेदनाबाट मलाई छुटकारा दिनुहोस्‌।

ר [रेश]

१८ मेरो दुःख र ममाथि आइपरेको विपत्ति हेर्नुहोस्‌+

अनि मेरा सबै पाप क्षमा गर्नुहोस्‌।+

१९ हेर्नुहोस्‌, मेरा शत्रुहरू गन्‍नै नसक्नेगरि धेरै भएका छन्‌,

तिनीहरू मलाई यति धेरै घृणा गर्छन्‌ कि तिनीहरू मेरो ज्यानै लिन खोज्छन्‌।

ש [शिन]

२० मेरो रक्षा गर्नुहोस्‌ अनि मेरो ज्यान बचाइदिनुहोस्‌।+

म लाजमा पर्नु नपरोस्‌ किनकि मैले तपाईँमा शरण लिएको छु।

ת [ताव]

२१ सत्यनिष्ठा र इमानदारीले मेरो रक्षा गरून्‌+

किनकि मैले तपाईँमा नै आशा राखेको छु।+

२२ हे परमेश्‍वर, इस्राएललाई उसका सबै दुःखबाट छुटकारा दिनुहोस्‌।

दाउदको रचना।

२६ हे यहोवा, मेरो न्याय गर्नुहोस्‌ किनकि म मेरो निष्ठामा हिँडेको छु;+

ढलपल नभई मैले यहोवामा भरोसा राखेको छु।+

 २ हे यहोवा, मलाई जाँच्नुहोस्‌, मलाई पारख गरेर हेर्नुहोस्‌;

मेरा भित्री विचारहरू* र मेरो हृदयलाई खार्नुहोस्‌।+

 ३ किनकि तपाईँको अटल प्रेम सदा मेरो सामुन्‍ने छ

र म तपाईँको सत्यको मार्गमा हिँडेको छु।+

 ४ म छली मानिसहरूसित सङ्‌गत गर्दिनँ;*+

कपटीहरूदेखि म टाढै रहन्छु।

 ५ कुकर्मीहरूको सङ्‌गतलाई म घृणा गर्छु;+

दुष्टहरूसित उठबस गर्न म इन्कार गर्छु।+

 ६ हे यहोवा, निर्दोषतामा म आफ्नो हात धुनेछु,

तपाईँको वेदी म रिङ्‌गै घुम्नेछु।

 ७ अनि ठूलो स्वरमा म तपाईँलाई धन्यवाद चढाउनेछु;+

तपाईँका अचम्मका कामहरूको घोषणा गर्नेछु।

 ८ हे यहोवा, म तपाईँको भवनलाई माया गर्छु, जहाँ तपाईँ बास गर्नुहुन्छ,+

जहाँ तपाईँको महिमा छाएको छ।+

 ९ पापीहरूसँगसँगै मलाई नबढार्नुहोस्‌;+

हिंस्रक मानिसहरूसँगै मेरो ज्यान नलिनुहोस्‌,

१० जसको हात लाजमर्दो काममा मुछिएको छ

र जसको दायाँ हात घुसले भरिएको छ।

११ तर म त मेरो निष्ठामा हिँड्‌नेछु।

मलाई बचाउनुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।

१२ मेरो खुट्टाले समतल ठाउँमा टेकेको छ;+

म ठूलो समुदायमा यहोवाको प्रशंसा गर्नेछु।+

दाउदको रचना।

२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।

म कोसँग डराउनु र?+

यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+

म कोदेखि त्रसित हुनु र?

 २ दुष्टहरू मेरो मासु खान ममाथि आइलागे+

तर मेरा विरोधीहरू, मेरा शत्रुहरू उल्टै ठेस खाएर लडे।

 ३ सेनाले मविरुद्ध छाउनी लगाए पनि

मेरो मुटु काँप्नेछैन।+

मविरुद्ध लडाइँ मच्चिए तापनि

म निश्‍चिन्त रहनेछु।

 ४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,

—मैले चाहेको पनि यही हो—

यहोवाको शोभा हेर्न

र कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+

जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+

 ५ किनकि उहाँले मलाई विपद्‌को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+

उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+

मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+

 ६ मेरो शिर मेरो वरपर भएका मेरा शत्रुहरूको भन्दा उच्च भएको छ;

म उहाँको पालमा जयजयकार गर्दै बलिहरू चढाउनेछु;

म यहोवाको स्तुति गाउनेछु।*

 ७ हे यहोवा, मैले तपाईँलाई पुकार्दा सुन्‍नुहोस्‌;+

मलाई अनुग्रह देखाउनुहोस्‌ र जवाफ दिनुहोस्‌।+

 ८ तपाईँले यो आज्ञा दिनुभएको छ भनी मेरो हृदयले मलाई भनेको छ:

“मेरो अनुग्रह खोज।”

हे यहोवा, म तपाईँकै अनुग्रह खोजिरहन्छु।+

 ९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्‌।+

रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्‌।

किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+

हे मेरा उद्धारक, मेरा परमेश्‍वर, मलाई साथ दिनुहोस्‌, मलाई नत्याग्नुहोस्‌।

१० मेरा आमाबुबाले मलाई त्यागे पनि+

यहोवा आफैले मलाई अङ्‌गाल्नुहुनेछ।+

११ हे यहोवा, तपाईँको मार्गमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।+

मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्‍याउनुहोस्‌।

१२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्‌+

किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्‌,+

तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्‌।

१३ जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भन्‍ने विश्‍वास ममा नहुँदो हो त

म अहिले कहाँ हुने थिएँ?*+

१४ यहोवामा आशा राख;+

साहसी होऊ, बलियो होऊ।+

हो, यहोवामा आशा राख।

दाउदको रचना

२८ हे यहोवा, हे मेरा चट्टान,+ म तपाईँलाई पुकारिरहन्छु;

आफ्नो कान नथुन्‍नुहोस्‌।

यदि तपाईँ चुप रहनुभयो भने

मेरो हालत चिहानमा हुनेहरूको भन्दा के फरक हुन्छ र?+

 २ मैले तपाईँलाई मदतको लागि पुकार्दा

र तपाईँको पवित्र स्थानको* भित्री कोठातिर फर्केर आफ्नो हात उठाउँदा मेरो बिन्ती सुन्‍नुहोस्‌।+

 ३ दुष्टहरूलाई घिस्याउँदै लैजानुहुँदा मलाई पनि तिनीहरू सँगसँगै नलैजानुहोस्‌+ किनकि तिनीहरू सधैँ छिमेकीलाई चोट पुऱ्‍याउने कामहरू गर्छन्‌

अनि मनमा दुष्ट कुराहरू पालेर मुखले भने शान्तिका कुराहरू गर्छन्‌।+

 ४ तिनीहरूलाई तिनीहरूको कामअनुसारको ज्याला दिनुहोस्‌,+

आफ्नो दुष्कर्मको फल तिनीहरूले पाऊन्‌।

तिनीहरूको हातको कामको प्रतिफल तिनीहरूलाई दिनुहोस्‌,

तिनीहरूले जसो गरे, तिनीहरूलाई त्यसै गर्नुहोस्‌।+

 ५ तिनीहरू यहोवाका कामहरूको वास्ता गर्दैनन्‌,+

उहाँको हातका कामहरूमा तिनीहरूले ध्यान दिँदैनन्‌।+

उहाँले तिनीहरूलाई ढाल्नुहुन्छ र फेरि खडा गर्नुहुन्‍न।

 ६ यहोवाको प्रशंसा होस्‌

किनकि उहाँले मेरो गुहार सुन्‍नुभएको छ।

 ७ यहोवा मेरो बल+ र मेरो ढाल हुनुहुन्छ;+

मेरो हृदयले उहाँमा भरोसा गर्छ।+

उहाँले मलाई सहायता गर्नुभएको छ र मेरो हृदय खुसीले भरिएको छ,

त्यसैले म गीत गाएर उहाँको प्रशंसा गर्नेछु।

 ८ यहोवा आफ्ना मानिसहरूको लागि बल हुनुहुन्छ;

उहाँ बलियो गढ हुनुहुन्छ, उहाँले आफ्नो अभिषिक्‍त जनको उद्धार गर्नुहुन्छ।+

 ९ आफ्ना मानिसहरूको रक्षा गर्नुहोस्‌, आफ्नो सम्पत्तिलाई आशिष्‌ दिनुहोस्‌।+

आफ्ना भेडाहरूको रखवाली गर्नुहोस्‌, तिनीहरूलाई आफ्नो काखबाट कहिल्यै नहटाउनुहोस्‌।+

दाउदले रचेको भजन।

२९ हे वीरहरूका छोराहरू हो, यहोवाको आदर गर,

यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

 २ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;

पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*

 ३ यहोवाको स्वर बादलमाथिबाट* सुनिन्छ,

महिमित परमेश्‍वर गर्जनुहुन्छ।+

यहोवा बाक्लो बादलमाथि हुनुहुन्छ।+

 ४ यहोवाको स्वर शक्‍तिशाली छ;+

यहोवाको स्वर बेजोड छ।

 ५ यहोवाको स्वरले देवदारका रूखहरू भाँचिन्छन्‌;

हो, यहोवाले लेबनानको देवदारका रूखहरूलाई टुक्राटुक्रा पार्नुहुन्छ।+

 ६ उहाँको स्वर सुनेर लेबनान* बाछाजस्तै

अनि सिरिओन+ जङ्‌गली बहरजस्तै उफ्रन्छ।

 ७ यहोवा बोल्नुहुँदा आकाशमा बिजुली चम्किन्छ।+

 ८ यहोवाको स्वर सुनेर निर्जनभूमि काँप्छ;+

यहोवाले गर्दा कादेसको निर्जनभूमि थरथराउँछ।+

 ९ यहोवाको स्वर सुनेर हरिणी डरले काँप्छे र ब्याउँछे

अनि जङ्‌गलहरू उजाड हुन्छन्‌।+

अनि उहाँको मन्दिरमा हुने सबैले भन्छन्‌: “परमेश्‍वरको महिमा होस्‌!”

१० यहोवा पानीको विशाल भेलमाथि* विराजमान हुनुहुन्छ;+

यहोवा सिंहासनमा बस्नुभएको छ र उहाँको शासनको अन्त कहिल्यै हुनेछैन।+

११ यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+

यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+

घरको उद्‌घाटनको गीत। दाउदले रचेको भजन।

३० हे यहोवा, म तपाईँको महिमा गर्नेछु किनकि तपाईँले मलाई माथि उठाउनुभएको* छ;

तपाईँले मेरा शत्रुहरूलाई मेरो उपहास गर्ने मौका दिनुभएन।+

 २ हे यहोवा मेरा परमेश्‍वर, मैले तपाईँलाई गुहारेँ र तपाईँले मलाई निको पार्नुभयो।+

 ३ हे यहोवा, तपाईँले मलाई चिहानबाट* निकाल्नुभएको छ।+

तपाईँले मलाई जीवित राख्नुभएको छ; मृत्युको खाडलमा पर्नदेखि जोगाउनुभएको छ।+

 ४ हे यहोवाका वफादार जन हो, उहाँको स्तुति गाओ,*+

उहाँको पवित्र नामको प्रशंसा गर।+

 ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+

तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+

राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+

 ६ जब म निष्फिक्री थिएँ, तब मैले भनेँ:

“म कहिल्यै डग्नेछैनँ।”*

 ७ हे यहोवा, मैले तपाईँको अनुग्रह पाउँदा तपाईँले मलाई पहाडजत्तिकै अटल बनाउनुभयो।+

तर जब तपाईँले आफ्नो मुहार लुकाउनुभयो, म त्रसित भएँ।+

 ८ हे यहोवा, मैले तपाईँलाई पुकारिरहेँ +

अनि मलाई अनुग्रह देखाउन मैले यहोवालाई बिन्ती गरिरहेँ।

 ९ मेरो मृत्यु हुँदा,* म खाडलमा जाँदा के फाइदा हुन्छ र?+

माटोले तपाईँको प्रशंसा गर्छ र?+ तपाईँको वफादारीको बखान गर्छ र?+

१० हे यहोवा, मेरो बिन्ती सुन्‍नुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।+

हे यहोवा, मेरो मदतगार बन्‍नुहोस्‌।+

११ तपाईँले मेरो शोकलाई हर्षमा* परिणत गरिदिनुभयो;

तपाईँले मेरो भाङ्‌ग्रा फुकालिदिनुभयो र मलाई रमाहटको लुगा पहिऱ्‍याइदिनुभयो

१२ ताकि म तपाईँको स्तुति गाउन सकूँ र चुप नबसूँ।

हे यहोवा मेरा परमेश्‍वर, म सदासर्वदा तपाईँको प्रशंसा गर्नेछु।

निर्देशकलाई; दाउदले रचेको भजन।

३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+

म कहिल्यै लज्जित हुन नपरोस्‌।+

मेरो उद्धार गर्नुहोस्‌ किनकि तपाईँ न्यायी हुनुहुन्छ।+

 २ तपाईँको कान मतिर फर्काउनुहोस्‌।*

मेरो उद्धार गर्न झट्टै आउनुहोस्‌।+

मेरो लागि चट्टानमाथिको बलियो किल्ला बन्‍नुहोस्‌,

मलाई बचाउन बलियो गढ बन्‍नुहोस्‌।+

 ३ तपाईँ मेरा चट्टान र मेरा किल्ला हुनुहुन्छ;+

तपाईँले आफ्नो नामको खातिर+ मेरो अगुवाइ गर्नुहुनेछ र मलाई डोऱ्‍याउनुहुनेछ।+

 ४ तिनीहरूले लुकीछिपी बिछ्याएको जालबाट तपाईँले मलाई छुटाउनुहुनेछ+

किनकि तपाईँ मेरो गढ हुनुहुन्छ।+

 ५ मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु।+

हे यहोवा, सत्यका परमेश्‍वर,* तपाईँले मलाई छुटाउनुभएको छ।+

 ६ व्यर्थका, बेकामका मूर्ति पुज्नेहरूलाई म घृणा गर्छु,

म त यहोवामा भरोसा राख्छु।

 ७ तपाईँको अटल प्रेमको कारण म खुसीयाली मनाउनेछु

किनकि तपाईँले मेरो दुःख देख्नुभएको छ;+

मेरो वेदना तपाईँलाई थाह छ।

 ८ तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैन

बरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।

 ९ हे यहोवा, म सङ्‌कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्‌।

पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्‌,+ मेरो पूरै शरीर कमजोर भएको छ।+

१० शोकले मेरो जीवनलाई खाएको छ;+

मेरा वर्षहरू सुस्केरामा बितेका छन्‌।+

मेरो गल्तीले गर्दा मेरो बल घटेको छ।

मेरा हड्डीहरू कमजोर भएका छन्‌।+

११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरू

मेरो खिसी गर्छन्‌।+

मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्‌;

मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्‌।+

१२ मरेको मानिससरह तिनीहरूले मलाई आफ्नो मनबाट हटाएका छन्‌, मलाई बिर्सेका छन्‌।

म फुटेको भाँडो भएको छु।

१३ मैले थुप्रै झूटो हल्ला सुनेको छु;

मलाई त्रासले छोपेको छ।+

तिनीहरू सबै मविरुद्ध जम्मा हुन्छन्‌

र मेरो ज्यान लिन षड्‌यन्त्र रच्छन्‌।+

१४ तर हे यहोवा, म तपाईँमा भरोसा गर्छु।+

म घोषणा गर्छु: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”+

१५ मेरो जीवन तपाईँको हातमा छ।

मेरा शत्रुहरू र मलाई सताउनेहरूको हातबाट मलाई छुटाउनुहोस्‌।+

१६ तपाईँको सेवकमाथि तपाईँको मुहार चम्कोस्‌।+

तपाईँको अटल प्रेमको कारण मलाई जोगाउनुहोस्‌।

१७ हे यहोवा, तपाईँलाई पुकार्दा म लाजमा पर्नु नपरोस्‌।+

बरु दुष्टहरू लाजमा परून्‌;+

चिहानमा* परेर तिनीहरूको मुख बन्द होस्‌।+

१८ झूट बोल्ने मुख बन्द होस्‌,+

जसले अहङ्‌कार, घमन्ड र घृणाले भरिएर धर्मीहरूको विरुद्धमा बोल्छ।

१९ तपाईँको भलाइ कत्ति अपार छ!+

त्यो तपाईँले आफ्नो डर मान्‍नेहरूका लागि साँचेर राख्नुभएको छ+

अनि तपाईँमा शरण लिनेहरूलाई तपाईँले सबैसामु भलाइ गर्नुभएको छ।+

२० तिनीहरूलाई मानिसहरूका षड्‌यन्त्रबाट बचाउन

तपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+

घोच्ने बोलीको आक्रमणबाट बचाउन+

तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ।

२१ यहोवाको प्रशंसा होस्‌

किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+

२२ म त आत्तिएको थिएँ;

मैले भनेँ: “म तपाईँको सामुन्‍नेबाट मेटाइनेछु।”+

तर मैले तपाईँलाई गुहार्दा तपाईँले मेरो बिन्ती सुन्‍नुभयो।+

२३ हे यहोवाप्रति वफादार सबै मानिस हो, उहाँलाई प्रेम गर!+

भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ+

तर अहङ्‌कारीहरूलाई उहाँ कडा सजाय दिनुहुन्छ।+

२४ हे यहोवाको बाटो हेर्नेहरू हो,+

साहसी होओ र तिमीहरूको मन दह्रो होस्‌।+

दाउदको रचना। मास्किल।*

३२ आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।+

 २ आनन्दित हो त्यो मानिस, जसलाई यहोवाले दोषी ठहराउनुहुन्‍न,+

जसको मनमा छलकपट छैन।

 ३ म चुप रहँदा दिनभरिको मेरो रोदनले मेरा हड्डीहरू मक्किए।+

 ४ किनकि दिनरात तपाईँको हातको* भार ममाथि रह्‍यो।+

गर्मी यामको प्रचण्ड तापले पानी सुकेझैँ मेरो बल सुकेको छ। (सेला)

 ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;

मैले आफ्नो गल्ती लुकाइनँ।+

मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+

अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)

 ६ त्यसैले जबसम्म तपाईँलाई भेट्टाउन सम्भव छ,+

तबसम्म हरेक वफादार मानिसले तपाईँलाई पुकार्नेछ+

अनि बाढीले समेत उसलाई भेट्‌नेछैन।

 ७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;

तपाईँले मलाई सङ्‌कष्टबाट जोगाउनुहुनेछ।+

तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)

 ८ “म तिमीलाई समझ* दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु।+

तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।+

 ९ समझ नभएको घोडा वा खच्चरजस्तो नहोओ,+

जसलाई काबूमा राख्न लगाम र करेली* चाहिन्छ

अनि मात्र त्यो तिम्रो नजिक आउँछ।”

१० दुष्टको पीडा धेरै हुन्छ

तर यहोवालाई भरोसा गर्नेहरू उहाँको अटल प्रेमले घेरिएका हुन्छन्‌।+

११ हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गर र खुसी होओ;

हे सोझो मन भएकाहरू हो, खुसीले कराओ।

३३ हे धर्मीहरू हो, यहोवाले गर्नुभएका असल कुराहरूको लागि खुसीले कराओ।+

सोझाहरूले उहाँको प्रशंसा गर्न सुहाउँछ।

 २ वीणा बजाएर यहोवालाई धन्यवाद चढाओ;

दस-तारे बाजा बजाएर उहाँको स्तुति गाओ।*

 ३ उहाँको लागि एउटा नयाँ गीत गाओ;+

तारे बाजा राम्ररी बजाओ र जयजयकार गर।

 ४ किनकि यहोवाको वचन सच्चा छ;+

उहाँ जे गर्नुहुन्छ, ती सबै भरोसायोग्य छन्‌।

 ५ उहाँ धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ।+

पृथ्वी यहोवाको अटल प्रेमले भरिपूर्ण छ।+

 ६ यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो+

अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्‌।

 ७ उहाँ समुद्रको पानीलाई बाँधले जस्तै जम्मा गर्नुहुन्छ;+

उर्लँदो पानीलाई भण्डारमा सञ्चय गर्नुहुन्छ।

 ८ सारा पृथ्वीले यहोवाको भय मानोस्‌।+

धर्तीका सबै बासिन्दाले उहाँको श्रद्धा गरून्‌।

 ९ उहाँले बोल्नुभयो अनि सबै कुरा अस्तित्वमा आए;+

उहाँले आदेश दिनुभयो अनि सबथोक स्थिर भए।+

१० यहोवाले राष्ट्रहरूका षड्‌यन्त्रहरूलाई* विफल पारिदिनुभएको छ;+

उहाँले जातिजातिका योजनाहरूलाई* बेकाम तुल्याइदिनुभएको छ।+

११ तर यहोवाका फैसलाहरू* भने सदासर्वदा रहन्छन्‌;+

उहाँको मनका विचारहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्‌।

१२ आनन्दित हो त्यो जाति, जसको परमेश्‍वर यहोवा हुनुहुन्छ;+

ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+

१३ यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;

उहाँको नजर सबै मानिसमाथि रहन्छ।+

१४ उहाँ आफ्नो निवासस्थानबाट

पृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ।

१५ सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;

उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+

१६ कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+

बलवान्‌ मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+

१७ छुटकाराको लागि* घोडामा भर पर्नु व्यर्थ छ;+

त्यो जति नै बलियो भए पनि त्यसले बचाउन सक्दैन।

१८ हेर! यहोवासित डराउनेहरूमाथि

र उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+

१९ जसको कारण तिनीहरूले मृत्युबाट छुटकारा पाउँछन्‌

र अनिकालको बेला तिनीहरू जीवितै रहन्छन्‌।+

२० हामी यहोवाको बाटो हेरिरहन्छौँ।

उहाँ हाम्रो मदतगार र ढाल हुनुहुन्छ।+

२१ उहाँको कारण हाम्रो हृदय हर्षित हुन्छ

किनकि हामीले उहाँको पवित्र नाममा भरोसा गरेका छौँ।+

२२ हे यहोवा, तपाईँको अटल प्रेमले हामीमाथि बास गरोस्‌+

किनकि हामी तपाईँकै बाटो हेर्छौँ।+

दाउदको रचना, जब तिनले अबिमेलेकको अगाडि बौलाहा भएको ढोँग गरे+ र अबिमलेकले तिनलाई धपाए।

א [आलेफ]

३४ म हरसमय यहोवाको प्रशंसा गर्नेछु;

मेरो ओठले निरन्तर उहाँको प्रशंसा गर्नेछ।

ב [बेथ]

 २ म यहोवामा गर्व गर्नेछु+

अनि नम्रहरूले त्यो सुन्‍नेछन्‌ र खुसी मनाउनेछन्‌।

ג [गिमेल]

 ३ मसँगसँगै यहोवाको महिमा गर;+

सँगै मिलेर उहाँको नाम उच्च पारौँ।

ד [दालेथ]

 ४ मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो।+

उहाँले मेरा सबै डर हटाइदिनुभयो।+

ה [हे]

 ५ उहाँको बाटो हेर्नेहरूको मुहार चम्किलो भयो;

सरममा परेर तिनीहरूले आफ्नो अनुहार छोप्नुपरेन।

ז [जयिन]

 ६ यस दुःखीले यहोवालाई पुकाऱ्‍यो र उहाँले सुन्‍नुभयो।

उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+

ח [हेत]

 ७ यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌+

अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+

ט [टेथ]

 ८ चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ;+

आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ।

י [योद]

 ९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान

किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको अभाव हुँदैन।+

כ [काफ]

१० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्‌

तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+

ל [लामेद]

११ हे मेरा छोराहरू हो, आओ र मेरो कुरा सुन;

म तिमीहरूलाई यहोवाको भय मान्‍न सिकाउँछु।+

מ [मेम]

१२ तिमीहरूमध्ये कसले सुखी जीवन चाहन्छ

र लामो आयुको चाहना गर्छ?+

נ [नुन]

१३ त्यसोभए आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राख+

र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोक।+

ס [सामेख]

१४ खराब काम त्याग र जे असल छ, त्यो गर;+

शान्ति खोज र त्यसको पछि लाग।+

ע [अयिन]

१५ धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+

अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+

פ [पे]

१६ तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ

र पृथ्वीबाट तिनीहरूको सम्झना पूरै मेटाइदिनुहुन्छ।+

צ [सादे]

१७ तिनीहरूले गुहारे र यहोवाले सुन्‍नुभयो;+

उहाँले तिनीहरूका सबै दुःखबाट तिनीहरूलाई छुटाउनुभयो।+

ק [कोफ]

१८ यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ+

र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।+

ר [रेश]

१९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+

तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+

ש [शिन]

२० उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ;

उसको एउटै हड्डी भाँचिएको छैन।+

ת [ताव]

२१ विपत्तिले दुष्टलाई मृत्युमा पुऱ्‍याउनेछ;

जसले धर्मी मानिसलाई घृणा गर्छ, ऊ दोषी ठहरिनेछ।

२२ यहोवाले आफ्ना सेवकहरूको जीवन बचाउनुहुन्छ;

उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।+

दाउदको रचना।

३५ हे यहोवा, मेरा विरोधीहरूसित मेरो मुद्दा लड्‌नुहोस्‌;+

मसित लडाइँ गर्नेहरूविरुद्ध लडाइँ गर्नुहोस्‌।+

 २ तपाईँको सानो* र ठूलो ढाल उठाउनुहोस्‌+

अनि मलाई बचाउन खडा हुनुहोस्‌।+

 ३ मलाई खेद्‌नेहरूविरुद्ध तपाईँको भाला र बन्चरो उठाउनुहोस्‌+

अनि मलाई भन्‍नुहोस्‌: “म तिम्रो उद्धारक हुँ।”+

 ४ मेरो ज्यान लिन खोज्नेहरू लाजमा परून्‌ र तिनीहरूले बेइज्जती भोगून्‌।+

षड्‌यन्त्र रचेर मलाई नाश गर्न खोज्नेहरू अपमानित होऊन्‌ र फर्केर जाऊन्‌।

 ५ तिनीहरू हावाले उडाउने भूसजस्तै होऊन्‌;

यहोवाका स्वर्गदूतले तिनीहरूलाई धपाऊन्‌।+

 ६ यहोवाका स्वर्गदूतले तिनीहरूलाई लखेट्‌दा

तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्‌।

 ७ किनकि विनाकारण मलाई पासोमा पार्न तिनीहरूले जाल बिछ्याएका छन्‌;

कारणैविना तिनीहरूले मेरो लागि खाडल खनेका छन्‌।

 ८ चिताउँदै नचिताएको बेला तिनीहरूमाथि विपत्ति आइपरोस्‌;

आफूले बिछ्याएको जालमा तिनीहरू आफै परून्‌;

तिनीहरू आफै त्यसमा फसून्‌ र नाश होऊन्‌।+

 ९ तर यहोवा मेरो साथमा हुनुहुन्छ, त्यसैले म रमाउनेछु;

उहाँले गर्नुहुने उद्धारमा म खुसी हुनेछु।

१० मेरा सबै हड्डीले भन्‍नेछन्‌:

“हे यहोवा, तपाईँजस्तो अरू को छ र?

बलवान्‌हरूको हातबाट तपाईँ निस्सहायहरूलाई छुटाउनुहुन्छ,+

लुटेराहरूको पन्जाबाट असहाय र गरिबहरूलाई बचाउनुहुन्छ।”+

११ दुष्टहरू मेरो विरुद्धमा साक्षी दिन अघि सर्छन्‌+

र मलाई थाहै नभएको विषयमा प्रश्‍न गर्छन्‌।

१२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्‌;+

तिनीहरू मलाई शोकित पार्छन्‌।

१३ तर तिनीहरू बिरामी पर्दा मैले भाङ्‌ग्रा लगाएँ;

उपवास बसेर मैले आफैलाई सास्ती दिएँ

अनि मेरो प्रार्थनाको जवाफ नपाउँदा

१४ आफ्नो साथी वा दाजुभाइको लागि जस्तैगरि म शोक गर्दै हिँडेँ;

आफ्नी आमाको लागि कसैले शोक गरेझैँ मैले दुःखले आफ्नो शिर निहुऱ्‍याएँ।

१५ तर जब म लडेँ, तिनीहरू खुसी भए र एकसाथ जम्मा भए;

तिनीहरू हुल बाँधेर मलाई आक्रमण गर्न ढुकिबसे;

तिनीहरूले मलाई टुक्राटुक्रा पारे, तिनीहरू चुप बसेनन्‌।

१६ भक्‍तिहीन मानिसहरू मलाई तुच्छ ठान्दै मेरो खिसी गर्छन्‌,*

तिनीहरू मलाई हेर्दै दाह्रा किट्‌छन्‌।+

१७ हे यहोवा, तपाईँ कतिन्जेल हेरेर बस्नुहुन्छ?+

तिनीहरूको आक्रमणबाट मलाई जोगाउनुहोस्‌,+

जवान सिंहबाट मेरो अमूल्य जीवनलाई बचाउनुहोस्‌।+

१८ अनि म ठूलो समुदायको बीचमा तपाईँलाई धन्यवाद चढाउनेछु;+

मानिसहरूको भीडसामु तपाईँको प्रशंसा गर्नेछु।

१९ विनाकारण मेरो शत्रु बनेकाहरूलाई मेरो गिल्ला गर्न नदिनुहोस्‌;

विनाकारण मलाई घृणा गर्नेहरूलाई+ मेरो अहित चिताउँदै आँखा झिम्काउन नदिनुहोस्‌।+

२० किनकि तिनीहरूले शान्तिका कुराहरू गर्दैनन्‌

बरु देशमा शान्तिसित बसिरहेकाहरूलाई फसाउन धूर्त चालहरू चल्छन्‌।+

२१ मलाई आरोप लगाउन तिनीहरू आफ्नो मुख बाउँछन्‌

र भन्छन्‌: “आहा! आहा! हामीले आफ्नै आँखाले देख्यौँ।”

२२ हे यहोवा, तपाईँले यी सबै देख्नुभएको छ; तपाईँ चुप नबस्नुहोस्‌।+

हे यहोवा, मबाट टाढा नरहनुहोस्‌।+

२३ उठ्‌नुहोस्‌ र मेरो रक्षा गर्नुहोस्‌,

हे यहोवा, मेरा परमेश्‍वर, मेरो तर्फबाट मुद्दा लड्‌नुहोस्‌।

२४ हे यहोवा, मेरा परमेश्‍वर, तपाईँको धार्मिक स्तरअनुसार मेरो इन्साफ गर्नुहोस्‌;+

मेरो हालत देखेर तिनीहरूले ठट्टा गर्न नपाऊन्‌।

२५ तिनीहरूले मनमनै कहिल्यै यसो भन्‍न नपाऊन्‌: “आहा! हामीले सोचेजस्तै भयो।”

तिनीहरूले कहिल्यै यसो भन्‍न नपाऊन्‌: “हामीले त्यसलाई निल्यौँ।”+

२६ मेरो विपत्ति देखेर मेरो गिल्ला गर्नेहरू

सबै लाजमा परून्‌ र बेइज्जती भोगून्‌।

अनि ज-जसले आफूलाई मभन्दा माथि उचाले, तिनीहरूलाई लाज र अपमानले ढाकोस्‌।

२७ तर मेरो धार्मिकता देखेर खुसी हुनेहरूले आनन्दसाथ जयजयकार गरून्‌

अनि तिनीहरूले निरन्तर यसो भनून्‌:

“यहोवाको महिमा होस्‌, जो आफ्ना सेवकहरूले पाएको शान्तिमा प्रसन्‍न हुनुहुन्छ।”+

२८ त्यसपछि मेरो जिब्रोले तपाईँको धार्मिकताको बखान* गर्नेछ+

अनि दिनभर तपाईँको प्रशंसा गर्नेछ।+

निर्देशकलाई; यहोवाको सेवक दाउदको रचना।

३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।

त्यसको आँखामा परमेश्‍वरप्रतिको डर छैन।+

 २ किनकि त्यसले आफ्नो नजरमा आफूलाई एकदमै माथि उचाल्छ

अनि न त्यसले आफ्नो गल्ती देख्छ न त त्यसलाई घृणा गर्छ।+

 ३ त्यसको मुखबाट निस्कने वचन घातक र छली छ;

जे असल छ, त्यो गर्न त्यसले बुद्धि* चलाउँदैन।

 ४ आफ्नो ओछ्यानमा ढल्कँदा समेत त्यसले षड्‌यन्त्र रच्छ।

त्यो हिँड्‌ने बाटो सही छैन;

त्यसले खराब कुरालाई तिरस्कार गर्दैन।

 ५ हे यहोवा, तपाईँको अटल प्रेम आकाशसम्मै पुग्छ,+

तपाईँको वफादारी बादलसम्मै पुग्छ।

 ६ हे यहोवा, तपाईँको धार्मिकता विशाल पहाडहरूजस्तै* छ;+

तपाईँका फैसलाहरू अथाह, गहिरो सागरजस्तै छन्‌।+

मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।+

 ७ हे परमेश्‍वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+

तपाईँका पखेटाहरूको छायामा

मानिसहरूले शरण लिन्छन्‌।+

 ८ तपाईँको भवनको प्रशस्तताबाट तिनीहरूले धीत नमरुन्जेल पिउनेछन्‌,+

तपाईँ आफ्नो भलाइको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।+

 ९ जीवनको मूल तपाईँसित छ;+

तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+

१० तपाईँलाई चिन्‍नेहरूलाई अटल प्रेम देखाउन नछोड्‌नुहोस्‌+

अनि सोझा मन भएकाहरूलाई तपाईँका असल कामहरू देखाइरहनुहोस्‌।+

११ मलाई अहङ्‌कारीहरूको खुट्टाद्वारा कुल्चिइन

र दुष्टहरूको हातद्वारा धपाइन नदिनुहोस्‌।

१२ हेर, गलत काम गर्नेहरूको पतन भएको छ;

तिनीहरू ढलेका छन्‌ र उठ्‌न सक्दैनन्‌।+

दाउदको रचना।

א [आलेफ]

३७ दुष्टहरूको कारण निराश* नहोऊ

अनि गलत काम गर्नेहरूको ईर्ष्या नगर।+

 २ तिनीहरू झारजस्तै सुकिहाल्नेछन्‌+

अनि हरियो घाँसजस्तै ओइलाउनेछन्‌।

ב [बेथ]

 ३ यहोवामा भरोसा गर र जे असल छ, त्यही गर;+

पृथ्वीमा* बास गर अनि वफादार भई चल।+

 ४ यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ

अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।

ג [गिमेल]

 ५ आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+

उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+

 ६ उहाँले तिम्रो धार्मिकतालाई बिहानीको उज्यालोजस्तै

अनि तिम्रो न्यायलाई मध्यदिनको सूर्यजस्तै चम्काउनुहुनेछ।

ד [दालेथ]

 ७ यहोवासामु चुपचाप बस+

अनि व्यग्रतासाथ* उहाँको बाटो हेर।

आफ्नो चालमा सफल भएको मानिसलाई देखेर

तिमी निराश नहोऊ।+

ה [हे]

 ८ रिसाउन छोड र क्रोध त्यागिदेऊ;+

व्याकुल भएर कुकर्मतिर नलाग।*

 ९ किनकि कुकर्मीहरू नामेट हुनेछन्‌+

तर यहोवाको बाटो हेर्ने जतिले पृथ्वी अधिकार गर्नेछन्‌।+

ו [वाव]

१० अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+

तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ

तर तिनीहरू त्यहाँ हुनेछैनन्‌।+

११ बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।+

ז [जयिन]

१२ दुष्टले धर्मीको विरुद्धमा षड्‌यन्त्र रच्छ;+

उसलाई देखेर त्यसले दाह्रा किट्‌छ।

१३ तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छ

किनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+

ח [हेत]

१४ थिचोमिचोमा परेकाहरू र गरिबहरूलाई ढाल्न

अनि सोझो बाटोमा हिँड्‌नेहरूको हत्या गर्न

दुष्टहरू आफ्नो तरबार थुत्छन्‌ र धनुमा ताँदो चढाउँछन्‌।

१५ तर तिनीहरूको तरबारले तिनीहरूकै मुटुलाई छेड्‌नेछ+

अनि तिनीहरूको धनु भाँचिनेछ।

ט [टेथ]

१६ दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दा

धर्मीसित भएको थोरै कुरा उत्तम हो।+

१७ किनकि दुष्टहरूको पाखुरा भाँचिनेछ

तर धर्मीलाई यहोवाले थाम्नुहुनेछ।

י [योद]

१८ निर्दोष मानिसहरूले भोगेको दुःख* यहोवाले देख्नुहुन्छ

अनि तिनीहरूको उत्तराधिकार सधैँभरि रहिरहनेछ।+

१९ विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्‌;

अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ।

כ [काफ]

२० तर दुष्टहरू भने मेटिएर जानेछन्‌;+

यहोवाका शत्रुहरू खर्कको हरियो घाँसजस्तै सुकिहाल्नेछन्‌

अनि धुवाँजस्तै बिलाएर जानेछन्‌।

ל [लामेद]

२१ दुष्टले सापटी लिन्छ तर फिर्ता गर्दैन,

धर्मी मानिस भने उदार मनको* र दानी हुन्छ।+

२२ परमेश्‍वरबाट आशिष्‌ पाएकाहरूले पृथ्वी अधिकार गर्नेछन्‌

तर उहाँबाट सराप पाएकाहरू नाश हुनेछन्‌।+

מ [मेम]

२३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्‍न हुनुहुन्छ,+

तब उहाँले उसको पाइलालाई डोऱ्‍याउनुहुन्छ।*+

२४ उसले ठेस खाए पनि ऊ पछारिनेछैन+

किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+

נ [नुन]

२५ म जवान थिएँ, अहिले बूढो भएको छु

तर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+

मैले कहिल्यै देखेको छैनँ।

२६ उसले सधैँ उदार मनले सापटी दिन्छ+

अनि उसका सन्तानले निश्‍चय नै आशिष्‌ पाउनेछन्‌।

ס [सामेख]

२७ खराब काम त्याग र जे असल छ, त्यो गर+

र तिमी सदासर्वदा जिउनेछौ।

२८ किनकि यहोवा न्याय मन पराउनुहुन्छ;

आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।+

ע [अयिन]

उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+

तर दुष्टका सन्तान भने मेटिएर जानेछन्‌।+

२९ धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।+

פ [पे]

३० धर्मीको मुखले बुद्धि प्रकट गर्छ*

अनि उसको जिब्रोले न्यायको कुरा बोल्छ।+

३१ उसको मनमा उसका परमेश्‍वरको व्यवस्था बसेको हुन्छ;+

उसका पाइलाहरू डगमगाउनेछैनन्‌।+

צ [सादे]

३२ धर्मी मानिसको हत्या गर्न

दुष्टले ऊमाथि नजर राख्छ।

३३ तर यहोवाले धर्मीलाई त्यसको हातमा पर्न दिनुहुनेछैन+

वा उसको न्याय गरिँदा उसलाई दोषी ठहराउनुहुनेछैन।+

ק [कोफ]

३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।

तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।

दुष्टहरू नाश हुँदा+ तिमीले त्यो देख्नेछौ।+

ר [रेश]

३५ मैले क्रूर र दुष्ट मानिसलाई देखेको छु,

त्यो आफ्नै जमिनमा झ्याम्म परेको रूखजस्तै फैलिएको थियो।+

३६ तर अचानक त्यसको मृत्यु भयो र त्यो रहेन;+

मैले त्यसलाई निकै खोजेँ तर त्यो कतै फेला परेन।+

ש [शिन]

३७ निर्दोष* मानिसलाई ध्यान दिएर हेर

अनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊ

किनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+

३८ तर कुकर्मीहरूजति सबै नाश हुनेछन्‌;

दुष्ट मानिसको कुनै भविष्य छैन।+

ת [ताव]

३९ धर्मीहरूको उद्धार यहोवाबाटै आउँछ;+

दुःखको समयमा उहाँ तिनीहरूको गढ हुनुहुनेछ।+

४० यहोवाले तिनीहरूलाई सहायता गर्नुहुनेछ र तिनीहरूको उद्धार गर्नुहुनेछ+

दुष्टको हातबाट उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ र बचाउनुहुनेछ

किनकि तिनीहरू उहाँमा शरण लिन्छन्‌।+

दाउदले रचेको भजन। मानिसहरूको लागि सम्झौटा।

३८ हे यहोवा, रिसाएर मलाई नहप्काउनुहोस्‌,

क्रोधले भरिएर मलाई नसुधार्नुहोस्‌।+

 २ तपाईँका काँडहरूले मलाई भित्रसम्मै छेडेका छन्‌

अनि तपाईँको हातको भारले मलाई थिचेको छ।+

 ३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*

मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+

 ४ मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्‌;+

ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्‌, म ती बोक्नै सक्दिनँ।

 ५ मेरो मूर्खताको कारण

मेरो घाउ सडेर गन्हाएको छ।

 ६ म दुःखी र ज्यादै निराश भएको छु;

सारा दिन म भारी मन लिएर हिँड्‌छु।

 ७ मलाई भित्रभित्रै औडाहा भइरहेको छ;*

मेरो पूरै शरीर रोगी भएको छ।+

 ८ म मुर्छित भएको छु र चूर्ण भएको छु;

मेरो हृदयको व्याकुलताले गर्दा म ठूलो स्वरमा सुस्केरा हाल्छु।

 ९ हे यहोवा, मेरा सबै इच्छा तपाईँकै सामुन्‍ने छन्‌

अनि मेरो सुस्केरा तपाईँबाट लुकेको छैन।

१० मेरो ढुकढुकी बढेको छ, मेरो बल घटेको छ

र मेरा आँखाको ज्योति गइसकेको छ।+

११ मेरो रोगको कारण मेरा मित्रहरू र मलाई साथ दिनेहरू मलाई वास्तै गर्दैनन्‌,

मेरा मिल्ने साथीहरू मबाट टाढै रहन्छन्‌।

१२ मेरो ज्यान लिन खोज्नेहरूले जाल बिछ्याएका छन्‌;

मेरो हानि गर्न खोज्नेहरू मलाई बरबाद पार्ने कुरा गर्छन्‌;+

तिनीहरू दिनभरि षड्‌यन्त्र रच्छन्‌।

१३ तर म बहिरो मानिसजस्तै भएको छु, म सुन्दिनँ;+

म गुँगो मानिसजस्तै भएको छु, म आफ्नो मुख खोल्दिनँ।+

१४ म कान नसुन्‍ने मानिसजस्तै भएको छु,

जसले आफ्नो बचाउमा मुख खोल्दैन।

१५ किनकि हे यहोवा, मैले तपाईँको प्रतीक्षा गरेँ +

अनि हे यहोवा मेरा परमेश्‍वर, तपाईँले मलाई जवाफ दिनुभयो।+

१६ मैले भनेँ: “यदि मेरो खुट्टा चिप्लियो भने तिनीहरूले मेरो गिल्ला नगरून्‌

वा तिनीहरू घमन्डले नफुलून्‌।”

१७ किनकि म त ढल्नै लागेको थिएँ

र म हरसमय पीडाले छटपटाइरहेको थिएँ।+

१८ मैले आफ्नो गल्ती मानिलिएँ;+

आफ्नो पापले गर्दा म व्याकुल भएको थिएँ।+

१९ तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्‌,*

विनाकारण मलाई घृणा गर्नेहरू अनगिन्ती भएका छन्‌।

२० मैले गरेको असल कामको बदलामा तिनीहरूले खराबी गरे;

मैले जे असल छ, त्यो गर्न चाहेँ तर तिनीहरूले मलाई रोके।

२१ हे यहोवा, मलाई नत्याग्नुहोस्‌।

हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस्‌।+

२२ हे यहोवा, मेरा उद्धारक,

मलाई सहायता गर्न चाँडै आउनुहोस्‌।+

निर्देशकलाई; यदुथुनको।*+ दाउदले रचेको भजन।

३९ मैले भनेँ: “आफ्नो जिब्रोले पाप नगरूँ भनेर+

म होसियार भई आफ्नो पाइला चाल्छु।

जबसम्म दुष्ट मेरो अगाडि रहन्छ,

म आफ्नो मुखमा मोहोलो लगाउँछु।”+

 २ म गुँगो भएँ र चुपचाप रहेँ;+

मैले असल कुरासमेत बोलिनँ

तर मलाई असह्‍य पीडा भयो।*

 ३ मेरो मन भित्रभित्रै जलिरह्‍यो।

मैले जति सोचेँ,* त्यति नै मभित्र आगो दन्कियो।

तब मैले भनेँ:

 ४ “हे यहोवा, मेरो जीवन कहिले अन्त हुन्छ, मलाई बताइदिनुहोस्‌।

मेरो आयु कति छ, मलाई भन्‍नुहोस्‌+

ताकि म जान्‍न सकूँ, मेरो जीवन कति छोटो छ।

 ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+

मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+

मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)

 ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।

ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।

उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+

 ७ त्यसोभए हे यहोवा, म केमा आशा राखूँ?

तपाईँ मात्र मेरो आडभरोसा हुनुहुन्छ।

 ८ मेरा सबै अपराधबाट मलाई छुटाउनुहोस्‌।+

मूर्ख मानिसले मलाई हाँसोको पात्र बनाउन नपाओस्‌।

 ९ म चुपचाप रहेँ;

मैले आफ्नो मुख खोलिनँ+

किनभने यो सब तपाईँले नै गर्नुभएको थियो।+

१० तपाईँले ममाथि ल्याउनुभएको विपत्ति हटाइदिनुहोस्‌।

तपाईँको हातको प्रहारले म नाश भएको छु।

११ मानिसलाई सच्याउन तपाईँ उसको गल्तीको सजाय दिनुहुन्छ;+

किराले* कपडा सखाप पारेझैँ मानिसले थुपारेको सम्पत्ति तपाईँ सखाप पारिदिनुहुन्छ।

साँच्चै, प्रत्येक मानिस एक मुठी सास मात्र हो।+ (सेला)

१२ हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌,

मदतको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌।+

मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्‌।

किनकि म त तपाईँको लागि एक परदेशी मात्र हुँ।+

मेरा पुर्खाहरूजस्तै प्रवासी मात्र हुँ।+

१३ मर्नुअघि, नामेट हुनुअघि

म हर्षित हुन सकूँ भनेर

क्रोधले भरिएको तपाईँको नजर मबाट फर्काउनुहोस्‌।”

निर्देशकलाई; दाउदले रचेको भजन।

४० मैले साँचो मनले यहोवामा आशा राखेँ *

अनि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो* र मेरो गुहार सुन्‍नुभयो।+

 २ उहाँले मलाई उर्लँदो पानीको खाडलबाट निकाल्नुभयो,

हिलोको दलदलबाट निकाल्नुभयो।

उहाँले मलाई चट्टानमा उभ्याउनुभयो;

उहाँले मेरा पाइलाहरू स्थिर गराउनुभयो।

 ३ त्यसपछि उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो,+

हाम्रा परमेश्‍वरको प्रशंसाको गीत।

यो देखेर थुप्रै मानिस श्रद्धाले भरिनेछन्‌

अनि यहोवामा आफ्नो भरोसा राख्नेछन्‌।

 ४ आनन्दित हो त्यो मानिस, जसले यहोवामा भरोसा राख्छ

अनि अहङ्‌कारी मानिसहरू र झूटा कुराहरूमा विश्‍वास गर्नेहरूको पछि लाग्दैन।

 ५ हे यहोवा मेरा परमेश्‍वर,

तपाईँले हाम्रो लागि कत्ति धेरै आश्‍चर्यजनक कामहरू गर्नुभएको छ!+

अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्‌!

तपाईँको बराबरीमा कोही आउन सक्दैन।+

मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनि

त्यसको गन्ती नै गर्न सकिँदैन!+

 ६ तपाईँले बलिदान र भेटीहरू चाहनुभएन*+

बरु सुन्‍नको लागि मेरा कानहरू खोलिदिनुभयो।+

तपाईँले अग्निभेटी र पापभेटीको* पनि माग गर्नुभएन।+

 ७ तब मैले भनेँ: “हेर्नुहोस्‌, म आएँ,

जस्तो कि मुठामा मेरो विषयमा लेखिएको छ।+

 ८ हे मेरा परमेश्‍वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+

अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+

 ९ म ठूलो समुदायमा धार्मिकताको सुसमाचार घोषणा गर्छु।+

हे यहोवा, तपाईँलाई थाहै छ;

हेर्नुहोस्‌, म आफ्नो मुख बन्द गर्दिनँ।+

१० तपाईँका असल कामहरू म आफ्नो मनमा दबाएर राख्दिनँ।

तपाईँको वफादारी र तपाईँले गर्नुहुने उद्धारको म घोषणा गर्छु।

ठूलो समुदायमा म तपाईँको अटल प्रेम र तपाईँको सत्यता लुकाउँदिनँ।”+

११ हे यहोवा, मलाई कृपा देखाउन नछोड्‌नुहोस्‌।

तपाईँको अटल प्रेम र सत्यताले मेरो रक्षा गरिरहून्‌।+

१२ मलाई तीनथुप्रो विपत्तिले घेरेको छ, म गन्ती नै गर्न सक्दिनँ।+

अनि मेरा गल्तीहरू यति धेरै छन्‌ कि म आफ्नो बाटोसमेत देख्न सक्दिनँ।+

ती मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्‌,

मेरो मन हताश भएको छ।

१३ हे यहोवा, बिन्ती छ, मलाई बचाउनुहोस्‌।+

हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्‌।+

१४ मेरो ज्यान लिन खोज्नेहरू सबै लज्जित होऊन्‌

र तिनीहरूले अपमान भोगून्‌।

मेरो विपत्तिमा रमाउनेहरू

बेइज्जती भोगेर फर्कून्‌।

१५ मलाई देखेर “आहा! आहा!” भन्‍नेहरू

आफ्नै बेइज्जतीको कारण स्तब्ध होऊन्‌।

१६ तर तपाईँको खोजी गर्नेहरू+

तपाईँको साथ पाएकोमा रमाऊन्‌ र खुसी होऊन्‌।+

अनि तपाईँले गर्नुभएका उद्धारका कामहरू मन पराउनेहरूले सधैँ यसो भनून्‌:

“यहोवाको महिमा होस्‌।”+

१७ तर म त असहाय र गरिब छु;

यहोवाले मलाई ध्यान देऊन्‌।

तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+

हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्‌।+

निर्देशकलाई; दाउदले रचेको भजन।

४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+

यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।

 २ यहोवाले उसको रक्षा गर्नुहुनेछ र उसलाई जीवित राख्नुहुनेछ।

ऊ पृथ्वीमा आनन्दित मानिस भनेर चिनिनेछ;+

तपाईँले उसलाई कहिल्यै शत्रुको हातमा सुम्पिनुहुनेछैन।+

 ३ ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ;+

तपाईँले उसलाई बिरामी अवस्थामा हेरविचार गर्नुहुनेछ।

 ४ मैले भनेँ: “हे यहोवा, मैले तपाईँविरुद्ध पाप गरेको छु।+

ममाथि अनुग्रह गर्नुहोस्‌,+ मलाई निको पार्नुहोस्‌।”+

 ५ तर मेरा शत्रुहरूले मबारे यस्तो दुष्ट कुरा गरेका छन्‌:

“त्यो कहिले मर्छ? त्यसको नाम कहिले मेटिन्छ?”

 ६ यदि तिनीहरूमध्ये कोही मलाई हेर्न आयो भने पनि त्यो मनमा कपट लिएर आउँछ।

त्यसले मेरो कुरा काट्‌न केही न केही कुरा भेट्टाउँछ

अनि बाहिर निस्केपछि चारैतिर त्यसबारे हल्ला फैलाउँछ।

 ७ मलाई घृणा गर्ने सबैले आपसमा कानेखुसी गर्छन्‌;

तिनीहरू मेरो विरुद्धमा षड्‌यन्त्र रच्छन्‌ र यसो भन्छन्‌:

 ८ “त्यसलाई घातक रोग लागेको छ;

त्यो थला परेको छ, अब त्यो फेरि उठ्‌दैन।”+

 ९ मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+

जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।*+

१० तर हे यहोवा, ममाथि अनुग्रह गर्नुहोस्‌ र मलाई उठाउनुहोस्‌

ताकि म तिनीहरूसित साटो फेर्न सकूँ।

११ जब मेरा शत्रुहरू ममाथि विजयी हुँदैनन्‌,+

तब मैले थाह पाउनेछु, तपाईँ मसित प्रसन्‍न हुनुहुन्छ।

१२ मेरो सत्यनिष्ठाको कारण तपाईँले मलाई उचाल्नुभएको छ;+

तपाईँले मलाई आफ्नो नजरसामु सदाको लागि राख्नुहुनेछ।+

१३ इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,

सदासर्वदा* प्रशंसा होस्‌।+

आमिन, आमिन।

भाग दुई

(भजन ४२-७२)

निर्देशकलाई; कोरहवंशीको मास्किल।*+

४२ जसरी मृगले पानीको तिर्सना गर्छ,

त्यसरी नै हे परमेश्‍वर, म तपाईँको तिर्सना गर्छु।

 २ परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति म तिर्खाउँछु।+

उहाँसामु म कहिले देखा परूँला?+

 ३ दिनरात बगेको आँसुको धारा नै मेरो भोजन भएको छ;

हरपल मानिसहरू गिल्ला गर्दै भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+

 ४ ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,

जब म मानिसहरूको जमातमा हिँड्‌थेँ,

खुसी मनाउँदै अनि परमेश्‍वरको जयजयकार गर्दै,

उत्सव मनाउने भीडसँग रमाउँदै

परमेश्‍वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+

 ५ म किन यत्ति निराश छु?+

यो मन किन यत्ति व्याकुल छ?

परमेश्‍वरमा आशा राख+

किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

 ६ हे मेरा परमेश्‍वर, म असाध्यै निराश छु।+

त्यसैले म तपाईँलाई सम्झन्छु,+

यर्दन नदीको देशबाट र हर्मोन डाँडाको टाकुराबाट

अनि मिजार डाँडाबाट।*

 ७ छङछङ गर्दै झर्ने तपाईँको छाँगोको ठूलो आवाज सुनेर

गहिरो सागरले गहिरो सागरलाई पुकार्छ।

तपाईँका उर्लँदो छालहरूले मलाई छोपेका छन्‌।+

 ८ दिनमा यहोवा परमेश्‍वरले मलाई करुणा देखाउनुहुन्छ,

रातमा म उहाँबारे गीत गाउँछु​—जीवन दिनुहुने परमेश्‍वरलाई म प्रार्थना गर्छु।+

 ९ मेरा परमेश्‍वर, मेरा चट्टानलाई म भन्छु:

“तपाईँले मलाई किन बिर्सनुभयो?+

शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्‌नुपरेको छ?”+

१० शत्रुहरूले गिल्ला गर्दा मेरो हड्डी नै चुरचुर भएझैँ लाग्छ;

हरपल तिनीहरू गिल्ला गर्दै यसो भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+

११ म किन यत्ति निराश छु?

यो मन किन यत्ति व्याकुल छ?

परमेश्‍वरमा आशा राख+

किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

४३ हे मेरा परमेश्‍वर, मेरो न्याय गर्नुहोस्‌,+

विश्‍वासघाती जातिको विरुद्धमा मेरो वकालत गरिदिनुहोस्‌।+

छली र दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्‌।

 २ किनकि तपाईँ मेरा परमेश्‍वर, मेरा किल्ला हुनुहुन्छ।+

तपाईँले मलाई किन त्याग्नुभयो?

शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्‌नुपरेको छ?+

 ३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्‌।+

तिनैले मलाई डोऱ्‍याऊन्‌;+

तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्‍याऊन्‌।+

 ४ अनि म परमेश्‍वरको वेदीमा जानेछु,+

हो, मेरा परमेश्‍वर, मेरो आनन्दको मूलकहाँ जानेछु।

अनि हे परमेश्‍वर, मेरा परमेश्‍वर, वीणा बजाएर म तपाईँको स्तुति गाउनेछु।+

 ५ म किन यत्ति निराश छु?

यो मन किन यत्ति व्याकुल छ?

परमेश्‍वरमा आशा राख+

किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

निर्देशकलाई; कोरहवंशीको भजन।+ मास्किल।*

४४ हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ,

उहिले-उहिलेको समयमा

हाम्रा पुर्खाहरूको पालामा तपाईँले गर्नुभएका कामहरूबारे

तिनीहरूले हामीलाई बताएका छन्‌।+

 २ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+

तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+

अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+

 ३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्‌+

अनि आफ्नो शक्‍तिले जित हासिल गरेका थिएनन्‌।+

बरु तपाईँकै दाहिने हात+ र शक्‍तिले अनि तपाईँकै आशिष्‌ले जितेका थिए

किनकि तपाईँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्थ्यो।+

 ४ हे परमेश्‍वर, तपाईँ मेरा राजा हुनुहुन्छ;+

याकुबले सानदार जित हासिल गरोस्‌ भनी हुकुम गर्नुहोस्‌।

 ५ तपाईँकै शक्‍तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+

हामीविरुद्ध उठ्‌नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+

 ६ म आफ्नो धनुमा भर पर्दिनँ

अनि मेरो तरबारले मलाई बचाउन सक्दैन।+

 ७ तपाईँले नै हामीलाई शत्रुहरूदेखि बचाउनुभयो,+

हामीलाई घृणा गर्नेहरूलाई तपाईँले नै लाजमा पार्नुभयो।

 ८ हामी निरन्तर परमेश्‍वरकै प्रशंसा गर्नेछौँ

अनि हामी सधैँ उहाँकै नामको जयजयकार गाउनेछौँ। (सेला)

 ९ तर अहिले तपाईँले हामीलाई त्याग्नुभएको छ र लाजमा पार्नुभएको छ

अनि हाम्रा सेनाहरूलाई पनि तपाईँ साथ दिनुहुन्‍न।

१० तपाईँले हामीलाई शत्रुहरूदेखि पछि हट्‌ने तुल्याउनुभएको छ;+

हामीलाई घृणा गर्नेहरूले आफूलाई जे-जे मन लाग्छ, त्यो हामीबाट लुटेका छन्‌।

११ तपाईँले हामीलाई अरूको आहार हुन भेडालाई झैँ सुम्पनुभएको छ;

जातिजातिहरूको बीचमा हामीलाई तितरबितर पार्नुभएको छ।+

१२ तपाईँले आफ्ना मानिसहरूलाई सस्तो मूल्यमा बेच्नुभएको छ;+

तिनीहरूलाई बेचेर तपाईँले कुनै नाफा कमाउनुभएको छैन।

१३ तपाईँले हामीलाई छिमेकीहरूको अगाडि निन्दाको पात्र बनाउनुभएको छ,

वरपरका मानिसहरूको अगाडि गिल्ला र हाँसोको पात्र बनाउनुभएको छ।

१४ जातिजातिहरूको बीचमा तपाईँले हामीलाई ठट्टाको पात्र* बनाउनुभएको छ,+

मानिसहरूले खिसी गर्दै मुन्टो हल्लाउने कारण बनाउनुभएको छ।

१५ दिनभरि म अपमानित महसुस गर्छु

अनि लाजले म आफ्नो मुख लुकाउँछु।

१६ गिल्ला र बेइज्जत गर्नेहरूको आवाजले गर्दा

अनि बदला लिने शत्रुहरूले गर्दा म त्यसो गर्छु।

१७ यी सब हामीमाथि आइपरेका छन्‌, तैपनि हामीले तपाईँलाई बिर्सेका छैनौँ,

तपाईँसित गरेको वाचा तोडेका छैनौँ।+

१८ हाम्रो हृदय तपाईँबाट तर्किएको छैन,

हाम्रो पाइला तपाईँको मार्गबाट चुकेको छैन।

१९ स्यालहरूको ओडारमा तपाईँले हामीलाई थचार्नुभएको छ;

तपाईँले हामीलाई घोर अन्धकारले ढपक्कै ढाकिदिनुभएको छ।

२० यदि हामीले हाम्रा परमेश्‍वरको नाम बिर्सेको भएदेखि

अथवा अरू देवतासामु आफ्नो हात फैलाएको भएदेखि

२१ के परमेश्‍वरले थाह पाउनुहुने थिएन र?

किनकि उहाँ हृदयको गहिराइमा लुकेको कुरा पनि थाह पाउनुहुन्छ।+

२२ तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ,

हामी काट्‌न लागिएका भेडाहरूझैँ भएका छौँ।+

२३ हे यहोवा, उठ्‌नुहोस्‌! तपाईँ किन सुतिरहनुहुन्छ?+

जाग्नुहोस्‌! हामीलाई सदाको लागि नत्याग्नुहोस्‌।+

२४ तपाईँ किन आफ्नो अनुहार अन्तै फर्काउनुहुन्छ?

हामीमाथि आइपरेको दुःख अनि अत्याचार किन बिर्सनुहुन्छ?

२५ किनकि हामीलाई जमिनमा पछारिएको छ,

हामीलाई भुईँमा लम्पसार पारिएको छ।+

२६ उठ्‌नुहोस्‌ र हामीलाई मदत गर्नुहोस्‌!+

हाम्रो उद्धार गरेर हामीलाई प्रेम देखाउनुहोस्‌।+

निर्देशकलाई; “लिली”-अनुसार। कोरहवंशीको भजन।+ मास्किल।* प्रेम गीत।

४५ मेरो हृदय असल कुराले ओतप्रोत भएको छ।

म भन्छु: “मेरो गीत* एक जना राजाबारे हो।”+

मेरो जिब्रो सिपालु लेखकको*+ कलमजस्तै+ बनोस्‌।

 २ तिमी पुरुषहरूमध्ये सबैभन्दा सुन्दर छौ।

तिम्रो ओठबाट अनुग्रहले भरिएको बोली निस्कन्छ।+

त्यसैले परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुभएको छ, जुन कहिल्यै हराएर जानेछैन।+

 ३ हे वीर योद्धा,+ आफ्नो कम्मरमा तरबार भिर+

अनि आफ्नो वैभव र गौरव धारण गर।+

 ४ पूरै वैभवमा सवार भएर विजयतर्फ* अघि बढ;+

सत्य, नम्रता र धार्मिकताको लागि सवार होऊ+

अनि तिम्रो दाहिने हातले अचम्म-अचम्मका कामहरू गर्नेछ।*

 ५ तिम्रा तीखातीखा काँडहरूले राजाका शत्रुहरूको मुटु नै छेड्‌छ+

अनि तिनीहरू तिम्रो चरणमा आएर ढल्छन्‌।+

 ६ परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ;+

तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।+

 ७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+

त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+

 ८ तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;

हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।

 ९ तिम्रा माननीय स्त्रीहरूमा राजकुमारीहरू पनि छन्‌।

तिम्रो दाहिने हातपट्टि ओपिरको सुनले झकिझकाउ रानी छिन्‌।+

१० सुन, हे छोरी, कान थापेर सुन;

आफ्ना मानिसहरू र आफ्नो बुबाको घरलाई बिर्स।

११ अनि तिम्रो सुन्दरताले राजालाई मोहित पार्नेछ

किनकि उनी तिम्रा स्वामी हुन्‌,

त्यसैले उनलाई दण्डवत्‌ गर।

१२ टायरकी राजकुमारी उपहार लिएर आउनेछिन्‌;

धनी मानिसहरूले तिम्रो निगाह खोज्नेछन्‌।

१३ राजमहलभित्र राजकुमारी अति शोभायमान देखिन्छिन्‌;

सुन जडिएको पोसाकमा तिनी सजिएकी छिन्‌।

१४ बुनिएको सानदार पोसाकमा* तिनी राजासामु पुऱ्‍याइनेछिन्‌।

तिनका कुमारी सहेलीहरूले तिनलाई पछ्याउनेछन्‌।

१५ तिनीहरू हर्ष र रमाहटका साथ आउनेछन्‌;

तिनीहरू राजमहलभित्र प्रवेश गर्नेछन्‌।

१६ तिम्रा पुर्खाहरूको स्थान तिम्रा छोराहरूले लिनेछन्‌।

तिमीले तिनीहरूलाई सारा पृथ्वीका शासक ठहराउनेछौ।+

१७ म तिम्रो नामबारे पुस्तौँपुस्तासम्म घोषणा गर्नेछु।+

त्यसैले मानिसहरूले सदासर्वदा तिम्रो प्रशंसा गर्नेछन्‌।

निर्देशकलाई; कोरहवंशीको भजन।+ अलामोथ शैलीमा।* एउटा गीत।

४६ परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+

दुःखको समयमा सजिलै पाइने मदतगार।+

 २ त्यसैले चाहे पृथ्वी नै हल्लियोस्‌,

चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्‌,+ हामी डराउनेछैनौँ,

 ३ अनि चाहे समुद्र गर्जियोस्‌ र त्यसले फीँज काढोस्‌,+

चाहे समुद्र उर्लेर पर्वतहरू थर्किऊन्‌, हामी डराउनेछैनौँ। (सेला)

 ४ एउटा नदी छ, जसका धाराहरूले परमेश्‍वरको सहरलाई आनन्दित तुल्याउँछ,+

सर्वोच्च परमेश्‍वरको महापवित्र वासस्थानलाई* आनन्दित तुल्याउँछ।

 ५ परमेश्‍वर त्यस सहरमा हुनुहुन्छ;+ त्यो डग्नेछैन।

परमेश्‍वर त्यसलाई सहायता गर्न मिरमिरेमै आउनुहुनेछ।+

 ६ जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;

उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+

 ७ सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+

याकुबका परमेश्‍वर हाम्रो शरणस्थान* हुनुहुन्छ। (सेला)

 ८ आओ र यहोवा परमेश्‍वरका कामहरू हेर,

उहाँले पृथ्वीमा कस्ता अचम्म-अचम्मका कामहरू गर्नुभएको छ।

 ९ पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।+

उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ;

युद्धका रथहरू* उहाँले आगोमा जलाइदिनुहुन्छ।

१० “हार स्विकार अनि म नै परमेश्‍वर हुँ भनी थाह पाओ।

जातिजातिहरूका बीचमा म उच्च पारिनेछु;+

पृथ्वीमा म उच्च पारिनेछु।”+

११ सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+

याकुबका परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)

निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।

४७ हे सबै देशका मानिसहरू हो, ताली बजाओ।

रमाहट गर्दै ठूलठूलो स्वरमा परमेश्‍वरको जयजयकार गर।

 २ किनकि सर्वोच्च परमेश्‍वर यहोवा भययोग्य हुनुहुन्छ;+

उहाँ सारा पृथ्वीका महाराजा हुनुहुन्छ।+

 ३ उहाँ मानिसहरूलाई हाम्रो अधीनमा ल्याउनुहुन्छ;

जातिजातिका मानिसहरूलाई हाम्रो पैतालामुनि पार्नुहुन्छ।+

 ४ हाम्रो लागि उहाँले नै उत्तराधिकार रोज्नुहुन्छ,+

त्यो देश जुन परमेश्‍वरले माया गर्नुहुने याकुबको गौरव हो।+ (सेला)

 ५ जयजयकारको स्वर गुञ्जिँदै गर्दा परमेश्‍वर सिंहासनमा विराजमान हुनुभएको छ;

मानिसहरूले सिङ* फुक्दै गर्दा यहोवा सिंहासनमा बस्नुभएको छ।

 ६ परमेश्‍वरको स्तुति गाओ,* उहाँको स्तुति गाओ।

हाम्रा राजाको स्तुति गाओ, उहाँको स्तुति गाओ।

 ७ किनभने उहाँ सारा पृथ्वीका महाराजा हुनुहुन्छ;+

उहाँको स्तुति गाओ र आफ्नो बुद्धि प्रकट गर।

 ८ जातिजातिका बीचमा परमेश्‍वर राजा हुनुभएको छ।+

उहाँ आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुभएको छ।

 ९ अब्राहामका परमेश्‍वरका मानिसहरूसँगै

शासकहरू पनि भेला भएका छन्‌।

किनभने पृथ्वीका शासकहरू* परमेश्‍वरकै हुन्‌।

उहाँ अत्यन्तै उच्च पारिनुभएको छ।+

एउटा गीत। कोरहवंशीको एउटा भजन।+

४८ हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र डाँडामा

यहोवा महान्‌ र प्रशंसाको अति योग्य हुनुहुन्छ।

 २ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+

सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,

महान्‌ राजाको सहर।+

 ३ परमेश्‍वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,

आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+

 ४ हेर! राजाहरू एकसाथ भेला भए;*

तिनीहरू दल बाँधेर अघि बढे।

 ५ जब तिनीहरूले त्यस सहरलाई देखे, तिनीहरू छक्क परे।

तिनीहरू त्रसित भए अनि डराएर भागे।

 ६ त्यहीँ नै तिनीहरू थरथर काँपे,

व्यथा लागेकी स्त्रीजस्तै तिनीहरू छटपटाए।

 ७ तपाईँले तर्सिसका जहाजहरूलाई पूर्वीय बतासले नष्ट गर्नुहुन्छ।

 ८ सेनाहरूका यहोवाको सहरबारे, हाम्रा परमेश्‍वरको सहरबारे

हामीले जे सुनेका थियौँ, अहिले हामीले त्यही देख्यौँ।

यस सहरलाई परमेश्‍वरले सदाको लागि स्थापित गर्नुहुनेछ।+ (सेला)

 ९ हे परमेश्‍वर, हामी तपाईँले देखाउनुभएको प्रेमबारे

तपाईँको मन्दिरमा बसेर चिन्तन गर्छौँ।+

१० हे परमेश्‍वर, तपाईँको नामजस्तै तपाईँको प्रशंसा पनि

पृथ्वीको कुनाकुनासम्म पुग्छ।+

तपाईँको दाहिने हात न्यायले भरिपूर्ण छ।+

११ सियोन डाँडा+ हर्षित होस्‌,

यहुदाका सहरहरू तपाईँको न्यायको कारण रमाऊन्‌।+

१२ सियोनको चारैतिर हिँड; त्यसको परिक्रमा गर;

त्यसका किल्लाहरू गन।+

१३ त्यसका बलिया पर्खालहरूमाथि राम्ररी दृष्टि लगाऊ।+

त्यसका सुरक्षित किल्लाहरू राम्ररी जाँच

अनि तिमीले त्यसबारे आफ्नो भावी पुस्तालाई बताउन सक्नेछौ।

१४ किनकि उहाँ नै सदासर्वदा हाम्रो परमेश्‍वर हुनुहुन्छ।+

उहाँ सदासर्वदा* हाम्रो अगुवा हुनुहुनेछ।+

निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।

४९ हे सबै मानिस हो, कान थापेर सुन।

संसारका समस्त बासिन्दा हो, ध्यान दिएर सुन।

 २ साना र ठूला,

धनी र गरिब सबैले सुन।

 ३ मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ,

मेरो मनको चिन्तनले+ समझ प्रकट गर्नेछ।

 ४ बुद्धिले भरिएको उपदेशमा म ध्यान दिनेछु;

वीणा बजाएर म उखानको अर्थ खोल्नेछु।

 ५ दुःखको दिन आउँदा

र मेरो विनाश भएको हेर्न चाहने मानिसहरूको कुकर्मले घेरिँदा म किन डराउने?+

 ६ ज-जसले आफ्नो धनसम्पत्तिमा भरोसा राख्छन्‌+

र आफूसित प्रशस्त सम्पत्ति भएकोमा घमन्ड गर्छन्‌,+

 ७ तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन;

परमेश्‍वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्‌।+

 ८ (उनीहरूको जीवनको फिरौतीको मोल असाध्यै धेरै छ,

तिनीहरूले त्यो कहिल्यै तिर्न सक्दैनन्‌);

 ९ यस्तो कोही मानिस छैन, जो सधैँ बाँचिरहन्छ र जसले चिहान देख्नु पर्दैन।+

१० तिनीहरूले बुद्धिमान्‌ मानिस पनि मरेको देख्छन्‌;

मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्‌,+

उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+

११ आफ्नो निवास सदा रहिरहोस्‌ भन्‍ने उनीहरू चाहन्छन्‌,

आफ्नो निवासस्थान पुस्तौँसम्म रहिरहोस्‌ भन्‍ने इच्छा गर्छन्‌।

उनीहरूले आफ्नै नामबाट आफ्नो ठाउँको नाम राखेका छन्‌।

१२ तर मानसम्मान कमाएको मानिस पनि आखिर बिलाएर जान्छ;+

ऊ मरिजाने पशुतुल्य हुन्छ।+

१३ मूर्ख मानिसहरूको अवस्था यस्तै हुन्छ।+

तिनीहरूको पछि लाग्ने र तिनीहरूको फोस्रो कुरामा रमाउनेहरूको अवस्था पनि यस्तै हुन्छ। (सेला)

१४ तिनीहरू भेडाझैँ मारिनेछन्‌ र चिहानमा* पुग्नेछन्‌।

मृत्यु तिनीहरूको गोठालो हुनेछ;

निर्दोष मानिसहरूले बिहान तिनीहरूलाई अधीन गर्नेछन्‌।+

तिनीहरूको सम्झना बिस्तारै हराएर जानेछ;+

महल होइन तर चिहान+ तिनीहरूको घर हुनेछ।+

१५ तर परमेश्‍वरले मलाई मृत्युको पन्जाबाट मोल तिरेर छुटाउनुहुनेछ,+

उहाँले मलाई बलियो गरी समाउनुहुनेछ। (सेला)

१६ मानिसले प्रशस्त धनसम्पत्ति कमाएको देखेर

अनि उसको गौरव बढेको देखेर नडराऊ।

१७ किनकि ऊ मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन;+

उसको गौरव उसको पछि लागेर जाँदैन।+

१८ जीवनभर उसले आफूलाई धन्यको सम्झन्छ।+

(सम्पन्‍नहरूले सबैको वाहवाही पाउँछन्‌।)+

१९ तर अन्तमा ऊ पनि आफ्नो पितापुर्खासँगै मिल्छ;

उसले फेरि कहिल्यै ज्योति देख्नेछैन।

२० यो कुरा नबुझ्ने मानिस, चाहे उसले जतिसुकै मानसम्मान कमाएको किन नहोस्‌,+

ऊ मरिजाने पशुतुल्य हुन्छ।

आसापले रचेको भजन।+

५० ईश्‍वरहरूका ईश्‍वर यहोवा+ बोल्नुभएको छ;

पूर्वदेखि पश्‍चिमसम्म*

पृथ्वीका सारा मानिसलाई उहाँ हाजिर गराउनुहुन्छ।

 २ अतिसुन्दर+ सियोनबाट परमेश्‍वरले आफ्नो ज्योति चम्काउनुहुन्छ।

 ३ हाम्रा परमेश्‍वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+

उहाँको अघिअघि भस्म गर्ने आगो छ+

अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+

 ४ उहाँ आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ+

र आफ्ना मानिसहरूको इन्साफ गर्नुहुन्छ:+

 ५ “मेरा वफादार मानिसहरूलाई मकहाँ भेला गर,

जसले बलिदानको आधारमा मसँग करार गरेका छन्‌।”+

 ६ आकाशले परमेश्‍वरको न्यायको घोषणा गर्छ

किनकि उहाँ स्वयम्‌ न्यायकर्ता हुनुहुन्छ।+ (सेला)

 ७ “ए मेरा मानिसहरू हो, मेरो कुरा सुन र म बोल्नेछु;

ए इस्राएल, म तेरो विरुद्धमा साक्षी दिनेछु।+

म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर।+

 ८ तिमीहरूले चढाउने बलिदानको कारण मैले तिमीहरूलाई हप्काएको होइनँ,

तिमीहरूले चढाउने अग्निभेटीको कारण पनि होइन किनकि त्यो त तिमीहरूले सधैँ चढाएकै छौ।+

 ९ मलाई तिमीहरूको घरको बहर

वा तिमीहरूको गोठको बाख्रा चाहिएको होइन।+

१० किनकि जङ्‌गलका सबै जनावर मेरै हुन्‌,+

हजारौँ पहाडमा भएका जन्तुहरू पनि मेरै हुन्‌।

११ पहाडको हरेक पन्छीबारे म जान्दछु;+

जमिनका अनगिन्ती पशुहरू मेरै हुन्‌।

१२ मलाई भोक नै लागे पनि म तिमीहरूलाई भन्‍ने थिइनँ

किनकि उर्वर भूमि र त्यसमा भएका सबै थोक मेरै हुन्‌।+

१३ म बहरको मासु खान्छु र?

म बाख्राको रगत पिउँछु र?+

१४ परमेश्‍वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+

अनि सर्वोच्च परमेश्‍वरसित गरेको भाकल पूरा गर;+

१५ दुःखको बेला मलाई पुकार।+

म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ।”+

१६ तर दुष्टहरूलाई परमेश्‍वरले भन्‍नुहुनेछ:

“मेरा आज्ञाहरूबारे कुरा गर्ने+

वा मेरो करारबारे बोल्ने+ तिमीहरूको के अधिकार?

१७ किनकि तिमीहरू अनुशासनलाई* घृणा गर्छौ

अनि घरीघरी मेरा वचनतिर आफ्नो पीठ फर्काउँछौ।+

१८ चोरलाई देख्यौ भने तिमीहरू त्यसलाई मन्जुरी दिन्छौ*+

अनि व्यभिचार* गर्नेहरूसित सङ्‌गत गर्छौ।

१९ तिमीहरू आफ्नो मुखले दुष्ट कुरा फैलाउँदै हिँड्‌छौ

अनि तिमीहरूको जिब्रो छलले भरिएको छ।+

२० तिमीहरू बसेर आफ्नै दाजुभाइको विरुद्धमा बोल्छौ;+

तिमीहरू आफ्नो साक्खै दाजुभाइको बदनाम गर्छौ।

२१ तिमीहरूले यी सबै गर्दा पनि म चुपचाप रहेँ,

त्यसैले म पनि तिमीहरूजस्तै छु भनी तिमीहरूले सोच्यौ।

तर अब म तिमीहरूलाई सुधार्छु

अनि तिमीहरूविरुद्ध आफ्नो मामिला पेस गर्छु।+

२२ ए परमेश्‍वरलाई बिर्सनेहरू हो, एक चोटि यो कुरा विचार गर।+

नत्र भने म तिमीहरूलाई टुक्राटुक्रा पार्नेछु र तिमीहरूलाई बचाउने कोही पनि हुनेछैन।

२३ जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+

अनि जो दृढ भई सही बाटोमा हिँड्‌छ,

म उसको उद्धार गर्नेछु।”+

निर्देशकलाई; दाउदले बेतसेबासित नाजायज सम्बन्ध राखेपछि भविष्यवक्‍ता नातान तिनलाई भेट्‌न आएको बेला दाउदले रचेको भजन।+

५१ हे परमेश्‍वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्‌।+

तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्‌।+

 २ मेरो गल्ती पूरै पखालिदिनुहोस्‌+

र मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌।+

 ३ किनकि मलाई थाह छ, मैले पाप गरेको छु

र मेरो पाप सधैँ मेरै सामुन्‍ने* छ।+

 ४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+

तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+

त्यसैले तपाईँ जे भन्‍नुहुन्छ, सही भन्‍नुहुन्छ,

तपाईँ उचित न्याय गर्नुहुन्छ।+

 ५ हेर्नुहोस्‌! म त जन्मँदै पापी थिएँ,

पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।*+

 ६ हेर्नुहोस्‌! तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ;+

मेरो मनलाई साँचो बुद्धिको कुरा सिकाउनुहोस्‌।

 ७ हिसपले* मेरा पापहरू चोख्याउनुहोस्‌ र म शुद्ध हुनेछु;+

मलाई पखाल्नुहोस्‌ र म हिउँभन्दा पनि सेतो हुनेछु।+

 ८ मैले खुसीयाली र रमाहटको स्वर सुन्‍न पाऊँ

अनि तपाईँले चकनाचुर पार्नुभएका हड्डीहरू रमाऊन्‌।+

 ९ मेरा पापहरूदेखि आफ्नो मुहार अन्तै फर्काउनुहोस्‌*+

र मेरा सबै अपराध मेटिदिनुहोस्‌।+

१० हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌+

अनि मभित्र नयाँ र स्थिर मन+ हालिदिनुहोस्‌।

११ तपाईँको सामुन्‍नेबाट मलाई ननिकाल्नुहोस्‌;

तपाईँको पवित्र शक्‍ति मबाट नखोस्नुहोस्‌।

१२ तपाईँले उद्धार गर्नुहुँदाको खुसी मैले फेरि पाउन सकूँ;+

तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्‌।

१३ पापीहरू तपाईँकहाँ फर्कून्‌ भनेर

म अपराधीहरूलाई तपाईँको मार्गमा हिँड्‌न सिकाउनेछु।+

१४ हे परमेश्‍वर, मेरो उद्धार गर्नुहुने परमेश्‍वर,+ मलाई रक्‍तदोषबाट मुक्‍त गर्नुहोस्‌+

अनि मेरो जिब्रोले हर्ष मनाउँदै तपाईँको धार्मिकताको घोषणा गर्नेछ।+

१५ हे यहोवा, मेरो मुख खोलिदिनुहोस्‌

ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+

१६ किनकि तपाईँ बलिदान चाहनुहुन्‍न, नत्र म त्यो चढाउने थिएँ;+

तपाईँ अग्निभेटीदेखि प्रसन्‍न हुनुहुन्‍न।+

१७ टुटेको हृदय परमेश्‍वरलाई खुसी तुल्याउने बलिदान हो;

हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार* गर्नुहुन्‍न।+

१८ आफ्नो अनुग्रह प्रकट गरेर सियोनको भलाइ गर्नुहोस्‌;

यरुसलेमका पर्खालहरूलाई फेरि मजबुत बनाउनुहोस्‌।

१९ धार्मिकताको बलिदानदेखि तपाईँ प्रसन्‍न हुनुहुनेछ,

अग्निभेटीदेखि र सिङ्‌गो बलिदानदेखि प्रसन्‍न हुनुहुनेछ;

तपाईँको वेदीमा बहरहरू चढाइनेछन्‌।+

निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन्‌ भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+

५२ ए शक्‍तिशाली मानिस, तँ किन आफ्नो दुष्ट काममा घमन्ड गर्छस्‌?+

परमेश्‍वरको अटल प्रेम सदा रहन्छ भनी के तँलाई थाह छैन?+

 २ छुराजस्तै धारिलो तेरो जिब्रोले+

षड्‌यन्त्र रच्छ र छली कुरा बोल्छ।+

 ३ तँ असल कुरालाई भन्दा दुष्ट कुरालाई मन पराउँछस्‌,

सत्य बोल्नुभन्दा झूट बोल्न तँलाई मन पर्छ। (सेला)

 ४ ए छली जिब्रो!

हानि पुऱ्‍याउने हरेक बोली तँलाई मन पर्छ।

 ५ त्यसकारण परमेश्‍वरले तेरो नामोनिसान नरहनेगरि तँलाई नाश गर्नुहुनेछ।+

उहाँले तँलाई च्याप्प समातेर पालबाट घिसार्दै बाहिर निकाल्नुहुनेछ।+

जीवितहरूको देशबाट उहाँले तँलाई उखेलिदिनुहुनेछ।+ (सेला)

 ६ धर्मीहरूले त्यो देख्नेछन्‌ र तिनीहरूको हृदय परमेश्‍वरप्रति श्रद्धाले भरिनेछ।+

दुष्ट काम गर्ने मानिसलाई तिनीहरूले यसरी हाँसोमा उडाउनेछन्‌:+

 ७ “परमेश्‍वरमा शरण नलिने* मानिस यही हो,+

त्यसले आफ्नो अकुत सम्पत्तिमाथि भरोसा गऱ्‍यो+

अनि आफ्नै दुष्ट योजनाहरूमा त्यो भर पऱ्‍यो।”*

 ८ तर म भने परमेश्‍वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।

म सदासर्वदा परमेश्‍वरको अटल प्रेममाथि भरोसा गर्छु।+

 ९ तपाईँले गर्नुभएका कामहरूको लागि म सधैँभरि तपाईँको प्रशंसा गर्नेछु।+

तपाईँका वफादार जनहरूको सामुन्‍ने म तपाईँको नाममा आशा राख्नेछु+

किनकि यो असल छ।

निर्देशकलाई; महालथ* शैलीमा। मास्किल।* दाउदको रचना।

५३ मूर्खले मनमनै भन्छ:

“यहोवा हुनुहुन्‍न।”+

तिनीहरूका कामहरू खराब छन्‌, भ्रष्ट र घृणित छन्‌।

असल काम गर्ने कोही छैन।+

 २ तर बुद्धिमान्‌* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि+ भनेर

परमेश्‍वर स्वर्गबाट मानिसहरूलाई+ हेर्नुहुन्छ।

 ३ तिनीहरू सबै तर्केका छन्‌;

तिनीहरू सबै भ्रष्ट भएका छन्‌।

असल काम गर्ने कोही छैन,

अहँ, एक जना पनि छैन।+

 ४ के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?

तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्‌।

तिनीहरू यहोवालाई पुकार्दैनन्‌।+

 ५ तर तिनीहरूलाई त्रासले छोप्नेछ;

यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्‌।*

किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्‍वरले छरपस्ट पारिदिनुहुनेछ।

तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।

 ६ इस्राएलको उद्धार सियोनबाटै आओस्‌!+

कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदा

याकुब रमाओस्‌, इस्राएल आनन्दित होस्‌!

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। मास्किल।* जिफका मानिसहरूले साउललाई “दाउद हामीकहाँ लुक्न आएका छन्‌” भनी खबर दिएको बेला दाउदले रचेको भजन।+

५४ हे परमेश्‍वर, आफ्नो नामले मलाई बचाउनुहोस्‌+

र आफ्नो शक्‍तिले मेरो रक्षा गर्नुहोस्‌।*+

 २ हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्‌;+

मेरो मुखको वचनमा ध्यान दिनुहोस्‌।

 ३ किनकि अनजान मानिसहरू मेरो विरुद्धमा खडा भएका छन्‌,

कठोर मानिसहरू मेरो ज्यानको पछि लागेका छन्‌।+

तिनीहरू परमेश्‍वरको आदर गर्दैनन्‌।*+ (सेला)

 ४ हेर! परमेश्‍वर मेरो मदतगार हुनुहुन्छ;+

मलाई साथ दिनेहरूको साथमा यहोवा हुनुहुन्छ।

 ५ उहाँले मेरा शत्रुहरूलाई तिनीहरूकै चालमा फसाइदिनुहुनेछ;+

तिनीहरूको अन्त गरिदिनुहोस्‌* किनकि तपाईँ विश्‍वासयोग्य हुनुहुन्छ।+

 ६ म स्वेच्छाले+ तपाईँको लागि बलि चढाउनेछु।

हे यहोवा, म तपाईँको नामको प्रशंसा गर्नेछु किनकि त्यो असल छ।+

 ७ उहाँले मलाई हरेक विपत्तिबाट बचाउनुहुनेछ+

अनि मेरा शत्रुहरूको पराजय मैले देख्नेछु।+

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। मास्किल।* दाउदको रचना।

५५ हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्‌।+

तपाईँको कृपा पाउन मैले गरेको बिन्तीलाई बेवास्ता नगर्नुहोस्‌।*+

 २ मतर्फ ध्यान दिनुहोस्‌ र मलाई जवाफ दिनुहोस्‌।+

मेरा फिक्रीहरूले गर्दा म बेचैन भएको छु,+

म व्याकुल भएको छु।

 ३ मेरा शत्रुहरूले मेरो विरुद्धमा बोलेको कुराले गर्दा

र दुष्टको दबाबले गर्दा म व्याकुल भएको छु।

किनकि तिनीहरू ममाथि एकपछि अर्को गर्दै दुःख ल्याउँछन्‌

अनि रिसले चूर हुँदै तिनीहरू मसित दुस्मनी राख्छन्‌।+

 ४ मेरो मन पीडाले गर्दा छटपटाइरहेको छ,+

मृत्युको डरले मलाई छोपेको छ।+

 ५ डर र त्रास ममाथि उर्लेर आएको छ,

म थरथर काँपिरहेको छु।

 ६ म यसो भनिरहन्छु: “ढुकुरको जस्तै मेरो पनि पखेटा भइदिए त

म उडेर अन्तै जाने थिएँ र ढुक्कले बस्ने थिएँ।

 ७ म भागेर टाढा जाने थिएँ+

र एकलास ठाउँमा गएर बस्ने थिएँ।+ (सेला)

 ८ हुरीबतास र आँधीबाट बच्न

म हत्त न पत्त ओत लाग्ने ठाउँतिर जाने थिएँ।”

 ९ हे यहोवा, तिनीहरूलाई अलमलमा पारिदिनुहोस्‌ र तिनीहरूको योजना विफल तुल्याइदिनुहोस्‌*+

किनकि सहरमा झैझगडा र हिंसा मच्चिएको मैले देखेको छु।

१० ती रातदिन सहरका पर्खालहरूमा हिँड्‌छन्‌;

सहरचाहिँ घृणा र सङ्‌कष्टले भरिएको छ।+

११ विनाश त्यसको माझमा छ;

अत्याचार र छलले त्यसका चोकहरूलाई कहिल्यै छोड्‌दैन।+

१२ मलाई धम्की दिने मानिस मेरो शत्रु होइन,+

ऊ मेरो शत्रु भए त म उसको सामना गर्ने थिएँ।

मेरो विरुद्धमा उठ्‌ने मानिस मेरो दुस्मन होइन,

ऊ मेरो दुस्मन भए त म ऊदेखि लुक्ने थिएँ।

१३ तर मलाई त्यसो गर्ने तिमी, मजस्तै मानिस हौ,*+

मेरो आफ्नै मित्र, जसलाई म राम्ररी चिन्छु।+

१४ हामीबीच कत्ति न्यानो मित्रता थियो!

हामी भीडसँगसँगै परमेश्‍वरको भवनमा जाने गर्थ्यौँ।

१५ मेरा शत्रुहरूमाथि विनाश आइपरोस्‌!+

तिनीहरू जिउँदै चिहानमा* जाऊन्‌!

किनकि तिनीहरूको निवासस्थानमा र तिनीहरूको हृदयमा दुष्टताले बास गर्छ।

१६ तर म त यहोवालाई पुकार्नेछु

र उहाँले मलाई बचाउनुहुनेछ।+

१७ साँझ, बिहान, दिउँसो म पीडाले छटपटाएर सुस्केरा हाल्छु*+

अनि उहाँले मेरो स्वर सुन्‍नुहुन्छ।+

१८ मसित लडाइँ गर्नेहरू अनगिन्ती छन्‌+

तर उहाँले मलाई तिनीहरूबाट जोगाउनुहुनेछ र मेरो मनलाई शान्ति दिनुहुनेछ।

१९ युगौँयुगदेखि सिंहासनमा विराजमान+ हुनुभएको परमेश्‍वरले सुन्‍नुहुनेछ

र तिनीहरूविरुद्ध कदम चाल्नुहुनेछ।+ (सेला)

तिनीहरू सुध्रिन मान्दैनन्‌,

तिनीहरूलाई परमेश्‍वरको कुनै डर छैन।+

२० उसले* आफ्नै मित्रलाई आक्रमण गऱ्‍यो;+

उसले आफ्नो वाचा तोड्‌यो।+

२१ उसको बोली नौनीभन्दा नरम छ+

तर उसको मनमा द्वेष छ।

उसका कुराहरू तेलभन्दा चिप्ला छन्‌

तर ती तरबारजस्तै धारिला छन्‌।+

२२ आफ्नो भारी यहोवामा बिसाऊ+

र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।+

धर्मी मानिस कहिल्यै डग्नेछैन* किनभने उहाँले उसलाई थाम्नुहुनेछ।+

२३ तर हे परमेश्‍वर, तपाईँले ती दुष्टहरूलाई गहिरो खाल्टोमा जाक्नुहुनेछ।+

हत्या र छल गर्न मन पराउने ती मानिसहरूले आफ्नो आधा जीवनसमेत काट्‌न पाउनेछैनन्‌।+

तर म भने तपाईँमै भरोसा गर्नेछु।

निर्देशकलाई; “टाढा रहेको मौन ढुकुर”-अनुसार। मिक्‍ताम।* पलिस्तियालीहरूले दाउदलाई गाथमा पक्रदाँ दाउदले रचेको भजन।+

५६ हे परमेश्‍वर, मलाई अनुग्रह देखाउनुहोस्‌ किनकि मानिसहरू मलाई हमला गरिरहन्छन्‌।

दिनभरि तिनीहरू मसँग लड्‌छन्‌ र मलाई यातना दिन्छन्‌।

 २ मेरा शत्रुहरू दिनभरि मलाई आक्रमण गर्छन्‌;

अहङ्‌कारले भरिएर थुप्रैले मसित लडाइँ गर्छन्‌।

 ३ मलाई डर लाग्दा+ म तपाईँमाथि भरोसा राख्छु।+

 ४ परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।

मानिसले मलाई के गर्न सक्छ र?+

 ५ हरदिन तिनीहरू मलाई आपत्‌मा पार्न खोज्छन्‌;

तिनीहरू मलाई केवल हानि पुऱ्‍याउन चाहन्छन्‌।+

 ६ मलाई मार्ने दाउ खोज्दै

तिनीहरू मलाई आक्रमण गर्न लुकेर बस्छन्‌,+

तिनीहरू मेरो हरेक पाइलामा नजर राख्छन्‌।+

 ७ हे परमेश्‍वर, तिनीहरूको दुष्टताको कारण तिनीहरूलाई तिरस्कार गर्नुहोस्‌,

तपाईँको क्रोधमा राष्ट्रहरूलाई ढालिदिनुहोस्‌।+

 ८ म भागीभागी हिँड्‌नुपरेको बेला तपाईँले मेरो एक-एक पाइला याद गर्नुहुन्छ।+

बिन्ती छ, मेरो आँसु तपाईँको मशकमा* जम्मा गरिदिनुहोस्‌।+

ती तपाईँको पुस्तकमा लेखिएका छैनन्‌ र?+

 ९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्‌।+

यो कुरामा म ढुक्क छु: परमेश्‍वर मेरो साथमा हुनुहुन्छ।+

१० परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

यहोवामा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।

११ परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।+

मानिसले मलाई के गर्न सक्छ र?+

१२ हे परमेश्‍वर, मेरा भाकलहरू म पूरा गरेरै छोड्‌नेछु।+

म मेरो धन्यवाद तपाईँलाई अर्पण गर्नेछु।+

१३ म बाँचिरहन सकूँ र परमेश्‍वरसामु हिँड्‌न सकूँ भनेर+

तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+

अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+

निर्देशकलाई; “नाश हुन नदिनुहोस्‌”-अनुसार। मिक्‍ताम।* दाउद साउलदेखि भागेर गुफामा लुकेको बेला दाउदले रचेको भजन।+

५७ ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि अनुग्रह गर्नुहोस्‌

किनकि म तपाईँमा शरण लिन्छु।+

विपत्ति नटरुन्जेल तपाईँका पखेटाहरूको छायामा म शरण लिन्छु।+

 २ म सर्वोच्च परमेश्‍वरलाई पुकार्छु,

म साँचो परमेश्‍वरलाई पुकार्छु, जसले मेरा विपत्तिहरूको अन्त गरिदिनुहुन्छ।

 ३ उहाँले स्वर्गबाट मदत गर्नुहुनेछ र मलाई बचाउनुहुनेछ।+

मलाई आक्रमण गर्नेलाई उहाँले विफल तुल्याइदिनुहुनेछ। (सेला)

परमेश्‍वरले आफ्नो अटल प्रेम र वफादारी देखाउनुहुनेछ।+

 ४ म सिंहहरूले घेरिएको छु;+

मलाई खर्लप्पै निल्न चाहनेहरूको बीचमा म पस्रिनुपरेको छ,

जसका दाँत भाला र काँडजस्तै छन्‌

अनि जसको जिब्रो धारिलो तरबारजस्तै छ।+

 ५ हे परमेश्‍वर, स्वर्गमा तपाईँको महिमा होस्‌;

तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्‌।+

 ६ मेरो खुट्टाको लागि तिनीहरूले पासो थापेका छन्‌;+

म कष्टले झुकेको छु।+

मेरो बाटोमा तिनीहरूले खाल्टो खने

तर तिनीहरू आफै त्यसमा परे।+ (सेला)

 ७ मेरो हृदय स्थिर छ, हे परमेश्‍वर,+

मेरो हृदय स्थिर छ।

म बाजाहरू बजाउँदै गीत गाउनेछु।

 ८ ए मेरो हृदय,* जाग्‌।

ए तारे बाजा, ए वीणा, जाग!

म बिहानीको उषालाई ब्युँझाउनेछु।+

 ९ हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;+

राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*+

१० किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+

अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।

११ हे परमेश्‍वर, स्वर्गमा तपाईँको महिमा होस्‌;

तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्‌।+

निर्देशकलाई; “नाश हुन नदिनुहोस्‌”-अनुसार। दाउदको रचना। मिक्‍ताम।*

५८ ए मानिसहरू हो, तिमीहरू चुपचाप रहेर कसरी धार्मिकताको बखान गर्न सक्छौ?+

के तिमीहरू उचित न्याय गर्न सक्छौ?+

 २ तिमीहरू त आफ्नो मनमा दुष्ट योजना रच्छौ+

अनि तिमीहरूका हातले देशमा हिंसा मच्चाउँछन्‌।+

 ३ दुष्टहरू गर्भदेखि नै बरालिएका* हुन्छन्‌;

तिनीहरू जन्मेदेखि नै टेढा हुन्छन्‌ र झूट बोल्छन्‌।

 ४ तिनीहरूको विष सर्पको विषजस्तै छ;+

तिनीहरू सुन्‍न नचाहने गोमनजस्तै बहिरा भएका छन्‌,

 ५ जसले सपेराहरूको स्वर सुन्दैन,

चाहे ती सपेराहरू बिन* फुक्न जति नै सिपालु किन नहोऊन्‌।

 ६ हे परमेश्‍वर, दुष्टहरूका सबै दाँत झारिदिनुहोस्‌!

हे यहोवा, यी सिंहहरूका बङ्‌गारा भाँचिदिनुहोस्‌!

 ७ तिनीहरू बगेर जाने पानीझैँ हराएर जाऊन्‌,

उहाँले धनुमा ताँदो चढाऊन्‌ र उहाँको काँडले तिनीहरू ढलून्‌।

 ८ तिनीहरू घस्रँदा-घस्रँदा बिलाएर जाने चिप्लेकिराजस्तै होऊन्‌;

तिनीहरू गर्भमै मरेको बच्चाजस्तै होऊन्‌, जसले सूर्यको किरण कहिल्यै देख्न पाउँदैन।

 ९ तिमीहरूका भाँडाहरूमा काँडाको आगोको राप पर्नुअघि नै

उहाँले आँधीले जस्तै ती हरिया हाँगा र बलिरहेका हाँगालाई उडाएर लैजानुहुनेछ।+

१० धर्मी मानिस रमाउनेछ किनकि परमेश्‍वरले बदला लिनुभएको उसले देख्नेछ;+

उसको पाउ दुष्टको रगतले छपक्कै भिज्नेछ।+

११ तब मानिसहरूले भन्‍नेछन्‌: “निश्‍चय नै धर्मी मानिसले इनाम पाउनेछ।+

पृथ्वीमा न्याय गर्ने एक जना परमेश्‍वर साँच्चै हुनुहुँदो रहेछ।”+

निर्देशकलाई; “नाश हुन नदिनुहोस्‌”-अनुसार। मिक्‍ताम।* दाउदलाई मार्नको लागि साउलले तिनको घरमा चियो गर्न मानिसहरू पठाउँदा दाउदले रचेको भजन।+

५९ हे मेरा परमेश्‍वर, मेरा शत्रुहरूबाट मलाई छुटाउनुहोस्‌;+

मविरुद्ध खडा भएकाहरूदेखि मलाई जोगाउनुहोस्‌।+

 २ दुष्ट चाल चल्नेहरूबाट मलाई छुटाउनुहोस्‌

अनि हिंस्रक* मानिसहरूबाट मलाई बचाउनुहोस्‌।

 ३ हे यहोवा, मैले कुनै पाप गरेको छैनँ न त विद्रोह नै गरेको छु।+

तैपनि हेर्नुहोस्‌! तिनीहरू मलाई आक्रमण गर्न ढुकेर बस्छन्‌,+

बलिया-बलिया मानिसहरू मलाई आक्रमण गर्छन्‌।

 ४ मैले कुनै गल्ती नगरे पनि तिनीहरू मलाई आक्रमण गर्न तम्सिन्छन्‌।

मेरो पुकारा सुनेर उठ्‌नुहोस्‌ र हेर्नुहोस्‌।

 ५ किनकि हे सेनाहरूका परमेश्‍वर यहोवा, तपाईँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ।+

जाग्नुहोस्‌ र जातिजातिले के गर्दै छन्‌, हेर्नुहोस्‌।

विश्‍वासघात गर्ने दुष्टहरूमाथि कृपा नदेखाउनुहोस्‌।+ (सेला)

 ६ हरेक साँझ तिनीहरू फर्कन्छन्‌;+

तिनीहरू कुकुरले जस्तै ङ्‌वार्रङुर्र गर्छन्‌*+ र चाल मार्दै सहरमा घुम्छन्‌।+

 ७ हेर्नुहोस्‌, तिनीहरूका मुखबाट कस्ता कुराहरू निस्कन्छन्‌।

तिनीहरूका ओठ तरबारजस्तै छन्‌,+

तिनीहरू यसो भन्छन्‌: “कसले सुन्दै छ र?”+

 ८ तर हे यहोवा, तिनीहरूलाई देखेर तपाईँ हाँस्नुहुनेछ;+

सबै राष्ट्रलाई तपाईँले हाँसोमा उडाउनुहुनेछ।+

 ९ हे मेरा बल, तपाईँकै बाटो म हेरिरहनेछु+

किनकि परमेश्‍वर मेरो शरणस्थान* हुनुहुन्छ।+

१० मलाई अटल प्रेम गर्नुहुने परमेश्‍वर मलाई सहायता गर्न आउनुहुनेछ;+

परमेश्‍वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+

११ तिनीहरूलाई एकै चोटि नमार्नुहोस्‌ ताकि मेरा मानिसहरूले तपाईँका कार्यहरू नबिर्सून्‌।

तपाईँको शक्‍तिले तिनीहरूलाई यताउता भौँतारिन लगाउनुहोस्‌;

हे यहोवा, हाम्रो ढाल, तिनीहरूको पतन गराउनुहोस्‌।+

१२ आफ्नो मुखले, आफ्नो वचनले गरेको पापले गर्दा

तिनीहरू आफ्नो घमन्डको पासोमा परून्‌।+

किनकि तिनीहरू मानिसहरूलाई सराप्छन्‌ र छली कुरा गर्छन्‌।

१३ तपाईँको क्रोधमा तिनीहरूलाई सखाप पार्नुहोस्‌;+

तिनीहरूको नामोनिसान नरहनेगरि तिनीहरूलाई नाश गर्नुहोस्‌;

याकुबमाथि अनि पृथ्वीको कुनाकुनासम्म शासन गर्ने परमेश्‍वर नै हुनुहुन्छ भनेर तिनीहरूले थाह पाऊन्‌।+ (सेला)

१४ साँझ तिनीहरू फर्केर आऊन्‌

अनि कुकुरले जस्तै ङ्‌वार्रङुर्र गरून्‌* र चाल मार्दै सहरमा घुमून्‌।+

१५ आहार खोज्दै तिनीहरू यताउता भौँतारिऊन्‌;+

तिनीहरू अघाउन नपाऊन्‌ अनि तिनीहरूले बस्ने ठाउँ पनि नभेट्टाऊन्‌।

१६ तर म भने तपाईँको शक्‍तिको गुणगान गाउनेछु;+

बिहानीपख म तपाईँको अटल प्रेमबारे आनन्दित भई बताउनेछु।

किनकि तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+ जहाँ म ढुक्क हुन्छु;

तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ, जहाँ म विपत्तिको बेला दौडेर जान्छु।+

१७ हे मेरा परमेश्‍वर, तपाईँ मेरो शक्‍ति हुनुहुन्छ;

म तपाईँको स्तुति गाउनेछु*+

किनकि परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ, जसले मलाई अटल प्रेम देखाउनुहुन्छ।+

निर्देशकलाई; “सम्झनाको लिली फूल”- अनुसार। मिक्‍ताम।* सिकाउनको लागि। दाउदले अराम-नहरैम र अराम-जोबाहसित लडाइँ गरेको बेला अनि योआबले नुन बेँसीमा फर्किएर १२ हजार एदोमीलाई मारेको बेला दाउदले रचेको भजन।+

६० हे परमेश्‍वर, तपाईँले हामीलाई त्याग्नुभयो; तपाईँले हामीलाई तहसनहस पारिदिनुभयो।+

तपाईँ हामीदेखि क्रोधित हुनुभयो तर अब हामीलाई फेरि स्विकार्नुहोस्‌!

 २ तपाईँले धर्तीलाई हल्लाउनुभयो; तपाईँले त्यसलाई दुई फ्याक पारिदिनुभयो।

त्यसका धाँजाहरू पुरिदिनुहोस्‌ किनकि त्यो खस्नै लागेको छ।

 ३ तपाईँले आफ्ना मानिसहरूलाई दुःखकष्ट झेल्न लगाउनुभयो।

तपाईँले हामीलाई मद्य पिउन लगाउनुभयो, जसले गर्दा हामी लरखरायौँ।+

 ४ तपाईँको भय मान्‍नेहरूलाई एउटा चिन्ह दिनुहोस्‌*

र तिनीहरू भागेर काँड छल्न सकून्‌। (सेला)

 ५ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र जवाफ दिनुहोस्‌+

अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।

 ६ परमेश्‍वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:

“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम दिनेछु।+

अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+

 ७ जसरी मनस्से मेरो हो, गिलाद पनि मेरै हो+

अनि एप्रैम मेरो शिरको टोप* हो;

यहुदा मेरो लागि शासकको लौरो हो।+

 ८ मोआब मेरो हातखुट्टा धुने बाटा हो।+

एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+

अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+

 ९ घेरा हालिएको* सहरमा मलाई कसले पुऱ्‍याइदेला?

एदोमसम्म मलाई कसले डोऱ्‍याइदेला?+

१० हे परमेश्‍वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?

हे हाम्रा परमेश्‍वर, तपाईँले हाम्रो सेनाको साथ छोड्‌नुभएको छैन र?+

११ हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्‌

किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+

१२ परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ+

अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। दाउदको रचना।

६१ हे परमेश्‍वर, मेरो गुहार सुन्‍नुहोस्‌।

मेरो प्रार्थनामा ध्यान दिनुहोस्‌।+

 २ मेरो मन निराशाले भरिँदा*+

म पृथ्वीको पल्लो छेउबाट तपाईँलाई पुकार्नेछु।

मभन्दा अग्लो चट्टानमा मलाई डोऱ्‍याएर लैजानुहोस्‌।+

 ३ किनकि तपाईँ मलाई शत्रुबाट जोगाउने मेरो शरणस्थान,+

मेरो बलियो धरहरा हुनुहुन्छ।

 ४ म तपाईँको पालमा सदाको लागि पाहुना बन्‍नेछु;+

म तपाईँका पखेटामुनि शरण लिनेछु।+ (सेला)

 ५ किनकि हे परमेश्‍वर, तपाईँले मेरो भाकल सुन्‍नुभएको छ।

तपाईँको नामको डर मान्‍नेहरूले पाउने अधिकार तपाईँले मलाई दिनुभएको छ।+

 ६ तपाईँ राजालाई लामो आयु दिनुहुन्छ+

अनि तिनी पुस्तौँपुस्तासम्म जिउनेछन्‌।

 ७ तिनी परमेश्‍वरसामु सिंहासनमा सदालाई विराजमान हुनेछन्‌।+

तपाईँले देखाउनुभएको अटल प्रेम र वफादारीले गर्दा तिनको सधैँ रक्षा होस्‌।+

 ८ तब म दिनैपिच्छे आफ्नो भाकल पूरा गर्नेछु+

अनि म सदासदा तपाईँको नामको स्तुति गाउनेछु।*+

निर्देशकलाई; यदुथुनको।* दाउदले रचेको भजन।

६२ निश्‍चय नै म चुपचाप परमेश्‍वरको बाटो हेर्छु।

मेरो उद्धार उहाँबाटै आउँछ।+

 २ उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान,*+

म कहिल्यै धरमराएर लड्‌नेछैनँ।+

 ३ एउटा मान्छेलाई मार्न तिमीहरू कहिलेसम्म उसलाई आक्रमण गरिरहन्छौ?+

तिमीहरू सबै ढल्किसकेको पर्खालजत्तिकै, भत्किनै लागेको ढुङ्‌गाको पर्खालजत्तिकै खतरनाक छौ।*

 ४ उसको उच्च पदबाट* उसलाई खसाल्न तिनीहरू सरसल्लाह गर्छन्‌;

तिनीहरू झूट बोल्न पाउँदा खुसी हुन्छन्‌।

तिनीहरू मुखले त आशिष्‌ दिन्छन्‌ तर भित्रभित्रै भने सराप दिन्छन्‌।+ (सेला)

 ५ तर म भने चुपचाप परमेश्‍वरको बाटो हेर्छु+

किनकि उहाँले नै मलाई आशा दिनुहुन्छ।+

 ६ उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान;

म कहिल्यै धरमराउनेछैनँ।+

 ७ मेरो उद्धार र मेरो महिमा परमेश्‍वरकै हातमा छ।

परमेश्‍वर नै मेरो बलियो चट्टान, मेरो शरणस्थान हुनुहुन्छ।+

 ८ हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा गर।

तिमीहरूको मनको बह उहाँलाई पोखाओ।+

परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)

 ९ मानिस एक मुठी सास मात्र हो,

मानिसको सन्तान भरपर्दा हुन्छन्‌ भन्‍ने कुरा भ्रम मात्र हो।+

तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+

१० लुटपाट गरेर धनी होइन्छ

वा डकैती गरेर मालामाल भइन्छ भन्‍ने भ्रममा नपर।

तिमीहरूको धनसम्पत्ति बढ्‌दा त्यसमा मन नलगाओ।+

११ परमेश्‍वर मसित बोल्नुभयो, उहाँले दुई पटक यसो भन्‍नुभएको मैले सुनेँ:

शक्‍ति परमेश्‍वरकै हो।+

१२ हे यहोवा, अटल प्रेम पनि तपाईँकै हो+

किनकि तपाईँ हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।+

यहुदाको निर्जनभूमिमा हुँदा दाउदले रचेको भजन।+

६३ हे परमेश्‍वर, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+

म तपाईँको निम्ति तिर्खाउँछु।+

पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+

तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।

 २ मैले तपाईँलाई पवित्र ठाउँमा देखेको छु,

मैले तपाईँको शक्‍ति र तपाईँको महिमा देखेको छु।+

 ३ तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ,+

त्यसैले मेरो ओठले तपाईँको महिमा गर्नेछ।+

 ४ म जीवनभर तपाईँकै प्रशंसा गर्नेछु;

हात उठाएर तपाईँको नाम पुकार्नेछु।

 ५ सबैभन्दा उत्तम र असल भाग पाएर म सन्तुष्ट भएको छु,

त्यसैले मेरो ओठले गाउनेछ, मेरो मुखले तपाईँको जयजयकार गर्नेछ।+

 ६ म ओछ्यानमा ढल्कँदा तपाईँलाई सम्झन्छु,

म रातको हरेक प्रहरमा तपाईँबारे मनन गर्छु।+

 ७ किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ+

अनि तपाईँका पखेटाहरूको छायामुनि म खुसीले कराउँछु।+

 ८ म तपाईँसँग टाँसिरहन्छु

अनि तपाईँको दाहिने हातले मलाई च्याप्प समातिराख्छ।+

 ९ तर मेरो ज्यान लिन खोज्नेहरू

पृथ्वीको गर्भमा पुग्नेछन्‌।

१० तिनीहरू तरबारले काटिनेछन्‌;

तिनीहरू स्यालहरूको* आहारा हुनेछन्‌।

११ तर राजाचाहिँ परमेश्‍वरको आशिष्‌ पाएकोले रमाउनेछन्‌।

उहाँको नाममा शपथ खाने सबैले गर्व गर्नेछन्‌।

किनकि झूटो बोल्नेहरूको मुख बन्द गरिनेछ।

निर्देशकलाई। दाउदले रचेको भजन।

६४ हे परमेश्‍वर, मैले बिन्ती गर्दा मेरो स्वर सुन्‍नुहोस्‌।+

शत्रुहरूको खतरनाक हमलाबाट मेरो जीवन बचाउनुहोस्‌।

 २ दुष्ट मानिसहरूको षड्‌यन्त्रबाट मलाई जोगाउनुहोस्‌,+

कुकर्मीहरूको भीडबाट मलाई जोगाउनुहोस्‌।

 ३ तिनीहरू आफ्नो जिब्रो तरबारजस्तै धारिलो बनाउँछन्‌;

काँड ताकेझैँ तिनीहरू क्रूर शब्दहरूले ताक्छन्‌

 ४ र ढुकेर निर्दोषलाई हान्छन्‌;

कुनै डरविना तिनीहरू उसलाई अचानक हान्छन्‌।

 ५ तिनीहरू आफ्ना दुष्ट विचारहरूमै अडिग रहन्छन्‌;*

तिनीहरू आफूले बिछ्याएका पासोहरू कसरी लुकाउने भनेर सल्लाह गर्छन्‌।

अनि तिनीहरू भन्छन्‌: “ती कसले देख्छ र?”+

 ६ खराब काम गर्न तिनीहरू नयाँ-नयाँ तरिका सोच्छन्‌;

धूर्त चाल चल्न तिनीहरू गुप्तमा योजनाहरू बुन्छन्‌;+

तिनीहरूको मनको विचार बुझ्नै सकिँदैन।

 ७ तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ;+

अचानक तिनीहरू काँडले घाइते हुनेछन्‌।

 ८ आफ्नै जिब्रोले गर्दा तिनीहरूको पतन हुनेछ;+

तिनीहरूलाई हेर्नेहरू सबैले मुन्टो हल्लाउनेछन्‌।

 ९ अनि सबै मानिस डराउनेछन्‌;

परमेश्‍वरले जे गर्नुभयो, तिनीहरूले त्यसको घोषणा गर्नेछन्‌

अनि उहाँका कामहरू तिनीहरूले बुझ्नेछन्‌।+

१० धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌ र उहाँमा शरण लिनेछन्‌+

अनि सोझा मन भएकाहरू सबैले गर्व गर्नेछन्‌।

निर्देशकलाई। दाउदले रचेको भजन। एउटा गीत।

६५ हे परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईँको बाटो हेरिरहेको छ।+

तपाईँसित गरेको भाकल हामी पूरा गर्नेछौँ।+

 २ हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।+

 ३ मेरा दोषहरूले मलाई घेरेका छन्‌+

तर तपाईँले हाम्रा अपराधहरू ढाकिदिनुहुन्छ।+

 ४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ

र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+

तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूले

हामी तृप्त हुनेछौँ।+

 ५ हे हाम्रो उद्धार गर्नुहुने परमेश्‍वर,

आफ्नो धार्मिकताको खातिर तपाईँले आश्‍चर्यजनक कामद्वारा हामीलाई जवाफ दिनुहुनेछ;+

पृथ्वीको कुनाकुनासम्मका सबै मानिसको

र समुद्रपारि टाढा-टाढा बस्ने सबैको भरोसा तपाईँ नै हुनुहुन्छ।+

 ६ तपाईँले* आफ्नो शक्‍तिले पहाडहरूको जग बलियोगरि बसाल्नुभयो;

तपाईँ* महाशक्‍तिले भरिपूर्ण हुनुहुन्छ।+

 ७ समुद्रको गर्जनलाई तपाईँ* शान्त पार्नुहुन्छ,+

त्यसको छाललाई तपाईँ मत्थर गर्नुहुन्छ

अनि जातिजातिको खैलाबैलालाई शान्त गरिदिनुहुन्छ।+

 ८ तपाईँका आश्‍चर्यजनक र भययोग्य कामहरू देखेर टाढा-टाढा रहनेहरू चकित हुनेछन्‌;+

पूर्वदेखि पश्‍चिमसम्म रहनेहरू* तपाईँकै कारण खुसीले कराउनेछन्‌।

 ९ तपाईँ पृथ्वीको रेखदेख गर्नुहुन्छ,

त्यसलाई प्रशस्त उब्जनी दिनुहुन्छ र भरिभराउ पार्नुहुन्छ।+

तपाईँको नदीमा प्रशस्त पानी बग्छ;

तपाईँ मानिसहरूलाई अन्‍न जुटाइदिनुहुन्छ+

किनकि तपाईँले पृथ्वीलाई यसरी नै बनाउनुभएको छ।

१० त्यसका खेतहरूलाई तपाईँ आकाशको पानीले भिजाउनुहुन्छ र माटोलाई सम्म पार्नुहुन्छ;

आकाशबाट झरी बर्साएर तपाईँले त्यसलाई खुकुलो पार्नुहुन्छ; त्यसले दिने उब्जनीमा आशिष्‌ दिनुहुन्छ।+

११ तपाईँ पूरै वर्षलाई भलाइको मुकुट पहिऱ्‍याउनुहुन्छ;

तपाईँका गोरेटाहरू उत्तम-उत्तम कुराले भरिएका हुन्छन्‌।+

१२ निर्जनभूमिका खर्कहरू लहलह भएका छन्‌+

अनि पहाडहरूमा जताततै खुसीयाली छाएको छ।+

१३ खर्कहरू वस्तुभाउले भरिएका छन्‌

अनि बेँसीहरू लहलह अन्‍नका बालीले ढाकिएका छन्‌।+

तिनीहरू जयजयकार गर्छन्‌ र गीत गाउँछन्‌।+

निर्देशकलाई। एउटा गीत। एउटा भजन।

६६ हे सारा पृथ्वी, परमेश्‍वरको जयजयकार गर।+

 २ उहाँको महिमित नामको स्तुति गाओ।*

उहाँको महिमा र प्रशंसा गर।+

 ३ परमेश्‍वरलाई भन: “तपाईँका कामहरू कत्ति आश्‍चर्यलाग्दा र श्रद्धा जगाउने किसिमका छन्‌!+

तपाईँको महाशक्‍तिको कारण

तपाईँका शत्रुहरू तपाईँसामु डरले थरथर काँप्नेछन्‌।+

 ४ सारा पृथ्वीले तपाईँलाई दण्डवत्‌ गर्नेछ;+

तिनीहरूले तपाईँको स्तुति गाउनेछन्‌;

तिनीहरूले तपाईँको नामको स्तुति गाउनेछन्‌।”+ (सेला)

 ५ आओ! परमेश्‍वरका कामहरू हेर।

मानिसका छोराहरूको निम्ति उहाँले गर्नुभएका कामहरू आश्‍चर्यलाग्दा छन्‌।+

 ६ उहाँले समुद्रलाई सुक्खा जमिन बनाइदिनुभयो;+

तिनीहरूले पैदलै नदी तरे।+

त्यहाँ हामीले उहाँको कारण खुसीयाली मनायौँ।+

 ७ उहाँले आफ्नो शक्‍तिले सदासर्वदा शासन गर्नुहुन्छ।+

राष्ट्रहरूमाथि उहाँले आफ्नो नजर राख्नुहुन्छ।+

जो हठी छन्‌, तिनीहरूले आफूलाई माथि नउचालून्‌।+ (सेला)

 ८ हे मानिसहरू हो, हाम्रा परमेश्‍वरको प्रशंसा गर,+

उहाँको प्रशंसाको आवाज गुञ्जियोस्‌।

 ९ उहाँले हामीलाई जीवित राख्नुहुन्छ;+

उहाँले हाम्रो खुट्टालाई डग्न* दिनुहुन्‍न।+

१० किनकि हे परमेश्‍वर, तपाईँले हामीलाई जाँच्नुभएको छ;+

चाँदी खारेझैँ तपाईँले हामीलाई खार्नुभएको छ।

११ तपाईँले हामीलाई जालमा पार्नुभयो;

तपाईँले हामीमाथि ठूलो बोझ लाद्‌नुभयो।

१२ तपाईँले मानिसहरूलाई हामीमाथि कुल्चीमिल्ची गर्न दिनुभयो;*

हामी आगो र पानी पार गरेर आयौँ

अनि तपाईँले हामीलाई सुरक्षित ठाउँमा ल्याउनुभयो।

१३ म तपाईँको भवनमा अग्निभेटी लिएर आउनेछु;+

तपाईँसित गरेको भाकल म पूरा गर्नेछु,+

१४ जुन भाकल कष्टमा पर्दा मेरो ओठले गरेको थियो+

र मेरो मुखले बोलेको थियो।

१५ म तपाईँलाई मोटाघाटा पशुहरूको अग्निभेटी चढाउनेछु;

थुमाहरू चढाउनेछु र तिनीहरूको धुवाँ माथिसम्म उठ्‌नेछ।

म बहरहरू र बाख्राहरू चढाउनेछु। (सेला)

१६ हे परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन।

उहाँले मेरो निम्ति के-के गर्नुभएको छ, म तिमीहरूलाई बताउनेछु।+

१७ मैले आफ्नो मुखले उहाँलाई पुकारेँ

अनि आफ्नो जिब्रोले उहाँको महिमा गरेँ।

१८ मैले आफ्नो मनमा कुनै नराम्रो कुरा पालेर राखेको भए

यहोवाले मेरो पुकारा सुन्‍नुहुने थिएन।+

१९ तर परमेश्‍वरले सुन्‍नुभयो;+

उहाँले मेरो प्रार्थनामा ध्यान दिनुभयो।+

२० परमेश्‍वरको प्रशंसा होस्‌ किनकि उहाँले मेरो प्रार्थनालाई तिरस्कार गर्नुभएन

र मलाई अटल प्रेम देखाउन पनि छोड्‌नुभएन।

निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। एउटा भजन। एउटा गीत।

६७ परमेश्‍वरले हामीमाथि अनुग्रह देखाउनुहुनेछ र आशिष्‌ दिनुहुनेछ;

उहाँले हामीमाथि आफ्नो मुहार चम्काउनुहुनेछ।+ (सेला)

 २ अनि सारा पृथ्वीले तपाईँको मार्गबारे थाह पाउनेछ;+

तपाईँको उद्धारका कार्यहरू सबै जातिले थाह पाउनेछन्‌।+

 ३ हे परमेश्‍वर, जातिजातिले तपाईँको प्रशंसा गरून्‌;

सबै जातिले तपाईँको प्रशंसा गरून्‌।

 ४ राष्ट्रहरूले रमाहट गरून्‌ र खुसीले कराऊन्‌+

किनकि तपाईँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।+

तपाईँले पृथ्वीका राष्ट्रहरूलाई बाटो देखाउनुहुनेछ। (सेला)

 ५ हे परमेश्‍वर, जातिजातिले तपाईँको प्रशंसा गरून्‌;

सबै जातिले तपाईँको प्रशंसा गरून्‌।

 ६ पृथ्वीले आफ्नो उब्जनी दिनेछ;+

परमेश्‍वरले, हो, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ।+

 ७ परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ

अनि सारा पृथ्वीका मानिसहरूले उहाँको भय मान्‍नेछन्‌।*+

निर्देशकलाई। दाउदले रचेको भजन। एउटा गीत।

६८ परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू तितरबितर होऊन्‌

अनि उहाँलाई घृणा गर्नेहरू उहाँको सामुन्‍नेबाट भागून्‌।+

 २ हावाले धुवाँलाई उडाएझैँ तिनीहरूलाई धपाउनुहोस्‌;

आगोको अगाडि मैन पग्लेझैँ

दुष्टहरू परमेश्‍वरको सामुन्‍नेबाट नष्ट होऊन्‌।+

 ३ तर धर्मीहरू रमाऊन्‌;+

परमेश्‍वरसामु तिनीहरू अत्यन्तै खुसी होऊन्‌;

तिनीहरू हर्षित हुँदै कराऊन्‌।

 ४ परमेश्‍वरको निम्ति गाओ; उहाँको नामको स्तुति गाओ।*+

मरुभूमि* हुँदै सवार हुनुहुनेको निम्ति गीत गाओ।

उहाँको नाम याह* हो!+ उहाँसामु खुसीयाली मनाओ।

 ५ परमेश्‍वर, जो पवित्र निवासस्थानमा हुनुहुन्छ,+

उहाँ अनाथहरूका* बुबा र विधवाहरूका रक्षक* हुनुहुन्छ।+

 ६ उहाँ एक्लो मानिसलाई बस्नको लागि घर दिनुहुन्छ;+

उहाँ कैदीहरूलाई मुक्‍त गरेर तिनीहरूलाई समृद्ध बनाउनुहुन्छ।+

तर हठी* मानिस भने पटपटी फुटेको सुक्खा जमिनमै रहनुपर्नेछ।+

 ७ हे परमेश्‍वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुभयो,*+

जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला)

 ८ तब परमेश्‍वरसामु धर्ती हल्लियो;+

आकाशबाट पानी बर्सियो

अनि इस्राएलका परमेश्‍वरको सामुन्‍ने यो सिनै डाँडा काँप्यो।+

 ९ हे परमेश्‍वर, तपाईँले प्रशस्त पानी बर्साउनुभयो;

क्लान्त भएका तपाईँका मानिसहरूलाई* तपाईँले नयाँ जोसले भरिदिनुभयो।

१० तिनीहरू तपाईँका पालहरूमा बसोबास गरे;+

हे परमेश्‍वर, तपाईँले आफ्नो भलाइको कारण गरिबहरूका निम्ति सबै जुटाइदिनुभयो।

११ यहोवाले आज्ञा दिनुहुन्छ;

स्त्रीहरूको विशाल सेनाले उहाँको सुसमाचार घोषणा गर्छ।+

१२ सेनाहरूका राजाहरू भाग्छन्‌,+ हो, तिनीहरू कुलेलाम ठोक्छन्‌!

अनि घरमा रहेका स्त्रीहरूले चाहिँ लुटको माल बाँड्‌छन्‌।+

१३ तिमीहरू आगोको धुनी* लगाएर सुत्नुपरे पनि

त्यहाँ तिमीहरूले चाँदीको पखेटा भएको ढुकुर पाउनेछौ

अनि त्यसका प्वाँखहरूचाहिँ निखुर* सुनका हुनेछन्‌।

१४ जब सर्वशक्‍तिमान्‌ परमेश्‍वरले त्यहाँका राजाहरूलाई तितरबितर पारिदिनुभयो,+

तब जाल्मोन डाँडामा हिउँ पऱ्‍यो।*

१५ बासानको पहाड+ परमेश्‍वरको पहाड* हो;

बासानको पहाड टाकुराहरू भएको पहाड हो।

१६ ए टाकुराहरू भएका पहाड हो, तिमीहरू किन त्यस डाँडाको ईर्ष्या गर्छौ,

जुन डाँडालाई परमेश्‍वरले आफ्नो निवासस्थानको रूपमा रोज्नुभएको छ?+

साँच्चै, यहोवा त्यहाँ सदासर्वदा बास गर्नुहुन्छ।+

१७ परमेश्‍वरका युद्ध-रथहरू दसौँ हजार, हजारौँ-हजार छन्‌।+

यहोवा सिनै डाँडाबाट पवित्र ठाउँमा आउनुभएको छ।+

१८ हे याह, हे परमेश्‍वर, तपाईँ माथि उक्लनुभयो,+

तपाईँले कैदीहरूलाई आफूसित लैजानुभयो,

तपाईँले वरदानको रूपमा पुरुषहरू लैजानुभयो,+

हो, तपाईँले जिद्दी मानिसहरूलाई समेत+ आफूसँगै लैजानुभयो र तिनीहरूसँग बास गर्नुभयो।

१९ यहोवाको प्रशंसा होस्‌, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ,+

उहाँ हामीलाई उद्धार गर्नुहुने साँचो परमेश्‍वर हुनुहुन्छ। (सेला)

२० साँचो परमेश्‍वर हामीलाई छुटकारा दिनुहुने परमेश्‍वर हुनुहुन्छ;+

ब्रह्‍माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+

२१ हो, परमेश्‍वरले आफ्ना शत्रुहरूको टाउको

अनि पाप गर्न नछोड्‌नेहरूको केशले भरिएको शिर कुच्याइदिनुहुनेछ।+

२२ यहोवाले यसो भन्‍नुभएको छ: “म तिनीहरूलाई बासानबाट फर्काएर ल्याउनेछु;+

म तिनीहरूलाई समुद्रको गहिराइबाट फर्काएर ल्याउनेछु

२३ ताकि तिमीहरूको खुट्टा रगतले लतपतियोस्‌+

अनि तिमीहरूका कुकुरहरूका जिब्रोले शत्रुहरूको रगत चाटून्‌।”

२४ हे परमेश्‍वर, तिनीहरूले तपाईँको विजययात्रा देख्छन्‌;

मेरा परमेश्‍वर, मेरा राजा पवित्र ठाउँतर्फ अघि बढ्‌नुभएको देख्छन्‌।+

२५ गायकहरू अघिअघि हिँड्‌छन्‌, तिनीहरूको पछिपछि तारेबाजा बजाउँदै वाद्यवादकहरू आउँछन्‌+

अनि बीचमा खैँजडी बजाउने युवतीहरू छन्‌।+

२६ समुदायमा परमेश्‍वरको प्रशंसा गर;

हे इस्राएलको मूलबाट निस्केकाहरू हो, यहोवाको प्रशंसा गर।+

२७ त्यहाँ सबैभन्दा सानो बिन्यामिनको+ कुलले तिनीहरूलाई आफ्नो अधीनमा राखेको छ,

साथै यहुदाको कुलका शासकहरूले र हल्लाखल्ला गर्ने उसको भीडले

अनि जबुलुनको कुलका र नप्तालिको कुलका शासकहरूले पनि तिनीहरूलाई अधीनमा राखेका छन्‌।

२८ तिमी बलियो हुनेछौ भनेर परमेश्‍वरले तय गर्नुभएको छ।

हे परमेश्‍वर, तपाईँ जसले हाम्रो खातिर कदम चाल्नुभएको छ, आफ्नो शक्‍ति प्रकट गर्नुहोस्‌।+

२९ यरुसलेममा भएको तपाईँको मन्दिरको कारण+

राजाहरूले तपाईँको लागि उपहारहरू ल्याउनेछन्‌।+

३० नर्कटहरूबीच भएका जङ्‌गली जनावरहरूलाई हप्काउनुहोस्‌,

गोरुहरू+ र बाछाहरूको बथानलाई हप्काउनुहोस्‌,

जबसम्म जातिजातिले चाँदीका टुक्राहरू ल्याएर* तपाईँलाई दण्डवत्‌ गर्दैनन्‌।

तर उहाँले युद्ध गर्न रमाउने जातिहरूलाई तितरबितर पारिदिनुहुन्छ।

३१ मिश्रबाट* काँसाका सामानहरू ल्याइनेछ*+

अनि कुसले* परमेश्‍वरलाई उपहार चढाउन आतुरी गर्नेछ।

३२ हे पृथ्वीका राज्यहरू, परमेश्‍वरको निम्ति गाओ;

यहोवाको स्तुति गाओ।*+ (सेला)

३३ उहाँको लागि, जो प्राचीन समयदेखि सर्वोच्च स्वर्गमा सवार हुनुहुन्छ।+

सुन! उहाँको आवाज गर्जन्छ, उहाँको आवाज कत्ति शक्‍तिशाली छ।

३४ परमेश्‍वरको शक्‍तिलाई स्विकार।+

इस्राएलमा उहाँको वैभव छाएको छ

अनि उहाँको शक्‍ति आकाशमा* छ।

३५ आफ्नो शानदार पवित्र स्थानमा* विराजमान परमेश्‍वर भय र श्रद्धाको योग्य हुनुहुन्छ।+

उहाँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ,

जसले मानिसहरूलाई बल र शक्‍ति दिनुहुन्छ।+

परमेश्‍वरको प्रशंसा होस्‌।

निर्देशकलाई; “लिली”-अनुसार। दाउदको रचना।

६९ हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, म पानीमा डुब्नै लागिसकेँ।+

 २ म गहिरो दलदलमा भासिएको छु, जहाँ टेक्नलाई जमिन नै छैन।+

म गहिरो पानीमा डुबेको छु

अनि उर्लेको भेलले मलाई बगाएको छ।+

 ३ गुहार माग्दा-माग्दा म थाकिसकेँ;+

मेरो घाँटी सुकिसक्यो।

मेरा परमेश्‍वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू टट्टाइसके।+

 ४ विनाकारण मलाई घृणा गर्नेहरू+

मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्‌।

मेरो ज्यान लिन खोज्नेहरू,

मेरा धूर्त शत्रुहरू* धेरै भएका छन्‌।

मैले चोर्दै नचोरेको कुरासमेत दिन मलाई कर लागेको छ।

 ५ हे परमेश्‍वर, मेरो मूर्खताबारे तपाईँ अनजान हुनुहुन्‍न,

मेरो दोष तपाईँबाट लुकेको छैन।

 ६ हे ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा,

तपाईँमा आशा राख्नेहरू मेरो कारण लज्जित हुन नपरोस्‌।

हे इस्राएलका परमेश्‍वर,

तपाईँको खोजी गर्नेहरूले मेरो कारण बेइज्जती भोग्न नपरोस्‌।

 ७ तपाईँको खातिर मैले बदनामी सहेको छु;+

बेइज्जतीले मेरो अनुहार ढाकेको छ।+

 ८ मेरा दाजुभाइहरूको लागि म पराई भएको छु,

मेरा साक्खै दाजुभाइहरूको लागि म परदेशी भएको छु।+

 ९ तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+

जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+

१० उपवास बसेर आफैलाई नम्र तुल्याउँदा*

मैले अपमान सहनुपऱ्‍यो।

११ जब मैले भाङ्‌ग्रा ओढेँ,

तब म तिनीहरूको लागि हाँसोको पात्र* बनेँ।

१२ सहरको मूलढोकामा बस्नेहरू मेरै कुरा गरिरहन्छन्‌,

म जँड्‌याहाहरूको गीत बनेको छु।

१३ तर हे यहोवा, तपाईँले निगाह प्रकट गर्नुहुने समयमा+

मेरो प्रार्थना तपाईँसम्म पुगोस्‌।

हे परमेश्‍वर, तपाईँको अपार प्रेमको* कारण मलाई जवाफ दिनुहोस्‌

र तपाईँ नै साँचो उद्धारकर्ता हुनुहुन्छ भनी देखाउनुहोस्‌।+

१४ मलाई दलदलबाट निकाल्नुहोस्‌;

मलाई भासिएर जान नदिनुहोस्‌।

मलाई घृणा गर्नेहरूको हातबाट मलाई बचाउनुहोस्‌;

गहिरो पानीमा डुब्नबाट मलाई जोगाउनुहोस्‌।+

१५ उर्लेर आएको बाढीले मलाई बगाउन नपाओस्‌,+

गहिरो पानीले मलाई निल्न नपाओस्‌

अनि खाडलले* आफ्नो मुख ममाथि बन्द गर्न नपाओस्‌।+

१६ हे यहोवा, मलाई जवाफ दिनुहोस्‌ किनकि तपाईँको अटल प्रेम उत्तम छ।+

तपाईँको अपार कृपा देखाउँदै मतिर फर्किनुहोस्‌।+

१७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्‌।+

मलाई जवाफ दिन ढिलो नगर्नुहोस्‌ किनकि म सङ्‌कटमा परेको छु।+

१८ मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गर्नुहोस्‌।

मेरा शत्रुहरूको हातबाट मलाई छुटाउनुहोस्‌।

१९ मेरो अपमान, मेरो बेइज्जती अनि मेरो बदनामी तपाईँको नजरबाट लुकेको छैन।+

मेरा सबै वैरीलाई तपाईँ देख्नुहुन्छ।

२० अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।*

मैले सहानुभूतिको आशा गरेको थिएँ तर कतै पाइनँ,+

सान्त्वनाको आशा गरेको थिएँ तर कतै भेट्टाइनँ।+

२१ तर तिनीहरूले मलाई खानेकुराको सट्टा विष* दिए+

अनि मलाई तिर्खा लाग्दा अमिलो मद्य दिए।+

२२ तिनीहरूको भोज* तिनीहरूको निम्ति पासो बनोस्‌

र तिनीहरूको धनसम्पत्ति तिनीहरूको लागि फन्दा बनोस्‌।+

२३ तिनीहरूको आँखामा अन्धकार छाइरहोस्‌ र तिनीहरूले नदेखून्‌,

तिनीहरूको खुट्टा* थरथर काँपिरहोस्‌।

२४ तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌

अनि तपाईँको बल्दो रिसले तिनीहरूलाई भस्म गरोस्‌।+

२५ तिनीहरूको छाउनी* उजाड होस्‌;

तिनीहरूको पालमा बास गर्ने कोही नहोस्‌।+

२६ किनकि जसलाई तपाईँले चोट पुऱ्‍याउनुभयो, तिनीहरू उसको पिछा गर्छन्‌

अनि ज-जसलाई तपाईँले घायल पार्नुभयो, उनीहरूको पीडाबारे तिनीहरू कुरा गरिरहन्छन्‌।

२७ तिनीहरूको दोषमाथि दोष थोपरिदिनुहोस्‌,

तपाईँको नजरमा तिनीहरू धर्मी नठहरिऊन्‌।

२८ जीवनको पुस्तकबाट तिनीहरूको नाम मेटियोस्‌,+

धर्मीहरूसित तिनीहरूको नाम नलेखियोस्‌।+

२९ म दुःखमा परेको छु र पीडा भोगिरहेको छु।+

हे परमेश्‍वर, रक्षा गर्ने तपाईँको शक्‍तिले मलाई सुरक्षित राख्नुहोस्‌।

३० म परमेश्‍वरको नामको स्तुति गाउनेछु,

म धन्यवाद चढाएर उहाँको महिमा गर्नेछु।

३१ त्यसले नै यहोवालाई बहरको बलिले भन्दा धेरै प्रसन्‍न तुल्याउनेछ,

सिङ र खुर भएको बहरको बलिले भन्दा धेरै।+

३२ नम्रहरूले त्यो देख्नेछन्‌ र रमाउनेछन्‌।

तिमीहरू जो परमेश्‍वरको खोजी गर्छौ, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्‌।

३३ किनकि यहोवाले दरिद्रको पुकारा सुन्‍नुहुन्छ,+

अनि कैदमा परेका आफ्ना मानिसहरूलाई उहाँले हेला गर्नुहुन्‍न।+

३४ आकाश र पृथ्वीले उहाँको प्रशंसा गरून्‌,+

समुद्र र त्यसमा भएका सबै जीवले उहाँको प्रशंसा गरून्‌।

३५ किनकि परमेश्‍वरले सियोनको उद्धार गर्नुहुनेछ+

र यहुदाका सहरहरूलाई फेरि बसाल्नुहुनेछ,

उहाँका मानिसहरू त्यहाँ रहनेछन्‌ र त्यसमाथि* अधिकार गर्नेछन्‌।

३६ उहाँका सेवकहरूका सन्तानले त्यसमाथि अधिकार गर्नेछन्‌+

अनि उहाँको नामलाई प्रेम गर्नेहरू+ त्यहाँ रहनेछन्‌।

निर्देशकलाई। दाउदको रचना, मानिसहरूको लागि सम्झौटा।

७० हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌;

हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्‌।+

 २ मेरो ज्यान लिन खोज्नेहरू लज्जित होऊन्‌

र तिनीहरूले अपमान भोगून्‌।

मेरो विपत्तिमा रमाउनेहरू

बेइज्जती भोगेर फर्कून्‌।

 ३ मलाई देखेर “आहा! आहा!” भन्‍नेहरू

आफ्नै बेइज्जतीको कारण फर्कन बाध्य होऊन्‌।

 ४ तर तपाईँको खोजी गर्नेहरू

तपाईँको साथ पाएकोमा रमाऊन्‌ र खुसी होऊन्‌।+

अनि तपाईँले गर्नुभएका उद्धारका कामहरू मन पराउनेहरूले सधैँ यसो भनून्‌:

“परमेश्‍वरको महिमा होस्‌!”

 ५ तर म त असहाय र गरिब छु;+

हे परमेश्‍वर, मेरो खातिर झट्टै कदम चाल्नुहोस्‌।+

तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+

हे यहोवा, ढिलो नगर्नुहोस्‌।+

७१ हे यहोवा, मैले तपाईँमा नै शरण लिएको छु।

म कहिल्यै लज्जित हुन नपरोस्‌।+

 २ मलाई बचाउनुहोस्‌, मेरो उद्धार गर्नुहोस्‌ किनकि तपाईँ असल हुनुहुन्छ।

तपाईँको कान मतिर फर्काउनुहोस्‌* र मलाई बचाउनुहोस्‌।+

 ३ मेरो निम्ति चट्टानको गढ बन्‍नुहोस्‌,

जहाँ म सधैँ शरण लिन सक्छु।

मलाई बचाइयोस्‌ भन्‍ने आज्ञा दिनुहोस्‌

किनकि तपाईँ मेरो चट्टान र किल्ला हुनुहुन्छ।+

 ४ हे मेरा परमेश्‍वर, मलाई दुष्टको हातबाट छुटाउनुहोस्‌,+

अत्याचारीको पन्जाबाट मलाई छुटकारा दिनुहोस्‌।

 ५ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;

ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+

 ६ जन्मेदेखि नै म तपाईँमा भर परेको छु;

तपाईँले नै मलाई मेरी आमाको गर्भबाट निकाल्नुभयो।+

म निरन्तर तपाईँको प्रशंसा गर्छु।

 ७ म धेरैको निम्ति चमत्कारजस्तै भएको छु।

तर मेरो बलियो शरणस्थान तपाईँ नै हुनुहुन्छ।

 ८ मेरो मुख तपाईँको प्रशंसाका शब्दहरूले भरिएको छ;+

सारा दिन म तपाईँको वैभवको बयान गर्दछु।

 ९ मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्‌;+

मेरो बल घटे पनि मलाई हेला नगर्नुहोस्‌।+

१० मेरा शत्रुहरू मेरो विरुद्धमा बोल्छन्‌

अनि मेरो ज्यान लिन खोज्नेहरू आपसमा षड्‌यन्त्र रच्छन्‌।+

११ तिनीहरू भन्छन्‌: “परमेश्‍वरले त्यसलाई त्याग्नुभएको छ।

त्यसलाई खेदेर समातौँ किनकि त्यसलाई बचाउने कोही छैन।”+

१२ हे परमेश्‍वर, मदेखि टाढा नहुनुहोस्‌।

हे मेरा परमेश्‍वर, मलाई मदत गर्न झट्टै आउनुहोस्‌।+

१३ मेरो विरोध गर्नेहरू लज्जित होऊन्‌,

तिनीहरू नाश भएर जाऊन्‌।+

ममाथि विपत्ति ल्याउन चाहनेहरूलाई

बेइज्जती र अपमानले ढाकोस्‌।+

१४ तर म भने तपाईँको प्रतीक्षा गरिरहनेछु;

म तपाईँको अझ धेरै प्रशंसा गर्नेछु।

१५ तपाईँका असल कामहरू

र तपाईँले गर्नुभएका उद्धारका कामहरू अनगिन्ती भए तापनि+

सारा दिन मेरो मुखले तिनको बखान गरिरहनेछ।+

१६ हे ब्रह्‍माण्डका मालिक यहोवा,

म आएर तपाईँका शक्‍तिशाली कामहरूबारे बताउनेछु;

तपाईँकै, हो, केवल तपाईँकै धार्मिकताको म बयान गर्नेछु।

१७ हे परमेश्‍वर, मेरो युवावस्थादेखि नै तपाईँले मलाई सिकाउनुभयो+

अनि अहिलेसम्म पनि तपाईँका आश्‍चर्यजनक कामहरूबारे म घोषणा गर्दै छु।+

१८ हे परमेश्‍वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌।+

मैले तपाईँको शक्‍तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँ

अनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+

१९ हे परमेश्‍वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्‌;+

तपाईँका कार्यहरू महान्‌ छन्‌;

हे परमेश्‍वर, तपाईँजस्तो अरू को छ र?+

२० तपाईँले मलाई थुप्रै विपत्ति र दुःख भोग्न दिनुभए पनि+

मलाई फेरि नयाँ जोसले भरिदिनुहोस्‌;

मलाई पृथ्वीको गहिराइबाट* बाहिर निकाल्नुहोस्‌।+

२१ मेरो मान बढाइदिनुहोस्‌,

मेरो वरिपरि रहनुहोस्‌ र मलाई सान्त्वना दिनुहोस्‌।

२२ तब हे मेरा परमेश्‍वर, तपाईँको वफादारीको कारण+

म तारे बाजा बजाएर तपाईँको प्रशंसा गर्नेछु।

हे इस्राएलका पवित्र परमेश्‍वर,

म वीणा बजाएर तपाईँको स्तुति गाउनेछु।*

२३ मेरा ओठहरूले खुसीसाथ कराउँदै तपाईँको स्तुतिगान गाउनेछन्‌+

किनकि तपाईँले मेरो ज्यान जोगाउनुभएको छ।+

२४ मेरो जिब्रोले सारा दिन तपाईँका असल कामहरूको बयान गर्नेछ*+

किनकि मेरो विनाश गर्न खोज्नेहरू लाजमा पर्नेछन्‌ र अपमानित हुनेछन्‌।+

सुलेमानबारे।

७२ हे परमेश्‍वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्‌,

राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्‌।+

 २ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्‌।

अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्‌।+

 ३ पहाडहरूले मानिसहरूको लागि शान्ति ल्याऊन्‌

अनि डाँडाहरूले धार्मिकता ल्याऊन्‌।

 ४ तिनले दीनदुःखीको रक्षा* गरून्‌,

गरिबका सन्तानलाई बचाऊन्‌

अनि धोकेबाजहरूलाई चकनाचुर पारून्‌।+

 ५ सूर्य रहुन्जेल र चन्द्रमा रहुन्जेल

तिनीहरूले तपाईँको डर मान्‍नेछन्‌,

पुस्तौँपुस्तासम्म तिनीहरूले तपाईँको डर मान्‍नेछन्‌।+

 ६ तिनी काटिएको घाँसमाथि बर्सने पानीजस्तै

अनि पृथ्वीलाई भिजाउने झरीजस्तै हुनेछन्‌।+

 ७ तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ,+

जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।+

 ८ तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म,

युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+

 ९ निर्जल भूमिमा रहनेहरू तिनीसामु झुक्नेछन्‌

अनि तिनका शत्रुहरूले धुलो चाट्‌नेछन्‌।+

१० तर्सिसका राजाहरूले र टापुका राजाहरूले सौगात ल्याउनेछन्‌+

अनि सेबा र सिबाका राजाहरूले उपहारहरू ल्याउनेछन्‌।+

११ सबै राजाले तिनलाई दण्डवत्‌ गर्नेछन्‌

र सबै राष्ट्रले तिनको सेवा गर्नेछन्‌।

१२ मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌,

दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌।

१३ तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌

अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌।

१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌,

तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।

१५ तिनी दीर्घायु होऊन्‌ र तिनलाई सेबाको सुन+ दिइयोस्‌,

तिनको लागि निरन्तर प्रार्थना गरियोस्‌

अनि सारा दिन तिनलाई आशिष्‌ दिइयोस्‌।

१६ पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ;+

पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।

तिनको फसल लेबनानका रूखहरूजस्तै हराभरा हुनेछ+

अनि सहरमा चाहिँ मानिसहरू पृथ्वीका घाँसजस्तै सप्रनेछन्‌।+

१७ तिनको नाम सदासर्वदा रहिरहोस्‌,+

सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्‌।

मानिसहरूले तिनीमार्फत आशिष्‌ पाऊन्‌;+

सबै राष्ट्रले तिनलाई धन्यको भनून्‌।

१८ इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,+

उहाँले जस्तो अचम्मका कामहरू गर्ने अरू कोही छैन।+

१९ उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्‌+

अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्‌।+

आमिन, आमिन।

२० यिसैका छोरा दाउदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।+

भाग तीन

(भजन ७३-८९)

आसापले रचेको भजन।+

७३ परमेश्‍वर इस्राएलको लागि, चोखो मन भएकाहरूको लागि साँच्चै भलो हुनुहुन्छ।+

 २ तर मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए;

मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।+

 ३ अहङ्‌कारीलाई देख्दा म डाही भएँ,

दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+

 ४ तिनीहरू सास्ती नभोगी मर्छन्‌;

तिनीहरू हृष्टपुष्ट छन्‌।*+

 ५ अरूले जस्तो तिनीहरूले दुःख खेप्नुपरेको छैन+

न त अरू मानिसले जस्तो विपत्ति नै भोग्नुपरेको छ।+

 ६ त्यसैले घमन्ड तिनीहरूको गलाको हार बनेको छ;+

तिनीहरू हिंसाको वस्त्र पहिरिन्छन्‌।

 ७ दुष्टहरू सुखविलासको जीवन बिताइरहेका छन्‌ र तिनीहरू मोटाएका छन्‌।*

तिनीहरूले आफ्नो मनले चिताएको भन्दा धेरै हासिल गरेका छन्‌।

 ८ तिनीहरू गिल्ला गर्छन्‌ र दुष्ट कुरा बोल्छन्‌।+

अहङ्‌कारी भएर तिनीहरू धम्की दिन्छन्‌।+

 ९ तिनीहरू यसरी कुरा गर्छन्‌, मानौँ, तिनीहरू आकाशजत्तिकै उच्च छन्‌,

तिनीहरूको जिब्रो पृथ्वीमा धाक लगाउँदै हिँड्‌छ।

१० त्यसैले उहाँका मानिसहरू तिनीहरूतिर फर्कन्छन्‌

र तिनीहरूले दिने प्रशस्त पानी पिउँछन्‌।

११ तिनीहरू भन्छन्‌: “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र?+

सर्वोच्च परमेश्‍वरलाई साँच्चै थाह हुन्छ र?”

१२ हो, ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्‌।+

तिनीहरू आफ्नो धनसम्पत्ति बढाउँदै लैजान्छन्‌।+

१३ मैले बेकारमा आफ्नो हृदय चोखो राखेछु

र निर्दोषतामा आफ्नो हात धोएछु।+

१४ सारा दिन मलाई छटपटी भयो;+

बिहानैपिच्छे मैले सुधार पाएँ।+

१५ तर यदि मैले यी कुरा भनेको भए

मैले तपाईँका मानिसहरूलाई धोका दिएको हुने थिएँ।

१६ मैले यी कुरा बुझ्न खोज्दा

म व्याकुल भएँ।

१७ तर परमेश्‍वरको शानदार पवित्र स्थानमा* पसेपछि

र ती दुष्टहरूको भविष्य कस्तो हुन्छ भनी बुझेपछि म व्याकुल हुन छोडेँ।

१८ निश्‍चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+

तिनीहरू नाश होऊन्‌ भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+

१९ हेर! तिनीहरू अचानक नष्ट हुन्छन्‌।+

डरलाग्दो तरिकाले तिनीहरू अकस्मात्‌ नाश हुन्छन्‌!

२० निद्राबाट ब्युँझिएपछि सपनामा देखेको कुरा बिर्सिएजस्तै

हे यहोवा, तपाईँ जाग्नुभएपछि तपाईँले तिनीहरूलाई सम्झनुहुनेछैन।*

२१ तर मेरो मन कुँडियो+

र भित्रैदेखि* मलाई साह्रै पीडा भयो।

२२ म मूर्ख थिएँ र ममा समझको कमी थियो;

म तपाईँसामु निर्बुद्धि पशुजस्तै थिएँ।

२३ तर अब म सधैँ तपाईँकै साथमा रहन्छु;

तपाईँले मेरो दाहिने हात समात्नुभएको छ।+

२४ तपाईँ मलाई सल्लाह दिएर डोऱ्‍याउनुहुन्छ+

र पछि तपाईँले मेरो सम्मान गराउनुहुनेछ।+

२५ मलाई मदत गर्ने तपाईँबाहेक स्वर्गमा को छ र?

तपाईँ मेरो साथमा होउन्जेल मलाई पृथ्वीमा अरू केही कुरा चाहिँदैन।+

२६ मेरो तन र मन कमजोर होला

तर परमेश्‍वर मेरो मनको चट्टान हुनुहुन्छ र सदाको लागि मेरो अंश हुनुहुन्छ।+

२७ साँच्चै, जो तपाईँबाट टाढा हुन्छन्‌, तिनीहरू नाश हुनेछन्‌।

विश्‍वासघात गरेर* तपाईँलाई छोड्‌ने सबैको तपाईँले अन्त गरिदिनुहुनेछ।*+

२८ तर मेरो लागि भने परमेश्‍वरको नजिक जानु उत्तम छ।+

ब्रह्‍माण्डका मालिक यहोवाका सबै कामको बयान गर्न सकूँ भनेर+

मैले तपाईँलाई आफ्नो शरणस्थान बनाएको छु।

मास्किल।* आसापको रचना।+

७४ हे परमेश्‍वर, तपाईँले हामीलाई किन सदाको लागि त्याग्नुभयो?+

आफ्नै खर्कको बगालमाथि तपाईँको रिस किन दन्कियो?+

 २ तपाईँले धेरै पहिले आफ्नो निम्ति रोज्नुभएका मानिसहरूलाई* सम्झनुहोस्‌+

अनि आफ्नो उत्तराधिकार बनाउन तपाईँले छुटाउनुभएको जातिलाई सम्झनुहोस्‌।+

सियोन डाँडालाई सम्झनुहोस्‌, जहाँ तपाईँ बास गर्नुहुन्थ्यो।+

 ३ तहसनहस भएको ठाउँतिर तपाईँको पाइला चाल्नुहोस्‌।+

शत्रुहरूले पवित्र ठाउँका सबै कुरालाई नाश गरेका छन्‌।+

 ४ तपाईँको उपासना गर्ने ठाउँमा तपाईँका शत्रुहरू गर्जिए;+

त्यहाँ तिनीहरूले आफ्नै झन्डा गाडेका छन्‌।

 ५ तिनीहरू घना जङ्‌गलका रूखहरूलाई बन्चरोले ढाल्ने मानिसहरूजस्तै थिए।

 ६ त्यहाँ खोपिएका सबै कुरालाई+ तिनीहरूले बन्चरो र फलामको डन्डाले चकनाचुर पारिदिए।

 ७ तपाईँको पवित्र स्थानमा* तिनीहरूले आगो लगाइदिए।+

तपाईँको नाम बहन गर्ने वासस्थानलाई ध्वस्त पारेर तिनीहरूले त्यसलाई अपवित्र पारे।

 ८ तिनीहरू र तिनीहरूका सन्तानले मनमनै यसो भने:

“यस भूमिमा भएका परमेश्‍वरको उपासना गर्ने सबै ठाउँ जलाउनुपर्छ।”

 ९ त्यहाँ हामी कुनै चिन्ह देख्दैनौँ;

त्यहाँ कोही पनि भविष्यवक्‍ता बाँकी छैन

अनि कहिलेसम्म यस्तो हुने हो, हामी कसैलाई थाह छैन।

१० हे परमेश्‍वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्‌?+

के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्‌?+

११ तपाईँ आफ्नो हातलाई, आफ्नो दाहिने हातलाई किन रोकेर राख्नुहुन्छ?+

बगलीबाट* आफ्नो हात निकाल्नुहोस्‌ र तिनीहरूको अस्तित्व मेटिदिनुहोस्‌।

१२ तर परमेश्‍वर, जसले पृथ्वीमा उद्धारको काम गर्नुहुन्छ,+

उहाँ धेरै अघिदेखि नै मेरा राजा हुनुहुन्छ।

१३ तपाईँले आफ्नो शक्‍तिले समुद्रमा हलचल मच्चाउनुभयो;+

समुद्रका विशाल जलजन्तुका शिर तपाईँले कुच्याउनुभयो।

१४ लेवियातानको* टाउको तपाईँले कुच्याउनुभयो।

तपाईँले त्यसलाई निर्जनभूमिमा बस्नेहरूको लागि आहारको रूपमा दिनुभयो।

१५ तपाईँले झरना र खोलाहरूको मूल फुटाउनुभयो;+

सधैँ बगिरहने नदीलाई तपाईँले सुकाइदिनुभयो।+

१६ दिन र रात तपाईँकै हुन्‌।

ज्योति र सूर्य बनाउनुहुने तपाईँ नै हुनुहुन्छ।+

१७ तपाईँले पृथ्वीका सबै सिमाना तोक्नुभयो।+

तपाईँले नै जाडो र गर्मी याम बनाउनुभयो।+

१८ हे यहोवा, शत्रुहरूले गरेको गिल्ला सम्झनुहोस्‌।

हेर्नुहोस्‌, मूर्ख मानिसहरूले कसरी तपाईँको नामको अपमान गरिरहेका छन्‌!+

१९ आफ्नो ढुकुरको जीवन जङ्‌गली जनावरहरूलाई नसुम्पनुहोस्‌।

अत्याचारमा परेका आफ्ना मानिसहरूको जीवनलाई सदाको लागि नबिर्सनुहोस्‌।

२० तपाईँले गर्नुभएको करारलाई सम्झनुहोस्‌

किनकि पृथ्वीका अँध्यारा ठाउँहरू हिंसाको अड्डा भएका छन्‌।

२१ थिचोमिचोमा परेकाहरू निराश भएर फर्कनु नपरोस्‌;+

दीनदुःखी र गरिबहरूले तपाईँको नामको प्रशंसा गरून्‌।+

२२ हे परमेश्‍वर, जाग्नुहोस्‌ र आफ्नो मुद्दा लड्‌नुहोस्‌।

मूर्खले कसरी सारा दिन तपाईँलाई हाँसोमा उडाएको छ, सम्झनुहोस्‌।+

२३ तपाईँका शत्रुहरूले भनेका कुरा नबिर्सनुहोस्‌।

तपाईँका विरोधीहरूको गर्जन आकाशसम्मै बढ्‌दै गइरहेको छ।

निर्देशकलाई। “नाश हुन नदिनुहोस्‌”-अनुसार। आसापको रचना।+ एउटा गीत।

७५ हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, हे परमेश्‍वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ;

तपाईँको नाम नजिकै छ+

अनि मानिसहरू तपाईँका आश्‍चर्यजनक कामहरूको घोषणा गर्छन्‌।

 २ तपाईँ भन्‍नुहुन्छ: “जब म समय ठहराउँछु,

तब म निष्पक्ष भई न्याय गर्छु।

 ३ जब धर्ती र यसका बासिन्दाहरू डरले पग्लिए,

तब मैले नै यसका खम्बाहरूलाई स्थिर राखेँ।” (सेला)

 ४ घमन्डीहरूलाई म भन्दछु, “घमन्ड नगर।”

अनि दुष्टहरूलाई भन्दछु, “आफ्नो बलको* धक्कु नलगाओ।

 ५ आफ्नो बलको* धक्कु नलगाओ

अनि अहङ्‌कार गर्दै नबोल।

 ६ किनकि सम्मान न पूर्वबाट

न पश्‍चिमबाट न त दक्षिणबाट नै आउँछ।

 ७ परमेश्‍वर न्यायकर्ता हुनुहुन्छ।+

उहाँले एउटालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ।+

 ८ यहोवाको हातमा एउटा कचौरा छ,+

जसमा फीँज उठेको कडा मद्य छ।

उहाँले त्यो पक्कै खन्याउनुहुनेछ

अनि पृथ्वीका सबै दुष्टले त्यो पिउनेछन्‌, त्यसको थेग्रोसमेत पिउनेछन्‌।”+

 ९ तर म भने सदासर्वदा यसको घोषणा गर्नेछु;

याकुबका परमेश्‍वरको स्तुति गाउनेछु।*

१० किनकि उहाँ भन्‍नुहुन्छ: “म दुष्टहरूको बल* खतम पारिदिनेछु

तर धर्मीहरूको बल* बढाइदिनेछु।”

निर्देशकलाई; तारे बाजाहरूसहित बजाउने। आसापले रचेको भजन।+ एउटा गीत।

७६ सारा यहुदाले परमेश्‍वरलाई चिन्छ;+

इस्राएलमा उहाँको नाम महान्‌ छ।+

 २ उहाँको निवास सालेममा छ;+

उहाँ सियोनमा बास गर्नुहुन्छ।+

 ३ उहाँले त्यहाँ अग्निबाणहरू भाँचिदिनुभयो,

ढाल, तरबार र युद्धका हातहतियारलाई टुक्राटुक्रा पारिदिनुभयो।+ (सेला)

 ४ तपाईँ चमचम चम्कनुहुन्छ;*

तपाईँ सिकारले भरिएको पहाडभन्दा पनि महिमित हुनुहुन्छ।

 ५ निडर मानिसहरू लुटिए।+

तिनीहरू मृत्युको चिर निद्रामा परे;

योद्धाहरू सबै असहाय भए।+

 ६ हे याकुबका परमेश्‍वर, तपाईँको हप्कीले गर्दा

रथ हाँक्ने सिपाही र घोडा दुवै मृत्युको चिर निद्रामा परे।+

 ७ तपाईँ मात्र श्रद्धा र भय जगाउने परमेश्‍वर हुनुहुन्छ।+

तपाईँको बल्दो रिसको अगाडि को खडा रहन सक्छ र?+

 ८ तपाईँले स्वर्गबाट न्यायदण्ड घोषणा गर्नुभयो।+

पृथ्वी त्यसबेला डरले चुपचाप रह्‍यो,+

 ९ जब परमेश्‍वर सजाय दिन

र पृथ्वीका नम्र जनहरूलाई बचाउन उठ्‌नुभयो।+ (सेला)

१० मानिसको क्रोधलाई तपाईँ आफ्नो प्रशंसामा बदल्नुहुन्छ;+

तिनीहरूको बाँकी रहेको क्रोधले तपाईँ आफूलाई महिमित तुल्याउनुहुन्छ।

११ तिमीहरूका परमेश्‍वर यहोवालाई भाकल गर र ती पूरा गर,+

उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्‌।+

१२ शासकहरूको घमन्डलाई उहाँले चूरचूर पार्नुहुनेछ;

पृथ्वीका राजाहरू उहाँको डरले काँप्छन्‌।

निर्देशकलाई; यदुथुनमा।* आसापले रचेको भजन।+

७७ म ठूलो स्वरले परमेश्‍वरलाई पुकार्नेछु;

म परमेश्‍वरलाई पुकार्नेछु र उहाँले सुन्‍नुहुनेछ।+

 २ विपद्‌को दिनमा म यहोवालाई खोज्छु।+

राती म उहाँतिर आफ्नो हात एकछिन पनि नबिसाई फैलाउँछु

तैपनि म सान्त्वना पाउँदिनँ।

 ३ म परमेश्‍वरलाई सम्झेर सुस्केरा हाल्छु;+

म व्याकुल हुन्छु र मेरो बल घट्‌छ।+ (सेला)

 ४ तपाईँले मेरा आँखाहरूलाई झिमिक्क गर्न समेत दिनुभएन;

म साह्रै व्याकुल भएको छु, बोल्नै नसक्ने भएको छु।

 ५ म वर्षौँअघिका दिनहरूबारे सोच्छु,+

उहिले-उहिलेको समयको सम्झना गर्छु।

 ६ रातमा म मेरो गीत* सम्झन्छु;+

म गहिरिएर विचार गर्छु;+

म जवाफ पाउनलाई घोरिन्छु।

 ७ के यहोवाले हामीलाई सदाको लागि त्याग्नुहुनेछ?+

के उहाँले हामीलाई फेरि कहिल्यै अनुग्रह देखाउनुहुनेछैन?+

 ८ के उहाँको अटल प्रेम सदाको लागि मेटिइसकेको छ?

के कुनै पुस्ताले उहाँको प्रतिज्ञा पूरा भएको देख्न पाउनेछैन?

 ९ के परमेश्‍वरले अनुग्रह देखाउन बिर्सिनुभयो?+

के उहाँले आफ्नो रिसले गर्दा कृपा देखाउन छोड्‌नुभयो? (सेला)

१० म कतिन्जेल भनिरहूँ: “मलाई छटपटी भएको छ*+

किनभने सर्वोच्च परमेश्‍वरले पीठ फर्काउनुभएको छ”?*

११ म याहका कामहरूको सम्झना गर्नेछु;

तपाईँले वर्षौँअघि गर्नुभएका आश्‍चर्यजनक कामहरू सम्झनेछु।

१२ तपाईँका सबै काममा म मनन गर्नेछु,

त्यसलाई गहिरिएर विचार गरिरहनेछु।+

१३ हे परमेश्‍वर, तपाईँको मार्ग पवित्र छ।

हे परमेश्‍वर, तपाईँजस्तो महान्‌ ईश्‍वर अरू को छ र?+

१४ तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ, जसले आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ।+

तपाईँले जातिजातिका मानिसहरूसामु आफ्नो बल प्रकट गर्नुभएको छ।+

१५ आफ्नो पाखुराले* तपाईँले आफ्ना मानिसहरूलाई बचाउनुभएको छ,*+

याकुबका छोराहरूलाई र युसुफका छोराहरूलाई बचाउनुभएको छ। (सेला)

१६ हे परमेश्‍वर, सागरले तपाईँलाई देख्यो;

तपाईँलाई देखेर समुद्र अशान्त भयो+

अनि गहिरो पानीमा हलचल मच्चियो।

१७ बादलले पानी बर्सायो।

कालो बादलले ढाकिएको आकाश गर्जियो,

तपाईँका काँडहरू चारैतिर चम्किए।+

१८ तपाईँको गर्जनको आवाज+ रथको पाङ्‌ग्राको जस्तो थियो;

बिजुली चम्कँदा धर्ती नै उज्यालो भयो;+

पृथ्वी काँप्यो र हल्लियो।+

१९ तपाईँ सागर भएर जानुभयो,+

तपाईँको बाटो गहिरो समुद्रको बीचमा थियो

तर तपाईँको पाइलाको चिन्ह कतै देखिएन।

२० मोसा र हारुनको हातद्वारा+

तपाईँले आफ्ना मानिसहरूलाई बगाललाई झैँ डोऱ्‍याउनुभयो।+

मास्किल।* आसापको रचना।+

७८ हे मेरा मानिस हो, मेरो व्यवस्था* सुन;

मेरो मुखका वचन सुन्‍न तिमीहरूको कान थाप।

 २ ज्ञानगुनका कुराहरू गर्न म आफ्नो मुख खोल्नेछु।

म पहिलेपहिलेका उखान-टुक्काहरू बताउनेछु,+

 ३ जुन हामीले सुनेका र जानेका छौँ

अनि हाम्रा पुर्खाले हामीलाई सुनाएका थिए।+

 ४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;

यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्‍तिबारे,+

उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+

पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+

 ५ उहाँले याकुबका सन्तानलाई सम्झौटा दिनुभयो

अनि इस्राएलमा एउटा व्यवस्था स्थापना गर्नुभयो।

आफ्ना सन्तानलाई ती कुराहरू सुनाउन

उहाँले हाम्रा पुर्खालाई आज्ञा दिनुभयो+

 ६ ताकि पछि आउने पुस्ताले,

पछि जन्मिने सन्तानले ती कुराहरू जानून्‌+

अनि तिनीहरूले पनि आफ्ना छोराछोरीलाई सुनाऊन्‌।+

 ७ अनि उनीहरूले परमेश्‍वरमा भरोसा राख्नेछन्‌।

उनीहरूले परमेश्‍वरका कामहरू बिर्सनेछैनन्‌+

बरु उहाँका आज्ञाहरू पालन गर्नेछन्‌।+

 ८ अनि उनीहरू आफ्ना पुर्खाजस्ता हुनेछैनन्‌,

जो अट्टेरी र विद्रोही पुस्ता थिए,+

जसको मन स्थिर थिएन*+

र जो परमेश्‍वरप्रति वफादार थिएनन्‌।

 ९ एप्रैमीहरू धनुले सुसज्जित थिए

तर तिनीहरू रणभूमिबाट फर्के।

१० तिनीहरूले परमेश्‍वरको करार तोडे+

र उहाँको व्यवस्थाअनुसार हिँड्‌न इन्कार गरे।+

११ उहाँले गर्नुभएका कामहरू पनि तिनीहरूले बिर्सिए,+

उहाँले तिनीहरूसामु गर्नुभएका अचम्मका कामहरू तिनीहरूले बिर्सिए।+

१२ मिश्र देशमा, जोअनको इलाकामा+

उहाँले तिनीहरूका पुर्खाको आँखाकै अगाडि अचम्मका कामहरू गर्नुभयो।+

१३ तिनीहरूले समुद्र पार गरून्‌ भनेर उहाँले त्यसलाई दुई फ्याक पारिदिनुभयो

अनि उहाँले पानीलाई पर्खालजस्तै ठड्‌याउनुभयो।+

१४ दिनमा बादल भएर

र राती आगोको ज्वाला भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुभयो।+

१५ उहाँले निर्जनभूमिमा चट्टानलाई फोर्नुभयो

र तिनीहरूलाई समुद्रबाट जस्तै गरी प्रशस्त पानी पिउन दिनुभयो।+

१६ उहाँले चट्टानबाट पानीको धारा निकाल्नुभयो

र नदीजस्तै बगाउनुभयो।+

१७ तर तिनीहरूले उहाँविरुद्ध पाप गर्न छोडेनन्‌,

मरुभूमिमा सर्वोच्च परमेश्‍वरको विद्रोह गरिरहे।+

१८ आफूले असाध्यै तिर्सना गरेको खानेकुरा मागेर

तिनीहरूले आफ्नो मनमा परमेश्‍वरको परीक्षा गरे।+

१९ अनि तिनीहरू यसो भनेर परमेश्‍वरविरुद्ध गनगनाए:

“के परमेश्‍वरले निर्जनभूमिमा खाना दिन सक्नुहुन्छ?”+

२० हेर! उहाँले चट्टानमा हिर्काउनुभयो

र त्यहाँबाट पानी निस्कियो र नदीझैँ बग्यो।+

तैपनि तिनीहरूले यसो भने, “के उहाँले हामीलाई रोटी पनि दिन सक्नुहुन्छ?

के आफ्ना मानिसहरूको लागि मासु जुटाउन सक्नुहुन्छ?”+

२१ जब यहोवा परमेश्‍वरले तिनीहरूको कुरा सुन्‍नुभयो, तब उहाँ क्रोधित हुनुभयो;+

याकुबविरुद्ध दनदनी आगो+ बल्यो

अनि इस्राएलविरुद्ध उहाँको रिस दन्कियो।+

२२ किनकि तिनीहरूले परमेश्‍वरमा भरोसा राखेनन्‌,+

उहाँले बचाउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गरेनन्‌।

२३ त्यसैले उहाँले बादलले घेरिएको आकाशलाई हुकुम गर्नुभयो

र आकाशका ढोकाहरू खोलिदिनुभयो।

२४ उहाँले तिनीहरूलाई खानको लागि मन्‍न बर्साइरहनुभयो;

उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो।+

२५ मानिसहरूले पराक्रमीहरूको* रोटी खाए;+

उहाँले तिनीहरूलाई तृप्त हुनेगरि दिनुभयो।+

२६ उहाँले आकाशमा पूर्वीय बतास चलाउनुभयो

र आफ्नो शक्‍तिले दक्षिणी बतासलाई तेजसित बहन लगाउनुभयो।+

२७ अनि उहाँले मासु धुलोसरह बर्साउनुभयो,

चराहरू समुद्र किनारको बालुवासरह बर्साउनुभयो।

२८ उहाँले ती आफ्नो छाउनीको बीचमा,

आफ्ना पालहरूको वरपर खसाल्नुभयो।

२९ अनि तिनीहरूले कोचीकोचीकन खाए;

तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+

३० तर तिनीहरूको तिर्सना पूरै मेटिनुअघि,

तिनीहरूको मुखमा खानेकुरा बाँकी हुँदा नै

३१ तिनीहरूमाथि परमेश्‍वरको क्रोधको आगो दन्कियो।+

उहाँले तिनीहरूका बलिया-बलिया मानिसहरूको ज्यान लिनुभयो;+

उहाँले इस्राएलका जवानहरूलाई ढाल्नुभयो।

३२ तैपनि तिनीहरूले झन्‌ धेरै पाप गरिरहे+

अनि उहाँका अचम्मका कामहरूमा विश्‍वास गरेनन्‌।+

३३ त्यसैले उहाँले तिनीहरूको जिन्दगीका दिनहरूलाई यसरी खतम पारिदिनुभयो, मानौँ त्यो एक मुठी सास मात्र हो;+

उहाँले अचानक डर फैलाएर तिनीहरूका वर्षहरूको अन्त गरिदिनुभयो।

३४ तर जब-जब उहाँले तिनीहरूमध्ये केहीलाई नाश गर्नुहुन्थ्यो, तब-तब तिनीहरू उहाँको खोजी गर्थे;+

तिनीहरू फर्केर उहाँको खोजी गर्न थाल्थे

३५ अनि परमेश्‍वर नै तिनीहरूको चट्टान हुनुहुन्छ+

र सर्वोच्च परमेश्‍वर नै तिनीहरूको उद्धारक* हुनुहुन्छ+ भनेर सम्झन्थे।

३६ तर तिनीहरूले आफ्नो मुखले उहाँलाई झुक्क्याउन खोजे,

तिनीहरूले आफ्नो जिब्रोले उहाँसित झूट बोले।

३७ तिनीहरूको मन उहाँतर्फ स्थिर थिएन;+

उहाँको करारप्रति तिनीहरू वफादार रहेनन्‌।+

३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+

उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+

उहाँले आफ्नो क्रोध खन्याउनुभएन+

बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।

३९ किनकि तिनीहरू मानिस मात्र हुन्‌ भनी उहाँले सम्झनुभयो,+

जो बतासजस्तै बहेर जान्छ र फर्केर आउँदैन।*

४० तिनीहरूले निर्जनभूमिमा कत्ति चोटि उहाँको विद्रोह गरे+

र मरुभूमिमा उहाँको मन दुखाए!+

४१ बारम्बार तिनीहरूले परमेश्‍वरको परीक्षा लिए,+

तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई दुःखी बनाए।

४२ तिनीहरूले उहाँको शक्‍ति* बिर्सिए,

तिनीहरूले त्यो दिन बिर्सिए, जब उहाँले तिनीहरूलाई शत्रुबाट छुटाउनुभएको थियो।+

४३ उहाँले मिश्रमा कसरी चिन्हहरू देखाउनुभएको थियो,+

जोअनको इलाकामा कसरी चमत्कारहरू गर्नुभएको थियो,

४४ उहाँले कसरी नाइल नदीका नहरहरूलाई रगतमा परिणत गर्नुभएको थियो+

र त्यसको पानी पिउनै नसकिने बनाइदिनुभएको थियो, तिनीहरूले बिर्सिए।

४५ उहाँले तिनीहरूलाई आक्रमण गर्न झिँगाहरूको* हुल पठाउनुभयो+

अनि तिनीहरूलाई बरबाद पार्न भ्यागुताहरू पठाउनुभयो।+

४६ उहाँले तिनीहरूको बालीनाली भोका सलहलाई दिनुभयो,

तिनीहरूको मेहनतको फल हुल बाँधेर आएका सलहलाई दिनुभयो।+

४७ उहाँले तिनीहरूका अङ्‌गुर बगानहरूलाई

र तिनीहरूका खनिउँका रूखहरूलाई असिनाले नाश पारिदिनुभयो।+

४८ उहाँले तिनीहरूको भारी बोक्ने जनावरलाई असिनाले नष्ट गरिदिनुभयो+

अनि तिनीहरूको वस्तुभाउलाई चट्‌याङले* हिर्काउनुभयो।

४९ उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याउनुभयो,

उहाँको क्रोध र आक्रोश पोख्नुभयो अनि तिनीहरूमाथि विपद्‌ ल्याउनुभयो,

तिनीहरूमाथि विपत्ति ल्याउन स्वर्गदूतहरूको एक दल पठाउनुभयो।

५० उहाँले आफ्नो रिसको लागि बाटो बनाउनुभयो।

उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन;

उहाँले तिनीहरूलाई* महामारीको मुखमा धकेल्नुभयो।

५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

हामको पालमा तिनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

५२ त्यसपछि उहाँले आफ्ना मानिसहरूलाई बगाललाई झैँ छुटाएर ल्याउनुभयो,+

भेडाहरूको बगाललाई जस्तैगरि तिनीहरूलाई निर्जनभूमिमा डोऱ्‍याउनुभयो।

५३ उहाँले तिनीहरूलाई सुरक्षितसाथ डोऱ्‍याउनुभयो,

तिनीहरूलाई कुनै डर भएन;+

समुद्रले तिनीहरूका शत्रुलाई निल्यो।+

५४ अनि उहाँले तिनीहरूलाई आफ्नो पवित्र इलाकामा ल्याउनुभयो,+

उहाँले तिनीहरूलाई यो पहाडी इलाकामा ल्याउनुभयो, जुन उहाँले आफ्नो दायाँ हातले हासिल गर्नुभएको थियो।+

५५ उहाँले तिनीहरूको सामुन्‍नेबाट जातिजातिलाई धपाउनुभयो;+

नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+

उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+

५६ तर तिनीहरूले सर्वोच्च परमेश्‍वरको परीक्षा गरिरहे र उहाँको विद्रोह गरिरहे;+

उहाँका सम्झौटाहरूमा तिनीहरूले ध्यान दिएनन्‌।+

५७ अनि तिनीहरूले परमेश्‍वरलाई त्यागे र आफ्ना पुर्खाले जस्तै विश्‍वासघात गरे।+

तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भए, जसमाथि भर पर्न सकिँदैन।+

५८ अग्ला थानहरू* बनाएर तिनीहरूले उहाँलाई रिस उठाइरहे+

अनि कुँदिएका मूर्तिहरूद्वारा तिनीहरूले उहाँलाई क्रोधित तुल्याइरहे।*+

५९ परमेश्‍वरले यी सबै देख्नुभयो र क्रोधित हुनुभयो+

अनि उहाँले इस्राएललाई पूर्णतया त्याग्नुभयो।

६० आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+

त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+

६१ उहाँले आफ्नो शक्‍तिको निसानीलाई कैदमा पर्न दिनुभयो,

आफ्नो महिमा शत्रुहरूको हातमा पर्न दिनुभयो।+

६२ उहाँले आफ्ना मानिसहरूलाई तरबारले काटिन दिनुभयो,+

आफ्नो सम्पत्तिविरुद्ध उहाँ क्रोधित हुनुभयो।

६३ आगोले उहाँका जवान पुरुषहरूलाई भस्म पाऱ्‍यो

अनि उहाँका कन्याहरूको निम्ति विवाहको गीत गाइएन।

६४ उहाँका पुजारीहरू तरबारले काटिए+

अनि तिनीहरूका विधवाहरूले विलाप गरेनन्‌।+

६५ तब यहोवा निद्राबाट ब्युँझिएझैँ जाग्नुभयो,+

रक्सीको नशाले छोडेर ब्युँझिएको वीर मानिसजस्तै।+

६६ अनि उहाँले आफ्ना शत्रुहरूलाई खेद्‌नुभयो;+

उहाँले तिनीहरूलाई सदाको निम्ति लाजमा पार्नुभयो।

६७ उहाँले युसुफको पाललाई तिरस्कार गर्नुभयो;

उहाँले एप्रैमको कुललाई छान्‍नुभएन।

६८ बरु उहाँले यहुदाको कुललाई छान्‍नुभयो,+

सियोन डाँडालाई छान्‍नुभयो, जसलाई उहाँ प्रेम गर्नुहुन्छ।+

६९ उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+

कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो।

७० उहाँले आफ्ना सेवक दाउदलाई+ छान्‍नुभयो

अनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+

७१ दूध खुवाउने भेडीहरूको हेरचाह गर्ने दाउदलाई

उहाँले याकुबको, आफ्ना मानिसहरूको गोठालो बनाउनुभयो,+

इस्राएलको, आफ्नो सम्पत्तिको गोठालो बनाउनुभयो।+

७२ सत्यनिष्ठ भई तिनले गोठालो काम गरे,+

तिनले आफ्ना निपुण हातहरूले तिनीहरूलाई डोऱ्‍याए।+

आसापले रचेको भजन।+

७९ हे परमेश्‍वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्‌;+

तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌;+

यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्‌।+

 २ तपाईँका सेवकहरूको लास तिनीहरूले आकाशका चराचुरुङ्‌गीलाई आहाराको निम्ति दिएका छन्‌।

अनि तपाईँका वफादार जनहरूको लास तिनीहरूले जमिनका जङ्‌गली जनावरहरूलाई खुवाएका छन्‌।+

 ३ तिनीहरूले उनीहरूको रगत यरुसलेमभरि पानीसरह बगाएका छन्‌,

उनीहरूको लास गाड्‌न कोही बाँकी छैन।+

 ४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+

वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन्‌ र हामीलाई हाँसोमा उडाउँछन्‌।

 ५ हे यहोवा, तपाईँ कतिन्जेल क्रोधित भइरहनुहुन्छ, सधैँलाई?+

तपाईँको रिस कहिलेसम्म आगोझैँ दन्किरहन्छ?+

 ६ तपाईँलाई नचिन्‍ने राष्ट्रहरूमाथि

अनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌।+

 ७ किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्‌

अनि उसको भूमि उजाड पारिदिएका छन्‌।+

 ८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्‌।+

हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्‌+

किनकि हामी साह्रै होच्याइएका छौँ।

 ९ हे हाम्रा उद्धारक परमेश्‍वर,+

तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्‌;

तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस्‌ र हाम्रा पापहरू क्षमा गर्नुहोस्‌।*+

१० राष्ट्रहरूले यसो भन्‍ने मौका नपाऊन्‌: “खोइ तिनीहरूका परमेश्‍वर?”+

तपाईँले आफ्ना सेवकहरूको रगतको बदला लिनुभएको छ भनी

हाम्रो आँखाकै अगाडि राष्ट्रहरूलाई देखाइदिनुहोस्‌।+

११ कैदमा परेकाहरूको सुस्केरा सुनिदिनुहोस्‌।+

मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई* तपाईँको महाशक्‍तिले* बचाउनुहोस्‌।*+

१२ हे यहोवा, हाम्रा छिमेकीहरूले तपाईँको खिल्ली उडाएका छन्‌,+

तिनीहरूसित सात गुणा बदला लिनुहोस्‌।+

१३ तब हामी​—तपाईँका मानिसहरू र तपाईँको खर्कका भेडाहरू,+

तपाईँलाई सदासदा धन्यवाद चढाउनेछौँ

अनि पुस्तौँपुस्तासम्म हामी तपाईँको प्रशंसा गर्नेछौँ।+

निर्देशकलाई; “लिली”-अनुसार। एउटा सम्झौटा। आसापले रचेको भजन।+

८० हे इस्राएलका गोठालो,

जसले युसुफलाई बगाललाई झैँ डोऱ्‍याउनुहुन्छ, सुन्‍नुहोस्‌।+

तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+

आफ्नो ज्योति चम्काउनुहोस्‌।

 २ एप्रैम, बिन्यामिन र मनस्सेसामु

आफ्नो शक्‍ति प्रकट गर्नुहोस्‌;+

आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

 ३ हे परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌।+

तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

 ४ हे सेनाहरूका परमेश्‍वर यहोवा, कहिलेसम्म तपाईँ आफ्ना मानिसहरूसित क्रोधित भइरहनुहुन्छ र तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न?+

 ५ तपाईँ तिनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ,

तपाईँ तिनीहरूलाई यति धेरै आँसु पिउन लगाउनुहुन्छ, त्यो नाप्नै सकिँदैन।

 ६ हामीमाथि कब्जा जमाउन हाम्रा छिमेकीहरू आपसमा लड्‌छन्‌;

हाम्रा शत्रुहरू जथाभाबी हाम्रो धज्जी उडाउँछन्‌।+

 ७ हे सेनाहरूका परमेश्‍वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌;

तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

 ८ तपाईँले मिश्रबाट एउटा अङ्‌गुरको बोट+ ल्याउनुभयो।

अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+

 ९ त्यसको लागि तपाईँले ठाउँ तयार पार्नुभयो

अनि त्यसले जरा गाड्‌यो र त्यो देशभरि फैलियो।+

१० त्यसको छायाले पहाडहरूलाई ढाक्यो

अनि त्यसका हाँगाहरूले परमेश्‍वरका देवदारहरूलाई ढाके।

११ त्यसका हाँगाहरू फैलिएर समुद्रसम्मै पुगे

अनि त्यसका मुनाहरू युफ्रेटिस नदीसम्मै पुगे।+

१२ अङ्‌गुर बगानको ढुङ्‌गाको पर्खाललाई तपाईँले किन भत्काइदिनुभयो?+

आउनेजानेहरू सबैले त्यसको फल टिप्छन्‌।+

१३ जङ्‌गलका बँदेलहरूले त्यसलाई सखाप पार्छन्‌

अनि जङ्‌गली जनावरहरूले त्यो खान्छन्‌।+

१४ हे सेनाहरूका परमेश्‍वर, बिन्ती छ, फर्कनुहोस्‌।

स्वर्गबाट तल हेर्नुहोस्‌!

यो अङ्‌गुरको बोटको हेरचाह गर्नुहोस्‌;+

१५ यो हाँगाको,* जुन तपाईँले आफ्नै दायाँ हातले रोप्नुभएको थियो;+

यो छोरालाई* हेर्नुहोस्‌, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभएको थियो।+

१६ यसलाई काटिएको छ र आगोमा जलाइएको छ।+

तपाईँको हप्कीले तिनीहरू नष्ट हुन्छन्‌।

१७ तपाईँको दायाँतर्फ भएको मानिसलाई तपाईँको हातले थामोस्‌;

मानिसको छोरालाई, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभयो।+

१८ तब हामी तपाईँदेखि अन्तै फर्किनेछैनौँ।

हाम्रो जीवन जोगाइदिनुहोस्‌ र हामी तपाईँको नाम पुकार्नेछौँ।

१९ हे सेनाहरूका परमेश्‍वर यहोवा, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्‌;

तपाईँको मुहार हामीमाथि चम्काउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌।+

निर्देशकलाई; गित्तिथमा* मिलाउने। आसापको रचना।+

८१ परमेश्‍वर हाम्रा बल हुनुहुन्छ, उहाँको लागि खुसीले कराओ।+

याकुबका परमेश्‍वरको जयजयकार गर।

 २ सङ्‌गीत बजाउन सुरु गर, खैँजडी बजाओ,

तारे बाजाको साथमा सुमधुर धुन बज्ने वीणा बजाओ।

 ३ औँसी+ र पूर्णिमामा,

हाम्रो चाडको दिनमा+ सिङ फुक।

 ४ किनकि यो इस्राएलको लागि आदेश हो,

याकुबका परमेश्‍वरको आज्ञा हो।+

 ५ जब परमेश्‍वर मिश्रको विरुद्धमा उठ्‌नुभयो,+

तब उहाँले युसुफको लागि सम्झौटाको रूपमा त्यो आज्ञा दिनुभयो।+

मैले एउटा स्वर* सुनेँ, जुन मैले चिन्‍न सकिनँ:

 ६ “मैले उसको काँधबाट बोझ हटाइदिएँ;+

उसका हातले टोकरी उठाउनबाट छुटकारा पाए।

 ७ सङ्‌कटमा पर्दा तिमीले मलाई पुकाऱ्‍यौ र मैले तिम्रो उद्धार गरेँ;+

मैले तिमीलाई मेघको गर्जनबाट* जवाफ दिएँ।+

मरिबाको* पानीनेर मैले तिमीलाई जाँचेँ।+ (सेला)

 ८ हे मेरा मानिसहरू हो, मेरो कुरा सुन र म तिमीहरूको विरुद्धमा गवाही दिनेछु।

हाय इस्राएल, तिमीले मेरो कुरा सुनेको भए त!+

 ९ तिमीहरूमाझ कुनै पराई देवता हुनेछैन

अनि तिमीहरूले अरू कुनै जातिको देवतालाई ढोग्नेछैनौ।+

१० म, यहोवा, तिमीहरूका परमेश्‍वर हुँ,

तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने म नै हुँ।+

आफ्नो मुख पूरै खोल र म त्यो भरिदिनेछु।+

११ तर मेरा मानिसहरूले मेरो स्वर सुनेनन्‌;

इस्राएल मेरो अधीनमा बस्न मानेन।+

१२ त्यसैले मैले तिनीहरूलाई तिनीहरूकै हठी हृदयअनुसार हिँड्‌न दिएँ;

तिनीहरूले आफूलाई जे सही लाग्यो, त्यही गरे।*+

१३ मेरा मानिसहरूले मेरो कुरा सुनेका भए!+

इस्राएल मेरो मार्गमा हिँडेका भए!+

१४ तिनीहरूका शत्रुहरूलाई म तुरुन्तै पराजित गरिदिने थिएँ;

म तिनीहरूका दुस्मनहरूविरुद्ध आफ्नो हात उठाउने थिएँ।+

१५ यहोवालाई घृणा गर्नेहरू उहाँसामु डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌

अनि तिनीहरूले सदाको लागि दण्ड पाउनेछन्‌।

१६ तर उहाँले तिमीहरूलाई* सबैभन्दा असल गहुँ खुवाउनुहुनेछ+

र चट्टानको महले तृप्त पार्नुहुनेछ।”+

आसापले रचेको भजन।+

८२ परमेश्‍वर आफ्नो सभामा विराजमान हुनुहुन्छ;+

ईश्‍वरहरूको* बीचमा उहाँले न्याय गर्नुहुन्छ+ र यसो भन्‍नुहुन्छ:

 २ “तिमीहरू कहिलेसम्म अन्याय गरिरहन्छौ?+

अनि कहिलेसम्म दुष्टको पक्ष लिइरहन्छौ?+ (सेला)

 ३ दीनदुःखी र अनाथहरूलाई* न्याय दिलाओ,+

असहाय र दरिद्रहरूको इन्साफ गर।+

 ४ दीनदुःखी र गरिबहरूको उद्धार गर;

दुष्टको पन्जाबाट तिनीहरूलाई छुटाओ।”

 ५ तिनीहरू* न केही जान्दछन्‌ न केही बुझ्दछन्‌;+

तिनीहरू अन्धकारमा यताउता हिँडिरहेका छन्‌;

पृथ्वीका सबै जग हल्लिएका छन्‌।+

 ६ “मैले* भनेँ, ‘तिमीहरू ईश्‍वरहरू* हौ,+

तिमीहरू सबै सर्वोच्च परमेश्‍वरका छोरा हौ।

 ७ तर मानिसहरूको जस्तै तिमीहरूको मृत्यु हुनेछ+

अनि शासकहरूको जस्तै तिमीहरूको पनि पतन हुनेछ!’”+

 ८ हे परमेश्‍वर, उठ्‌नुहोस्‌ र पृथ्वीको न्याय गर्नुहोस्‌+

किनकि सबै राष्ट्र तपाईँकै हुन्‌।

एउटा गीत। आसापले रचेको भजन।+

८३ हे परमेश्‍वर, चुप नबस्नुहोस्‌;+

हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर, मौन नबस्नुहोस्‌, केही गर्नुहोस्‌।

 २ किनकि हेर्नुहोस्‌! तपाईँका शत्रुहरूले होहल्ला मच्चाइरहेका छन्‌;+

तपाईँलाई घृणा गर्नेहरू अहङ्‌कार गर्छन्‌।*

 ३ धुर्त्याइँका साथ तिनीहरू लुकीछिपी तपाईँका मानिसहरूविरुद्ध युक्‍ति रच्छन्‌;

तपाईँले अनमोल ठान्‍नुभएकाहरूको* विरुद्धमा तिनीहरू षड्‌यन्त्र रच्छन्‌।

 ४ तिनीहरू भन्छन्‌: “आओ, हामी तिनीहरूको पूरै जातिलाई नाश गरौँ +

र इस्राएलको नाम सदाको लागि मेटियोस्‌।”

 ५ तिनीहरू एकै मतको भएर षड्‌यन्त्र रच्छन्‌;*

तिमीहरूविरुद्ध गठबन्धन* गर्नेहरू यिनीहरू नै हुन्‌:+

 ६ एदोम र इस्माएलीहरूको पाल, मोआब+ र हगारीहरू,+

 ७ गेबाल, अम्मोन+ र अमालेक,

पलिस्तिया+ र टायरका+ बासिन्दाहरू।

 ८ अस्सेरियाले+ पनि तिनीहरूसँग हात मिलाएको छ;

तिनीहरूले लुतका छोराहरूलाई साथ दिएका छन्‌।*+ (सेला)

 ९ तपाईँले मिद्यानीहरूलाई जसो गर्नुभएको थियो, तिनीहरूलाई पनि त्यसै गर्नुहोस्‌,+

किसोनको खोल्सामा* सिसरा र याबिनलाई गर्नुभएझैँ।+

१० एन-दोरमा उनीहरू नाश भएका थिए;+

उनीहरू जमिनको मलसरह भएका थिए।

११ तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्‌

अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्‍नाको+ जस्तै बनाइदिनुहोस्‌।

१२ किनकि तिनीहरूले यसो भने: “आओ, परमेश्‍वर बास गर्नुहुने त्यस देशमाथि हामी अधिकार जमाऔँ।”

१३ हे मेरा परमेश्‍वर, तिनीहरूलाई हुरीबतासले उडाएको झारजस्तै बनाइदिनुहोस्‌,+

हावाले यताउता उडाउने ठोसोजस्तै बनाइदिनुहोस्‌।

१४ आगोले वनमा डढेलो लगाएझैँ,

आगोको ज्वालाले पहाडलाई स्वाहा पारेझैँ +

१५ ठूलो आँधी चलाएर तिनीहरूलाई खेद्‌नुहोस्‌+

अनि हुरीबतास चलाएर तिनीहरूमाझ त्रास फैलाइदिनुहोस्‌।+

१६ हे यहोवा, तिनीहरूको अनुहार लाजले छोपिदिनुहोस्‌

ताकि तिनीहरूले तपाईँको नामको खोजी गरून्‌।

१७ तिनीहरूको सधैँ बेइज्जती भइरहोस्‌, तिनीहरू कहिल्यै डरमुक्‍त नहोऊन्‌;

तिनीहरूको अपमान होस्‌, तिनीहरू नाश होऊन्‌।

१८ मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+

सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

निर्देशकलाई; गित्तिथमा* मिलाउने। कोरहवंशीको+ एउटा भजन।

८४ हे सेनाहरूका परमेश्‍वर यहोवा,

तपाईँको भव्य वासस्थान* कत्ति प्रिय!+

 २ तपाईँको चोकमा जान

म एकदमै इच्छा गर्छु;

त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ।+

मेरो तन र मन दुवैले चर्को स्वरमा जीवित परमेश्‍वर यहोवाको जयजयकार गाउँछ।

 ३ हे मेरा परमेश्‍वर र मेरा राजा;

हे सेनाहरूका परमेश्‍वर यहोवा, तपाईँको भव्य वेदीसामु

चराचुरुङ्‌गी पनि बास गर्छन्‌,

गौँथलीले त्यहाँ गुँड बनाउँछे

अनि आफ्ना बचेराहरूलाई त्यहीँ हुर्काउँछे।

 ४ आनन्दित हुन्‌ ती मानिसहरू, जसले तपाईँको भवनमा बास गर्छन्‌;+

तिनीहरू निरन्तर तपाईँको प्रशंसा गर्छन्‌।+ (सेला)

 ५ आनन्दित हुन्‌ ती मानिसहरू, जसले तपाईँबाट बल पाउँछन्‌;+

जसले आफ्नो मन तपाईँको भवनतिर जाने बाटोमा लगाएका छन्‌।

 ६ तिनीहरू बाका बेँसी* भएर जाँदा

त्यहाँ पानीका मूलहरू बग्छन्‌;

अघिल्लो वर्षा आशिष्‌ भएर त्यस इलाकामा बर्सन्छ।

 ७ यात्रा गर्दै जाँदा तिनीहरूले झन्‌झनै बल पाउँछन्‌;+

तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्‍वरसामु हाजिर हुन्छन्‌।

 ८ हे यहोवा, सेनाहरूका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्‌;

हे याकुबका परमेश्‍वर, मेरो कुरा सुन्‍नुहोस्‌। (सेला)

 ९ हे हाम्रा ढाल,+ हाम्रा परमेश्‍वर, हेर्नुहोस्‌!*

आफ्ना अभिषिक्‍त जनको मुहारतिर हेर्नुहोस्‌।+

१० तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!+

दुष्टको पालमा बस्नुभन्दा त

तपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ।

११ किनकि यहोवा परमेश्‍वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;

उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।

असल मार्गमा हिँड्‌नेहरूलाई

उत्तम कुरा दिनदेखि यहोवा पछि हट्‌नुहुन्‍न।+

१२ हे सेनाहरूका यहोवा,

आनन्दित हो त्यो मानिस, जसले तपाईँमा भरोसा गर्छ।+

निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।

८५ हे यहोवा, तपाईँले आफ्नो देशमाथि निगाह देखाउनुभएको छ;+

तपाईँले याकुबका सन्तानलाई कैदबाट छुटाएर ल्याउनुभएको छ।+

 २ तपाईँले आफ्ना मानिसहरूको गल्ती क्षमा गर्नुभएको छ;

तिनीहरूका सबै पाप ढाक्नुभएको छ।+ (सेला)

 ३ तपाईँले आफ्नो क्रोध थाम्नुभएको छ;

तपाईँले तातो रिस पोख्नुभएको छैन।+

 ४ हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई फेरि बलियो बनाउनुहोस्‌,*

हामीसित अप्रसन्‍न हुन छोडिदिनुहोस्‌।+

 ५ के तपाईँ हामीसित सधैँ रिसाइरहनुहुन्छ?+

के तपाईँ पुस्तौँपुस्तासम्म आफ्नो रिस पोखिरहनुहुन्छ?

 ६ तपाईँको प्रजा तपाईँको कारण रमाउन सकोस्‌ भनेर+

के तपाईँ हामीलाई फेरि जगाउनुहुन्‍न र?

 ७ हे यहोवा, हामीलाई आफ्नो अटल प्रेम देखाउनुहोस्‌+

र हाम्रो उद्धार गर्नुहोस्‌।

 ८ साँचो परमेश्‍वर यहोवाले भन्‍नुभएको कुरा म ध्यान दिएर सुन्‍नेछु

किनकि उहाँ आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ+

तर तिनीहरू पहिलाजस्तो अति विश्‍वस्त नहोऊन्‌।+

 ९ इस्राएलमा आफ्नो महिमा रहिरहोस्‌ भनेर

उहाँसित डराउनेहरूको उद्धार गर्न उहाँ हरदम तयार हुनुहुन्छ।+

१० अटल प्रेम र वफादारीले एकअर्कालाई भेट्‌नेछन्‌,

धार्मिकता र शान्तिले एकअर्कालाई चुम्बन गर्नेछन्‌।+

११ पृथ्वीमा वफादारी अङ्‌कुराउनेछ

र धार्मिकताले स्वर्गबाट तलतिर नियाल्नेछ।+

१२ जुन कुरा असल छ, यहोवाले त्यही दिनुहुनेछ+

अनि हाम्रो जमिनले प्रशस्त उब्जनी दिनेछ।+

१३ न्याय उहाँको अघिअघि हिँड्‌नेछ+

र उहाँको पाइलाको लागि बाटो तयार पार्नेछ।

दाउदको प्रार्थना।

८६ हे यहोवा, मतिर तपाईँको कान फर्काउनुहोस्‌* र मलाई जवाफ दिनुहोस्‌

किनकि म दुःखी र दरिद्र छु।+

 २ मेरो जीवनको रक्षा गर्नुहोस्‌ किनकि म वफादार छु।+

तपाईँमा भरोसा राख्ने तपाईँको सेवकको जीवन जोगाउनुहोस्‌

किनकि तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।+

 ३ हे यहोवा, ममाथि अनुग्रह गर्नुहोस्‌+

किनकि म सारा दिन तपाईँलाई पुकार्छु।+

 ४ तपाईँको सेवकलाई हर्षित तुल्याउनुहोस्‌

किनकि हे यहोवा, म तपाईँतिर फर्कन्छु।

 ५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+

तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+

 ६ हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌;

मेरो गुहारमा ध्यान दिनुहोस्‌।+

 ७ मेरो सङ्‌कटको दिनमा म तपाईँलाई पुकार्छु+

किनकि तपाईँ मलाई जवाफ दिनुहुन्छ।+

 ८ हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू कोही छैन,+

तपाईँका कामहरू अतुलनीय छन्‌।+

 ९ हे यहोवा, सबै राष्ट्र, जसलाई तपाईँले रच्नुभयो,

तिनीहरू तपाईँसामु आउनेछन्‌ र दण्डवत्‌ गर्नेछन्‌+

अनि तिनीहरूले तपाईँको नामको महिमा गर्नेछन्‌।+

१० किनकि तपाईँ महान्‌ हुनुहुन्छ र आश्‍चर्यका कामहरू गर्नुहुन्छ;+

हो, तपाईँ मात्र परमेश्‍वर हुनुहुन्छ।+

११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌।+

म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु।+

तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।*+

१२ हे यहोवा, मेरा परमेश्‍वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु,+

म सदासर्वदा तपाईँको नामको महिमा गर्नेछु।

१३ किनकि तपाईँले मलाई प्रशस्तगरि अटल प्रेम देखाउनुभएको छ

अनि तपाईँले मेरो जीवनलाई चिहानको* गहिराइमा जानदेखि जोगाउनुभएको छ।+

१४ हे परमेश्‍वर, अहङ्‌कारीहरू मविरुद्ध खडा भएका छन्‌;+

क्रूर मानिसहरूको समूह मेरो ज्यानको पछि लागेको छ;

तिनीहरू तपाईँको आदर गर्दैनन्‌।*+

१५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ,

तपाईँ हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+

१६ मतिर फर्कनुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।+

तपाईँको सेवकलाई बल दिनुहोस्‌,+

तपाईँकी दासीको छोरालाई बचाउनुहोस्‌।

१७ मलाई तपाईँको भलाइको चिन्ह देखाउनुहोस्‌*

र यो देखेर मलाई घृणा गर्नेहरू लाजमा परून्‌।

किनकि हे यहोवा, तपाईँ मेरो मदतगार र सान्त्वनादाता हुनुहुन्छ।

कोरहवंशीको भजन।+ एउटा गीत।

८७ उहाँको सहरको जग पवित्र डाँडामा बसालिएको छ।+

 २ सियोनका ढोकाहरूलाई यहोवा प्रेम गर्नुहुन्छ;+

उहाँ त्यसलाई याकुबका पालहरूलाई भन्दा पनि प्यारो ठान्‍नुहुन्छ।

 ३ ए साँचो परमेश्‍वरको सहर, तिम्रो विषयमा अचम्मका कुराहरू भनिएका छन्‌।+ (सेला)

 ४ मलाई चिन्‍नेहरूको सूचीमा म राहाब*+ र बेबिलोनलाई पनि राख्नेछु;

पलिस्तिया, टायर र इथियोपियालाई* समेत।

तिनीहरू प्रत्येकको बारेमा म यसो भन्‍नेछु: “यो सियोनमै जन्मेको थियो।”

 ५ सियोनको बारेमा चाहिँ यसो भनिनेछ:

“प्रत्येकको जन्म यहीँ भएको थियो।”

सर्वोच्च परमेश्‍वरले त्यस सहरलाई बलियोगरि स्थापित गर्नुहुनेछ।

 ६ त्यहाँका मानिसहरूको गणना लिँदा यहोवाले यस्तो घोषणा गर्नुहुनेछ:

“यो सियोनमै जन्मेको थियो।” (सेला)

 ७ नाच्नेहरू*+ र गाउनेहरूले+ यसो भन्‍नेछन्‌:

“सबै असल कुराको स्रोत तपाईँ नै हुनुहुन्छ।”+

एउटा गीत। कोरहवंशीको एउटा भजन।+ निर्देशकलाई; महालथ* शैलीमा। पालैपालो गाउने। एज्रहवंशी हेमानको+ मास्किल।*

८८ हे यहोवा, मेरो उद्धार गर्नुहुने परमेश्‍वर,+

दिनभरि म रोइकराइ गर्छु

अनि रातभरि तपाईँसामु आफ्नो मनको बह पोखाउँछु।+

 २ मेरो प्रार्थना तपाईँसामु पुगोस्‌+

अनि सहायताको निम्ति मैले गरेको पुकारामा आफ्नो कान थाप्नुहोस्‌।*+

 ३ किनकि म दुःखैदुःखले भरिएको छु+

अनि म मृत्युको+ मुखमा* पर्नै लागेको छु।

 ४ मेरो गन्ती चिहानमा जाने मानिसहरूसँगै भएको छ।+

म लाचार* मानिसजस्तै भएको छु।+

 ५ मुर्दाहरूको बीचमा मिल्काइएको

अनि चिहानमा पस्रिरहेको लासझैँ भएको छु,

जसलाई तपाईँले आफ्नो सम्झनाबाट मेटाइसक्नुभएको छ,

जसको हात तपाईँले छोडिसक्नुभएको छ।

 ६ तपाईँले मलाई गहिरो खाडलमा फ्याँकिदिनुभएको छ;

त्यो अगाध खाडलमा, जहाँ निस्पट्ट अन्धकार छाएको छ।

 ७ तपाईँको क्रोधले मलाई थिचेको छ+

अनि तपाईँको भयानक छालले मलाई घेरेको छ। (सेला)

 ८ मैले चिनेजानेका मानिसहरूलाई तपाईँले मबाट टाढा पठाउनुभएको छ;+

तिनीहरूको अघि मलाई घृणाको पात्र बनाउनुभएको छ।

म थुनिएको छु र उम्कन सक्दिनँ।

 ९ रुँदा-रुँदा मेरा आँखाहरू थाकिसकेका छन्‌।+

हे यहोवा, दिनभरि म तपाईँलाई पुकार्छु;+

तपाईँतिरै आफ्नो हात फैलाउँछु।

१० जो मरिसकेका छन्‌, के तपाईँ तिनीहरूका लागि अचम्मका कामहरू गर्नुहुन्छ?

मुर्दाहरूले फेरि उठेर तपाईँको जयजयकार गर्न सक्छन्‌ र?+ (सेला)

११ के तपाईँको अटल प्रेम चिहानमा

अनि तपाईँको वफादारीको घोषणा विनाशको ठाउँमा* हुन्छ र?

१२ के अन्धकारमा तपाईँले गर्नुभएका अचम्मका कामहरू प्रकट हुन्छन्‌ र?

अनि नामोनिसान मेटिएकाहरूको देशमा तपाईँको न्याय प्रकट हुन्छ र?+

१३ तर हे यहोवा, म अझै पनि तपाईँलाई पुकार्छु,+

हरेक बिहानी म तपाईँसामु प्रार्थना गर्छु।+

१४ हे यहोवा, तपाईँ मलाई किन त्याग्नुहुन्छ?+

अनि आफ्नो मुहार मदेखि किन लुकाउनुहुन्छ?+

१५ जवान छँदादेखि नै

म दुःखको भुमरीमा परेको छु, मृत्युसित जुझ्दै आएको छु;+

तपाईँले ममाथि भयानक विपत्तिहरू आइपर्न दिनुभएको छ, ती सहँदा-सहँदा म शिथिल भएको छु।

१६ तपाईँको बल्दो रिस ममाथि दन्केको छ;+

तपाईँको भयले मलाई स्वाहा पारेको छ।

१७ त्यसले मलाई समुद्रको छालले झैँ दिनभरि घेर्छ

अनि मलाई चारैतिरबाट* छोप्छ।

१८ मेरा साथीहरू र मलाई साथ दिनेहरूलाई तपाईँले मदेखि टाढा लैजानुभएको छ;+

अन्धकार नै मेरो मित्र बनेको छ।

मास्किल।* एज्रहवंशी एतानको रचना।+

८९ यहोवाले देखाउनुभएको अटल प्रेमको म सदा स्तुति गाउनेछु।

म आफ्नो मुखले सबै पुस्तालाई तपाईँको वफादारीको बखान गर्नेछु।

 २ किनकि मैले भनेँ: “तपाईँको अटल प्रेम सदा रहिरहनेछ+

अनि तपाईँले आफ्नो वफादारीलाई स्वर्गमा स्थिर पार्नुभएको छ।”

 ३ “मैले रोजेको जनसित मैले करार गरेको छु;+

मेरो सेवक दाउदसित मैले यस्तो शपथ खाएको छु:+

 ४ ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+

तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला)

 ५ हे यहोवा, स्वर्गले तपाईँका अचम्मका कामहरूको प्रशंसा गर्छ,

हो, पवित्र जनहरूको समुदायमा तपाईँको वफादारीको बयान गर्छ।

 ६ स्वर्गमा यहोवाको बराबरीमा आउन सक्ने अरू को छ?+

परमेश्‍वरका छोराहरूमा+ यहोवाजस्तो कोही छ र?

 ७ पवित्र जनहरूको समुदायले परमेश्‍वरको श्रद्धा गर्छ;+

उहाँको वरपर रहेकाहरू सबैको लागि उहाँ महान्‌ हुनुहुन्छ,

उहाँलाई देखेर तिनीहरू भय र श्रद्धाले भरिन्छन्‌।+

 ८ हे सेनाहरूका परमेश्‍वर यहोवा,

हे याह, तपाईँजस्तो पराक्रमी अरू को छ?+

तपाईँ हरेक कुरामा विश्‍वासयोग्य हुनुहुन्छ।+

 ९ समुद्रको हलचललाई तपाईँ काबूमा राख्नुहुन्छ;+

त्यसका छालहरू उर्लेर आउँदा तपाईँ त्यसलाई शान्त पार्नुहुन्छ।+

१० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+

आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+

११ स्वर्ग तपाईँको हो र पृथ्वी पनि तपाईँकै हो;+

उर्वर भूमि र त्यसमा भएका सबै थोक तपाईँकै हुन्‌+​—ती सबै तपाईँले नै रच्नुभएको हो।

१२ उत्तर र दक्षिण पनि तपाईँले नै बनाउनुभयो;

ताबोर+ र हर्मोनले+ खुसी हुँदै तपाईँको नामको प्रशंसा गर्छन्‌।

१३ तपाईँको पाखुरा शक्‍तिशाली छ;+

तपाईँको हात बलियो छ;+

तपाईँको दायाँ हात उच्च पारिएको छ।+

१४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+

अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्‌।+

१५ आनन्दित हुन्‌ ती मानिसहरू, जो हर्षले भरिएर तपाईँको जयजयकार गर्छन्‌।+

हे यहोवा, तिनीहरू तपाईँको मुहारको ज्योतिमा हिँड्‌छन्‌।

१६ तपाईँको नामको कारण तिनीहरू सारा दिन हर्षित हुन्छन्‌

अनि तपाईँको धार्मिकताको कारण तिनीहरू महिमित हुन्छन्‌।

१७ किनकि तिनीहरूको बलको गौरव तपाईँ नै हुनुहुन्छ+

अनि तपाईँको अनुग्रहले गर्दा हामी झन्‌झनै बलियो हुन्छौँ।*+

१८ किनकि यहोवाले नै हामीलाई ढाल दिनुभएको हो।

इस्राएलका पवित्र परमेश्‍वरले नै हामीलाई राजा दिनुभएको हो।+

१९ त्यतिबेला तपाईँले आफ्ना वफादार जनहरूलाई दर्शनमा* यसो भन्‍नुभयो:

“मैले एक पराक्रमी जनलाई बल दिएको छु;+

मैले मानिसहरूमध्ये एक जनालाई रोजेर उच्च तुल्याएको छु।+

२० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

२१ मेरो हातले तिनलाई थाम्नेछ+

अनि मेरो पाखुराले तिनलाई बलियो पार्नेछ।

२२ कुनै पनि शत्रुले तिनीबाट तिरो असुल्नेछैन,

कुनै दुष्ट मानिसले तिनीमाथि अत्याचार गर्नेछैन।+

२३ म तिनकै अगाडि तिनका शत्रुहरूलाई टुक्राटुक्रा पारिदिनेछु;+

तिनलाई घृणा गर्नेहरू सबैलाई म ढालिदिनेछु।+

२४ मेरो वफादारी र अटल प्रेम तिनीसित छ,+

मेरो नामको कारण तिनी झन्‌झनै बलियो हुनेछन्‌।*

२५ म समुद्रलाई तिनको हातमुनि* राखिदिनेछु

अनि नदीहरूलाई तिनको दायाँ हातमुनि राखिदिनेछु।+

२६ तिनले यसो भनेर मलाई पुकार्नेछन्‌: ‘तपाईँ मेरो बुबा हुनुहुन्छ,

मेरो परमेश्‍वर र मेरो उद्धार गर्ने चट्टान।’+

२७ अनि तिनलाई म आफ्नो पहिलो सन्तान तुल्याउनेछु,+

पृथ्वीका राजाहरूमध्ये सर्वोच्च।+

२८ तिनीप्रतिको मेरो अटल प्रेम म सदा कायम राख्नेछु+

अनि तिनीसितको मेरो करार कहिल्यै तोडिनेछैन।+

२९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछु

अनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+

३० तिनका छोराहरूले मेरो व्यवस्था त्यागे

र तिनीहरू मेरो स्तरअनुसार* चलेनन्‌ भने

३१ तिनीहरूले मेरा विधिविधान उल्लङ्‌घन गरे

र मेरा आज्ञाहरू पालन गरेनन्‌ भने

३२ तिनीहरूको अनाज्ञाकारिताको* लागि म तिनीहरूलाई छडीले हिर्काउनेछु+

र तिनीहरूको गल्तीको लागि म तिनीहरूलाई कोर्रा लगाउनेछु।

३३ तर तिनीप्रतिको मेरो अटल प्रेम म कहिल्यै बिर्सनेछैनँ +

र मेरो प्रतिज्ञालाई कहिल्यै झूटो साबित हुन दिनेछैनँ।*

३४ म आफ्नो करार तोड्‌नेछैनँ +

र आफ्नो मुखले बोलेको कुरा फेर्नेछैनँ।+

३५ मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;

म दाउदसित झूट बोल्दिनँ।+

३६ तिनको वंश सधैँ रहिरहनेछ;+

तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्‍ने सदा टिकिरहनेछ।+

३७ आकाशमा रहेको विश्‍वासयोग्य साक्षी जूनजस्तै

त्यो सदालाई स्थिर रहनेछ।” (सेला)

३८ तर तपाईँ आफैले तिनलाई हटाइदिनुभयो र त्याग्नुभयो।+

आफ्नो अभिषिक्‍त जनसित तपाईँ अत्यन्तै क्रोधित हुनुभयो।

३९ आफ्नो सेवकसित गरेको करारलाई तपाईँले तुच्छ ठान्‍नुभएको छ;

तिनको मुकुटलाई भुईँमा फ्याँकेर तपाईँले त्यसलाई बिटुलो पारिदिनुभएको छ।

४० तिनका सबै ढुङ्‌गाका पर्खाल* तपाईँले भत्काइदिनुभयो;

तिनका किल्लाहरू तपाईँले तहसनहस पारिदिनुभयो।

४१ त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्‌;

तिनका छिमेकीहरूको नजरमा तिनी घृणाको पात्र भएका छन्‌।+

४२ तिनका शत्रुहरूलाई तपाईँले विजयी तुल्याउनुभएको छ;*+

तिनका दुस्मनहरूलाई तपाईँले रमाउने कारण दिनुभएको छ।

४३ साथै तपाईँले तिनको तरबारको विरोध गर्नुभयो,

तपाईँले तिनलाई युद्धको मैदानमा टिक्न दिनुभएन।

४४ तिनको गौरवको तपाईँले अन्त गरिदिनुभयो

र तिनको सिंहासनलाई जमिनमा हुर्ऱ्याइदिनुभयो।

४५ तिनको युवावस्थाको दिन तपाईँले घटाइदिनुभयो;

तपाईँले तिनलाई लाजको वस्त्र पहिऱ्‍याइदिनुभयो। (सेला)

४६ हे यहोवा, तपाईँ कतिन्जेल लुकिरहनुहुन्छ, सधैँभरि?+

के तपाईँको क्रोधको आगो सधैँभरि बलिरहन्छ?

४७ मेरो जीवन कत्ति छोटो छ, नबिर्सनुहोस्‌!+

तपाईँले मानिसजातिलाई कुनै उद्देश्‍य नराखी बनाउनुभएको हो र?

४८ यस्तो मानिस को छ, जो सधैँ बाँचिरहन्छ र कहिल्यै मर्दैन?+

के उसले आफूलाई मृत्युको पन्जाबाट* मुक्‍त गर्न सक्छ? (सेला)

४९ हे यहोवा, तपाईँको अटल प्रेमको कारण तपाईँले पहिले-पहिले गर्नुभएका कामहरू कहाँ गए?

आफ्नो वफादारीको कारण तपाईँले दाउदसित शपथ खानुभएका कुराहरू कहाँ गए?+

५० हे यहोवा, तपाईँका सेवकहरूको कसरी खिल्ली उडाइएको छ, सम्झनुहोस्‌।

जातिजातिले गरेको बेइज्जती मैले कसरी सहनुपरेको छ, हेर्नुहोस्‌;

५१ हे यहोवा, तपाईँका शत्रुहरूले कसरी तपाईँको अभिषिक्‍त जनको अपमान गरेका छन्‌, हेर्नुहोस्‌;

तिनले चालेको हरेक पाइलाको तिनीहरूले कसरी धज्जी उडाएका छन्‌, हेर्नुहोस्‌।

५२ यहोवाको सदा प्रशंसा होस्‌। आमिन, आमिन।+

भाग चार

(भजन ९०-१०६)

साँचो परमेश्‍वरको सेवक मोसाको प्रार्थना।+

९० हे यहोवा, पुस्तौँपुस्तादेखि तपाईँ हाम्रो निवासस्थान*+ हुनुभएको छ।

 २ पहाडहरूको जन्म हुनुअघि नै,

तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+

अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।+

 ३ तपाईँ मरणशील मानिसलाई माटोमा फर्काइदिनुहुन्छ;

तपाईँ भन्‍नुहुन्छ: “ए मानिसका सन्तान हो, माटोमा फर्किजाओ।”+

 ४ हजार वर्ष तपाईँको नजरमा हिजो बिताएको एक दिनजस्तै,+

रातको एक प्रहरजस्तै हो।

 ५ तपाईँ तिनीहरूको अन्त गरिदिनुहुन्छ;+ तिनीहरू केवल निद्राजस्ता छन्‌;

तिनीहरू बिहान पलाउने घाँसजस्ता छन्‌।+

 ६ बिहान त्यो मौलाउँछ र ताजा हुन्छ

तर बेलुकीसम्ममा त्यो ओइलाउँछ र सुकिजान्छ।+

 ७ हामी तपाईँको दन्केको रिसले भस्म भएका छौँ,+

तपाईँको क्रोधले भयभीत भएका छौँ।

 ८ तपाईँ हाम्रा गल्तीहरू आफ्नो सामुन्‍ने राख्नुहुन्छ;*+

हामीले गुप्तमा गरेका कामहरू तपाईँको मुहारको ज्योतिमा उदाङ्‌ग हुन्छन्‌।+

 ९ तपाईँको क्रोधले गर्दा हाम्रा दिनहरू घट्‌दै जान्छन्‌;

हाम्रा वर्षहरू सुस्केराजस्तै बितिजान्छन्‌।

१० हाम्रो आयु त केवल ७० वर्ष हुन्छ,

जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।+

तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्‌;

ती चाँडै बित्छन्‌ र हामी बिलाइहाल्छौँ।+

११ तपाईँको क्रोधमा कति शक्‍ति छ, कसले बुझ्न सक्छ?

तपाईँको क्रोध तपाईँलाई दिनुपर्ने भयजत्तिकै ठूलो छ।+

१२ हाम्रा दिनहरू गन्‍न हामीलाई सिकाउनुहोस्‌+

ताकि हामीले बुद्धिले भरिएको हृदय पाउन सकौँ।

१३ हे यहोवा, फर्कनुहोस्‌!+ यस्तो कहिलेसम्म भइरहन्छ?+

आफ्ना सेवकहरूमाथि दया देखाउनुहोस्‌।+

१४ बिहान आफ्नो अटल प्रेमले+ हामीलाई सन्तुष्ट पार्नुहोस्‌

अनि हामी जीवनका बाँकी दिनहरूमा खुसीले कराउन र रमाउन सकौँ।+

१५ हामीलाई जति दिन तपाईँले दुःख दिनुभएको थियो, त्यति नै दिन खुसी दिनुहोस्‌,+

जति वर्ष हामीमाथि विपत्ति आइपऱ्‍यो, त्यति नै वर्ष हामी रमाउन सकौँ।+

१६ तपाईँका सेवकहरूले तपाईँको काम देखून्‌,

तिनीहरूका सन्तानले तपाईँको वैभव देखून्‌।+

१७ हाम्रा परमेश्‍वर यहोवाको अनुग्रह हामीमाथि रहोस्‌;

हाम्रा हातको कामलाई सफल* पार्नुहोस्‌।

हो, हाम्रा हातको कामलाई सफल* पार्नुहोस्‌।+

९१ जो सर्वोच्च परमेश्‍वरको गुप्त ठाउँमा बास गर्छ,+

ऊ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको छत्रछायामुनि बस्नेछ।+

 २ म यहोवालाई भन्‍नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+

मेरा परमेश्‍वर, जसमाथि म भरोसा गर्छु।”+

 ३ किनकि उहाँले तिमीलाई सिकारीको* पासोबाट छुटाउनुहुनेछ,

घातक रुढीबाट जोगाउनुहुनेछ।

 ४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*

तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+

उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।

 ५ रातको त्रासदेखि तिमी डराउनेछैनौ+

अनि दिनमा चल्ने काँडले गर्दा तिमी आत्तिनेछैनौ।+

 ६ घोर अन्धकारमा फैलिने महामारी

अनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।

 ७ तिम्रो एकापट्टि हजार जना ढल्नेछन्‌

र तिम्रो दायाँ हाततिर दस हजार।

तर कुनै विपत्तिले तिमीलाई भेट्‌नेछैन।+

 ८ बरु तिमीले ती आफ्नै आँखाले देख्नेछौ।

दुष्टले सजाय पाएको तिमी आफैले देख्नेछौ।

 ९ किनकि तिमीले यसो भन्यौ: “यहोवा मेरो शरणस्थान हुनुहुन्छ,”

तिमीले सर्वोच्च परमेश्‍वरलाई आफ्नो निवासस्थान* बनायौ;+

१० तिमीमाथि कुनै विपत्ति आइपर्नेछैन,+

कुनै पनि रुढी तिम्रो पालको नजिक आउनेछैन।

११ किनकि तिम्रा सबै मार्गमा तिम्रो रक्षा गर्न+

उहाँले आफ्ना स्वर्गदूतहरूलाई+ हुकुम गर्नुहुनेछ।

१२ उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌+

ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।+

१३ जवान सिंह र गोमनलाई तिमीले कुल्चनेछौ;

सिंह र बडेमाको सर्पलाई खुट्टाले कुल्चीमिल्ची गर्नेछौ।+

१४ परमेश्‍वरले भन्‍नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*

म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+

१५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+

दुःखको बेला म उसलाई साथ दिनेछु।+

म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु।

१६ म उसलाई लामो आयु दिएर सन्तुष्ट पार्नेछु,+

म उसलाई मेरा उद्धारका कार्यहरू देखाउनेछु।”+

एउटा भजन। विश्रामदिनको* लागि एउटा गीत।

९२ यहोवालाई धन्यवाद चढाउनु असल हो।+

हे सर्वोच्च परमेश्‍वर, तपाईँको नामको स्तुति गाउनु* असल हो।

 २ अनि बिहान तपाईँको अटल प्रेमको घोषणा गर्नु+

र हररात तपाईँको वफादारीको घोषणा गर्नु,

 ३ दस-तारे बाजा र तारे बाजाको साथमा

अनि वीणाको सुमधुर धुनको साथमा+ तीबारे घोषणा गर्नु असल हो।

 ४ हे यहोवा, तपाईँले आफ्ना कामहरूद्वारा मलाई हर्षित तुल्याउनुभएको छ;

तपाईँका हातका कामहरूको कारण म खुसीले कराउँछु।

 ५ हे यहोवा, तपाईँका कामहरू कत्ति महान्‌ छन्‌!+

तपाईँका विचारहरू कत्ति गहिरा छन्‌!+

 ६ बेसमझ मानिसले ती जान्‍न सक्दैन;

मूर्ख मानिसले यो कुरा बुझ्न सक्दैन:+

 ७ दुष्टहरू झारझैँ सप्रे पनि

र गलत काम गर्नेहरूको फलिफाप भए पनि

तिनीहरू सदाको लागि नष्ट हुनेछन्‌।+

 ८ तर हे यहोवा, तपाईँ सदासर्वदाको लागि उच्च हुनुहुन्छ।

 ९ हे यहोवा, तपाईँका शत्रुहरूको पराजय हेर्नुहोस्‌;

तपाईँका शत्रुहरू कसरी नाश हुनेछन्‌, हेर्नुहोस्‌;

गलत काम गर्नेहरू सबै तितरबितर हुनेछन्‌।+

१० तर जङ्‌गली साँढेलाई जस्तै तपाईँले मलाई बलियो बनाउनुहुनेछ,*

ताजा तेलले म आफ्नो छाला नरम बनाउनेछु।+

११ मेरो आँखाले मेरा शत्रुहरूको पराजय देख्नेछ+

अनि मलाई आक्रमण गर्ने दुष्ट मानिसहरूको पतनबारे मेरो कानले सुन्‍नेछ।

१२ तर धर्मीहरू खजुरको बोटजस्तै फस्टाउनेछन्‌

अनि लेबनानको देवदारको रूखजस्तै बढ्‌नेछन्‌।+

१३ तिनीहरू यहोवाको भवनमा रोपिएका छन्‌;

हाम्रा परमेश्‍वरको आँगनमा तिनीहरू फस्टाउँछन्‌।+

१४ बुढेसकालमा पनि* तिनीहरू फल्दोफुल्दो हुनेछन्‌;+

तिनीहरू फुर्तिला र ताजा रहनेछन्‌+

१५ र यहोवा असल हुनुहुन्छ भनेर घोषणा गर्नेछन्‌।

उहाँ मेरो चट्टान हुनुहुन्छ,+ जसमा कुनै खराबी छैन।

९३ यहोवा राजा हुनुभएको छ!+

उहाँले वैभव पहिरिनुभएको छ;

यहोवाले शक्‍तिको वस्त्र धारण गर्नुभएको छ;

उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।

पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;

त्यसलाई हल्लाउन सकिँदैन।*

 २ तपाईँको सिंहासन धेरै अघिदेखि नै बलियोगरि स्थिर पारिएको छ;+

तपाईँ अनादिदेखि नै अस्तित्वमा हुनुहुन्छ।+

 ३ हे यहोवा, नदीहरू उर्लेर आएका छन्‌,

नदीहरू उर्लेर आएका छन्‌ र गर्जेका छन्‌;

नदीहरू निरन्तर उर्लिरहेका छन्‌ र तिनीहरूको गडगडाहट बढिरहेको छ।

 ४ उच्चमा विराजमान यहोवा महान्‌ हुनुहुन्छ,+

गहिरो समुद्रको गर्जनभन्दा शक्‍तिशाली,

किनारामा ठोक्किने ठूलठूला छालहरूभन्दा शक्‍तिशाली।+

 ५ तपाईँका सम्झौटाहरू अत्यन्तै भरपर्दा छन्‌।+

हे यहोवा, पवित्रताले तपाईँको भवनलाई सदासदाको लागि शोभायमान बनाउँछ।+

९४ हे साटो फेर्नुहुने परमेश्‍वर यहोवा,+

हे बदला लिनुहुने परमेश्‍वर, आफ्नो ज्योति चम्काउनुहोस्‌!

 २ हे पृथ्वीका न्यायकर्ता, जाग्नुहोस्‌।+

अहङ्‌कारीहरूलाई तिनीहरूले पाउनुपर्ने सजाय दिनुहोस्‌।+

 ३ कहिलेसम्म, हे यहोवा,

आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्‌?+

 ४ तिनीहरू बकबक गर्छन्‌, अहङ्‌कारले भरिएको कुरा गर्छन्‌;

गलत काम गर्नेहरू सबै आफूमा घमन्ड गर्छन्‌।

 ५ हे यहोवा, तिनीहरू तपाईँका मानिसहरूलाई कुल्चीमिल्ची गर्छन्‌,+

तपाईँको उत्तराधिकारमाथि तिनीहरू अत्याचार गर्छन्‌।

 ६ तिनीहरू विधवा र विदेशीहरूको ज्यान लिन्छन्‌

अनि अनाथहरूको* हत्या गर्छन्‌।

 ७ तिनीहरू भन्छन्‌: “याहले देख्नुहुन्‍न;+

याकुबका परमेश्‍वरले वास्ता गर्नुहुन्‍न।”+

 ८ ए बेसमझहरू हो, यो कुरा बुझिराख;

ए मूर्खहरू हो, तिमीहरू कहिलेसम्म अबुझ भइरहन्छौ?*+

 ९ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र?

जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्‍न र?+

१० जसले राष्ट्रहरूलाई सुधार्नुहुन्छ, उहाँले हप्काउन पनि सक्नुहुन्‍न र?+

मानिसहरूलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ!+

११ मानिसहरूको विचार यहोवा जान्‍नुहुन्छ,

त्यो केवल सास हो भनी उहाँ जान्‍नुहुन्छ।+

१२ हे याह, आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ सुधार्नुहुन्छ,+

जसलाई तपाईँ आफ्नो व्यवस्था सिकाउनुहुन्छ+

१३ अनि जबसम्म दुष्टको निम्ति खाडल खनिँदैन,+

तबसम्म तपाईँ उसलाई सङ्‌कष्टको दिनमा शान्ति दिनुहुन्छ।

१४ किनकि यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्‍न+

न त उहाँले आफ्नो उत्तराधिकारलाई त्याग्नु नै हुन्छ।+

१५ फेरि एक पटक न्यायसाथ फैसला गरिनेछ

अनि सोझो मन भएकाहरू त्यसैअनुसार चल्नेछन्‌।

१६ मेरो लागि दुष्टको विरुद्धमा को खडा हुनेछ?

गलत काम गर्नेहरूको विरोध गर्न मेरो पक्षमा को उठ्‌नेछ?

१७ यहोवा मेरो मदतगार नहुनुभएको भए

म तुरुन्तै नष्ट भइसक्ने थिएँ।+

१८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”

तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्‍यो।+

१९ जब चिन्ता र फिक्रीले* मलाई छोप्यो,

तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।+

२० कानुनको आडमा* समस्या खडा गर्ने+ भ्रष्टाचारको सिंहासनले*

तपाईँसित साझेदारी गर्न सक्छ र?

२१ धर्मीलाई तिनीहरू क्रूर भई आक्रमण गर्छन्‌+

अनि निर्दोषलाई मृत्युको योग्य ठहराउँछन्‌।+

२२ तर यहोवा मेरो निम्ति शरणस्थान* बन्‍नुहुनेछ,

मेरा परमेश्‍वर मेरो लागि शरण लिने चट्टान हुनुहुन्छ।+

२३ तिनीहरूको दुष्ट काम उहाँले तिनीहरूमाथि नै फर्काइदिनुहुनेछ।+

तिनीहरूकै दुष्ट चालद्वारा उहाँले तिनीहरूको अन्त गरिदिनुहुनेछ।*

हो, यहोवा हाम्रा परमेश्‍वरले तिनीहरूलाई नामेट पारिदिनुहुनेछ।*+

९५ आओ, हामी यहोवाको लागि खुसीसाथ स्तुति गाऔँ!

हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार गरौँ।+

 २ उहाँसामु जाऔँ र धन्यवाद चढाऔँ;+

उहाँको स्तुति गाऔँ र उहाँको जयजयकार गरौँ।

 ३ किनकि यहोवा महान्‌ परमेश्‍वर हुनुहुन्छ,

अरू सबै देवताभन्दा महान्‌ राजा हुनुहुन्छ।+

 ४ पृथ्वीको गहिराइ उहाँको हातमा छ;

अग्ला पहाडहरू उहाँकै हुन्‌।+

 ५ उहाँले बनाउनुभएको सागर उहाँकै हो+

अनि उहाँकै हातहरूले सुक्खा जमिन बनाए।+

 ६ आओ, हामी उहाँको उपासना गरौँ र उहाँलाई दण्डवत्‌ गरौँ;

हाम्रा रचनाकार यहोवासामु घुँडा टेकौँ।+

 ७ किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ

अनि हामी उहाँको खर्कका बगाल हौँ,

उहाँले ख्याल राख्नुहुने मानिसहरू।+

यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+

 ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+

मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+

 ९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+

तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+

१० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:

“तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ

अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्‌।”

११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:

“तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।”+

९६ यहोवाको निम्ति एउटा नयाँ गीत गाओ।+

हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!+

 २ यहोवाको निम्ति गाओ; उहाँको नामको प्रशंसा गर।

उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा गर।+

 ३ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,

सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।+

 ४ यहोवा महान्‌ हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।

उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।

 ५ जातिजातिका सबै देवता व्यर्थका छन्‌+

तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+

 ६ उहाँको सामुन्‍ने वैभव र गौरव छ;+

उहाँको पवित्र स्थानमा* शक्‍ति र सौन्दर्य छ।+

 ७ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,

यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

 ८ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+

भेटी लिएर उहाँका चोकहरूमा आओ।

 ९ पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर;*

हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!

१० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+

पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।*

उहाँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।”*+

११ स्वर्ग रमाओस्‌, पृथ्वीले खुसीयाली मनाओस्‌;

समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌;+

१२ मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्‌।+

जङ्‌गलका रूखहरूले सँगसँगै जयजयकार गरून्‌,+

१३ तिनीहरू यहोवासामु कराऊन्‌ किनकि उहाँ आउँदै हुनुहुन्छ,*

उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।

उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+

विश्‍वासयोग्य भई मानिसहरूको न्याय गर्नुहुनेछ।+

९७ यहोवा राजा हुनु भएको छ!+

पृथ्वीले खुसीयाली मनाओस्‌।+

टापुहरूले रमाहट गरून्‌।+

 २ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+

धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+

 ३ आगो उहाँको अघिअघि जान्छ+

र चारैतिर रहेका उहाँका शत्रुहरूलाई भस्म गर्छ।+

 ४ उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;

त्यो देखेर पृथ्वी थरथराउँछ।+

 ५ सारा पृथ्वीका मालिक यहोवासामु

पहाडहरू मैनजस्तै पग्लिजान्छन्‌।+

 ६ आकाशले उहाँको धार्मिकताको घोषणा गर्छ

अनि जातिजातिले उहाँको महिमा देख्छन्‌।+

 ७ कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू सबै लाजमा परून्‌,+

जो आफ्ना व्यर्थका देवताहरूको घमन्ड गर्छन्‌।+

ए सबै देवता हो, उहाँलाई दण्डवत्‌* गर।+

 ८ हे यहोवा, तपाईँका फैसलाहरू सुनेर

सियोनले रमाहट गर्छ+

अनि यहुदाका सहरहरूले* खुसीयाली मनाउँछन्‌।+

 ९ किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;

तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+

१० हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।+

उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ;+

उहाँ तिनीहरूलाई दुष्टको हातबाट* छुटाउनुहुन्छ।+

११ धर्मीको निम्ति ज्योति चम्किएको छ+

अनि सोझो मन भएकाहरूको लागि खुसीको बहार छाएको छ।

१२ हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गर

अनि उहाँको पवित्र नामको प्रशंसा गर।

एउटा भजन।

९८ यहोवाको लागि एउटा नयाँ गीत गाओ+

किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+

उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+

 २ यहोवाले उद्धारका कामहरू गरेर देखाउनुभएको छ;+

राष्ट्रहरूसामु उहाँले आफ्नो न्याय प्रकट गर्नुभएको छ।+

 ३ इस्राएलको घरानालाई अटल प्रेम र वफादारी देखाउने आफ्नो प्रतिज्ञा उहाँले सम्झनुभएको छ।+

सारा पृथ्वीले हाम्रा परमेश्‍वरले गर्नुभएका उद्धारका कामहरू* देखेको छ।+

 ४ हे सारा पृथ्वी, ठूलो स्वरले यहोवाको जयजयकार गर।

रमाहट गर, खुसीले कराओ र स्तुति गाओ।*+

 ५ वीणा बजाएर यहोवाको प्रशंसाको गीत गाओ,

वीणा बजाएर र सुमधुर भजन गाएर उहाँको स्तुति गर।*

 ६ बिगुल र सिङ फुक+

अनि राजा यहोवासामु जयजयकार गर।

 ७ समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌,

पृथ्वी* र त्यसमा बास गर्ने सबैले प्रशंसा गरून्‌।

 ८ नदीहरूले ताली बजाऊन्‌;

पहाडहरू आनन्दले एकसाथ कराऊन्‌,+

 ९ यहोवासामु कराऊन्‌ किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*

उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+

पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+

९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्‌।

उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्‌।

 २ यहोवा सियोनमा महान्‌ हुनुहुन्छ;

उहाँ उच्च हुनुहुन्छ, सबै मानिस उहाँको अधीनमा छन्‌।+

 ३ तिनीहरूले तपाईँको महान्‌ नामको प्रशंसा गरून्‌+

किनकि त्यो श्रद्धा जगाउने र पवित्र छ।

 ४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+

जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।

तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ।

 ५ हाम्रा परमेश्‍वर यहोवाको महिमा गर+ र उहाँको पाउदानमा+ दण्डवत्‌* गर;

उहाँ पवित्र हुनुहुन्छ।+

 ६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+

अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+

तिनीहरू यहोवालाई पुकार्थे

अनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+

 ७ उहाँ तिनीहरूसित बादलको खामोबाट बोल्नुहुन्थ्यो।+

उहाँले तिनीहरूलाई दिनुभएका सम्झौटाहरू र आज्ञाहरू तिनीहरूले पालन गरे।+

 ८ हे हाम्रा परमेश्‍वर यहोवा, तपाईँले तिनीहरूलाई जवाफ दिनुभयो।+

तपाईँ तिनीहरूलाई क्षमा दिने परमेश्‍वर हुनुहुन्थ्यो+

तर तपाईँले तिनीहरूलाई कुकर्मको सजाय पनि दिनुभयो।+

 ९ हाम्रा परमेश्‍वर यहोवाको महिमा गर+

अनि उहाँको पवित्र डाँडासामु दण्डवत्‌* गर+

किनकि हाम्रा परमेश्‍वर यहोवा पवित्र हुनुहुन्छ।+

धन्यवादको एउटा भजन।

१०० हे सारा पृथ्वी, यहोवाको जयजयकार गर।+

 २ रमाउँदै यहोवाको सेवा गर।+

खुसीले कराउँदै उहाँसामु आओ।

 ३ यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी जान।*+

उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।*+

हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।+

 ४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+

प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+

उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+

 ५ किनकि यहोवा भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम कहिल्यै टल्दैन

अनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

दाउदले रचेको भजन।

१०१ म अटल प्रेम र न्यायबारे भजन गाउनेछु।

हे यहोवा, म तपाईँको स्तुति गाउनेछु।*

 २ म सुझबुझ चलाउनेछु र निष्खोट* भई हिँड्‌नेछु।

तपाईँ मलाई कहिले मदत गर्नुहुन्छ?

म आफ्नो घरभित्र सत्यनिष्ठ हृदय लिएर+ हिँड्‌नेछु।

 ३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।

सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+

म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।

 ४ टेढो मन भएको मानिसदेखि म टाढै रहन्छु;

खराब कुरालाई म स्विकार्नेछैनँ।*

 ५ गुप्तमा आफ्नो छिमेकीको निन्दा गर्नेलाई+

म चुप लगाइदिनेछु।*

घमन्डी आँखा र अहङ्‌कारी मन भएको कसैलाई पनि

म सहनेछैनँ।

 ६ म पृथ्वीका वफादार मानिसहरूलाई हेर्नेछु

ताकि तिनीहरू मसँगै बास गरून्‌।

निष्खोट भई* हिँड्‌ने मानिसले मेरो सेवा गर्नेछ।

 ७ छली मानिसले मेरो घरमा बास गर्नेछैन

अनि झूट बोल्ने कोही मेरो अगाडि* रहनेछैन।

 ८ म हरेक बिहान पृथ्वीका सबै दुष्टलाई चुप लगाउनेछु*

र गलत काम गर्नेहरूलाई यहोवाको सहरबाट नामेट पार्नेछु।+

थिचोमिचोमा परेको मानिसले हताश* हुँदा आफ्नो दुखेसो पोख्दै यहोवालाई गरेको प्रार्थना।+

१०२ हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌;+

मेरो गुहार तपाईँसम्म पुगोस्‌।+

 २ म सङ्‌कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्‌।+

मतिर आफ्नो कान फर्काउनुहोस्‌;*

मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्‌।+

 ३ किनकि मेरा दिनहरू धुवाँजस्तै उडेर जाँदै छन्‌,

मेरा हड्डीहरू आगोले डढेझैँ भएका छन्‌।+

 ४ मेरो मन ओइलाएर सुकेको घाँसजस्तै भएको छ,+

मेरो भोक हराएको छ।

 ५ मैले ठूलो स्वरले सुस्केरा हालेकोले+

मेरो छाला हड्डीहरूमा टाँसिएको छ।+

 ६ म घाउँके हावासीलजस्तै* भएको छु;

म खण्डहरहरूमा बस्ने सानो लाटोकोसेरोजस्तै भएको छु।

 ७ म अनिदो बस्छु;*

म छानामाथिको एक्लो चरोजस्तै भएको छु।+

 ८ मेरा शत्रुहरू दिनभरि मेरो खिसी गर्छन्‌।+

मेरो खिल्ली उडाउनेहरू मेरो नाम लिएर सराप्छन्‌।

 ९ खरानी नै मेरो रोटी भएको छ,+

म आँसु मिसिएको पानी पिउँछु+

१० किनकि तपाईँको रिस र तपाईँको क्रोध ममाथि खनिएको छ;

तपाईँले मलाई माथि उचाल्नुभयो र तल पछार्नुभयो।

११ मेरा दिनहरू ढल्किँदै गएको* छायाजस्तै छन्‌+

र म ओइलाउँदै गरेको घाँसजस्तै भएको छु।+

१२ तर हे यहोवा, तपाईँ सदासर्वदा रहिरहनुहुन्छ+

अनि तपाईँको नाम* पुस्तौँपुस्तासम्म रहिरहनेछ।+

१३ तपाईँ पक्कै उठ्‌नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+

किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+

तोकिएको समय आइसकेको छ।+

१४ किनकि तपाईँका सेवकहरू त्यसका ढुङ्‌गाहरूमा प्रसन्‍न हुन्छन्‌,+

त्यसको माटोलाई समेत माया गर्छन्‌।+

१५ राष्ट्रहरूले यहोवाको नामको डर मान्‍नेछन्‌

अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्‌।+

१६ किनकि यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ;+

उहाँ आफ्नो महिमाका साथ प्रकट हुनुहुनेछ।+

१७ उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+

उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्‍नुहुनेछैन।+

१८ यो कुरा आउने पुस्ताको लागि लेखिएको हो+

ताकि पछि अस्तित्वमा आउने* जातिले याहको प्रशंसा गरोस्‌।

१९ उहाँ आफ्नो उच्च पवित्र ठाउँबाट तल हेर्नुहुन्छ,+

यहोवाले स्वर्गबाट पृथ्वीमा दृष्टि लगाउनुहुन्छ,

२० कैदीहरूको सुस्केरा सुन्‍नलाई,+

मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई छुटकारा दिनलाई+

२१ ताकि यहोवाको नाम सियोनमा घोषणा गरियोस्‌+

अनि यरुसलेममा उहाँको प्रशंसा गरियोस्‌,

२२ जब जातिहरू र राज्यहरू

यहोवाको सेवा गर्न एकसाथ भेला हुन्छन्‌।+

२३ उहाँले समयअगावै मेरो बल खोस्नुभएको छ;

उहाँले मेरा दिनहरू घटाइदिनुभएको छ।

२४ मैले भनेँ: “हे मेरा परमेश्‍वर,

तपाईँ, जसका वर्षहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्‌,+

मेरो आधा आयुमै मलाई नाश नगर्नुहोस्‌।

२५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयो

अनि आकाश तपाईँकै हातको रचना हो।+

२६ तिनीहरू नाश हुनेछन्‌ तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।

लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्‌।

लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्‌।

२७ तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।+

२८ तपाईँका सेवकहरूका छोराछोरी ढुक्कसित बस्नेछन्‌

अनि तिनीहरूका सन्तान तपाईँसामु रहिरहनेछन्‌।”+

दाउदको रचना।

१०३ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌;

म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।

 २ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌;

उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+

 ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+

अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+

 ४ तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+

अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्‍याउनुहुन्छ।+

 ५ तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ,+

त्यसैले तिमी चीलजस्तै तरुनो र छरितो रहनेछौ।+

 ६ थिचोमिचोमा परेकाहरू सबैसित+

यहोवाले धार्मिकता+ र न्यायसाथ व्यवहार गर्नुहुन्छ।

 ७ उहाँले मोसालाई आफ्नो मार्ग+

र इस्राएलका सन्तानलाई आफ्नो काम प्रकट गर्नुभयो।+

 ८ यहोवा कृपालु र दयालु हुनुहुन्छ,+

उहाँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+

 ९ उहाँ हरबखत दोष देखाइरहनुहुन्‍न+

न त सधैँ रिस पालेर राख्नुहुन्छ।+

१० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+

न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+

११ किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ,

त्यसैगरि उहाँको भय मान्‍नेहरूप्रति उहाँको प्रेम* अपार छ।+

१२ पूर्वबाट पश्‍चिम जति टाढा छ,

उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+

१३ जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,

त्यसैगरि उहाँले आफ्नो भय मान्‍नेहरूमाथि कृपा देखाउनुभएको छ।+

१४ किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्‍नुहुन्छ;+

हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+

१५ मरिजाने मानिसको आयु त घाँसको आयुजत्तिकै हुन्छ;+

ऊ मैदानको फूलजस्तै फक्रिन्छ।+

१६ तर जब बतास चल्छ, त्यो हराइहाल्छ,

मानौँ, त्यो छँदै थिएन।*

१७ तर ज-जसले यहोवाको भय मान्छन्‌,

तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+

उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+

१८ हो, तिनीहरूलाई, जो उहाँको करारअनुसार चल्छन्‌+

अनि उहाँका आज्ञाहरू होसियार भई पालन गर्छन्‌।

१९ यहोवाले स्वर्गमा आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ+

अनि उहाँको शासन सबैमाथि छ।+

२० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+

तिमीहरू, जो शक्‍तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+

२१ हे उहाँका सबै सेना हो, यहोवाको प्रशंसा गर;+

तिमीहरू, जो उहाँको इच्छा पूरा गर्ने उहाँका सेवकहरू हौ।+

२२ हे सारा सृष्टि हो, यहोवाको प्रशंसा गर,

उहाँले शासन गर्नुहुने सबै ठाउँमा* उहाँको प्रशंसा गर।

मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्‌।

१०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌।+

हे यहोवा, हे मेरा परमेश्‍वर, तपाईँ अत्यन्तै महान्‌ हुनुहुन्छ।+

तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+

 २ पोसाक पहिरिएझैँ तपाईँले आफूलाई ज्योतिले ढाक्नुभएको छ+

अनि तपाईँले आकाशलाई पालजस्तै तन्काउनुभएको छ।+

 ३ उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू आकाशको पानीमा बसाल्नुभएको छ।+

अनि बादललाई आफ्नो रथ बनाउनुभएको छ+

र उहाँ बतासको पखेटामा सवार हुनुहुन्छ।+

 ४ उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्‍तिशाली* बनाउनुहुन्छ,

आफ्ना सेवकहरूलाई भस्म गर्ने आगो बनाउनुहुन्छ।+

 ५ उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ;+

त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।+

 ६ वस्त्रले ढाकेझैँ तपाईँले त्यसलाई गहिरो पानीले ढाक्नुभयो।+

पानीले पहाडहरूलाई ढाकेको थियो।

 ७ तपाईँको हप्की सुनेर तिनीहरू भागे;+

तपाईँको गर्जनको आवाज सुनेपछि तिनीहरू आत्तिएर भागे

 ८ अनि पहाडहरू माथि उठे+ र बेँसीहरू तल झरे;

तिनीहरू तपाईँले तोक्नुभएको ठाउँमै स्थिर रहे।

 ९ पानीले पृथ्वीलाई फेरि कहिल्यै नढाकोस्‌ भनेर

तपाईँले त्यसको सीमा तोक्नुभयो।+

१० उहाँले बेँसीहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;

तिनीहरू पहाडहरू हुँदो बग्छन्‌।

११ त्यसबाट सबै जङ्‌गली जनावरले पानी पिउँछन्‌

अनि जङ्‌गली गधाहरूले आफ्नो तिर्खा मेट्‌छन्‌।

१२ पानीको छेउछाउमा आकाशका चराहरूले आफ्नो गुँड बनाउँछन्‌।

तिनीहरू झ्याम्म परेका हाँगाहरूबीच चिरबिर गर्छन्‌।

१३ उहाँले आफ्नो माथिल्लो कोठाबाट पहाडहरूलाई भिजाउनुहुन्छ।+

तपाईँको मेहनतको फलले पृथ्वी सन्तुष्ट हुन्छ।+

१४ उहाँले वस्तुभाउको लागि घाँसपात

र मानिसको लागि बोटबिरुवा उमार्नुभयो+

ताकि जमिनबाट खानेकुरा उब्जियोस्‌।

१५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्‍न पार्ने मद्य,+

अनुहारलाई चमक दिने तेल

र मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+

१६ यहोवाका रूखहरूले प्रशस्त पानी पाएका छन्‌,

उहाँले रोप्नुभएको लेबनानको देवदारका रूखहरू सन्तुष्ट छन्‌।

१७ त्यहाँ चराहरूले आफ्नो गुँड बनाउँछन्‌

अनि गरुडले+ धुपीको रूखमा आफ्नो घर बनाउँछ।

१८ अग्ला पहाडहरू जङ्‌गली बाख्राहरूका+ लागि हुन्‌

अनि पहराहरू भीरखरायोको+ लुक्ने ठाउँ हुन्‌।

१९ उहाँले ऋतुहरू तोक्न चन्द्रमा बनाउनुभयो;

सूर्यलाई आफू अस्ताउने समय कहिले हो, राम्ररी थाह छ।+

२० तपाईँले अन्धकार ल्याउनुहुन्छ र रात पर्छ+

अनि सबै जङ्‌गली जनावर घुमफिर गर्न निस्कन्छन्‌।

२१ जवान सिंहहरू सिकारको लागि गर्जन्छन्‌+

र तिनीहरूले परमेश्‍वरसित आहार माग्छन्‌।+

२२ जब सूर्य उदाउँछ,

तब तिनीहरू आफ्नो ओडारमा फर्केर ढल्कन्छन्‌।

२३ अनि मानिसचाहिँ आफ्नो काममा जान्छ

र साँझसम्म परिश्रम गर्छ।

२४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्‌!+

ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+

पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।

२५ अनि समुद्र कत्ति विशाल र फराकिलो छ!

साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।+

२६ त्यसमा जहाजहरू ओहोरदोहोर गर्छन्‌

अनि तपाईँले बनाउनुभएको लेवियातान*+ त्यसमा खेल्छ।

२७ तपाईँले ठीक समयमा आहारा दिनुहुन्छ भनेर+

तिनीहरू सबैले तपाईँको बाटो हेर्छन्‌।

२८ तपाईँ जे दिनुहुन्छ, तिनीहरू त्यही बटुल्छन्‌;+

तपाईँले आफ्नो मुठी खोल्नुहुँदा तिनीहरू असल कुराहरूले सन्तुष्ट हुन्छन्‌।+

२९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्‌।

तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन्‌ र माटोमा मिल्छन्‌।+

३० तपाईँले आफ्नो पवित्र शक्‍ति पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन्‌;+

तपाईँले पृथ्वीको सतहलाई नयाँ तुल्याउनुहुन्छ।

३१ यहोवाको महिमा सदासर्वदा रहनेछ।

यहोवा आफ्ना कामहरूमा रमाउनुहुनेछ।+

३२ उहाँले पृथ्वीलाई हेर्नुहुँदा त्यो थरथराउँछ;

उहाँले पहाडहरूलाई छुनुहुँदा त्यहाँबाट धुवाँ निस्कन्छ।+

३३ म जीवनभर यहोवाको गुणगान गाउनेछु;+

म बाँचुन्जेल मेरा परमेश्‍वरको स्तुति गाउनेछु।*+

३४ मेरा विचारहरूले उहाँलाई प्रसन्‍न तुल्याऊन्‌।*

यहोवाको साथ पाएर म हर्षित हुनेछु।

३५ पापीहरू पृथ्वीबाट नामेट हुनेछन्‌

अनि दुष्टहरू बाँकी रहने छैनन्‌।+

मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌। याहको प्रशंसा होस्‌।*

१०५ यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,

जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+

 २ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*

उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+

 ३ उहाँको पवित्र नाममा गर्व गर।+

यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।+

 ४ यहोवा र उहाँले दिनुहुने बल खोज।+

उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।

 ५ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू,

उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ;+

 ६ हे परमेश्‍वरका सेवक अब्राहामका सन्तान हो,+

हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।

 ७ उहाँ हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ।+

उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+

 ८ उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न,+

उहाँले आफ्नो प्रतिज्ञा हजारौँ पुस्तासम्म याद गर्नुहुन्छ,+

 ९ उहाँले अब्राहामसित गर्नुभएको करार+

र इसहाकसित खानुभएको शपथ सम्झनुहुन्छ,+

१० जुन उहाँले याकुबको लागि आदेश

र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो

११ अनि भन्‍नुभयो, “तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+

म तिमीहरूलाई कनान देश दिनेछु।”+

१२ यो उहाँले तब भन्‍नुभएको थियो, जब तिनीहरू थोरै थिए,+

हो, असाध्यै थोरै अनि त्यहाँ तिनीहरू परदेशी थिए।+

१३ तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;

एउटा राज्यबाट अर्को राज्यमा गए।+

१४ तर उहाँले कसैलाई तिनीहरूमाथि दमन गर्न दिनुभएन;+

तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+

१५ उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।”+

१६ उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो;+

उहाँले तिनीहरूको अन्‍न बन्द गरिदिनुभयो।*

१७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,

युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+

१८ तिनीहरूले उसको खुट्टा नेलले बाँधे,+

उसको घाँटीमा फलामको साङ्‌ला लगाइदिए;

१९ जबसम्म यहोवाको कुरा साँचो साबित भएन,+

उहाँको वचनले नै उसलाई खाऱ्‍यो।

२० राजाले उसलाई कैदमुक्‍त गर्ने हुकुम दिए,+

हो, जातिजातिका तिनै शासकले उसलाई स्वतन्त्र गरिदिए।

२१ तिनले उसलाई आफ्नो घरानाको मालिक बनाए,

आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिए+

२२ ताकि उसले आफ्नो इच्छाअनुसार तिनका भारदारहरूमाथि अधिकार गर्न सकोस्‌

र तिनका बुज्रुकहरूलाई बुद्धिका कुरा सिकाउन सकोस्‌।+

२३ तब इस्राएल मिश्रमा आए+

र याकुब विदेशी भएर हामको देशमा रहे।

२४ परमेश्‍वरले आफ्ना मानिसहरूलाई सङ्‌ख्यामा धेरै बनाउनुभयो+

उहाँले तिनीहरूलाई दुस्मनहरूभन्दा पराक्रमी तुल्याउनुभयो।+

२५ उहाँले ती दुस्मनहरूको मन बद्‌लिन दिनुभयो

ताकि उनीहरूले उहाँका मानिसहरूलाई घृणा गरून्‌

र उहाँका सेवकहरूको विरुद्धमा षड्‌यन्त्र रचून्‌।+

२६ उहाँले आफ्नो सेवक मोसालाई+

र आफूले रोज्नुभएको हारुनलाई+ पठाउनुभयो।

२७ तिनीहरूले उनीहरूमाझ उहाँका चिन्हहरू देखाए,

हामको देशमा उहाँका चमत्कारहरू देखाए।+

२८ उहाँले अन्धकार पठाउनुभयो र देशमा अन्धकार छायो;+

तिनीहरू उहाँको वचनको विरुद्धमा गएनन्‌।

२९ उहाँले उनीहरूको पानी रगतमा परिणत गर्नुभयो

र उनीहरूका सबै माछा मरे।+

३० उनीहरूको देश भ्यागुतै भ्यागुताले भरियो,+

राजाका कोठाहरू पनि भ्यागुताले भरिए।

३१ उहाँले उनीहरूलाई आक्रमण गर्न झिँगाहरूलाई* हुकुम गर्नुभयो

र उनीहरूको सबै इलाकामा भुसुना पठाउनुभयो।+

३२ उहाँले उनीहरूमाथि पानीको सट्टा असिना बर्साउनुभयो

र उनीहरूको देशमा बिजुली* चम्काउनुभयो।+

३३ उहाँले उनीहरूका अङ्‌गुरका बोट र अन्जिरका रूखहरूलाई प्रहार गर्नुभयो

र उनीहरूको देशमा भएका सबै रूखलाई तहसनहस पारिदिनुभयो।

३४ उहाँले उनीहरूलाई आक्रमण गर्न सलहलाई हुकुम दिनुभयो,

उनीहरूलाई हमला गर्न अनगिन्ती सलहका बच्चाहरू पठाउनुभयो।+

३५ तिनीहरूले देशका सबै बालीनाली खाइदिए,

तिनीहरूले जमिनको उब्जनी सखाप पारिदिए।

३६ तब उहाँले उनीहरूको देशका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+

उनीहरूको प्रजनन शक्‍तिको पहिलो फललाई मास्नुभयो।

३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+

अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।

३८ तिनीहरू निस्केर जाँदा मिश्र रमायो

किनकि इस्राएलको* डरले उनीहरूलाई छोपेको थियो।+

३९ उहाँले तिनीहरूलाई बादलले छेक्नुभयो+

र राती उज्यालोको निम्ति आगो दिनुभयो।+

४० तिनीहरूले मागेकाले उहाँले तिनीहरूलाई बट्टाई चरा दिनुभयो;+

उहाँले स्वर्गबाट खानेकुरा दिएर तिनीहरूलाई तृप्त पार्नुभयो।+

४१ उहाँले चट्टान फोर्नुभयो र पानीका मूलहरू फुटे+

अनि ती मरुभूमिमा नदीजस्तै बगे।+

४२ किनकि उहाँले आफ्नो सेवक अब्राहामसित गर्नुभएको पवित्र करार बिर्सिनुभएन।+

४३ त्यसैले उहाँले आफ्ना मानिसहरूलाई रमाहटका साथ+

र आफ्ना चुनिएका जनहरूलाई हर्षोल्लासका साथ निकालेर ल्याउनुभयो।

४४ उहाँले तिनीहरूलाई जातिजातिको भूमि दिनुभयो;+

अरू मानिसको मेहनतको फलमाथि तिनीहरूले अधिकार गरे।+

४५ तिनीहरूले उहाँको आदेश पालन गरून्‌+

र उहाँको व्यवस्थाअनुसार चलून्‌ भनेर उहाँले त्यसो गर्नुभयो।

याहको प्रशंसा गर!*

१०६ याहको प्रशंसा गर!*

यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

 २ यहोवाका सबै शक्‍तिशाली कार्यहरूको वर्णन कसले गर्न सक्छ?

उहाँका सबै प्रशंसायोग्य कामहरूको बयान कसले गर्न सक्छ?+

 ३ आनन्दित हुन्‌ तिनीहरू, जो न्यायसाथ काम गर्छन्‌

अनि जे सही छ, सधैँ त्यही गर्छन्‌।+

 ४ हे यहोवा, आफ्ना मानिसहरूलाई अनुग्रह देखाउनुहुँदा मलाई नबिर्सनुहोस्‌।+

मेरो ख्याल राख्नुहोस्‌ र मलाई बचाउनुहोस्‌

 ५ ताकि तपाईँले आफ्ना चुनिएका जनहरूलाई देखाउनुहुने भलाइको आनन्द मैले पनि लिन सकूँ,+

तपाईँको राष्ट्रसँगसँगै म पनि रमाउन सकूँ

अनि तपाईँको सम्पत्तिसितै मिलेर गर्वले तपाईँको प्रशंसा गर्न सकूँ।

 ६ हाम्रा पुर्खाहरूले जस्तै हामीले पाप गरेका छौँ;+

हामीले गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ।+

 ७ मिश्रमा हाम्रा पुर्खाहरूले तपाईँका आश्‍चर्यजनक कामहरूको कदर गरेनन्‌।*

तपाईँको अपार प्रेम* तिनीहरूले बिर्सिए

बरु समुद्रको छेउमा, हो, लाल समुद्रको छेउमा विद्रोह गरे।+

 ८ तर आफ्नो नामको खातिर+

अनि आफ्नो शक्‍ति प्रकट गर्न+ उहाँले तिनीहरूलाई बचाउनुभयो।

 ९ उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;

उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+

१० उहाँले तिनीहरूलाई शत्रुहरूको हातबाट बचाउनुभयो+

अनि दुस्मनहरूको पन्जाबाट छुटाउनुभयो।+

११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;

उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+

१२ तब तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरे;+

तिनीहरूले उहाँको स्तुति गाउन थाले।+

१३ तर तिनीहरूले उहाँका कामहरू बिर्सिहाले;+

तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्‌।

१४ निर्जनभूमिमा तिनीहरू आफ्नो स्वार्थी चाहनाको वशमा परे;+

मरुभूमिमा तिनीहरूले परमेश्‍वरको परीक्षा गरे।+

१५ तिनीहरूले मागेको कुरा उहाँले तिनीहरूलाई दिनुभयो

तर त्यसपछि उहाँले तिनीहरूलाई रुढीले प्रहार गर्नुभयो र तिनीहरू नाश भए।+

१६ छाउनीमा हुँदा तिनीहरू मोसादेखि डाही भए;

यहोवाका पवित्र सेवक+ हारुनको+ पनि तिनीहरूले डाह गरे।

१७ अनि जमिनले आफ्नो मुख बाएर दातानलाई निल्यो

र अबिरामको साथमा भेला भएकाहरू पुरिए।+

१८ तिनीहरूको समूहमा आगो दन्कियो;

दुष्टहरूलाई आगोको ज्वालाले भस्म गऱ्‍यो।+

१९ होरेबमा तिनीहरूले बाछो बनाए

अनि धातुको मूर्तिलाई* ढोगे;+

२० तिनीहरूले मलाई महिमा दिनुको सट्टा

घाँस खाने गोरुको प्रतिमालाई महिमा दिए।+

२१ तिनीहरूले आफ्ना उद्धारक परमेश्‍वरलाई बिर्सिए,+

जसले मिश्रमा ठूलठूला कामहरू गर्नुभएको थियो,+

२२ जसले हामको देशमा आश्‍चर्यजनक कामहरू गर्नुभएको थियो+

अनि लाल समुद्रमा उदेकलाग्दा कामहरू गर्नुभएको थियो।+

२३ उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियो

तर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।*

२४ तर फेरि तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने;+

उहाँको प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्‌।+

२५ तिनीहरूले आ-आफ्नो पालभित्र गनगन गरिरहे;+

तिनीहरूले यहोवाको स्वर सुनेनन्‌।+

२६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,

तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+

२७ तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिने

अनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+

२८ तिनीहरूले पोअरको बाआल देवताको उपासनामा भाग लिए*+

अनि तिनीहरूले मरेकाहरूलाई चढाइएको बलि* खाए।

२९ आफ्नो कामद्वारा तिनीहरूले परमेश्‍वरलाई क्रोधित तुल्याए+

अनि तिनीहरूमाझ महामारी फैलियो।+

३० तर जब पिनहास अघि बढेर कदम चाले,

तब महामारी थामियो।+

३१ अनि तिनले गरेको त्यो कामले गर्दा

तिनी पुस्तौँपुस्तासम्म, हो, सदालाई धर्मी ठहरिए।+

३२ मरिबाको* पानीनेर तिनीहरूले उहाँलाई रिस उठाए,

तिनीहरूले गर्दा मोसाले दुःखलाग्दो परिणाम भोग्नुपऱ्‍यो।+

३३ तिनीहरूले उनलाई रिस उठाए;

रिसको झोँकमा उनले बोल्न नहुने कुरा बोले।+

३४ तिनीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌;+

तिनीहरूले वरपरका जातिहरूलाई नाश गरेनन्‌।+

३५ बरु तिनीहरू ती जातिहरूसित घुलमिल भए+

र तिनीहरूकै तौरतरिका अपनाए।*+

३६ तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे+

र त्यो नै तिनीहरूको लागि पासो बन्यो।+

३७ तिनीहरू भूतप्रेतलाई

आफ्ना छोराछोरीको बलि चढाउँथे।+

३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्‌,+

तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,

जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+

अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।

३९ तिनीहरूको कुकर्मले गर्दा तिनीहरू अशुद्ध भए;

आफ्ना कामहरूद्वारा तिनीहरूले वेश्‍यावृत्ति* गरे।+

४० त्यसैले आफ्ना मानिसहरूविरुद्ध यहोवाको क्रोध दन्कियो,

आफ्नो सम्पत्तिलाई उहाँले घृणा गर्न थाल्नुभयो।

४१ उहाँले पटक-पटक तिनीहरूलाई अरू जातिको हातमा सुम्पिनुभयो+

ताकि तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि हैकम जमाऊन्‌।+

४२ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे

र तिनीहरूलाई आफ्नो शक्‍तिको वशमा पारे।

४३ थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+

तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+

अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+

४४ तर उहाँले तिनीहरूको दुःख देख्नुहुन्थ्यो+

र तिनीहरूको गुहार सुन्‍नुहुन्थ्यो।+

४५ तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्यो

अनि आफ्नो अपार प्रेमको* कारण उहाँ दयाले भरिनुहुन्थ्यो।*+

४६ तिनीहरूलाई बन्दी बनाएर लैजानेहरूको मनमा

उहाँले तिनीहरूप्रति दया जगाइदिनुहुन्थ्यो।+

४७ हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+

हामीलाई जातिजातिहरूबाट जम्मा गर्नुहोस्‌+

र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,

रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+

४८ इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,

सदासर्वदा* प्रशंसा होस्‌।+

सबै मानिसले भनून्‌, “आमिन!”*

याहको प्रशंसा गर!*

भाग पाँच

(भजन १०७-१५०)

१०७ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

 २ यहोवाले छुटाएर ल्याउनुभएकाहरूले* त्यसै भनून्‌,

जसलाई उहाँले शत्रुहरूको हातबाट* छुटाएर ल्याउनुभयो,+

 ३ जसलाई उहाँले देश-देशबाट जम्मा गर्नुभयो,+

पूर्व र पश्‍चिमबाट,

उत्तर र दक्षिणबाट।+

 ४ तिनीहरू निर्जनभूमिमा, एकलास ठाउँमा भौँतारिरहे;

तिनीहरूले कुनै पनि सहरको बाटो भेट्टाउन सकेनन्‌, जहाँ तिनीहरू बसोबास गर्न सक्थे।

 ५ तिनीहरू भोका र प्यासा थिए;

तिनीहरू साह्रै थाकेर बेहोसै हुन लागेका थिए।

 ६ सङ्‌कटमा पर्दा तिनीहरूले यहोवालाई गुहारिरहे;+

तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो।+

 ७ तिनीहरू बसोबास गर्न सक्ने सहरमा पुगून्‌ भनेर+

उहाँले तिनीहरूलाई सही बाटोमा डोऱ्‍याउनुभयो।+

 ८ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि+

मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।+

 ९ किनकि उहाँले प्यास लागेकाहरूको तिर्खा मेटाइदिनुभएको छ

अनि भोकाहरूलाई मीठामीठा कुराहरूले सन्तुष्ट पार्नुभएको छ।+

१० घोर अन्धकारको बीचमा कोही-कोही बाँचिरहेका थिए,

कैदीहरू फलामको साङ्‌लामा बाँधिएर सास्ती खेपिरहेका थिए।

११ किनकि तिनीहरूले परमेश्‍वरको वचनको विद्रोह गरेका थिए;

सर्वोच्च परमेश्‍वरको सल्लाहलाई तिनीहरूले तुच्छ ठानेका थिए।+

१२ त्यसैले तिनीहरूलाई दुःख भोग्न दिएर उहाँले तिनीहरूको हृदयलाई नम्र तुल्याउनुभयो;+

तिनीहरू ठेस खाएर लडे तर तिनीहरूलाई मदत गर्ने कोही थिएन।

१३ सङ्‌कटमा पर्दा तिनीहरूले यहोवालाई मदतको लागि पुकारे;

तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुभयो।

१४ उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयो

अनि तिनीहरूको साङ्‌ला चुँडाइदिनुभयो।+

१५ यहोवाको अटल प्रेमको लागि+ र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि

मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।

१६ किनकि उहाँले तामाका ढोकाहरू टुक्राटुक्रा पारिदिनुभएको छ

र फलामे बारहरू भाँचिदिनुभएको छ।+

१७ मूर्ख भएकोले तिनीहरूले दुःख भोगे;+

अपराध र गल्ती गरेको हुनाले तिनीहरूले दुःख भोगे।+

१८ तिनीहरूको भोक हरायो;

तिनीहरू मृत्युको ढोकैमा पुगे।

१९ सङ्‌कटमा पर्दा तिनीहरू यहोवालाई मदतको लागि पुकार्थे;

तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्थ्यो।

२० उहाँले आफ्नो वचनद्वारा तिनीहरूलाई निको पार्नुहुन्थ्यो+

अनि तिनीहरूलाई खाल्टोबाट उद्धार गर्नुहुन्थ्यो, जहाँ तिनीहरू फसेका थिए।

२१ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि

मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।

२२ तिनीहरूले धन्यवादको भेटी चढाऊन्‌+

अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्‌।

२३ जो जहाजमा समुद्रको यात्रा गर्छन्‌,

जो व्यापारको लागि विशाल सागरमा मालसामान ओसारपसार गर्छन्‌,+

२४ तिनीहरूले यहोवाका कामहरू देखेका छन्‌,

गहिराइमा भएका उहाँका आश्‍चर्यजनक कामहरू तिनीहरूले देखेका छन्‌;+

२५ उहाँको हुकुमले कसरी आँधी चल्छ+

अनि समुद्रका छालहरू कसरी माथि उठ्‌छन्‌, तिनीहरूले देखेका छन्‌;

२६ तिनीहरू उचालिएर माथि आकाशसम्मै पुग्छन्‌

अनि थचारिएर तल समुद्रको गहिराइसम्मै पुग्छन्‌।

आफूमाथि मडारिरहेको विपत्तिको कारण तिनीहरू हिम्मत हार्छन्‌।

२७ रक्सीले मात्तिएको मानिसजस्तै तिनीहरू लर्खराउँछन्‌

अनि तिनीहरूको सबै सीप बेकार साबित हुन्छ।+

२८ तब सङ्‌कटमा पर्दा तिनीहरू यहोवालाई गुहार्छन्‌;+

तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ।

२९ अनि उहाँले आँधीलाई थाम्नुहुन्छ;

समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ।+

३० छालहरू शान्त भएको देखेर तिनीहरू खुसी हुन्छन्‌

अनि तिनीहरूले चाहेको बन्दरगाहमा उहाँले तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ।

३१ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि

मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।+

३२ मानिसहरूको समुदायमा तिनीहरूले उहाँलाई उच्च पारून्‌;+

बुज्रुगहरूको सभामा* तिनीहरूले उहाँको प्रशंसा गरून्‌।

३३ उहाँले नदीहरूलाई मरुभूमिमा

र पानीका मूलहरूलाई सुक्खा जमिनमा परिणत गर्नुहुन्छ।+

३४ अनि उर्वर भूमिलाई बन्जर बनाइदिनुहुन्छ।+

त्यहाँ बसोबास गर्नेहरूको दुष्टताको कारण उहाँ त्यसो गर्नुहुन्छ।

३५ उहाँले मरुभूमिलाई नर्कट उम्रने पोखरी बनाउनुहुन्छ

अनि सुक्खा जमिनमा पानीको मूल फुटाउनुहुन्छ।+

३६ उहाँले भोकाहरूलाई त्यहाँ बास गर्न दिनुहुन्छ+

ताकि तिनीहरूले सहर बसालेर त्यहाँ बस्न सकून्‌।+

३७ तिनीहरूले खेतमा बिउ छर्छन्‌ र अङ्‌गुर बगान लगाउँछन्‌,+

जसबाट प्रशस्त उब्जनी हुन्छ।+

३८ उहाँले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ र तिनीहरूको धेरै वृद्धि हुन्छ।

उहाँले तिनीहरूको वस्तुभाउलाई पनि घट्‌न दिनुहुन्‍न।+

३९ तर अत्याचार, विपत्ति र दुःखमा परेर

तिनीहरू फेरि थोरै हुन्छन्‌ र बेइज्जती भोग्छन्‌।

४० उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ

अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+

४१ तर उहाँले गरिबहरूलाई अत्याचारबाट बचाउनुहुन्छ*+

अनि तिनीहरूका परिवारहरूलाई भेडाहरूको बगालजत्तिकै धेरै बनाउनुहुन्छ।

४२ सोझाहरूले यो देख्छन्‌ र हर्षित हुन्छन्‌+

तर दुष्टहरू सबैले आफ्नो मुख बन्द गर्छन्‌।+

४३ जो बुद्धिमान्‌ छ, उसले यी सबै कुरा याद गर्नेछ+

अनि यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नेछ।+

एउटा गीत। दाउदले रचेको भजन।

१०८ मेरो हृदय स्थिर छ, हे परमेश्‍वर।

म मग्न भएर बाजाहरू बजाउँदै गीत गाउनेछु।+

 २ ए तारे बाजा, ए वीणा, जाग!+

म बिहानीको उषालाई ब्युँझाउनेछु।

 ३ हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;

राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*

 ४ किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+

अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।

 ५ हे परमेश्‍वर, स्वर्गमा तपाईँको महिमा होस्‌;

तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्‌।+

 ६ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र मलाई जवाफ दिनुहोस्‌+

अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।

 ७ परमेश्‍वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:

“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम+ दिनेछु।

अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+

 ८ जसरी मनस्से मेरो हो, गिलाद+ पनि मेरै हो

अनि एप्रैम मेरो शिरको टोप* हो;+

यहुदा मेरो लागि शासकको लौरो हो।+

 ९ मोआब मेरो हातगोडा धुने बाटा हो।+

एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+

अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+

१० पर्खालले घेरिएको सहरमा मलाई कसले पुऱ्‍याइदेला?

एदोमसम्म मलाई कसले डोऱ्‍याइदेला?+

११ हे परमेश्‍वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?

हे हाम्रा परमेश्‍वर, तपाईँले हाम्रो सेनाको साथ छोड्‌नुभएको छैन र?+

१२ हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्‌+

किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+

१३ परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ +

अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+

निर्देशकलाई। दाउदले रचेको भजन।

१०९ हे परमेश्‍वर, जसको म प्रशंसा गर्छु,+ चुप लागेर नबस्नुहोस्‌।

 २ किनकि दुष्ट र छली मानिसहरू मविरुद्ध आफ्नो मुख खोल्छन्‌।

तिनीहरूको जिब्रोले मेरो विषयमा झूट बोल्छ।+

 ३ तिनीहरूले मलाई घृणाका वचनले घेरेका छन्‌

अनि तिनीहरू विनाकारण मलाई आक्रमण गर्छन्‌।+

 ४ मैले तिनीहरूलाई गरेको प्रेमको बदलामा तिनीहरू मेरो विरोध गर्छन्‌+

तर म भने प्रार्थना गरिरहन्छु।

 ५ मैले गरेको भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्‌+

अनि मैले गरेको प्रेमको बदलामा मलाई घृणा गर्छन्‌।+

 ६ मेरो शत्रुको* विरुद्धमा कुनै दुष्टलाई नियुक्‍त गर्नुहोस्‌;

त्यसको दाहिने हाततिर विरोधी* खडा होस्‌।

 ७ त्यसको न्याय गरिँदा त्यसलाई दोषी* ठहराइयोस्‌;

त्यसको प्रार्थनालाई समेत पापको रूपमा लिइयोस्‌।+

 ८ त्यसको दिन घटाइयोस्‌;+

निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्‌।+

 ९ त्यसका छोराछोरी* अनाथ* होऊन्‌

र त्यसकी पत्नी विधवा।

१० त्यसका छोराछोरी* भीख माग्दै भौँतारिनुपरोस्‌,

तिनीहरूले उजाड भएको आफ्नो घरबाट निस्केर खानेकुरा खोज्नुपरोस्‌।

११ त्यसलाई ऋण दिनेहरूले त्यससँग भएका सबै कुरा जफत गरून्‌*

र अनजान मानिसहरूले त्यसलाई लुटून्‌।

१२ कसैले त्यसलाई दया* नदेखाओस्‌

अनि त्यसका अनाथ छोराछोरीलाई कसैले कृपा नगरोस्‌।

१३ त्यसका सन्तान नामेट होऊन्‌;+

तिनीहरूको नाम एकै पुस्तामा मेटियोस्‌।

१४ त्यसका पुर्खाका गल्तीहरू यहोवाले सम्झिऊन्‌।+

अनि त्यसकी आमाको पाप नमेटियोस्‌।

१५ तिनीहरूले जे-जति गरे, ती सबै यहोवाले सधैँ सम्झिऊन्‌

अनि पृथ्वीबाट तिनीहरूको सम्झना उहाँले मेटाइदेऊन्‌+

१६ किनकि त्यसले दया देखाउन बिर्सेको थियो+

बरु त्यसले थिचोमिचोमा परेकाहरू, गरिबहरू र टुटेको मन भएकाहरूलाई मार्नको लागि+

उनीहरूको खेदो गरिरह्‍यो।+

१७ त्यसलाई सराप दिन मन पर्थ्यो र त्यसलाई नै सराप लाग्यो;

त्यसलाई आशिष्‌ दिन पटक्कै मन पर्दैन थियो र त्यसले पनि एउटै आशिष्‌ पाएन।

१८ त्यसले सरापलाई आफ्नो वस्त्र जस्तैगरि पहिरेको थियो।

अनि त्यो त्यसको शरीरमा पानीजस्तै खन्याइयो

र त्यसका हड्डीहरूमा तेलजस्तै खन्याइयो।

१९ त्यसमाथि परेको सराप त्यसको निम्ति जीउ ढाक्ने वस्त्रजस्तै होस्‌+

त्यसले सधैँ बाँध्ने पटुकाजस्तै होस्‌।

२० मेरो विरोध गर्नेहरूलाई अनि मेरो विरुद्धमा दुष्ट कुराहरू गर्नेहरूलाई+

यहोवा यस्तै प्रतिफल दिनुहुन्छ।

२१ तर तपाईँ, हे ब्रह्‍माण्डका मालिक यहोवा,

आफ्नो नामको खातिर मेरो पक्षमा कदम चाल्नुहोस्‌।+

मेरो उद्धार गर्नुहोस्‌ किनकि तपाईँको अटल प्रेम उत्तम छ।+

२२ किनकि म असहाय र गरिब छु;+

मेरो मन घायल भएको छ।+

२३ ढल्कँदै गरेको छाँयाजस्तै म बिलाउँदै गएको छु;

सलहजस्तै यताउता हुत्याइएको छु।

२४ उपवासको कारण मेरा घुँडाहरू कमजोर भएका छन्‌;

मेरो शरीर दुब्लो भएको छ, क्षीण हुँदै गएको छ।*

२५ म तिनीहरूको हाँसोको पात्र भएको छु;+

मलाई देख्दा तिनीहरू आफ्नो मुन्टो हल्लाउँछन्‌।+

२६ हे यहोवा मेरा परमेश्‍वर, मलाई मदत गर्नुहोस्‌;

तपाईँको अटल प्रेमको कारण मलाई बचाउनुहोस्‌।

२७ अनि तपाईँले आफ्नो हातले नै यो गर्नुभएको हो भनी तिनीहरूले थाह पाऊन्‌;

हे यहोवा, तपाईँले नै यो गर्नुभएको हो भनी तिनीहरूले जानून्‌।

२८ तिनीहरूले सराप दिए पनि तपाईँ मलाई आशिष्‌ दिनुहोस्‌

तिनीहरू मविरुद्ध खडा हुँदा तिनीहरू लाजमा परून्‌

तर तपाईँको यस सेवकले भने खुसी मनाउन पाओस्‌।

२९ मेरो विरोध गर्नेहरूलाई अपमानको पोसाक पहिऱ्‍याइयोस्‌;

सरमले तिनीहरूलाई वस्त्रले झैँ ढाकोस्‌।+

३० मेरो मुखले जोसका साथ यहोवाको प्रशंसा गर्नेछ;

धेरै मानिसको अगाडि म उहाँको गुणगान गाउनेछु।+

३१ उहाँ गरिबको दाहिने हाततिर खडा हुनुहुनेछ

र उसलाई दोषी ठहराउनेहरूबाट बचाउनुहुनेछ।

दाउदले रचेको भजन।

११० यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:

“तिमी मेरो दाहिने हाततिर बस,+

जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+

 २ यहोवाले सियोनबाट तिम्रो शक्‍तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:

“जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+

 ३ जुन दिन तिमी आफ्नो सेना लिएर युद्धमा जान्छौ, तिम्रा मानिसहरू राजीखुसीले तयार हुनेछन्‌।

तिम्रो साथमा जवानहरूको दल हुनेछ, जसमा पवित्रताको तेज चम्कन्छ,

जो उषाको गर्भबाट निस्कने शीतका थोपाहरूजस्तै हुन्छन्‌।

 ४ यहोवाले शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन:

“तिमी सधैँका लागि पुजारी हौ,+ मल्किसेदेकजस्तो!”+

 ५ तिम्रो दाहिने हाततिर यहोवा हुनुहुनेछ;+

आफ्नो रिसको दिनमा उहाँले राजाहरूलाई कुल्चिनुहुनेछ।+

 ६ राष्ट्र-राष्ट्रलाई* उहाँले दण्ड दिनुहुनेछ;+

देशभरि जताततै लासको थुप्रो लगाउनुहुनेछ।+

उहाँले विशाल देशको* नेतालाई कुल्चिनुहुनेछ।

 ७ उसले* बाटोछेउको खोलाबाट पानी पिउनेछ

अनि आफ्नो शिर गर्वले ठाडो पार्नेछ।

१११ याहको प्रशंसा गर!*+

א [आलेफ]

समुदायमा र सोझा मानिसहरूको समूहमा

ב [बेथ]

म सारा हृदयले यहोवाको प्रशंसा गर्नेछु।+

ג [गिमेल]

 २ यहोवाका कामहरू महान्‌ छन्‌;+

ד [दालेथ]

ती कामहरूमा रमाउनेहरू सबैले तिनमा गौर गर्छन्‌।+

ה [हे]

 ३ उहाँका कामहरू महिमा र वैभवले परिपूर्ण छन्‌

ו [वाव]

अनि उहाँको धार्मिकता सदासर्वदा रहिरहनेछ।+

ז [जयिन]

 ४ उहाँ आफ्ना आश्‍चर्यजनक कामहरूलाई यादगार बनाउनुहुन्छ।+

ח [हेत]

यहोवा दयालु र कृपालु हुनुहुन्छ।+

ט [टेथ]

 ५ उहाँको डर मान्‍नेहरूलाई उहाँ भोजन दिनुहुन्छ।+

י [योद]

उहाँ आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न।+

כ [काफ]

 ६ आफ्ना मानिसहरूलाई अरू राष्ट्रहरूको अधिकार दिएर

ל [लामेद]

उहाँले आफ्ना मानिसहरूलाई आफ्ना शक्‍तिशाली कार्यहरू प्रकट गर्नुभएको छ।+

מ [मेम]

 ७ उहाँका हातका कामहरू सत्यता र न्यायले भरिएका छन्‌।+

נ [नुन]

उहाँका सबै आज्ञा भरोसायोग्य छन्‌।+

ס [सामेख]

 ८ ती सधैँ भरपर्दा छन्‌, अहिले र सदासर्वदा।

ע [अयिन]

ती सत्यता र धार्मिकतामा बसालिएका छन्‌।+

פ [पे]

 ९ उहाँले आफ्ना मानिसहरूलाई छुटकारा दिनुभएको छ।+

צ [सादे]

आफ्नो करार सधैँभरि कायम रहोस्‌ भनी उहाँले आज्ञा दिनुभएको छ।

ק [कोफ]

उहाँको नाम पवित्र छ, यसले श्रद्धा जगाउँछ।+

ר [रेश]

१० यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो।+

ש [शिन]

उहाँका आज्ञाहरू पालन गर्ने सबैले अन्तर्दृष्टि* देखाउँछन्‌।+

ת [ताव]

उहाँको प्रशंसा सदासर्वदा भइरहनेछ।

११२ याहको प्रशंसा गर!*+

א [आलेफ]

आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+

ב [बेथ]

जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+

ג [गिमेल]

 २ उसका सन्तान पृथ्वीमा शक्‍तिशाली हुनेछन्‌

ד [दालेथ]

अनि सोझाहरूको पुस्ताले आशिष्‌ पाउनेछ।+

ה [हे]

 ३ उसको घरमा धनसम्पत्ति हुन्छ

ו [वाव]

अनि उसको धार्मिकता सदा रहिरहन्छ।

ז [जयिन]

 ४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+

ח [हेत]

उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ।

ט [टेथ]

 ५ उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+

י [योद]

उसले आफ्नो सबै काम न्यायसाथ गर्छ।

כ [काफ]

 ६ ऊ कहिल्यै डगमगाउनेछैन।+

ל [लामेद]

धर्मी मानिसको सधैँ सम्झना गरिनेछ।+

מ [मेम]

 ७ ऊ नराम्रो खबरले डराउनेछैन।+

נ [नुन]

यहोवामा भरोसा राखेकोले उसको मन स्थिर रहन्छ।+

ס [सामेख]

 ८ उसको मन दृढ* छ; ऊ डराउँदैन;+

ע [अयिन]

आखिरमा उसले आफ्ना शत्रुहरूको पराजय देख्नेछ।+

פ [पे]

 ९ उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ।+

צ [सादे]

उसको धार्मिकता सधैँभरि टिकिरहन्छ।+

ק [कोफ]

उसको शक्‍तिको* महिमा बढ्‌दै जानेछ।

ר [रेश]

१० दुष्टले त्यो देख्नेछ र त्यसको मन कुँडिनेछ।

ש [शिन]

त्यसले दाह्रा किट्‌नेछ र त्यो नाश हुनेछ।

ת [ताव]

दुष्टको चाहना कहिल्यै पूरा हुनेछैन।+

११३ याहको प्रशंसा गर!*

हे परमेश्‍वरका सेवकहरू हो, उहाँको प्रशंसा गर,

यहोवाको नामको प्रशंसा गर।

 २ यहोवाको नामको प्रशंसा होस्‌,

अहिले र सदासर्वदा।+

 ३ पूर्वदेखि पश्‍चिमसम्मै*

यहोवाको नामको प्रशंसा होस्‌।+

 ४ यहोवा सबै राष्ट्रभन्दा उच्च हुनुहुन्छ;+

उहाँ आकाशभन्दा पनि महिमावान्‌ हुनुहुन्छ।+

 ५ यहोवा हाम्रा परमेश्‍वरजस्तो अरू को छ,+

जो उच्च ठाउँमा विराजमान हुनुहुन्छ?

 ६ आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ।+

 ७ उहाँ दीनदुःखीलाई धुलोबाट

अनि गरिबलाई खरानीको थुप्रोबाट* उठाउनुहुन्छ+

 ८ ताकि ऊ प्रतिष्ठित मानिसहरूसित,

उहाँको प्रजाका प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्‌।

 ९ उहाँ बाँझी स्त्रीलाई सन्तानको सुख दिनुहुन्छ;

उसको घरमा छोराछोरी* हुन्छन्‌।+

याहको प्रशंसा गर।*

११४ जब इस्राएल मिश्रबाट निस्कियो,+

जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो,

 २ तब यहुदा परमेश्‍वरको पवित्र स्थान* बन्यो

अनि इस्राएल उहाँको राज्य।+

 ३ समुद्रले त्यो देख्यो र भाग्यो;+

यर्दन नदी उल्टो बग्न थाल्यो।+

 ४ पहाडहरू थुमाजस्तै+

अनि डाँडाहरू पाठाजस्तै उफ्रिन थाले।

 ५ ए समुद्र, तँ किन भागिस्‌?+

ए यर्दन, तँ किन उल्टो बग्न थालिस्‌?+

 ६ ए पहाडहरू, तिमीहरू किन थुमाजस्तै उफ्रन थाल्यौ?

ए डाँडाहरू, तिमीहरू किन पाठाजस्तै उफ्रन थाल्यौ?

 ७ ए धर्ती, प्रभुको कारण थरथर काँप्‌,

याकुबका परमेश्‍वरको कारण काँप्‌,+

 ८ जसले चट्टानलाई नर्कटको पोखरीमा परिणत गर्नुहुन्छ

र चट्टानबाट पानीको मूल फुटाउनुहुन्छ।+

११५ हाम्रो होइन, हे यहोवा, हाम्रो होइन*

तर तपाईँको अटल प्रेम र वफादारीको कारण+

आफ्नो नामको महिमा गर्नुहोस्‌।+

 २ राष्ट्रहरूले यसो भन्‍ने मौका नपाऊन्‌:

“खोइ तिनीहरूका परमेश्‍वर?”+

 ३ हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ;

उहाँलाई जे उचित लाग्छ, उहाँ त्यही गर्नुहुन्छ।

 ४ तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌,

ती त मानिसका हातको काम हुन्‌।+

 ५ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+

आँखा छन्‌ तर देख्न सक्दैनन्‌;

 ६ तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌;

नाक छ तर सुँघ्न सक्दैनन्‌;

 ७ हात छन्‌ तर छाम्न सक्दैनन्‌;

खुट्टा छन्‌ तर हिँड्‌न सक्दैनन्‌;+

तिनीहरूले आफ्नो गलाबाट आवाज निकाल्न सक्दैनन्‌।+

 ८ तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+

तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+

 ९ हे इस्राएल, यहोवामा भरोसा गर;+

उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।+

१० हे हारुनको घराना,+ यहोवामा भरोसा गर;

उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।

११ हे यहोवाको डर मान्‍नेहरू हो, यहोवामा भरोसा गर;+

उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।+

१२ यहोवाले हामीलाई सम्झनुहुन्छ र आशिष्‌ दिनुहुनेछ;

उहाँले इस्राएलको घरानालाई आशिष्‌ दिनुहुनेछ;+

उहाँले हारुनको घरानालाई आशिष्‌ दिनुहुनेछ।

१३ ज-जसले यहोवाको भय मान्छन्‌, तिनीहरूलाई उहाँले आशिष्‌ दिनुहुनेछ,

सानादेखि ठूला सबैलाई आशिष्‌ दिनुहुनेछ।

१४ यहोवाले तिमीहरूको सङ्‌ख्या बढाइदिनुहुनेछ;

तिमीहरू र तिमीहरूका छोराछोरीको* वृद्धि गराउनुहुनेछ।+

१५ यहोवाले तिमीहरूलाई आशिष्‌ देऊन्‌,+

जो स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ।+

१६ स्वर्ग यहोवाकै हो+

तर पृथ्वीचाहिँ उहाँले मानिसहरूलाई दिनुभएको छ।+

१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌;+

हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।+

१८ तर हामी भने याहको प्रशंसा गर्नेछौँ,

अहिले र सदासर्वदा।

याहको प्रशंसा गर!*

११६ म यहोवालाई प्रेम गर्छु

किनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ,* मदतको लागि मेरो पुकारा सुन्‍नुहुन्छ।+

 २ उहाँले मतिर आफ्नो कान* फर्काउनुहुन्छ,+

म बाँचुन्जेल* उहाँलाई पुकार्नेछु।

 ३ मृत्युको डोरीले मलाई कस्यो;

चिहानले* मलाई आफ्नो पन्जामा पाऱ्‍यो।+

शोक र पीडाले मलाई गाँजेको थियो।+

 ४ तर मैले यहोवाको नाम पुकारेँ:+

“हे यहोवा, मलाई बचाउनुहोस्‌!”

 ५ यहोवा दयालु र न्यायी हुनुहुन्छ;+

हाम्रा परमेश्‍वर कृपालु हुनुहुन्छ।+

 ६ यहोवा अनुभवहीनहरूलाई रक्षा गर्नुहुन्छ।+

म असहाय भएको थिएँ तर उहाँले मलाई बचाउनुभयो।

 ७ म फेरि चिन्तामुक्‍त हुनेछु

किनकि यहोवाले मलाई दया देखाउनुभएको छ।

 ८ तपाईँले मलाई मृत्युबाट छुटाउनुभएको छ,

मेरो आँखालाई रुन र मेरो खुट्टालाई ठेस लाग्न दिनुभएको छैन।+

 ९ जीवितहरूको देशमा म यहोवासामु हिँड्‌नेछु।

१० मलाई विश्‍वास थियो, त्यसैले मैले बोलेँ;+

म साह्रै कष्टमा थिएँ।

११ म आत्तिएँ र भनेँ:

“सबै मानिस झूटा हुन्‌।”+

१२ यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो

म उहाँलाई के चढाऊँ?

१३ म उद्धारको कचौरा लिनेछु

र यहोवाको नाम पुकार्नेछु।

१४ मैले यहोवासित गरेका भाकलहरू

उहाँका सबै मानिससामु म पूरा गर्नेछु।+

१५ आफ्ना वफादार जनहरूको मृत्यु

यहोवाको नजरमा अनमोल छ।+

१६ हे यहोवा, म तपाईँलाई बिन्ती गर्छु

किनकि म तपाईँको सेवक हुँ।

म तपाईँको सेवक हुँ, तपाईँकी दासीको छोरा।

तपाईँले मेरा बन्धनहरू फुकाउनुभएको छ।+

१७ म तपाईँलाई धन्यवादको भेटी चढाउनेछु;+

म यहोवाको नाम पुकार्नेछु।

१८ मैले यहोवासित गरेका भाकलहरू

उहाँका सबै मानिससामु+ म पूरा गर्नेछु,+

१९ यहोवाको भवनको चोकमा+

हे यरुसलेम, तिम्रो माझमा।

याहको प्रशंसा गर।*+

११७ हे जातिजातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर;+

हे सबै मानिस* हो, उहाँको महिमा गर।+

 २ उहाँले हाम्रो निम्ति देखाउनुभएको अटल प्रेम अपार छ;+

यहोवाको वफादारी+ सदासर्वदा रहिरहन्छ।+

याहको प्रशंसा गर!*+

११८ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

 २ अब इस्राएलले भनोस्‌:

“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

 ३ अब हारुनको घरानाले भनोस्‌:

“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

 ४ अब यहोवाको डर मान्‍नेहरूले भनून्‌:

“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

 ५ सङ्‌कष्टमा पर्दा मैले याहलाई* पुकारेँ;

याहले मलाई जवाफ दिनुभयो र सुरक्षित ठाउँमा* ल्याउनुभयो।+

 ६ यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।+

मानिसले मलाई के गर्न सक्छ र?+

 ७ यहोवा मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो मदतगार हुनुहुन्छ;*+

मलाई घृणा गर्नेहरूको पराजय मैले देख्नेछु।+

 ८ मानिसमा भरोसा गर्नुभन्दा

यहोवामा शरण लिनु उत्तम हो।+

 ९ शासकहरूमा भरोसा गर्नुभन्दा

यहोवामा शरण लिनु उत्तम हो।+

१० सबै राष्ट्रले मलाई घेरे

तर यहोवाको नाममा

मैले तिनीहरूलाई खेदेँ।+

११ तिनीहरूले मलाई घेरे, हो, चारैतिरबाट घेरे

तर यहोवाको नाममा

मैले तिनीहरूलाई खेदेँ।

१२ मौरीले घेरेझैँ तिनीहरूले मलाई घेरेका थिए

तर काँडा-घारीको आगो तुरुन्तै निभेझैँ तिनीहरू निभिहाले।

यहोवाको नाममा

मैले तिनीहरूलाई खेदेँ।+

१३ मलाई लडाउन बेसरी धक्का दिइयो*

तर यहोवाले मलाई मदत गर्नुभयो।

१४ याह मेरो शरण र मेरो बल हुनुहुन्छ,

उहाँ मेरो उद्धारक हुनुभएको छ।+

१५ धर्मीहरूको उद्धार* भएको छ;

त्यसैले तिनीहरूको पालमा जयजयकारको आवाज सुनिन्छ।

यहोवाको दाहिने हातले आफ्नो शक्‍ति प्रकट गरेको छ।+

१६ यहोवाको दाहिने हात माथि उचालिएको छ;

यहोवाको दाहिने हातले आफ्नो शक्‍ति प्रकट गरेको छ।+

१७ अहँ, म मर्दिनँ, म बाँच्नेछु

र याहका कामहरूको घोषणा गर्नेछु।+

१८ याहले मलाई कडा अनुशासन दिनुभयो+

तर उहाँले मलाई मृत्युको हातमा सुम्पनुभएन।+

१९ मेरो लागि धार्मिकताको ढोका खोलिदिनुहोस्‌।+

म त्यहाँबाट प्रवेश गर्नेछु र याहको प्रशंसा गर्नेछु।

२० यो यहोवाको ढोका हो।

धर्मीहरू यसबाट प्रवेश गर्नेछन्‌।+

२१ म तपाईँको प्रशंसा गर्नेछु किनकि तपाईँले मलाई जवाफ दिनुभयो+

र तपाईँ मेरो उद्धारक हुनुभयो।

२२ जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,

त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+

२३ यहोवाले त्यसो गर्नुभएको हो;+

यो हाम्रो नजरमा साह्रै अचम्मको छ।+

२४ यो दिन यहोवाले नै तोक्नुभएको हो;

हामी हर्ष र आनन्द मनाउनेछौँ।

२५ हे यहोवा, कृपा गरी हामीलाई बचाउनुहोस्‌, बिन्ती छ!

हे यहोवा, बिन्ती छ, हामीलाई विजयी तुल्याउनुहोस्‌!

२६ यहोवाको नाममा आउने धन्यका हुन्‌;+

यहोवाको भवनबाट हामी तिमीहरूलाई आशिष्‌ दिन्छौँ।

२७ यहोवा परमेश्‍वर हुनुहुन्छ;

उहाँले हामीलाई ज्योति दिनुहुन्छ।+

हातमा हाँगाहरू लिएर हामीसँगै चाडको जुलुसमा आओ,+

हामी वेदीको सिङसम्मै जाऔँ।+

२८ तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ र म तपाईँको प्रशंसा गर्नेछु;

मेरा परमेश्‍वर, म तपाईँको जयजयकार गर्नेछु।+

२९ यहोवालाई धन्यवाद चढाओ+ किनकि उहाँ भला हुनुहुन्छ;

उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

א [आलेफ]

११९ आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो चालमा निर्दोष छन्‌,*

जो यहोवाको व्यवस्थाअनुसार चल्दछन्‌।+

 २ आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँका सम्झौटाहरू पालन गर्छन्‌,+

जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन्‌।+

 ३ तिनीहरू कुकर्मदेखि अलग रहन्छन्‌;

तिनीहरू उहाँको मार्गमा हिँड्‌छन्‌।+

 ४ तपाईँका आदेशहरू होसियार भई पालन गर्नू भनी+

तपाईँले आज्ञा दिनुभएको छ।

 ५ म केवल यही चाहन्छु कि म स्थिर भइरहूँ*+

ताकि मैले तपाईँका नीतिनियम पालन गर्न सकूँ।

 ६ तब तपाईँका सबै आज्ञा पालन गर्दा

मैले बेइज्जती भोग्नुपर्नेछैन।+

 ७ जब म तपाईँका न्यायोचित फैसलाहरूबारे सिक्नेछु,

तब सोझो मनले म तपाईँको प्रशंसा गर्नेछु।

 ८ म तपाईँका नीतिनियम पालन गर्नेछु;

मलाई चटक्कै नत्याग्नुहोस्‌।

ב [बेथ]

 ९ जवान मानिसले कसरी आफ्नो मार्ग स्वच्छ राख्न सक्छ?

होसियार भई तपाईँको वचन पालन गरेर।+

 १० म आफ्नो सारा हृदयले तपाईँको खोजी गर्छु।

मलाई तपाईँका आज्ञाहरूदेखि तर्केर जान नदिनुहोस्‌।+

 ११ म आफ्नो हृदयमा तपाईँका वाणी साँचेर राख्छु+

ताकि मैले तपाईँविरुद्ध पाप नगरूँ।+

 १२ हे यहोवा, तपाईँको प्रशंसा होस्‌।

मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।

 १३ तपाईँले सुनाउनुभएका सबै फैसला

म आफ्नो मुखले घोषणा गर्छु।

 १४ कुनै पनि बहुमूल्य कुरामा भन्दा+

तपाईँका सम्झौटाहरूमा म रमाहट गर्छु।+

 १५ तपाईँका आदेशहरूमा म घोरिनेछु।*+

अनि तपाईँको मार्गमा ध्यान लगाउनेछु।+

 १६ तपाईँका ऐनकानुन मलाई साह्रै मन पर्छ।

तपाईँको वचनलाई म बिर्सनेछैनँ।+

ג [गिमेल]

 १७ तपाईँको यस सेवकलाई दया देखाउनुहोस्‌

ताकि म जीवित रहन सकूँ र तपाईँको वचन पालन गर्न सकूँ।+

 १८ मेरो आँखा खोलिदिनुहोस्‌

ताकि तपाईँको व्यवस्थाका उत्तम कुराहरू मैले छर्लङ्‌गै देख्न सकूँ।

 १९ यो देशमा म परदेशी मात्र हुँ।+

तपाईँका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌।

 २० तपाईँका फैसलाहरू सुन्‍ने तिर्सनाले गर्दा

मलाई हरबखत छटपटी हुन्छ।

 २१ अहङ्‌कारीहरूलाई तपाईँ हप्काउनुहुन्छ,

ती श्रापित मानिसहरूलाई, जो तपाईँका आज्ञाहरूबाट तर्केर जान्छन्‌।+

 २२ मेरो बदनामी र मेरो अपमान हटाइदिनुहोस्‌

किनकि मैले तपाईँका सम्झौटाहरू पालन गरेको छु।

 २३ शासकहरू एक ठाउँमा भेला भएर मविरुद्ध बोल्दा समेत

तपाईँको यो सेवक तपाईँका नीतिनियममा डुबिरहन्छ।*

 २४ तपाईँका सम्झौटाहरू मलाई साह्रै मन पर्छ।+

ती मेरा सल्लाहकार भएका छन्‌।+

ד [दालेथ]

 २५ म धुलोमा लम्पसार परेको छु।+

तपाईँको वचनअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।+

 २६ मैले आफ्ना सबै कामबारे तपाईँलाई बताएँ अनि तपाईँले मलाई जवाफ दिनुभयो;

मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।+

 २७ मलाई तपाईँका आदेशहरूको अर्थ* बुझाइदिनुहोस्‌

ताकि तपाईँका आश्‍चर्यलाग्दा कामहरूमा म डुबिरहन* सकूँ।+

 २८ मेरा दुःखहरूले गर्दा मेरो निद्रा हराएको छ।

मलाई तपाईँको वचनले बलियो बनाउनुहोस्‌।

 २९ छल अनि कपटको बाटोदेखि मलाई टाढै राख्नुहोस्‌,+

मलाई तपाईँको अनुग्रह देखाउनुहोस्‌ र तपाईँको व्यवस्था सिकाउनुहोस्‌।

 ३० मैले वफादारीको मार्ग रोजेको छु।+

तपाईँका फैसलाहरू सही छन्‌ भनी मैले स्विकारेको छु।

 ३१ म तपाईँका सम्झौटाहरूसित टाँसिरहन्छु।+

हे यहोवा, मलाई निराश नतुल्याउनुहोस्‌।*+

 ३२ तपाईँका आज्ञाहरूको मार्गमा म उत्सुक भई हिँड्‌नेछु*

किनकि तपाईँले मेरो हृदयमा आफ्ना आज्ञाहरूको लागि ठाउँ बनाइदिनुभएको छ।*

ה [हे]

 ३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्‌न सिकाउनुहोस्‌+

अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+

 ३४ मलाई समझ दिनुहोस्‌

ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ

अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।

 ३५ मलाई तपाईँका आज्ञाहरूको गोरेटोमा डोऱ्‍याउनुहोस्‌*+

किनकि म त्यसमा अति प्रसन्‍न हुन्छु।

 ३६ मेरो हृदयलाई बेइमानीको कमाइतिर होइन+

बरु तपाईँका सम्झौटाहरूतिर फर्काइदिनुहोस्‌।

 ३७ व्यर्थका कुरा हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।+

मलाई तपाईँको मार्गमा जीवितै राख्नुहोस्‌।

 ३८ आफ्नो यस सेवकसित गर्नुभएको प्रतिज्ञा* पूरा गर्नुहोस्‌

ताकि मानिसहरूले तपाईँको डर मानून्‌।*

 ३९ जुन बदनामीको मलाई डर छ, त्यो मदेखि हटाइदिनुहोस्‌

किनकि तपाईँका फैसलाहरू सही छन्‌।+

 ४० हेर्नुहोस्‌, म तपाईँका आदेशहरूको कत्ति तिर्सना गर्छु!

तपाईँको धार्मिकताको कारण मलाई जीवितै राख्नुहोस्‌।

ו [वाव]

 ४१ हे यहोवा, तपाईँको प्रतिज्ञाअनुसारै*+

मलाई तपाईँको अटल प्रेम देखाउनुहोस्‌+ र मेरो उद्धार गर्नुहोस्‌।

 ४२ अनि मेरो खिल्ली उडाउनेलाई म जवाफ दिनेछु

किनकि म तपाईँको वचनमा भरोसा गर्छु।

 ४३ मेरो मुखबाट तपाईँका सत्य वचनहरू कहिल्यै नहटाउनुहोस्‌

किनकि मैले तपाईँकै फैसलाको प्रतीक्षा गरेको छु।

 ४४ म तपाईँको व्यवस्था निरन्तर पालन गर्नेछु,

हो, सदासर्वदा पालन गर्नेछु।+

 ४५ म सुरक्षित ठाउँमा* हिँडडुल गर्नेछु+

किनकि म तपाईँका आदेशहरूको खोजी गर्छु।

 ४६ म राजाहरूसामु तपाईँका सम्झौटाहरूबारे बोल्नेछु

र म लजाउनेछैनँ।+

 ४७ तपाईँका आज्ञाहरू मलाई साह्रै मन पर्छ,

हो, म तिनलाई प्रेम गर्छु।+

 ४८ म तपाईँका आज्ञाहरूलाई प्रेम गर्छु,+

त्यसैले म आफ्नो हात उठाएर तपाईँलाई प्रार्थना गर्नेछु।

अनि म तपाईँका नीतिनियममा डुबिरहनेछु।*+

ז [जयिन]

 ४९ आफ्नो यस सेवकलाई दिनुभएको वचन* याद गर्नुहोस्‌,

जसद्वारा तपाईँ मलाई आशा दिनुहुन्छ।*

 ५० कष्टको समयमा त्यसले नै मलाई सान्त्वना दिन्छ+

किनकि तपाईँका वाणीले नै मेरो जीवनको रक्षा गरेको छ।

 ५१ अहङ्‌कारीहरू मेरो खुब खिल्ली उडाउँछन्‌

तर म तपाईँको व्यवस्थादेखि तर्केर जाँदिनँ।+

 ५२ हे यहोवा, प्राचीनकालदेखिका तपाईँका फैसलाहरू म सम्झन्छु+

अनि तिनैले मलाई सान्त्वना दिन्छन्‌।+

 ५३ तपाईँको व्यवस्थालाई लत्याउने+ दुष्ट मानिसहरूको कारण

मभित्र क्रोधको आगो दन्किएको छ।

 ५४ म जहाँसुकै बसे पनि*

तपाईँका नीतिनियम नै मेरा गीत हुन्‌।

 ५५ हे यहोवा, रातको समयमा म तपाईँको नाम सम्झन्छु+

ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ।

 ५६ त्यो मेरो दिनचर्या नै भएको छ

किनकि मैले तपाईँका आदेशहरू पालन गरेको छु।

ח [हेत]

 ५७ यहोवा मेरो अंश हुनुहुन्छ।+

तपाईँको वचन पालन गर्ने प्रतिज्ञा मैले गरेको छु।+

 ५८ मेरो सारा हृदयले म तपाईँलाई बिन्ती गर्छु;+

तपाईँको प्रतिज्ञाअनुसारै* मलाई अनुग्रह देखाउनुहोस्‌।+

 ५९ मैले आफ्ना मार्गहरू जाँचेको छु

ताकि तपाईँका सम्झौटाहरू फेरि पालन गर्न सकूँ।+

 ६० तपाईँका आज्ञाहरू पालन गर्न+

म हतारिन्छु, आलेटाले गर्दिनँ।

 ६१ दुष्टहरूको डोरीले मलाई जेलेको छ

तर तपाईँको व्यवस्थालाई मैले बिर्सेको छैनँ।+

 ६२ जब म मध्यरातमा उठ्‌छु,

तब तपाईँका न्यायोचित फैसलाहरूको लागि

धन्यवाद चढाउँछु।+

 ६३ तपाईँको डर मान्‍नेहरू

र तपाईँका आदेश पालन गर्नेहरू सबैको म मित्र हुँ।+

 ६४ हे यहोवा, पृथ्वी तपाईँको अटल प्रेमले भरिपूर्ण छ;+

मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।

ט [टेथ]

 ६५ हे यहोवा, तपाईँले आफ्नो वचनअनुसारै

आफ्नो सेवकको भलाइ गर्नुभएको छ।

 ६६ मलाई सुझबुझ र ज्ञान दिनुहोस्‌+

किनकि मैले तपाईँका आज्ञाहरूमा भरोसा गरेको छु।

 ६७ दुःख भोग्नुअघि म बरालिएको थिएँ*

तर अहिले त म तपाईँको कुरा मान्दछु।+

 ६८ तपाईँ असल हुनुहुन्छ+ र तपाईँका कामहरू असल छन्‌।

मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।+

 ६९ अहङ्‌कारीहरूले मेरो बारेमा नानाथरी झूट बोलेका छन्‌

तर म भने आफ्नो सारा हृदयले तपाईँका आदेशहरू पालन गर्छु।

 ७० तिनीहरूको हृदय बोधो* छ+

तर म भने तपाईँकै व्यवस्थामा रमाउँछु।+

 ७१ दुःख भोग्नु मेरो लागि असल साबित भएको छ+

किनकि मैले तपाईँका नीतिनियम सिक्न पाएँ।

 ७२ तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो लागि असल छ,+

त्यो हजारौँ टुक्रा सुन र चाँदीभन्दा पनि असल छ।+

י [योद]

 ७३ तपाईँले आफ्नो हातले मलाई बनाउनुभयो, मलाई आकार दिनुभयो।

मलाई समझशक्‍ति दिनुहोस्‌

ताकि मैले तपाईँका आज्ञाहरू सिक्न सकूँ।+

 ७४ तपाईँको डर मान्‍नेहरू मलाई देखेर रमाउँछन्‌

किनकि तपाईँको वचन नै मेरो आशा हो।*+

 ७५ हे यहोवा, म जान्दछु, तपाईँका फैसलाहरू न्यायोचित छन्‌;+

तपाईँले आफ्नो वफादारीको कारण मलाई कष्टमा पर्न दिनुभएको छ।+

 ७६ बिन्ती छ, तपाईँले आफ्नो यस सेवकसित गर्नुभएको प्रतिज्ञाअनुसारै*

तपाईँको अटल प्रेमले+ मलाई सान्त्वना दिनुहोस्‌।

 ७७ मलाई कृपा देखाउनुहोस्‌ ताकि म जीवित रहन सकूँ+

किनकि तपाईँको व्यवस्थामा म प्रसन्‍न रहन्छु।+

 ७८ अहङ्‌कारीहरूको बेइज्जत होस्‌

किनकि तिनीहरू विनाकारण* मलाई हानि पुऱ्‍याउँछन्‌।

तर म भने तपाईँका आदेशहरूमा घोरिन्छु।*+

 ७९ तपाईँको डर मान्‍नेहरू मकहाँ फर्केर आऊन्‌,

जसलाई तपाईँका सम्झौटाहरू थाह छ।

 ८० मेरो हृदयले निर्दोष भई तपाईँका नीतिनियम पालन गरोस्‌+

ताकि मैले बेइज्जती भोग्न नपरोस्‌।+

כ [काफ]

 ८१ तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु+

किनकि तपाईँको वचन नै मेरो आशा हो।*

 ८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्‌;+

म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+

 ८३ किनकि म धुवाँले सुकेको मशकजस्तै* भएको छु,

तैपनि तपाईँका नीतिनियम म बिर्सन्‍नँ।+

 ८४ तपाईँको यस सेवकले अझै कति दिन पर्खिनुपर्छ?

मलाई सताउनेहरूलाई तपाईँ कहिले दण्ड दिनुहुन्छ?+

 ८५ अहङ्‌कारीहरू, जो तपाईँको व्यवस्थालाई तुच्छ ठान्छन्‌,

तिनीहरू मेरो निम्ति खाडल खन्छन्‌।

 ८६ तपाईँका सबै आज्ञा भरोसायोग्य छन्‌।

मानिसहरू मलाई विनाकारण सताउँछन्‌; मलाई सहायता गर्नुहोस्‌!+

 ८७ तिनीहरूले मलाई पृथ्वीबाट झन्डै नामेट पारेका थिए

तर मैले तपाईँका आदेशहरूलाई लत्याइनँ।

 ८८ तपाईँको अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्‌

ताकि तपाईँको मुखबाट निस्केका सम्झौटाहरू मैले पालन गर्न सकूँ।

ל [लामेद]

 ८९ हे यहोवा, तपाईँको वचन स्वर्गमा

सदासदाको लागि कायम रहनेछ।+

 ९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+

तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+

 ९१ तपाईँका फैसलाहरूको कारण ती* अहिलेसम्म अस्तित्वमा छन्‌

किनकि ती सबै तपाईँका सेवक हुन्‌।

 ९२ यदि मैले तपाईँको व्यवस्थालाई मन नपराएको भए

मैले झेलेको कष्टले गर्दा म नामेट भइसक्ने थिएँ।+

 ९३ म तपाईँका आदेशहरू कहिल्यै बिर्सनेछैनँ

किनकि तीमार्फत तपाईँले मेरो जीवनको रक्षा गर्नुभएको छ।+

 ९४ म तपाईँकै हुँ, मलाई बचाउनुहोस्‌+

किनकि मैले तपाईँका आदेशहरूको खोजी गरेको छु।+

 ९५ दुष्टहरू मलाई नाश गर्न ढुकेर बस्छन्‌

तर म भने आफ्नो पूरा ध्यान तपाईँका सम्झौटाहरूमै लगाउँछु।

 ९६ निष्खोट कुराहरूमा समेत केही न केही त्रुटि हुँदो रहेछ

तर तपाईँका आज्ञाहरूमा भने कुनै त्रुटि छैन।*

מ [मेम]

 ९७ म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु!+

सारा दिन म त्यसैमा डुबिरहन्छु।*+

 ९८ तपाईँको आज्ञाले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान्‌ बनाउँछ+

किनकि त्यो सधैँ मसितै छ।

 ९९ मेरा सबै शिक्षकमा भन्दा ममा ज्यादा अन्तर्दृष्टि* छ+

किनकि म तपाईँका सम्झौटाहरूमा मग्न हुन्छु।*

१०० म बूढापाकाहरूभन्दा समझदार छु

किनकि म तपाईँका आदेशहरू पालन गर्छु।

१०१ तपाईँको वचन पालन गर्न सकूँ भनेर

म कुबाटोमा हिँड्‌न इन्कार गर्छु।+

१०२ म तपाईँका फैसलाहरूबाट तर्कदिनँ।

किनकि तपाईँले नै मलाई सिकाउनुभएको छ।

१०३ तपाईँका वाणीहरू मेरो जिब्रोलाई कत्ति मीठो लाग्छ!

ती मेरो मुखलाई महभन्दा पनि गुलियो लाग्छ।+

१०४ तपाईँका आदेशहरूले गर्दा म समझदार भएको छु।+

त्यसैले म सबै झूटो मार्गलाई घृणा गर्छु।+

נ [नुन]

१०५ तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती

र मेरो बाटोको निम्ति ज्योति हो।+

१०६ मैले तपाईँको न्यायोचित फैसला पालन गर्ने शपथ खाएको छु

र म त्यो पूरा गर्नेछु।

१०७ मैले ज्यादै कष्ट भोग्नुपरेको छ।+

हे यहोवा, तपाईँको वचनअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।+

१०८ हे यहोवा, बिन्ती छ, मैले चढाएको प्रशंसाको स्वैच्छिकभेटी स्विकार्नुहोस्‌+

र मलाई तपाईँको न्यायका स्तरहरू सिकाउनुहोस्‌।+

१०९ मेरो जीवन हरघडी खतरामा छ

तर मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ।+

११० दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्‌

तर म भने तपाईँका आदेशहरूबाट तर्केको छैनँ।+

१११ तपाईँका सम्झौटाहरूलाई म आफ्नो स्थायी सम्पत्ति* ठान्छु

किनकि तीदेखि मेरो हृदय खुसी हुन्छ।+

११२ मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्‌कल्प गरेको छु।

म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै।

ס [सामेख]

११३ आधा हृदयले तपाईँको भक्‍ति गर्नेहरूलाई म घृणा गर्छु+

तर म त तपाईँकै व्यवस्थालाई प्रेम गर्छु।+

११४ तपाईँ मेरो आश्रय र ढाल हुनुहुन्छ+

किनकि तपाईँको वचन नै मेरो आशा हो।*+

११५ ए कुकर्मीहरू हो, मबाट पर जाओ+

ताकि म मेरा परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ।

११६ तपाईँले प्रतिज्ञा गर्नुभएझैँ * मलाई साथ दिनुहोस्‌+

ताकि म जीवित रहन सकूँ;

मेरो आशालाई निराशामा परिणत हुन* नदिनुहोस्‌।+

११७ मलाई साथ दिनुहोस्‌ ताकि म जोगिन सकूँ;+

तब म सधैँभरि तपाईँका नीतिनियममा ध्यान दिनेछु।+

११८ तपाईँका नीतिनियमबाट तर्किनेहरू सबैलाई तपाईँ तिरस्कार गर्नुहुन्छ+

किनकि तिनीहरू झूटा र छली छन्‌।

११९ काम नलाग्ने कसर मिल्काएझैँ तपाईँ पृथ्वीका सबै दुष्टलाई मिल्काउनुहुन्छ।+

त्यसैले म तपाईँका सम्झौटाहरूलाई प्रेम गर्छु।

१२० तपाईँको भयले गर्दा म थरथर काँप्छु;

तपाईँको न्यायदण्डदेखि म डराउँछु।

ע [अयिन]

१२१ जे उचित र न्यायसङ्‌गत छ, मैले त्यही गरेको छु।

ममाथि अत्याचार गर्नेहरूको हातमा मलाई नसुम्पिनुहोस्‌।

१२२ तपाईँको यस सेवकलाई सहायता गर्ने वाचा गर्नुहोस्‌;

अहङ्‌कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌।

१२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छ

अनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+

१२४ तपाईँको यस सेवकलाई आफ्नो अटल प्रेम देखाउनुहोस्‌+

र तपाईँका नीतिनियम मलाई सिकाउनुहोस्‌।+

१२५ म तपाईँको सेवक हुँ;

मलाई तपाईँका सम्झौटाहरू बुझ्न समझ दिनुहोस्‌।+

१२६ यहोवाले कदम चाल्ने समय आएको छ+

किनकि तिनीहरूले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌।

१२७ साँच्चै, मलाई तपाईँका आज्ञाहरू साह्रै मन पर्छ,

सुनभन्दा पनि धेरै, निखुर सुनभन्दा पनि धेरै मन पर्छ।+

१२८ त्यसैले तपाईँको हरेक निर्देशनलाई* म सही ठान्छु;+

म सबै झूटो मार्गलाई घृणा गर्छु।+

פ [पे]

१२९ तपाईँका सम्झौटाहरू अतुलनीय छन्‌।

त्यसैले म ती पालन गर्छु।

१३० तपाईँका वचनको अर्थ खुल्दा ज्योति चम्कन्छ;+

त्यसले अनुभवहीनहरूलाई समझ दिन्छ।+

१३१ तपाईँका आज्ञाहरूको तिर्सनाले गर्दा+

म आफ्नो मुख खोलेर सुस्केरा हाल्छु।*

१३२ तपाईँको नामलाई प्रेम गर्नेहरूसित तपाईँ जस्तो व्यवहार गर्नुहुन्छ, मसित पनि त्यस्तै व्यवहार गर्नुहोस्‌,*+

मतिर फर्कनुहोस्‌ र मलाई अनुग्रह देखाउनुहोस्‌।+

१३३ आफ्नो वाणीले मेरो पाइला डोऱ्‍याउनुहोस्‌;*

कुनै पनि दुष्ट थोक ममाथि हाबी हुन नपाओस्‌।+

१३४ अत्याचारी मानिसहरूबाट मलाई छुटाउनुहोस्‌

र म तपाईँका आदेशहरू पालन गर्नेछु।

१३५ तपाईँको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्‌*+

र मलाई तपाईँको नीतिनियम सिकाउनुहोस्‌।

१३६ मेरा आँखाहरूबाट आँसुको धारा बग्छ

किनकि मानिसहरूले तपाईँको व्यवस्था पालन गरेका छैनन्‌।+

צ [सादे]

१३७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+

अनि तपाईँका फैसलाहरू सही छन्‌।+

१३८ तपाईँले दिनुभएका सम्झौटाहरू न्यायसङ्‌गत

र पूर्णतया भरपर्दा छन्‌।

१३९ मेरो जोसले मलाई खाएको छ+

किनकि मेरा वैरीहरूले तपाईँका वचन बिर्सेका छन्‌।

१४० तपाईँका वाणी पूर्णतया शुद्ध* छन्‌+

र तपाईँको यस सेवकलाई ती मन पर्छ।+

१४१ म तुच्छ र अवहेलित छु;+

तैपनि मैले तपाईँका आदेशहरू बिर्सेको छैनँ।

१४२ तपाईँको न्याय कहिल्यै टलेर जाँदैन+

अनि तपाईँको व्यवस्था सत्य छ।+

१४३ ममाथि दुःख र कठिनाइ आइपरे पनि

म तपाईँकै आज्ञाहरूमा रमाइरहन्छु।

१४४ तपाईँका सम्झौटाहरू सदा न्यायोचित छन्‌।

मलाई समझ दिनुहोस्‌+ ताकि म जीवितै रहन सकूँ।

ק [कोफ]

१४५ म तपाईँलाई सारा हृदयले पुकार्छु। हे यहोवा, मलाई जवाफ दिनुहोस्‌।

म तपाईँका नीतिनियम पालन गर्नेछु।

१४६ म तपाईँलाई गुहार्छु; मलाई बचाउनुहोस्‌!

म तपाईँका सम्झौटाहरू पालन गर्नेछु।

१४७ तपाईँलाई गुहार्न म मिरमिरे उज्यालो हुनुअघि नै* उठेको छु+

किनकि तपाईँको वचन नै मेरो आशा हो।*

१४८ तपाईँका वाणीहरूमा डुब्न* सकूँ भनेर

म मध्यरातमा* ब्युँझन्छु र मेरा आँखाहरू खुल्दछन्‌।+

१४९ तपाईँको प्रेम अटल भएकोले मेरो स्वर सुन्‍नुहोस्‌।+

हे यहोवा, तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।

१५० लाजमर्दो* काम गर्नेहरू मेरो नजिक आउँछन्‌;

तिनीहरू तपाईँको व्यवस्थादेखि कोसौँ टाढा छन्‌।

१५१ हे यहोवा, तपाईँ मेरो नजिक हुनुहुन्छ+

अनि तपाईँका सबै आज्ञाहरू सत्य छन्‌।+

१५२ मैले धेरै अघि तपाईँका सम्झौटाहरूबारे सिकेको थिएँ,

जुन तपाईँले सदा स्थिर रहिरहोस्‌ भनेर दिनुभएको थियो।+

ר [रेश]

१५३ मेरा कष्टहरू हेर्नुहोस्‌ र मलाई तीबाट छुटाउनुहोस्‌+

किनकि मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ।

१५४ मेरो पक्षमा खडा हुनुहोस्‌* र मेरो उद्धार गर्नुहोस्‌;+

तपाईँको प्रतिज्ञाअनुसारै* मेरो जीवनको रक्षा गर्नुहोस्‌।

१५५ उद्धार दुष्टहरूको पहुँचबाट धेरै टाढा छ

किनकि तिनीहरूले तपाईँका नीतिनियमको खोजी गरेका छैनन्‌।+

१५६ हे यहोवा, तपाईँको कृपा अपार छ।+

तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्‌।

१५७ मेरो खेदो गर्नेहरू र मेरा वैरीहरू थुप्रै छन्‌;+

तैपनि म तपाईँका सम्झौटाहरूदेखि तर्किएको छैनँ।

१५८ छली मानिसलाई म घृणाको दृष्टिले हेर्छु

किनकि तिनीहरू तपाईँले भन्‍नुभएको कुरा मान्दैनन्‌।+

१५९ हेर्नुहोस्‌, तपाईँका आदेशहरूलाई म कत्ति प्रेम गर्छु!

हे यहोवा, आफ्नो अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्‌।+

१६० सत्य नै तपाईँको वचनको सार हो,+

तपाईँका न्यायोचित फैसलाहरू सदासर्वदा कायम रहन्छन्‌।

ש [सिन] वा [शिन]

१६१ शासकहरू विनाकारण मेरो खेदो गर्छन्‌+

तर मेरो हृदय भने तपाईँको वचनप्रतिको श्रद्धाले भरिएको छ।+

१६२ लुटको माल भेट्टाउँदा जसरी कोही रमाउँछ,

त्यसरी नै तपाईँको वाणी सुन्‍न पाउँदा म रमाउँछु।+

१६३ मलाई झूट पटक्कै मन पर्दैन, मलाई त्यसदेखि घृणा लाग्छ।+

तर तपाईँको व्यवस्थालाई म प्रेम गर्छु।+

१६४ तपाईँका न्यायोचित फैसलाहरूको निम्ति

म दिनको सात चोटि तपाईँको प्रशंसा गर्छु।

१६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्‌।+

कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्‍याउँदैन।

१६६ हे यहोवा, म तपाईँले गर्नुहुने उद्धारका कामहरूको प्रतीक्षा गर्छु

अनि म तपाईँका आज्ञाहरू पालन गर्छु।

१६७ म तपाईँका सम्झौटाहरू पालन गर्छु,

म तिनलाई असाध्यै प्रेम गर्छु।+

१६८ म तपाईँका आदेशहरू र तपाईँका सम्झौटाहरू पालन गर्छु

किनकि तपाईँलाई मेरा सबै काम थाह छ।+

ת [ताव]

१६९ हे यहोवा, मदतको लागि मैले पुकार्दा मेरो पुकार तपाईँसम्म पुगोस्‌।+

तपाईँको वचनअनुसारै मलाई समझ दिनुहोस्‌।+

१७० तपाईँको अनुग्रह पाउन मैले गरेको बिन्ती तपाईँसामु पुगोस्‌।

तपाईँको प्रतिज्ञाअनुसारै* मलाई बचाउनुहोस्‌।

१७१ मेरो ओठ तपाईँको प्रशंसाले भरियोस्‌+

किनकि तपाईँ मलाई आफ्ना नीतिनियम सिकाउनुहुन्छ।

१७२ मेरो जिब्रोले तपाईँका वाणीबारे गीत गाओस्‌+

किनकि तपाईँका सबै आज्ञा न्यायोचित छन्‌।

१७३ मलाई मदत गर्न तपाईँको हात तयार रहोस्‌+

किनकि मैले तपाईँका आदेशहरू पालन गर्ने छनौट गरेको छु।+

१७४ हे यहोवा, तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु,

तपाईँको व्यवस्था मलाई साह्रै मन पर्छ।+

१७५ म बाँचिरहन पाऊँ ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+

तपाईँका फैसलाहरूले मलाई मदत गरून्‌।

१७६ हराएको भेडाले जस्तै मैले बाटो बिराएको छु।+ आफ्नो सेवकलाई खोज्नुहोस्‌

किनकि मैले तपाईँका आज्ञाहरू बिर्सेको छैनँ।+

उकालीको गीत।*

१२० सङ्‌कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ +

र उहाँले मलाई जवाफ दिनुभयो।+

 २ हे यहोवा, झूट बोल्ने ओठ

र छली जिब्रोबाट मलाई बचाउनुहोस्‌।

 ३ ए छली जिब्रो,+ परमेश्‍वरले तँलाई के गर्नुहुनेछ?

उहाँले तँलाई के सजाय दिनुहुनेछ?

 ४ उहाँले तँलाई योद्धाको तीखो काँड+

र जलिरहेको झाडीको भुङ्‌ग्रोले+ प्रहार गर्नुहुनेछ।

 ५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+

केदारका पालहरूमा बास गरिरहेको छु।+

 ६ शान्तिलाई घृणा गर्नेहरूमाझ+

म बसेको धेरै भइसक्यो।

 ७ म शान्ति चाहन्छु तर जब म बोल्छु,

तिनीहरू लडाइँ गर्न तम्सिन्छन्‌।

उकालीको गीत।

१२१ म आफ्नो आँखा पहाडहरूतिर उठाउँछु।+

मलाई मदत कहाँबाट आउँछ?

 २ मलाई मदत यहोवाबाट आउँछ,+

जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।

 ३ उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+

तिम्रो रक्षा गर्नुहुने परमेश्‍वर कहिल्यै झुल्नुहुनेछैन।

 ४ हेर! इस्राएलको रक्षा गर्नुहुने परमेश्‍वर+ कहिल्यै झुल्नुहुनेछैन

न त उहाँ कहिल्यै निदाउनु नै हुनेछ।

 ५ यहोवा तिम्रो रक्षक हुनुहुन्छ।

यहोवा तिम्रो दाहिने हाततिरको+ तिम्रो छहारी+ हुनुहुन्छ।

 ६ न दिनको घामले न त रातको जूनले नै

तिमीलाई हानि पुऱ्‍याउनेछ।+

 ७ यहोवाले तिमीलाई सबै खतराबाट जोगाउनुहुनेछ,+

उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ।+

 ८ तिमीले गर्ने सबै काममा* यहोवाले तिम्रो रक्षा गर्नुहुनेछ,

अहिले र सदासर्वदा।

उकालीको गीत। दाउदको रचना।

१२२ तिनीहरूले मलाई यसो भन्दा म रमाएँ:

“आऊ, हामी यहोवाको भवनमा जाऔँ।”+

 २ हे यरुसलेम, हाम्रा खुट्टाहरू अहिले

तेरा मूलढोकाहरूभित्र खडा छन्‌।+

 ३ यरुसलेम एक सहर जस्तैगरि निर्माण गरिएको छ,

जसका भवनहरू एकसाथ जोडिएका छन्‌।+

 ४ इस्राएललाई दिइएको सम्झौटाअनुसारै

यहोवाको नामको प्रशंसा गर्न+

कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्‌,

याहका* कुलहरू।

 ५ किनकि त्यहाँ न्यायको सिंहासन बसालियो,+

दाउदको घरानाको सिंहासन।+

 ६ यरुसलेमको लागि शान्तिको कामना गर।+

हे सहर, तँलाई प्रेम गर्नेहरू सुरक्षित रहनेछन्‌।

 ७ तेरा बलिया पर्खालहरूभित्र शान्ति कायम रहोस्‌,

तेरा बलिया किल्लाहरूभित्र बस्नेहरू सुरक्षित रहून्‌।

 ८ मेरा दाजुभाइहरू र मेरा मित्रहरूको खातिर म यसो भन्‍नेछु:

“तँमा शान्ति छाओस्‌।”

 ९ यहोवा हाम्रा परमेश्‍वरको भवनको खातिर+

म तेरो भलो चिताउनेछु।

उकालीको गीत।

१२३ तपाईँ, जो स्वर्गमा विराजमान हुनुहुन्छ,

तपाईँतिर म आफ्नो आँखा उठाउँछु।+

 २ जसरी एउटा नोकरका आँखाले आफ्नो मालिकको हाततिर हेर्छन्‌

अनि जसरी एउटी नोकर्नीका आँखाले आफ्नी मालिक्नीको हाततिर हेर्छन्‌,

त्यसैगरि हाम्रा आँखाले यहोवा हाम्रा परमेश्‍वरतिर हेर्छन्‌,+

जबसम्म उहाँले हामीमाथि अनुग्रह देखाउनुहुन्‍न।+

 ३ हामीमाथि अनुग्रह देखाउनुहोस्‌ हे यहोवा, हामीमाथि अनुग्रह देखाउनुहोस्‌

किनकि हामीले सहनुसम्म अपमान सहिसकेका छौँ।+

 ४ आफैमा बढ्‌ता भरोसा गर्नेहरूबाट हामीले खप्नुसम्म गिल्ला खपिसक्यौँ

अनि अहङ्‌कारीहरूबाट हामीले भोग्नुसम्म अपमान भोगिसक्यौँ।

उकालीको गीत। दाउदको रचना।

१२४ “यहोवा हाम्रो साथमा नहुनुभएको भए,”+

अब इस्राएलले भनोस्‌,

 २ “मानिसहरूले हामीलाई आक्रमण गर्दा+

यहोवा हाम्रो साथमा नहुनुभएको भए+

 ३ तिनीहरूको रिस हामीमाथि दन्किएको बेला+

तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए।+

 ४ अनि बाढीले हामीलाई स्वात्तै बगाउने थियो,

भल हामीमाथि उर्लँने थियो।+

 ५ उर्लँदो पानीले हामीलाई छोप्ने थियो।

 ६ यहोवाको प्रशंसा होस्‌

किनकि उहाँले हामीलाई तिनीहरूको सिकार* हुन दिनुभएन।

 ७ सिकारीको पासोबाट उम्केको चराजस्तै

हामी भएका छौँ;+ पासो छिनियो र हामी उम्कियौँ।+

 ८ हामीलाई यहोवाको नामबाट मदत मिल्छ,+

जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”

उकालीको गीत।

१२५ यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्‌,

जसलाई कहिल्यै हल्लाउन सकिँदैन,

जुन सधैँभरि स्थिर रहन्छ।+

 २ जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्‌,+

त्यसरी नै यहोवा आफ्ना मानिसहरूको चारैतिर रहनुहुन्छ,+

अहिले र सदासर्वदा।

 ३ धर्मीहरूको अंशमा परेको जमिनमाथि दुष्टहरूको राजदण्ड रहनेछैन+

ताकि धर्मीहरू दुष्कर्मतिर नलागून्‌।*+

 ४ हे यहोवा, जो असल छन्‌, जो सोझो मनका छन्‌,+

तिनीहरूको भलाइ गर्नुहोस्‌।+

 ५ तर असल मार्गबाट तर्केर टेढो मार्गमा लाग्नेहरूलाई

यहोवाले कुकर्मीहरूसितै हटाउनुहुनेछ।+

इस्राएलमा शान्ति कायम रहोस्‌।

उकालीको गीत।

१२६ सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+

हामीलाई सपना देखेझैँ लाग्यो।

 २ त्यसबेला हाम्रो मुख हाँसोले भरियो

अनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+

त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:

“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+

 ३ यहोवाले हाम्रो खातिर ठूलठूला कामहरू गर्नुभएको छ+

र हामी खुसीले गद्‌गद भएका छौँ।

 ४ हे यहोवा, कैदमा परेका हाम्रा मानिसहरूलाई

नेगेबका नदीहरूलाई* झैँ फर्काएर ल्याउनुहोस्‌।

 ५ आँसु झार्दै बिउ छर्नेहरूले

खुसीले कराउँदै कटनी गर्नेछन्‌।

 ६ बिउको थैलो बोकेर

रुँदै बाहिर निस्कने मानिस

निश्‍चय नै अन्‍नका बिटाहरू बोकेर+

खुसीले कराउँदै फर्कनेछ।+

उकालीको गीत। सुलेमानको रचना।

१२७ यहोवाले नै घर नबनाउनुहुने हो भने

कामदारहरूको परिश्रम व्यर्थ हुन्छ।+

यहोवाले सहरको सुरक्षा नगर्नुहुने हो भने+

पहरेदारहरू जागा रहनु बेकार हुन्छ।

 २ परमेश्‍वरले नै आशिष्‌ नदिनुहुने हो भने

बिहान सबेरै उठ्‌नु, राती अबेर सुत्नु

अनि भोजनको लागि कडा परिश्रम गर्नु बेकार हुन्छ।

किनकि उहाँ जसलाई माया गर्नुहुन्छ, तिनीहरूको हेरचाह गर्नुहुन्छ र तिनीहरूलाई मीठो निद्रा पनि दिनुहुन्छ।+

 ३ हेर! छोराहरू* यहोवाका वरदान हुन्‌;+

गर्भको फल उहाँकै इनाम हो।+

 ४ युवावस्थामा जन्मेका छोराहरू

वीर मानिसको हातमा भएका काँडहरूजस्तै हुन्छन्‌।+

 ५ आनन्दित हो त्यो मानिस, जसले आफ्नो ठोक्रो ती काँडहरूले भर्छ।+

ऊ लाजमा पर्नेछैन

किनकि तिनीहरूले सहरको मूलढोकामा शत्रुहरूलाई जवाफ दिनेछन्‌।

उकालीको गीत।

१२८ आनन्दित हुन्‌ ती सबै, जसले यहोवाको डर मान्छन्‌,+

जो उहाँको मार्गमा हिँड्‌छन्‌।+

 २ तिमीले आफ्नो हातले गरेको परिश्रमको फल खानेछौ।

तिमी आनन्दित हुनेछौ र तिम्रो फलिफाप हुनेछ।+

 ३ तिम्रो घरमा तिम्री पत्नी फलदायी अङ्‌गुरको बोटजस्तै हुनेछिन्‌+

अनि तिम्रा छोराहरू तिम्रो टेबुलवरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्‌।

 ४ हेर, यहोवाको डर मान्‍ने मानिसले

यसरी नै आशिष्‌ पाउनेछ।+

 ५ यहोवाले तिमीलाई सियोनबाट आशिष्‌ दिनुहुनेछ।

तिमीले आफ्नो जीवनभर यरुसलेमको फलिफाप भएको देख्न पाऊ।+

 ६ तिमीले आफ्ना नाति-पनाति देख्न पाऊ।

इस्राएलमा शान्ति छाओस्‌।

उकालीको गीत।

१२९ “म सानो छँदादेखि नै तिनीहरू निरन्तर ममाथि आइलागेका छन्‌”+

अब इस्राएलले भनोस्‌,

 २ “म सानो छँदादेखि नै तिनीहरू निरन्तर ममाथि आइलागेका छन्‌+

तर तिनीहरूले मलाई हराउन सकेका छैनन्‌।+

 ३ हलो जोत्नेहरूले मेरो पिठिउँमा हलो जोतेका छन्‌;+

तिनीहरूले लामा-लामा ड्‌याङ बनाएका छन्‌।”

 ४ तर यहोवा न्यायी हुनुहुन्छ;+

दुष्टले बाँधेको डोरी उहाँले छिनालिदिनुभएको छ।+

 ५ सियोनलाई घृणा गर्नेहरू+ सबै लाजमा पर्नेछन्‌

र तिनीहरू बेइज्जती भोगेर फर्कनेछन्‌।

 ६ तिनीहरू छानामाथि पलाएका घाँसजस्तै हुनेछन्‌,

उखेल्न नपाउँदै ती ओइलाइहाल्छन्‌।

 ७ काट्‌नेहरूको मुठी पनि त्यसले भरिँदैन

न त बिटा बाँध्नेहरूको अङ्‌गालो नै भरिन्छ।

 ८ त्यहाँबाट भएर जानेहरूले यसो भन्‍नेछैनन्‌:

“यहोवाको आशिष्‌ तिमीहरूमाथि रहोस्‌;

हामी तिमीहरूलाई यहोवाको नाममा आशिष्‌ दिन्छौँ।”

उकालीको गीत।

१३० हे यहोवा, दुःखको गहिरो खाडलबाट म तपाईँलाई पुकार्छु।+

 २ हे यहोवा, मेरो स्वर सुन्‍नुहोस्‌।

मैले मदतको लागि गरेको बिन्तीमा आफ्नो कान थाप्नुहोस्‌।

 ३ हे याह,* तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो* भने

हे यहोवा, को खडा रहन सक्ला र?+

 ४ तपाईँ मानिसहरूको पाप साँच्चै क्षमा गर्नुहुन्छ+

ताकि तपाईँको श्रद्धा गरियोस्‌।*+

 ५ म यहोवामा आशा राख्छु, मेरो सारा ज्यानले उहाँमा आशा राख्छ;

म उहाँको वचनको प्रतीक्षा गर्छु।

 ६ म उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्छु,+

पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै,+

हो, पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै।

 ७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्‌

किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+

अनि छुटकारा दिने उहाँको शक्‍ति अपार छ।

 ८ उहाँले इस्राएललाई त्यसका सबै गल्तीबाट छुटकारा दिनुहुनेछ।

उकालीको गीत। दाउदको रचना।

१३१ हे यहोवा, मेरो हृदय हठी भएको छैन,

मेरा आँखाहरूमा घमन्ड छैन,+

मेरा ठूलठूला आकाङ्‌क्षाहरू छैनन्‌+

अनि आफूले पाउनै नसक्ने कुराहरूको म चाह गर्दिनँ।

 २ निश्‍चय नै मैले आफूलाई शान्त पारेको छु,+

जसरी दूध छुटाइएको बालक आफ्नी आमासँग चुपचाप बस्छ,

त्यसरी नै मैले आफ्नो मनलाई चुप लगाएको छु;

म दूध छुटाइएको बालकजस्तै सन्तुष्ट छु।

 ३ इस्राएलले यहोवाको प्रतीक्षा गरोस्‌,+

अहिले र सदासर्वदा।

उकालीको गीत।

१३२ हे यहोवा, दाउदलाई सम्झनुहोस्‌

र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्‌;+

 २ तिनले कसरी यहोवासामु शपथ खाएका थिए

र याकुबका शक्‍तिशाली परमेश्‍वरको सामुन्‍ने भाकल गरेका थिए:+

 ३ “म आफ्नो पालभित्र, आफ्नो घरभित्र छिर्नेछैनँ,+

आफ्नो पलङमा, आफ्नो ओछ्यानमा ढल्किनेछैनँ;

 ४ म आफ्नो आँखामा निद्रा पर्न दिनेछैनँ,

आफ्नो आँखालाई लोलाउन दिनेछैनँ,

 ५ जबसम्म यहोवाको निम्ति म एउटा ठाउँ,

याकुबका शक्‍तिशाली परमेश्‍वरको निम्ति एउटा उत्तम निवासस्थान* भेट्टाउँदिनँ।”+

 ६ हेर! हामीले एप्रातामा+ खबर पायौँ;

हामीले जङ्‌गलमा त्यो* फेला पाऱ्‍यौँ।+

 ७ आओ, हामी उहाँको निवासस्थानमा* जाऔँ;+

आओ, हामी उहाँको पाउदानमा दण्डवत्‌ गरौँ।+

 ८ हे यहोवा, उठ्‌नुहोस्‌ र आफ्नो विश्रामस्थलमा प्रवेश गर्नुहोस्‌,+

आफ्नो शक्‍तिको निसानी​—सन्दुकसितै* प्रवेश गर्नुहोस्‌।+

 ९ तपाईँका पुजारीहरूलाई धार्मिकताको वस्त्र पहिऱ्‍याइयोस्‌

अनि तपाईँका वफादार जनहरू खुसीले कराऊन्‌!

१० आफ्नो सेवक दाउदको खातिर

आफ्नो अभिषिक्‍त जनलाई तिरस्कार नगर्नुहोस्‌।*+

११ यहोवाले दाउदसित शपथ खानुभएको छ;

उहाँले आफ्नो वचन कदापि फिर्ता लिनुहुनेछैन:

“तिम्रा सन्तानमध्ये* एक जनालाई

म तिम्रो सिंहासनमा बसाल्नेछु।+

१२ तिम्रा सन्तानले मेरो करार

र मैले दिएका सम्झौटाहरू पालन गरे भने+

तिनीहरूका सन्तान पनि

सदा तिम्रो सिंहासनमा बस्नेछन्‌।”+

१३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+

उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्‍नुभएको छ:+

१४ “यो सदालाई मेरो विश्रामस्थल हुनेछ।

म यहीँ बास गर्नेछु+ किनकि मेरो इच्छा यही हो।

१५ म यस ठाउँलाई प्रशस्त खानेकुरा दिएर आशिष्‌ दिनेछु;

यहाँका गरिबहरूलाई म खानेकुराले सन्तुष्ट पार्नेछु।+

१६ यहाँका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिऱ्‍याउनेछु+

अनि यहाँका वफादार मानिसहरूले खुसीको स्वर उचाल्नेछन्‌।+

१७ म यहाँ दाउदलाई झन्‌झनै पराक्रमी बनाउनेछु।

मैले आफ्नो अभिषिक्‍त जनको लागि दियो तयार पारेको छु।+

१८ म उसका शत्रुहरूलाई लाजको वस्त्र पहिऱ्‍याउनेछु

तर उसको शिरको मुकुटलाई भने शोभायमान बनाउनेछु।”+

उकालीको गीत। दाउदको रचना।

१३३ हेर! दाजुभाइहरू आपसमा मिलेर* बस्नु

कत्ति असल र मनोहर कुरा हो!+

 २ त्यो त हारुनको शिरमा खन्याइएको

उत्तम तेलजस्तै हुन्छ,+

जुन तिनको दाह्रीबाट बगेर+

तिनको लुगाको कठालोसम्मै पुग्छ।

 ३ सियोनका पहाडहरूमा झर्ने+

हर्मोनको शीतजस्तै हुन्छ,+

जहाँ यहोवाले आशिष्‌को घोषणा गर्नुभयो

​—अनन्त जीवनको आशिष्‌।

उकालीको गीत।

१३४ हे यहोवाका सबै सेवक हो,

तिमीहरू, जो रातको समयमा यहोवाको भवनमा सेवा गर्छौ,+

यहोवाको प्रशंसा गर।+

 २ पवित्रतामा* आफ्नो हात उचाल+

र यहोवाको प्रशंसा गर।

 ३ आकाश र पृथ्वी सृष्टि गर्नुहुने यहोवाले

सियोनबाट तिमीलाई आशिष्‌ देऊन्‌।

१३५ याहको प्रशंसा गर!*

यहोवाको नामको प्रशंसा गर;

हे यहोवाका सेवकहरू हो, उहाँको प्रशंसा गर,+

 २ तिमीहरू, जो यहोवाको भवनमा खडा छौ,

जो हाम्रा परमेश्‍वरको भवनको चोकमा उभिरहेका छौ।+

 ३ याहको प्रशंसा गर किनकि यहोवा भला हुनुहुन्छ।+

उहाँको नामको स्तुति गाओ* किनकि यो मनोहर छ।

 ४ याहले याकुबलाई आफ्नो निम्ति रोज्नुभएको छ,

इस्राएललाई विशेष* सम्पत्ति बनाउनुभएको छ।+

 ५ म राम्ररी जान्दछु, यहोवा महान्‌ हुनुहुन्छ;

हाम्रा प्रभु अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ।+

 ६ आकाशमा, पृथ्वीमा, सागरमा र त्यसका सबै गहिराइमा

यहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।+

 ७ पृथ्वीको पल्लो छेउदेखि उहाँ कुहिरो उठाउनुहुन्छ;

उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ;*

आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

 ८ उहाँले मिश्रका सबै पहिलो सन्तानलाई मार्नुभयो,

मानिस र पशु दुवैको।+

 ९ ए मिश्र, उहाँले तिमीहरूमाझ चिन्हहरू पठाउनुभयो र चमत्कारहरू गर्नुभयो;+

उहाँले फारो* र तिनका सेवकहरूविरुद्ध त्यसो गर्नुभयो।+

१० उहाँले थुप्रै राष्ट्रलाई प्रहार गर्नुभयो+

र शक्‍तिशाली राजाहरूलाई+

११ ​—एमोरीहरूका राजा सिहोनलाई,+

बासानका राजा ओगलाई मार्नुभयो+

र कनानका सबै राज्यलाई पराजित गर्नुभयो।

१२ उहाँले तिनीहरूको भूमि पैतृक सम्पत्तिको रूपमा दिनुभयो,

आफ्नो प्रजा इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।+

१३ हे यहोवा, तपाईँको नाम सदासर्वदा रहिरहनेछ।

हे यहोवा, तपाईँको ख्याति* पुस्तौँपुस्तासम्म रहनेछ।+

१४ किनकि यहोवाले आफ्ना मानिसहरूको रक्षा गर्नुहुनेछ,*+

आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ।*+

१५ जातिजातिले पुज्ने मूर्तिहरू सुन र चाँदीका हुन्‌,

ती त मानिसका हातको काम हुन्‌।+

१६ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+

आँखा छन्‌ तर देख्न सक्दैनन्‌;

१७ तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌।

तिनीहरूको मुखमा सास नै छैन।+

१८ तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+

तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+

१९ हे इस्राएलको घराना, यहोवाको प्रशंसा गर।

हे हारुनको घराना, यहोवाको प्रशंसा गर।

२० हे लेविको घराना, यहोवाको प्रशंसा गर।+

हे यहोवाको डर मान्‍नेहरू हो, यहोवाको प्रशंसा गर।

२१ यहोवा, जो यरुसलेममा बास गर्नुहुन्छ,+

सियोनबाट उहाँको प्रशंसा होस्‌।+

याहको प्रशंसा गर!+

१३६ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

 २ ईश्‍वरहरूका पनि ईश्‍वरलाई धन्यवाद चढाओ+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

 ३ प्रभुहरूका पनि प्रभुलाई धन्यवाद चढाओ

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

 ४ उहाँले मात्र ठूलठूला र अचम्मका कामहरू गर्नुहुन्छ+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

 ५ उहाँले कुशलतासाथ* आकाश बनाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

 ६ उहाँले धर्तीलाई पानीमाथि फैलाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

 ७ उहाँले ठूलठूला ज्योतिहरू बनाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

 ८ उहाँले दिनमाथि अधिकार गर्न सूर्य बनाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

 ९ उहाँले रातमाथि अधिकार गर्न चन्द्रमा र ताराहरू बनाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१० उहाँले मिश्रको सबै पहिलो सन्तानलाई मार्नुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

११ उहाँले इस्राएललाई तिनीहरूको माझबाट छुटाएर ल्याउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

१२ उहाँले आफ्नो शक्‍तिशाली र पराक्रमी हातले+ छुटाएर ल्याउनुभयो

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१३ उहाँले लाल समुद्रलाई दुई भागमा* छुट्ट्याउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१४ उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१५ उहाँले फारो र तिनको सेनालाई लाल समुद्रमा फालिदिनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१६ उहाँले आफ्ना मानिसहरूलाई निर्जनभूमि हुँदै लैजानुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१७ उहाँले ठूलठूला राजाहरूलाई प्रहार गर्नुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१८ उहाँले शक्‍तिशाली राजाहरूलाई मार्नुभयो

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

१९ एमोरीहरूका राजा सिहोनलाई+ मार्नुभयो

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

२० बासानका राजा ओगलाई+ पनि मार्नुभयो

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

२१ उहाँले तिनीहरूको भूमि पैतृक सम्पत्तिको रूपमा दिनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन,

२२ आफ्नो सेवक इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

२३ हाम्रो दुर्दशामा उहाँले हामीलाई सम्झनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+

२४ उहाँले हामीलाई वैरीहरूबाट पटक-पटक छुटाउनुभयो+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

२५ उहाँले सबै जीवलाई आहार दिनुहुन्छ+

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

२६ स्वर्गका परमेश्‍वरलाई धन्यवाद चढाओ

किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

१३७ बेबिलोनको नदीको किनारमा+ बसेर

हामी सियोनलाई सम्झँदै रोयौँ।+

 २ त्यहाँका* चिनारका* रूखहरूमा

हामीले आफ्नो वीणा झुन्ड्‌यायौँ।+

 ३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+

हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:

“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”

 ४ हामी कसरी विदेशी भूमिमा

यहोवाको गीत गाउन सक्छौँ र?

 ५ हे यरुसलेम, मैले तिमीलाई बिर्सेको भए

मेरो दायाँ हातले आफ्नो सबै काम बिर्सिजाओस्‌।*+

 ६ यदि मैले तिमीलाई नसम्झेको भए,

तिमीलाई मेरो खुसीको सबैभन्दा ठूलो कारण नठानेको भए+

मेरो जिब्रो मेरो तालुमा टाँसिजाओस्‌।

 ७ हे यहोवा, यरुसलेमको पतन भएको दिन

एदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्‌:

“त्यसलाई तहसनहस पार्‌! त्यसको जगसमेत तहसनहस पार्‌!”+

 ८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+

तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्‌,

त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+

 ९ तेरा छोराछोरीलाई खोसेर

तिनीहरूलाई चट्टानमा पछार्ने मानिस खुसी हुनेछ।+

दाउदको रचना।

१३८ म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु।+

अरू देवीदेवताको सामु

म तपाईँको स्तुति गाउनेछु।*

 २ म तपाईँको पवित्र मन्दिरतर्फ* निहुरेर दण्डवत्‌ गर्नेछु+

अनि तपाईँको अटल प्रेम र वफादारीको कारण

तपाईँको नामको प्रशंसा गर्नेछु।+

किनकि तपाईँले आफ्नो वाणीलाई र आफ्नो नामलाई सबै कुराभन्दा उच्च तुल्याउनुभएको छ।*

 ३ जुन दिन मैले तपाईँलाई पुकारेँ, तपाईँले मलाई जवाफ दिनुभयो;+

तपाईँले मलाई साहसी र बलियो पार्नुभयो।+

 ४ हे यहोवा, पृथ्वीका सबै राजाले तपाईँको प्रशंसा गर्नेछन्‌+

किनकि तपाईँले गर्नुभएका प्रतिज्ञाहरू तिनीहरूले सुनिसकेका हुनेछन्‌।

 ५ तिनीहरूले यहोवाको मार्गबारे गीत गाउनेछन्‌

किनकि यहोवाको महिमा अपार छ।+

 ६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+

तर अहङ्‌कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+

 ७ म खतरैखतराबीच हिँड्‌नुपरे पनि तपाईँ मेरो जीवनको रक्षा गर्नुहुन्छ।+

मेरा क्रोधित शत्रुहरूको विरुद्धमा तपाईँ आफ्नो हात पसार्नुहुन्छ;

तपाईँको दायाँ हातले मलाई बचाउनेछ।

 ८ यहोवाले मेरो निम्ति सबै काम पूरा गर्नुहुनेछ।

हे यहोवा, तपाईँको अटल प्रेम कहिल्यै टल्दैन;+

आफ्नो हातको रचनालाई नत्याग्नुहोस्‌।+

निर्देशकलाई। दाउदले रचेको भजन।

१३९ हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्‍नुभएको छ।+

 २ मेरो बसाइ र मेरो उठाइ तपाईँ जान्‍नुहुन्छ।+

मेरा विचारहरू तपाईँ टाढैबाट थाह पाउनुहुन्छ।+

 ३ म हिँड्‌दा र ढल्कँदा तपाईँ मलाई नियाल्नुहुन्छ;

मेरा सबै चाल तपाईँलाई राम्ररी थाह छ।+

 ४ मेरो जिब्रोबाट कुनै शब्द निस्कनुअघि नै

हे यहोवा, तपाईँ त्यो जान्‍नुहुन्छ।+

 ५ तपाईँ मलाई अगाडिबाट र पछाडिबाट घेर्नुहुन्छ

र आफ्नो हात ममाथि राख्नुहुन्छ।

 ६ मेरो विषयमा तपाईँसित भएको यस्तो ज्ञान मेरो समझभन्दा बाहिर* छ।

त्यो अति उच्च छ, म त्यो बुझ्नै सक्दिनँ।*+

 ७ तपाईँको पवित्र शक्‍तिदेखि म कहाँ भागूँ?

तपाईँको नजरबाट भागेर म कहाँ जाऊँ?+

 ८ म माथि आकाशसम्मै उक्लिएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ

अनि मैले तल चिहानमा* आफ्नो ओछ्यान बनाएँ भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ।+

 ९ यदि म उषाको पखेटा लगाई उडेँ

र टाढाको समुद्रछेउ बस्न गएँ भने

१० त्यहाँ पनि तपाईँको हातले मलाई डोऱ्‍याउँछ

अनि तपाईँको दाहिने हातले मलाई थाम्छ।+

११ यदि मैले “अन्धकारले मलाई पक्कै छोप्छ!” भनेँ भने

मेरो वरिपरि छाएको अन्धकार ज्योतिमा बद्‌लिन्छ।

१२ अन्धकार पनि तपाईँको निम्ति अँध्यारो हुँदैन,

रात तपाईँको निम्ति दिनजत्तिकै उज्यालो हुन्छ;+

तपाईँको लागि अन्धकार पनि उज्यालोजस्तै हो।+

१३ तपाईँले नै मेरा मिर्गौलाहरू बनाउनुभयो;

मेरी आमाको गर्भमा तपाईँले मलाई लुकाइराख्नुभयो।*+

१४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+

तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌,+

यो मलाई राम्ररी थाह छ।

१५ जब म गुप्तमा बनिरहेको थिएँ,

जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,

तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्‌।+

१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;

मेरा अङ्‌गहरू बन्‍नुअघि नै

ती कहिले बन्‍ने हुन्‌ भनेर

तपाईँको पुस्तकमा लेखिएका थिए।

१७ त्यसैले तपाईँका विचारहरू मेरो लागि साह्रै अनमोल छन्‌!+

हे परमेश्‍वर, तपाईँका विचारहरू अनगिन्ती छन्‌!+

१८ मैले ती गन्‍न कोसिस गरेँ भने ती बालुवाको कणभन्दा धेरै हुन्छन्‌।+

जब म ब्युँझन्छु, तब म तपाईँसँगै हुन्छु।*+

१९ हे परमेश्‍वर, तपाईँले दुष्टलाई नाश गर्नुभएको भए+

ती हिंस्रक* मानिसहरू मबाट टाढा जाने थिए,

२० जसले तपाईँको विरुद्धमा जानीबुझी* दुष्ट कुरा बोल्छन्‌;

तिनीहरू तपाईँका शत्रुहरू हुन्‌, जसले तपाईँको नाम व्यर्थमा लिन्छन्‌।+

२१ हे यहोवा, तपाईँलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र?+

अनि तपाईँका विद्रोहीहरूलाई के म तुच्छ ठान्दिनँ र?+

२२ मेरो मनमा तिनीहरूको लागि घृणा मात्र छ;+

तिनीहरू मेरा सबैभन्दा ठूला शत्रु बनेका छन्‌।

२३ हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌।+

मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता* थाह पाउनुहोस्‌।+

२४ मलाई हानिकारक मार्गमा लैजाने कुनै कुरा ममा छ कि, हेर्नुहोस्‌+

अनि मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌।+

निर्देशकलाई। दाउदले रचेको भजन।

१४० हे यहोवा, दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्‌;

हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्‌,+

 २ जो आफ्नो मनमा दुष्ट युक्‍तिहरू रच्छन्‌+

र दिनभर लडाइँ-झगडा मच्चाउँछन्‌।

 ३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्‌;+

तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला)

 ४ हे यहोवा, दुष्टहरूको हातबाट मलाई बचाउनुहोस्‌;+

हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्‌,

जो मलाई लडाउन युक्‍ति रच्छन्‌।

 ५ अहङ्‌कारी मानिसहरू मेरो निम्ति पासो थाप्छन्‌;

तिनीहरू बाटोको छेउमा डोरीहरूको जाल बिछ्याउँछन्‌।+

तिनीहरू मेरो लागि धराप थाप्छन्‌।+ (सेला)

 ६ म यहोवालाई भन्छु: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

हे यहोवा, मेरो गुहार सुन्‍नुहोस्‌।”+

 ७ हे ब्रह्‍माण्डका मालिक यहोवा, मेरा शक्‍तिशाली उद्धारक,

युद्धको दिनमा तपाईँ मेरो शिरलाई जोगाउनुहुन्छ।+

 ८ हे यहोवा, दुष्टहरूको अभिप्राय पूरा हुन नदिनुहोस्‌।

तिनीहरूका युक्‍तिहरू सफल हुन नदिनुहोस्‌ ताकि तिनीहरू घमन्डले नफुलून्‌।+ (सेला)

 ९ मलाई चारैतिरबाट घेर्नेहरूले बोलेका दुष्ट कुराहरू

तिनीहरूकै थाप्लोमा आइपरोस्‌।+

१० तिनीहरूमाथि बलिरहेको भुङ्‌ग्रो बर्सियोस्‌।+

तिनीहरूलाई आगोमा हुर्ऱ्याइयोस्‌,

गहिरो खाडलमा* फालियोस्‌,+

जहाँबाट तिनीहरू फेरि कहिल्यै उठ्‌न सक्दैनन्‌।

११ निन्दा गर्ने मानिसको निम्ति पृथ्वीमा कुनै ठाउँ नरहोस्‌।+

हिंसा रुचाउने मानिसहरूलाई विपत्तिले खेदेर आफ्नो सिकार बनाओस्‌।

१२ मलाई थाह छ, यहोवाले दीनदुःखीहरूको पक्ष लिनुहुनेछ

अनि गरिबहरूको इन्साफ गर्नुहुनेछ।+

१३ धर्मीहरूले निश्‍चय नै तपाईँको नामको प्रशंसा गर्नेछन्‌;

सोझा मानिसहरू तपाईँकै सामुन्‍ने* बस्नेछन्‌।+

दाउदले रचेको भजन।

१४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+

मलाई मदत गर्न छिट्टै आउनुहोस्‌।+

मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्‌।+

 २ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्‌,+

मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्‍नभेटीजस्तै होऊन्‌।+

 ३ हे यहोवा, मेरो मुखमा एउटा पहरेदार खडा गर्नुहोस्‌,

मेरो ओठको ढोकामा कसैलाई पहरा दिन लगाउनुहोस्‌।+

 ४ कुनै खराब कुरातिर मेरो मन ढल्कन नदिनुहोस्‌+

ताकि म दुष्ट मानिसहरूको दुष्कर्मको साझेदार नहोऊँ;

मैले तिनीहरूको स्वादिष्ठ भोजन कहिल्यै खान नपरोस्‌।

 ५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+

तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+

मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+

तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।

 ६ तिनीहरूका न्यायकर्ताहरू भीरबाट खसालिए भने पनि

मानिसहरूले मेरो वचन सुन्‍नेछन्‌ किनकि ती मीठा छन्‌।

 ७ जसरी कुनै मानिसले हलो जोतेर माटाको डल्ला फुटाउँदा त्यो छरपस्ट हुन्छ,

त्यसरी नै चिहानको* मुखमा हाम्रा हड्डीहरू छरपस्ट पारिएका छन्‌।

 ८ तर हे ब्रह्‍माण्डका मालिक यहोवा, मेरा आँखाले तपाईँकै बाटो हेर्छन्‌।+

मैले तपाईँमा शरण लिएको छु।

मेरो ज्यान नलिनुहोस्‌।

 ९ तिनीहरूले मेरो निम्ति जुन पासो थापेका छन्‌, त्यसको चङ्‌गुलबाट मलाई जोगाउनुहोस्‌,

कुकर्मीहरूको धरापबाट बचाउनुहोस्‌।

१० दुष्टहरू सबै आफैले थापेको जालमा पर्नेछन्‌+

तर म भने सकुशल उम्कनेछु।

मास्किल।* गुफामा छँदा+ दाउदले गरेको प्रार्थना।

१४२ म मदतको लागि यहोवालाई पुकार्छु;+

अनुग्रह पाउन म यहोवालाई बिन्ती गर्छु।

 २ म आफ्नो सबै चिन्ता उहाँलाई पोख्छु;

म आफ्नो मनको पीडा उहाँमा बिसाउँछु;+

 ३ जब म कमजोर हुन्छु, तब म उहाँलाई पुकार्छु।

अनि मेरो मार्गमा तपाईँ नजर लगाउनुहुन्छ।+

म हिँड्‌ने बाटोमा

मेरा शत्रुहरूले मेरो लागि पासो लुकाइराख्छन्‌।

 ४ मेरो दाहिने हाततिर हेर्नुहोस्‌,

कसैले मेरो वास्ता गर्दैन।*+

म भागेर जान सक्ने कुनै ठाउँ छैन;+

मेरो चिन्ता गर्ने कोही छैन।

 ५ हे यहोवा, मदतको लागि म तपाईँलाई पुकार्छु।

म भन्छु: “तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+

जीवितहरूको देशमा तपाईँ नै मेरो सबथोक* हुनुहुन्छ।”

 ६ मदतको लागि मैले पुकार्दा ध्यान दिनुहोस्‌

किनकि म ज्यादै दुःखमा परेको छु।

मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस्‌+

किनकि तिनीहरू मभन्दा शक्‍तिशाली छन्‌।

 ७ मलाई कालकोठरीबाट निकाल्नुहोस्‌

ताकि मैले तपाईँको नामको प्रशंसा गर्न सकूँ।

धर्मीहरू मेरो वरिपरि भेला होऊन्‌

किनकि तपाईँले मलाई दया देखाउनुहुन्छ।

दाउदले रचेको भजन।

१४३ हे यहोवा, मेरो प्रार्थना सुन्‍नुहोस्‌;+

मदतको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌।

मलाई जवाफ दिनुहोस्‌ किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।

 २ आफ्नो सेवकविरुद्ध मुद्दा नलड्‌नुहोस्‌

किनकि कुनै पनि जीवित मानिस तपाईँसामु धर्मी ठहरिन सक्दैन।+

 ३ शत्रुले मलाई खेदेको छ;

त्यसले मलाई कुल्चीमिल्ची गरेर मेरो ज्यान लिएको छ।

त्यसले मलाई अन्धकारमा रहन बाध्य पारेको छ, म उहिल्यै मरिसकेका मानिसहरूजस्तै भएँ।

 ४ मेरो बल घट्‌दै गइरहेको छ;+

मेरो मन बोधो भएको छ।+

 ५ म बितेका दिनहरू सम्झन्छु;

तपाईँका सबै काममा मनन गर्छु;+

म तपाईँका हातका कामहरूमा मग्न हुन्छु।*

 ६ म तपाईँसामु आफ्नो हात फैलाउँछु;

सुक्खा जमिनले पानीको तिर्सना गरेझैँ म तपाईँको तिर्सना गर्छु।+ (सेला)

 ७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्‌;+

मेरो बल क्षीण भएको छ।+

तपाईँको मुहार मबाट नलुकाउनुहोस्‌+

नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+

 ८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्‍न पाऊँ

किनकि म तपाईँमा भरोसा गर्छु।

म हिँड्‌नुपर्ने बाटो मलाई देखाइदिनुहोस्‌+

किनकि म तपाईँतिरै फर्कन्छु।

 ९ हे यहोवा, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्‌।

म तपाईँमै शरण लिन्छु।+

१० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्‌+

किनकि तपाईँ नै मेरा परमेश्‍वर हुनुहुन्छ।

तपाईँको पवित्र शक्‍ति भला छ,

त्यसले मलाई समतल जमिनमा* डोऱ्‍याओस्‌।

११ हे यहोवा, तपाईँको नामको खातिर मलाई जीवितै राख्नुहोस्‌।

मलाई दुःखबाट छुटाउनुहोस्‌ किनकि तपाईँ न्यायी हुनुहुन्छ।+

१२ तपाईँको अटल प्रेमको कारण मेरा शत्रुहरूलाई खतम गरिदिनुहोस्‌;*+

मलाई सताउनेहरू सबैलाई नाश गर्नुहोस्‌+

किनकि म तपाईँको सेवक हुँ।+

दाउदको रचना।

१४४ यहोवाको प्रशंसा होस्‌, जो मेरो चट्टान हुनुहुन्छ,+

जसले मेरा हातहरूलाई युद्धकला सिकाउनुहुन्छ,

जसले मेरा औँलाहरूलाई लडाइँको लागि तालिम दिनुहुन्छ।+

 २ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,

मेरो शरणस्थान* र मेरो उद्धारक,

मेरो ढाल र मेरो परमेश्‍वर, जसमा मैले शरण लिएको छु,+

जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+

 ३ हे यहोवा, मानिस के हो र, जसको विषयमा तपाईँ सोच्नुहुन्छ?

मरणशील मानिस के हो र, जसमा तपाईँ ध्यान दिनुहुन्छ?+

 ४ मानिस त केवल सास हो,+

त्यसका दिनहरू ढल्किएर जाने छायाजस्तै हुन्छ।+

 ५ हे यहोवा, आकाशलाई झुकाएर तल ओर्लनुहोस्‌;+

पहाडहरूलाई छुनुहोस्‌ र त्यसबाट धुवाँ उठोस्‌।+

 ६ बिजुली चम्काएर शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌;+

तपाईँको काँड हानेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्‌।+

 ७ स्वर्गबाट आफ्नो हात लम्काउनुहोस्‌;

उर्लँदो बाढीबाट मेरो उद्धार गर्नुहोस्‌,

विदेशीहरूको हातबाट* मलाई जोगाउनुहोस्‌,+

 ८ जसका मुखले झूट बोल्छन्‌

अनि जसले झूटो शपथ खान आफ्नो दाहिने हात उठाउँछन्‌।*

 ९ हे परमेश्‍वर, म तपाईँको निम्ति नयाँ गीत गाउनेछु।+

दस तारे बाजाको साथमा म तपाईँको निम्ति स्तुति गाउनेछु*

१० किनकि तपाईँ राजाहरूलाई विजयी तुल्याउनुहुन्छ,*+

आफ्नो सेवक दाउदलाई तरबारको आक्रमणबाट जोगाउनुहुन्छ।+

११ विदेशीहरूको हातबाट मेरो उद्धार गर्नुहोस्‌ र मलाई जोगाउनुहोस्‌,

जसका मुखले झूट बोल्छन्‌

अनि जसले झूटो शपथ खान आफ्नो दाहिने हात उठाउँछन्‌।

१२ तब हाम्रा छोराहरू छिट्टै मौलाउने बिरुवाजस्तै हुनेछन्‌

अनि हाम्रा छोरीहरू दरबारका कुनाहरू सजाउने बुट्टेदार खम्बाजस्तै हुनेछन्‌।

१३ हाम्रा भण्डारहरू थरिथरिका अन्‍नले भरिभराउ हुनेछन्‌;

मैदानमा भएका हाम्रा बगाल हजारौँ गुणा बढ्‌नेछन्‌, लाखौँ गुणा बढ्‌नेछन्‌।

१४ हाम्रा ब्याउन लागेका गाईहरूमाथि कुनै नराम्रो कुरा आइपर्नेछैन न त तिनीहरूको गर्भ नै तुहिनेछ;

हाम्रा चोकहरूमा दुःखको रोदन पटक्कै सुनिनेछैन।

१५ आनन्दित हुन्‌ ती मानिसहरू, जसको अवस्था यस्तो हुन्छ!

आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!+

दाउदले गरेको प्रशंसा।

א [आलेफ]

१४५ हे मेरा परमेश्‍वर, मेरा महाराज, म तपाईँको महिमा गर्नेछु,+

म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+

ב [बेथ]

 २ म दिनभर तपाईँको प्रशंसा गर्नेछु;+

म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+

ג [गिमेल]

 ३ यहोवा महान्‌ हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+

उहाँको महानता अपार* छ।+

ד [दालेथ]

 ४ एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;

तिनीहरूले तपाईँका शक्‍तिशाली कामहरूको बखान गर्नेछन्‌।+

ה [हे]

 ५ तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्‌+

अनि म तपाईँका आश्‍चर्यजनक कामहरूमा मनन गर्नेछु।

ו [वाव]

 ६ तिनीहरूले भय र श्रद्धा जगाउने तपाईँका कामहरूबारे* बताउनेछन्‌

अनि म तपाईँको महानताको घोषणा गर्नेछु।

ז [जयिन]

 ७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+

अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्‌।+

ח [हेत]

 ८ यहोवा दयालु र कृपालु हुनुहुन्छ,+

उहाँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+

ט [टेथ]

 ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+

अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।

י [योद]

१० हे यहोवा, तपाईँका सबै सृष्टिले तपाईँको महिमा गर्नेछन्‌+

अनि तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्‌।+

כ [काफ]

११ तिनीहरूले तपाईँको शासनको महिमाको वर्णन गर्नेछन्‌+

अनि तपाईँको पराक्रमको बखान गर्नेछन्‌+

ל [लामेद]

१२ ताकि मानिसहरूले तपाईँको शक्‍तिशाली काम+

अनि तपाईँको वैभवशाली शासनको महिमाबारे जानून्‌।+

מ [मेम]

१३ तपाईँको शासन सदासर्वदा कायम रहिरहन्छ।

अनि तपाईँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

ס [सामेख]

१४ लड्‌न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ+

अनि झुकेका सबैलाई उठाउनुहुन्छ।+

ע [अयिन]

१५ सबैका आँखाले तपाईँकै बाटो हेर्छन्‌;

तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+

פ [पे]

१६ तपाईँ आफ्नो मुठी खोल्नुहुन्छ

अनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ।+

צ [सादे]

१७ जे सही छ, यहोवा सधैँ त्यही गर्नुहुन्छ।+

अनि उहाँ सबै काम वफादार भई गर्नुहुन्छ।+

ק [कोफ]

१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌,+

जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्‌।+

ר [रेश]

१९ उहाँको डर मान्‍ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+

उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+

ש [शिन]

२० यहोवालाई प्रेम गर्ने सबैको उहाँ रक्षा गर्नुहुन्छ+

तर दुष्टहरू सबैलाई उहाँले नामेट पार्नुहुनेछ।+

ת [ताव]

२१ मेरो मुखले यहोवाको प्रशंसा गर्नेछ;+

हरेक जीवले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्‌।+

१४६ याहको प्रशंसा गर!*+

मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्‌।+

 २ म जीवनभर यहोवाको प्रशंसा गर्नेछु।

म बाँचुन्जेल मेरा परमेश्‍वरको स्तुति गाउनेछु।*

 ३ शासकमाथि* भरोसा नगर,

अरू कुनै मानिसमाथि पनि भरोसा नगर

किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।+

 ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+

अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।+

 ५ आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्‍वर हुनुहुन्छ,+

जसले यहोवा आफ्ना परमेश्‍वरमा आशा राख्छ;+

 ६ उहाँमा, जो आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ,

जसले समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,+

जो सधैँ वफादार रहनुहुन्छ,+

 ७ जसले धोका खाएकाहरूको इन्साफ गरिदिनुहुन्छ,

जसले भोकाहरूलाई भोजन दिनुहुन्छ।+

यहोवा कैदमा परेकाहरूलाई* मुक्‍त गर्नुहुन्छ।+

 ८ यहोवाले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ;+

यहोवा झुकेकाहरूलाई उठाउनुहुन्छ;+

यहोवा धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ।

 ९ यहोवा विदेशीहरूको रक्षा गर्नुहुन्छ;

अनाथहरू* र विधवाहरूको उहाँ हेरचाह गर्नुहुन्छ+

तर दुष्टका योजनाहरूलाई उहाँ विफल पारिदिनुहुन्छ।*+

१० यहोवा सदासर्वदाको लागि राजा हुनुहुनेछ,+

हे सियोन, तिम्रा परमेश्‍वरले पुस्तौँपुस्तासम्म राज्य गर्नुहुनेछ।

याहको प्रशंसा गर!*

१४७ याहको प्रशंसा गर!*

हाम्रा परमेश्‍वरको स्तुति गाउनु* असल छ;

उहाँको प्रशंसा गर्नु कत्ति मनोहर र सुहाउँदो छ!+

 २ यहोवाले यरुसलेम बनाउनुहुन्छ;+

उहाँ तितरबितर भएका इस्राएलका मानिसहरूलाई भेला गर्नुहुन्छ।+

 ३ मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ;

तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।

 ४ उहाँले ताराहरूको गन्ती गर्नुहुन्छ;

तिनीहरू सबैको नाम लिएर उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ।+

 ५ हाम्रा प्रभु महान्‌ र शक्‍तिशाली हुनुहुन्छ;+

उहाँको समझशक्‍ति अपार छ।+

 ६ यहोवा नम्रहरूलाई उठाउनुहुन्छ+

तर दुष्टहरूलाई जमिनतिर हुर्ऱ्याउनुहुन्छ।

 ७ यहोवालाई धन्यवाद चढाउँदै गीत गाओ;

वीणा बजाएर हाम्रा परमेश्‍वरको स्तुति गाओ,

 ८ जसले आकाशलाई बादलले ढाक्नुहुन्छ,

जसले पृथ्वीमा पानी बर्साउनुहुन्छ,+

जसले पहाडहरूमा घाँस उमार्नुहुन्छ।+

 ९ उहाँ जनावरहरूलाई आहारा दिनुहुन्छ,+

आहारा माग्ने कागका बचेराहरूलाई पनि खुवाउनुहुन्छ।+

१० उहाँ घोडाको बलमा खुसी हुनुहुन्‍न;+

मानिसको बलियो खुट्टा पनि उहाँको नजरमा केही होइन।+

११ यहोवाको डर मान्‍नेहरू र उहाँको अटल प्रेमको बाटो हेर्नेहरूदेखि

उहाँ खुसी हुनुहुन्छ।+

१२ हे यरुसलेम, यहोवाको महिमा गर।

हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर।

१३ उहाँले तिम्रो सहरका ढोकाहरूका गजबारहरू बलियो पार्नुहुन्छ;

उहाँले तिम्रा छोराहरूलाई आशिष्‌ दिनुहुन्छ।

१४ उहाँले तिम्रो इलाकामा शान्ति ल्याउनुहुन्छ;+

उहाँले तिमीलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ।+

१५ उहाँले पृथ्वीमा आफ्नो आज्ञा पठाउनुहुन्छ;

उहाँको वचन द्रुत गतिमा अघि बढ्‌छ।

१६ उहाँ हिउँलाई ऊनजस्तै पठाउनुहुन्छ;+

उहाँ तुसारोलाई खरानीजस्तै छरिदिनुहुन्छ।+

१७ उहाँ असिनालाई* रोटीको टुक्राजस्तै बर्साउनुहुन्छ।+

उहाँले पठाउनुभएको कठाङ्‌ग्रिने जाडो कसले सहन सक्छ र?+

१८ उहाँ आफ्नो वचन पठाउनुहुन्छ र ती पग्लन्छन्‌।

उहाँ आफ्नो बतास चलाउनुहुन्छ+ र पानी बग्न थाल्छ।

१९ उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,

आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+

२० उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+

तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्‌।

याहको प्रशंसा गर!*+

१४८ याहको प्रशंसा गर!*

स्वर्गबाट यहोवाको प्रशंसा गर;+

अग्ला ठाउँहरूमा उहाँको प्रशंसा गर।

 २ हे उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर।+

हे उहाँका सबै सेना हो, उहाँको प्रशंसा गर।+

 ३ हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर।

हे सबै चम्किला तारा हो, उहाँको प्रशंसा गर।+

 ४ हे सबैभन्दा उच्च आकाश* र आकाशमाथिको पानी,

उहाँको प्रशंसा गर।

 ५ ती सबैले यहोवाको नामको प्रशंसा गरून्‌

किनकि उहाँले आदेश दिनुभयो र ती सृष्टि भए।+

 ६ उहाँ तिनीहरूलाई सदासर्वदाको लागि स्थिर पार्नुहुन्छ;+

उहाँले कहिल्यै रद्द नहुने उर्दी जारी गर्नुभएको छ।+

 ७ पृथ्वीबाट यहोवाको प्रशंसा गर,

हे विशाल जलजन्तुहरू र गहिरा सागरहरू हो,

 ८ हे बिजुली र असिना, हिउँ र बाक्लो बादल,

उहाँको वचन पूरा गर्ने आँधीबेहरी,+

 ९ हे पहाडहरू र सबै डाँडा हो,+

हे फल दिने रूखहरू र देवदारका सबै रूख हो,+

१० हे जङ्‌गली जनावरहरू+ र सबै घरपालुवा जनावर हो,

हे घस्रने जीवहरू र चराचुरुङ्‌गी हो,

११ हे पृथ्वीका राजाहरू र सबै राष्ट्र हो,

हे शासकहरू र पृथ्वीका सबै न्यायकर्ता हो,+

१२ हे युवकहरू र युवतीहरू हो,

हे वृद्धहरू र बालकहरू हो, सबै मिलेर उहाँको प्रशंसा गर।

१३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्‌

किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+

उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+

१४ उहाँले आफ्ना मानिसहरूलाई झन्‌झनै शक्‍तिशाली बनाउनुहुनेछ,

आफ्ना सबै वफादार जनलाई उहाँले महिमित तुल्याउनुहुनेछ,

इस्राएलका सन्तानलाई, जो उहाँसित घनिष्ठ छन्‌।

याहको प्रशंसा गर!*

१४९ याहको प्रशंसा गर!*

यहोवा परमेश्‍वरको निम्ति एउटा नयाँ गीत गाओ;+

वफादार जनहरूको समुदायमा उहाँको प्रशंसा गर।+

 २ इस्राएल आफ्ना महान्‌ रचनाकारको कारण रमाओस्‌;+

सियोनका छोराहरू आफ्ना राजाको कारण रमाऊन्‌।

 ३ तिनीहरूले नाच्दै यहोवाको नामको प्रशंसा गरून्‌+

अनि खैँजडी र वीणा बजाउँदै उहाँको स्तुति गाऊन्‌।*+

 ४ यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।+

नम्रहरूको उद्धार गरेर उहाँ तिनीहरूको शोभा बढाउनुहुन्छ।+

 ५ वफादार जनहरू महिमा पाएकोमा रमाऊन्‌;

तिनीहरूले आफ्नो ओछ्यानमा खुसीले जयजयकार गरून्‌।+

 ६ तिनीहरूको गलाबाट परमेश्‍वरको प्रशंसा गर्ने गीत गुञ्जियोस्‌।

तिनीहरूको हातमा दुईधारे तरबार होस्‌

 ७ ताकि तिनीहरूले राष्ट्रहरूसित बदला लिन सकून्‌

अनि जातिजातिलाई सजाय दिन सकून्‌,

 ८ उनीहरूका राजाहरूलाई साङ्‌लाले बाँध्न सकून्‌

अनि उनीहरूका प्रतिष्ठित मानिसहरूलाई फलामको नेल ठोक्न सकून्‌

 ९ र उनीहरूविरुद्ध लेखिएको न्यायदण्ड उनीहरूलाई दिन सकून्‌।+

यो सम्मान उहाँका सबै वफादार जनले पाउनेछन्‌।

याहको प्रशंसा गर!*

१५० याहको प्रशंसा गर!*+

परमेश्‍वरको पवित्र ठाउँमा उहाँको प्रशंसा गर।+

आकाशमा परमेश्‍वरको प्रशंसा गर, जसले उहाँको शक्‍तिको गवाही दिन्छ।+

 २ उहाँका शक्‍तिशाली कामहरूको लागि उहाँको प्रशंसा गर।+

उहाँको अपार महानताको लागि उहाँको प्रशंसा गर।+

 ३ सिङ फुक्दै उहाँको प्रशंसा गर।+

तारे बाजा र वीणा बजाउँदै उहाँको प्रशंसा गर।+

 ४ खैँजडी बजाउँदै+ र नाच्दै* उहाँको प्रशंसा गर।

तारे बाजा+ र बाँसुरी बजाउँदै+ उहाँको प्रशंसा गर।

 ५ झ्यालीको झङ्‌कारसँगै उहाँको प्रशंसा गर

झ्याइँझ्याइँ झ्याली बजाउँदै उहाँको प्रशंसा गर।+

 ६ हे सास हुने हरेक जीव, याहको प्रशंसा गर।

याहको प्रशंसा गर।*+

वा “उहाँको व्यवस्थामा मनन गर्छ।”

वा “खोक्रा कुराहरूमा मनन गरे?”

वा “उहाँका ख्रिष्टको।”

वा “शासकहरूले आपसमा सल्लाह गरे।”

वा “शिक्षा लेओ।”

शा., “छोरालाई चुम्बन।”

शब्दावली हेर्नुहोस्‌।

वा “आफ्ना वफादार जनहरूको सम्मान गर्नुहुन्छ; आफ्ना वफादार जनहरूलाई आफ्नो निम्ति अलग्गै राख्नुहुन्छ।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “रगत बगाउने अनि धोका दिने।”

वा “अटल प्रेमको।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “पवित्र स्थानतिर।”

शब्दावली हेर्नुहोस्‌।

वा “कृपा।”

वा “सम्झन सक्छ?”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “बूढा।”

वा सम्भवतः “विनाकारण मेरो विरोध गर्नेलाई मैले छोडिदिएको भए।”

वा “हृदय अनि मिर्गौला जाँच्ने।”

वा “तपाईँको नामको प्रशंसा गर्न म धुन बजाउनेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “तपाईँ, जसको महिमाको चर्चा आकाशभन्दा माथि हुन्छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “तपाईँको नामको प्रशंसा गर्न म धुन बजाउनेछु।”

वा “उर्वर भूमिको।”

वा “अग्लो किल्ला।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “लोभीले आफैलाई आशिष्‌ दिन्छ।”

वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”

शा., “हात उचाल्नुहोस्‌।”

वा “बुबा गुमाएको बच्चाको।”

वा सम्भवतः “बलिरहेको कोइला।”

वा “उहाँको निगाह पाउनेछन्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “तिनीहरूको खिल्ली उडाउनेहरूको।”

वा सम्भवतः “जमिनमा बनाइएको भट्टीमा।”

वा “अन्तर्दृष्टि भएको।”

वा “निष्ठावान्‌ भई।”

वा “साथीहरूलाई लाजमा पार्दैन।”

शा., “शपथ।”

वा “जसले खाँचोमा परेकोसँग ब्याज लिँदैन।”

वा “कहिल्यै लरखराउनेछैन (धरमराउनेछैन)।”

शब्दावली हेर्नुहोस्‌।

वा “मेरा भित्री भावनाहरूले।” शा., “मेरा मिर्गौलाहरूले।”

वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “कुहिन दिनुहुनेछैन।”

वा “तपाईँ मतिर झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

वा “हामीलाई खसाल्न।”

शा., “तपाईँको हातले जोगाउनुहोस्‌।”

वा “तपाईँको रूप हेर्न पाउँदा।”

वा “मेरो शक्‍तिशाली उद्धारक।”

वा “अग्लो किल्ला।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “बतासको।”

वा “फराकिलो ठाउँमा।”

शा., “सफा।”

वा “पीडितलाई।”

शा., “हठी आँखालाई।”

वा “आगोले खारिएको।”

वा “सँभाल्नुभएको छ।”

शा., “चुप लगाउनेछु।”

वा “तिनीहरू बिलाएर जानेछन्‌।”

वा “धुन बजाउँछु।”

वा “आफ्नो राजालाई उहाँ ठूलठूला युद्ध जिताउनुहुन्छ।”

वा सम्भवतः “नाप्ने डोरी।”

वा “उर्वर भूमिको।”

वा “खारिएको।”

पद १-५ मा जनताले राजालाई सम्बोधन गरेको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “सल्लाह।”

वा “जित हासिल गरेर।”

शा., “ओठको बिन्ती।”

वा “खारिएको।”

वा “कहिल्यै लरखराउनेछैनन्‌ (धरमराउनेछैनन्‌)।”

शा., “तिनीहरूको अनुहारतर्फ।”

शा., “धनुको ताँदो।”

शा., “पराक्रमबारे गाउनेछौँ र धुन बजाउनेछौँ।”

यसले कुनै धुन वा साङ्‌गीतिक शैलीलाई जनाएको हुन सक्छ।

वा “इस्राएलको प्रशंसामाझ (वा प्रशंसामाथि) विराजमान हुनुहुन्छ।”

वा “लज्जित हुनुपरेन।”

वा “मलाई घृणा गर्छन्‌।”

शा., “हातबाट।”

वा सम्भवतः “शान्त पानी भएको ठाउँमा।”

वा “सान्त्वना।”

यहाँ यहोवा परमेश्‍वरको जीवनको कुरा गरिएको छ, जसको मानिसहरूले कसम खान्छन्‌।

वा “जुन उहिलेदेखि नै छ।”

शा., “न्यायसङ्‌गत।”

वा “अटल प्रेम।”

वा “मेरा भित्री भावनाहरू।” शा., “मेरा मिर्गौलाहरू।”

शा., “बस्दिनँ।”

वा “चिन्तन-मनन गरेर।”

वा “पवित्र ठाउँमा।”

वा “म यहोवाको प्रशंसा गर्न धुन बजाउनेछु।”

वा सम्भवतः “जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भनी मलाई पक्का विश्‍वास छ।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”

वा “उपासना गर।”

शा., “पानीमाथिबाट।”

यसले लेबनानको पर्वतमालालाई जनाएको हुनुपर्छ।

वा “स्वर्गमा फैलिएको महासागरमाथि।”

वा “खिच्नुभएको।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “धुन बजाओ।”

वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”

शा., “मेरो रगतमा।”

शा., “नाचमा।”

वा “तपाईँ मतिर झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

वा “विश्‍वासयोग्य परमेश्‍वर।”

वा “फराकिलो ठाउँमा।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अप्रसन्‍नताको।”

वा “अन्तर्दृष्टि।”

घोडालाई नियन्त्रणमा राख्न त्यसको टाउकोमा लगाइने छालाको साज।

वा “धुन बजाओ।”

वा “सल्लाहहरूलाई।”

वा “विचारहरूलाई।”

वा “सल्लाहहरू।”

वा “विजयी हुन।”

वा “विपत्ति।”

प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

वा सम्भवतः “अलिकति खानाको लागि अभक्‍तहरूले खिसी गर्छन्‌।”

वा “मनन।”

वा “अन्तर्दृष्टि।”

शा., “परमेश्‍वरका पहाडहरूजस्तै।”

वा “रिसले चुर।”

वा “देशमा।”

वा “धीरजी भई।”

वा सम्भवतः “व्याकुल नहोऊ किनकि त्यसले हानि गर्छ।”

शा., “निर्दोष मानिसका दिनहरू।”

वा “कृपालु।”

वा “सुदृढ पार्नुहुन्छ।”

वा “आफ्नो हातले उसलाई थाम्नुहुन्छ।”

वा “बुद्धिका कुराहरू गुनगुनाउँछ; मनन गर्छ।”

वा “सत्यनिष्ठ।”

शा., “मेरो शरीरको कुनै पनि भाग स्वस्थ छैन।”

शा., “मेरो पूरै कम्मरमा जलन भइरहेको छ।”

वा सम्भवतः “तर विनाकारण मसित दुस्मनी गर्नेहरू अनगिन्ती छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “मेरो पीडा झनै बढ्‌यो।”

वा “सुस्केरा हालेँ।”

शा., “बित्ताबराबर।”

शा., “हल्ला।”

कपडा खाने एक किसिमको पुतली।

वा “धीरजी भई पर्खिएँ।”

वा “उहाँ मेरो कुरा सुन्‍नलाई झुक्नुभयो।”

वा “बलिदान र भेटीहरूदेखि प्रसन्‍न हुनुभएन।”

शब्दावली हेर्नुहोस्‌।

वा “चाहन्छु।”

वा “ऊ मविरुद्ध खडा भएको छ।”

वा “युगौँयुगसम्म।”

शब्दावली हेर्नुहोस्‌।

वा “सानो डाँडाबाट।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “उखान।”

शब्दावली हेर्नुहोस्‌।

शा., “मेरो रचना।”

यसले प्रतिलिपि उतार्न सिपालु व्यक्‍तिलाई जनाउँछ।

वा “सफलतातर्फ।”

शा., “तिमीलाई अचम्म-अचम्मका कामहरू सिकाउनेछन्‌।”

शब्दावली हेर्नुहोस्‌।

यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।

वा सम्भवतः “बुट्टा भरिएको पोसाकमा।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अग्लो किल्ला।”

वा सम्भवतः “ढालहरू।”

वा “थुमाको सिङ; बिगुल।”

वा “धुन बजाओ।”

शा., “ढालहरू।”

वा “अग्लो किल्ला।”

वा “सल्लाह गरेर भेटे।”

वा सम्भवतः “हामी नमरेसम्मै।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “सूर्योदयदेखि सूर्यास्तसम्म।”

वा “निर्देशनलाई।”

वा सम्भवतः “तिमीहरू त्यसलाई साथ दिन्छौ।”

शब्दावली हेर्नुहोस्‌।

वा “मेरो मनमा।”

वा “मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।”

शब्दावली हेर्नुहोस्‌।

वा “लुकाउनुहोस्‌।”

वा “हेला।”

शब्दावली हेर्नुहोस्‌।

वा “परमेश्‍वरलाई आफ्नो गढ नबनाउने।”

वा “त्यसले आश्रय लियो।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अन्तर्दृष्टि भएको।”

वा सम्भवतः “तिनीहरू डराउनुपर्ने कुनै कारणै नभएको ठाउँमा समेत डराउनेछन्‌।”

शा., “तिमीहरूविरुद्ध छाउनी हाल्नेहरूको।”

शब्दावली हेर्नुहोस्‌।

वा “मेरो पक्षमा खडा हुनुहोस्‌।”

वा “परमेश्‍वरलाई आफ्नो सामने राख्दैनन्‌।”

शा., “तिनीहरूलाई चुप लगाइदिनुहोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “मैले मदतको लागि पुकार्दा नलुक्नुहोस्‌।”

वा “तिनीहरूको भाषा गोलमाल गरिदिनुहोस्‌।”

वा “मेरै बराबरीको मानिस हौ।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “छटपटाउँदै कराउँछु।”

यसले पद १३ र १४ मा उल्लेख गरिएको पहिलाको मित्रलाई जनाउँछ।

वा “लरखराउनेछैन; धरमराउनेछैन।”

शब्दावली हेर्नुहोस्‌।

जनावरको छालाबाट बनेको थैलो।

शब्दावली हेर्नुहोस्‌।

शा., “मेरो महिमा।”

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा “भ्रष्ट।”

शा., “मन्त्र।”

शब्दावली हेर्नुहोस्‌।

वा “रक्‍तपिपासु।”

वा “भुक्छन्‌।”

वा “अग्लो किल्ला।”

वा “भुकून्‌।”

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “दिनुभएको छ।”

वा सम्भवतः “आफ्नो पवित्र ठाउँमा।”

शा., “गढ।”

वा सम्भवतः “पर्खालले घेरिएको।”

वा “कमजोर हुँदा।”

वा “म तपाईँको नामको प्रशंसा गर्न धुन बजाउनेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा “अग्लो किल्ला।”

वा सम्भवतः “तिमीहरू सबै उसलाई ढल्किसकेको पर्खालजस्तै, ढल्नै आँटेको ढुङ्‌गाको पर्खालजस्तै ठान्छौ।”

वा “मर्यादाबाट।”

वा “फ्याउराहरूको।”

वा “तिनीहरू दुष्ट काम गर्न एकअर्कालाई उक्साउँछन्‌।”

वा “पवित्र स्थानका।”

शा., “उहाँले।”

शा., “उहाँ।”

शा., “उहाँ।”

वा “सूर्योदय हुने ठाउँदेखि सूर्यास्त हुने ठाउँसम्म रहनेहरू।”

वा “धुन बजाओ।”

वा “लरखराउन; धरमराउन।”

शा., “हामीमाथि सवार हुन दिनुभयो।”

वा “आदर गर्नेछन्‌।”

वा “धुन बजाओ।”

वा सम्भवतः “बादलहरूमाथि।”

“याह,” यहोवा नामको छोटो रूप हो।

वा “बुबा गुमाएका बच्चाहरूका।”

शा., “न्यायकर्ता।”

वा “विद्रोही।”

शा., “मानिसहरू अघिअघि जानुभयो।”

शा., “तपाईँको उत्तराधिकारलाई।”

वा सम्भवतः “भेडाहरूको गोठ।”

वा “पहेँलो-हरियो रङ्‌गको।”

वा “मानौँ, जाल्मोन डाँडामा हिउँ पऱ्‍यो।”

वा “विशाल पहाड।”

वा सम्भवतः “कुल्चिएर।”

वा “इजिप्टबाट।”

वा सम्भवतः “राजदूतहरू आउनेछन्‌।”

वा “इथियोपियाले।”

वा “धुन बजाओ।”

शा., “बादलमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “विनाकारण मेरो शत्रु बनेकाहरू।”

वा सम्भवतः “रुँदै उपवास बस्दा।”

शा., “उखान।”

वा “अटल प्रेमको।”

वा “इनारले।”

वा “म आशाविहीन अवस्थामा पुगेको छु।”

वा “विषालु बोट।”

शा., “टेबुल।”

शा., “कम्मर।”

वा “पर्खालले घेरिएको छाउनी।”

अर्थात्‌, त्यस भूमिमाथि।

वा “झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

शा., “पाखुराबारे।”

वा “गहिरो पानीबाट।”

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

वा “मनन गर्नेछ।”

शा., “न्याय।”

वा “तिनीहरूको पेट लागेको छ।”

शा., “आँखा बाहिर निस्केका छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

शा., “तिनीहरूको छविलाई तुच्छ सम्झनुहुनेछ।”

शा., “मिर्गौलामा।”

वा “चरित्रहीन भएर।”

शा., “चुप लगाइदिनुहुनेछ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “तपाईँको समुदायलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “पोल्टाबाट।”

शब्दावली हेर्नुहोस्‌।

शा., “सिङको।”

शा., “सिङको।”

वा “परमेश्‍वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”

शा., “सिङ।”

शा., “सिङ।”

वा “तपाईँ ज्योतिले ढाकिनुभएको छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “तारे बाजाको धुन।”

वा “घोचेको छ।”

शा., “आफ्नो दायाँ हात हटाउनुभएको छ।”

वा “शक्‍तिले।”

शा., “छुटाउनुभएको छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “निर्देशन।”

शा., “तयार थिएन।”

वा “स्वर्गदूतहरूको।”

वा “तिनीहरूको लागि बदला लिने।”

शा., “ढाक्नुभयो।”

वा सम्भवतः “उसले आफ्नो जीवन गुमाउँछ र फेरि पाउँदैन।”

शा., “हात।”

वा “रगत चुस्ने झिँगाहरूको।”

वा सम्भवतः “निस्लोट ज्वरोले।”

शा., “तिनीहरूको जीवनलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “डाही बनाए।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “ढाक्नुहोस्‌।”

शा., “मृत्युका छोराहरूलाई।”

शा., “पाखुराले।”

वा सम्भवतः “मुक्‍त गर्नुहोस्‌।”

वा सम्भवतः “करूबहरूको बीचमा।”

वा “अङ्‌गुरको बोटको मूल काण्डको।”

वा “हाँगालाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “भाषा।”

शा., “गर्जनको गुप्त ठाउँबाट।”

यसको अर्थ हो, “झगडा।”

शा., “तिनीहरू आफ्नै सल्लाहमा हिँडे।”

शा., “उसलाई,” अर्थात्‌, परमेश्‍वरका मानिसहरूलाई।

वा “जो ईश्‍वरजस्ता छन्‌, उनीहरूको।”

वा “बुबा गुमाएका बच्चाहरूलाई।”

यसले पद १ मा उल्लिखित “ईश्‍वरहरू”-लाई जनाउँछ।

अर्थात्‌, परमेश्‍वर।

वा “ईश्‍वरजस्ता।”

वा “शिर ठाडो पार्छन्‌।”

शा., “लुकाउनुभएकाहरूको।”

शा., “एकै मनका भएर सल्लाह गर्छन्‌।”

वा “करार।”

शा., “लुतका छोराहरूको पाखुरा बनेका छन्‌।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “बाका झाडीहरूको बेँसी।”

वा सम्भवतः “हे परमेश्‍वर, हाम्रो ढाललाई हेर्नुहोस्‌।”

वा “फेरि जम्मा गर्नुहोस्‌।”

वा “झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

वा “मलाई एकचित्तको बनाउनुहोस्‌।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “परमेश्‍वरलाई आफ्नो सामने राख्दैनन्‌।”

वा “सत्यले।”

वा “प्रमाण दिनुहोस्‌।”

यसले मिश्रलाई जनाएको हुन सक्छ।

वा “कुसलाई।”

शा., “घेरा बनाएर नाच्नेहरू।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मतिर झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

वा “चिहानमा।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “बल नभएको।”

हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।

वा सम्भवतः “अचानक।”

शब्दावली हेर्नुहोस्‌।

यसले मिश्रलाई वा मिश्रको फारोलाई जनाएको हुन सक्छ।

शा., “हाम्रो सिङ उचालिन्छ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “तिनको सिङ उचालिन्छ।”

वा “अधिकारमा।”

वा “न्यायअनुसार।”

वा “विद्रोहको।”

शा., “मेरो वफादारी छोड्‌नेछैनँ।”

वा “ढुङ्‌गाका शरणस्थानहरू।”

शा., “तिनका शत्रुहरूको दायाँ हात उचाल्नुभएको छ।”

शा., “शिओलको हातबाट।” शब्दावलीमा “शिओल” हेर्नुहोस्‌।

वा सम्भवतः “हाम्रो शरणस्थान।”

वा “मानौँ, प्रसववेदना सहेर जन्माउनुअघि नै।”

वा “युगौँयुगसम्म।”

वा “तपाईँ हाम्रा गल्तीहरूबारे अनजान हुनुहुन्‍न।”

वा “स्थिर।”

वा “स्थिर।”

वा “चरा पक्रने सिकारीको।”

वा “तिमीसम्म पुग्ने बाटो छेक्नुहुनेछ।”

वा सम्भवतः “गढ; शरणस्थान।”

शा., “मसित टाँसिएको छ।”

वा “मेरो नाम ग्रहण गरेको छ।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “धुन बजाउनु।”

शा., “मेरो सिङ उच्च पार्नुहुनेछ।”

वा “कपाल फुले पनि।”

वा “उर्वर भूमिलाई।”

वा “यो कहिल्यै धरमराउँदैन।”

वा “बुबा गुमाएका बच्चाहरूको।”

वा “कहिले अन्तर्दृष्टि देखाउँछौ?”

वा “बेचैनीले।”

वा “उर्दी जारी गरेर।”

वा “शासकहरूले; न्यायकर्ताहरूले।”

वा “अग्लो किल्ला।”

शा., “तिनीहरूलाई चुप लगाइदिनुहुनेछ।”

शा., “तिनीहरूलाई चुप लगाइदिनुहुनेछ।”

यसको अर्थ हो, “झगडा।”

यसको अर्थ हो, “जाँच; परीक्षा।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”

वा “उपासना गर।”

वा “उर्वर भूमिलाई।”

वा “यो कहिल्यै धरमराउँदैन।”

वा “मुद्दा लड्‌नुहुनेछ।”

वा “आउनुभएको छ।”

वा “उर्वर भूमिको।”

वा “उपासना।”

शा., “छोरीहरूले।”

वा “शक्‍तिबाट।”

वा “उहाँको निम्ति विजय प्राप्त गरेको छ।”

वा “हाम्रो परमेश्‍वरको जित।”

वा “धुन बजाओ।”

वा “धुन बजाओ।”

वा “उर्वर भूमि।”

वा “आउनुभएको छ।”

वा “उर्वर भूमिको।”

वा सम्भवतः “करूबहरूको बीचमा।”

वा “उपासना।”

वा “उपासना।”

वा “स्विकार।”

वा सम्भवतः “हामी आफैले होइन।”

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

वा “सत्यनिष्ठ।”

शा., “चिन्दिनँ।”

वा “नाश गर्नेछु।”

वा “सत्यनिष्ठामा।”

शा., “मेरो आँखाअघि।”

वा “नाश गर्नेछु।”

वा “कमजोर।”

वा “झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”

एक किसिमको पेलिकन चरा।

वा सम्भवतः “म ख्याउटे भएको छु।”

वा “लम्बिएको।”

शा., “सम्झना।”

शा., “सृजिइने।”

वा “अटल प्रेम।”

शा., “त्यसको ठाउँले त्यसलाई चिन्‍न छोड्‌छ।”

वा “युगौँयुगसम्म।”

वा “उहाँको सार्वभौमिकता कायम रहेको ठाउँमा।”

हिब्रू भाषामा रुवाक। शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “परमेश्‍वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”

वा सम्भवतः “उहाँबारे मैले गरेको मननको कारण उहाँ प्रसन्‍न होऊन्‌।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “धुन बजाओ।”

वा सम्भवतः “कामहरूबारे बताओ।”

शा., “रोटी झुन्ड्‌याउने लट्ठी भाँचिदिनुभयो।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।

वा “रगत चुस्ने झिँगाहरूलाई।”

वा “आगोको ज्वाला।”

शा., “तिनीहरूको।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “अर्थ बुझेनन्‌।”

वा “अटल प्रेम।”

वा “धातु पगालेर बनाइएको मूर्तिलाई।”

शा., “चिरा परेको ठाउँमा उहाँसामु उभिए।”

वा “बाआल देवतासित टाँसिए।”

अर्थात्‌, मरिसकेका मानिसहरूलाई वा निर्जीव देवताहरूलाई चढाइएको बलि।

यसको अर्थ हो, “झगडा।”

वा “सिके।”

साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

वा “अटल प्रेमको।”

वा “पछुताउनुहुन्थ्यो।”

वा “युगौँयुगसम्म।”

वा “यस्तै होस्‌!”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “मोल तिरेर छुटाइएकाहरूले।”

वा “शक्‍तिबाट।”

शा., “बैठकमा।”

वा “अग्लो ठाउँमा राख्नुहुन्छ।” अर्थात्‌ अरूले नभेट्‌ने ठाउँमा।

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

वा सम्भवतः “आफ्नो पवित्र ठाउँमा।”

शा., “गढ।”

शा., “त्यसको।”

वा “आरोप लगाउने।”

वा “दुष्ट।”

शा., “छोराहरू।”

वा “बुबा गुमाएको बच्चा।”

शा., “छोराहरू।”

वा “ब्याज लिनेहरूले त्यसको लागि पासो थापून्‌।”

वा “अटल प्रेम।”

शा., “बोसो नभएकोले मेरो शरीर सुक्दै छ।”

वा “राष्ट्रहरूमाझ।”

वा “पूरै देशको।”

यसले पद १ मा उल्लेख गरिएको “मेरा प्रभु”-लाई जनाउँछ।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “आन्तरिक चेतना।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “दह्रो; स्थिर।”

शा., “सिङको।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “सूर्योदयदेखि सूर्यास्तसम्मै।”

वा सम्भवतः “फोहोरको डङ्‌गुरबाट।”

शा., “छोराहरू।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “पवित्र ठाउँ।”

वा “हाम्रो केही छैन, हे यहोवा, हाम्रो केही छैन।”

शा., “छोराहरू।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा सम्भवतः “म प्रेम गर्छु किनकि यहोवा सुन्‍नुहुन्छ।”

वा “झुक्नुहुन्छ र सुन्‍नुहुन्छ।”

शा., “मेरा दिनहरूमा।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “कुल।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

“याह,” यहोवा नामको छोटो रूप हो।

वा “फराकिलो ठाउँमा।”

वा सम्भवतः “मलाई मदत गर्नेहरूसँगै हुनुहुन्छ।”

वा सम्भवतः “तैँले मलाई बेसरी धकेलिस्‌।”

वा “विजय।”

वा “जो निष्ठावान्‌ छन्‌।”

शा., “मेरा मार्गहरू बलियोगरि स्थापित भएको भए!”

वा “अध्ययन गर्नेछु।”

वा “अध्ययन गर्छ।”

शा., “मार्ग।”

वा “अध्ययन गर्न।”

वा “लज्जित हुन नदिनुहोस्‌।”

शा., “दौडनेछु।”

वा सम्भवतः “किनकि तपाईँ मेरो मनलाई बलियो पार्नुहुन्छ।”

वा “हिँडाउनुहोस्‌।”

वा “भन्‍नुभएको कुरा।”

वा सम्भवतः “जुन तपाईँको डर मान्‍नेहरूसित तपाईँ गर्नुहुन्छ।”

वा “भन्‍नुभएको कुराअनुसारै।”

वा “फराकिलो ठाउँमा।”

वा “अध्ययन गर्नेछु।”

वा “प्रतिज्ञा।”

वा “जसको निम्ति तपाईँले मलाई पर्खन लगाउनुभयो।”

वा “त्यो घरमा, जहाँ म विदेशीको रूपमा बसेको छु।”

वा “भन्‍नुभएको कुराअनुसारै।”

वा “मैले अनजानमा पाप गरिरहेको थिएँ।”

शा., “बोसोजस्तै बाक्लो।”

वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”

वा “भन्‍नुभएको कुराअनुसारै।”

वा सम्भवतः “झुट बोलेर।”

वा “अध्ययन गर्छु।”

वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”

जनावरको छालाबाट बनेको थैलो।

यसले उहाँका सबै सृष्टिलाई जनाउँछ।

शा., “ज्यादै फराकिलो छ।”

वा “अध्ययन गरिरहन्छु।”

वा “आन्तरिक चेतना।”

वा “अध्ययन गर्छु।”

वा “अनन्त सम्पदा।”

वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”

वा “तपाईँले भन्‍नुभएझैँ।”

वा “लाजमा पर्न।”

वा “वाणी।”

वा “आदेशलाई।”

शा., “स्वाँस्वाँ गर्छु।”

शा., “तपाईँको न्यायको स्तरअनुसारै व्यवहार गर्नुहोस्‌।”

वा “स्थिर बनाउनुहोस्‌।”

वा “सेवकलाई हेरेर मुस्कुराउनुहोस्‌।”

वा “आगोले खारिएका।”

वा “उज्यालो हुनुअघि नै।”

वा “म तपाईँको वचनको प्रतीक्षा गर्छु।”

वा “अध्ययन गर्न।”

वा “रातको प्रहरअघि नै।”

वा “छाडा।”

वा “मेरो पक्षमा वकालत गरिदिनुहोस्‌।”

वा “भनाइअनुसारै।”

वा “भन्‍नुभएको कुराअनुसारै।”

शब्दावली हेर्नुहोस्‌।

वा “लरखराउन।”

शा., “तिमी बाहिर जाँदा र भित्र पस्दा।”

“याह,” यहोवा नामको छोटो रूप हो।

शा., “दाँतको सिकार।”

वा “धर्मीहरूले आफ्नो हात नबढाऊन्‌।”

वा “दक्षिणका वादीहरू।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “छोराछोरी।”

“याह,” यहोवा नामको छोटो रूप हो।

वा “गल्तीहरूको लेखा लिनुभयो।”

शा., “डर मानियोस्‌।”

वा “भव्य वासस्थान।”

यसले सन्दुकलाई जनाएको हुनुपर्छ।

वा “भव्य वासस्थानमा।”

वा “करारको सन्दुकसितै।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शा., “आफ्नो अभिषिक्‍त जनको अनुहार नफर्काइदिनुहोस्‌।”

शा., “तिम्रो गर्भको फलमध्ये।”

वा “एकतामा।”

वा सम्भवतः “पवित्र स्थानमा।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “धुन बजाओ।”

वा “अनमोल।”

वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”

मिश्रका राजाहरूको एउटा उपाधि।

वा “नाम।” शा., “सम्झना।”

वा “मुद्दा लड्‌नुहुनेछ।”

वा “उहाँ पछुताउनुहुनेछ।”

वा “समझ चलाएर।”

शा., “भाग-भाग।”

यसले बेबिलोनलाई जनाउँछ।

लहरे पिपलजस्तै एक प्रकारको रूख।

वा सम्भवतः “सुकिजाओस्‌।”

वा सम्भवतः “अरू देवीदेवताको विरोधमा म तपाईँको लागि धुन बजाउनेछु।”

वा “पवित्र स्थानतर्फ।”

वा सम्भवतः “तपाईँले आफ्नो नामलाई भन्दा आफ्नो वाणीलाई उच्च तुल्याउनुभएको छ।”

वा “मेरो लागि साह्रै आश्‍चर्यजनक।”

वा “त्यो कुरा बुझ्नु मेरो लागि असम्भव छ।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “बुन्‍नुभयो।”

वा “म भ्रूण छँदै।”

वा सम्भवतः “तब पनि म गनिरहेकै हुन्छु।”

वा “रक्‍तदोषी।”

वा “आफ्नै विचारले।”

वा “बेचैनी।”

वा “पानीले भरिएको खाडलमा।”

वा “तपाईँको उपस्थितिमा।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “मलाई चिन्दैन।”

शा., “अंश।”

वा “अध्ययन गर्छु।”

वा “चिहानमा।”

वा “सोझाहरूको देशमा।”

शा., “चुप लगाइदिनुहोस्‌।”

वा “अग्लो किल्ला।”

वा “पन्जाबाट।”

शा., “तिनीहरूको दाहिने हात झूटको दाहिने हात हो।”

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”

वा “उद्धार गर्नुहुन्छ।”

वा “समझभन्दा बाहिर।”

वा “शक्‍तिबारे।”

वा “सत्यतामा।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “परमेश्‍वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”

वा “प्रतिष्ठित मानिसहरूमाथि।”

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

शा., “बाँधिएकाहरूलाई।”

वा “बुबा गुमाएका बच्चाहरू।”

वा “दुष्टको मार्गलाई टेढोमेढो पारिदिनुहुन्छ।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “धुन बजाउनु।”

वा “बरफलाई।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

शा., “आकाशहरूको आकाश।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “धुन बजाऊन्‌।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

शा., “घेरा बनाएर नाच्दै।”

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने